Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : मास्टर्स थेसिस

Posted on April 19, 2015 by mysansar

-सन्तोष पौड्याल-

saturday-fictionहेलमेटको चिराबाट ट्याक्टरको आवाज छिरेपछि म झसङ्ग भए। निद्राबाट ब्युझेजस्तो। तर यो निद्रा थिएन। मैले लामो स्वाँश फेरें “आजपनि बाँचे”। हुन त सपनामा मोटर युध्द गरि धेरैपटक जीवन बिच्छेद गरिसकेको छु। तर आमा भन्नुहुन्छ “आयु लामो हुन्छ रे”। त्यसै होला।
जाडोयाममा रातिको ९ बजेतिर भैरहवा क्याम्पस पढेर फर्किदा मेरो बाइक डम्म परेको कुइरोलाई आढ़ बनाई देहाती ट्याक्टरसंग लुकामारी खेल्दै आफ्नो गन्तब्य परासी बजारसम्म आइपुग्छ । मर्न लागेको आत्मा र निबेका आँखा लिएर हिड्ने मोटरले मलाई धेरै पटक झस्काएका छन्। निलओठ र पहेला हात लिएर म परासी ओर्लिए।आजपनि खाना खाने होटेलमा अर्याल बा र होटेल बा बाहेक अरु कोहि पनि छैन।
अर्याल बा बलिन्धारा आँशु सहितको नियमित दारु पुराणका लागि तम्तयार देखिन्थे, म भने हावा भरिएको पेटमा धमाधम अन्न भरेपछि डेरातिर लागें।
थाकेको शरीर लाई मैले बिस्तारामा अड्याए। भोलि बिहान आध्यापन, दिउसो अफिस र साँझ अध्यनको योजनास्वरूप मस्तिष्क रुजु गर्दागर्दै निदाएको पत्तै भएनछ। चिसो बतासले जिउमा हानेपछि मध्यरातमा ब्युझिए। एक अम्खोरा पानी घटघटी खाएपछि बत्ति निभाएर दोश्रो चरणको बिश्राम शुरुभो। यो मेरो नित्य बिश्राम दैनिकी हो

“तपाइलाई जागिर खानु छैन कि क्याहो”? अफिस ढिला आएको तर्फ संकेत गर्दै आजपनि हाकिम साप भुन्भुनाउदै थिए। म भने चोट पचाएको कुकुर जस्तै सुनेको नसुन्यै गरि हाजिर लाएर मेरो कोठामा पुगे। नियमित जस्तो किताब र कपि निकालेर कलेज र क्याम्पसको तयारी गर्न थालें। अपिसमा महिनाको अन्तिम तिनदिन रिपोर्टिंगमा साह्रै व्यस्त हुन्छु, अरुदीन स्टाफहरु घाम तापेर, बदाम-सुन्तला खाएर, टिभी हेरेर समय काट्छन्। म पढेर समयलाई आफ्नो पोल्टामा पार्छु। मैलेजस्तो सामान्य बिषय पढ्न नेपालमा स्कलरशिप पाइन्न। मेरो कार्यालय मेरो छात्रवृति जस्तै हो।

साँझ ४ नबज्दै कुइरोले बजार अन्धकार पारेको थियो। बाइकको डिमलाइट बालेर म भैरहवा सोझिए। बाटामा उखुको लागि लुछिचुडी गर्ने स्कुले केटाकेटी थुप्रै देखिन्थे। पिच बाटोमा गाडा तान्ने राँगाको गोबरले बाइक चिफ्लियो। धन्नै लडेको।

“ए नाथु जेनेरेटर स्टाट गर” झ्याल बाट निस्केको आवाज क्याम्पसको गेट सम्म सुनिन्थ्यो।

“जनेटर काम गरेन सर” तराइको सुगन्ध मिसिएको आवाज परसम्म सुनियो।

“ह्या सधैको यस्तो” एउटा साथी कड़किदै थिए।

“एत्रो फिस तिरेर पनि पढ्न पाइन्न” अर्की साथी कराइन्।

कोठाभित्र छिर्दा अन्धकार थियो। सबै साथीहरु हल्लाखल्ला मच्चाईरहेका थिए। फ्रेन्च कट दारी पालेका ती ठिटा सरले सम्झाउने प्रयास गर्दै थिए। सबैका आ-आफ्ना समाधानका उपायले कोठा गुञ्जिरहेको थियो । “क्याम्पस चिफलाई भेट्नुपर्छ। स्वबीयु संग सहकार्य गरि आन्दोलन गर्नुपर्छ। क्याम्पस बन्द गर्नुपर्छ। कोडिनेटरलाई निकाल्नु पर्छ “|

