Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बौद्धिक जगतमा चोरी र ठगीका धन्दा

Posted on September 5, 2015September 5, 2015 by विज्ञान बा

परम्परागत हिसाबले हाम्रोमा “गुरु” भनेको अत्यन्त आदरणीय सम्बोधन हो । अझै पनि “गुरु” कै नाममा गुरु-पूर्णिमा मनाउँछौं । आफू जहाँ पुगे पनि, आफ्नै उमेरले डाँडो काटे पनि आफूलाई पढाउने सरहरुलाई बिर्सिदैनौ । शिक्षण पेशा आफैमा मर्यादित पेशा हो । यसमा लाग्ने धेरैले धन कमाइमा हैन ज्ञान प्रसार गरेकैमा सन्तोष प्राप्त गर्छन । आफै शिष्यहरुको ऐना भएकोले नैतिकता प्रति सचेत हुन्छन । त्यस्तै हुन्छ अनुसन्धानमा लाग्ने अनुसन्धानकर्तामा पनि । समग्र बौद्धिक जगत कमाइले भन्दा पनि इमान्दारी र प्यासनले चल्ने संसार हो ।

तर सबै सोचे जस्तो कहाँ हुन्छ र ? हालै नेपाली “बौद्धिक चोरहरु” बारे समाचारहरु आइरहदा यो क्षेत्रमा के कस्ता चोरी र ठगि हुन्छन, केहि चर्चा गरौँ । यहा पैसा कमाउनका लागि नाम मात्रका कलेज खोलेर पीएचडी सम्मका डिग्री बाड्दै हिड्ने ठगिका बारेमा भन्दा पनि अनुसन्धान र जर्नल आर्टिकल सम्बन्धि कुरा गर्न खोज्दैछु । साधारणतया अनुसन्धानमा लागेकाहरुको क्षमताको एउटा महत्वपूर्ण कसी भनेको ओरिजिनल खोजहरुमा जर्नल आर्टिकल प्रकाशन गर्नु वा प्याटेन्ट दर्ता गराउनु हो । आफ्नो पेशागत बढोत्तरी यसैका आधारमा पनि हुने हुनाले धेरैलाई एक किसिमको प्रेसर नै परेको हुन्छ कि राम्रा जर्नलमा अनुसन्धान प्रकाशित गर्नु । त्यसैले भनिन्छ “कि त लेख छपाऊ, कि बर्बाद होऊ” (publish or perish) । यस्तै प्रेसरले कतिपय राम्रा काम भएका छन् भने संगसंगै बौद्धिक दुराचार पनि बढेको देखिन्छ।

जर्नलमा पठाईएका लेख सम्बन्धित विज्ञहरुद्वारा परीक्षण/समालोचना (peer review) गरेपछि मात्र प्रकाशित गर्ने चलन छ । इमान्दारीपूर्वक गरिने यही प्रक्रियामा नै सम्पूर्ण बिज्ञान/अनुसन्धानको बिश्वास अडिएको छ । साधारणतया यो प्रक्रियाले राम्रै काम गर्छ । तर कहिलेकाहीं नाम चलेकै ठुला बैज्ञानिकले बिश्वासघात गरिदिन्छन र नक्कली लेख निकाल्छन भने कतिपयले यो प्रक्रियालाई नै घन-चक्कर खुवाइदिँदा रहेछन्।

