Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खेलकुद मन्त्रीको पद खुस्किएला त? अख्तियारले त गर्‍यो अनुचित कार्य गरेको ठहर

Posted on September 12, 2015September 12, 2015 by Salokya

minister_purustom_moys युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको कुर्सी खुस्किने खतरा बढेको छ। त्यसो त पौडेलको कुर्सी यसअघि पनि एक पटक धरापमा परिसकेकै हो। केपी ओलीले उनलाई राजीनामा दिन अह्राएको खबर आइसकेको थियो। तर उद्दार गर्न आइदिए माधव नेपाल पक्षका नेताहरु। ‘मन्त्री भन्या अध्यक्ष एक्लैले हटाउने हो? पार्टीमा निर्णय गर्नुपर्छ’ भन्दै चुनौति दिएपछि यो मामिला सामसुम भयो। सामसुम भएको जस्तो भा रैछ। अब अहिले फेरि कुर्सीमा खतरा आइलाग्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रीले अनुचित कार्य गरेको ठहर गर्दै कारबाहीका लागि प्रधानमन्त्रीलाई पत्र पठाएको छ। अब प्रधानमन्त्री सुशील कोइरालाको हातमा छ सबै- खासमा त नैतिक रुपमा पनि यस्तो अनुचित कार्य गर्नेलाई आफ्नो क्याबिनेटमा राखिरहन मिल्दैन। तर नेपाल जस्तो नैतिकता हराएको देशमा जे पनि हुनसक्छ। के थाहा निर्लज्ज रुपमा पौडेललाई च्यापेरै बस्ने पो हुन् कि। खासमा अख्तियारले उनलाई किन दोषी देखाएको हो त?

अरु मुद्दामा जस्तो आर्थिक अनियमितता सिधै देखाइएको छैन यसमा। तर पनि आफ्नो पदको दुरुपयोग गर्दै गर्न नहुने काम गरेको ठहर भने गरिएको छ।

आफ्नै अध्यक्षतामा बसेको बैठकले विभागीय कारबाही गर्न सिफारिश गर्ने अनि त्यही व्यक्तिलाई कारबाही अवधिमै राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव जस्तो पदमा नियुक्त गरको देखिएपछि अनुचित कार्य गरेको पुष्टि भएको बताउँछ अख्तियार।

यो केस बुझ्न तपाईँलाई एक वर्षअगाडि जानु पर्छ। सन् २०१४ को सेप्टेम्बर अक्टोबरको कुरा। दक्षिण कोरियाको ईन्चोनमा भएको १७ औं एसियाली खेलकुद प्रतियोगिता। त्यहाँ गएको टोलीबाट चार जना उतै बेपत्ता भएका थिए। खासमा खेलाडीको आवरणमा उनीहरुलाई लगिएको र ४ जना व्यक्तिलाई प्रति व्यक्ति रु. १५ लाख लिई कोरियामै भगाएको आरोप थियो। यसमा हात भएको भन्दै केशवकुमार विष्टलाई सबैखाले खेलकुद गतिविधिमा प्रतिबन्ध लगाइएको थियो। तर उनै व्यक्ति २०७२ असार १० गते खेलकुद मन्त्रीको निजी सचिवालयको लेटरप्याडमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा नियुक्त भए। यो गैरकानूनी भयो भन्दै उजुरी परेको थियो आयोगमा।

आयोगले अनुसन्धान गर्दा यस्तो देख्यो-

मन्त्री पुरुषोत्तम पौडेलकै अध्यक्षतामा कार्य सम्पादन तथा व्यवस्थापन समितिको मिति २०७१ कात्तिक २ गते समिक्षात्मक बैठक बस्यो एसियाडबारे।

बैठकमा खेलाडी भगाउन खेल प्रशिक्षक र व्यवस्थापकको भूमिका निर्वाह गर्ने सेपाक ताक्रोका व्यवस्थापक केशव विष्टसमेतलाई जिम्मेवारीबाट १ वर्षसम्मको लागि विभागीय कारबाही गर्न राखेपलाई सिफारिस गर्ने निर्णय भयो।

यो निर्णय कार्यान्वयनका लागि तीन दिनपछि युवा तथा खेलकुद मन्त्रालयद्ले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेख्यो। राखेपले भदौ २० गते निर्णय गर्दै टिम व्यवस्थापकहरूलाई १ वर्षको लागि उनीहरूले सम्पादन गर्दै आइरहेको संघको जिम्मेवारीमुक्त गर्ने गरी टिप्पणी सदर गर्‍यो।

यसरी जिम्मेवारीमुक्त भएका व्यवस्थापक लगायतका पदाधिकारी एवं सदस्यहरुलाई सोही अवधिभित्रै जिम्मेवारी दिन मिल्छ कि मिल्दैन? यस विषयमा अख्तियारले खेलकुद विकास नियमावली, २०४९ को नियम १० (क) बमोजिम बनेको राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय खेल संघ कार्य सहजिकरण कार्यविधि, २०७० को परिच्छेद १० को दफा १०.४ लाई उद्धृत गरेको छ।

त्यसमा निलम्बन वा खारेजीमा भएको राष्ट्रिय संघ, संघका पदाधिकारी तथा सदस्यहरूले कुनै खेलकुद गतिविधि संचालन गर्न, सहभागी हुन र कुनै सरकारी सुविधा प्रयोग गर्न पाउने छैन भनी स्पष्ट किटानी व्यवस्था गरेको छ।

‘त्यसैले १ वर्षका लागि जिम्मेवारीमुक्त भई कारबाहीमा परेका व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव जस्तो मर्यादित एवं गरिमामय पदमा नियुक्त गरेको देखिँदा गैरकानूनी तवरबाट माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जानी जानी आफूलाई प्राप्त अधिकार सम्बन्धित कानून, निर्णय वा आदेश विपरीत अर्कै उद्देश्यले प्रयोग गरी आफ्नो तजविजी अधिकार बदनियत साथ स्वेच्छाचारी रूपमा प्रयोग गर्नुका साथै आफ्नो पदको प्रकृति अनुसार पालना गर्नुपर्ने पदिय कर्तव्य पालना नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ को खण्ड (ग), (घ) र (छ) अनुसारको अनुचित कार्य गरेको पुष्टि हुन आएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

कस्तो कारबाही ?

अख्तियारले सोही ऐनको दफा १२.क बमोजिम माननीय मन्त्री पुरुषोत्तम पौडेललाई आवश्यक कारबाहीका लागी प्रधानमन्त्रीलाई अनुरोध गरी लेखी पठाएको छ।

यसैगरी मन्त्री विष्टले गैर कानूनी तवरवाट नियुक्त गरेको देखिदा सो नियुक्तिका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२.ख बमोजिम सच्याउन युवा तथा खेलकुद मन्त्रालयमा पनि अख्तियारले लेखी पठाएको छ।

भनेपछि प्रधानमन्त्रीले नैतिकता बिर्सिएर मन्त्री पौडेललाई च्यापी राखे पनि सदस्य सचिवमा विष्टलाई नियुक्त गर्ने निर्णय भने सच्याउनु पर्नेछ।

मन्त्री पौडेलले मार खाएको अर्को विषय चाहिँ मन्त्रिपरिषद्बाट निर्णय गरेर राखेप सदस्य सचिव नियुक्त गर्न नसक्नु हो। मन्त्रिपरिषद्को निर्णयलाई अख्तियारको दायरामा पर्दैन। तर मन्त्री पौडेलले राखेप अध्यक्षका हैसियतले केशवकुमार विष्टलाई असार १० गते नियुक्त गरेका थिए। त्यसैले उनी फन्दामा परे।

अब हेरौँ के हुने रहेछ यो केसमा, किनभने देश यस्तो छ कि जे पनि हुनसक्छ।

5 thoughts on “खेलकुद मन्त्रीको पद खुस्किएला त? अख्तियारले त गर्‍यो अनुचित कार्य गरेको ठहर”

  1. ramu says:
    September 12, 2015 at 7:47 pm

    ६-७ लाखमा मन्त्रीलाई जोडेर त्यो पनि राजिनामा दिनु पर्छ भनेर कस्तो मन्त्रीकै बेईज्जत गरेको त।राधा ज्ञवाली भन्नेले ५५ करोडको घोटाला गरेको भनेर लेखा समितिले भन्दा त अहिले सम्म पद खुस्किएको छैन।कस्तो जोक गरेको?

    Reply
    1. Kamal says:
      September 12, 2015 at 10:47 pm

      तेसो भे बाजेले मात्र होइन बज्यैले पनि धुन्धानले लुटेकि रहिछिन| उंहा पनि एमालेकै पर्यो होला|
      पार्टीलाई लेबी तिरेर पार्टीको भवन बनाउने र र देश डुबाउने काम गर्ने हो|
      राधालाई उहिले निकाली सक्नु पर्ने हो| भनेछी एमालेमा राधा ज्ञवाली भन्दा जान्ने अरु कोहि छैन|

      Reply
  2. Ekraj says:
    September 12, 2015 at 2:51 pm

    नेपाल मा भ्रस्टचारी र हुलिया.र निगेम तोड्ने र डाँका हरुले ले नै राज्य सत्ता चलायोकेले तो पौडेल भन्ने मन्त्रि अरु भन्दा सारै फरक छैन होला. तेशैले प्रधान मन्त्रीले यसलाई पद बाट हतायेनन भने यी मिलिजुली खाने चोर हरुले कुनै मन्त्रीलाई करबि गरिहल्लन जस्तो लाग्दैन.
    हेरौं अखियर को खुबी केहो भनेर!

    Reply
  3. john gauchan says:
    September 12, 2015 at 2:23 pm

    परेको म बेहोर्छु गर्न त गर भनेर गरे १५ लाख नलाग्ने ठाउमा विवादमा परे ,, ए हो तेसो पो गरे खेलकुद मन्त्रीले ठिकै छ नि , भन्न नमिल्ने ,लौ खत्तम पारो बर्बाद पारो दाम्नाले १५ लाखमा त युरोप तिर पो पो लाग्छन त … किन कि मन्त्रि हो गर्छ ,के गर्छ भने कर्मचारी नियुक्ति गर्ने काम गरि विवादमा परे ,,हैत……वहा बरिष्ठ तनावै तनाव हुदा नि बिवादित्लाइ भर्ना गरेर हवस् त नमस्ते गर्नु भो , मुखमा हान्नु जस्तो , खै के खै के गरेर पद धरापमा पारे मुर्ख हरु जाबो कोरियाको १५ लाख तिर्ने नपाउनेले केरा पायो बोक्रो सित खायो मन्त्रीलाई फसायो ,

    Reply
  4. Pyuthan says:
    September 12, 2015 at 11:11 am

    यिनी खेलकुद मन्त्रि होइन, चलखेल र भ्रस्टचार मन्त्रि हुन् जुन उनको क्रियाकलापले सिद्ध भैसकेको छ| राखेप उनको बाऊको बीरता सरह गर्न खोजेका छन्| माधव नेपाललाई हातमा लिएर ओली बिरुद्ध उक्साएको छ र बिष्टलाई नियुक्ति दिएर पेलेपछि जे गरे पनि हुन्छ जस्तै ठानेको छ|
    सदस्य सचित युवराजलाई बिनसित्ति राखेपबाट हटाएर र उनको सट्टामा मन्त्रालयकै अर्का पौडेललाई निमित्त्मा नियुक्ति दिए| सर्बोच्चले त्यो मानेन| हटाउनै थियो त् कुनै आरोप वा अयोग्यता सिद्ध गराएर नियम पुराएर हटाउनु पर्ने थियो| मन्त्रीको प्राइभेट कम्पनि हो राखेप जसलाई पायो उसलाई जुनबेला हटाउने र नियुक्ति दिने? माकुने र झले साथमा भए तुक्का गफादार ओलीलाई फकाउन सकिन्छ भनेर ढोल पिट्न माहिर छन्|
    यस्तो मन्त्रिलाई तुरन्त बर्खास्त गर्ने मात्र होइन, सजाय पनि हुनपर्छ र भविष्यमा मन्त्रि लगायत कुनै सरकारी पदको नियुक्तिको लागि अयोग्य घोषित गरिन पर्छ|
    केशव बिष्टको कोरिया काण्डमा मन्त्रि पनि फायदा ग्राही थिए?
    कृषि मन्त्रिलाई रोपाई काण्डमा सलग्न हुँदा तुरन्त बर्खास्त गरिने तर चलखेल मन्त्रि लाई चाँही किन अबेर गरिएको हो एमालेले बुझ्नपर्ने हो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme