Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के के भयो बिहीबार देशमा?

Posted on September 10, 2015September 11, 2015 by Salokya

अघिल्लो दिन आन्दोलनका क्रममा पाँच पाँच जना मारिएको दुःखलाग्दो खबरले अत्याए पनि बिहीबार धन्न त्यस्तो सुन्नु परेन। संविधान जारी गर्न प्रमुख दलहरुको प्रयास अगाडि बढाइरहेका बेला तराईका केही जिल्लाहरुमा तनाव भने जारी रह्यो। २०७२ भदौ २४ गते के के भए त प्रमुख घटना?

  • पहाड तताउने प्रयास : तराईमा आन्दोलन चलिरहेकै बेला पहाडमा तताउने क्रम सुरु भएको छ। यसै क्रममा लिम्बुवान संयुक्त संघर्ष समितिले भदौ २४ र २५ गते घोषणा गरेको दुई दिने बन्दको पहिलो दिन अरुणपूर्वका नौ जिल्ला झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा तेह्रथुम र संखुवासभामा शान्तिपूर्वक बन्द सम्पन्न भयो। संघीय लिम्बुवान पार्टी, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान स्वशासित संघ, लिम्बुवान राज्य परिषद, लिम्बुवान राष्ट्रिय मोर्चा, लिम्बुवान प्रादेशिक समिति, सामाजिक लोकतान्त्रिक पार्टीले संयुक्त मोर्चा बनाइ बन्द गरेका थिए। त्यसमा लिम्बुवान मुक्ति मोर्चा एमाओवादीको जातीय मोर्चा हो।

zkYcbu6

  • खाली कुर्सी राखेर संविधानको धारामा बहस : आज बस्ने संविधानसभाको बैठकमा तीन दलका शीर्ष नेताहरुले बोल्ने भनिएको थियो। तर यो कार्यक्रम भोलिसम्मका लागि सर्‍यो। संविधानको विधेयकमाथि दफावार छलफल हुँदा संविधानसभाको कुर्सी खाली खाली देखिन्थ्यो। मधेसकेन्द्रित सबै दलहरु, चौथो ठूलो दल राप्रपा नेपालसमेत प्रक्रियाबाट बाहिरिएपछि यस्तो दृश्य देखिएको हो। कांग्रेस र एमालेले सभासद्हरुलाई सचेतक मार्फत् संविधानको विधेयकमा संशोधन हाल्न कडाई गरेपछि कांग्रेसकै सभासद्ले दुई श्रीमतीको कथा सुनाएर व्यङ्ग्यसमेत गरे।
  •  मधेसको हाल : आन्दोलन र मृत्युको खबर दिनदिनै आउने मधेसका जिल्लाबाट मृत्युको खबर सुन्नु नपरे पनि तनावका खबर भने आइ नै रह्यो।  सप्तरी पनि आजबाट दङ्गाग्रस्त क्षेत्र घोषणा भयो। पूर्वपश्चिम राजमार्गको पूर्वमा कोसी ब्यारेजदेखि पश्चिममा कमला बलान र कदमहादेखि उदयपुर जाने बाटाको आसपास क्षेत्रमा आज राति १० बजेदेखि अर्को आदेश नभएसम्म दङ्गा क्षेत्र घोषणा गरिएको हो। तीन दिनदेखि मधेसी दलका कार्यकर्ताले हिंसात्मक प्रदर्शन, आगजनी र पूर्वपश्चिम राजमार्गका ठाउँ ठाउँमा ढुङ्गा र रुख ढालेर सडक अवरुद्ध गरेका छन्। राजमार्गका विभिन्न ठाउँमा अहिले हजारौँको सङ्ख्यामा सवारी साधन पूर्वको इटहरी र पश्चिमको लहानमा अलपत्र परेका छन्।

Shubhak-Mahato (5)

थप फोटो यता

टीकापुरमा एसएसपीसहित आठ सुरक्षाकर्मी मारिएको घटनामा माओवादी पूर्व लडाकु सहभागी भएको बुझिएको राष्ट्रिय मानवअधिकार आयोगले जनायो। त्यहाँ बन्द भएको ३४ दिन र कर्फ्यु लाग्न थालेको मात्रै २१ दिन पुगेछ। उता, नेपालगञ्जमा आन्दोलनका अगुवा एमाले नेता चन्द्रबहादुर चौधरी र मधेसी नेता इस्तियाक राई नेतृत्वबाट बाहिरिएपछि आन्दोलनको प्रभाव मत्थर हुन थालेको, स्वस्फूर्त ढंगले यातायात सञ्चालनमा आएको र बजार खुलेको छ। हिजो सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएको ठाउँ जलेश्वरमा सेना सडकमा देखियो, कर्फ्यु कायमै राखियो। हातमा कुचो बोकेर महिलाहरुले कर्फ्यु तोड्न खोजेपछि टियरग्यास हान्नुपर्‍यो। प्रहरी चौकी सारिएपछि आक्रमणको निशाना बन्यो। हिजो प्रहरीको गोली लागेर आठ आन्दोलनकारी र नौ प्रहरी घाइते भएको ठाउँ सिराहाको राजमार्ग क्षेत्रमा दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना उतारियो। निषेधाज्ञा जारी गर्दागर्दै पनि प्रदर्शन भएपछि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको हो। हिजोदेखि झडप हुन थालेको विराटनगरमा आज पनि झडप जारी रह्यो। जनकपुरमा पनि महिलाहरुले झाडु बोकेर जुलुस निकाले। मधेसी मोर्चाले भोलि जनकपुर केन्द्रित गरी जनकपुर भरौँ नारा दिएर कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले शुक्रबार बिहान ६ बजेदेखि अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको छ।

  • वार्ता प्रस्ताव अस्वीकार : तीन दलका शीर्ष नेताले हस्ताक्षर गरेको हिजोको वार्ता आह्वानको पत्रलाई बाबुराम भट्टराईले नै उडाएका थिए भने आन्दोलनरत दलहरु के मान्थे! संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको भैरहवामा बसेको बैठकले वातावरण बनेको छैन भन्दै वार्ता प्रस्ताव अस्वीकार गरिदियो। के रैछ त वातावरण भनेको चैँ? पुरानो सम्झौता कार्यान्वयन, संविधान निर्माण प्रकृया स्थगन, सेनालाई ब्यारेकमा फिर्ता, आन्दोलनमा दमन बन्द, मर्नेलाई सहिद घोषणा र घाइतेको उपचार सरकारले गर्नुपर्ने।
  • भाउ खोज्दै कमल थापा : हिजो संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग भएको घोषणा गरेको राप्रपा नेपालका कमल थापाले खासमा भाउ खोजेका रहेछन्। उनी भोलिदेखि संविधानसभामा फर्कने देखियो। आज बालुवाटारमा तीन दलका शीर्ष नेताले कमल थापालाई भाउ दिएका थिए। भाउ दिनैका लागि एउटा पत्र पनि तीन दलका शीर्ष नेताको हस्ताक्षरमा दिइएपछि राप्रपा नेपाल प्रक्रियामा फर्कन सकारात्मक देखिएको हो।

rpp

  • प्रक्रिया रोक्न आह्वान : पत्रकार किशोर नेपाल र विजयकुमारले आर्टिकल लेखी संविधानसभाको प्रक्रिया रोकी वार्ता गर्न आह्वान गरेका छन्। किशोर नेपाल लेख्छन्-

अहिले प्रक्रियाको नेतृत्व गर्दै रहेका नेताहरुमा साँच्चै देशप्रेमको भावना छ भने संविधान निर्माणको कथित प्रक्रिया तत्काल रोकेर आन्दोलनकारीसँग वार्ता गर्नु पर्दछ। दश/पन्ध्र दिन प्रक्रिया रोक्दैमा आकाश खस्ने वाला छैन र धर्ती पनि भासिने होइन। दशकौंदेखि जनताको संविधान जनताले नै लेख्ने चाहना राख्ने जनताको छातीमा गोली ठोकेर लेखिने संविधानको कुनै मान्यता रहँदैन। जनताको रगतले लतपतिएको संविधानले देशको भलो कहिल्यै गर्दैन। देशको अस्तित्वको सुरक्षा जनता आफैंले गर्दछ। किनभने, सेना लगायतका सुरक्षा संस्थाहरु सजिलै पराजित हुन्छन। तर, जनता कहिल्यै पराजित हुँदैन। पूरा पढ्नुस्

विजयकुमार लेख्छन्-

एसियाको दोस्रो गरिब देशको हविगत योबाहेक अरू के पो हुन सक्थ्यो र ? अब त्यसले नपुगेर नानाथरी बितन्डा नथपौं। त्यसका लागि संविधानसभाको प्रक्रिया केही दिनलाई रोकौं र जबाफमा मधेसवादी दल, थरुहट लगायत सबैले आ–आफ्ना आन्दोलन केही दिन स्थगन गरौं।
ठन्डा मस्तिष्कले कुनै नयाँ सिर्जनात्मक उपाय सोचौं।
नेपालको संविधान एक–दुई सातापछि आउँदैमा रामराज्यको चिठ्ठा हाम्रो हातबाट फुस्कने त होइन होला नि ! फेरि हाम्रा नेता ब्रह्मा पनि त होइनन्, जसले एक्लै चिताउँदैमा उत्पादन गर्ने र उत्पादन गरिसकेपछि टिकाउने मानसी क्षमता राखून्। पूरा पढ्नुस्

त्यस्तै एमाओवादीले पनि आवश्यक परे एक-दुई दिन प्रक्रिया रोकेर भए पनि वार्ता गर्न सकिने निश्कर्ष निकालेको छ। यो निश्कर्ष पार्टीको औपचारिक निर्णय नभएर पार्टीभित्रका शीर्ष नेताहरुको मात्रै रहेछ। शुक्रबार बिहान हुने तीन दलको वार्तामा माओवादीले यो प्रस्ताव राख्दैछ। माओवादीले कम्तिमा गच्छदारलाई मनाउनु पर्ने भनेको छ। शुक्रबारको बैठकले प्रक्रिया रोक्ने, अगाडि बढाउने वा ढिला गर्ने निर्णय गर्ने भएकोले महत्त्वपूर्ण छ। नत्र बुधबारको तयारी त शुक्रबारदेखि नै संशोधनमाथि भोटिङ थाल्ने थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme