Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बलात्कार घटना : जब तपाईँको परिवारै अपराधी हुन्छ, तब के गर्नुहुन्छ?

Posted on March 26, 2015 by mysansar

-दीपेशमूर्ति पन्त-

अहिले जताततै बलात्कारका अनेकन घटना दिनदिनै सुन्नु पर्छ। अनि सञ्चार माध्यम र सामाजिक सन्जालमा कोही फाँसीको सजाय, कोही आजीवन कारावासको सजाय थपेर कानुन बनाउनु पर्ने माग गरिरहेका छन्। के यस्ता कानुन बनाएर मात्रै अपराधहरु हट्न वा कम हुन सक्छ त ? अहिले पनि कानुनमा यस्ता अपराधको लागि थोरै भए पनि ब्यबस्था त छ। तर के कति प्रतिशत अपराधीले यही थोरै नै भए पनि सजाय पाएका छन् त? मलाई लाग्दैन धेरै अपराधीले यही प्रचलित कानुन बमोजिम पनि सजाय पाएका छन भनेर। कानुनमा कडा सजायको ब्यबस्था गरेर मात्र त फेरि पनि अहिलेको जस्तो परिणाम नै आउने छ, होइन र? अहिलेको प्रचलित कानुनसँग अहिले जसरी अपराधी बचिरहेको छ त्यसरी नै भोलिको कानुनी ब्यबस्थासँग पनि त्यो बच्न सक्दैन भन्ने के ग्यारेन्टी हुन सक्छ ?

बलात्कार महिला हिंसाको घटनामा प्रथमत: हाम्रो सोच बदल्नु जरुरी छ। यो अपराध महिलामा केन्द्रित भएकाले पहिला महिलाहरु नै जागरुक हुनु पर्यो। बलात्कारी कसैको छोरो होला, कसैको पति होला, कसैको भाइ त कसैको दाइ। जसले जति लुकाए पनि परिवारबाट अपराधी कुनै पनि हालतमा लुक्न सक्दैन। छोरोले बलात्कार गरेर आएको छ, पति बलात्कारी हो, या मेरो दाजु या भाइ बलात्कारी हो भन्ने कुरा ती आमालाई, पत्नीलाई, दिदीलाई या बहिनीलाई प्राय: थाहा हुन्छ। अहिले बलात्कारीलाई यो सजाय हुनुपर्छ त्यो हुनुपर्छ भनेर दावी गरिरहनु भएका आमा दिदी बहिनी साथीहरु के तपाईंको छोरा, पति, दाजु या भाइले यस्तो गरेर आएको थाहा पाउनु भयो भने के तपाईंहरु तयार हुनुहुन्छ मृत्युदन्ड दिनको लागि?

कि अनेक छलछाम गरेर उसलाई बचाउने तिर लाग्नु हुन्छ?

ल आउनुहोस् अगाडि, आँफैले भौतिक रुपमा केही गर्न सक्नु हुन्न भने सोचिदिनुस् मात्र त्यस्मा त तपाईं हरु सोच्ने कुरामा त कसैले बल प्रयोग गर्दैन होला?

पीडक फरार हुन्छ। परिवारको जानकारी बिना फरार हुन गाह्रो हुन्छ। लुकाउँछ कसले? परिवारको सदस्यहरुले होइन? पक्राउ परेपछि पनि सर्बोच्चसम्म मुद्दा चल्छ। के परिवारको सहयोग बिना यो हुन सक्छ? त्यसैले अहिले हामी चाहे पुरुष होस् या महिला हामी जागरुक हुनु पर्यो। महिलाहरुले पनि यस्ता अपराध गर्ने जो सुकै होस्, यो महिलामाथि यानी आँफै माथि गरेको अपराध हो भनेर बुझ्नु पर्यो।

अर्को महत्वपूर्ण कुरो हाम्रा धर्म ग्रन्थमा पनि बलात्कारका महिला हिंसाका अनेकन कथा छन् चाहे त्यो हिन्दू धर्म ग्रन्थ होस् या मुस्लिम या क्रिस्टियन।

ल एक उदाहरण लिउँ, बृन्दाको कथा, जालन्धरले जे गर्ने प्रयास गर्यो त्यो पनि एक प्रकारको बलात्कार नै थियो। त्यो त अपराधको गणनामा छँदैछ। तर जुन कुरो विष्णुले गरे, के त्यो पनि बलात्कार थिएन? किन सोही अपराध गरे बापत सजाय पाएका बिष्णुको सोही रुपको पूजा गरिएको हो?

सीता, मन्दोदरी, अहिल्या, पवनरेखा सतिहरुमाथि भएका अन्यायका कथाहरुमा कहिले पूर्वजन्मको अपराध, कहिले बैकुण्ठ जान पाउद्द भनेर तपस्या गर्या थिए रे कोइ पत्नी हुन पाउँ भनेर तपस्या गर्या थिए रे। त्यसैले भगवान हुनेहरुले बाध्य भएर अपराध गरेका रे।

त्यस्तै प्रोफेट मोहम्मदले आफ्नी बुहारी नुहाइरहेको देखेर मोहित भए अनि छोरासँग मागे। छोराले बाउलाई आफ्नी श्रीमती प्रदान गरे रे। सोही कथालाई आधार बनाएर गत वर्ष भारतको राजस्थानमा ससुराबाट बलात्कृत बुहारीलाई सोही ससुरोसँग विवाह गर्ने आदेश दिएको थियो गाउँ पञ्चायतले। सो कुरालाई भारतीय अदालतले अस्वीकार गर्दै ससुरोलाई जेल चलान गर्यो भनेर भारतीय संचार माध्यम ले जनाएका थिए।

१७ औँ १८ औँ शताब्दीतिर महिला वैज्ञानिक र बैज्ञानिकहरुका परिवारका कयौ महिला सदस्यहरु लाई बोक्सीको आरोपमा जिउँदै जलाएकाका घटना अहिले सम्म बैज्ञानिक इतिहासमा पीडादायी अक्षरमा लेखिएका छन्। त्यो गर्ने प्रेरणा क्रिस्टियनहरुलाई कस्ले दिएको थियो? ती अपराधका स्रोतहरुलाई बहिस्कार गर्ने साहस हामी गर्न सक्ने कि नसक्ने? के ती धर्म ग्रन्थका पन्नाहरुलाई आलोचनात्मक तरिकाले इमान्दार भएर विश्लेषण गरेर सही गलत छुट्याउने साहस छ हामीमा?

यदि छैन भने कानुन जतिसुकै कडा बनाउनुस्, केही हुने वाला छैन।

अमेरिकाको अहिलेको बिश्लेशण गर्ने हो भने ८०% भन्दा बढी अदालती फैसलामा परिवारका सदस्यले नै साक्षी बकेको कुरा सुन्न पाइन्छ। त्यो अवस्थासम्म हामी कहिले पुग्ने हो? जबसम्म यस्ता अपराधीलाई परिवारको सदस्यको रुपमा लिनु भन्दा पहिले समाजको देशको अपराधी हो भनेर तोक्ने सहास हामीमा आउँदैन त्यतिबेलासम्म कानुन निर्माणले केही हुने छैन।

लमजुङ

10 thoughts on “बलात्कार घटना : जब तपाईँको परिवारै अपराधी हुन्छ, तब के गर्नुहुन्छ?”

  1. krishna says:
    April 2, 2015 at 1:34 pm

    ब्रान्डेड बलात्कारीलाई कारबाही गर

    मणि शर्मा

    नेपाली कांग्रेसको ट्रेडमार्क बीपी कोइराला हुन् भने एमालेको ट्रेडमार्क मनमोहन अधिकारी। बीपी समाजवादी प्रजातान्त्रिक व्यक्तित्व थिए भने मनमोहन प्रजातन्त्रवादी कम्युनिस्ट। दुवै इमानदार नेता तथा प्रधानमन्त्री थिए।

    यो युग विज्ञापनको हो, मार्केटिङको हो। जसले आफ्नो ट्रेडमार्कको विज्ञापन र मार्केटिङ जति सुन्दर, आकर्षक तथा मनमोहक तरिकाले गर्न सक्यो, उसको व्यापार उति राम्रोसँग चल्छ।

    एमाओवादी र मधेसवादी दलहरूले आफ्नो मार्केटिङ गर्न नसकेकाले नै उसको व्यापार अहिले घाटामा चलिरहेको छ। त्यसैले अहिले जबर्जस्तीको मार्केटिङमा लागेको छ, जसको नाम हो-भाटा जुलुस र बन्द-हडताल।

    जोर-जबर्जस्तीको यो मार्केटिङमा उसको व्यापार बढ्छ वा झन् घाटामा जान्छ, यो भविष्यले नै बताउला। हुन त यो ज्वाइन्टभेन्चरको लगानीमा चलेको यो व्यापारमा समावेश विदेशी लगानीले समेत कत्तिको नाफा कमाउन सक्छ वा झन् व्यापारै डुबाउन सक्छ, यो पनि भविष्यको गर्भमा छ।

    अहिले बीपी ब्रान्ड र मनमोहन ब्रान्डको संयुक्त लगानीमा सत्ताको व्यापार चलिरहेको छ। हुन त यो ब्रान्ड हात्तीको दाँत हुन्। सत्ता त माफिया, डन, कालोबजारिया र भ्रष्टाचारीहरूले नै चलाइरहेको छ।

    यो ब्रान्डकै सक्कली सरकार भएको भए ग्यास आपूर्तिमा सरकार निरीह बन्ने थिएन, आफैंले तोकेको यातायात भाडा दर लागू गर्न सक्थ्यो। चुरे संरक्षणको नाममा कोष खडा गरेर चुरेको विनाश हुँदा लाटाले केरा हेरे झैं हेरिरहने थिएन।

    नन्दप्रसाद अधिकारीको अनशनमै मृत्यु हुने थिएन। भ्रष्टाचार र माफियातन्त्रविरुद्ध आवाज उठाउँदै पाँचौंपटक अनशनमा बसेका डा. गोविन्द केसीलाई मिडियामा आएको खबरअनुसार प्रधानमन्त्रीले मरे मरोस् भन्ने थिएनन्।

    मनमोहनको नाम बेचेर स्वास्थ्य सेवासँग खेलबाड गर्ने एमालेजन र तिनको नेता राजेन्द्र पाण्डेले डा. केसी मरे मरून् भन्दै जनताको स्वास्थ्यसँग खेलबाड गर्न पाउनुपर्ने र स्वास्थ्य शिक्षामा माफियाकरण गर्न पाउने आफ्नो अधिकार सुरक्षित होस् भन्ने चाहने थिएनन्, बीपी र मनमोहन ब्रान्डको सक्कली सरकार भएको भए।

    अर्का एमालेका सुरवीर वामदेव गौतमले संक्रमणकालमा बलात्कार हुनुलाई संक्रमणकालीन अधिकारको रूपमा व्याख्या गर्छन्। किनकि वामदेवकी छोरी वा पत्नीले बलात्कार हुनुपरेको छैन।

    बलात्कारजस्तै भ्रष्टाचारलाई पनि अहिलेका मन्त्रीहरूले संक्रमणकालीन आफ्नो मौलिक अधिकारको रूपमा लिएका छन्।

    पसलमा गयो पसलपिच्छे एउटै सामानको मूल्य फरक-फरक पाइन्छ। मिसावट प्रत्येक वस्तुमा छ। सेना र प्रहरीले पेट्रोलमा मिसावट गर्छन्। किनकि यो संक्रमणकालीन अधिकार हो।

    बिनाकुनै पूर्वाधार खडा भएका मेडिकल कलेजहरूमा स्नातक गर्न पचासदेखि साठी लाख खर्च गर्नुपर्छ। सबै विद्यार्थी सफल हुन्छन्। पढाइ सकेर बाहिर आउँदा गलत उपचार गरेर बिरामीलाई मार्छन्। फी मनपरी लिन्छन्।

    नचाहिँदो महँगा जाँच गर्न लगाएर बिरामीको परिवारलाई कंगाल गराउँछन्। यी सबै मेडिकेल कलेजहरूका मालिक र नौसिखिया डाक्टरहरूको मौलिक हकभित्र पर्छ। यो अधिकारका लागि उनीहरूले ठूलो त्याग गरेका छन्। गरिबहरूको लागि मेडिकल शिक्षामाथि सरकारले अघोषित प्रतिबन्ध लगाएको छ।

    शिक्षामा भ्रष्टाचार र माफियातन्त्रको विरोध गर्नु भ्रष्टाचारी तथा माफियाहरूको मौलिक अधिकारको हनन हो। त्यसैले यसको विरुद्ध आवाज उठाउँदै अनशनमा बस्ने मर्नुपर्छ।

    संक्रमणकालीन अवस्थाको परिभाषा नबुझ्नेहरू बाँच्नुभन्दा मर्नु बेस। यो बीपी र मनमोहन ब्रान्डहरूको हुकुम हो। चौथोपटकको अनशनको प्रतिबद्धता झैं बढ्दो जनदबाबको अगाडि सरकारले अहिले व्यक्त गरेको प्रतिबद्धता पनि झुक्याउने खालको नहोला भन्न सकिन्न।

    नेपाली कांग्रेसले बीपी र एमालेले मनमोहनको नाम बेचेर जस्तोसुकै गलत धन्दा गर्न पाउनु उनीहरूको मौलिक अधिकार हो। बीपीको सिद्धान्त के थियो वा मनमोहनले कस्तो नेपाल चाहेका थिए, योसँग उनीहरूलाई कुनै सरोकार छैन।

    अहिले बेच्ने भनेको ब्रान्ड हो। ब्रान्ड भएपछि उनीहरूले बेच्ने माल नेपाली जनताले किन्नैपर्छ। न किन्नेहरू देशका दुस्मन हुन्, प्रतिगमनकारी हुन्। बीपी र मनमोहनका विरोधी हुन्।

    त्यसैले त स्वास्थ्यमन्त्री खगराज अधिकारीले डा. गोविन्द केसीलाई मनमोहन विरोधीको तक्मा लगाइदिएका छन्। मनमोहन अधिकारी नामको ब्रान्ड अगाडि बढाइदिएपछि अरू कुरा खलास। कोही माइकालाल छ मनमोहन र बीपीको विरोध गर्ने?, ब्रान्ड बेच्न पाउनुपर्छ, उपभोक्ताले खरिद गर्नैपर्छ।

    बलात्कृत हुने संक्रमणकालीन वामदेवी न्यायविरुद्ध पश्चिमा ब्रान्ड अहिले आएको छ, जसलाई कानुनमा रूपान्तरण गर्न एउटा समूहबाट दबाब दिइएको छ।
    केही वर्षपहिला यस्तै एउटा पश्चिमा ब्रान्ड कानुनमा रूपान्तरण भएको थियो।

    लोग्नेले पत्नीलाई बलात्कार गरेको अभियोगमा जेल सजाय हुने। हाम्रो पूर्वीय संस्कृतिमा कहीं नभएको यो ब्रान्ड नेपालमा लागू भएको छ। उखान छ- लोग्ने-स्वास्नीको झगडा परालको आगो।

    तर यो कानुनले नेपाली उखान पल्टाउँदै पश्चिमा कानुन लागू गरिदियो। लोग्ने मन नपरेर अन्तै सल्केकी स्वास्नीले यो कानुनअन्तर्गत लोग्नेलाई जेल हाल्दै आफू सजिलैसँग लोग्नेबाट छुटकारा पाउन सक्छे।

    लोग्ने-स्वास्नीबीचको यौन सम्बन्धलाई बलात्कारको परिधिभित्र ल्याएर लोग्नेलाई मात्र दोषी देख्नु न्यायाधीशहरूले कालो चस्मा लगाएर न्याय गर्नुसरह हो।

    पश्चिमाको डलर खाएर ल्याइएको कानुन यदि मानव अधिकारसम्मत मान्छन् भने के स्वास्नीले लोग्नेको बलात्कार गरेका हुँदैनन्? कहिलेकाहीं लोग्नेलाई इच्छा नहुँदा उसको इच्छाविपरीत स्वास्नीले राख्ने यौन सम्बन्धलाई बलात्कार किन नभन्ने?

    केही दिनअघि मैले भारत र बंगलादेशको खबर कागज हेरें, जसमा शिक्षिकाले आफ्नो विद्यार्थीलाई बलात्कार गरेको खबर छ। धेरै दिनसम्म आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध राखेपछि मात्र खबर बाहिर आएको हो।

    नेपालमा पनि यस्ता घटना हुन्न भन्न सकिन्न। पुरुषले महिलाले बलात्कार गरेको भन्नु आफ्नो मर्दाग्निमाथी प्रहार ठानेर यस्तो कुरा बाहिर ल्याउँदैनन्।

    अहिले महिलावादीले जुन नयाँ कानुन बनाउने सिफारिस गरेका छन्। त्यो हो बलात्कारीलाई सुई लगाएर नपुंसक बनाउने।

    उनीहरूले भनेजस्तो यो कानुन बन्यो भने खाइखेलेका चतुर महिलाले जुनसुकै पुरुषलाई ब्ल्याकमेल गरेर धन कमाउने माध्यम बनाउनेछन्। एउटी महिलाको चक्करमा एउटा पुरुषको सर्वस्व नै गुम्नेछ।
    समाजमा बलात्कार किन हुन्छ? बलात्कारको समस्या पहिलाएर यसको समाधान खोज्नुपर्नेमा उल्टै महिलालाई पुरुषलाई ब्लाकमेल गरेर धन कमाउने बाटो खोल्ने कानुन बनाउने कुरा गर्छन्।

    राज्यकोषबाट अर्बौं खर्च गरेर दुई-दुईपटक संविधानसभाको निर्वाचन गराउँदा पनि संविधान बनाउन नसक्नेलाई जनताको धनको दुरुपयोग गरेबापत आजीवन राजनीति गर्न नपाइने कानुन बनाउन किन दबाब दिइँदैन?

    बलात्कारीलाई कारबाहीको लागि नेपालमा भएको कानुन नै यथेष्ट छ। एकजना बलात्कारीको भनाइमा नेपालको कानुन थाहा नपाएकाले मैले बलात्कार गरेको भनेर भनेका थिए। विद्यमान कानुनको ज्ञान गाउँ-गाउँसम्म पु:याउने हो भने बलात्कारमा कमी आउनेछ।

    तर यहाँको राजनीति यहाँबाट सञ्चालित छैन। विदेशी शक्तिले आफ्नो अनुकूल जस्तो चाह्यो त्यस्तै कानुन बन्छ। नेतादेखि कानुनविद् र अधिकारकर्मीहरूलाई समेत उनीहरूले किनेका हुन्छन्।

    जसरी नेपाललाई ख्रिस्तानीकरण गरिँदैछ, त्यसरी नै ख्रिस्तान मुलुकहरूको कानुन हामीमाथि थोपरेर हाम्रो संस्कृति र परम्परामाथि आक्रमण गरिँदैछ।

    के शारीरिक बलात्कार मात्रै बलात्कार हो? डा. केसी पाँचौंपटक अनशनमा केको लागि बस्नुभएको हो? स्वास्थ्य र शिक्षा क्षेत्रमा माफिया, भ्रष्टाचारी र नेताहरूले बलात्कार गरिरहेका छन्, यो बलात्कारलाई रोक भनेर।

    किन अधिकारकर्मीले यी बलात्कारी सधैंका लागि कोमामा जाने वा प्यारालाइसिस हुने सुई लगाउने कानुन बनाउन आवाज उठाउँदैनन्?

    मुलुकमा बिरामीले एक पोका जीवनजल नपाएर मर्नुपरेको छ तर नेताहरू राज्यको ढुकुटीमा लुट मच्चाउँदै औषधि गर्न विदेश यात्रा गर्छन्। किन जनता भोकभोकै मर्दैछन्? रोग र भोकबाट आफ्ना जनताको रक्षा गर्नु राज्यको कर्तव्य हो कि होइन?

    किन सरकार आफ्ना जनताको बलात्कार गरिरहेको छ? असमान सन्धि-सम्झौता गरेर विदेशीलाई हाम्रो प्राकृतिक सम्पदामाथि बलात्कार गर्न दिनेमाथि कारबाहीको माग किन हुँदैन। उल्टै उनीहरूकै प्रशस्तिमा विरुदावली गाइन्छ। सरकारमा बस्ने बलात्कारीलाई सधैंको लागि कोमामा जाने सुई लगाउने माग किन राखिँदैन?

    राज्यकोषबाट अर्बौं खर्च गरेर दुई-दुईपटक संविधानसभा निर्वाचन गराउँदा पनि संविधान बनाउन नसक्नेलाई जनताको धनको दुरुपयोग गरेबापत आजीवन राजनीति गर्न नपाइने कानुन बनाउन किन दबाब दिइँदैन?

    त्यो अर्बौं रुपैयाँले ठाउँ-ठाउँमा उद्योग खोलिदिएको भए जनताले रोजगार पाउने थिए। राज्यको धनमाथि बलात्कार गर्नेलाई भविष्यमा राजनीति गर्न अयोग्य घोषणा गर्दै किन जेलमा हालिन्न?

    डा. केसीको सत्यको आवाजलाई सधैंका लागि बन्द गर्न चाहने बीपी र मनमोहन ब्रान्डका सत्ताधारी जो आफ्नै खर्चमा उपचार गर्न सक्नेछन्, तर राष्ट्रको ढुकुटीमाथि बलात्कार गरिरहेका छन्। यस्ता ब्रान्डेड बलात्कारीलाई राजनीतिकरूपमा नपुंसक बनाउने कानुनको माग किन गरिँदैन?

    Reply
  2. suresh bro says:
    March 30, 2015 at 1:09 pm

    लेख बिस्लेस्त्मक छ.
    एस्तो कानुन हुनु पर्यो जसलै काट्ने धारा अनि उपधारा हुनु भएन. तसर्थ कुनै पनि प्रकारको बलात्कारि लाई जेल सजाय , आर्थिक र सामाजिक दण्ड दिनु पर्छ. प्रथम त घरबाट बहिस्कार, समाजबाट तिरस्कार, अनि जेल को सत्कार गर्ने बब्स्ता हुनु पर्यो.

    अरु पनि लेख लेख्दै गर दिपेश ब्रो.

    Reply
  3. madan bajracharya says:
    March 27, 2015 at 8:48 pm

    २०४८को परिबर्तन पछि कांग्रेसको कुनै बिबादमा नआयको नागरिकहरुको पनि प्रिय तर अहिले नेताहरुको अप्रिय बनेकोले चर्चामा समेत नआउने यक जना नेताले नेपाललाई कांग्रेसले हंगकंग बैंकक सिंगापुर बनाउने भनेको थियो/ सिंगापुरमा अपराधीलाई आर्थिक र जेल सजाय बाहेक कठोर शारीरिक सजाय पनि दिईन्छ/ त् नेपालमा पनि ……/

    धनि सम्पन्न अपराद्शिको निमित धन सजाय कुनै सजाय नै होइन/ संघ संस्था र राजनीतिमा लागेका अपराधीहरुको निमित जेल सजाय कुनै चिन्ताको बिषय नै होइन/ तर शारिरिक् सजाय उनीहरुको निमित अपराध गर्न बात तर्सिने सजाय हुन् सक्छ/ किनभने अपराधि मानाशिकता भयाकाहरु अरुलाइ पिडा दिन पाय खुसि हुन्छन/ तर उनीहरु आफुलाई हुने पीडाको नाम देखि पनि तर्सिन्छन/

    Reply
  4. balakji says:
    March 27, 2015 at 2:41 pm

    बलात्कार हुनुमा मान्छेको दिमाखमा उत्पादन हुने रासायनिक तत्त्व जिम्मेवार हुन्छा / रासायनिक तत्त्व कसरि उत्पादन हुन्छ तानी भन्दा १.प्रकिर्तिक आफैले त्यस्तो संरचना तयार गरिदियको हुन्छा २. मानिसले जुन्कुरको बारेमा बढी सोच विचार गर्छ दिमाख बाट तो बिचारलाई बल पुगने गरि रसायन उत्पादन गर्दा छ के गर्ने तनी भन्दा यौन सम्बन्धि मनमा कुरा आयो भने मानिसले त्यो सोच लाई अरु राम्रो कुरा तिर मोडने . जसले गर्दा राम्रो कुरा मा लाग्ने रसायन दिमाखले उत्पादन गरोस

    Reply
  5. डिल्ली says:
    March 27, 2015 at 5:56 am

    जब लामो समयदेखिका नैतिक धरोहरहरू ढालिन्छन् साँस्कृतिक पक्षम अधिकतम द्रुत गतिमा परिवर्तन आउँछ त्यति द्रुत गतिमा सामाजिक विचलन पनि आउँछ । सायद त्यसैकोलागि प्रकृतिले ढीलो गतिमा चल्ने जीवविकास वा इभोलुसन सृजना गर्यो होला । हामीले ढीलो गति तर शुक्ष्मरुपमा गडेर बसेको पूर्वीय दर्शनलाई द्रुत गतिमा पश्चिमाकरण गर्यौँ र गरिरहेका छौँ । मन र समाजको बदलाबको बीच तारतम्य नमिल्दा नै यसरी बलात्कार र अपराध बृद्धि भैरहेको छ । अज्ञानता र पथभ्रष्टलाई आधुनिकता परिभाषित गरिदिएको बद्लिदो समाज क्रमश: अपराधिकरण भैरहेको छ । मानवीयता मासिएर द्रव्य राजनीतिमा केन्द्रीत बनेको छ ।

    हाम्रा पहिलेका ग्रन्थहरू हेर्दा जब समाज नैतिक, साम्यबादी र अध्यात्मीक थियो त्यसबेला समेत शक्तिशालीहरूले अर्को शक्तिशालीलाई शक्तिक्षीण गराउन बलात्कार र नरसंहारको बाटो रोजेको थियो तर यस्ले समाजको मूल प्रवाहलाई स्थिर राखेको थियो पथभ्रष्ट हुनबाट जोगाएको थियो ।

    पूर्वीय दर्शनले रगतको नाता जोडिएका आफन्त हुन् वा टाढाका सबैलाई समान आफन्त ठान्थ्यो र समान व्यवहार गर्थ्यो । समाज नैतिक बन्धनमा बाँधिएको थियो । नैतिक बन्धन नै सायद बलियो बन्धन होला जस्ले न्याय सम्पादन गर्नेलाई यति बलियोसित बाँध्न सक्थ्यो कि उस्ले अन्याय गर्नै सक्तैन थियो । कानुनी बन्धन भन्दा नैतिक बन्धन धेरै बलियो हुन्छ भन्ने यसले प्रस्ट्याउँछ ।

    हालको “राजनीति” राजनीति नभै अर्थ राजनीति हो । यसमा द्रव्यले नै हाम्रो, राम्रो र नैतिकता निर्धारण गरिरहेको छ । यो द्रव्य राजनीतिमा ज-जस्को लबी मिल्छ उसले अर्कोलाई शत्रु देख्छ र मिल्नेलाई आफन्त । यसले समाज, संस्कार र मानवधर्मलाई नै विखण्डित गरिदिएको छ र मानवमा दानवीयरुप भरिदिएको छ फलत: समाज, मानिस र उसको मन मस्तिष्क नै विखण्डित गरिदिएको छ । रगत, नश्ल, घर, वा दल आफन्तको दायरा भित्र परिभाषित गरिदिएको छ । त्यसैले नैतिकता विहीन बनेको समाजले अपराधिलाई दल, अपराधिसमूह, नश्ल वा रगतको नातासँग जोडेर जोगाउने र अपराध लुकाउने कुचेष्टा गरेको छ । नैतिकता र अध्यात्मीकता बिना समाज ध्वंस तिर नै जान्छ ।

    Reply
  6. dor prasad says:
    March 26, 2015 at 11:55 pm

    नेपाल मा बलात्कार मौलाउनु कारण धर्म मान्नु होइन बरु धर्म न मान्नु हो ! अरु धेरै कारण छन् तिनको कुरा पनि राख्नु भए हुन्थ्यो कि !

    Reply
  7. Shankar says:
    March 26, 2015 at 10:45 pm

    यो सायरी , कबिता , गीत सब ले पनि सौन्दर्यको बखान को नाउमा यौन उत्तेजना बढाउने , भड्काउने काम गर्छ | बलात्कार सग सिधै एसको साइनो नपरे पनि घुमाउरो नाता चै छ |
    तेसैले नेपाल , भारत , पाकिस्तान जस्ता देश मा यो सब मा प्रतिबन्ध लाइदिए हुन्छ |
    यो हिरो हिरोनी हरु , पप गाउने हरु सब समाचार मै नाचूँन | रेखा थापा हरु ” माउबादी को प्रमुख नेता प्रचन्डले पेरिस डाडा मा क्र्र्यकर्ताहरुलाई अब चुप नबस्नु र इँटा को जबाफ पत्थर ले दिन आअव्ह्वन गर्नु भयो मा नाचूँ न |”
    न भए
    १) ”बाउले बिहे गर्देनन पोर पनि , भत्काइदिञ्छु बाख्राको खोर पनि ” भन्दै एकैचोटी तोड फोड
    मा उत्रिने आह्वान गर्ने गीत ले के गर्दैन ?
    २) ”आमा बाउलाई फकाई फुलाई बिहे गर म सिट ” केटीलाई एकान्त मा त्यहि भन्ने हो ?
    ३) ”एक्लै तिमि न औ म मातिएको बेला ?” एकलाई आयो भने के हुन्छ त् के भन्न खोजेको ?
    ४) ”कहा थियेउ तिमि रंग मंच छुटेपछि आयेउ , समयले जवानी लुतेपछी आयेउ ” के पहिला आएको भए केहि घटना घटाउने बि ४ थियो कि ?

    तेस्तै हिन्दि गीत , हिरोनी गाउछे
    १) ” वो हसिन दर्द दे दो , जिसे मे गले लगा लुँ, के निगाह मुज पे डालो , के मे जिन्दगि बना दुं”
    के भन्या हो ?
    एसको जबाफ ” फुलको आँखामा फुलाई संसार चै हैन ”

    Reply
  8. प्रविण कुमार के.सी. says:
    March 26, 2015 at 10:02 pm

    बिभिन्न अपराध चाहे त्यो बलात्कार होस या हत्या अथवा जुनसुकै बर्जित कुरा जुन मौजुदा कानूनले अपराध भनि ब्याख्या गरेको छ र सोही आधारमा अपराध गरेर सजाँय पाईसकेका व्यक्तिहरु नै अहिले शासन सत्तामा रहनुको साथै कानून निर्माणमा समेत लागि परिरहेका देखिन्छन् । मौजुदा कानून अनुसार राजनितिक कारणले सजाँय पाईसकेका ब्यक्तिहरुलाई धेरै कुराहरुमा छुट अझ भनौ पाउने सुविधाहरुमा त घोषित वा अघोषित आरक्षणकै व्यवस्था गरेको जस्तो देखिन्छ । कतिपय राजनितिक नेताहरु फौजदारी अभियोगमा सँजाय पाए पनि शासन सत्ताको उच्चतम् तहमा समेत पुगेको देख्‍न पाईन्छन् । अदालते दोषी करार दिएर सजाँय तोकिसकेका व्यक्तिहरु (बिशेष गरी राजनितिक आवरण ओढेका) खुलेआम स्वतन्त्र रुपमा हिड्दा समेत प्रहरीको रेकर्डमा फरार रुपी करार दिएको समेत भेटिन्छ । सिंगो राष्ट्रलाई जिम्मा लिएर हिंड्ने सार्वजनिक पगरी गुथेकाहरुलाई त साक्षी बक्नको लागि कठिन छ भने परिवार भित्र कसैले साक्षी बकिदेला भनेर आश गर्नु भनेको बालुवा पेलेर तेल निस्केलाकि भनेर आश गरे भन्दा फरक नहोला ।
    पराध भनेको अपराधनै हो । अपराध गरेपछि राजा देखि रंक सम्म सजाँयको भागिदार हुनु पर्दछ । कथम कथाचित कुराकानी तथा हिसाब किताब नमिलेर कैदको सजाँय पाएका ठुला बडाहरुलाई समेत कैदीको श्रेणी विभाजन गरेर भि आई पि सुविधा उपलब्ध गराईनु भनेको राज्यले धनि र गरिब माथि गरेको भेदभाव स्पष्ट हुन्छ ।
    जे होस नयाँ कानून बनाएर वा मौजुदा कानूनलाई टेकेर अपराध गर्नेले सजाँय पाउनै पर्छ र सजाँय दिंदा भेदभाव गरिनु हुँदैन भनेर मेरो दुई शब्द यहि समाप्त गर्न चाहन्छु ।

    जय नेपाल ।

    Reply
  9. madan bajracharya says:
    March 26, 2015 at 9:15 pm

    बलात्कार पनि सरकार बादी हुने फौजदारी अभियोग हो/ बलात्कार गर्ने माथि प्रहरीमा रिपोर्ट गरेता पनि बलात्कारीलाई आरोप त् सरकार बाटै लगाइन्छ/ सरकार र बलात्कार गर्ने बीच कानुनन कुनै पनि सहमति र मिलापत्र हुन् सक्दैन/ तसर्थ बलात्कारी र बलात्कृत बिचमा कुनै सहमति र मिलापत्र भय पनि बलात्कारको अभियोग र सजाय बात बलात्कारी बचन नपाउने हो/ तर बाहिर बलात्कारी र बलात्कृत बीच सहमति भयको मिलापत्र भयको भन्दै सरकारले जसरि बलात्कारीलाई उन्मुक्ति दिंदै आयको छ त्यो कुरा गैरकानुनी र अपराधलाई प्रोत्साहन गर्दै आयकोछ/ यस्तो अन्त हुनु पर्छ/ बलात्कारको अभियोग दर्ता भय पछि बलात्कारी र बलात्कृत बीच जेजस्तई सहमति र मिलापत्र भयता पनि बलात्कारको घटना माथि सरकारले गर्नु पर्ने छानबिन र बलात्कार भयको प्रमाणित भयमा बलात्कारीलाई कानुन बमोजिम दिनु पर्ने सजाय दिने पर्छ/

    नेपालमा बलात्कार सम्भंदित कानुन ले दिने सजाय कम छ/ बलात्कारले बलात्कृत नारीको सामाजिक प्रतिष्ठाको हत्या गर्छ / हत्याको अपराध हुनुमा प्रत्यछ्य बा अप्रत्य्छ्य रुपमा हत्या भयको व्यक्तिको पनि कुनै दोस बा गल्ति हुन् सक्छ तर बलात्कारको घटना मा बलात्कृत व्यक्ति को कुनै दोष नै हुँदैन/ त् बलात्कारको अपराध निर्दोष र निर्वल व्यक्तिमाथि गरिने हत्या भन्दा पनि ठुलो र जघन्य अपराध हो / तसर्थ कुनै पनि प्रकारको बलात्कारलाई हत्याको अपराधमा बलात्कारीलाई ज्यानमारालाई दिने भन्दा बढी जेल सजाय र आर्थिक दण्ड दिनु पर्छ/

    Reply
  10. हृदय says:
    March 26, 2015 at 6:08 pm

    पक्कै पनि कानुन बनाउनु भन्दा अझ महत्वपुर्ण पक्ष्य कानुनको कार्यान्वयन हुनु हो l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme