नेपालको ब्रोडसिट दैनिकको मूलधारे पत्रकारिताको आत्मालाई फेरि एक पटक श्रद्धाञ्जलि दिनुपर्ने अर्थात् #RIPJournalism भन्नुपर्ने स्थिति आएको छ। नागरिक दैनिकले सोमबार छापेको यस्तै खबरको आक्रमणको प्रत्याक्रमण कम्तिमा चार वटा ब्रोडसिट दैनिकमा ‘समाचार’ को रुपमा छापिएको छ। आचार संहितालाई अचार बनाएर पचाइदिने यी खबरले पत्रकारिताको विकृत रुप उजागर गरेको छ।
मूलधारे पत्रिकाको आर्थिक ब्युरो मार्केटिङ विभागबाट प्रभावित हुन्छन्। उनीहरुकै योगदानले #PRJournalism अर्थात् विज्ञप्ति पत्रकारिता बाध्यता बन्छ। कुनै बैँकको एटिएम खुलेको, शाखा खुलेको, फलानो समूहले १५ सय रुपैयाँ छात्रवृत्ति दिएको जस्ता कुरा ‘समाचार’ बनाइन्छ। मार्केटिङमै राम्रो काम गर्नुभएकोले सम्पादक बनाइदिएँ भनेर समेत केही प्रकाशकहरु सार्वजनिक रुपमा भन्न हिच्किचाउँदैनन्। तर जब पत्रिका र कम्पनीबीचको स्वार्थका खेलमा पत्रकारिताको उपयोग गरिन्छ, तब समग्र पत्रकारिताको अवसानका लागि खेद जनाउनु पर्ने स्थिति आइलाग्छ।
घटनाको शृङ्खला
मोफसलका पत्रिका, साप्ताहिक पत्रिका र मौसमी पत्रिकाको कुरा नगरौँ, मूलधारे पत्रकारिताको खम्बाका रुपमा लिइएका पत्रिकाहरु मध्ये दोस्रो नम्बरको मानिने नागरिक दैनिकले सोमबार एउटा खबर आर्थिक पुल आउटको पहिलो पेजमा छाप्यो – बाइक किन्दै हो ? विचार पुर्याउनुस्
समाचारको सारलाई पत्रिका आफैले हाइलाइटकै रुपमा यसरी राखेको थियो : यामाहाको रिसेल मूल्य नै छैन, न त यसले माइलेज नै धेरै दिन्छ। यसैले होला नेपालमा सबैभन्दा सबैभन्दा कम बिक्री हुने बाइक हो यामाहा। यामाहा बाइक जसजसले किने अहिले पछुताइरहेका छन्, यामाहा बाइक सर्भिसिङ गर्दा कोरिने गरेको जस्ता तथ्य पत्रिकाले पस्केको थियो।
त्यसको तीन दिनपछि बिहीबार नेपाल समाचारपत्र, राजधानी दैनिक, अन्नपूर्ण पोस्ट र कारोबार आर्थिक राष्ट्रिय दैनिक गरी चार वटा पत्रिकामा एउटै समाचार छापियो : यामाहाको बाइकप्रति बढ्दो आकर्षण।
रमाइलो तुलना यसरी हुन्छ:
नागरिक : यामाहाको बाइकले माइलेज धेरै दिँदैन।
नेपाल समाचारपत्र, राजधानी, अन्नपूर्ण, कारोबार : आकर्षक, आरामदायी, सुविधायुक्त र प्रशस्त माइलेज दिन्छ।
नागरिक : नेपालमा सबैभन्दा सबैभन्दा कम बिक्री हुने बाइक हो यामाहा।
नेपाल समाचारपत्र, राजधानी, अन्नपूर्ण, कारोबार : यामाहा स्कुटरको माग र बिक्री उल्लेख्य बढेको। नेपालको स्कुटर बजारमा दोस्रो स्थान लिन सफलसमेत भएको।
नागरिक : ग्लोबल आइएमई बैंकमा कार्यरत अनिता राजभण्डारीले फेजर रेज स्कुटरको एयरफिल्टर प्रत्येक महिना फेर्नुपर्ने बताइन्। ‘महिनाको ५–७ सय रुपैयाँ त फिल्टर फेर्नै लाग्छ,’ उनले भनिन्, ‘माइलेज पनि कम दिने हुनाले स्कुटर धान्नै गाह्रो छ।’
राजधानी : बनेपा निवासी विपना कोइराला भन्छिन्, ‘यामाहाको विशेषता भनेकै स्टाइल, उच्च प्रविधि र माइलेज हो । यामाहाको स्कुटर चलाउँदा पूर्ण सन्तुष्टि प्राप्त हुन्छ र रिपेर मेन्टिनेन्समा खासै खर्च हुँदैन ।’
नागरिक : यामाहामा अरु बाइक जस्तो रिसेल मूल्य छैन।
नेपाल समाचारपत्र, राजधानी, अन्नपूर्ण, कारोबार : उत्कृष्ट रि–सेल भ्यालुको ग्यारेन्टीसमेत कम्पनीले नै गरिदिने।
माथिका केही वाक्यको उदाहरण नै पर्याप्त छ किन पत्रकारिताको आत्मालाई श्रद्धाञ्जलि भन्न बाध्य पारियो।
पत्रिका, पत्रकारिताका ठूल्ठूला आदर्श छाँटने वाणीहरुसँग खासै वास्ता नभएको एक सामान्य पाठकले दुई थरि पत्रिका नै पढ्यो भने उसले कसलाई सराप्ला- पक्कै पनि समग्र पत्रकारितालाई नै।
पढ्नुस् कुन पत्रिकामा कस्ता समाचार आए?