यत्रो हल्लाखल्लाको बिचमा म एक कुनामा थन्किए| हुरी ल्याउन तम्तयार परेको कालो बादललाई टाढाबाट हेरिरहेको रुखजस्तै म शान्त थिएँ। वरिपरि गर्ने अरु साथीहरु त्यहि रुखमा बास बस्ने चराजस्ता देखिन्थे। सबै एकैसाथ बोल्थे। एकैसाथ सुन्थे। कस्के के बोल्यो भन्ने भेद पाउन मुस्किल थियो।

सर लाइन जानुको कारण ब्याख्या गर्दै छन्। यत्तिकैमा जेनेरेटर चल्यो। कोठा उज्यालो भयो। सरले घडी हेरे। “आजको क्लास यत्ति है त” सर बाहिरिए।

दोश्रो क्लास शुरु भयो। एकजना अग्ली, काली बर्णकी पातली मेडम क्लासमा छिरिन्। उनले पढाउन लागेको पन्ध्र दिन भएपनि मेरो दोश्रो दिन थियो। हिजोको यो क्लास होहल्ला, तर्क-बितर्क-कुतर्क र भनाभन भएर सकिएको थियो। मेडम सरासर छिर्नासाथ धमाधम पढाउन थालिन। उनले के के भन्थिन सुन्न गाह्रो थियो। उनको शिक्षण भन्दा बाहिरको बार्ता भिषण थियो। यत्तिकैमा एउटा वाक्य सबैलाई छलेर मेरो कानको भित्तामा बज्रिन पुग्यो।

“नेपालका १०% मानिसलाई एच.आइ.भी लागेको छ”

म शान्तिपुर्वक मेरो बेन्च बाट उठेर भने ” मेडम यो डाटा गलत छ”।

सबै गलल्ल हासे। तिनीहरु पहिलोपटक एक टुरिस्ट साथीको आवाज सुनेर हासेका होलान वा मेडमलाई यसले पनि गिल्ल्यायो भनेर वा मेडमले गलत पढ़ाइन भनेर हासेका होलान। मलाई थाहा छैन। तर मेरो इच्छा उनलाई जिस्काउनु नभई गलतलाई सच्चाउनु मात्र थियो।

“तिमीले के भनेर गलत भन्यौ “? मेडम कड़किइन्।

“तपाइले गलत भनेर मैले पनि गलत नै भने” मेरो आवाज अलि मधुर भयो।

“मैले एस एल सीमा फस्ट डिभिजन ल्याकी छु, बेचलर र मास्टरमा नि मेरो फस्ट नै छ। म तिमीभन्दा कम छैन। म आउनु भन्दा अघि पढेर, तयारी गरि आउछु।” मेडमले धेरैकुरा एकैसासमा भनिन।

“मलाई थाहा छ, तपाई कम हुनुहुन्न। तर १०% अल्लि बढी नै भो कि “| मैले जिस्किदै भने।

केहि मिनेटसम्म कक्षाकोठा हाँसोले भरिदै रित्तिदै गर्यो मानौ चिम्नी बाट एकमुल्का कालो धुवा निस्किन्छ अनि बायुमा बिलय हुन्छ, अनि फेरि निस्किन्छ, अनि फेरी बिलाउछ। मेडम भुन्भुनाउदै क्लास बाट बाहिर निस्किन।

यो कुरा क्याम्पसका प्राय सबै शिक्षकसम्म पुग्यो। क्याम्पस चिफदेखी पियनसम्म यो कुरा बिहानीको खाजा बन्यो। केहि साथीहरुले मलाई टुरिस्टबाट एक दर्जा माथि राखे। त्यसको प्रमाणस्वरुप मलाई प्रथम बर्षको फिल्डवर्क ग्रुपमा सामेल गराए। केहि साथीहरुले यो अवसरलाई प्राक्टिकलमा अंक सुधार गर्ने मौकाको रुपमा शिक्षकसँग दलाली गर्ने रणनीति अपनाए।

फिल्डवर्क सकेपछि म एकैपटक परीक्षा दिन क्याम्पसमा पुगें। कपिलबस्तु, रुपन्देही र नवलपरासीका लगभग ५ ओटा क्याम्पसको सेन्टर मेरो क्याम्पसलाई चुनिएछ। साथीहरु नयाँ र पुराना देखिन्थे, ति मध्ये केहि मेरा साथी पनि थिए। उनीहरुसंग मेरा आँखा र मुख बोले। उनीहरुका आँखा बोले, मुख बोलेनन्। परीक्षा हल माछा बजार जस्तो देखिन्थ्यो। प्रश्नपत्र र उत्तरपुस्तिकाबाहेक गेसपेपर, नोट र किताब प्रयोगको अतिरिक्त सुबिधा पनि दिईएको थियो। गेसपेपरमा उत्तर नभेटेर कोहि टोलाएका देखिन्थे भने कोहि साथीलाई सहयोग माग्थे। त्यसलाई प्रजातन्त्रको भरपुर अभ्यास भन्थे। मलाई न कसैले सोधे, न बताए। म कागको बथानमा निरिह बकुल्लो देखिन्थे। यस्तो किसिमको जात्रा परीक्षा १ महिनामा सकाएर म झापा हान्निए। बिगत दश महिनामा मेरो जागिर अनि डेरा सरेको थियो।
……
धेरैपटक दमकको सुर्योदय र सुर्यास्त पछि एक विहान कलिलो सुर्यलाई नमन गर्न म भैरहवा पुगेँ। मेरो जिउ धुलो र पसिनामा मोलिएको थियो। ओठ फुटेर चिरा चिरा परेको थियो। ओठदेखी माथिसम्म जिब्रो निकालेर लपक्क चाटें। मेरो स्वाद अमिलो पो भएछ। काक्राको अचार जस्तो। आठ बजे क्याम्पसको प्रांगणमा पुगे। माड्सापहरु बरन्डाको कुर्चीमा गफिदै थिए। सबैलाई जदौ टक्र्याए।अलिकति फिर्ता आयो। १ घन्टामा प्रसाशन खुल्ने जानकारी पाए। बरालिदै घण्टा बियाँलें।

फस्ट इयरको रिजल्ट पब्लिस भएको १ हप्ता भैसकेको थियो।प्रसाशनमा लेजर हेर्नेको लर्को लाग्यो।

“को हो नेत्र भन्ने” ?

“धन्न केटाले क्याम्पसको नाक बचायो”।

छ है एउटा चिटिक्क स्त्री गरेको सर्ट-पेन्टमा कहिलेकसो आउने”।

त्यो फुच्चे -फुछे क्या, निलो बाईक चढ्ने”।

“पर्सेन्ट नि टन्नै ल्याछ रे है”।
“टियुको नोट पढे होला”।

प्रसाशन वरिपरि मेरो चर्चा चलेको थियो। मेरा साथीहरु आज चिनेजस्ता देखिन्थे। सबैले हात मिलाउदै बधाई दिन्थे| क्लासमा म मात्र पास भएँ भन्ने कुरा बल्ल थाहा पाए। दोश्रो पटक मेरो चर्चाले क्याम्पस भरियो।
…..

दोश्रो बर्ष पनि लगभग बिटसम्म पुगेको थियो। क्याम्पसका गतिविधिहरु नियमित रुपमा मैले साथीहरु बाट थाहा पाइरहेको थिए।मेरो नामको पछाडी लागेका सबै ट्यागहरु हटेर म बोक्रा झरेको नरिवल जस्तो चिल्लो देखिन्थे। न त म कसैको आँखामा बिझाऊँथे। न त मेरो सामिप्यमा बिग्रिएला कि? भन्ने कसैलाई भय नै थियो। मेरो निकटतामा पोषण मिल्छ भन्ने साथिहरुमा भ्रम गढेको थियो। अब ममा एक किसिमको आकर्षण थियो, जसले मेरा सुदुरहरुलाई नजिक ल्याइरहेको थियो।थेसिसको ओरिन्टेसन सेमिनारले फेरि अर्को पटक क्याम्पस जाने मौका जुर्यो।

“नमस्ते मेडम” गेटमै भेटिएकी राधा मेडमलाई मैले स्वास्ती टकारें।

मेडमले वास्तै नगरी सिधै डिपार्टमेन्टतिर लम्कीईन। उनीसंग दोश्रो बर्ष प्रारम्भ पछिका करिब एक दर्जन भेटघाटमा मेरा नमस्तेहरु घाटामा चलिरहेका थिए। मैले लगानी गर्थे, प्रतिफल पाउन्नथें। सबैसंग हार्दिक हुदाहुदै पनि पहिलो परिघटनाको थुप्रोले राधा मेडम र म बीच बनाएको पर्खाल दोश्रो परिघटनाले समेत तोड्न सकेको थिएन । त्यो दिन एच आइ भी को बिषयमा गरेको बिबादलाई मेडमले आफ्नो प्रतिष्ठासंग जोडेर हुर्काउदै गएकी थिइन्। साथीहरु संग भन्थिन रे ” पछि थाहा हुन्छ, हामी पनि हेरौला”।

सेन्ट्रल डिपार्टमेन्ट किर्तिपुरका डा. थापा, प्रोफेसर बिष्णु र डिपार्टमेन्ट हेड डि.आर को समुहले ३ दिने ओरिन्टेसन सेमिनार रोमान्चित ढंगबाट पाखा लगाए। तेश्रो दिनको अभ्यास प्रोपोजल चित्तबुझ्दो भएमा फाइनल गर्ने मौकालाई मैले हातबाट गुम्न दिईन।सामान्य हेरफेर गर्ने सर्तमा मेरो प्रोपोजल अनुमोदन गरियो। सुपरभाइजरको भूमिकामा डिपार्टमेन्ट हेड डि.आर आचार्यलाई पाएँ।

डि.आर सर भद्र मानिस थिए।अग्लो कद र निधार फराकिलो थियो वा उनको तालु खुइलिएको थियो। पढाउँदा मुसुमुसु हाँस्थे। धेरै बोल्दैनथे। शिक्षाशास्त्र संकायका लेक्चररका अपबाद स्वरुप कम्प्युटर, इन्टरनेट, एसपीएसएस र अन्य अनुसन्धानमा प्रयोग हुने सफ्टवेरको राम्रो ज्ञान थियो। उनलाई घमण्डी भन्नेको पनि लामै लर्को थियो। सहकर्मी साथीहरुलाई गन्दैनथे। लेक्चररहरु उनीसंग बोल्न सक्दैनथे। उनको पावर माथिसम्म छ रे।
….
बिहान ५ बजेको बुद्धचोक सुन्दर देखिन्थ्यो। बस्त्र विनाको बालक जस्तो। न सवारीले ओढेको न त धुवा र धुलोको कुइरीमण्डलले ढाकेको। मनमनै सोचे ” कुनै कुरा त नछोपेकै राम्रा”।

थेसिसको पहिलो ड्राफ्ट झोलामा बोकेर डी.आर सर आउने बाटो हेरेको पनि ठ्याक्कै आधा घण्टा बित्यो| पानीकलमा मन्जन गर्नेको हल्लाले फोहरमा खानेकुरा खोजिरहेको गाईले ठाडा कान बनाएर टाढासम्म हेर्यो। सडक बिस्तारै साँघुरो हुदैथियो। बितेका महिनाले केहि आर्जन र केहि बिसर्जन गराए। दोश्रो बर्षको नतिजाले मलाई उत्कृस्ट परीक्षार्थी बनायो। थेसिसका लागि आवस्यक सबै तयारी पुरा भए। म बेरोजगार बनें।
“बाबु यता बस्नु न “। टंकीछेउको मुढालाई देखाउदै चिया पसलकी आमाले मलाई इशारा गरिन।
“बिहानै देखि यताउता गर्नुभएको छ, परैबाट पल्नुभाको कि” ? मेरो छटपटी बुढीको आँखामा गढेको अनुमान लगाउन मलाई गाह्रो परेन।
टंकी छेउको चार घन्टे बसाइमा करिव ६ गिलास चिया सत्यनास पारें। दर्जनौ पटक गरेको मोबाइल कलको जवाफमा बल्ल एउटा मिसकल आयो। हतारमा कलब्याक गरें।

“हेलो सर नमस्कार”

“अँ भाई, म आज अल्लि व्यस्त छु भोलि आउ न है” ! सरको फोन काटियो। मेरो मुहारको रंग कालो भयो। आज नबोलाएको भए मेरो समय र पैसा जोगिन्थ्यो।
“बाबु तपाईंको पाँच रुपियाँ फिर्ता”। जुरुक्क उठेर हिड्दै गर्दा पसले आमाले इमान्दारी देखाईन्।त्यो साँझ भैरहवामै विताएर अर्को बिहान पुन बुद्धचोकलाई भेट्न पुगेँ। करिब तिन घन्टाको प्रतिक्षापछि सरलाई भेट्ने मौका पाएँ।
“यसको फन्ट साइज मिलेन, प्याराग्राफ जस्टिफाई गर, हेडिंग बोल्ड गर्ने। ल सच्चाएर ल्याऊ है त”। एक मिनेटमै सर बाटो लाग्ने सुर गर्नुभयो।
“यो त म मिलाउछु नै, भित्र हेर्नुस न “। मैले मुख्य बिषयबस्तुमा आँखा लाउन संकेत गरें।
“मिलाउँछु होइन मिलाएर आउने”। मेरो आग्रह काँसको फुलजस्तै हावामा छरियो। बाइक स्टार्ट गरेर सर सहरतिर हुइकिनुभयो।
भैरहवामा मेरो बसाई लम्बिने देखियो। हुन त पहिलो ड्राफ्ट तयार गर्नुपूर्व पनि सरलाई धेरैपटक इमेल पठाएकोले गर्दा प्राविधिक कुरामा मात्र ध्यान दिएकोहोला भन्ने अक्कल लगाएर एपिए फर्मेट अनुसार सबै रुजु गरें। अब प्राविधिक कुरामा खासै त्रुटी नहुनुपर्ने। थेसिस सरले भनेजस्तो तयार भयो।
एकहप्ताको अन्तरालमा भेटघाटको लागि अनुमति पाएँ।

“ल बाबु चिया पिउनुस”। चिया पसले आमाले आउनेबित्तिकै चियासत्कार गरिन्। यो चोकमा केहि नातागोता पनि बनिसकेका थिए। शुरुमा जस्तो समय कटाउन अब गाह्रो थिएन।सबैसंग गफ गर्दा गर्दै बिहानको ९ बजिसक्यो। भलाकुसारी गर्न पुस्तक पसले, ऊँखु पेल्ने भैया, नाई र पसलमा आउने ग्राहक कोहि बाँकी रहेनन्। गुरुजीको अवस्था जानकारी लिन एकपटक फोन गरें। उत्तर आयो “ल म आइसकें, १० मिनेट”|
धेरैओटा १० मिनेट घर्किसकें, सर आउने छाँट देखिएन। फेरि फोनमा घन्टी बजाएँ। सरबाट क्याम्पसमै आउन आज्ञा बक्स भयो। दिउसोको १२ बजिसकेको थियो। टन्टलापुर घामले जिउ उम्लिरहेको थियो। घाँटीले पानी र पेटले अन्न मागिरहेको थियो। बसेको ठाउँबाट मुस्किलले उठे। ब्याट्री निभेको जिपलाई पारीपट्टी केटाहरु ठेल्दै देखिन्थे। मैले आफ्नै शरीर ठेल्दै क्याम्पससम्म पुर्याए।
डिपार्टमेन्ट छिर्ने च्यानलगेट बन्द गरिएको थियो। मेरा खुट्टाले मलाई भारी माने। गेटको पेटीमै थ्याच्च बसें। केहीबेरमा नाथु आइपुग्यो। निभेको स्वरमा मैले सोधें ” सर हुनुहुन्न?”
“सर त बिहानै जानुभयो”। उ लाइब्रेरीतिर उक्लियो।म लथ्रक-लथ्रक क्यान्टिनतिर लागें। पेटमा दुइ प्लेट राँगाको म:म र एक जग पानी खन्याएपछि मेरो शरीरमा आत्मा भरियो।साँझसम्म सरको बाटो हेरेर मेरा आँखा थकित देखिन्थे| कलेठी परेको सर्टबाट पसिनाको गन्ध आउंथ्यो। झोलाको तुनाले एकपाखो गर्दन दुखिरहेको थियो। फोनबाट भोलिबिहानैको तारेक सारेर परासीतिर लम्किएँ।
पुरानो आश्रममा पुग्दा झमक्क साँझ परिसकेको थियो पुराना घरबेटी जोडीसँग भलाकुसारी गर्दा मन प्रशन्न भयो। रात्रीकालिन भोजन गरेर रात त्यहि बिताएँ।
“अल्लाह ओ अकबर…..”। “हरे राआआम हरे राआआम…..। ” भगवानको पुकारले म ब्युझिएँ। हरेक बिहान चार बजेतिर लगभग पाँचसय मिटरको दुरीमा रहेका मन्दिर र मस्जितबाट संगसंगैजसो निस्किने भगवानको पुकारले परासी बजारमा शान्ति छाउँछ। घरबाट निस्केर टाढासम्म पुगिसक्दा पनि यो आवाज कानमा बसिरह्यो।
आजपनि बुद्धचोक पुगेर अघिल्ला केहि दिनयताका बिहानी पुनरावृति गर्नुबाहेक कुनै उपाय भएन। केहि गिलास चिया ब्यापारमा सहयोग गरेपछि एकपटक सरको फोन रिसिभ भयो। सर त पन्ध्र दिनका लागि पाल्पा पुग्नुभएछ।मन अमिलो पारेर घर फर्के।

….
१५ दिने अवधिमा थेसिसले झनै राम्रो आकार पायो। जति राम्रो रुप भएपनि बेहुली बन्न त सिंगारपटार गर्नैपर्थ्यो। जसका लागि ब्युटिसियन सुपरभाइजरको क्याम्पस पार्लर नगई हुन्थेन। त्यसपछिका केहि पन्ध्रदिनहरु निराशामा नै बिते। पैसाको नदीमाथि समयको फेरि खियाइ धेरै पल्ट ओहोर दोहोर गरें, तर किनारा भेट्टाउन सकिन। म रित्तिदै गएको थिए। एकदिनको एकबिहानै सोधखोज गर्दै सरको दैलो सम्म पुगें।
“कता हो” ? म अचम्म परें। डी.आर सरलाई भेट्न आएको, गेटैनेर राधा मेडम पो भेटिइन्।
“नमस्ते मेडम, म डीआर सरलाई भेट्न आको। यै घर होइन र” ?
“हो”। एउटा पाँच बर्ष जतिको बालक मम्मी भन्दै बाहिर आयो, मेडम सरासर भित्र छिरिन्।
एकछिन बाहिर नै बसेपछि खेलिरहेको बालकलाई सोधें ” बाबु तिम्रो बाबाको नाम के हो”?
“दि.आल “। काउले पारामा बच्चाले जवाफ फर्कायो। “भित्र छमाताल हेल्दै हुनुन्च”। थप प्रस्ट पार्यो।
“जाउ त बाहिर बोलाऊ”। बालक भित्र दौडियो।
एकछिनमा मेडम सारीको आँचल कम्मरमा बेर्दै आइन् ” सर सुत्नुभाछ, के काम हो क्याम्पसमै भेट्नु। मैले सबै व्यहोरा सबिस्तार लगाएँ। अनि दुबैजना पतिपत्नी भएको अनभिज्ञता समेत दर्शाएँ। मैले जति बिन्ति गरेपनि मेडम गल्नेवाला थिइनन्। भित्रबाट “कार्टुन हेरम न् बाबा” भन्ने आवाज प्रस्ट सुनियो। फर्किनुशिवाय कुनै उपाय रहेन।
मनको मियोंमा छरिएका अनेकथरी कुराको दाईं लगाउंदै क्याम्पस पुगें। समस्या थेसिसमा नभई मेडमको इगोमा रहेको बुझ्न मलाई गाह्रो परेन। डिल कुल्ची हिड्दा झुक्किएर खसेको ढुंगाको छालले महिनौ पछि किनारामा बनेको मेरो सिर्जनालाई भत्काउला भन्ने मैले कल्पना पनि गरेको थिइन। थाहा भएको भए त्यो दिन क्लासमा मेडमसंग रमाइलो पारामा सम्बाद गर्ने पनि थिएन।
क्याम्पसमा घन्टौ कुरेपछि सरलाई भेट्ने मौका पाएँ। अखवारले उहाको मुख पुरै छोपेको थियो। म अघिल्तिरको मेचमा बसें।
“सर मेरो थेसिस के भयो”?
“हेर्दैछु, करेक्सन गरेर नाथुलाई दिन्छु। उसंग लिनु”।
“कहिले” ?
“समय लाग्छ”।
यसपछि केहि जोडा प्रश्न तेर्स्याएँ। उत्तर आएनन्। म बाटो लागें।

धेरैदिनसम्म सच्चिएको थेसिस हात परे नपरेको जानकारी लिन नाथुलाई फोन गरिरहें। “छैन”। एकैकिसिमको उत्तरले हैरान बनायो।
एकदिन नाथुलाई साह्रै दया जागेर आएछ, उपाय सुझायो। “तपाईं संग सर रिसाई लिनुभएछ। सरहरू कुरा गर्नुभेथियो, तपाई सरहरुलाई क्लासमा हप्काई लिनुहुन्छ रे। अनुशासन छैन भन्दै हुनुहुन्थ्यो। याँहा पढेर मात्र हुन्न, सरहरुसंग राम्रो लिङ्क बनाईराख्नुस। मैले कत्ति क्याम्पस पास गरेपनि थेसिस पास नभएको केटाकेटी देखेको छु। एकपटक माफ मगीलिनुस, सबै कुरा मिल्छ”।

म दुबिधामा परें। मेरो अगाडी स्वाभिमान तेर्सिएको थियो जसलाई आत्मसमर्पण कदापी स्वीकार्य थिएन। पछाडी मेरो मार्कसिट रोदनको पुकार बजिरहेको थियो, जुन थेसिसबिना बिकलाङ्ग हुदैथियो। बर्सौदेखिको मेरो पसिना उर्बर मल नभई बन्जर लवण बन्दै थियो। जे जे कुरा गरेपनि अन्त्यमा मैले मेरो मुख र पेट संग सम्झौता गर्न सकिन। बाच्नका लागि सर्टिफिकेट बाध्यकारी भएकोथियो।

गोजीबाट मोबाइल झिकेर सरलाई फोन गरें। तेश्रो पटकमा फोन उठ्यो। गल्ति नगरी गल्तीका लागि माफ माग्दा मन खिन्न भयो। घरमा गएर मेडमसंग सुझाबसहितको थेसिसको प्रति लिएर आवस्यक भए सुधार गरि भोलि दस बजे क्याम्पस भेट्न आउने उर्दी जारी भयो। सरको घरमा पुगें। मेडमसंग ऐजन कुरा भए। मैले पछिल्लो पटक इमेल गरेको थेसिस फिर्ता गरिन। साथमा एकभारी निशुल्क सुझाब र जीवनमा ठुलो मान्छे हुनलाई को को लाई मानसम्मान गर्नुपर्छ भन्ने फेरिहस्त सुनाइन्।म शान्तिपूर्वक सुनेर फर्किएँ।

….
थेसिसमा खासै परिमार्जन गर्नुपर्ने केहि थिएन। मात्र पाँच प्रति बाइन्डीङ्ग गरेर उपस्थित हुनुपर्नेथियो। म समय मै उपस्थित भएँ। डिपार्टमेन्टमा दुइ तीनजना अरु सरहरू पनि थिए। म जानेबित्तिकै प्रसंग बदलियो।
“तयार भयो”? सर आज प्रशन्न देखिन्थे।
“हजुर सर”। मैले थेसिस बुझाएँ।
“आजभोलि थेसिस पास गर्न नि सारै गारो हुने, नया टपिक नै ल्याउन्नन केटाहरु”। एकजना बोल्दै थिए।
“व्यवस्थापनको एउटा केटोले त पचास हजारको पार्टी दिएछ नि डिफेन्सको दिन”। अर्काले बिचैमा कुरा काटे।

“केटाहरुले बानी बिगेरेर आजभोलि एक्सटर्नल आउने मान्दैनन” डि.आर सरले थपे।
म कोठाको एउटा कुनामा बसेर सबै कुरा सुनिरहेको थिएँ।धेरैबेर पछि मैले मुख खोलें ” सर मेरो डिफेन्स कहिले होला”? दोश्रो बर्ष पास गरेको पनि एक बर्ष हुन आट्यो। एकछिन कोठामा मौनता छायो।
“कुरा सुनिहल्यौ नि।अलि अलि खर्च आउछ, छिट्टै व्यवस्था मिलाउला। तर कर छैन, आफ्नो इच्छाको कुरा हो”। सरको कुराले म झस्किएँ। मेरो मुहार अंध्यारो भयो।
चित्त गाँठो पारेर सोधें ” कति लाग्ला सर” ?
“म, पढाउने सरहरू पाँच जना, चिफ, एक्सटर्नल अनि एक्स्ट्रा दुइ राखौ न। लगभग दस जना। त्यहि हो बिस हजार भए पुग्ला”| होइन सर? अरुले सहि थापें।
मेरो मन ढुक्क गर्यो। यत्रो दुख गरेर एक बर्ष सम्म तयारी गरेको थेसिस अनुमोदन गराउन बिस हजार घुस तिर्नुपर्ने? मलाई मन्जुर भएन। मैले भनें ” म संग त्यत्रो पैसा तिर्ने हैसियत छैन सर”।

” गलत नबुझ्नु है भाई| हामीले तिर त भनेकै छैनौं। आफ्नो इच्छाको कुरा हो। सबै त्यसै गर्छन र पो? अलि कति ढिला होला कि भन्ने मात्र हो”।
“त्यसो भए कहिले होला त” ? प्रश्न राखें।
एकछिन चुप्प लागेर सरले फोनमा कुरा गरि सकेर भने ” अँ फागुनमा सर बुटवल आउने काम छ रे। त्यहि बेला म रिक्वेस्ट गरेर मिलाउँला”। मैले बयरको आवरणजस्तो चिल्लो डि.आर लाई देखेको थिएँ, थेसिस यात्राले भित्रि कठोर बक्र मुहार देख्न अवसर जुटाईदियो। मान्छे चिन्न बर्षौ लाग्ने।
“फागुन आउन त छ महिना छ नि सर”। म अवाक् भएँ।
“छिटो चाहिनेले अलिकति खर्च गर्न डराउन भएन”। अर्का सर च्याठिए। “अझ अस्ति सिद्दार्थ बैंकको हाकिमले डिफेन्स गर्दा त एक्सटर्नललाई प्लेन भाडा नि बुझाको रे”। उनि थप्दै थिए।

एकछिन बाहिर गएर एक्लै घोरिएँ। एस.एल सी पछि दुबई-कतार गएका साथीहरुले गाउमा घर- घडेरी जोडेर घरजम समेत गरेको सम्झिएँ। मैले ऐलेसम्म जागिर गर्दै पढेर एउटा ल्यापटप र सस्तो बाईकबाहेक केहि जोड्न सकेको छैन। तनावमुक्त जिन्दगि त जिउनै बिर्सेजस्तो लाग्छ।एकछिनका लागि पढेलेखेर सुबिधासम्पन्न जीवन जिउनु त सपना जस्तै लाग्यो। यदि सबै पुग्थ्यो भने यी बौद्दिक दरिद्रहरु किन एकछाक खानको लागि यति मरिहत्ते गर्थे। मेरा मनमा धेरै कुरा खेलें। फेरि अर्को मनले म भित्रको उर्जालाई जगाइदियो। सबैलाई एउतै तराजुमा कसी लगाउन मन लागेन। धेरै त्यस्ता मान्छे लाई सम्झें, जसको ज्ञान उनीहरुलाई कम र गजतलाई बढी काम लागेको छ। बिस हजार त जागिर थालेको एक महिनामा कमाउन सक्छु, तर छ महिना समय फर्काउन सक्दिन भन्ने लाग्यो। भित्र पसें अनि खर्च गर्न मन्जुरी दिएँ। मेरो डिफेन्स भोलि हुने भयो।

…
डिफेन्सको लागि राम्रो तयारी गरेर गएको थिएँ। सामान्य परिचय गरेर मलाई बाहिर पठाइयो। बिषयबस्तुमा केहि प्रश्न गरिएन। म भित्र धेरै त्यस्ता जवाफ थिए, जसले सवालको प्रतिक्षा गरिरहेका थिए| ति सवाल र जवाफ म भित्र जन्मिए अनि हराए। नाथु बाहिर आएर देवकोटा चोकमा कुरीबस्न आदेश आएको जानकारी दिए।
म देबकोटा चोकमा कुरीबसें। एकछिनमा बाह्रजनाको टोलि आयो। नजिकैको एक रेस्टुरेन्टमा पस्यौ। त्यहाको दृश्य हेर्नलायक थियो। कसैले म:म, कसैले छोयला, कसैले जिब्रो, कसैले घिन्टी, कसैले सेकुवा मगाउथे। उनीहरु गुरु कम भान्से ज्यादा देखिन्थे। सबै परिकारका नाम कण्ठस्थ थियो।रक्सीले मातेर बेलाबेलामा छाडा नाच नाच्न र गाउन समेत बाँकि राख्दैनथे। मैले उनीहरुलाई बासी खानेकुरामा लागेका झिंगा जस्तै देखें। गुरु एक रुप अनेक भन्ने श्लोक पनि मनमा फुर्यो। सिनोमा लडिरहेका कुकुर झैँ मान्छेहरुका बिचमा शान्त र साकाहारी क्याम्पस चिफलाई मनमनै नमन गरें।नशाले लठ्ठीएका आँखा, लर्वराएको जिब्रो र कापेका हातको समन्वयमा पालैपालो तीनजना सरहरुले मास्टर्स थेसिसमा हस्ताक्षर गरें। मेरो मास्टर्स थेसिस अनुमोदन भयो।
बधाई दिएर सरहरू बाहिरिए। काउन्टरमा बिल तिरें। झोला चेक गर्दा एउटा थेसिस टेबल मै छुटेछ। भित्र लिन पस्दैगर्दा काम गर्ने कान्छाले थेसिसलाई ट्रे बनाएर पाँच ओटा रक्सीका गिलास बाहिर ल्याउदैथियो।

6 thoughts on “कथा : मास्टर्स थेसिस”

  1. arjun says:
    April 21, 2015 at 12:58 pm

    गुरु एक रुप अनेक भन्ने श्लोक पनि मनमा फुर्यो। सिनोमा लडिरहेका कुकुर झैँ मान्छेहरुका बिचमा शान्त र साकाहारी क्याम्पस चिफलाई मनमनै नमन गरें।नशाले लठ्ठीएका आँखा, लर्वराएको जिब्रो र कापेका हातको समन्वयमा पालैपालो तीनजना सरहरुले मास्टर्स थेसिसमा हस्ताक्षर गरें। मेरो मास्टर्स थेसिस अनुमोदन भयो।
    बधाई दिएर सरहरू बाहिरिए। काउन्टरमा बिल तिरें। झोला चेक गर्दा एउटा थेसिस टेबल मै छुटेछ। भित्र लिन पस्दैगर्दा काम गर्ने कान्छाले थेसिसलाई ट्रे बनाएर पाँच ओटा रक्सीका गिलास बाहिर ल्याउदैथियो।

    Reply
  2. chinta mani says:
    April 20, 2015 at 4:07 pm

    मार्मिक बिषयबस्तुलाई कथामा ढालिएको छ ! लेखन अझै शसक्त होस्! शुभकामना !!

    Reply
  3. Esorr says:
    April 20, 2015 at 2:41 pm

    एकदम राम्रो लाग्यो है. सुभकामना छ.

    Reply
  4. अभागी कान्छा गाउँले says:
    April 19, 2015 at 1:49 pm

    अत्ति नै मन पर्यो ! बास्तबमा सही कुराको पहिचानको गरी उठान भएको ! लेखकलाई हार्दीक बधाई / कलमले निरन्तरता पाईरहोस !

    Reply
  5. Kiran says:
    April 19, 2015 at 7:27 am

    राम्रो अति नै राम्रो लाग्यो।

    Reply
  6. abhi says:
    April 19, 2015 at 7:20 am

    कुरा त सोर्है आना सहि हो
    तर गाठी कुरो चाही: प्रोफेसर भएपछी हजुरका विद्यार्थीहरुले पनि यस्तै सत्कार पाउने हुन् कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme