माइसंसारमा ‘यस्तो रहेछ उपचार सहायता लिन भर्नुपर्ने फाराम’ पढेपछि मलाई केही कुरा थप गर्न मन लाग्यो । आफ्नो ताजा अनुभव पनि यहाँ समेट्नु सान्दर्भिक लाग्यो ।
हो, विपन्न नागरिकले पनि विभिन्न जटिल रोगहरू मुटुरोग, मिर्गौलारोग, क्यान्सर, पाकिर्न्सस र अल्जाइमर्सको उपचारका लागि ५० हजार र स्पाइनल इन्जुरी र हेड इन्जुरीका लागि एक लाख लाख रुपैयाँसम्मको सहायता पाउने भनिएको छ । तर कत्तिको ब्यवहारिक छ भन्ने खासै अध्ययन गरिएको छैन । उपचार सहायता पाउनको लागि सरकारले विभिन्न अस्पताल तोकेको रहेछ । स्मरणीय कुरा के छ भने त्यस्तो सहायता सरकारी अस्पतालमा उपचार गर्दा मात्र पाउने ब्यवस्था छ ।
मेरो अनुभव चाहिँ यस्तो रह्यो :
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TU Teaching Hospital) र वीर अस्पतालमा स्पाईनल इन्जुरीको उपचार गर्दा सहायता पाउने ब्यवस्था रहेछ (स्रोत: http://www.nagariknews.com/society/nation/story/8803.html) मेरो आमाको उपचार गर्न गएँ टिचिङ्ग हस्पिटलमा ।
सरकारी अस्पतालमा उपचार गराउनु सहज छैन त्यसमाथि जटिल रोगको उपचार/अपरेसन गर्न त महिनौँ पालो कुर्नुपर्छ भन्ने सुन्दै,पत्रपत्रिकामा पढ्दै आएको कुरा हो । वीर अस्पतालमा ज्यादा झन्झट हुन्छ, फोहोर पनि त्यस्तै हुन्छ भन्ने लागेर शिक्षण अस्पताल, महाराजगञ्ज गएँ म । र भगवान कोईराला, गोविन्द केशी लगायतले नेतृत्व गरिसकेको अस्पताल केही सुधारिएको पक्कै होला, सरकारी अस्पतालमा अरुले भनेजस्तै झन्झट हुन्छ वा सुधारिएको छ त ? भन्ने अनुभव पनि हुन्छ, उपचार सहायता पाउन सकियो भने सुनमा सुगन्ध भईहाल्यो सोच्दै त्यता गईयो । यहाँ मिति पनि उल्लेख गर्नु उपयुक्त होला । आमालाई लिएर बि.स. २०७१-१०-११ गते आईतबार पहिलोपल्ट गएँ । सो दिन OPD मा चेकअप भयो र दुईवटा एक्सरे गर्न लगाउनुभयो । एक्सरेको रिपोर्ट लिएर १३ गते मंगलबार(बोलाएअनुसार) गईयो । सो दिन एक्सरेको रिपोर्ट हेरेपछि हड्डीसम्बन्धी विशेषज्ञ डक्टरहरू बिहिबार २ बजे आउनुहुन्छ, त्यही दिन आउनुस् भन्नुभयो । बिहिबार पनि त्यही एक्सरे रिपोर्ट हेर्नुभयो र एमआरआई गर्नुपर्छ भन्नुभयो । टिचिङ्गमै MRI गर्न २० गतेमात्र पालो आउने, रिपोर्ट अझ ढिला आउने जानकारी पाएपछि अन्तै गएर MRI गरियो चाँडै उपचार सकौँ भन्ने हेतुले ।
त्यहाँ एकजना चिनेको दाई पनि काम गर्नुहुने रहेछ ।
२० गते MRI को रिपोर्ट लिएर गईयो । सो हेरेपछि सर्जरी(अपरेसन) गर्नुपर्छ भन्नुभयो र वरिष्ट सर्जन डक्टर रोहित कुमार पोखरेल लाई भेटियो ।आमाको अपरेसन ठूलो खालको रहेछ। अपरेसन गरेर शरिरभित्र स्टिलको पाता, किला राख्नुपर्ने रहेछ, जसको मूल्य मात्र ६०००० भन्दा बढी पर्ने रहेछ ।
सरकारी अस्पतालको तितो यथार्थ तब थाहा भयो जब उहाँले “यहाँ धेरै समय लाग्छ चाँडै गर्न नै खोज्नुभएको भए बाहिर गरौँ, मिलाएर गरिदिउँला” भन्नुभयो । टिचिङ्गमै चाहिँ कति समय लाग्छ त ? भनेर सोध्दा “यहाँ ढिलै हुन्छ, महिनौँ, बर्षौँ पालो कुर्नुपरेका पनि छन्” भन्नुभयो यति समय लाग्छ भनेर न उहाँले भन्नुभयो न त “फलानो ठाउँमा गएर बुझ्नुस्’ भन्नुभयो । अपरेसन गर्ने डक्टर उनै हुन्, चिढ्याउन पनि मिलेन, बाहिर ‘प्राईभेट हस्पिटल’ मा गर्ने आफ्नो मनमै छैन । बडो दोधार भयो । बाहिर उहाँले काम गर्ने ‘ह्याम्स हस्पिटल’ रहेछ । त्यहाँ चाहिँ कहिले अपरेसन हुन्छ र पैसा कति लाग्ला त डक्टरसाहब ? भनि सोधेँ । “यहाँ मैले यति नै लाग्छ भन्न सकिन्न, हस्पिटलको आफ्नै रेट हुन्छ, शुक्रवार ४ बजे उतै आउनुस्, शनिवार (२४ गते) अपरेसन गर्न सकिन्छ” भन्नुभयो । नजाउँ पनि उपाय छैन अरु भन्ने ठानेर बुझ्ने मात्र हिसाबले गईयो ह्याम्स हस्पिटल । जहाँ डक्टरलाई भेट्न मात्र चार सय रुपैयाँभन्दा बढि रकम तिर्नुपर्यो ।
अपरेसन चार्ज न्युनतम सत्तरी हजार रहेछ त्यहाँको रेट । स्टिलको ७५-८० हजार । (स्मरणीय कुरा के भने: त्यस दिनसम्म पनि टिचिङ्गमा अपरेसन चार्ज कति लाग्छ भनेर थाहा पाउन सकेको थिईँन । )
घरमा फोन गरेर आउँछु भनेर त्यहाँबाट हिड्यौँ आमाछोरा ।
त्यसपछि २६ गते पुन: टिचिङ्ग हस्पिटल गईयो ।
त्यहाँ अपरेसन चार्ज बढिमा १०००० लाग्ने भन्नुभयो ।
त्यसपछि ब्लड चेक, इलेक्ट्रोकार्डियोग्राफी (ECG) लगायत चेकअप गरियो । २९ गते २ बजेलाई बोलाएअनुसार रिपोर्ट देखाउन गईयो । कोठा नम्बर सात ।
ढोकामा ताला लागेको रहेछ । २:२० भईसक्यो कोही आउँदैनन् त !
‘सोधपुछ’मा गएर ‘कोठा न सात कति बजे खुल्छ?’ भनेर सोध्दा “एकछिन् मा खुल्छ होला” भन्ने उत्तर आयो । फेरि कुरियो एकैछिन् । फेरि गएर सोध्दा “कुर्नुस्, हामीलाई पनि थाहा हुन्न” रे ! कर्मचारीलाई जिम्मेवारीबोध भन्ने कुरा छँदै छैन ।
प्रत्यक्ष भेटेर सोध्दा पार नलागेपछि ४ पल्ट त फोन गरेँ, तैपनि हात लाग्यो शुन्य ।
त्यत्रो दौडधुप गर्दा त केही पत्ता लगाउन सकिँदो रहेनछ । सरकारी अस्पताल पुग्ने साधारण जनता जो गाउँबाट आएका हुन्छन् सोझासाझाले कसरी भेउ पाउन सक्ला !
खासमा त्यो दिन डक्टर, प्रबन्ध निर्देशक सबै धुलिखेल गएका रहेछन् ।
अपरेसनको लागि मुटु पनि स्वस्थ हुनु आवश्यक पर्छ संगै रहेको Manmohan Cardiothoracic Vascular & Transplant Center मा मुटुसम्बन्धी चेकजाँच र उपचार गरेर पुन: टिचिङ्ग गईयो ११ गते । अपरेसनको लागि फाल्गुण ५ गते भनिएकोमा मुटुको समस्याको कारण गर्न मिलको थिएन । अर्को डेट दिनुभयो १९ गतेलाई ।त्यसबिचमा अपरेसन थिएटर पुरै सफा गर्ने भनेर कुनै पनि अपरेसन नहुने रे एक सातासम्म । १९ गते अपरेसन, जसको लागि १५ गते बिहान ८:३० बजे आएर भेट्नुस् भन्नुभयो । समयमै गएर डक्टरलाई पर्खेर बसियो । १२ बजिसक्यो अझै भेट हुन्न । निरन्तर घच्घच्याएपछि बल्ल अर्को एकजना डाक्टले हेर्नुभयो र बिरामी भर्ना गर्नुस् भन्नुभयो । १९ गते छ अपरेसन, किन आजै बस्नु? भनेर बोलौँ त कामै नहोला झन् भन्ने ठानेर भर्ना गरियो ।
रगतको अरु चेकअपहरू र केही एक्सरे गरियो भर्ना भएपछिका दिनहरुमा ।
१९ गते बिहान १०-११ बजेतिर अपरेसन हुन्छ भनेर सम्पूर्ण सामान किन्न लगाउनुभयो र ल्याएका थियौँ १८ गते नै । १९ गते “बिरामीले केही नखानु” भनिसक्नुभएको थियो अपरेसन गर्नकै लागि । ११:३० बजेतिर आएर “अब १ बजे अपरेसन” भन्नुभयो । १ बजे आएर त “अपरेसन नहुने भयो, मेसिन बिग्रेको छ” भन्नुहुन्छ !
रिसको सिमा थिएन, रिस देखाएर पनि हुने केही होईन, सोध्यौँ अपरेसन थियटरको रिसेप्सनमा गएर । मेसिन पहिलेदेखि नै बिग्रेको रहेछ, मेकानिक्सले धेरै प्रयास गर्नुभयो रे बनाउन तर बनेनछ । अब कहिले हुन्छ अपरेसन? भनेर सोध्दा अर्को साता मंगलबारलाई प्रयास गर्छौँ, नभए २ साताभित्र हुन्छ रे॥
मेसिन बिग्रेको थियो भने ‘यस्तो छ है” भनेर जानकारी गराउनु पर्दैनथ्यो हामीलाई ? चार दिनसम्म भर्ना गरेर राखेपछि त्यस्तो गैरजिम्मेवार कुरा गर्न सुहाउँछ त ?
पुन: प्रसङ्ग उपचार सहायताकै अर्थात् ‘विपन्न नागरिक औषधोपचार कोष’ को
स्पाईनल ईन्जुरीको जटिल रोगको अपरेसन (मेरो आमाको) गर्न अपरेसन चार्ज साँढे पाँच हजार रुपैयाँ लाग्ने रहेछ टिचिङ्ग हस्पिटलमा । भित्र राख्ने स्टिलको रड, किलाहरु जसको मूल्य चाहिँ महङ्गो भनिएको छ, सप्लाई गर्ने बाहिरका मान्छे आउँदा रहेछन् डक्टरमार्फत सम्पर्क गरेर ।
उपचार सहायता पाउने भनेको हस्पिटललाई तिरेको पैसा मात्र हो, जुन रकम सुरुदेखिको हिसाब गर्ने हो भने पनि जम्मा २० हजारजति हुन आउँछ । अनि १ लाख सम्मको सहायता गर्ने भनेर सोझा जनता झुक्याएर नेताहरुको महङ्गो उपचार नि:शुल्क गराउने बहाना मात्र भएन यो ?
मुख्य कुरा सरकारी हस्पिटलमा छिटो, सरल उपचार सेवा नपाएपछि अधिकांशले कि त मृत्युवरण गर्नुपरेको छ, कि त अन्य निजी अस्पताल गएर दशौँ गुणा बढि मूल्य तिरेर उपचार गर्नुपर्छ सकिन्छ भने । यस्तो अवस्था रहिरहेसम्म कोष ‘कोष’मै सिमित रहनेछ । सर्वसाधारणले सहायता हैन सास्ती पाईरहेछन् ।
उपचार सहायता पाउनको लागि चाहिँ जिल्ला जनस्वास्थय कार्यालयमा गएर फारम भरेर अरु प्रक्रिया पुर्याउनुपर्ने रहेछ ।डक्टरको प्रेस्कृप्सन, अस्पतालले सिफारिस दिएको पत्र, विपन्न नागरिक खुलेको पत्र, नागरिकताको प्रतिलिपि राखेर निवेदन दिनुपर्ने रहेछ जनस्वास्थ्य कार्यालयमा । उपचार गराईसकेको सात दिनभित्र सो सिफारिस अस्पतालमा बुझाईसक्नुपर्ने रहेछ।
यता यस्तो कुरा उता स्वाईन फ्लु लागेको नेतालाई यरआम्बुलेंस बात दिल्ली लगिने कुरा/ नेता माथि रास्ट्र लुटाउने कुरा रोक्ने कुरा मात्र सुनाउन हो निभाउन होइन/
कुरा ठुला ठुला , जनताका मुक्ति को कुरा गरे पनि फटाह पाखे जैसी बाहुन हरु को देश मा रजाइ छ | यो उपचार खर्च र हेलिकोप्टर (एयर एम्बुलेन्स ) को सुबिधा उनीहरुको गाउको घर बाट काठमान्डू जान र दिल्ली जान मात्र प्रयोग हुन्छ |
अरु जनता भनेको हेलिकोप्टर हेर्न , र पछि पछि दौडन र उनीहरुलाई नमस्कार गर्न मात्र हुन् भने जस्तो छ तिनलाई |
यो देशमा फ्रीमा उपचार पौने नेता मात्र हुन् , अरु भनेको तेस्तै हो .. जो संग उपचार गर्ने पैसा नै छैन उ संग उपचार गरे पछि को बिल पेस गरेर मात्र सट्टा भर्ना दिने कुरा नै तर्क संग छैन .. आफु महलमा बसेर उपचार खर्चको लागि सरकारी ढुकुटी त नेता हरुले मात्र ताक्छन , जस्तै ओली , झलनाथ , सुशील कोइराला, रामबरण यादव आदि (किनकि उनिहरु आफ्नो लागि आफै निर्णय गर्छन , मन्त्रि परिसद मार्फत ).
प्लेनले रन-वे छेकेर ५ दिन बन्द हुन्छ संसारिक सम्बन्ध
प्रधानमन्त्री को कुरो – गोबिन्द के सी मरे मर्छन, म केगरू?
बामदेब – जिम्मा विदेशीलाई दिम भन्छन्|
एकातिर मात्र हैन चारै तिर भद्रगोल को बेथिति!
सगरमाथाले बस्ने ठाउँ दिन्न, बुद्धले ख्वाउदैनन,
म नेपाली हुँ भनेर कसरि गर्ब गरु?