Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोर्चाको प्रस्ताव : तिमी मलाई ज्यान देऊ, म तिमीलाई ५० लाख दिन्छु

Posted on August 20, 2015August 20, 2015 by Salokya

morchaभारतीय स्वतन्त्रता स‍ं‌ग्रामका नेता सुभाषचन्द्र बोसको भनाई थियो- तिमी मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिन्छु। सीमाङ्कनको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बुधबार काठमाडौँमा बसेको बैठकले यही शैलिको निर्णय गर्‍यो : तिमी मलाई ज्यान देऊ, म तिमीलाई ५० लाख रुपैयाँ दिन्छु। साथमा बोनस शहिद परिवारलाई निःशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी रे। आन्दोलनमा मान्छे मर्न उत्प्रेरित गरेको भन्दै कडा आलोचना भएको यो निर्णयमा हस्ताक्षर गर्ने दलका नेताहरु हुन्- उपेन्द्र यादव, अध्यक्ष– संघीय समाजवादी फोरम, नेपाल, महन्थ ठाकुर, अध्यक्ष– तराई–मधेश लोकतान्त्रिक पार्टी,राजेन्द्र महतो, अध्यक्ष– सद्भावना पार्टी र रामनरेश राय, वरिष्ठ नेता– तराई–मधेश सद्भावना पार्टी, नेपाल। साउन ३१ र ३२ गते वैद्य माओवादीसहितको मोर्चाले गरेको दुई दिने आम हड्ताल लगत्तै यी दलहरुले अनिश्चितकालीन मधेस बन्द गरिरहेका छन्। पछिल्ला दिनहरुमा सप्तरीको भारदह, कपिलवस्तुको तौलिहवा र जनकपुरमा हि‌ंसात्मक प्रदर्शन भएका छन्। भारदहमा ३५ वर्षीय राजीव राउतको गोली लागी मृत्यु भयो। अरु ठाउँमा पनि गोली लागी प्रदर्शनकारी घाइते भएका छन्।

morcha
मान्छे मर्दा थामथुम पार्न अहिलेको स्टान्डर्ड रेट हो १० लाख। त्यसमा पाँच गुणा थपेर ५० लाख दिने भनी सोझासाझा जनताको लाशमाथि चढेर प्रदेशको मुख्यमन्त्री बन्न खोज्ने प्रयास यो हो। यी मरेकाहरुलाई ५० लाख आन्दोलनपछि बन्ने प्रदेश सरकारले दिने भनिएको छ। मतलब उनीहरुले भने अनुसार संघीयता आएर त्यसमा चुनाव भएर यी दलकै सरकार बन्नुपर्‍यो। तब बल्ल यो ५० लाख दिने निर्णय हुन्छ। अझै कति वर्ष लाग्छ यो हुन। उधारो रकमको लोभ देखाएर मान्छेलाई मर्न प्रेरित गर्ने यो निर्णयको सिके राउतले समेत विरोध गरेका छन्। उनले लेखेका छन्- मधेश आन्दोलनको ५४ जना मधेशी शहिदको परिवारलाई मधेशी नेता कति चोटि हेर्न गए ? मधेश आन्दोलनमा गोली लागेर घायल भएकालाई कति चोटि हाइ-हेलो पनि भने ? अस्ति भर्खर सिमरौनगढमा शहीद भएका जय नारायण पटेलको परिवारलाई त सम्झौता गराएर अहिले सम्म १० लाख दिलाउन सकेको छैन, अनि ती मधेशी नेताहरूले अब मधेशीलाई मारे पछि ५० लाख दिने रे ! पक्कै दिन्छ होला, विश्वास गर्नुस् है त ! जसरी ५४ जनालाई मारेर २२ बूँदे, ८ बूँदे का नाममा ५६ मंत्रालय हात लगाए, आफ्नो पत्नी, समधी, प्रेमिका र व्यापारीहरूलाई सभासद् बनाए, त्यसरी नै ।

उनले थप लेखेका छन्- ५० लाख मू्ल्यमा मधेशीलाई आफ्नो छोरा-छोरी मर्न लगाउन सौदा गर्ने नेता महाशय, तपाईं आफ्नो छोरा-छोरीलाई मर्न लगाउनुस्, जनही १-१ रुपैयां जम्मा गरेर भए पनि मधेशी जनताले तपाईंलाई ५१ लाख दिने बचन दिन्छ। अलिकति पनि तपाईंसंग विश्वास गर्ने आधार छ भने जनताको यो चुनौती स्वीकार गर्नुस्, न भए यसको सीधा मतलब आफ्नो छोराछोरीलाई ऐयासी गराउने र निमुखा जनताको छोरा मार्ने तपाईंको पाखण्डी चाल मात्र हो भनेर जनताले बुझ्नुपर्ने हुन्छ। तपाईंको छोरा छोरा हो, अरूको छोरा तपाईंको खिलौना ? मधेश आन्दोलनका ५४ शहिदहरूलाई बेचेर त्यसको पैसाले आफ्नो छोरा-छोरीलाई अमेरिका र रुसमा ऐयाशी गराउँदै हुनुहन्छ, र अब फेरि निमुखा मधेशीहरूको छोरा-छोरीलाई मर्न लगाएर भजाउने दाऊ !?

Capture
सीमाङ्कनको असन्तुष्टिले तराईका लगभग सबै जिल्लामा कयौँ दिनदेखि बन्द भइरहेको छ। कतिपय स्थानमा हिं‌सात्मक झडप भएका छन्। तर त्यसलाई राजनीतिक रुपमा सम्बोधन गर्नुको साटो शीर्ष नेताहरु सीमाङ्कन टुङ्गो आज लगाउने भोलि लगाउने भन्दै बैठक लम्ब्याइरहेका छन्। सीमाङ्कन बिनाको स‌ंविधान ल्याउन खोज्दा पनि सर्वोच्चको फैसला र राष्ट्रपतिको दबाब थियो। असन्तुष्टलाई वार्तामा ल्याउनुको साटो पेलेरै लैजाने नीतिमा सरकार देखिएको छ। स्थिति भडकिँदै गयो भने त्यसले झन् नोक्सान मात्रै गर्ने हो।




14 thoughts on “मोर्चाको प्रस्ताव : तिमी मलाई ज्यान देऊ, म तिमीलाई ५० लाख दिन्छु”

  1. Bajra Kumar says:
    August 21, 2015 at 8:34 pm

    अब सबै बिहारीहरु मधेस को लागे लडआउने भयो ५०लख को लागि / नागरिकत पनि पाउने भयो /

    Reply
  2. ram says:
    August 20, 2015 at 11:36 pm

    कस्तो मुर्ख बनाउन सकेको| पैले आफ्नै छोरा छोरीलाइ पठाउ न!

    Reply
  3. dor prasad says:
    August 20, 2015 at 6:12 pm

    (१) हरे के सुन्नु पर्यो ! येस्ता पनि पार्टी हुन्छन ?
    (२) यो २५ लाख कहाँ बाट आउदै छ ? के घर बार बेचेर देलान त यिनी नेता हरु ले ? यस मा नेपाल टुक्रा टुक्रा बनाउने देशी बिदेशी जासुस को गन्ध छ …

    Reply
  4. mukesh says:
    August 20, 2015 at 4:03 pm

    ५० लाख ल यी मधे कुनै नेता वा तिनका छोरा छोरी मरोस हामी सबै नेपाली मिलेर एक एक रुपैंया उठाएर एक करोड दिन्छ्म …. मुलासाग

    Reply
  5. Ritika Sharma says:
    August 20, 2015 at 1:16 pm

    Ask them to send their own kids.

    Reply
  6. Karna says:
    August 20, 2015 at 12:38 pm

    अान्दाेलन पछि बन्ने प्रदेश सरकारले ५० लाख दिने सहमतीमा यी नेताहरुलाइ नै गाेली हान्दिए धेरै नेपालीकाे ज्यान जोगिने थियाे ।

    Reply
  7. kiran says:
    August 20, 2015 at 12:28 pm

    उपेन्द्रजी तपाइको छोरा लाई सहिद बनाउनु म १ करोड दिन्छु /

    Reply
  8. upendra says:
    August 20, 2015 at 11:07 am

    अन्य पार्टीले अधिकारको गफ दिएर तल्लो स्तरका कार्यकर्ता लै मूर्ख बनाएर मर्न प्रेरित गर्थे यो पार्टीले भने कमसेकम पचास लाख दिने कुरा गरेको राम्रो त हो ,तर लोकतन्त्र र जनतन्त्र को गफमा मात्र मर्न खोज्ने बेबकुफ हरुलाई यो कुरो के पच्थ्यो र ?

    Reply
  9. dpn says:
    August 20, 2015 at 10:05 am

    वाह क्या गज्ज़ब्को प्रस्ताब, आन्दोनलमा ज्यान देउ, आन्दोलन पछि बाँचेका हरुले भोट देउ, अनि जितियो भने मर्ने लाई ५० लाख दिने, हारियो भने के ?

    Reply
  10. Tenzing Gaba says:
    August 20, 2015 at 9:17 am

    राम ! राम !! राम !!!
    कस्तो दुर-दृष्टि भएका नेताहरु
    भबिष्यमा सघियतामा गए पछी कसरी कुस्त कमाउने भन्ने कुबुद्दी अहिले देखि नै लगाउनु सुरु गरेछन हन्तकालीहरुले

    ………………………..सहिदलाई ५० लाख दिए भन्दै बजेट झ्वाम पारुला भन्दो हो

    जदौ !!!

    Reply
  11. Choudhury says:
    August 20, 2015 at 8:40 am

    यी नेताहरु काम लाग्ने होइनन| बरु शरदसिंह लाई पनि संगै लिएको भए हुन्थ्यो| गच्छेदारले बुद्धि पुर्याएर त्यस्ता हरुको हुलमुलमा परेन रहेछन राम्रै गरे| नत्र थारुलाई पेल्ने थियो तर अब थारुमा चेतना धेरै बढेको छ| त्यस्ता पत्रु नेताहरुको पीछा लागेर न आफ्नो भलाई हुन्छ न देशको कल्याण|
    प्रदेशको चुनाव आउँन अघि नै हिलो माटोको डल्लो चैतको घाममा सुकेर फुटेको जस्तो फुट्नेछ महतो र यादवका पार्टीहरु| नेपालमा नेपाली भएर बाँच| मधेसीहरुले अन्य नेपाली सरह जायज समान अधिकार पाउने पर्छ तर सरकारी जागिरमा मधेसी कति छन् त्यसको पनि अवलोकन गर्नपर्यो| मन्त्रि भयो कि आफ्नै मान्छे मात्र घुसाउछ, चाहे एमालेको होस् कि माओवादीको होस् वा कांग्रेसको| त्यसको तुलनामा कति आदिवासी जनताले कुनै समान अधिकार उपभोग गर्नबाट बन्चित गरेको पनि हेक्का हुनपर्छ| मधेसी मदेशी भनेर मात्र हुँदैन, अरु आदिवासी जातिको समान अधिकार खोइ? मधेसीका राष्ट्रपति, उपराष्ट्रपति, न्यायधीस र सीडीओ र प्रशासनमा टन्नै मान्छे छन्, नापी र कतिपय बिभाग स्वात्तै खाएका छन्| बाहुन छेत्रीले हेप्यो भन्दै मधेसीले आदिवासी जनजातिलाई पेल्ने? मधेसीका पनि वाहुन र जमिन्दारहरुले शोषण गर्दै आएका छन्|
    आफ्नै कमाई र खल्ती बाट देओ न पांच पांच लाख| भड्किला भाषण गरेर नेपाललाई युद्धभूमि बनाउने कोशिश नगरौ है|
    अमरेश, महतो र उपेन्द्रलाई कसले सद्बुद्धि दिने?

    Reply
  12. homraj shrestha says:
    August 20, 2015 at 8:28 am

    येस्ता भ्रस्ट नेता मुख्यमन्त्री भए एक एक कत्रा रगत चुस्न पनि बाकी राख्दैनन ।

    Reply
  13. sushil says:
    August 20, 2015 at 6:46 am

    दक्षिणको सबै राजमार्ग क्याप्चर गरेर राजधानीलाई थर्काउदै खाने दाउ हो यो सबै.

    Reply
  14. डा. सुरज श्रेष्ठ says:
    August 20, 2015 at 5:50 am

    पिछल्लो जनआन्दोलन एक र दुईका घाईते र मृतक परिवारहरुको कस्तो बिचल्ली छ भने सर्व बिदितै छ । बार्षिक खरबौको बजेट भएको नेपाल सरकारले जनआन्दोलनमा मृतका परिवार र घाईतेहरुलाई ५/१० लाख दिन आच्छु आच्छु परेको छ । अनि किन यो ५० लेखको प्रतिबद्धता ?

    ५० लाखको भाउ मा ज्यान फाल्ने कति होला र ? शंकै छ ।

    सुरज
    नेपालगंज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme