वैशाख १२ को विनाशकारी भूकम्पपछि अमेरिकी भूगर्भ संस्था USGS ले हरेक हप्ता सल्लाहसहितको जानकारी (एडभाइजरी) सार्वजनिक गरिरहेको छ। नेपालमा रेकर्ड भएका भूकम्पहरुको तथ्याङ्क विश्लेषण गरी आउँदा दिनमा हुनसक्ने भूकम्पका संभावनासहित सावधानी अपनाउन यो एडभाइजरी जारी गरिएको हो।
वैशाख १२ को मुख्य भूकम्प र वैशाख २९ गतेको शक्तिशाली परकम्प दुवैले थप परकम्पहरु उत्पन्न गराएका छन्। USGS ले वैशाख २९ को ७.३ म्याग्निच्युडको भूकम्पपछि तथ्याङ्क विश्लेषणको विधि नै परिवर्तन गरेको छ।
के छ त वैशाख २९ पछिको एक सातासम्मका भूकम्पका तथ्याङ्क विश्लेषण अनुसार भविष्यको संभावना?
सबभन्दा पहिला हामी बुझौँ कि USGS ले पनि महत्वका साथ लेखेको छ- भूकम्प वा परकम्प ठ्याक्कै यो मितिमा वा यो समयमा आउँछ भनेर भविष्यवाणी गर्ने कुनै पनि विधि छैन।
USGS को एडभाइजरीका केही प्रमुख बुँदा :
परकम्प कुनै पनि ठूला भूकम्प गएपछि आउने साना भूकम्पहरु हुन् र यो नेपालमा जारी रहने तर समयसँगै कम हुँदै जाने अपेक्षा छ। भविष्यमा हुनसक्ने परकम्पको संभावना एक साताअघिको एडभाइजरी भन्दा कम छ किनभने वैशाख २९ को ७.३ को शक्तिशाली भूकम्पपछिको थप समय बितिसक्यो। यो भूकम्प आफैमा गोरखा भूकम्पको परकम्प थियो।
USGS ले नेपालमा रेकर्ड भएका विगतका भूकम्प र परकम्पहरुको संख्याको तथ्याङ्क विश्लेषण गरेर कति वटा परकम्प हुनसक्छ वा परकम्पको संभावना हेरेको हो।
नेपालमा थोरै क्षति गर्ने वा कुनै क्षति नगर्ने परकम्पहरु महसूस हुने क्रम जारी रहनेछ। कुनै परकम्पहरु ठूलो क्षेत्रमा महसूस हुने गरी शक्तिशाली हुनसक्नेछन् जसले मुख्य भूकम्प र परकम्पहरुका कारण पहिले नै क्षति पुगिसकेका र जर्जर रहेका संरचनाहरुलाई थप क्षति पुर्याउन सक्नेछ। परकम्पहरु आउने क्रम अब कम भएपनि आउँदा साताहरु र महिनाहरुमा तपाईँ हामी सबै परकम्पको संभावनाप्रति सचेत रहन जरुरी छ। विशेष गरी कमजोर संरचना र पहिरोको जोखिम भएका ठाउँ वा त्यसनजिक रहँदा।
तथ्याङ्क विश्लेषणको संभावना के छ त ?
• मे २० देखि मे २६ सम्म अर्थात् जेठ ६ देखि जेठ १२ सम्म USGS को अनुमानमा कम्तिमा एउटा ५ देखि ६ म्याग्निच्युडका परकम्प आउने संभावना ४० प्रतिशत छ र बढीमा तीन वटा यस्ता घटना हुनसक्छन्।
• ६ देखि ७ म्याग्निच्युडका शक्तिशाली परकम्प यही साता जाने संभावना १६ मा १ अर्थात् ६ प्रतिशत छ। ७ देखि ७.८ को थप शक्तिशाली परकम्प जाने संभावना पनि नभएको होइन तर यो संभावना निकै नै कम अर्थात् २०० मा १ मात्रै छ।
• गोरखाको मुख्य भूकम्पभन्दा ठूलो परकम्प जान त सक्छ तर यही साता जाने संभावना भने निकै निकै नै कम अर्थात् १००० मा १ मात्रै छ। USGS को अनुमानमा मुख्य भूकम्पभन्दा ठूलो भूकम्प गए पनि त्यसको आकार लगभग मुख्य भूकम्पकै जति हुनेछ।
हामी देख्न सक्छौँ ठूला भूकम्पका संभावना कम छन्। तर साना म्यग्निच्युडका भूकम्पभन्दा यस्ता ठूला भूकम्पले धेरै क्षति गर्न सक्छ। परकम्पका तथ्याङ्कहरुका आधारमा निर्णय लिँदा भूकम्प आउने संभावना र आएमा हुनसक्ने क्षति दुवैलाई ध्यानमा राख्न USGS ले सुझाव दिएको छ।
७.८ को मुख्य भूकम्पअघि पनि यस क्षेत्रमा विगत २० वर्षदेखि हरेक वर्ष एउटा ५ वा त्यसभन्दा माथिका भूकम्प आउने गरेको स्मरण गराउँदै USGS ले अहिले त्यो परकम्पका कारण त्यसको संख्या बढ्ने बताएको छ।
परकम्पहरुको संभावित केन्द्र अहिलेकै गतिविधि भइरहेका क्षेत्र र केही त्यसभन्दा पर हुनसक्ने अनुमान गरिएको छ।
संख्यामा हेर्दा एक वर्षसम्मको संभावना
यसअघि USGS ले आफ्ना एडभाइजरीहरुमा Reasenberg and Jones (Science, 1989) विधि प्रयोग गर्दै आएको थियो। तर ७.३ को ठूलो परकम्प आएपछि यो विधि लागू गर्न कठिनाइ भएको छ र Epidemic Type Aftershock Sequence model (ETAS,
Ogata, 1988) अनुसार गणना गरिएको छ। पहिले र अहिलेको फरक के भयो भने USGS का अनुसार अहिले परकम्पको संभावित संख्या धेरै र वास्तविकतासँग बढी नजिक हुनेछ।
USGS ले अर्को एडभाइजरी मे २७ मा जारी गर्नेछ।
सतर्क हुने, हल्लामा नलाग्ने
यो एडभाइजरी हेरिसकेपछि हामी आतंकित होइन, सजग र सचेत रहनुपर्छ। कसैले फेसबुकतिर युएजिएसले वैशाख १२ को भन्दा ठूलो भूकम्प जाने भन्यो भनेर हल्ला गर्यो भने त्यो गलत त हुँदैन तर आतंक फैलाउने काम भने पक्कै हुन्छ। किनभने यस्तो संभावना त १००० मा एक अर्थात् निकै निकै नै कम मात्र हो।
अहिले धेरै संभावना ५ देखि ६ को भूकम्प जानसक्ने छ। यसले पहिले नै कमजोर भइसकेका संरचनाहरुमा थप क्षति पुर्याउन सक्छ। त्यसैले त्यस्ता संरचना वरपर हुनेहरुले सजग रहनुपर्छ। पूर्व तयारी गर्नुपर्छ। ६ देखि ७ को संभावना अलि कम छ। तर आइदियो भने त्यो थप क्षति पुर्याउने खालको हुन्छ। केन्द्रबिन्दु कहाँ हो त्यसले पनि धेरै असर पार्छ। जस्तै दोलखा केन्द्र बनाएर आएको भूकम्पले त्यहाँ धेरै क्षति गर्यो। तर मान्छेहरु सचेत भइसकेकाले पहिलो भूकम्पको तुलनामा मानवीय क्षति भने कमै भयो। यो सचेतना र पूर्व तयारीको नतिजा थियो। हामी नआत्तियौँ भने मात्र पनि मानवीय क्षतिलाई धेरै कम गर्न सक्छौँ। भौतिक क्षति त रोक्न सकिन्न। त्यसलाई तपाईँ हामी सबैले काँधमा काँध राखेर पुननिर्माण गर्ने हो।
सम्बन्धित सामाग्री
Updated USGS Aftershock Advisory for the Magnitude 7.8 Gorkha earthquake in Nepal April 25, 2015 (as of May 20, 2015)
Technical Appendix: USGS Numerical Aftershock Analysis for the Magnitude 7.8 Gorkha earthquake in Nepal April 25, 2015 (as of May 20, 2015)
भुइचालो आउछ ,जान्छ मान्छेको नियन्त्रण मा छैन , तर बिदेसी र स्वदेसी ले मन पग्लेर दिएको दान पनि उचित प्रबन्ध मिलाएर बाड्न न सक्नु , हिनामिना गर्नु , व्यापारीले यहीबेला जस्ता ,पाताको भाउ बढाउनु , सद्भाबनाकी नेता सरिता गिरि ले पहादी भुकम्प पिडित हरुलाई मधेस मा बस्न दिनु हुन्न भन्नु , हिजो को देश विध्वंस पार्ने माउबादिको बाइ स्याल हरु यो बेला मा चुप चाप रहनु , हात खुट्टा सग्ला तिन तिग्रे ,भुस तिग्रे हरु हामीले त् सरकार बाट केहि पायेनम भन्दै दिन भर सरकारको बाटो कुरी बस्ने र गालि गर्ने यो सब देख्दा ,टेक अफ हुन् लागेको अर्थ तन्त्र भन्दै गफ हाक्ने रामसरण , दिन दहादे झुट बोल्न न डराउने निडर बामदेब देख्दा देश ले कसरि पुन निर्माण पाउला जस्तो लाग्छ |
येस्मा पनि निरिह भएर भुकम्प को पर्खाइ मा बसे जस्तो पर्खि बस्ने हो कि ?
आइते : ये लुते , ल भन ”नेपाल ” देश को नाम ”नेपाल ” कसरि रहन गयो ?
लुते : सबै नेपालि ,अफिस हरु , मन्त्रीहरु ”पाल” भित्र बस्ने भएकोले |
आइते : ह म म !! तैले ठिक भनिस भने भने इतिहास कार ले पत्याउदैन , गलत भनिस भन्न आखाले दिदैंन |ल आइज पुरस्कार स्वरुप ८ रेक्टर स्केल मा हल्लैदिन्छु |