Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म एक साधारण मानिस, एक आम नागरिक

Posted on March 19, 2015 by mysansar

-प्रदीप गौतम-
म एक नेपाली । एक साधारण मानिस । एक आम नागरिक । कुनै नेताको, कार्यकर्ताको परिवारभित्र म पर्दिन न कसैलाई चिनेको नै छु । तँ कुन पार्टीको भनेर कसैले सोध्यो भने स्पष्ट जवाफ मसँग छैन । जीवनभरमा २ पटक मतदान दिने मौका मिलेकोमा दुबै पटक फरक फरक पार्टीमा मतदान गरेको छु । क्याम्पसमा पनि एक पटक भोट हालेको थिएँ । एकजना मित्रले भोट खाजा खुवाउनुभयो, मेरै क्लासमा मेरै सेक्सनमा पढ्ने मित्र, खाजा खाएँ तर भोट अरु कसैलाई हालें । खाजाभन्दा अघि नै भोट खसाइसकेको थिएँ । मित्रलाई बिश्वास रहेछ मैले उनलाई नै हालें भनेर, मैले उनको विश्वास तोड्न चाहिन र नैतिकता बिरुद्र खाजा पनि खाएँ । कुनै सरकारी उच्चपदस्थ कर्मचारीसँग पनि मेरो कुनै लिंक छैन । शहरका डन भनिने ब्यक्तिहरुको त झन् नाम पनि थाह छैन । समाचारहरुमा डनहरुको खबर आएको पढे पनि पछि सम्झना रहँदैन ।

कसैसँग कुनै लिंक नभएको कारणले एक नागरिकले सरकारबाट पाउने जति सेवा छन् ती सबै एक साधारण मानिसको हैसियतले पाएको छु । कसैको लिंकबाट कुनै काम गराएको छुइन र त्यसैले सास्ती पनि पाएको छुु । बिद्युतको महसुल तिर्दा होस् वा मोबाइलको सिम कार्ड लिंदा, बैकमा खाता खोल्दा होस् वा यातायातमा लाइसेन्स बनाउँदा, नागरिकता लिंदा पासपोर्ट बनाउँदा, लोक सेवा वा अन्य संस्थामा दरखास्त फाराम बुझाउँदा सधै एक आम साधारण मानिस भएर, लाइनमा बसेर, कहिलेकाही कर्मचारीको रुखो बचन सुनेर, कहिलेकाही एक मिनेटको काम लागि एक साता धाएर सेवा पाएको छु । सुन्दा कति मिठो लाग्छ यो ’सेवा’ भन्ने शब्द, तर पाउँदा भने … । कतिपय ठाउँमा निशुल्क पनि हुन्छ यो सेवा, तर सम्झन्छु मेरो आम्दानीको १ देखि २५ प्रतिशत सम्म तिर्ने कर यही सेवाको लागि त हो । अघोषित स–शुल्क सेवा पनि लिंदै आएको छु । सरकारले भ्रष्टाचारमा जति कडाइ गर्छ, अघोषित स–शुल्क रकम पनि बढ्दै जान्छ । ‘ के गर्नु हजूर अचेल त हामीलाई कडा छ ‘ भन्दै सेवा पनि कडै हुँदै जान्छ ।

अफिसको सहकर्मीले एकपटक मलाई एउटा प्रश्न गर्नुभयो ‘तपाइँ कस्तो जीवन जीउन चाहनुहुन्छ‘ एउटा साधारण जीवन जिउन चाहने मेरो उत्तर थियो ‘एउटा easy life‘ । हो म एउटा smooth , easy जीवन जिउन चाहन्थे र अहिले पनि त्यही चाहन्छु । मेरो साधन र श्रोतले भ्याएसम्मको सजिलो जीवन । म दैनिक काममा जान पाउँ, मेरो श्रमको राम्रो मूल्याङ्कन होओस्, जीवनका आधारभुत आवश्यकताहरु सरकारले तोकेको मूल्यमा सजिलो सँग पाइयोस्, मैले १०० रुपिंयाको सामान किन्दा मेरो हातमा १०० रुपिंयाकै पाइयोस् । चाहे त्यो सामान होस् वा सेवामा, १ रुपिंया पनि ब्यापारीले अनावश्यक कालो नाफा खान नपाओस् । मेरो परिवारका सदस्य बिरामी पर्दा स–शुल्क नै भएपनि उचित स्वास्थ्य सुविधा पाइयोस् । तर अनावश्यक रुपमा पैसा झार्न विवश बनाउने परिपाटी अन्त्य गराइयोस् । स्वास्थ्य सेवामा सबै संवेदनशिल हुन्छन् र त्यसको फाइदा कसैले नउठाओस् । मेरा बच्चाहरु राम्रो सँग पढ्न पाउन् । उनीहरु पढ्ने स्कुलमा बम नपड्कियोस् ,मेरो छोरा अपहरणमा नपरोस् मेरी छोरी बलात्कृत नभइउन् । मेरी बहिनीको अनुहारमा तेजाब नपरोस्, मेरो भाइले लार्खौ खर्च गरेर पढेर exam दिन नपाउने नहोस् । मेरो आगामी पुस्ताले मात्र भएपनि अन्धकारमा बाँच्न नपरोस् । मेरो मामाको छोराले खाडी मुलुकमा आफ्नो श्रम बेच्न नपरोस्, मेरो अंकलको छोराले लाखौं खर्च गरेर उच्च अध्ययन को लागि अमेरिका जान नपरोस् । मेरो घर अगाडिको खाल्डा खुल्डी पुरियोस् र पटक पटक खन्ने जोत्ने नगरियोस् । फोहोरको दुर्गन्धमा रात बिताउन नपरोस् ।

यो देशका सबै नेताहरु सधैं ठूलो कुरा मात्र गर्नुहुन्छ । तर मलाई ठूलो कुरो चाहिएकै छैन । हामी सबैलाई साधारण कुरा चाहिएको छ । नयाँ नेपाल नयाँ नेपाल भन्नुहुन्छ र पुरानो नेपालको शान्ति हराइदिनुभएको छ । पुरानो नेपालको मिठो अस्तित्व विर्साइदिनुभएको छ । मलाई त माथि भनेको सानो सानो कुरा दिलाइदिनुभए पुग्छ । मलाई दुख दिने खालको बन्द हड्ताल गरेर वहाँहरु गर्व अनुभव गर्नुहुन्छ । मलाई त्यति नगरिदिए पुग्छ । मेरो हक अधिकारको नाममा मलाई दुःख दिने यो कस्तो नियति भोग्नुपर्ने मैले । २५०० मेगावाट बिद्युत उत्पादन गर्ने खोक्रो आश्वासन मलाई चाहिएको छैन, मलाई त बस आधा मात्र भएपनि लोडसेडिङ्ग हटाइदिए पुग्छ । मेटे रेल पनि चाहिएको छैन बसकै भरपर्दो यात्रा पाए पुग्छ । मेलम्चीको सपना होइन शुद्ध पानी पिउन पाए पुग्छ । बैचारिक क्रान्ती दिनोस् मानसिक शान्ति दिनोस् । … आदि इत्यादि केही होइन एउटा पूर्ण नागरिक भएर बाँच्न दिनोस् । एउटा पूर्ण नागरिक जसको सम्पूर्ण अस्तित्वको (लिङ्ग, वर्ण, जात, धर्म, भाषा)को राज्यले सम्मान गरोस् ।

यसतर्फ सबैको ध्यान जाओस् । यो असम्भव पनि छैन । जसरी मैले आफ्नो ठाउँबाट आफ्नो कर्तब्य पुरा गर्दै आएको छु, तपाई हरु सबै पनि आ–आफ्नो ठाउँबाट आफ्नो कर्तब्य पुरा गरिदिनोस् । हरेकले आफ्नो कामप्रति इमान्दारी र पूर्ण जवाफदेहिताका साथ गरे म र म जस्तै हरेक नेपालीले मैले चाहेको जस्तै सरल जीवन बिताउन सक्थे कि ।

म एक साधारण मानिस । म एक आम नागरिक ।

19 thoughts on “म एक साधारण मानिस, एक आम नागरिक”

  1. kishor dahal says:
    March 23, 2015 at 10:54 am

    प्राक्टिकल र आम जनता ले चाहेको नै येही नै हो देश बाट प्रदिप !

    Reply
  2. Pradip Gautam says:
    March 22, 2015 at 10:24 am

    सबै पाठक हरु लाई धेरै धेरै धन्यवाद । मैले जे देखे जे भोगे र जे अनुभब गरे, यो लेख त्यही हो । भनिन्छ नि, आज जे गार्हो छ , सिम्पल हुन गार्हो छ । त्यही सिम्पल लाईफ को परिकल्पना गर्न खोजेको छु यस लेख मार्फत । प्रतिकृया हरु को लागि अझ धेरै धन्यवाद ।

    Reply
  3. Sushil pradhan says:
    March 22, 2015 at 5:46 am

    प्रदीपजी ले २०३६ साल भन्दा पहिलेको नेपालको सपना देख्नु भएको रहेछ .

    Reply
  4. Shankar says:
    March 20, 2015 at 4:30 pm

    खुट्टा तानिलिन्या , भन्या मानिलिन्या , प्राकृतिक स्रोत दिन्या |
    पढ़न्या कम , ज्यादा जानिलिन्या , ८ पास मै बैज्ञानिक हुन्या |
    काक्रा ,फर्सी सबै हिरोनी हुन्या , डाडोले आकाश छुन्या |
    दलाल नेता हुन्या , लुन्गुर हाकिम हुन्या , नेपालि जानी लिन्या |

    —हानु हक्त हाचार्य

    Reply
  5. arun says:
    March 20, 2015 at 12:07 pm

    Agree ..Wish I could had the same

    Reply
  6. लौटन अवधि says:
    March 20, 2015 at 10:44 am

    नेपाली भन्ने अनि झिना मसिना कुरा माग्ने ?
    नेपाली हुन चाहने अनि नियम काइदा का कुरा गर्ने ?
    नेपाल कै रैथाने भन्ने अनि फोहर र लोढ़ सेढ़ीङ्ग को कुरा गर्ने ?

    नेपाली हुन त मन्त्रणि (मन्त्राणि होइन) निलम के सी जस्तो हुनु पर्छ ! “अमेरिका बसेर नेपाल को कुरा गर्ने ?”
    नेपाली हुन त बैद्य बा जस्तो हुनु पर्छ “बिमान निकाल्न भारतीय सामान किन ल्याको?
    नेपाली हुन त बाबुराम जस्तो हुनु पर्छ ” गरिब का छोराछोरी ले बुर्जुवा सिक्ष्या पढ्नु हुदैन – हाम्रा छोरा छोरी चाही बेलायत र इन्डिया तिर पढ्नु पर्छ”
    नेपाली हुन त प्रचण्ड जस्तो हुनुपर्छ “जति स्वास्नी ल्याए पनि मेरो छोरा लाइ कसले के गर्छ ? कानुन त तिमेरु लाइ पो हो”
    नेपाली हुन सुशील दा जस्तो हुनु पर्छ “देखाउदा ३ वटा मोबाइल देखाउने – सिरानी बाट चाहि १० लाख गायब हुने”
    खाट्टी नेपाली हुन त अझ केपी ओली पो हुनु पर्छ ” इन्टरनेट बाट सबै भन्दा महँगो बिदेशी अस्पताल खोज्दै राज्य लाइ उपचार खर्च तिराउदै”
    अझ नेपाली हुन त रास्ट्रपति जस्तो पो हुनु पर्छ “छिरिक्क कहिँ कालो दाग देख्यो कि जापान तिर कुदी हाल्नु पर्छ”

    नेपाली हुन – सबै भन्दा ठुलो माग्ने हुनु पर्छ ! सोमालिया तिर गए भनेपनि सोमालिया ले यति आर्थिक सहयोग दिने भनेको छ भनेर भी भी आइ पी लाउन्ज बाट भासन गर्न सक्ने हुनुपर्छ ! बाटो मागेरै बनौन सक्ने हुनु पर्छ, रेलिङ्ग, बाटो को बत्ति, पुल, बिमान स्थल, बिमान, संबिधान लेखिने कागज, कलम, हाइड्रो पावर, सिंचाई, सब का सब मागेरै बनौन सक्ने हुनु पर्छ ! अनि बेला बेला रिस उठ्दा तोड्न फोड्न, आगो झोस्न, बम हालेर उडाउन सक्ने हुनु पर्छ अनि पो नेपाली भइन्छ ! यी झिना मसिना कुरा ले थोडै नेपाली भइन्छ ?

    Reply
  7. डिल्ली says:
    March 20, 2015 at 10:16 am

    कुरो एकदम सही । स्वतन्त्ररुपमा बाँच्न चाहनेहरू नै सबै भन्दा मारमा छौँ । स्वतन्त्र नागरिकहरू जो आफूलाई नेपाली ठान्छन् उनीहरू निरीहरुपमा अभाबै अभाबमा बाँच्न विवश छन् । नेपाल नामको देशको नागरिक कम दल, रङ र जात बढी छ । यो देशका नागरिक कुनै राज्यमा कुनै पार्टी वा जातको समर्थक वा कार्यकर्ता वा नेताको रुपमा सबै विभक्त छन् । कर्मचारी छैनन् युनियनका पदाधिकारी, समर्थक वा पार्टी निर्दिष्ट सल्लाहकार छन् । मानिस बस्तैनन् यो देशमा जात, रङ, धर्म, सम्प्रदाय र भूगोल बस्छन् । सबैले गोमन सर्पको बिष थैली घाँटीमा झुण्ड्याएर बसेका छन् समय आए पछि तम्तयार भएर एकले अर्कोलाई डस्नु छ । कर्मचारी भ्रष्ट देख्दैनन् नेता भ्रष्ट देख्दैनन् समर्थकहरूले “आफ्ना”लाई सधैँ महान देख्छन् । इमान्दारहरूलाई भ्रष्टले भ्रष्ट प्रामाणीत गरिदिन्छन् । अदालतले भ्रष्टै हो भने पनि समर्थकहरू डोली चढाएर फूलमाला पहिर्याएर खादा ओढाएर कञ्चन पार्छन् । बिदेशी मित्रु र स्वदेशी शत्रु छन् यो देशमा । त्यसैले सबै मडारीका बाँदर बन्दै छन् । तबलाको तालसँगै, विनको धूनसँगै रङ रङ र ढङ ढङका नाच देख्छौँ । विदेशी ताण्डब देशमा नाच्दा पनि अबीर जात्रा गर्दैछौँ । सायद यही होला नयाँ नेपाल ।

    Reply
  8. jitu says:
    March 20, 2015 at 2:34 am

    अति सान्दर्विक लेख, हाम्रा नेता नीति निर्माताहरुलाई चेतना भया . जनताले चाहेको यत्ति हो अहिले को नेपाली परिबेशमा . जनतालाई सरल सेवा दिन लागिपर्ने नेता र पार्टी कुन र कति छन् ल आउनुस जनतालाई सघाउन ?

    Reply
  9. भोला says:
    March 20, 2015 at 12:51 am

    सरल प्रस्तुति, सटीक प्रहार। प्रदीप जी को लेख राम्रो लाग्यो।

    Reply
  10. Jha says:
    March 19, 2015 at 11:48 pm

    राम्रो लेख तर यो कुरा लेखमा मात्र सिमित छ; नेपालको परिस्थितिमा अहिले यो सम्भभ नै लाग्दैन मलाई; जब सम्म देशमा राजनीति स्थिर हुदैन र राजनीति गर्नेहरु देश र जनता पार्टी समर्पित हुदैन यो असम्भभ नै होला; तर लेख अति राम्रो छ

    Reply
  11. subash says:
    March 19, 2015 at 10:41 pm

    प्रदिपजी, हामी सारा नेपालीको मनको कुरा पोखिदिनुभएकोमा मुरीका मुरी धन्यबाद!

    Reply
  12. Rohini says:
    March 19, 2015 at 9:46 pm

    हामी जनतालाई ठुलो कुरो चाहिएकै छैन | हामी सबैलाई साधारण कुरा चाहिएको छ | कुरो सहि हो |

    Reply
  13. sharma says:
    March 19, 2015 at 9:42 pm

    हो , sir , हो. , हामी नेपाली ले खोजेको नै येही हो … बिदेसी ka पुछार हरु ले हाम्रो देस खत्तम बनाई दिए…..

    Reply
  14. BS says:
    March 19, 2015 at 9:19 pm

    प्रदिप जी, धेरै धेरै धन्यबाद यो उत्तम लेखको लागी / As you mentioned, the government and all political parties are forcing people to make थेइर (people’s) life more complex than simple. मेरो पनि तपाइको जस्तै सोचाइ छ / मलाई बिश्वास छ लाखौ-लाख नेपालीको सोचाइ पनि यस्तै छ / र, हामीले यही जीबनलाइ निरन्तरता दिनुपर्छ / ती मान्छेहरु जो राजनीतिको छाहारी र सुरक्षा पाइरहेका छन्, तिनीहरु सधै धमिलो पानीमा माछा मार्न चाहन्छन् / यस्ता मान्छेहरुसँग आत्मविश्वासको कमी हुन्छ, र आफ्नो अमूल्य जीबन जनताको लागी होइन, आफ्ना (सम्बन्धित) पार्टी र नेताको लागी वेस्ट (waste) गरिरहेका छन् / त्यो मान्छे जो आफ्नो जीबन आफ्नो बिबेकले बाच्न सक्दैन, ऊ बाँची-बाँची मरिरहेको हुन्छ / हाल राजनीतिको छायामा बाच्नेहरु यस्तै हुन् / मौसम अनुसारको बोली फेर्छन, परिस्थिती अनुसारको चस्मा लगाउछन, कहिले धेरै निच बन्छन, कहीले महान (एउटा भ्रम मात्रै) बन्ने प्रयत्न गर्छन् / यिनीहरु संग सदाचार नामको जन्तु मरिसकेको हुन्छ / आत्म-समिक्षाको त कुरै छोडौ / भलै यिनीहरुले जीबनमा करोडौ कमाउन्, यिनिहरुको मनभित्र कहिल्यै शान्ती हुँदैन । यदी यिनिहरु (राजनितीकर्मीहरु) सत्य रुपमा जनता र देशको लागि जन्मेका हुन् भने आफ्नो चश्मा खोलेर निस्वार्थ भावले जनताको सेवामा जुटुन् ।

    Reply
  15. xyz says:
    March 19, 2015 at 3:06 pm

    राम्रो मन छुने लेख, डा राम सरन महत लै पढाउनु पर्ने रहेछ, तपाई ले खानु पर्ने चकि हरु: global macro economic stabilization, BOP, deficit, GDP, structural transformation, supply side rigidity, privatization,

    Reply
  16. Shankar says:
    March 19, 2015 at 1:40 pm

    नेपाल मा ये आम आदमी भएर , सरल जिबन यापन गर्न गाह्रो छ | इन्डिया मा जस्तो हैन , त्याहा त् आम आदमी को प्रतिनिधि सम्म खडा भैसके |
    कारणहरु
    १) इन्डिया जस्तो छिमेक हुनु |
    इन्डिया को नजर नेपाल को अपार जल स्रोत , जडिबुटी ,खनिज मा छ , यहा शान्ति , बिकास र नेपालि नेपालि बीच एकता हुदा यो लुट्न गाह्रो हुने भएकोले , उसले यहा कृत्रिम द्वन्द सिर्जना गरिदिएको छ , नेपालि नेपालि बीच द्वन्द को बिउ रोपिदिएको छ |
    र इन्डियन लघु मानसिकता | दादा बन्ने चाहना |

    २) पस्चिमिदेश र अमेरिका
    उनीहरु प्रचण्ड ले भनेजस्तो ” ढाड मा टेकेर टाउकोमा हान्ने ”याने कि चीन लाइ निसाना बनाएर , नेपाल मा आगो झोस्ने |
    प्रचण्ड ले त् तेसो गर्न सकेन , बरु उसले आफनै बाउको काख मा बसेर गालामा चड्कन चै हान्यो | तर अरुले उसको बिचार लाइ लागु चै गर्दैछ |

    Reply
  17. bibek dhakal says:
    March 19, 2015 at 1:33 pm

    एकदम राम्रो लाग्यो. हो सबैले चाहनु पर्ने तेइ नै हो जस्तो लाग्छ. ठुला ठुला नचाहिने महत्वाकांक्षा राखेर केहि हुने वाला छैन. तर तपाइले भनेको जस्तो साधारण समाजको लागि पनि परिवर्तन चाही ठुलै चाहिएको छ याहा. र परिवर्तन व्यक्तिबाट आउछ. विश्वको इतिहास संग तुलना गर्न हो भने अहिलेको स्थितिबाट माथि भनिएजस्तो एउटा कल्पना गर्न सकिने समाज , नकि नेताहरुको घोसनापत्रमा झल्किने युटोपियन समाज, सम्म पुग्न पनि ठुलो द्वन्द बाट गुज्रिनु पर्ने आवस्यक देखिएला. तर आशा गरम ज्ञान र विज्ञान को यो स्वर्णिम युगमा भित्रि ज्ञान र बाहिरि बिज्ञानको उचित प्रयोगबाट नै तपाइले भने जस्तो समाज स्थापित होस्.
    तपाइको लेखमा मनपरेको ‘ ..२५०० मेगावाट बिद्युत उत्पादन गर्ने खोक्रो आश्वासन मलाई चाहिएको छैन, मलाई त बस आधा मात्र भएपनि लोडसेडिङ्ग हटाइदिए पुग्छ । मेटे रेल पनि चाहिएको छैन बसकै भरपर्दो यात्रा पाए पुग्छ । मेलम्चीको सपना होइन शुद्ध पानी पिउन पाए पुग्छ । बैचारिक क्रान्ती दिनोस् मानसिक शान्ति दिनोस् …’ एकदम ठिक. नहुने कुरामा दिवास्वप्न देखेर समय बर्बाद गर्नु भन्दा सकिने कुरा र सबैको हित हुने कुरा गराउन सबै लागि पर्नु पर्छ.
    तर स्वस्थ सेवा र सिक्षालाइ व्यापारमुक्त बनाउने कुरामा भने कम्प्रमाइज गर्नु हुन्न. मेरो बिचारमा ति दुइ सेवालाई पैसा कमाउने बाटो बनाउन निरुत्साहित गर्नु पर्छ.

    Reply
  18. Saroj says:
    March 19, 2015 at 12:23 pm

    यो लेख निक्कै रोचक अनि संदभिक लग्यो. आम मान्छे लाई चाहिने तेही हो. बढ्ता गफ गर्नु , भासन गर्नु भन्दा ति साधारण कुरा हरु का समस्या हरु लाई समाधान मात्र गर्नु तिर लग्नु बेस हुन् छ.

    Reply
  19. Ganesh says:
    March 19, 2015 at 11:54 am

    यथार्थपरक लेख

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme