-जान्ह्बी हमाल/हेलसिन्की, फिनल्याण्ड-
कुरा केहि दिन अघिको हो। हिजोआज म बिरामी बिदामा छु। त्यसैले अलि ढिलो उठ्नु मेरो दिनचर्या बनेको छ। त्यो दिन पनि उठ्दा बिहानको ८ बजेको रहेछ। मोबाइल हेरें, ५ वटा ’मिस्ड कल’ रहेछन्। आमाले गर्नु भएको। हतार हतार ’कल ब्याक’ गरें। ‘फोन किन नउठाएको अगि?’, ‘हेलो’ पनि भन्न नपाउदै वहाँले भन्नु भयो। केहि जरुरि परे जस्तै।
‘म उठेकै थिइन। केहि जरुरी थियो र, आमा?’
‘पर्सिबाट पुरुषोत्तम मास सुरु हुँदैछ। नयाँ दम्पतिले संगै बस्नु हुन्न रे यो मासमा। बुहारी तिन दिनको लागि माइती जाँदैछिन्।’
‘ए, ठिकै छ नि, ऊ नाउन्नजेल आफ्नो ख्याल गर्नु होला राम्ररी।’
‘त्यो त हो, तर मेरो आशय त्यो हैन।’
‘अनि कसो हो त उसो भए?’
‘तिमीले पनि बार्ने हो कि ? यसपालीको मलमास निकै कडा छ रे।’
‘यहाँ? फिनल्याण्डमा? मेरो माइती त उति टाढा नेपालमा छ, अहिले कसरि जाउँ?’, मैले ठट्टा गरें।
‘श्रीमान श्रीमती संगै बस्नु हुन्न, अनुहार नै हेर्न हुन्न भनेर बुढापाकाले भन्नुको अर्थ शायद शारीरिक सम्बन्ध र गर्भाधानसंग सम्बन्धित हुन सक्ला।’
म छक्क परें, मेरी आमाले कति सजिलै यो कुरा भन्नु भयो। हुन त यस भन्दा पहिले पनि आमाले मलाई प्रजनन स्वास्थ्यसंग सम्बन्धित परामर्शहरु बेलाबेला दिनु भएको छ। पढेलेखेकी आमा हुनुको फाइदा हो यो। नत्र, म अनुमान गर्छु, कति प्रतिशत नेपाली आमाहरुले खुलेर आफ्ना छोराछोरीहरुसंग प्रजनन स्वास्थ्यसंग सम्बन्धित कुरा, परामर्श गर्लान? शायद धेरै कम। नयाँ पुस्ताका बाबुआमाहरुमा चाही अलि परिबर्तन आएको छ कि?
‘ठिकै छ, म विचार गरुँला।’ मैले यसमा धेरै बहस गर्न जरुरि देखिन।श्रीमान संग आफ्नो अपार्टमेन्टमा नबसी एक महिनासम्म अरु कसैको घरमा बस्न जानु या अर्को कोठा खोजेर बस्नु मेरो लागि ब्यबहारिक कुरा थिएन। हेलसिन्कीमा भनेको समयमा भाडामा कोठा पाउन निकै कठिन छ। आमाले दिनुभएको विकल्प चाहिं संबभ छ। तर के त्यो जरुरि छ? यी कुराहरुमा कति सत्यता छ? मैले यो कुरालाई त्यति महत्व दिईन र केहि बेर मै बिर्सें पनि।
तर निकै आश्चार्य त्यति बेला लाग्यो जति बेला मैले मेरा हेलसिन्की बस्ने नेपाली साथिहरुबाट थाहा पाएँ कि उनीहरु मध्ये धेरैले मलमास छल्न कम से कम तिन दिन भने पनि साथीहरु वा आफन्त कहाँ बस्ने निधो गरेकाछन्। ‘किन?’ किन कि नेपालमा उनीहरुका आमाहरुलाई कडाइका साथ पुरोहितबाजेहरुले त्यसै गर्न सुझाएका रहेछन्। सके १ महिना, नसके १५ दिन, नभए ७ दिन त्यो पनि नसक्ने ले ३ दिन चै अनिबार्य बार्नु पर्ने रे! अनि पहिले पहिलेका बर्षहरुमा यहीं बस्ने अरुहरुलेपानी त्यसै गरेका थिए रे, त्यसैले। त्यति मात्रै कहाँ हो र? नेपाली पुरुषहरुसंग बिवाह भएका फिनीश महिलाहरुले समेत ५ वा ७ दिन बार्नु पर्ने निर्देशन पाएछन्। ‘साँच्ची?’ अब भने अन्धविश्वास भनेर यो कुरालाई बेवास्ता गरिरहन सकिन। जतिसुकै पढेलेखेको भएपनि सामाजिक मूल्य मान्यताहरुले मानिसमा धेरै असर पार्ने रहेछ। धेरै जनाले भनिसके पछि झुटै भए पनि ‘ए हो कि क्या हो?’ भनेर एक पटक सोच्न बाध्य बनाउँदो रहेछ।
पुरुषोत्तममासको कथा मैले मेरी भाउजुबाट सुनेकी थिए। ‘मानिसहरुले पुरुषोत्तममासलाई हेला गरेर मलमास भन्छन, मन पराउदैनन, तर यो मास धार्मिक रुपले धेरै महत्वपुर्ण छ, यस्तै, यस्तै…’। आधिकारिक धारणा खोज्न ‘गूगल सर्च’ गरें – के हो अधिकमास/पुरुषोत्तममास? के के छन् यससंग सम्बन्धित सामाजिक तथा धार्मिक मान्यताहरु? ‘गूगल’ ले धेरै परिणामहरु सतहमा ल्याइदियो। धेरै ‘लिंकहरु’ मध्ये केहि खोलेर सरसर्ती पढें।
”हिन्दु पंचांग अनुसार सुर्यबर्ष ३६५ दिन १५ घडी २२ पला ५७ बिपलाको हुन्छ भने चन्द्रबर्ष ३५४ दिन २२ घडी १ पल र २ बिपलाको हुन्छ। यी बर्षमानहरुमा प्रति बर्ष १० दिन ५३ घडी २१ पल अर्थात् लगभग ११ दिनको अन्तर हुन्छ जसको कारण करिब ३२ महिनाको अवधि मा १ अधिकमास जोडिन्छ। यस बर्षको अधिकमास जुन १७ तारिखबाट शुरु भई जुलाई १६ सम्म रहन्छ। पौराणिक मान्यता अनुसार कुनै ग्रह वा देवी देवताले यो मासको अधिपत्य लिन नमाने पछि श्रीकृष्ण भगवान स्वयम् ले यसको स्वामित्व ग्रहण गरेको हुनाले यसलाई पुरुषोत्तममास पनि भनिन्छ।”
धेरै जसो वेबसाइटहरुमा यो महिनामा भगवान बिष्णु वा श्रीकृष्ण को पुजाआजा, ब्रत अनुष्ठान, दान आदि गर्ने गरिएको बताइएको थियो। त्यस्तै शुभ कार्य जस्तै बिवाह, ब्रतबन्ध आदि गर्न नहुने बताइएको थियो। तर श्रीमान श्रीमती संगै बस्न नहुने कुरा कतै देखिन। ‘अब कसलाई सोधुँ?’ वैष्णवहरुको लागि पुरुषोत्तममासको ठुलो महत्व हुन्छ। त्यसैले मैले हेलसिन्की इस्कोंन (ISKCON) मन्दिरका प्रमुख तपोदिव्यम दास गुरुजीलाई फोन गरे। ‘गुरुजी, म पुरुषोत्तम मासको बारेमा बुझ्न चाहन्छु।’ उनले भने, ‘ पुरुषोत्तममास भौतिक कुराहरुको लागि त्यति शुभ समय होइन। जस्तै, गाडी किन्ने, नयाँ कम्पनि खोल्ने, घर जग्गा आदि किन्ने, बिवाह गर्ने, सन्तान प्राप्तिको लागि गर्भाधान गर्ने, आदि कार्यको लागि यो समय राम्रो हुँदैन, यसले शुभ फल दिंदैन। तर धार्मिक दृष्टिकोणबाट यो समय अति उत्तम समय हो। यो मास भगवान श्रीकृष्णको पुजा, ध्यान, किर्तन, महामंत्रको जप र कृष्णभावना जागृत गर्ने कामहरुमा आफुलाई संलग्न गराउनुपर्ने समय हो। यो बेलामा गरिएका हरेक धार्मिक कार्यहरुको फल १ हजार गुना बढी हुन्छ। यो महिना अध्यात्मिक दृष्टिले निकै शक्तिशाली र शुभ महिना हो।’
‘मैले त अधिकमासमा नवविवाहित दम्पति एकै घरमा संगै बस्न हुँदैन भन्ने सुनेको छु, के यो सत्य हो?’
‘वैदिक धर्मले त त्यसो भन्दैन’, उनले प्रष्ट पार्दै भने, ‘बिवाह र गृहस्थी मानब जीवनका अभिन्न अंग हुन्। जसरि हामी सामान्य रुपमा खाना खान्छौं, कार्यालय जान्छौं, त्यसै गरि बैबाहिक जीवन सुचारु गर्न सक्छौ। यो समयमा बिवाह गर्नु हुँदैन, तर अधिकमास पुर्व बिवाह गरेकाहरु संगै बस्न सक्छन्। खाली यत्ति हो कि यो मासमा गर्भ धारण गर्नु सुखप्रद हुँदैन। जन्मने शिशु तथा आमाको लागि कष्टपूर्ण हुनसक्छ भन्ने धार्मिक मान्यता रही आएकोछ। म पनि एक पारिवारिक व्यक्ति हुँ। म र मेरी श्रीमती मिलेर यस यो पुरुषोत्तममासमा अझ धेरै कृष्णभावना सम्बन्धित कार्यमा लाग्ने सोचमा छौं। अझ धेरै भजन किर्तन, जप, दान धर्म गर्ने छौं।’ ’पुरुषोत्तममासबारे बिस्तृत बर्णन पुरुषोत्तम महात्म्य तथा पद्म पुराणका साथै श्रीमद भागवतमा पनि पाउन सकिन्छ,’ उनले सुझाए। ISKCON हेलसिन्की मन्दिरका प्रमुख गुरु तपोदिव्यम दास जी फिनिश नागरिक भएर पनि वैदिक तथा पुर्बिय दर्शनका प्रखर बिद्द्वान हुन्।
गुरुजी प्रति हार्दिक आभार! उनले मेरो मनको भ्रम र दुबिधा निवारण गरिदिए। कम्तिमा म निर्धक्क आफ्नै घरमा बस्न सक्छु। नत्र ‘केहि अनिष्ट होलाकी?’ भन्ने त्रासले मनमा घर गरिरहन सक्थ्यो महिनैभरि।
नेपाली समाजमा अहिले दुई खाले मान्यता ब्याप्त छ; पहिलो, धर्मको नाममा हुने हर कुरा सहि हो भनेर अन्धाधुन्ध त्यसको पछि लाग्ने। दोस्रो, धार्मिक कुराहरु सबै अन्धविश्वास र रुढिबादी हुन् भनेर बेवास्ता गर्ने वा निन्दा गर्ने। कुनै बिषयको निष्कर्षमा पुगिहाल्नु अघि त्यसबारे खोज्नु, पढ्नु, बुझ्नु वा जानिफकारहरुसंग सोध्नु महत्वपुर्ण हुन्छ। हाम्रो सनातन धर्मले सिकाएका सबै कुरा अन्धविश्वास हुन्नन्। धर्मले मानिसलाई नियम र अनुशाशनमा बाँध्ने काम गर्छ। धर्मले सुविचार, प्रेम, सदभाव र सकारात्मक सोच विकास गर्नु पर्छ न कि अनावश्यक भय र त्रास फैलाउने काम। हाम्रो हिन्दु धर्मग्रन्थहरुले हामीलाई सधै असल ज्ञान र पाठ सिकाइरहेका हुन्छन। समस्या के मात्र हो भने हाम्रो समाजका पण्डित, पुरोहित र धर्मगुरुहरुले सत्यलाई बिगारेर, बंग्याएर आफ्नो अनुकुलता अनुसार ब्याख्या गर्ने गरेका छन्। आधिकारिक धारणा, ज्ञान के हो नबुझी मनगढ़ंत तरिकाले धर्मको ब्याख्या गर्नाले धेरै भ्रम सिर्जना भएका छन् र गलत परम्पराहरु स्थापित हुँदै गएका छन्।
अधिकमास अन्धविश्वास हैन तर ’यसपालीको मलमास कडा छ, श्रीमान श्रीमतीले एक अर्काको मुख समेत हेर्न हुन्न’ भन्नु चाही अन्धबिस्वास हो। घरकी बुहारीलाई बर्षभरि कामकाजमा खटाएर चाडबाड वा यस्तै बाध्यात्मक परिस्थितिमा मात्रै माइती जान छुट दिने सामाजिक मानसिकताले यस्ता कुराहरुको पृष्ठपोषण गरेको हुन सक्ला शायद। अझ अचम्मको कुरा, स्वदेशमा मात्रै नभई बिकसित र आधुनिक भनिएका देशमा बसोबास गर्ने पढेलेखेका पुस्तालेपनि यस्तो चालचलनलाई प्रशय दिंदै आइरहेका छन्। पुरुषोत्तममासको सन्दर्भ एउटा उदाहरण मात्रै हो।हाम्रो समाजमा धर्मसंग जोडेर यस्ता कैयौं चलनहरु चलाइएका छन् जसले हाम्रो दैनिक जीवन कष्टकर बनाइदिएको छ, जस्तै जन्म र मृत्यु संकारका धेरै पक्षहरु, रजस्वला, छोरा वा छोरीको जन्म, जातजाति प्रथा, बलि प्रथा, आदि। धेरै कर्मकाण्डहरु यस्ता छन् जुन हामीले फगत ‘हाम्रा बाबुबाजे देखि गरि आएका’ वा ‘यस्तो रे’ भनेको भरमा गर्दै आएका छौं। धर्मको नाममा कसैलाई दुख दिनु स्वयं धर्मकै बिरुद्ध हुन्छ। हाम्रो सनातन धर्मको असल पक्ष, मूल्य मान्यताको जगेर्ना गरौँ तर कुसंस्कारहरुलाई बढावा नदिउँ। आजकाल विभिन्न धर्मग्रन्थका किताबहरु बिबिध भाषामा पढ्न पाइन्छ। सके जति आफै पढौं, केवल पण्डित, पुरोहितले यस्तो भनेका छन् भनेर भ्रमको पछि नलागौं। हाम्रा धर्मग्रन्थहरु हजारौं बर्ष पहिले लेखिएका हुन्। समय धेरै परिवर्तन भैसक्यो। त्यसैले कतिपय मान्यताहरुलाई समय सापेक्ष ढंगले परिमार्जन गर्दै जान जरुरि हुन्छ। त्यसैले पुरुषोत्तममास ’मलमास हो, कालो समय हो’ भनेर प्रचार नगरौ, यसका सकारात्मक पक्षलाई हेरौं, आफ्नो मन, बचन, कर्म शुद्द गरौँ, दान गरौँ, सहयोग गरौँ । महाभुकम्पले धेरै नेपालीहरु पिडित छन्। यो पुरुषोत्तममासमा उनीहरुलाई केहि दान/सहयोग गरि पुण्य कमाउने हो कि?
लेखक ज्यु को लेख राम्रै लग्यो तर हामी हिन्दु धर्म मा हिड्ने मान्छे विश्वास गर्ने हरु भएसी धर्म ग्रन्थ हरु अनुसार हिड्नु राम्रो हुन्छा तपाई हामी ले यो अन्धबिस्वास हो भन्दै हिडे अरु धर्म ले खिल्ली उधौने छन् हाम्रो हिन्दु धर्म लै अहिले मुस्लिम हरु को Ramadan चलेको छ उनि हरु ले होइन हामी दिन मा खाना खान्छु यो अन्धबिसवास हो भन्दै हिड्यो भने कस्तो होला तेसैले लेखक ज्यु हाम्रो पुर्खा ले बुझेको कुरा हामीलाइ सिकाउनु हुन्छा अनि हामी ले हाम्रो सन्तान हरु लै हो .आजकल हाम्रो गाउँ घर मा मान्छे हरु लाइ प्रभु येशु को भजन गयो भने रोग Sancho हुन्छ दबाइ खानु पर्दैन भनेर सोझा मान्छे हरु लाइ येसरी लागेको chhan.तपाई हामी चाही हिन्दु धर्म लै अन्धबिस्वास भन्दै हिड्ने येसरी त हिन्दु धर्म नै बदनाम हुन्छा …..पढेर कसै को मन दुख्न गयो भने माफ दिनु होला ..जय पशुपति नाथ जय Nepal
यो सौर्य र चन्द्रिय पात्रोले गर्दा हाम्रो समाजमा मलमास भन्ने एउटा महिना हरेक तीन वर्षमा निस्कंछा. उता ग्रेगोरियन पात्रोमा चार वर्षमा १ दिन मात्र बढी निस्कन्छ जसलाई leap year भनि बुझिन्छ| एक दिन बढी वा एक महिना बढीले खासै अन्तर पर्ला जस्तो मलाई लाग्दैन\ आफु, परिवार, समाजलाई र संसारलाई भलो हुने कुनै पनि शुभ कार्य गर्न कुनै पनि पात्रोले अबरोध गर्दैन मेरो बिचारमा यो शुभ अशुभ भन्ने हरु आफुले पौने नपाउने आदिमा आधारित भएर निर्क्योल गर्छन|
लेखिका ज्यु,
तपाइँले निकै खोजबिन र सोधपुछ गर्नुभएछ, त्यति कुरो मैले मेरी आमाबाट केटाकेटी हुदै सुनेको थिए। बैग्यानिक वा गणितिय रुपले बुझ्ने हो भने प्रीथिबिको घुम्ने समय र चन्द्रमाको घुम्ने समय बीचको अन्तर नमिलेर मिलाउनको लागि जोडेको एउता क्रित्रिम समयको टुक्रो हो अधिकमास, जसरी तपाइँको कोठामा कार्पेट राख्दा कार्पेटको चौडाइ र तपाइको कोठाको चौडाइ नमिलेर एक टुक्रा गाँस्नुपर्छ । अनी उसैगरि त्यो टूक्रे कार्पेटमाथि बसेर भूजा ज्यूनार गर्न नहूने, जुवा खेल्नू नहुने अथवा रातीहुदो गर्भदान गर्ने वा गराउने ऊपक्रम गर्न नहुने भनेर कुनै हिन्दु धर्मको ठेकेदारले भन्छ भने त्यसमा म त्यत्तिकै सत्यता देख्छु जति मलमासको कुरोमा, जो तपाइले माथि चर्चा गर्नुभयो । अनि उसैगरि त्यो कार्पेटको टुक्रोलाइ मैले “पुरुषोत्तम टुक्रो” घोसणा गरेंभने अनि त्यो कार्पेटको टुक्रोमाथी बसेर याबत् कार्य गरे अशुभ हुन्छ, तर मेरो भजन गाउदा चैं सर्बोत्तम् फल मिल्छ भनेर मैले ठोकुवा गरें भने तपाइँ त्यसमा कति बिस्वास गर्नुहुन्छ?
हमालजी आफै अझै अन्धबिस्वास मा हुनुहुन्छ तर यो सान्धर्भिक issue मा लेखि मेरो मन्त्यब्य लेख्ने मौका दिनुभएकोमा धेरै धन्यवाद|
common sense ले हेर्दा प्रति बर्ष १० दिन ५३ घडी २१ पल अर्थात् लगभग ११ दिनको अन्तर हुन्छ जसको कारण करिब ३२ महिनाको अवधि मा १ अधिकमास जोडिन्छ। भनेपछि calendar मिलाउन यो अधिकमास राखिएको हो | तर हाम्रोमा पौराणिक काल देखि नै कथा जोड्ने चलन छ |
त्यो iscon को पुजारीले भनेको -जन्मने शिशु तथा आमाको लागि कष्टपूर्ण हुनसक्छ, गाडी किन्ने, नयाँ कम्पनि खोल्ने, घर जग्गा आदि किन्ने, बिवाह गर्ने आदि कार्यको लागि यो समय राम्रो हुँदैन, शुभ दिंदैन भन्ने कथा ले श्रीजना गरेको भ्रम हो |
उनले तपाईको मनको भ्रम नेपालका पण्डितबाट अन्तै लगाइदिए जस्तो मात्र लाग्यो |
निकै नै खोजमुलक प्रस्तुती ! भाषा, संस्कृति, धर्म र रीतिरिवाजका बारेमा मसिनो खोजबिन बिना यस सम्बन्ध तथ्यपरक र विश्वासिलो मत प्रस्तुत गर्न सकिदैन ! लेखिका यसलाई सरल तर गहिरो तरिकाले प्रस्तुत गर्नु भएको छ, जुन प्रशंसनीय छ !
राम्रो र बिश्लेषणात्मक विचार, अनि हमालजी तपाईँले पुण्य कमाउन जन्मभूमिका भुकम्प पीडीतहरूलाई कति सहयोग गर्नु भयो त ?
उत्कृष्ट बिचार, मनन/ग्रहण योग्य!
अनेक अनेक धन्यवाद!!!
बोक्रे अन्धबिस्वास अनि छुवा छुत को कलंक हटेन भने कालान्तर मा हिन्दु धर्म नामेट हुने छ ! धर्म को हत्या गर्ने हरु पुजारी, पण्डित, ब्राम्हण अनि टुप्पी धारी टिका धारी नै हुने छन् ! ६५ % आदिबासी र दलित हरु यिन को अन्याय सहन नसकेर बैकल्पिक धर्म तिर लागि सके !
हमाल जी, लेख राम्रो लग्यो/ तपाईले लेख्नु भय जस्तै यी प्रथाहरु कहिले बाट सुरु भय, अनि कुन प्रयोजनका लागि भन्य कुरा बुझे पछि सबै प्रस्ट भैहाल्छ/ हाम्रो यो अन्धबिस्वासी समाजमा अरुको कुरा मात्र सुनेर आफै केहि नबुझी हिड्ने हो भने पागल भहिन्छ/ मानबको हित र बिकासका लागि सुरु गरियका केहि कुराहरुले मानब समाजलाई अनुसासित राख्न मद्धत गरेका छन/ हेर्नुस न, “पाप र धर्म” यी दुई वटा सब्दले कति काम गरेका छन/ म ति माहान पुर्खाहरुलाई सलुट गर्छु/ जसले यी सब्दहरुको सुरुआत् गरे/ येस्ता धेरै उदाहरण छन, जसले समाजलाई यौटा अनुसासनमा राख्ने काम गर्दछन/ ति कुराहरुलाई मान्नु नै बेश हुन्छ/
तपाइले भन्नु भएको कुरा सहि हो, हाम्रो समाजमा पढेका मान्छे हरु धेरै भएपनि बुझेका मान्छे हरु निकै कम छन्, यथार्थ के हो भनेर बुझ्नु भन्दा ‘रे’ को पछि दौडिने हरु प्रसस्त मात्रामा पाईन्छन, तपाइको लेख पढेर ‘रे’ को पछाडी लाग्नेहरुले केहि बुझ्लान कि ……
धेरै राम्रो अनि समय सान्देर्भिक लेख! धन्यवाद जान्हवि जी!
Samina Acharya
समय सपेक्ष्य लेख ! लेखनमा अरु हौसला मिलिरहोस्!
लेख धेरै बैज्ञानिक र ब्यबहारिक छ| म लेखिका ज्यु लाई धन्यबाद दिन चाहन्छु यस लेखका लागि|