नेपाल समाचारपत्र : यामाहाको स्कुटरप्रति ग्राहकको आकर्षण
अन्नपूर्ण पोस्ट : यामाहाको स्कुटरप्रति ग्राहकको आकर्षण
कारोबार : यामाहाको स्कुटरप्रति ग्राहकको आकर्षण
राजधानी : एक सातामै साढे ३ सय यामाहा स्कुटर बिक्री
के छ त उपाय ?
पत्रकारिता क्षेत्रलाई यस्ता विकृतिबाट बचाई मर्यादित बनाउने जिम्मा नेपाल सरकारको अर्ध न्यायिक संस्था नेपाल प्रेस काउन्सिलको हो। तर काउन्सिलको भूमिका यो प्रकरणमा अहिलेसम्म सून्य देखिन्छ।
काउन्सिलको आचार संहितामा भनिएको छ : एउटा सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचारको खण्डन सामान्यतः अर्को सञ्चारमाध्यमले गर्नु हुँदैन।
सामान्य पाठकले समेत थाहा पाउने गरी पत्रिकाहरुले पत्रकारिताको हुर्मत लिइरहेको बेला समेत काउन्सिल मूकदर्शक नै छ।
यस विषयमा अनुसन्धान गरेका उज्ज्वल प्रजापतिले Safeguarding Public Interest in the era of Corporate Media मा यस्ता केही सुझाव दिएका छन्-
-मिडिया हाउसभित्रै आचार संहिता विकास गर्ने,
-संगठन भित्रै एथिकल एडिटर नियुक्त गरी समाचार संस्थाको दैनिक गतिविधि र मिडिया सामाग्रीबारे हेर्न अलग युनिट खडा गर्ने,
-मिडिया संस्थाले आफ्ना नाफा र घाटासहितको आर्थिक स्थिति वार्षिक रुपमा सार्वजनिक गर्ने।
तर यसका लागि मिडिया मालिकहरु तयार पनि हुनुपर्यो नि।
#RIPJournalism को थप उदाहरण देख्नुपर्ने स्थिति नआओस् भनेर अहिलेलाई कामना मात्रै गर्न सकिन्छ।
Thank you for this post. Was able to use it as an example of bad journalism
लेखाई र प्रस्तुतिमा जति दक्ष्य भयपनी अधिकांस नेपाली पत्रुकारहरु सबै चाटुकार हुन् भन्ने थाहा पाउन जन्मेपछि कम्तिमा पनि ३० बर्ष लाग्दो रहेछ, मेरो व्यक्तिगत अनुभव मा | मैले त धेरै भयो नेपाली खबरपत्रिका त के यिनीहरुको वेब साइट पनि हेर्न छोडेको |
If a person is interested in buying a new motorcycle, he/she should understand Nepali information based news media is not a place to rely on. I could not help laughing when I read ” बनेपा निवासी विपना कोइराला भन्छिन्, ‘यामाहाको विशेषता भनेकै स्टाइल, उच्च प्रविधि र माइलेज हो”. How does she know about the उच्च प्रविधि used in it or does she even really know what she is talking about, unless she is an automotive engineer? And moreover it does not mean that other bikes do not have similar or better उच्च प्रविधि.
There are thousands of free resources in the internet which can be utilized to understand the features/ pros and cons of a product rather than these time pass tech articles from Nepali news outlets. It’s all about how one chooses to make his/her decision.
It is waste of money to buy any Nepalese news paper and real waste of time to read it.
Does it really makes any difference to anybody if they give damn to any of the medias.
Better utilise that time do something at home and look after your family.
नागरिक ले बिज्ञापन नपाएको झोक मा लेख्यो अरु ले पाउने आसमा लेखे……समयमा तलब खुवाउन पनि नसकेका मिडियाका साहुजीहरु…..के गर्दा हुने र नहुने मेसो पाउन छाडेको अवस्था छ जस्तो लाग्छ
मलाई त राज नेता र पत्रकार हरु समानान्तर लाग्छन | तल माथि दाया बाया कतै बाट पनि नसुहाउनेहरु साम्सद पनि बनाइञ्छन अनि तेस्तै समाचार पनि छापिन्छन | दुबैलाई बिस्वास गर्न गारो छ |
नेपाली मिडियाको अहिलेको भूमिका भनेको भएको घटनाको जानकारी दिने मात्रै हो. प्राय हेडलाइन पढे पुग्छ. बाँकी सबै समाचार पढ्ने हो भने अनावस्यक कुराहरु पाठकको दिमागमा जबर्जस्ती घुसाउन खोजेको प्रस्ट हुन्छ. बरिस्ठ पत्रकार देखि नयाँ नयाँ पत्रकार सबै आफ्नो पेशागत संस्था बाहेक राजनीतिक अथवा कर्पोरेट, कुनै न कुनै समूह संग आबद्ध हुन्छन. अनि घटनालाई आफ्नो `गैर पत्रकारिता` आस्था अनुसार बखान गर्ने गर्छन. त्यसैले नेपाली पत्रकारिताले आफ्नो विश्वसनीयता गुमाउदै छ.