Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई दिन सकियो, औपचारिक वार्ता सुरु भएन; धन्न शनिबार मृत्युगन्ती चैँ गर्नुपरेन

Posted on September 12, 2015September 13, 2015 by Salokya

२०७२ भदौ २६ गते शनिबार
प्रमुख तीन दलले वार्ताका लागि संविधानको संशोधन प्रस्तावमा मतदानको प्रक्रिया दुई दिनका लागि रोकेकोमा आज अन्तिम दिन। तर आज दिनभर औपचारिक वार्ता हुन सकेन। तराईका तनावग्रस्त जिल्लाबाट हरेक दिनजस्तो आउने मृत्युका खबरले नेपाली हुँ भन्ने जोकसैलाई पोल्थ्यो। धन्न आज त्यस्तो खबर आएन। के के भए त शनिबार दिनभरका राजनीतिक गतिविधि?

भएन वार्ता, वातावरण बनाउने प्रयास
आन्दोलनरत मधेसी मोर्चा र थारुहरुसँग औपचारिक वार्ता हुन सकेन। तर वार्ताको वातावरण भने बन्यो। थारुहरुले सरकारसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरे भने सहर र राजमार्ग केन्द्रित गरी आन्दोलन कायम राख्ने निर्णय गरे। मधेसी मोर्चासँग भने अनौपचारिक वार्तामात्र भयो।


मोर्चाको एक घटक तमलोपा अध्यक्ष महन्थ ठाकुरसित सरकारको तर्फबाट काग्रेस नेता तथा मन्त्री महेश आचार्य, आनन्द प्रसाद ढुगांना र एमाले नेता विष्णु पौडेलले संयुक्त रुपमा भेटेर वार्ताबारे छलफलसम्म गरे। प्रधानमन्त्री सुशील कोइरालासित आइतबार बिहान हुने भनिएको भेटले मोर्चासँग औपचारिक वार्ता हुने नहुने प्रष्ट हुनेछ। असन्तुष्ट अर्को दल विजयकुमार गच्छदारसँग पनि शनिबार कुनै वार्ता भएन। यसले आइतबार ११ बजे बसेर शीर्ष नेताले सम्बोधन गर्ने भनिएको संविधानसभाको बैठक समयमा सुरु हुने नहुने अन्यौल हुने भएको छ।

कमल थापा संविधानसभामा फर्कने

प्रत्यक्षमा एउटा सिट नजिते पनि समानुपातिकका सिटहरुमा कारण चौथो शक्ति बनेको कमल थापाले संविधानसभाको प्रक्रियाबाट अलग हुने घोषणा गरेर भाउ खोजेपछि प्रमुख तीन दलले बिहीबार बालुवाटारमै बोलाएर उनले खोजे अनुसारको पत्र पनि लेखेका थिए। केपी ओलीले त्यो बैठक बारे गरेको ट्विटलाई कोट गर्दै थापाले पहिलो पटक प्रमुख चार दल एकै ठाउँमा समेत लेख्न भ्याए।

पहिलो पटक "प्रमुख" ४ दल एक ठाउँमा !! https://t.co/ApL5UdS46S

— Kamal Thapa (@KTnepal) September 10, 2015


त्यही अनुसार आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभामा फर्कने निर्णय गर्‍यो। योसँगै संविधान बनाएको जस लिने काम पनि उसले गर्न पाउने भयो।

संयुक्त राष्ट्र संघको चासो

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले संवाद र अहिंसाको महत्त्वमा जोड दिँदै संविधानमा मतदानको प्रक्रियालाई अस्थायी रुपमा स्थगित गर्ने कार्यको प्रशंसा गरे। यही मौकालाई उपयोग गर्दा अर्थपूर्ण संवाद थाल्न उनले सुझाए।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पनि विज्ञप्ति निकाल्दै सेना परिचालनतर्फ संकेत गर्दै सुरक्षा संयन्त्र परिचालनसम्बन्धमा पछिल्लो समयको निर्णयको पुनर्विचार गर्न र बन्द र हड्ताल फिर्ता लिई वार्ता गर्न आग्रह गरेका छन्।

बाबुरामको २४ घण्टे स्टायटसले सोसल मिडियामा हङ्गामा

एमाओवादी नेता बाबुराम भट्टराईले बिहान १० बज्नुअघि लेखेको एउटा स्टायटसले सोसल मिडियामा दिनभर हङ्गामा भयो। सुगौली सन्धिको २०० औँ वर्षलाई सन्दर्भ पारेर उनले दलहरुले राखेको वार्ताका लागि दुई दिने म्याद सकिन २४ घण्टा बाँकी रहेको भन्दै यो अवधिमा सार्थक वार्ता नभए देश टुक्रन पनि सक्ने संकेत गरेका थिए। उनले लेखेका थिए- आजको २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० बर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने कुराको शायद फैसला गर्नेछ!

सुगौली-सन्धीको यो २०० औं बर्ष हो! आजको २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० बर्षसम्म भोग्दै आएको मातृभूमि नेपाल…

Posted by Dr. Baburam Bhattarai on Friday, 11 September 2015

तराईको स्थिति विस्फोटक बन्दै गएको बेला त्यसलाई सम्बोधन नगरी अघि बढ्न नसकिने उनले बताएको भए पनि सामाजिक सञ्जालका उग्र राष्ट्रवादीहरुले उनको देश टुक्रने चिन्तालाई भारतीय राजदूतको सक्रियतासित जोडेर गर्नु गाली गर्न भ्याए। अनिष्ट हुन्छ भनेर ट्विटेको भोलिपल्टै कैलाली घटना भएकोलाई समेत जोडेर उनको आलोचना चर्कोसँग भइरहेको छ।

तराईको तनावको यस्तो हाल

आन्दोलनको आगो दन्किएको तराई/मधेसका जिल्लाहरुमा आज मृत्युगन्ती गर्नुपरेन। तर तनाव जारी रह्यो।
धनुषा : शुक्रबार तीन जनाको ज्यान गएको जनकपुरमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र वैद्य माओवादीको धनुषा जिल्लाको बैठकले मारिएका संजय चौधरी, निकू यादव र दीलिप यादवलाई शहीद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म र एसपी गणेशबहादुर थापा र सशस्त्र एसपी रवीन्द्र ठाकुरलाई कारबाही नगरेसम्म शव नबुझ्ने र अन्तिम संस्कार नगर्ने निर्णय गरेको छ। उनीहरुले जारी गरेको विज्ञप्तिमा प्रहरी प्रशासनलाई कुनै प्रकारको राशन खाद्य सामाग्रीको आपूर्ति नगर्न पनि भनिएको छ। जनकपुरमै प्रहरीलाई पानी खुवाएको भन्दै पूर्वाधार साप्ताहिकका पत्रकार अर्जुन क्षेत्रीको घर तोडफोड। हिजोको झडपका क्रममा एक प्रहरी घाइते भएपछि जबर्जस्ती घरमा पसी पानी खाएको अर्जुनका बुबाले बताएछन्। यो घटनाले त्यहाँको द्वन्द्व कुन स्तरसम्म चर्किएको छ भन्ने प्रष्ट पार्छ।

जनकपुर हिजोदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा भएपछि धनुषाका गाउँगाउँमा प्रहरी चौकीमा ढुंगामुढा भएपछि चार प्रहरी चौकीका प्रहरी शनिबार फिर्ता बोलाई नजिकका इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गाभिएको छ। काठमाडौँमा बस्नेलाई आन्दोलनको राप र ताप थाहा नभए पनि यस्ता घटनाले मधेसका गाउँगाउँसम्म आन्दोलनले पारेको प्रभाव आँक्न सकिन्छ। ती ठाउँहरुमा प्रहरी नभएपछि शान्ति सुरक्षा झन् बिग्रन सक्छ। जनकपुरमा लगाइएको कर्फ्यु शनिबार साँझ ६ देखि ८ बजेसम्म दुई घण्टाका लागि खुला गरिएको थियो।

बारा : मनहर्वाको रिलायन्स चिनी उद्योगबाट काठमाडौँ र तनहुँका लागि चिनी बोकेर जाँदै गरेको तीन वटा ट्रकमा आन्दोलनकारीले आगो लगाइदिए।
जलेश्वर : प्रहरीको गोली लागी मृत्यु भएपछि भदौ २३ गते राति ८ बजेदेखि लगाइएको कर्फ्युले जनजीवन कष्टकर बन्दै। तीन दिनदेखि घरभित्रै थुने जस्तै गरी बस्नु पर्दा आक्रोश भड्किन सक्छ।
सर्लाही : प्रहरी चौकी तोडफोड गरी आगो लगाउन खोजेको अभियोगमा तमलोपाका सभासद् जंगीलाल रायसहित चार जनालाई प्रहरीले पक्र्यो।
सिरहा : मिर्चैयास्थित सेक्टर वन कार्यालयमा आगो लगाइयो।

असर देखिन थाल्यो : तराईका जिल्लाहरुमा भएको बन्दले गोरखामा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको समाचार आएको छ।

धर्मको विषयमा तनाव
यता काठमाडौँमा धर्मको विषयमा बानेश्वरमा केही समय तनाव भयो। धर्म निरपेक्षता कायम गर्नुपर्ने लगायतका नारा राखेर अनसन बसिरहेकामाथि हिन्दु धर्म घोषणा गर्नुपर्ने पक्षकाले आक्रमण गर्दा प्रहरीले टियर ग्यास हान्नुपर्ने स्थिति आयो।

1 thought on “दुई दिन सकियो, औपचारिक वार्ता सुरु भएन; धन्न शनिबार मृत्युगन्ती चैँ गर्नुपरेन”

  1. devu says:
    September 13, 2015 at 1:02 am

    एस्त भतुवा हरु प्रमुख दल .. भातमारा हरु खाली जात को कुरा गर्यो धर्म को कुरा गर्यो , भड्काउने कुरा गर्यो.. पार्टी को लागि तलब पाक्यो??? ,, इनिहरुलाई आउने नै यत्ति हो… ये नेपाली हरु जागौं उठौ अब इनिहरु लै ठिक पार्ने बेला आयो .. अब पनि हामीले केहि गरेनौ भने… देश गृह युद्ध तिर नजाला भन्न सकिन्न है..

    हामी सबै जनता पुलिस आर्मी एक हौ..
    हामी हरेक धर्म लै समान मान्छौ. हामी नेपाली भगवान लै मान्छौ धर्म लै होइन.. हाम्रो नेपाली क लागि सबै धर्म प्यारो थियो र प्यारो हुनेछ…
    हामी मधेशी , नेवार, बाहुन छेत्री, भोटे, शेर्पा, लिम्बु भन्दा पहिले नेपाली हौ,, र हामी नेपाली भनेर गर्ब गर्छौ.
    हामी सम्पूर्ण नेपाली लै अवसर चाहिएको छ..
    अवसर को लागि फटाहा हुने , नेता हुने , कार्यकर्ता हुने , चाप्लुसी गर्न जान्ने हैन …. आफ्नो कार्य chyamata को आधार मा अवसर पाउनु पर्छ भने नेपाली को चाहना हो.
    चाहे बाहुन, चाहे नेवार चाहे थारु चाहे मधेस,, सबैको दुख को कदर होस्.
    Chyamata को कदर गरौँ न कि भासन को.

    हामी नेपाली पहिले पनि एक थियौ अहिले पनि एक छौ र पछि पनि एक हुनेछौ…….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme