– डा. विजय ज्ञवाली/क्लिनिकल मनोविज्ञ –
यो भूकम्पपछि खाली डर मात्र लाग्छ, कोहीसँग बोल्न मन लाग्दैन। दिक्क लागेर आउँछ। फेरि त्यस्तै भूकम्प आएर मर्छु कि भन्ने मात्र लाग्छ। के यो भूकम्पको मनोवैज्ञानिक असर हो?
नेपालमा गएको विनाशकारी भूकम्पको तेस्रो दिन मेरो एक आफन्तले यस्तो प्रश्न सोधे। यो प्रश्नले भूकम्पले कयौँ मानिसमा मानसिक रुपमा परेको प्रभाव र यसबाट पीडित हुनेहरुको मनोदशालाई उजागर गर्छ।
भूकम्पको प्रारम्भिक दिनहरुमा आपतकालीन उद्दार र आकस्मिक उपचारमा हाम्रो ध्यान केन्द्रित हुनु स्वाभाविक र आवश्यक हो। यसमा शारीरिक अवस्था, चोटपटक लागेको र अन्य देखिने बिमारलाई मात्र प्राथमिकतामा राखिन्छ। घटनाको प्रारम्भिक अवस्थादेखि नै मानिसमा मानसिक असर र त्यसका लक्षण नदेखिने भने होइन, तर त्यसलाई तत्काल ध्यान दिइँदैन या प्राथमिकतामा राखिँदैन। तथापि अब बिस्तारै भूकम्प पीडितहरुको मानसिक अवस्थाको बारेमा पनि हाम्रो ध्यान केन्द्रित हुनु जरुरी छ। भूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण पीडितहरुमा कस्तो मानसिक समस्याहरु देखा पर्छन् र समाधानका उपाय के-के हुन सक्छन् बारे यहाँ चर्चा गरिन्छ।
कस्तो असर देखिन्छ ?
भूकम्पले पर्ने मानसिक असर अल्पकालीन र दीर्घकालीन दुवै हुन सक्छन। अल्पकालीन असरमा डर लाग्ने, नराम्रा सपना देख्ने र डराउने, टोलाउने, बोल्न मन नलाग्ने, झसङ्ग हुने, फेरि भूकम्प आउने हो कि भनेर डराउने, रुने अथवा रुन मन लाग्ने जस्ता समस्या देखिन्छ।
कतिपयमा यी लक्षण आफै कम भएर जान्छन् भने कतिपयमा लामो समयसम्म रहन सक्छन्। भूकम्पले पार्ने मानसिक असर तत्काल नै देखिन्छ भन्ने छैन। यसको असर धेरै पछि पनि देखिन सक्छ। नेपाल कै उदाहरण हेर्ने हो भने १० वर्षे माओवादी जनयुद्धको असर शान्ति सम्झौताको धेरै वर्षपछि पनि अझै पनि देखिने गरेको पाइन्छ।
त्यस्तै भूकम्पको मानसिक असर पनि तत्काल नदेखिएर पछिसम्म पनि देखिने सम्भावना रहन्छ। लामो समयपछि देखिने दीर्घकालीन असरमा डिप्रेसन, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) र विभिन्न प्रकारका फोबिया आदि जस्ता समस्या देखिन सक्छन्। भूकम्पको डरलाग्दो दृश्य देखेका बालबालिका उच्च जोखिममा हुने सम्भावना रहन्छ।
भूकम्पपछि बच्चाहरुमा देखिन सक्ने समस्यालाई मैले बुझ्न सजिलो हुने गरी वर्गीकरण गरी प्रस्तुत गरेको छु-
• स्कूल नजाने उमेरका – औँला चुस्ने, झसङ्ग हुने, बिछ्यौनामा पिसाब गर्ने, आमा बुबासँग सँधै टाँसिएर बस्ने, नसुत्ने, खान नमान्ने, नखेल्ने आदि
• प्राथमिक स्कूलका विद्यार्थी – तनावमा रहने, चिडचिडाहट हुने, नराम्रो सपना देखिने र त्यसलाई वास्तविक ठान्ने, स्कूल जान नमान्ने, ध्यान केन्द्रित गर्न नसक्ने, साथीभाइसित नखेल्ने, अँध्यारोमा डराउने आदि।
• वयस्क उमेर समूह – अनिद्रा, खानामा अरुचि, झर्किने, रिसाउने, अपराधी मनोवृत्ति बढ्ने, शारीरिक समस्या देखिने, ध्यान नदिने आदि।
• वृद्धवृद्धा – खानामा अरुचि, अरुसँग नबोल्ने, टोलाउने, निराशावादी कुरा गर्ने, रुने आदि।
असर कम गर्न के गर्ने ?
