Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूकम्पपीडित छोराका बाबुलाई पत्र : बालबालिकालाई यसरी जोगाउँ

Posted on May 21, 2015 by mysansar

-विमल आचार्य-

image
आदरणीय संजय जी,

सर्बप्रथम तपाईले जुन हिम्मतका साथ माइसंसारमा आफ्नो छोराको फोटो र उसले भोगेको कुरा पोस्ट गर्नुभएको छ, यो स्वागतयोग्य छ। विश्वमै ओझेलमा परेको एक विषय मानसिक स्वास्थ्य पनि हो। यो विषयसँग सम्बन्धित जानकारी हामीमध्ये धेरैलाई कम छ। शरीरको कुनै भागमा सानो घाउ हुन बित्तिकै हामी उपचारतर्फ लाग्छौँ तर बिडम्बना मन दुखेको उपचार हामी गर्दैनौँ वा ढिलो गर्छौ।

संजय जी, तपाईले आफ्नो छोराको लागि जुन सहयोगको याचना गर्नुभएको छ, यसले तपाईँलाई मनोसामाजिक समस्याका विषयमा जानकारी छ भन्ने प्रस्ट हुन्छ। कम्तिमा तपाईँलाई चिन्ता छ। तर खेद, आज नेपालमा आफ्नो नानीलाई खाना खुवाउने नयाँ विषय भूकम्प भएको छ। हिजो भर्खरको कुरो हो। अफिस जाँदै गर्दा बाटोमा खेलिरहेको नानीलाई आमाले घरको छतबाट भन्दै थिइन्, ‘छिटो घर आइज खाना खान, भूकम्पले किच्ला नि फेरि’।

त्यो एउटा बाल मनोविज्ञान धावा बोलिरहेको दृश्य थियो। अभिभावकमा चेतनाको अभावले आज धेरै बालबालिका मनोसामाजिक समस्यामा गाँजिदै गइरहेका छन्। तपाइँले उल्लेख गरेका जस्ता समस्याहरुको समाधान यहीँबाट सुरु हुन्छ — मनोसामाजिक समस्या सम्बन्धि चेतनाको विकास।

तपाईँलाई यो पत्र लेखिरहँदा म आफ्नो ६ वर्षको छोरा रविकलाई सुम्सुम्याउँदै निदाउन सहयोग गरिरहेको छु। एउटा बाउ हुनाको नाताले म महसुस गर्न सक्छु तपाइँको पीडा अनि चिन्ताहरु। मेरो छोरा रविक पनि डराएको छ। यो विपद्‍मा को नै नेपाली होला नडराई मस्त निदाइरहेको?

समस्याको पहिचान गर्न वा यसको उत्तम उपचार खोज्न म पुनः त्यो कालो दिनमा फर्कन चाहन्छु। वैशाख १२ गते शनिबारको दिन मेरो अफिस साथै छोराको विद्यालय बिदा थियो। १२ बज्न केही समय बाँकी रहँदा म छोरा रविकलाई लिएर बाथरूम पसेँ। नुहाउन लाग्दा कम्पन शुरु भयो। श्रीमती र उनकी साथी आत्तिँदै हामीतिर आइन्। मलाई बुझ्न कति समय लागेन त्यो भूकम्प थियो। आफूले सिकेका कुरालाई प्रयोग गर्दै तीनतले घरको बीच कोठामा ढोकामुनि राखेँ सबैलाई। श्रीमती र उनकी साथी चिच्च्याउदै थिइन्। मैले सम्झाउने प्रयास गरेँ ‘अब सकियो, केही हुँदैन’।

रविक अन्यौलमा थियो। मैले आँखामा आँखा मिलाएर भनेँ, ‘छोरा केही हुँदैन’। यति भनिरहँदा मेरो खुट्टा कामिरहेको थियो। आफूलाई सम्हाल्दै सपरिवार तल झरियो। वास्तवमा मनोसामाजिक उपचार त्यो बेलादेखि नै सुरु भएको थियो। मैले प्रयोग गरेको ‘केही हुँदैनुु’ शब्दहरु र आफुलाई सम्हाल्न गरेका प्रयासहरु नै पहिलो खुड्किला थियो मनोसामाजिक उपचारको।

अझै अवस्था सामान्य थिएन। टेलिभिजन, सामाजिक संजालमा आइरहेका समाचारले भावविह्वल बनाइरहेको थियो। त्यो सँगसँगै तारन्तार आइरहेको परकम्पनले तनाव बढिरहेको थियो। संजय जी, मलाई विश्वास गर्नुस् प्रत्येक परकम्पमा मेरो खुट्टा कामिरहे पनि मैले मेरो छोरा रविकलाई अंगालोमा बाँधेर, आँखामा आँखा मिलाउँदै केही हुँदैन भन्न छाडिनँ।

निर्धक्कभन्दा मलाई भूकम्प सम्बन्धी धेरै ज्ञान थिएन। विज्ञहरुको केही लेख पढेपछि अलि-अलि ज्ञान बटुली मैले छोरा रविकलाई बुझाउने प्रयास गरेँ। हुनत रविकको धेरै प्रश्न अनुत्तरित रहे, तर पनि मैले ढुंगाको प्रयोग गरेर उसलाई बुझाउने प्रयास गरिरहेँ। अन्तत उसले बुझेको भावमा भन्यो “पृथ्वीमुनिको ढुंगा ठोकिएको थियो र अहिले मिल्दैछ। मिलेपछि हल्लिने छैन हो ?“ म मुस्कुराएँ आफू सफल भएको अनुभूतिमा। दोस्रो खुड्किला मनोसामाजिक सहयोगको पनि सकिएको थियो।

त्यसपछि मैले रबिकको ममीलाई टेलिभिजन हेर्दा रविकको अगाडि नहेर्नु वा अन्य च्यानल हेर्नु, रेडियो सुन्दा हेडफोनमा सुन्नु, भूकम्पबारे साथीसँग कुरा गर्दा अंग्रेजी भाषाको प्रयोग गर्नु ताकि उसले सजिलै बुज्न नसकोस् भनेर बुझाएँ। तेस्रो मनोसामाजिक सहयोग पनि पूरा भयो।

चौथो सहयोग, मैले प्रत्येक चोटी परकम्प जाँदा कहिले अफिस छाडेर, कहिले साथीको मिठा गफ छाडेर रविकसँग बिताइ रहेँ र उसलाई बुझाई रहेँ जमिनमुनि ढुंगा मिल्दैछ भनेर। परिणाम यो पत्र लेखिरहँदा ऊ मस्त, निर्धक्क निदाइरहेको छ।

अन्त्यमा केही बूँदागत कुराहरु राख्दैछु-

मनोसामाजिक समस्याको कारण के हो ?
व्यक्तिको मनोवैज्ञानिक तथा सामाजिक पक्षबीच हुने निरन्तर अन्तर्क्रियामा तालमेल नमिल्दा उत्पन्न हुने भावनात्मक समस्यालाई मनोसामाजिक समस्या भनिन्छ, जसले व्यक्तिको दैनिक क्रियाकलापमा बाधा पुुर्‍याउँछ।

मैले एउटा उदाहरण राख्न चाहेँ — अन्तरजातीय विवाहको। मनले माया गरेको साथीसँग विवाह बन्धनमा बाँधिनको लागि, जातीयताको कारणले परिवारमा धेरै कठिन अवस्था आएको हामीले देखेको वा सुनेको छौँ। त्यो अवस्थामा मनले ऊ नै मेरो जीवन हो भन्छ भने समाजले भावनामा बग्नु हुँदैन, जातीयता पनि ठूलो कुरो हो भन्छ। त्यहाँ मन र समाज बीच अन्तर्क्रिया भएको छ। सामना गर्न सक्ने अगाडि बढे, नसक्ने मानसिक समस्याबाट ग्रसित बने।

अहिलेको यो विपद्को अवस्थामा पनि मन र समाज बीच अन्तर्क्रिया भएको छ। १२ गते अघिसम्म हामी सबैको दिनचर्या, भावना, सोचाई फरक थियो तर एकाएक हरेक कुरा परिवर्तन भएको छ। बालबालिकाको सोचाई, विचार अनि ब्यवहार अर्कै कुरामा केन्द्रित थियो जस्तै पढाई, खेलकुद आदि। तर आज सबैतिर विनाश छ, बालबालिकाले आफूलाई पनि त्यो घटनाक्रमसँग गाँसेका छन्। वास्तवमा वयस्क मानिसलाई भन्दा बालबालिकालाई धेरै डर छ, परिणाम हेल्मेट बिना ऊ सुत्न सक्दैन। ऊ आफूलाई सुरक्षित महसुस गराउन चाहन्छ।

मनोसामाजिक सहयोग
अहिलेको अवस्थामा अलि-अलि तनाव हुनु सामान्य हो। विशेष गरी बालबालिकामा हुने मनोसामाजिक समस्यालाई तीन क्षेत्रहरुमा केन्द्रित भएर सहयोग गर्न सकिन्छ — घर, विद्यालय र समुदाय।

अहिलेको अवस्थामा, अभिभावकको हैसियतमा हामीले घर र समुदायमा केन्द्रित हुँदा केही हदसम्म सहयोग गर्न सकिन्छ। घरेलु स्तरमा गरिने सहयोग निम्न हुन सक्छन् :

-आफू लगायत सम्पूर्ण परिवारका सदस्यहरुलाइ यो विपत्तिले निम्ताएको क्षति स्वीकार्न मद्दत गर्ने। यो विपत्ति कसैको बसमा छैन। परिवर्तन गर्न नसक्ने कुरालाई स्वीकार्न सकियो भने मनलाई सहयोग मिल्नेछ।

– मैले आफ्नो अनुभवमा उल्लेख गरे झैँ बालबालिका सकभर एक्लै नछोड्ने र बालबालिकालाई सकभर आफूसँगै सुताउने। भुकम्पको नचाहिँदो खबर, हल्ला, कुराकानीबाट उनीहरुलाई टाढै राख्ने।

– बालबालिका तथा बूढाबूढीहरुलाई उनीहरु सुरक्षित छन् भन्ने कुरा बताउने। उनीहरुको खानपान, सुताई आदिमा ध्यान दिने।

– प्रशस्त मात्रामा पानी पिउने । तर पानी सफा भए नभएको ध्यान दिने।

– डर कम गर्ने अर्को उपाय आफूलाई व्यस्त राख्ने पनि हो। अझ आफूलाई मन पर्ने काम गरेर डर कम गर्न सकिन्छ।

– प्रत्येक दिन बिहान उठ्ने बित्तिकै वा सुत्नुभन्दा अगाडि बालबालिकालाई अंगालोमा बाधेर सुरक्षित महसुस गराउन सकिन्छ।
सामाजिक स्तरमा अभिभावकले आफ्नो बालबालिकालाई गर्ने मनोसामाजिक सहयोग।

– अहिले चोक-चोकमा भूकम्पविद् जन्मिएका छन्। परकम्प जान नपाई रेक्टर स्केल अनुमान हुन थाल्छ। हतोत्साहित मनोभावना ब्याप्त भएको हुँदा निराशाजनक कुराहरु बढी छन्। यदि आफ्नो बालबालिकालाई लिएर कतै बाहिर निस्कँदा कसैले यस्तो कपोकल्पित कुरा गरे तुरुन्त त्यस्को विरोध गर्नुस्। आशाका भावहरु बाँड्नुस ताकि तपाइँको औला समाइरहेको बालबालिकाले केही सिकोस् तपाईँबाट। अझ मिलेन भने आफ्नो छोरा वा छोरीलाई केही पर लगेर घुँडा मारेर, आँखामा आँखा मिलाएर भन्नुस “यो सब हावा कुरा हो, केही हुँदैन”।

-राहत कार्य भैरहेको अवस्थामा सकिन्छ भने परिवार नै सुरक्षित स्थानमा गएर सहयोग गर्नुस्। बालबालिकालाई बुझाउनुस्, हामि नेपाली हौँ, हामीमा मानवता मरेको छैन।

अन्त्यमा मनोसामाजिक समस्यामा परेका बालबालिकाहरुलाई सहयोग गर्ने हेतुले विभिन्न संघसंस्थाहरुले विद्यालय वा समुदायमा विभिन्न क्रियाकलापहरु गरिरहेका छन्। ती कार्यक्रमहरु धेरै नै प्रभावकारी रहेको तथ्यहरु छन्। यदि तपाइँको घरछेउ त्यस्ता सहयोग उपलब्ध भए सम्पर्क गरी मनोसामाजिक सहयोग लिन सक्नु हुन्छ।

3 thoughts on “भूकम्पपीडित छोराका बाबुलाई पत्र : बालबालिकालाई यसरी जोगाउँ”

  1. Shishir Boston says:
    May 22, 2015 at 12:34 am

    बिमलजी, निकै राम्रो लाग्यो तपाईंको लेख । सबैको यस्तै आशावादि सोच भैदिए पक्कै पनि मनोसामाजिक समस्या कम हुन्थ्यो होला हाम्रो समाजमा । तपाइले प्रस्तुत गर्नु भएका तरिकाहरु अपनाएर एक अर्कालाइ सहयोग गर्ने, कसैले निराशाजनक एवं कपोकल्पित कुरा गरे तुरुन्त त्यस्को विरोध गर्ने गरेमा पक्कै पनि बालमस्तिष्कमा परेको नकारात्मक प्रभाव र डर कम हुनेछ । यस्तो सुझाबको लागि धेरै धन्यबाद ।

    Reply
  2. Binod says:
    May 21, 2015 at 8:05 pm

    तपाईंको लेख सारै सान्दर्भिक लाग्यो | साधुबाद |

    Reply
  3. sanjaya pokharel says:
    May 21, 2015 at 3:43 pm

    बिमल जी धन्यवाद .राम्रो सुझाब दिनुभयो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme