Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पिण्डदान गर्न गया जाँदै हुनुहुन्छ? विचार पुर्‍याउनु होला

Posted on March 30, 2015March 30, 2015 by mysansar

– कृष्ण थापा/काठमाडौँ –

IMAG0101 हिन्दूहरुको पवित्र पितृ श्राद्ध स्थल भारतको बिहार प्रान्तमा अवस्थित गया विश्वविख्यात छ। वर्षेनी लाखौँ मानिसहरु पितृपक्षमा वा अन्य कुनै पुण्य अवसरमा गयाजीमा पिण्डदान वा श्राद्ध तर्पण आदिका लागि जाने गर्दछन्। गयाबारे जति पनि जानकारीहरु इन्टरनेटमा वा पुस्तकहरुमा पाइन्छन्। सयौं नेपालीहरु पनि वर्षेनी गयाजीमा पिण्डदानका लागि जाने गर्दछन्।

यसै क्रममा म पनि हालै गयाजीमा गएर स्वर्गीय बा आमाको श्राद्ध र पिण्डदान गरेँ। पहिलोपल्ट पटना हुदै गया पुगेँ, त्यसपछि गया जन्क्शन नजिक यौटा होटेलमा बास बसेर भोलिपल्ट सबेरै फागु नदी तटमा अवस्थित श्री विष्णुपद् मन्दिर नजिकै खोलामा अनुष्ठान सम्पन्न गरेँ। यसै क्रममा मैले देखेको र अनुभव गरेका केही कुराहरु माइसंसारका पाठकवर्गसित साट्न चाहन्छु।

IMAG0101
डकैतहरुको गढ
हुन त गयाजी धार्मिक कार्यकालागि विख्यात छ तर साथै यो शहर खूँखार डकैतहरुको गढ पनि मानिँदो रहेछ। रेलगाडीमा हुने धेरै जस्तो डकैतीहरु यहींबाट छुट्ने ट्रेनबाट हुँदो रहेछ भन्ने पनि सुनियो। अर्थात् गया जन्क्शनबाटै डकैतहरु रेलमा चढ्ने गर्छन रे। तर पनि लाखौँ मानिसहरुको आवत जावत भै रहेकै छ; लुटिने लुटिँदै छन्, नलुटिनेहरु पनि कुनै न कुनै सभ्य तरिकाले लुटिएकै रहेछन। जे होस्, रेलमा यात्रा गर्दै हुनुहुन्छ भने होशियार बस्नु होला। ट्रेन डकैतीको शिकार नबन्नु होला।

कुनै पनि नेपालीलाई गयामा अर्को नेपाली वा नेपाली बुझ्ने, बोल्ने पण्डित भेटिए बडो आश हुँदो रहेछ। सकेसम्म नेपाली पण्डा नै रोज्नेहरु धेरै रहेछन्। यस्तै क्रममा मैले पनि होटेलको म्यानेजरलाइ नेपाली पण्डाबारे जानकारी मागें, उसले एकजना मोहरिया सन्तोषीको नाम र ठेगाना दियो, जो विष्णुपद मन्दिरको प्रवेशद्वार नजिकै धर्मशाला खोलेर बसेको रहेछ। तत्काल धर्मशालातिर हानिएँ।

नभन्दै विष्णुपद मन्दिर गेट नपुग्दै दाहिने तर्फ बाटैमा मोहरियाको धर्मशाला भेटियो। साइनबोर्ड लगाएको रहेछ, देवनागरीमा लेखिएको। दुइ खुकुरी (तर उल्टो फर्काएको) लोगो भएको साइनबोर्डले सबैथोक भनिरहेको थियो।

Signpost

एकजना बिहारी बाहुनले माथि बरन्डाबाट मलाई देख्यो र भित्र डाक्यो। सानो तर फराकिलो सिढीहरु चढेर बैठक कोठामा पुगियो। लामो तर अँधेरो कोठा, दुइ साइडमा भुइँमा दरी ओछ्याएको, पर भित्तामा भने जवान धोतिगांठे नाइके गद्दीमा पल्टेर बसेको रहेछ कुनै कोठीमा मुजरा हेर्न बसे जस्तो; हेर्दै डकैतजस्तो देखिने तर मीठो बोल्ने। टुटेफुटेको नेपाली बोल्दो रहेछ; भित्ताभरि नेपालका भूतपूर्व राजाहरु त्रिभुवनदेखि महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र र उनका परिवारका फोटोहरु झुन्डिएका। अहो, नेपाल पुगे जस्तो भो एकछिन त।

उसले स्वागत गर्दै फरर भन्यो, यो नेपालीहरुको आफ्नै धर्मशाला हो, मेरो पिता बाजेको पालादेखि चली आएको; नेपाल सर्खारले नै गयाजीमा पिण्डदान वा अनुष्ठान गर्न आउने कुनैपनि नेपालीहरुलाई दुख, कष्ट, संकट नहोस र नेपाली ब्राह्मण उपलव्ध होस् भनेर उसलाई नियुक्त गरेको रे।

साइनबोर्ड हेर्दै ठग जस्तो
साइनबोर्ड हेर्दै ठग जस्तो त लागेको थियो ; तर हुनु त उसले सहयोग गर्दो रहेछ तर पनि अलिक होशियार हुनु पर्ने रहेछ। पिण्डदानको सम्पूर्ण व्यवस्था हामी मिलाई दिन्छौं; नेपाली बोल्ने बाहुन नै आउने छ, सरसामान सबै यहीं छ, अन्तको पण्डालाइ विश्वास नगर्नुस, ठगेर बेपत्ता हुन्छ, आदि आदि भाषण सुनायो।

पैतालादेखि शिरसम्म, जुत्तादेखि लत्ता कपडा सबै गिद्धे नज़रले मलाई नियालेपछि उसले भन्यो भा.रु. ८ हजार लाग्छ, त्यसमा बाहुनको, पिण्डको र पूजाको सामानको, दक्षिणा, फूलपाती, आदि आदि सबै मिलाएर अरे।

बाफ रे बाफ, म भने गोजीमा जम्मा ४ हजार भा.रु. लिएर गएको मान्छे, खुपै भन्ला १ हजार भनेको त ८ गुणा बढीको इस्टिमेट पो दियो बा। तत्काल भिनाजुको अर्ती सम्झें, अलिक खाइलाग्दो देखिनु हुँदैन, टाढाबाट आएको, गाउँको किसान मान्छे, गरीब छु भन्नु; आयस्ता छैन राम्रो, मसित बाटो खर्च बाहेक १ हजार भन्दा मरिकाटे छैन भन्नु, आदि।

मैले पनि अलि अलि त्यस्तै मिलाएर भने, मोलमोलाई चल्यो राम्रैसित र अन्तमा ३ हजारमा कुरा मिल्यो, त्योभन्दा मुनि ऊ झर्ला जस्तो लागेन; बरु उल्टै रिसाउला र मेरो काम नबन्ला भन्ने डर भो। के गर्ने, काठमाडौँबाट त्यत्रो टाढा गएको, दिन्छु भनें। ल, भोलि बिहान ६ बजे आउनु र यो बाहुन (एकजना प्रति ईशारा गर्दै) ले तपाइंको काम गरिदिन्छ। रिस पनि उठ्यो, अघिसम्म म नै पण्डित हूँ, मैले नै पिण्डदान गराइदिन्छु भन्दै थियो, अहिले त अर्को पण्डा पो भिडाई दियो बा।

जे होस्, हार्ने त म नै हो, ल हुन्छ भनेर जान खोजेको, १५ सय दिएर जानु पर्छ भन्यो फेरी, नत्र बुकिंग हुन्न रे, क्यान्सल रे ….अब के गर्ने? खुरु खुरु सय सयका १५ वोटा महात्मागान्धी छाप नोट उसलाई बुझाएँ, खुशी भो। बाँकी भोलि बिहान खोला जानु भन्दा अगाडि दिनु रे। मन मनमा त्यसलाई भक्कुचुर गाली गर्दै लागें होटलतिर, साँझ झमक्क परिसकेको थियो।

कपाल खौरन भारु २००
भोलिपल्ट ६ बजे मोहरीयाको धर्मशालामा पुगें अटोरिक्शा लिएर। मेरो लागि खटाएको बिहारी पण्डा हाजिर थियो, टुटेफुटेको नेपाली बोल्दो रहेछ, राम्रो लाग्यो। त्यहीं कपाल खौरिनु लायो, तर खौरिनेलाइ मैले नै भा.रू २०० तिर्नु पर्यो।

त्यसपछि हिँडेर विष्णुपद मन्दिर परिसरभित्र पुग्यौं, मसित मेरो भानिज पनि साथी लगेको थिएँ। फलफूल, प्रसाद, कलश, कपडा, जे जति सामग्री पिण्डदानको लागि चाहिने हो, सबै रेडिमेड त्यहि पाइँदो रहेछ मन्दिरको प्राङ्गणमा। उसले बिहारीमा पसलेलाई केही भन्यो, र एक थान सामान, झर्केथाल, बटुका, गाग्रो, पिण्ड बनाउने सातु (जौ को पीठो) आदि कुराहरु दियो, त्यसको २५० रुपिया मात्र लियो पसलेले।

अनि हामी लाग्यौं खोलातिर। फागु नदी के नदी भन्नु, फोहोरको डङ्गुर रहेछ बरु काठमाडौँको विष्णुमति खोला सफा होला। बालुवा नै बालुवाले पुरिएको सुक्खो नदीको ठाउँ ठाउँमा बोरिंग गरेर सानो सानो खोपिलटा पारेर कालो अति दूषित पानी राखिएको रहेछ।

हाम्रा प्रिय पितृलाइ त्यही पानी चढाउनु पर्दो रहेछ, आफ्नो जिउमा छर्किनु पर्दो रहेछ चोखो हुनुलाई। बरु ढलको पानी सफा होला ….त्यो त…बाबा…। फेरि लुते कुकुरहरु हाम्रो आसन वरीपरि घुमेको घुमेकै, धपाउने कोही छैनन् …। हामीलाई देखेर एक हूल कुचिकारनी (सफाई कर्मचारी महिलाहरु) आए र हामी बसेर पूजा गर्ने ठाउँ बढारेर सफा गरिदिए। ती त सरकारी कर्मचारी रहेछन, निःशुल्क सेवा प्रदान गर्ने, तर नाम मात्रको। ५० रुपिया झारेर छाडे मोरीहरुले।

जे होस्, एक घण्टा जतिमा काम भयो, पिण्डदान कार्यक्रम मैले सोचे जस्तै विधिपूर्वक भयो। पण्डित सिपालु रहेछ, सबै आदेशहरु नेपालीमै भन्यो। नेपालका बाजेले भन्दा बरु उसले राम्रोसित नहतारिकन मेरो अनुष्ठान सकाईदियो। त्यसपछि हामी गयौं विष्णुपद दर्शनको लागि।

भाडामा पिन्डदान पूजाका सामान
अनि शुरु भयो अर्को ड्रामा। मन्दिर बाहिर आइपुगे पछी उसले दक्षिणा माग्यो, मैले भने त्यत्रो ३ हजार दिंदा तिम्रो मालिकले त्यसैमा दक्षिणा पनि छ, बाजेलाई एक पैसा दिनु पर्दैन भनेको थियो, तर यो पण्डाले त वाक्कै लायो पैसा मागेर मागेर। अन्तमा ४ सय दिनै पर्यो, ५ सय माग्दै थियो। फेरि पैसा पाएपछि त पिण्डदान पूजाका सबै सामान लगेर अघिको पसलेलाई पो फिर्ता दियो बा।

मैले सोधें, त्यो त बाजे, तपाइले पो लाने हो त, किन उसलाई दिएको ? उसले भन्यो, होइन, त्यो मेरो होइन, हामीले त भाडामा पो लगेको त, फर्काउनु परेन त ? ये….त्यसो पो हो कुरा, बल्ल बुझें; मोहोरियाले मलाइ तीन चित पारेछ। २५० रुपियाको लागतमा ३ हजार झ्वाम्म पारेछ। यस्तो रिस उठ्यो कि, खाजा पनि नमिठो लाग्यो।

त्यसपछि फर्कने बेलामा धर्मशालामा गएर रजिस्टरमा नाम ठेगाना लेख्न लायो। किन भनेको त पछि मेरो मृत्यु भएपछि मेरो छोरा पिण्डदान गर्नु गया आएमा मेरो पुरानो रेकर्ड हेरेर उसलाई डिस्काउन्ट दिने रे। सक्दो सहयोग दिने रे। थुक्क बजिया सन्तोषी मोहोरिया भनेर मनमनै सराप्दै लागें होटेलतिर।

जाने बेलामा उसले हातमा थमाई दिएको ह्यान्डबिलको फोटो तल दिएको छु। उसको आफ्नो विज्ञापन रहेछ।

unnamed

मेरो सुझाव
अब खास कुरामा आउँ। भन्न खोजेको के हो भने प्रायः नेपालीहरु जीवनमा एकपल्ट मात्रै पिण्डदान गर्न गया जान्छन होला; पहिलो र अन्तिम पटक नै भन्नु वेश होला कि ? सोझा नेपालीलाई ठग्नमा माहिर रहेछ त्यो पण्डाको सर्दार। नेपाली पण्डाको खोजीमा हामीले धेरै पैसा लुटाउँदा रहेछौं अज्ञानतावश। सोझै मन्दिर परिसरमा गएर आफैले सेटको समान भाडामा लिएर टुक्रे पण्डाहरु खोजेर पिण्डदान गरे त हजार, ५ सय मै काम बन्दो रहेछ।

मेरो के सल्लाह छ भने भोलिपल्ट पिण्डदान कार्यक्रम छ भने त्यसको अघिल्लो दिन बेलुकीतिर वा दिउँसोतिर विष्णुपद मन्दिर जाने, मन्दिर परिसरभित्र पस्ने, पसलेसित सोधखोज गर्ने, पण्डा त्यहाँ जति पनि पाइँदो रहेछ। नेपालीनै बोल्ने चाहिने भन्ने के छ र, हिन्दी बोल्ने पनि ब्राह्मण नै हो क्यारे। हिन्दी बुझ्न सक्नेलाई सजिलो पनि हुने।

मोहोरीयाकै बाहुन लानु पर्छ भन्ने केहि छैन रहेछ तर मोहोरियाले भने उसको बाहेक अरु पण्डाहरु ठग हुन् भन्दो रहेछ। मैले के निष्कर्ष निकालें भने मोहोरिया नै महाठग हो तर काम पक्का गर्ने ठग। धोखा चाहि दिदैन रहेछ। नाम चलेकै मान्छे रहेछ, निशुल्क भनेर धर्मशालाको कोठा पनि दिदो रहेछ सुत्नलाइ, तर ढाड सोझिने गरी पैसा धुत्दो रहेछ। त्यो ठगलाई गतिलो रुपले ठग्नु निक्कै आइडिया लिएर जानुहोला। सूटबूट कसेर जानु भो भने खल्ती खलास होला। नेपाल सरकारले उसलाई त्यहाँ हाम्रो सेवाको लागि राखेको भन्ने जानकारी नेपालमा चाहीँ पाइनँ है मैले त।

13 thoughts on “पिण्डदान गर्न गया जाँदै हुनुहुन्छ? विचार पुर्‍याउनु होला”

  1. Bishwaraj says:
    April 5, 2015 at 5:25 pm

    यी काट्टो खाने जातले भेटेको के छाड्थे त … !

    Reply
  2. करन करन says:
    April 1, 2015 at 12:14 am

    बाहुनले नठगेको कँहा छ र हजुर? हाम्रो देशको अव्यवस्थित स्थितिलाई हेर्नुस| ब्युरोक्रेसी होस् वा रानीति वा सरकारमा, नेतृत्व कसको रहदै आएको छ? अहिले सम्म देशको स्थिति राम्रो भएको भए बाजे हरुलाई पुजेरै राखिन्थ्यो केरे, तर त्यस्तो छैन| त्यही गम खान्छ|
    शमसेर

    Reply
  3. Jamal says:
    March 31, 2015 at 7:36 pm

    भन्दा खेरि चै जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने अनि बिदेशमा तीर्थ गर्न जाने कस्तो छाल हो यो| नजिकको तीर्थ हेला भनेको यही हो|
    भन्दा खेरि चै धोती धोती अरुलाई कराउने र आफ्नै काम किरियामा धोती नबाँधी नहुने क्या हो?

    Reply
  4. Durga Adhikari says:
    March 31, 2015 at 9:03 am

    मैले कहिँ पनि नजाने निर्णय गरे/ लेखको लागि धन्यवाद/ नेपालकै कुनै तिर्थमा पिण्ड दान र अरु कर्महरु गर्छु/ अझ त्यो पनि नगरेर मेरा पितृहरुको तिथिमा म दिन दुखिहरुलायी दान दिन्छु/ पितृको नाममा चोर फटाहाहरुलाई खुवौदिन/

    Reply
  5. samrat~ says:
    March 31, 2015 at 7:47 am

    मुर्ख हरु..लोल !! किन जाने पिण्ड दान दिन ? ..धोत्ति हरु ले हगेको ढल को पानि मरेको पितृ लाइ चढाएर के हुन्छ ..कसै संग उत्तर छ? एस्तो अन्ध बिस्वास छोडेर त्यो पैसा बरु देश बिकास मा लगाउ या आफ्नै देश को एउटा गरिब परिवार लाइ देउ. येदि साचै नै आत्मा भन्ने चिज छ भने त्यो आत्मा खुसि हुने छ ठग धोत्ति लाइ दिनु भन्दा. लोल. नेपालि हरु पनि थरि थरि का !

    Reply
    1. Shankar says:
      March 31, 2015 at 12:05 pm

      के गर्ने , गया को महिमा नेपाल मा धेरै प्रचलित छ | तुम गया कि नही गया , मे गया | हुदा हुदै ” गया ” भएजस्तो छ | ठग पाण्डाको को कथा बाउबाजेको पला देखि सुनिदै आएको हो |
      तर सेन्टिमेन्ट सग जोडिदा, जानेगर्छन |
      गया जस्तै महिमा बोकेको गोकर्ण छ , ठगि पनि नहुने , त्यहि ठिक हो कि ?

      Reply
  6. Kiran says:
    March 31, 2015 at 1:14 am

    सुझाबकोलागि धन्यवाद कृष्णजी , मपनि जाने बिचारमा थिए अब तपाइको सुझाबलाई सम्झने छु ! अरु ठाउमात मलाईपनि अनुभब थियो ,गयामा चाही नौलो लाग्यो

    Reply
  7. सिर्जने says:
    March 30, 2015 at 11:34 pm

    म पनि मेरा बा आमालाई लिएर उहाका बा आमाहरुको ‘उद्दार’ गर्न गया, काशी, इलाहाबाद पुगेको छु आजभन्दा करिब १५ वर्ष अगाडी / त्यहाको सामान्य ठगि हामीलाई असामान्य लागेपनी, त्यो त्यहाको दैनिकी हो / मूल कुरो के भने अबको पुस्ताले पितृ तार्न गया जानुपर्छ भन्ने कुरो बिश्वास गर्लान जस्तो मलाइ लाग्दैन / मेरा बा आमा पनि बितिसके, १३ दिनको पितृकार्य र बार्षिक कार्यमा लाखौ रुपिया खर्च गरियो, जसमा मेरो मात्रै निर्णयले हुनेवाला थिएन, त्यसैले आफन्तहरुको चित्त नदुखाउ भन्ने हेतुले “जसो जसो बाहुनबाजे उसै उसै स्वाहा” गरियो, ति सबै फजुल हुन् भन्ने थाहा हुदाहुदै / सरकारी स्कुलमा बा आमाको नाममा हामी छोराछोरी मिलेर अक्षयकोष स्थापना गर्यौ / मैले मेरा छोराछोरी हरुलाई उनीहरु बुझ्ने भएपछी मेरो किरिया गर्नुपर्दैन, बर्षको एकचोटी सम्झेर समाजको भलो हुने काममा कति दान गर्न सकिन्छ गर्नु भन्ने बिचार गर्दैछु / सामाजिक चेतनाको स्तर बढ्दै गएपछि हामि कुरीतिहरुको शिकार हुनुपर्दैन भन्ने मेरो बुझाइ छ / तथास्तु /

    Reply
  8. madan bajracharya says:
    March 30, 2015 at 9:56 pm

    स्वर्ग जाने मार्ग त् नेपालनै भयको कुरा महाभारतको पाण्डवहरु नेपालकै बाटो स्वर्ग लागेको कुरा गयामा जाने सबैले सुने पढेकै कुरा हो/गंगामा बहने पानीको श्रोत पनि नेपालकै हिमाल हो/ त् किन जानु पर्यो गया र गंगामा पितृ कर्म गर्न ठगिन र लुटिन?

    Reply
  9. HarataraH says:
    March 30, 2015 at 9:27 pm

    धन्न थप भएनन्! त्यहाँ जाने मन-धन यतै गरेको भए बेटर हुन्थ्यो ! पक्का भनेको !!!

    Reply
  10. Suraj Maskey says:
    March 30, 2015 at 5:38 pm

    मेरो विचारमा पुरा पुर्व काल देखि चलि आएको पिण्ड दान प्रथाले आ-आफ्नो पितृहरुलाई सम्झने र आदर गर्ने कुरा लाग्द छ । मलाई के लाग्छ भने यसो गरे यो हुन्छ भन्ने कुराहरु हिन्दु धर्माधिकारी आ-आफ्नो सोचाईको उपज हो ।
    मेरो विचारमा आफ्नो पुर्वजहरुको सम्मान गर्नु समाजको सकारात्मक पक्ष हो र यस्ले समाज अनुशासनशील गर्न सघाउ पुर्याउदछ । अन्य प्रक्रियाहरु चलन अनुसार चित् बुझाउने माध्यम मात्र हुन् ।

    निम्न गीता श्लोकले जीवनका धेरै कुरा छर्लगं पार्दछ:-

    तिम्रो के गयो र रुन्छौ ?
    तिमीले के ल्याएको थियौ र जुन हरायो ?
    तिमीले के उत्पन्न गरेको थियौ ? र नष्ट भयो ।
    जे लियौ यहीबाट लियौ र जे दियौ यही को दियौ ।

    “जे आज तिम्रो छ हिजो कसैको थियो र भोलि अरु कसैको हुने छ” ।

    सुरज मास्के

    Reply
  11. Paru says:
    March 30, 2015 at 3:02 pm

    कहिँ निकै दुख पाउनु भएछ . बरु तपाई ले तेत्रो गया गई दान गरेको पिण्ड पितृ सम्म पुग्यो होला र ? यतै नेपाल मा दीनदुखी हरु लै दान गर्दा पो पुण्य हुन्थ्यो कि त ?!

    Reply
  12. सागर says:
    March 30, 2015 at 1:26 pm

    हजुर जस्तै म पनी गयामा परेको छु हाम्रो कहानी एउटै भयछ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme