Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हुनै सकेन वार्ता, सुरु भयो मतदान : ३ धारा पास गर्दै अघि बढ्यो संविधानसभा

Posted on September 13, 2015September 14, 2015 by Salokya

२०७२ भदौ २७ गते, आइतबार
12020325_10207819191387404_270390750_o हुने कि नहुने भन्ने अन्यौलका बीच वार कि पार गर्दै अन्ततः संविधानसभा संविधान जारी गर्ने प्रक्रियामा अगाडि बढेको छ। शुक्रबारै सुरु हुन लागेको यो प्रक्रिया वार्ताका लागि भन्दै दुई दिन रोकिएको थियो। तर यो देखावटीमात्र साबित भयो। वार्ताका लागि गम्भीर पहल भएकै देखिएन। तैपनि वार्ता कि मतदान भन्ने अन्यौललाई चिरेर तोकिएको समयभन्दा तीन घण्टा ढिलो बसेको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरे। दोस्रो संविधानसभालाई पनि असफल पार्ने देशीविदेशी षड्यन्त्र भएको भन्दै त्यसलाई परास्त पार्न जसरी पनि संविधान जारी गर्दै प्राप्त उपलब्धि संस्थागत गर्नुपर्ने जोड दिए शीर्ष नेताहरुले। दोस्रो बैठक पाँच बजे राख्ने भनियो। तर बस्यो साढे बजे बल्ल। खासमा २०० पेजको संशोधनमा १००० पटक मतदान गराउनु पर्ने भएकोले संशोधन प्रस्तावहरु फिर्ता गराउन प्रमुख दलहरुले प्रयास गरेका थिए। केही प्रस्तावहरु सभासद्हरुले फिर्ता पनि लिए। खासमा संशोधन प्रस्तावहरु मतदानमा लगेर केही हुने पनि होइन, प्रमुख तीन दलै एकै ठाउँमा भएपछि सहजै त्यस्ता प्रस्ताव असफल भइहाल्छन्। तर पनि फिर्ता नलिएपछि गर्ने के त? सजिलो बाटो रोजे सभाध्यक्ष सुवास नेम्वाङले।

खासमा मतदान सुरु त प्रस्तावनाबाटै गर्नुपर्ने हो। तर प्रस्तावनामा सबभन्दा बढी २५ वटा संशोधन परेको छ। त्यसैले सजिलोको लागि संशोधनै नपरेको धारा १, २ लाई सुरुमा संविधानको विधेयकको अंग बनोस् भन्ने प्रस्ताव पारित गरियो। त्यसपछि धारा ३ मा परेका अरु संशोधनलाई अस्वीकृत गरियो भने तीन दलको तर्फबाट साझा संशोधन प्रस्ताव बहुमतले पारित गरियो।
pass
पास भएका धाराहरु यी हुन्। यसमा संशोधन पास भएको भनेको पहेँलो चिह्न लगाइएको अखण्डताको ठाउँमा भौगोलिक भन्ने शब्द थप्ने हो।

अघिल्लो बैठकमा प्रचण्डले मधेस टुक्र्याउने काम राष्ट्रघाती र आत्मघाती हुने भन्दै काठमाडौँमा बढी हिस्सा खोज्नुपर्ने बताए। उनको सम्बोधन तुलनात्मक रुपमा सन्तुलित थियो।

केपी ओली र प्रधानमन्त्री सुशील कोइराला मधेसप्रति आक्रामक देखिए। कृष्ण सिटौलाले त राष्ट्रपतिलाई समेत कुटनीतिक हिसाबमा चुनौतिसमेत दिए। संविधानसभाभन्दा माथि कुनै निकाय छैन भन्दै राष्ट्रपतिलाई पनि यही संविधानसभाले चुनेको र आफ्नै पार्टीले चुनेकोसमेत भन्न भ्याए। सिटौला त्यति विधि आक्रोशित हुनुको कारण भने थाहा हुन सकेन। वार्ताका माध्यमबाट समस्या समाधान गर्न वार्ताको वातावरण बनाउनु पर्नेमा ओली कोइराला र सिटौलाका अभिव्यक्तिले बिगार्ने खतरा पो देखियो। तर यही प्रक्रियाबीच वा संविधान जारी गरिसकेपछि पनि वार्ताबाट संविधान संशोधनबाट जान सकिने विकल्प खुल्ला रहेको पनि उनीहरुले बताए।

तीन वटा धारा पास गरेर बाँकी धाराहरु भोलि अर्थात् सोमबार बिहान ११ बजेपछि बस्ने बैठकमा राखिने भन्दै बैठक स्थगित गरियो। के के परेका छन् त संशोधन? यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ। भदौ मसान्तसम्म संशोधन प्रस्तावको टुङ्गो लगाएर सबै धारा दुई तिहाईले पारित गरिसक्ने सुवास नेम्वाङ बताउँछन्।

तनावग्रस्त तराई/मधेसको हाल

यता काठमाडौँमा संविधानका धाराहरु पारित हुँदै गर्दा उता तराई/मधेसका केही ठाउँ भने तनावग्रस्त नै थियो। केही ठाउँमा कर्फ्यु कायम थियो।

राजविराजमा रहेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको ढोका फुटाएर साँझ मधेसी मोर्चाका कार्यकर्ताहरुले कुर्सी टेबल निकाल्दै आगो लगाइदिए।

सिरहामा पनि नेपाली कांग्रेस र कृषि कार्यालय नजिकको बाटोमा प्रेस कुकर बम दिउँसो भेटियो। सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय बनायो।

रौतहटको गौर नगरपालिकामा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन गर्ने क्रममा कविरचोकमा प्रहरीले चलाएको गोली लागी पाँच प्रदर्शनकारी घाइते भए। तीमध्ये दुई जनाको अवस्था गम्भीर।

कर्फ्युले समयमै अस्पताल पुर्‍याउन नसक्दा महोत्तरीको कोल्हुवा बगेया गाविस ८ की गर्भवती निलमदेवीको मृत्यु। जलेश्वरमा बिहान तीन घण्टा खोलेर कर्फ्यु जारी। वीरगञ्जमा अपराह्न ४ देखि ७ बजेसम्म कर्फ्यु खुला।

कसरी भयो प्रक्रियामा जाने निर्णय
प्रक्रियाबाट बाहिरिएका सभासद्हरु कोही रेडियो कोही टिभीबाट संविधानसभाको कामकारबाहीबारे अपडेट हुँदै थिए। सभासद्हरु स्वयंलाई आज मतदान हुन्छ भन्ने विश्वास थिएन। दुई दिनसम्म पनि आन्दोलनरत दल वार्तामा नआएपछि कांग्रेस पदाधिकारी बैठकले प्रक्रिया अघि बढाउने निर्णय गर्‍यो। एमाले संसदीय दलको बैठकमा पनि ओलीले सभासद्हरुलाई मतदान हुने भएकोले संविधानसभा परिसर नछाड्न भने। एमाओवादीमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले शीर्ष नेताको सम्बोधनपछि वार्ताका लागि बैठक स्थगन गर्नुपर्ने प्रस्ताव गरे पनि प्रचण्डले अब जसरी पनि संविधान जारी गर्नुपर्ने स्थिति आएको बताएका थिए।

1 thought on “हुनै सकेन वार्ता, सुरु भयो मतदान : ३ धारा पास गर्दै अघि बढ्यो संविधानसभा”

  1. narayan says:
    September 14, 2015 at 10:33 am

    कमरेड प्रचण्ड ले पहिला बाटोमा फोहोर गरे अहिले तेही फोहोर सफा गर्नु पर्ने भो /
    ढीलै भए पनि यिन को बुद्दि फिरेकोमा धन्यवाद / तथाकथिक जनयूद सुरुगर्दानै एस्तो बिचार आएको भए अहिले यो अबस्था आउदैन थियो होला

Comments are closed.

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme