-हरिप्रसाद भण्डारी-
श्याम बाहेक अरु कसैको रगत नमिलेपछि सबै जनाले अनुहार अमिलो बनाए ।
श्याम गरिब, अछुत र असहाय थियो तर पण्डितबा ठीक त्यसको बिपरित थिए । आकस्मिक बिमारी परेका हुँदा उनलाई श्यामको पिठ्यूमा बोकाएर औषधोपचारका लागि शहर पु¥याइएको थियो ।
श्यामको रगत पण्डितबाका शरीरमा चढाउने कि नचढाउने भन्ने बिषयमा गम्भीर छलफल भयो ।
“होइन, अछुत हो भन्दैमा उसको रगत नै प्रयोग नगरेर मुखिया बालाई मर्न दिनु त भएन नि ! अहिले पो श्याम हामीले चिनेको मान्छे प¥यो र हामीले छुत–अछुत छुट्याउने भयौँ, यदि रक्तसंचार केन्द्रबाटै त्यो समूहको रगत पाएको भए कुन जातको रगत भनेर हामीले सोध्ने थियौँ र ? हामीले लिने रगत ब्राह्मणको पनि हुन सक्थ्यो दलित जातिको पनि हुन सक्थ्यो ।” ईश्वरीले भन्यो ।
उसको कुरा सुनेपछि प्रकाशले भन्यो, “ईश्वरी, तिमीले भनेको कुरा नराम्रो होईन तर बुबाले मान्नु भएन भने गाह्रो पर्छ । यत्रो शहरमा दुई पोका रगत नपाउनु कस्तो दुर्भाग्य हो !”
“बुबालाई किन भन्नु प¥यो र ? सुटुक्क लैजाने लुसुक्क हाल्ने ।” यो भनाइ रविको थियो ।
“अहिले नभने पनि पछि त थाहा भइ हाल्छ नि । एक कान दुईकान मैदान हुन्छ । त्यसपछि हुँदैन जात्रा ?”
लामो छलफल हुँदा पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन । छलफल गर्दा गर्दै समय निकै वितिसकेको थियो । सूर्यको चर्को तापले गर्दा बाहिरको वातावरण तात्दै गए पनि रगतको अभावले गर्दा भित्र मुखियाबाको शरीरको तापमान घट्दै गइरहेको थियो ।
पण्डितबा जातका ब्राह्मण थिए । तीर्थका नाममा दुई चार ठाउँ डुलेका र दुईचारओेटा धार्मिक ग्रन्थहरू पढे सुनेका हुँदा धर्मप्रति औधी आस्था राख्थे । आफ्नो जात, धर्म र रीति–रिवाज नमान्ने मान्छेलाई त उनी मान्छे नै ठान्दैनथे । त्यस्तालाई पशुको दर्जामा गणना गर्थे । उनी बाटोमा हिड्दा कुनै दलित जाति भेटियो भने उसले पूरै बाटो छोडेर तल्लो किनारपट्टि उभिनु पथ्र्यौ र पूरै निहुरिएर जदौ गर्नु पथ्र्यो । बूढापुरानाहरू त त्यसो गर्थे पनि तर युवाहरूले भने मुखियाको आदेश मान्दैनथे । त्यस्ताहरूसँग मुखियाबा साह्रै रिसाउथे । मुखमा आए जति निच शब्द प्रयोग गरेर गाली गर्थे ।
तल्लो जातिसँग छुवाछुत भइहाल्यो भने, सके पूरै शरीर नुहाउथे नभए सुनपानी छर्केरै भए पनि चोखिन्थे । हिजो आज होटलमा बसेर खाने ठिटाहरूलाई देखे भने सक्दो सराप गर्थे र ‘कलिको चरमोत्कर्ष हुन लाग्यो, अब प्रलय हुन्छ’ भनेर घोषणासमेत गर्थे । जे होस् उनले अरुको जतिसुकै विरोध गरे पनि बिहान सूर्य उदाउने र बेलुका अस्ताउने क्रम भने रोकिएको थिएन ।
विभिन्न उपाय गरेर मुखियाबाले थुप्रै सम्पत्ति कमाएका थिए । उस्तैका हातमा त्यो सम्पत्ति परेको भए आफ्ना छोराहरूलाई अमेरिका र बेलायत पु¥याएर पढाउथे होलान् तर मुखियाबाको धर्मशास्त्र पढाउने धोको र छोराहरूको बोर्डिङ स्कूलमा पढ्ने रहरको वीचमा रसायनिक प्रतिक्रिया हुँदा प्राय छोराहरू लठ्ठक् निस्केका थिए । एउटा प्रकाश थियो अलि टाठो, अंग्रेजी पढ्ने शुर कसेको थियो तर बुढालाई सैह्य भएन र एस.एल.सी. पढ्दा नपढ्दै गाउँमा मास्टर बनाए ।
“तपाईहरूले अहिलेसम्म पनि ब्लड ल्याउन सक्नु भएन ?” डाक्टरले रिसाउँदै प्रश्न गरे र अगाडि थपे, “यदि यस्तै हो भने विरामीलाई बचाउन गाह्रो पर्छ है विचार गर्नोस् ।”
डाक्टरको कुरा सुनेपछि त्यहाँ उपस्थित सबै जनाको मन आत्तियो । छलफल जारी नै थियो, त्यस्तैमा अरुको ध्यान आफूतिर आक्रसित गर्दै इश्वरीले भन्यो, “आखिर छुत अछुत भन्ने कुरा पनि त समाजले नै बनाएको हो । तल्लो जात होस् वा उपल्लो जात रगत सबैको रातै हुन्छ । हामी बाहुन, अवल जाति भनेर के गर्नु हाम्रै रगत मिलेन झन् । रक्तसमूहकै नाता राख्ने हो भने श्याम र मुखियाबा एउटै जातका भए बरु ।”
ईश्वरीले प्राय तर्कसंगत कुरा गर्थ्यो । उसको कुरा जो कोहीले काट्न सक्दैनथे । त्यहाँ पनि त्यस्तै भयो । ‘मर्ता क्या नही करता’ भने जस्तै लामो छलफल, बादविवाद र तर्क वितर्कपछि श्यामको रगत पण्डितबाको शरीरमा चढ्ने भयो ।
लगातार दुई पोका रगत शरीरमा प्रवेश गरेपछि पण्डितबाको अनुहार रातो देखियो । रगत, औषधि र सुसार पाएपछि दुई चार दिनमै बुढा बौरिए ।
च्यादरले ढाकेर विरालोलाई कति दिन पो लुकाउन सकिन्छ र ? केही समयपछि त म्याँऊं गरी हाल्छ नि, त्यस्तै भयो त्यहाँ पनि । गाउँ पुगेको दुई चार दिनपछि एक कान दुई कान कुरो चल्न थाल्यो । पानी पँधेरो, आरन तथा गाउँले भट्टीहरूमा मुखिया बाकै कुराले चर्चा पाउन थाल्यो ।
“कस्ता धर्मात्मा थिए विचरा, तर के गर्नु ……..।” आफन्तहरूले सहानुभूति दर्शाए ।
“तल्लो जात भनेर औधी हेप्थे, घृणा गर्थे त्यसैले यस्तो परेको हो । पाप धुरीबाट कुर्लिन्छ भन्छन् ……..।” विरोधीहरूले रिस पोखे ।
“अव मुखियाबा के जातका भए हँ ?” केहीले यस्तै कुरा गर्न थाले ।
“शरीरभरि दलित जातिको रगत भएपछि के जात हुन्छ थाहा छैन तलाई ?” अर्काले ब्यङ्ग्य गर्न थाल्यो ।
“श्याम अछुत भएपछि उसको रगत अछुत, रगत अछुत भएपछि रगत हाल्ने मुखियाबा पनि अछुत, कि कसो हो ?” यसो भन्दै धेरै जना सामूहिक रुपमा हाँस्न थाले ।
खुसुक्क रोपेको वीऊ उम्रिएर ठूलो भयो रे र प्रसस्त हाँगा विगा हाली गाउँ ढपक्क ढाक्यो रे भन्ने खवर पाएपछि मुखियाबा छाँगाबाट खसेजस्तै भए । उनले आफ्ना तेत्तीसकोटी देवी–देवता र आफूले भ्रमण गरेका सम्पूर्ण तीर्थस्थलहरू सम्झिए ।
उनले मनमनै सोचे, ‘मैले दुःखी गरीव र तल्लो जातिलाई हेप्ने जुन काम गरेँ त्यसैको फल हो यो । त्यसो गर्नु राम्रो रहेनछ । त्यसैको पापले गर्दा आज मलाई यो समस्या आइलाग्यो । सात भाइ छोरा पाएर सिधै स्वर्ग गइन्छ भन्ने सोचेको थिएँ, त्यो बेकार रहेछ । विमारी भएर अस्पतालको बेडमा छटपटाउँदा एउटा छोरो पनि काम लागेन । धिक्कार छ मेरो घमण्डी र अवुझपनलाई…. ।’
पुषको महिनाको रापिलो घाम, मुखियाबा आँगनमा बसेर घाम तापिरहेका थिए । मुख्खिनी बजै नजिकै बसेर कपासको बत्ति कातिरहेकी थिइन । श्याम पर बारीमा खेतीपातीको काम गरिरहेको थियो । त्यस्तैमा मुखियाबाले श्यामलाई बोलाए ।
“हजुर मालिक ।” नजिकै उभिएर श्यामले भन्यो ।
श्यामतिर हेर्दै मुखियाबाले भावुक हुँदै भने, “श्याम बाबु ! म मरेँपछि मेरो किरिया तैले गरेस् है । मलाई तेरोजस्तो भरोसा अरुको लागेन ।”
बत्ति कात्दै गरेकी मुख्खिनी बजैले बत्ति कात्न छोडेर अनौठो पाराले लोग्नेका अनुहारमा हेरिन् ।
“सानेकी आमा ! मैले भनेको सही हो । अस्तिदेखि मेरो वास्तविक छोरो यही भयो । यो नभएको भए म उतिबेलै मर्थेँ । अब मेरो सक्कली छोरा यही भयो ।”
मुखियाबाले लामो सास फेरे । मुख्खिीनी बजै र श्याम हेरेको हेरै भए ।
+++
यो कथा मात्र होइन व्यथा पनि हो ! एस कथालाइ बोलेर र देखाएर चलचित्र बनाउनु पर्छः ! मुखिया बाको रोलमा मेरी बास्सै को काजीलाई र श्याम को रोलमा माग्ने बुढालाइ खेलाउनु पर्छ ! बरु लाग्ने खर्च सरकारले बेहोर्नेछ ! सरकारले नाबेहोरेमा वा अरु कुनै श्रोतबाट पैसा उठाउने ! एस्तो हुन पर्छ !
The story was a bit longer, smaller version would be better.
मैले ठ्याक्कै यहि कथा भएको यौटा पुरानो टेलि सिरिअल नेपाल टेलिभिजन मा हेरेको थिए, धेरै वर्ष अगाडी, शायद २०-२५ वर्ष अगाडी हुदो हो .
यदि तपाइँले त्यो नहेरी लेख्नु भएको हो भने धेरै राम्रो
Nice