भूकम्पले परेको अल्पकालीन मनोवैज्ञानिक असर र यसले पर्ने दीर्घकालीन असरलाई कम गर्न तत्काल सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ। हामीले तत्काल गर्न सक्ने केही पहल गर्नुपर्ने देखिन्छ।
– नकारात्मक र विध्वंसात्मक दृश्य भएका समाचारबाट तत्काल आफूलाई टाढा राख्नु उत्तम हुन्छ। यस्ता समाचारले विशेष गरी बालबालिकाको कलिलो मानसिकतालाई असर गर्न सक्छ। ठूलालाई पनि यस्ता समाचारले विचलित बनाउने हुँदा केही समय यस्ता समाचारबाट टाढा बस्नु नै उत्तम हुन्छ।
– सामाजिक कार्यमा संलग्न हुनु राम्रो हुन्छ। उद्दारका कार्य, सामूहिक सरसफाई, सामूहिक अनुभव आदानप्रदान गर्नु यो समयमा उपयुक्त हुन्छ।
– जीवनलाई सक्दो सहजीकरण गर्ने प्रयास गर्नुहोस्। लामो समय एक्लै नबस्नु होस्। समूहमा बस्नु राम्रो हुन्छ। सकारात्मक कुरा र कर्मलाइ प्राथमिकतामा राख्नु होस्। वर्तमानलाइ स्वीकार गर्ने प्रयास गर्नु होस्।
आफ्नो प्रयासबाट पनि आफूमा अथवा परिवार साथीभाइमा देखिएको मानसिक समस्यामा कुनै परिवर्तन आएन या प्रकोपको पीडाबाट छुटकारा पाउन सकिएन भने तुरुन्त मनोरोग विशेषज्ञ सल्लाह लिनु आवश्यक हुन्छ।
यदि तपाईंका बालबालिका र अन्य परिवारका सदस्यहरुलाई यस्तो समस्या भएको छ भने, तपाईं र तपाईंको परिवार जुन अवस्थामा हुनुहुन्छ त्यो भन्दा पनि समस्या थप बढेर जाने हुनाले यसको उपचार र रोकथामको पहलमा ध्यान दिनु जरुरी छ।
Nice and informative article! I hope the time will heal the wound although it is very tough for those who lost their near and dear, house/property, and land. As Bhagawat Gita says “Everything happens for good”, we have to see this as an opportunity to help those earthquake victims who experienced this tragedy. Let us urge the government and other organizations to reconstruct the earthquake proof homes for those who lost the homes completely, and renovate the homes how lost partially. If such reconstruction project cannot be completed before monsoon (rainy) season, all of the victims losing their houses should be provided tin/metal panels immediately so that they can live at least under the shade. For now, they can use some temporary fence wall and later they can construct permanent homes using stone walls with tin/metal roofing.
भुकम्प को असर भन्दा नि भात खान न पाएर छट पटिदाको असर घातक हुने देखिन्छ |
पेट को आगोले भुचालो आएको , एक हप्ता सम्म पाहुना बनेर बसेको , ढ्यांगरो ठटाएर गएको सब भुलाइदिञ्छ |
Good information.
Suraj Maskey