अनुसन्धान नै नक्कली
धेरैलाइ थाहा नहुन सक्छ – साना-तिना जर्नलको त कुरै छोडौं, नेचर र सायन्स जस्ता प्रतिष्ठित जर्नलमा पनि जाली लेखहरु छापिने गर्छन । साना-तिना या कतिपय लोकल जर्नलमा खासै वास्ता नगरीए पनि यस्ता प्रतिष्ठित जर्नलमा ढिलो चांडो सत्य तथ्य बाहिर आउँछ र जालि अनुसन्धानको पर्दा-फास हुने गर्छ । यसको राम्रो उदाहरण हो करिब १० बर्ष पहिला कोरियाली बैज्ञानिक Woo Suk Hwang को काण्ड । स्टेम सेलको अनुसन्धान सम्बन्धित नेचर र सायन्समा प्रकाशित संसार हल्लाउने अग्रगामी रिजल्टहरु अन्तत २००६ मा नक्कली भएको फेला परे पछि Hwang राष्ट्रिय गौरवबाट एकाएक बद्नाम पात्र हुन गए । उनलाई बिश्वबिद्यालयले नै छानविन गरेर प्रकाशित लेखहरु फिर्ता लिन मात्र लगाएन, उनलाई बिश्वबिद्यालय बाटै निष्काशन गरियो । सरकारले अरबौ डलरको क्षति पुर्याएकोमा दोषी पनि ठहर्यालयो। प्रतिष्ठित जर्नलहरुले र साथै प्रतिष्ठित बिश्वबिद्यालय या अनुसन्धान संस्थाहरुले शंका लागेमा यसरी आफै छानबिन गरेर पेपर फिर्ता गर्छन् भने जाली काम गर्ने विद्वानलाइ संस्थाहरुले कारवाही गर्छन्। त्यसो गरेर नै जर्नल या संस्थाको इमान बचिरहंछ।

विज्ञ-समालोचना (Peer Review) प्रक्रियामा बदमाशी
नयाँ आर्टिकल पठाउँदा धेरै जसो जर्नलहरुले सो आर्टिकल रिभ्यु गर्न सक्षम सम्बन्धित क्षेत्रका बिज्ञ को को हुन् भनेर ३ – ४ जनाको नाम सुझाव गरि माग्छन । त्यसो त जुन बिज्ञ सुझाव गरियो, जर्नलले त्यसैलाई पठाउँछ या पठाउनु पर्छ भन्ने हुँदैन । तर जर्नलका सम्पादकहरुलाई पनि सबै कुरा थाह हुँदैन, त्यसैले उनीहरु पनि अनुसन्धान गर्नेलाइ नै बिश्वास गर्छन । १-२ जना अलि अलि चिनेको पर्न त सक्लान र चिनेकैले पनि इमान्दार रिभ्यु दिन सक्लान तर सबै आफूले चिनेका र रिभ्यू पनि आफ्नै पक्षमा दिने ग्यारेण्टी भएकाहरु मात्र सुझाव दिनु पनि बौद्धिक दुराचार हो । गत बर्ष नेचरमा एउटा गजबको समाचार आयो ( हेर्नुस: http://www.nature.com/news/publishing-the-peer-review-scam-1.16400 ) जस अनुसार केहि अनुसंधान्कर्ताहरुद्वारा आफ्नो पेपरको समालोचना (review) आफै गरेर प्रकाशित गरेको पाइयो । केहि आफ्नै नक्कली इमेल ठेगाना दिएर आफैलाई या आफ्नै सहकर्मीलाइ बिज्ञ सुझाव गर्ने, अनि आफ्नो कामको समालोचना पनि आफै गरेर पेपर छाप्ने । आँफै बोक्सी, आफै धामी भने जस्तो । यस्तै एक कोरियाली जडिबुटी अनुसन्धानकर्ता मून ले गर्दा रहेछन । तर ढाँटेको कुरो धेरै के टिक्थ्यो, रिभ्यु छिटो छिटो आएकोमा धन्न सम्पादकले संका गरेछन र सब पर्दाफास भएछन । यसले गर्दा २८ वटा प्रकाशित आर्टिकल फिर्ता भएछन भने एउटा सम्पादकले नै राजिनामा दिनु परेछ । त्यस्तै एक ताइवानि बिश्वबिद्यालयका पिटर चेनले नक्कली इमेलको भरमा पीयर रिभ्यू गर्ने एउटा रिङ्ग नै चलाएका रहेछन । उनले त राजिनामा दिनै पर्यो, तर यो काण्डमा ताइवानी मन्त्रि पनि फसेछ्न किनभने चेनको एउटा पेपरमा उनको पनि नाम रहेछ । आफ्नो जानकारी बिना नाम भएको बताए पनि मन्त्रिले नैतिकताको आधारमा राजिनामा दिएछन । यो काण्ड मात्र हैन अन्य कैयौं यस्ता कर्तुतहरु फेला परेका छन् जसमा नक्कली इमेलको भरमा पीयर रिभ्यूलाइ चक्मा दिईएका छन् । अझ कतिले त जर्नलको साइट नै ह्याक गरेर आएका रिभ्युलाइ नै मोडेर आफ्ना पेपर प्रकाशित गर्दा रहेछन ।

प्लेजरिजम: अर्काको बौद्धिक कामको चोरी
अनुसन्धान गर्नु भनेको एक किसिमले तपस्या गर्नु नै हो र अवश्य पनि अनुसन्धानकर्तालाइ आफूले गरेको कामको जस आफैलाई आओस भन्नु स्वाभाविक हो । तिब्र प्रतिष्पर्धा हुने हुनाले अनुसन्धानको नयाँ रिजल्ट प्रकाशित हुन भन्दा पहिले नै चुहिने हो कि भन्ने डर पनि हुन्छ । यसरि नै चोरेर अर्कैले पेपर प्रकाशित गर्ने पनि होलान, जुन प्रमाणित गर्न गार्हो हुन सक्छ । तर एक पटक प्रकाशित भैसकेको अनुसन्धान, लेख, रचनाहरु अर्कैले आफ्नो भनेर प्रकाशित गर्नु बौद्धिक दुराचार हो — जसलाई plagiarism भनिन्छ । रेफेरेंस नै दिएर लेखे पनि हु-बहु उही लेख्न पाइन्दैन । अहिलेको युगमा अनुसन्धानका प्रकाशित रिजल्टहरु या प्रकाशित लेख रचनाहरु सबै कुरा इन्टरनेटमा हुने हुनाले यसरि सार्नु भनेको सरासर मुर्खता पनि हो । आजकल धेरैजसो प्रतिष्ठित जर्नल हरुले हरफहरु अन्य प्रकाशित लेखहरु संग मिलेको छ कि छैन भनेर कम्प्युटर प्रोग्राम प्रयोग गरेर जाँच गर्ने गर्छन । एक दुइ बाक्यमा समानता भए पनि अन्तबाट सारिएको छ भए ठ्याक्क थाह हुन्छ । उक्त प्रोग्राममा प्रकाशित कृतिहरु सबै डाटाबेसमा हुनु पर्ने भएकोले यो प्रक्रिया महँगो हुन्छ । सानातिना जर्नलहरुले यो लागु गर्न गाह्रो हुन्छ, र लेख पठाउने बिज्ञमै बिस्वास गर्नु पर्ने हुन्छ । त्यसैले चोरी आफूले गर्ने, राम्रो संग चेक नगरेको भनेर दोष जर्नललाइ दिन मिल्दैन ।

जर्नल थरि-थरिका
अनुसन्धान गर्ने विद्वानहरुको प्रतिष्ठा जस्तै जर्नलको प्रतिष्ठा पनि इमानमै टिकेको हुन्छ । जर्नलमा पठाईएका लेख सम्बन्धित विज्ञहरुद्वारा परिक्षण/समालोचना गरेपछि मात्र प्रकाशित गर्ने चलन छ । इमान्दारीपुर्बक गरिने यहि प्रक्रियामा नै सम्पूर्ण बिज्ञान/अनुसन्धानको बिश्वास अडिएको छ ।

अलि पहिलासम्म रिसर्च जर्नलहरु थोरै संख्यामा थिए, लेख प्रकाशन गर्न या प्रकाशित लेख पढ्न पनि गार्हो थियो । तर आजकल “ओपन याक्सेस” अनलाइन जर्नलहरु च्याउ जस्तै उम्रिएका छन् । केहि जर्नलहरु निकै प्रतिष्ठित छन् भने धेरै जसो जर्नल हरु कमाइ-खाने भाँडो भएका छन् । पैसा लिएर लेख छापिदिने कयौं जर्नलहरुलाइ पीयर रिभ्युलाइ हल्का रुपमा लिने देखि लिएर अन्य बौद्धिक दुराचार गरिएको आरोप लाग्ने गरेको छ । कतिपय जर्नलहरु एउटा आर्टिकल छापेकै हजार-दुइ हजार अमेरिकी डलर लिन्छन । अझ कतिले त कभर पेजमा निकालेको छुट्टै, हाइलाइट गरेको छुट्टै थप पैसा पनि लिन्छन । कम खर्च लाग्ने ठाउँबाट गुणस्तरको मतलव नगरी प्रकाशित गर्दा मनग्य फाइदा पनी हुँदो हो । त्यसैले त मिठा कुरा गरेर आर्टिकल पठाईदिन अनुरोध गर्दै निकै अनुसन्धानकर्ताहरुलाई दैनिक जसो इमेल पठाउने पनि गर्छन । त्यसैले जर्नलमा प्रकाशित भयो भन्दैमा त्यसको खासै महत्व नहुन पनि सक्छ । जर्नल गतिलो भए नभएको थाह गर्न त्यसको “impact factor” हेरिन्छ तर कतिपय सम्बन्धित क्षेत्रका जर्नल थोरै impact factor का पनि प्रतिष्ठित छन् । त्यसैले आफ्नो अनुसन्धान प्रकाशित गर्दा अलि ख्याल पुर्याएर गर्नु पर्छ, नत्र ठगको फेला पर्न सकिन्छ ।

संदेहास्पद जर्नलहरुको लिस्ट:
http://scholarlyoa.com/2015/01/02/bealls-list-of-predatory-publishers-2015/

जर्नल नक्कली हो कि होइन कसरी थाह पाउने ?
http://blogs.plos.org/mindthebrain/2014/09/24/top-eleven-ways-tell-journal-fake/

नेपालको सन्दर्भमा
आजकल पत्रपत्रिकामा त्रिविका केही “विज्ञ” हरु बारे समाचार पढेर अति दुःख लागेर आयो। बिबादित लेखप्रति टियुका नवनियुक्त भिसी डा. तीर्थ खनियाँको मिडियामा आएको स्पष्टोक्ति सुनेर त झन् अचम्म लागेर आयो। उहाँले भन्नुहुँदो रहेछ कि – जर्नलले रिफरेन्स छुटाएछ त म के गरूँ ? सत्य त यो हो कि- रिफेरेंस राखेर पनि त्यसरी सार्न पाइँदैन । अरुले लेखेको बाक्यहरु हुबहु लेख्दा “उद्दरण” दिनु पर्छ । (त्यसो गर्ने हो भने पुरै लेख ओरिजिनल लेखकको हुँदो रहेछ) । बौद्धिक दुराचार जस्तो जघन्य आरोपको छिनोफानो नगरी त्रिवि कै ठेक्का सुम्पिन सिफारिस गर्नु आफैमा हास्यास्पद छ, जसले सरकारको निकम्मापन र शिक्षा क्षेत्रप्रतिको उदासिनता देखाउँछ । त्यत्रो सम्मान दिइने र आदरले शिर झुकाइने माड्साबहरु नै चोरी गर्ने र राजनीतिक नेताहरुले “क्या बात्” भन्दै उल्टो पदोन्नति दिदै हिड्ने हो भने लाखौँ विद्यार्थीको भविश्यमा खेलवाड मात्रै हैन नेपाली शिक्षा र अनुसन्धान क्षेत्र नै विश्वभर बद्नाम हुनेछ । यति गम्भीर बिषयको न त देश बनाउने जिम्मा लिएका नेताहरुलाइ मतलब छ, न त २ रुपैया बस भाडा घटाउन क्याम्पस तोडफोड गर्ने बिद्यार्थी संगठन हरुलाई मतलब छ । २ – ४ जना पत्रकारले लेखेको समाचारको के मूल्य ? सम्बन्धित सबैलाई यो आग्रह छ कि कसैलाई पनि यस्तो आरोप लागेमा आरोपको छानबिन गरी दोषी ठहर भएमा तुरुन्त पदच्युत गर्नु पर्छ, नत्र नेपालको शिक्षा अगाडि बढ्ने हैन झन् पछाडि धकेलिन्छ।

सम्बन्धित ब्लग
लाज पचेका बौद्धिक चोरहरु : नोबेल प्राइजको प्रेस रिलिज एसोसिएट प्रोफेसर डा. खड्काले यसरी चोरे
विज्ञान बाका अरु ब्लगहरु

8 thoughts on “बौद्धिक जगतमा चोरी र ठगीका धन्दा”

  1. Hridaya says:
    September 6, 2015 at 6:32 pm

    कुरो सहि हो बिज्ञान बा तर के गर्नु , डा. गोबिन्द के सी जस्ता निष्ठावान विज्ञ हरुलाई कति हेय गर्छन देशको डाडु पन्यु लिएर बसेका हरुले हाम्रो नेपालमा , देखि हाल्नु भयो नि !!

    Reply
  2. Rabin says:
    September 6, 2015 at 1:34 pm

    चोर फटाहा र भ्रस्टाचारहरुलाई नै तेस्तो गरिमा पद मा राखे पछि देशको भाबिस्शाये कस्तो होला !

    Reply
  3. Ritika says:
    September 6, 2015 at 8:20 am

    Many many thanks for the great article!
    RIP Tribhuvan University!
    RIP Central Department of Chemistry, TU!

    Reply
  4. Bishwas says:
    September 5, 2015 at 2:11 pm

    एकदम राम्रो सुचनामुलक लेख! धेरै धन्यबाद!

    Reply
  5. Jalan says:
    September 5, 2015 at 10:45 am

    शैक्षिक क्षेत्रमा बौद्धिक चोरी र भ्रष्टचार बारे अनुसन्धान गरी खुलासा हुन् बाँकी नै छ जस्तो लाग्छ| आफ्नो सोर्स फोर्सले डाटा दियो र अरुलाई हेरिदिनोस भनेर थेसिस लेखाईमाग्यो र पी एच डी झुन्डाउने हरु धेरै छन्| हाम्रा मेडियाले खर्च गरेर खोजिमुलक रिपोर्ट तयारी गर्ने हो भने आफ्ना हुनेवाला स्पौज वा चार्म वा पावरको प्रभाव प्रयोग गरेर पी एच डी लिनेहरुले डर मान्न थाले हुन्छ|
    बिहार, युपी, पन्जाबका कतिपय ठाउँहरुबाट पी एच डी वा कुनै डिग्री लिने हरु लाई नियालेर अनुसन्धान गरिनपर्छ| कतिवटा युरोपकै पी एच डी हरु पनि हावा छन्|
    कुन बिषयमा थेसिस लेखिएका हुन् त्यो पनि अब सेन्ट्रल डाटा ब्याङ्क बनाएर बिद्यार्थी हरु लाई एक्सेस हुने गरेर वेब साइटमा राखिन पर्छ|

    Reply
  6. नम्रता says:
    September 5, 2015 at 7:36 am

    यस्ता डाक्टरको अगाडी चोडा थप्दा राम्रो होला | जस्तै चोडा. तीर्थ खनिया |

    Reply
  7. Raaz says:
    September 5, 2015 at 7:30 am

    Perfect writing! Thanks writer!

    Reply
  8. Shankar says:
    September 5, 2015 at 5:21 am

    तपाइले धरै को जिज्ञासा मिटैदिनु भो | धन्यबाद छ |
    साथै यो पनि सुझाब छ तपाइँ को ”बिज्ञान बा ” उपनाम बाटै लेख्न निरन्तरता दिनुहोस |
    किनकि आजकाल ढेश मा एस्तो बातावरण आयो कि बिचार भन्दा थर हेर्ने ! ये ”दाहाल ” ले लेख्यो , यो पुष्प कमल जस्तै फताह रहेछ , ये भट्टराई ले लेख्यो , यो बाबुराम जस्तै फताह रहेछ , ये कोइराला , यो गिरिजा जस्तै बेइमान रहेछ आदि आदि |

    Reply

Leave a Reply to Raaz Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme