– नरेश कुसी –
२०७१ जेठ ३१-नेपालको सबभन्दा विकट जिल्ला हुम्लाको पनि सबभन्दा विकट गाविस लिमीको सुन्दर ग्याउखोला उपत्यका अनि त्यहाँको तिब्बती पठारमा यत्रतत्र सानसँग चरिरहेका जंगली गधा/कियांगका बथानहरु। माहोल त्यसै पनि रोमान्चक थियो। छिनछिनमा रोमान्चकता थप्न देखापर्थे फ्याउमुसा, ठुटेखरायो र भोटेखरायोहरु। तीन दिन अगाडि ४८२७ मि. को उचाईमा हामीले दुई महिने अनुसन्धानको लागि दीर्घकालीन क्याम्प खडा गरेका थियौं। जिल्ला सदरमुकाम सिमिकोटबाट पैदल हिंडेर यहाँ आइपुग्न हामीलाई ११ दिन लागेको थियो।
ब्वाँसोबारे अध्ययन गर्न आएकी स्वीज़रल्याण्ड निवासी जेराल्डिन वारहान नेतृत्वको हाम्रो टोली ग्याउखोलाको पश्चिमी कुनातिर लम्किरहेको थियो। लिमी गाविसको हाल्जी गाउँका कुन्जोक राङडोल तामाङ पथ प्रदर्शन गर्दै थिए, त्रि.वि. प्राणीशास्त्र केन्द्रीय विभागका विनोद कुँवर ब्वाँसोले के-के खान्छ भन्ने पत्ता लगाउन दिसाका नमुनाहरु टिप्दै थिए र म ब्वाँसोको अनुवांशिक नमुनाहरु संकलन गर्न जेरी (जेराल्डिनलाई हामीले बोलाउने छोटो नाम) लाई सहयोग गरिरहेको थिएँ, ‘प्रकृतिका साथीहरु’को वन्यजन्तु अनुसन्धानकर्ताका रुपमा। अनुसन्धान टोलीलाई खाना र खाजाको व्यवस्था गर्न खटिएका बरगाउँ गाविसका पेमा रिक्जिन लामा चाहिं क्याम्पको रेखदेख गर्न बसेका थिए।
बिहानको ११:३० तिर राङडोल दाइले अचानक मलाई बोलाए। म नजिक पुग्न नपाउँदै उनले रोमान्चित आवाजमा भने, ‘सर, त्यहाँ पर हेर्नुस त, दुईवटा दोङहरु (जंगली चौरीगाईलाई तिब्बती भाषामा दोङ भनिन्छ) छन्।’ हामी सवैले उनले देखाएको ठाउँतिर दुर्बिन तेर्सायौं, त्यहाँ दुईवटा चौरीगाईहरु चरिरहेका थिए। तर निक्कै टाढा भएकाले ती दोङ नै हुन् वा घरपालुवा चौरीगाई हुन् भन्न सकिने अवस्था थिएन।
जेरीका अनुसार यही ठाउँमा २०७० जेठमा प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यको नेतृत्वमा यादव घिमिरे, बिधान अधिकारी, जेराल्डिन वारहान र हाल्जीका पासाङ दोर्जे तामाङ सम्मिलित टोलीले दोङका आला पदचिन्ह र गोबर भेटाएको थियो। सो वर्ष मृत दोङको टाउको, सिङ र छालापनि भेटिएको भएपनि प्रत्यक्ष अवलोकन भने भएको थिएन।
उत्साहित भएर तिनै चौरीगाईहरुतिर लम्किरहेकै बेला तिनीहरु एकाएक हाम्रो नजरबाट हराए। ‘सपनामा त छैनौं हामी?’ एकछिन सबैलाई यस्तै लागेको हुँदो हो! १२:१५ मा हाम्रो अगाडि कियांगको ठूलो बथान देखापर्योा। झोलाबाट स्टायन्ड् झिकेर त्यसमाथि क्यामेरा अड्याएँ र भिडियो खिच्न लागें म। बाँकी साथीहरु अगाडि बढिरहे।
अकस्मात अलि पर खोलाछेउको ढुंगा पछाडीबाट अघि देखेका चौरीगाईहरु निस्किए र किनारै किनार भागे। जेरिले ठिक समयमा क्यामेरा तिनीहरुतिर तेर्साइन् र केहि तस्बीरहरु खिचिन्। आफू टाढा भएकाले म अलि अत्तालिएँ र स्टायन्ड्सहितको क्यामेरा बोकेर दौडिएँ। तर तिनीहरु निक्कै टाढा भागिसकेका थिए। टाढाबाट भएपनि केहि तस्बीरहरु खिचें।
जेरीले मलाई आफूले खिचेका तस्बीर र भिडियोहरु देखाइन्, राम्रै आएका रहेछन। ‘मलाई विश्वास गर्न गाह्रो भैरहेको छ कि भर्खरै यी भयंकर दोङहरु हाम्रै अगाडिबाट भागेका छन्।’ यति भनेर उनी खुसीले उफ्रिन् र भुइँमा ठचक्क बसिन् अनि धर्तीलाई चुमिन्। एकछिन सबैजना भावुक भयौं।
घरपालुवा चौरीगाईहरुभन्दा आकारमा निक्कै ठुला, त्यस्तै ठुला र साइकलको ह्यान्डलजस्तै घुमेका सिङ्हरु, काँधदेखि झरेर तल भुइँनै छोलान् जसरि झुल्लीएका रौंहरु, मुठा परेको बाक्लो पुच्छर र सेतो-खैरो थुतुनो-हेर्दै अजंगका यी जंगली चौरीगाईहरु हामीलाई देखेर आक्रामक बन्नुको साटो काँतर जसरि भागेको देख्दा भने अनौठो लाग्यो। सिकारीहरुको कारण यिनीहरु मान्छेसँग त्रसित बनेको हुनुपर्छ।
केही बेरको शुन्यतालाई चिर्दै मैले जेरीलाई स्याटेलाइट फोनबाट राजु दाइलाई दोङ भेटेको खबर सुनाउन भनें। ‘राजु, हामीले पोहोर साल खोजेकै ठाउँमा भर्खरै दुईवटा दोङहरु भेट्टाएका छौँ।यो पटक तस्बीर र भिडियोसहित दरो प्रमाण जुटेको छ.’ यति भनेर उनले फोन मलाई दिइन्। ‘ल भाइ, बधाई छ हामी सबैलाई। अन्ततः भेट्टाएरै छोडियो है!’, उताबाट राजु दाइको आवाज आयो।
४९८० मि. को उचाईमा दोङका केही राम्रै तस्बीर र भिडियो खिचेको भएतापनि मलाई तिनीहरुको अझ नजिकबाट तस्बीर खिच्न सकिन्छ कि भन्ने लागिरहेको थियो। विनोद र राङडोल दाइलाई झोलाहरु जिम्मा लगाएर हामी खोलापारी बसेका दोङहरुले नदेख्ने बाटो भएर तिनीहरुतिर लम्कियौं। हामीले जुता खोलेर तुनाहरु जोड्यौं र घाँटीमा जुताको माला लगायौं। त्यसपछि एकअर्काको हात समातेर वेगसँग बगिरहेको ग्याउखोला तर्यौ।
आधा घण्टापछि हामी तिनीहरु देखिने ठाउँमा पुग्यौं र क्यामेराहरु निकाल्न लाग्यौं।यतिन्जेल तिनीहरुले हामीलाई देखे र फेरि भाग्न थाले। यो पटक तिनीहरु कतैपनि नरोकिईकन दौडिरहे र हिउँले सेताम्मे बनेको पहाड छिचोलेर पारी गए। हामी भने मनले अघाउन्जेलसम्म तिनीहरुलाई दुर्बिनमा हेरिरहयौं अनि जिन्दगीमा विरलै आउने त्यो पललाई आफ्ना क्यामेराहरुमा मनग्गे कैद गर्यौं।




we are proud of you ! keep it up guys. your activities are destined to save our land and beings and balance the ecosystem. I have more expectations on you .