Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आउला पारस-हिमानीको विफी?

Posted on June 21, 2015June 21, 2015 by सूर्य खड्का

surya_khadka जीवन कसरी चल्छ? भाग्यले? उनका हकमा यो पनि हो, यो होइन पनि। दूर्भाग्यपूर्ण भाग्यले अनायासै उनी यूवराज बनाइए, समय क्रमसँगै पूर्व पनि। उसो भए जीवन दुर्घटनाहरुको सागर हो त? त्यो एक हदसम्म उनको जीवनको यथार्थ हो। जीवन बगिरहने खोलाको ढुंगा बन्न सकेन उनको हकमा। जीवन त्यस्तो हुन्थ्यो भने त्यो बेदागी हुन्थ्यो शायद। अभागी नै भनौं भने धेरैथोक छ उनीसँग। यति धेरै सुन्दर र समृद्ध परिवारका अभिभावक जो हुन। उनी जिउँदो साक्षी हुन् त्यो क्रुर कालरात्री १९ जेठ २०५८ का। उनी त्यो मान्छे हुन जोसँग विवाद, झैझगडा र दुर्घटनाहरुको भीमकाय पहाड छ सफेद परिचयका लागि। तैपनि उनी एक खासमा सार्वजनीक सरोकारका मान्छे भै बाँचेका एक लहडी हु्न शायद।

अब आफैमा उनी एक ब्रान्ड हुन्। राम्रो,नराम्रो वा जस अपजसको सिंगो पर्याय हुन। बिग्रिनु परे पनि सप्रनु परे पनि विवादित हुनु परे पनि कस्तो हुनु पर्ला? निसन्देह उनी जस्तै। पारस अर्थात् पूर्व राजा ज्ञानेन्द्रका एक्ला छोरा जस्तै।

paras-shah

पारस एक्लै साबित भए सुजाताका बंगाली ज्वाईँ रुबेललाई नेपाली धर्तीमा थिरीहिरी पार्न। एउटा असंगठित र एकहदसम्म अराजक युवा पंक्तिमा उनको क्रेज बेजोड छ। पारस शाह हाईहाई गर्ने जमात स्वदेश, विदेश, गाउँघर, शहर बजार जताततै उत्तिकै देखियो। उमेर जति नै उकालो लाग्दो देखिए पनि उनी उस्तै उत्ताउला युवा पोजहरु दिन पछि परिरहेका छैनन्। बाइक, गाडी वा फेसबुक उनको अन्टसन्ट शैली बारबार अपरम्पार खालको देखा परिरहन्छ।

पारसले जीवनभर दुर्घटनाहरुको ब्रेक दिए। ५० को दशकमा संगीतकार प्रविण गुरुङको मृत्युमा पारसको संलग्नता सार्वजनिक हुँदा उनी भाग्यले बचे। उनका यति धेरै फयान उनलाई बचाउन लागि परेको मैले देखेँ कि दुर्घटनाको जिम्मा लिइदिने र प्रवीणका पत्नीलाई आर्थिक सहयोग दिने र दुई छोरोको पढाई लेखाई गरिदिने सबै उनका साथीहरु थिए। उनलाई त्यस दुर्घटनामा सघाउनेहरु अझै यतै छन शहरबजारमा। ज्ञानेन्द्रको सम्पत्तिको कुनै अंश त्यसमा खर्च नभएको मैले नाङ्गो आँखाले देखे भोगेको सत्य हो। तर त्यत्रो दुर्घटनामा पनि जेल जान नपरेका उनले थाई बसाईमा जेलको राम्रै अनुभव बटुले।

paras12

उनको थाई जेल जीवन हेर्दा लाग्छ, भाग्यमा लेखेको जसरी पनि हुँदोरहेछ कि क्या हो? प्रवीण काण्डमा त्यतिबेलाको देशान्तरमा एक पत्रकार मित्र ती कथाहरु छाप्थे जसका धेरै पाण्डुलिपीहरु मेरा नजरबाट टाढा थिएनन्।

himani असल पति होइनन् शायद उनी। तथापि उनी नै हुन समकालीन नेपालकी लोकप्रिय मानिस मध्येमा शीर्षस्थानमा गनिने पूर्व यूवराज्ञी हिमानी शाहकी पति। दाम्पत्य जीवनमा उनका उकाली ओरालीहरुको दुःखद सागर नसुक्ने खालको नै भए पनि उनले न हिमानीलाई धर्मपत्नी नमान्न सक्छन्, न हिमानीले उनलाई श्रीमान नमान्न सक्छिन्। अभागी शायदै पारस नै हुन्। त्यति सुन्दर र लोकप्रिय हिमानीको मात्रै हुन नसक्नु पारसको चरम व्याड लक हो। कस्तो कस्तो तर आफनै जस्तो मात्रै हैन आफनो खालको जीवन लिलाका खलनायकी जीवनचित्र जो छ भने उनै पारसको छ।

एकवारको जुनीमा शायदै मृत्युलाई जित्छन मान्छेहरुले। तर मृत्युलाई लगभग भोगेर पनि अर्को चोला बाँच्न पाएका दुर्लभ पात्र पनि हुन पारस शाह। बैँककमा उनी दुई साता बढी अचेत भएर बाँच्लान् भनी कमैले अनुमान गरेका थिए। तर बाँचिदिए साला जिन्दगी उनले। शायद मृत्यु एक पटक हारिदियो त्यो अराजक, अनुशासनहीन पारससँग। त्यो बेढंगी पारसको प्रेम लिलाको मिथक लामो छ जो उनले नेपालमा भन्दा विदेशी भूमिमा नै मन्चन गरे।

शायद भावीले उनको खप्परलाई यस्तै अपजसी र बेपर्वाह बनाइदिएको थियो कि? तर जे होस्, उनको भाग्य थाम्ने सहनशील जीवन साथी उनै मात्रै बाँकी रहिन् पूर्वयुवराज्ञी हिमानी शाह। कस्तो संयोग? अभागी पारसकी सारथी त्यति विशाल छातीकी सुन्दर र लोकप्रिय हिमानी? प्रभुको लिला पनि कति अपरम्पार है?

स्वदेशी वा विदेशी सबै खाले मिडियामा म्यान टु वाच रहे उनी। नाम, बदनाम वा गुमनाम जे भए पनि उनी कहिले मिडियाका आँखामा परिरहे। भारतीय मिडियाहरुले त कसो उनलाई नेपाली दाउदसम्म बनाउन भ्याए।

paras welfie
हिमानी ट्रष्ट मार्फत सामाजिक सेवा भावमा अघि बढेकी हिमानीको सुन्दर कर्मको फरक संसार छ। तर ठीक विपरीत पछिल्ला दिनमा गुमनाम छ पारसको दैनिकी। जानकारहरुका शब्दमा अझै ट्रिटमेन्टमै छन पारस। पारस भित्रिएका कुन्डलिनी क्लबमा भए पनि बसेका छन् निर्मल निवासमै। छोराछोरीसहितको विफी (सेल्फीको बहुवचन विफी) मा स्वस्थ र उन्मुक्त देखिएका पारस र हिमानीको एक साथको तस्वीर पनि सार्वजनिक होला कि? यो असंभव छैन शायद। भन्नेहरुकै शव्दमा यसको पनि बेला आउँछ। खै आउला? निर्मलनिवासीहरुमा यो विश्वास छ तर धेरैमा आशंका पनि। पारस मिल्काउन नमिल्ने ज्ञानेन्द्रका पुत्र। ह्दयन्द्र र दुई छोरीका पिता। नेपालको नामसँगै जोडिने पात्र साँच्चै दुधले पखालिएका छौ भने हिमानीसँगको विफी देखाउ त? लु हेरुँ त तिम्रो मति सुध्रेकै हो भने?

14 thoughts on “आउला पारस-हिमानीको विफी?”

  1. rakesh says:
    June 24, 2015 at 11:11 pm

    हो। ठुला बडाले जति रडाको मच्चाए पनि सारा संसारले तिनलाई माफी दिनुपर्ने र सहानुभूति दिनुपर्ने ?

    आज यो मानिस एक सामान्य परिवारमा जन्मेको भए कि त जेलमा सडिरहेको हुन्थ्यो, कि त एउटा नामहीन गल्लीको कुनामा लागू पदार्थको ओभरडोज वा यसले रिस उठाएको कुनै न कुनैले प्रहार गरेर सिध्धी सकेको हुन्थ्यो।

    विग्रेर कुहिएर गनाउने भएको व्यक्ति , अनेकनलाई दु:ख कष्ट दिएको व्यक्ति , हामीले थाहा पाएसम्म र संचार माध्यममा देखेसम्म कमसेकम दुइजना निर्दोष लाई तिनका परिवारबाट सँधैको लागि चुँडेर लैजानमा जिम्मेवार व्यक्ति। यस्ता व्यक्तिले सुध्रनका लागि लिने पहिलो पाइला भनेको पश्चाताप र आफ्नो कुकृत्यको आफैले जिम्मेवारी लिने हो।

    यसको हरेक भिडियो हेर्नुस। संधै अर्कालाई दोष लगाउने – बाबुले चालेको कदममा ८० प्रतिशत जनताको समर्थन थियो तर वरिपरिकाहरुले छोपेर बिगारेका हुन् भनेर पन्छिन खोज्ने गरेको छ यसले।

    रह्यो कुरा कुजाताको बंगाली चोर ज्वाईं लाई तर्साएको कुरा – यो कुनै नेपाली स्वाभिमान र देशको मायाले गरेको हैन। एउटा डाँकाले आफूभन्दा शक्तिशाली नयाँ डाँकाले आफ्नो शिकार खोसेर लागेको डाहा र रिसले गरेको हो।

    यिनको पारिवारिक सेल्फी फेल्फिमा हामीलाई मतलब छैन।

    यही प्रसंगमा

    नैतिक दृष्टान्त – लेखनाथ पौड्याल

    बडाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत ।
    छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित ॥१॥

    गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
    बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ॥२॥

    दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
    रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ॥३॥

    कसैको लोकमा छैन एकैनास समुन्नति ।
    अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ॥४॥

    छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
    उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ॥५॥

    ज्यादा सोझो हुनुभन्दा टेढिनु छ फलाऽधिक ।
    गरदैन कुनै सोझो ग्रहको पूजनाऽऽदिक ॥६॥

    टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
    बोलनेको अँध्यारोमा महात्मा जुन्किरीसित ॥७॥

    सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
    घोचने जङ्गली काँढा पहिले नै तिखा कति ॥८॥

    मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
    एकता हेर कस्तो छ मौरीको महमा सदा ॥९॥

    जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
    जो हो नबर्सने मेघ उसैको हुन्छ घर्घर ॥१०॥

    हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
    कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ॥११॥

    गुणग्राही जहाँ छैन उहाँ के गरला गुणी ।
    कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ॥१२॥

    योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
    कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ॥१३॥

    उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
    फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ॥१४॥

    मेटिंदैन कसैबाट आफनू कर्मपद्धति ।
    वनवासी बने राम चौधै भुवनका पति ॥१५॥

    धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
    मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ॥१६॥

    सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
    रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ? ॥१७॥

    सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
    श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ॥१८॥

    मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
    दूधपान गरी सर्प खालि विष बहाउँछ ॥१९॥

    Reply
    1. Thaneshwar says:
      June 25, 2015 at 2:49 am

      Thank you Rakesh Ji. Tapayi le Leknath Paudyal ko kawaita bata yo dushta ko ramrari bayan garnoo vayo.

      Yo kawita ma pani vishesha ta talaka 4 harafharoo sanchikkai yo murkha ma lagoo hunchha

      Jai Desh

      सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
      घोचने जङ्गली काँढा पहिले नै तिखा कति ॥८॥

      छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
      उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ॥५॥

      सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
      श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ॥१८॥

      मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
      दूधपान गरी सर्प खालि विष बहाउँछ ॥१९॥

      Reply
  2. HomLal says:
    June 24, 2015 at 12:32 am

    अरु कुरा जे भएनि छोराछोरीको मुहारमा आएको मुस्कान सधै कायम रहोस।

    भन्न सजिलो छ तर एकदिन राजा अर्को दिन रंक हुँदा जो कोहिको हालत यस्तै हुन्थ्यो होला। अनि आफ्नो कर्मको फल पनि त भोग्नै पर्‍यो नि। मानविय नाताले उसको भलो नै होस।

    Reply
  3. Gaurab Nepali says:
    June 23, 2015 at 6:41 pm

    आउँछ आउँछ ! बेस्ट जोडीकै रुपमा आउँछ ! मान्छे कि पढेर सिक्छ कि परेर ! अत्यास लाग्दो जीवन भोगेर सुन्दर परिवार मा समाहित हुनु ठुलै भाग्य चाहिन्छ , पारस भाग्यमानी चाँही हो ! सुन्दर फुलबारी (पारिवारिक परिवेस ) मा डुबुल्की यो चाँही अन्तिम मौका हो भन्ने पारसले आत्मसात गरेको हुनु पर्छ र येही आइमसात को बल जसलाई भगवान को हिदेन ट्रेजर पनि भनिन्छ ! आउँछ आउँछ ! बेस्ट जोडीकै रुपमा आउँछ !

    Reply
  4. mirja salim says:
    June 23, 2015 at 10:50 am

    कालो चश्मा , जंगी पोशाक र तक्मा लगाउंदैमा सुँगुरलाई सिंह बनाउन सकिन्न भन्ने ज्वलन्त उदाहरण। निकम्मा लागू पदार्थ दुर्व्यसनी घरमा श्रीमती हुँदा हुँदै दिनहुँ वेस्यावाजी गर्ने कुपुत पारसले जंगी पोशाक र तक्मा लगाएर वीर नेपाली सैनिकहरुको अपमान गरेको छ। यो वर्दी लगाउन यो नालायक काबिल छैन।

    Reply
  5. anuj says:
    June 22, 2015 at 10:33 pm

    खड्का जीले बडो scrapbook बनाउनु भाको रैछ। यसो सानोसानो आलोचना गरेको नाटक गरेपनि खड्का जीले खासमा पारस र हिमानीलाई के के न रोमान्टिक ट्राजीडी का हिरो र हिरोइन को रंगमा पोत्ने प्रयास गर्नुभएको छ। फिल्मी तवरले इनको गुणगान र hero worship गर्नु भएको छ।
    कुरा एकदम सफा छ। नेपाल जस्तो अत्यन्त गरिब मुलुक , जहाँ अधिकांश जनता बिहान बेलुकाको छाक टार्न संघर्ष दिनहुँ गर्छन, यस्तो देशमा एक सभ्रान्त परिवारमा जन्मेर अकूत सम्पति र असिमित power (शक्ति र अधिकार) पाएर , र त्यसमाथि एक होइन दुइ होइन अनेकन मौका पाएर पनि पारस , हिमानी , दीपेन्द्र जस्ताले के गरे? नम्रता देखाए ? अकूत सम्पति र असिमित power प्रयोग गरेर जनताको भलाई गारे ? अहँ गरेनन। फ़ाइव स्टार होटेलमा डान्स पार्टी गरेर र बबाल गरेर मैं हुँ भन्ने तुजूक देखाए।
    इनिहरु कुनै विषेस गुणका हैनन् / केवल जीवनको लट्री चिट्ठामा अधिकांश जनता गरिब परिवारमा जन्मे भने यी नालायक हरुलाई चाहिं जिन्दगीको लट्री चिट्ठा परेर शक्तिशाली र धनी परिवारमा जन्मन पुगे।
    तर यो चिट्ठा परेपनि र एक होइन दुइ होइन अनेकन मौका पाएर पनि यी नालायक मुर्ख हरु आखिरमा नालायक loser नै भए

    यसैले खड्का जी यो सच्चाई मा तपाईं जस्ता hero worship गर्ने हनुमान अन्ध भक्तले जति लिपापोती गरे पनि त्यो कालो टाटो लुक्ने छैन

    Reply
  6. sanumaya odari says:
    June 22, 2015 at 5:12 pm

    व्यङ्ग लेख हो कि क्या हो !

    Reply
  7. Navin Rayamajhi says:
    June 22, 2015 at 4:24 pm

    पटक पटक बिबादमा आइरहने पूर्व युबराज पारस साह ले आफ्नो छबी सुधार्न निकै कडा मेहनत गर्नुपर्छ यो सतप्रतिसत सत्य हो तर उनि अहिले पनी प्रचण्ड पुत्र र गिरिजा पुत्री भन्दा निकै माथि छन्.

    Reply
  8. sushil says:
    June 22, 2015 at 7:05 am

    लेख्ने तरिका क्या राम्रो लाग्यो

    Reply
  9. ram says:
    June 22, 2015 at 4:04 am

    एक मात्र कुरा ले यो परिबर्तन हुन् सम्भब छ . हिमानी को बिशाल हिर्दय ले पगाले मात्र . म यौटा कुरा मात्र हेर्न चहन्छु निर्सवार्थ ले मेरो देस लाई सहि दिसा म लागुन. प्रेम ले हिरा पनि पग्लिंचा……..

    Reply
    1. कञ्चन says:
      June 22, 2015 at 11:55 pm

      धन सम्पत्ति टन्न भएपछी विशाल हृदयको नाटक गर्न सजिलो छ। भूकम्प पछी देख्नुभो ? पौने एक करोड पर्ने फोर ह्विल ड्राइभ पिकअप ट्रकमा चाउ चाउ र बिस्कुट हालेर दुइ लाख पर्ने एस एल आर केमराले काठमाडौँ बाट ४५ मिनेट परको “गाउँ” मा के के न पिडितलाई सहायता गरेको फोटो खिचि फेसबुकमा हालेर विदेशी “contact ” हरुसंग विशाल हृदय देखाएर भोलि आफ्नो ” business interest ” लाई बढावा दिने कलाकार हरु। इनिहरुलाई त नाटक गरेबापत filmfare award अझ oscar नै दिनुपर्ने।

      Reply
  10. Shankar says:
    June 22, 2015 at 3:27 am

    लागु पदार्थ छोड्नु ,श्रीमतीलाई समाज सेवा मा हेल्प गर्नु , युनिभर्सिटी ज्वाइन गर्नु ( कुनै पनि बिसय) , योगा गर्नु अनि साचिकै पारस भै हालिन्छ |

    Reply
  11. Roshan says:
    June 22, 2015 at 12:44 am

    बिहे मा दाइजो शिङ्घै मुलुक देको भए सर्बो चले प्रेरणा लाई फिर्ता दिने रैच/ ज्ञानेन दरले अलिक गल्ति गरे छन् !

    Reply
  12. डा. सुरज मास्के says:
    June 21, 2015 at 11:25 pm

    नेपालका पुर्व युवराज पारसलाई छोरा छोरीहरुको मायाले सुधारोस् र राम्रो नागरिक हुने अवसर देओस् ।

    डा.सुरज मास्के
    नेपालगंज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme