Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पशुपतिमा भारतीय पुजारी Vs भारतको काशीमा नेपाली पुजारी : यस्तो छ फरक

Posted on February 17, 2015February 17, 2015 by Salokya

1-IMG_4657 आज शिवरात्रि। नेपालको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलै लाम हुन्छ। पशुपतिनाथमा मूलभट्ट भारतीय हुन्छन्। उता भारतको काशीमा रहेको विश्वनाथ बाबाको मन्दिरमा भने नेपाली पूजारी छन्। फरक के हो भने पशुपतिनाथमा भारतीय पुजारी नै हुनुपर्छ भन्ने नियम छ। विश्वनाथ मन्दिरमा भने नेपाली हुनुपर्ने भन्ने नियमका कारण नेपाली पुजारी भएका हैनन्। त्यहाँ योग्यताले, ४८० जनासँगै परीक्षा दिएर उनी नियुक्त भएका हुन्। अर्को फरक तलब हो। नेपालका पशुपतिनाथको मूलभट्टको तलब र त्यहाँका पुजारीको तलबमा आकाश जमिन फरक छ। यहाँ लाख तलब पाउँदा त्यहाँ १५ हजार आइसीमात्रै पाइन्छ। भदौमा म त्यहाँ पुगेको थिएँ। असोजमा तिनै पुजारीबारे पहिलोपोस्टमा छापिएको यो आलेख आज सान्दर्भिक भएकोले राख्दैछु।

संविधानसभा बैठकमा गएको साउनमा सम्बोधन गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काशीस्थित विश्वनाथ मन्दिरका नेपाली पुजारीले आफ्नो नेपालसँगको नाता अझै गाढा बनाएको बताएका थिए।

भारतको सांस्कृतिक राजधानी मानिने काशीको संसदीय क्षेत्रबाट निर्वाचन जितेर प्रधानमन्त्री भएका मोदीले भनेका थिए, ‘जब म काशीको प्रतिनिधि बनेँ, मेरो नेपालसँगको नाता अझै जोडियो। किनभने काशीमा एउटा मन्दिर छ, जहाँ पुजारी नेपालको हुने गर्छ। र, नेपालमा पशुपतिनाथ छ, जहाँका पुजारी भारतीय हुन्छन्।’

मोदीले यसो भनिरहँदा बैठक सभासद्हरुको तालीले गुञ्जायमान बनेको थियो।

को हुन् त भारतको महत्त्वपूर्ण मन्दिरमा बसेर नेपालसित मोदीलाई अझै नजिक्याउने ती ‘हाइप्रोफाइल’ पुजारी? यो थाहा पाउन पहिलोपोस्ट टिम भदौको दोस्रो साता काशी पुगेको थियो।

काशी विश्वनाथ मन्दिर
हिन्दुहरुको पवित्र तीर्थस्थल काशीमा रहेको एउटा प्रमुख मन्दिर काशी विश्वनाथ मन्दिर हो। भगवान शिवको यो मन्दिर दर्शन गर्न प्रति वर्ष लाखौँ यात्री आउँछन्।

ध्वनि प्रदूषणमा कुख्याति कमाएको काशीका साँघुरा सडकबाट काठमाडौँको असनभित्रका जस्ता साना गल्लीहरुबाट केही मिनेट अगाडि बढेपछि कडा सुरक्षा घेरामा रहेको विश्वनाथ मन्दिर देखिन्छ।

मन्दिरमा २१ जना पूजारी छन् तर मुख्य गर्भगृहमा पूजा गर्ने अनुमति ११ पुजारीलाई मात्रै छ। तिनैमध्ये एक हुन् बाग्लुङको भीमपोखरा गाविसमा जन्मिएका टेकनारायण उपाध्याय।

राति नौ बजे मन्दिर पुग्दा उपाध्याय आफ्ना भारतीय सहकर्मीहरुका साथ १२ ज्योतिर्लिंगमध्ये एक विश्वेश्वर ज्योतिर्लिङ्ग शृङ्गार गर्दै थिए। भारतीय पुजारीहरु लगातार मन्त्रोच्चारण गर्दै थिए, उनी भने मन्त्रोच्चारणसँगै ज्योतिर्लिङ्गलाई एकपछि अर्को गर्दै फूलमालाहरुले सजाउँदै थिए। एक घण्टाभन्दा लामो समय सजावट र भोगआरती पछि केही भारतीय सहयोगी पुजारीहरुले उनलाई खुट्टैमा ढोगे।

बाग्लुङदेखि बनारससम्म
‘विश्वनाथ मन्दिरको सेवामा लागेको १४ वर्ष भयो’, पुजारी बन्नुभन्दा पहिलेदेखिको आफ्नो निवासमा पहिलोपोस्टसित कुरा गर्दै उपाध्यायले भने, ‘सेवा शर्त नियमावली बनिनसकेकोले जबसम्म शरीर चल्छ, ७०-८० वर्षसम्म पनि, सेवा गर्ने अवसर पाइन्छ।’

उत्तर प्रदेश राज्य सरकार मातहत रहेको ट्रस्टले सबै पूजारीलाई तलबभत्ता दिएर मन्दिर सञ्चालन गर्ने गरेको छ। उनको तलब भारु १५ हजार रुपियाँमात्रै हो। तर रकमभन्दा पनि सबैतिरबाट आफूले पाउने सम्मानलाई उनी गौरवका साथ लिन्छन्।

काठमाडौँको पशुपतिनाथमा जस्तो विश्वनाथ मन्दिरमा नेपाली पुजारी हुनुपर्ने परम्परा भने छैन। ‘विश्वनाथ मन्दिरको अहिलेसम्मको इतिहासमा म नै पहिलो नेपाली पुजारी हुँ, उनले भने।

‘म स्याङ्ग्जाबाट बस चढ्दै गोरखपुर पुगेको थिएँ,’ १६ वर्षको उमेरमा बाग्लुङदेखि बनारससम्मको यात्रा सम्झँदै उनले सुनाए, ‘काशी आउँछु भन्ने थियो। तर काशीको बारेमा मलाई केही थाहा थिएन। इतिहासमा पढेको थिएँ काशी संसारभन्दा अलग छ, भगवान पशुपतिनाथको त्रिशुलमा बसेको छ काशी।’

‘यहाँ आएपछि कति दिन भोकै बस्नुपर्‍यो। कति दिन घाटका सिँढीहरुमा सुत्नुपर्‍यो’, आफ्नो स‍ंघर्षका दिनहरु सम्झँदा उनी भावुक देखिए।

बाग्लुङमै हुँदा उनले रामकोटस्थित परमानन्द वेद विद्यालयमा पढेका थिए। पन्डित पिताकै साथमा लागेर उनी पनि पूजाआजा लगाउने काम गर्थे। काशीमा पनि एक वर्षपछि पूजापाठ गर्न सुरु गरे। सँगसँगै बनारस हिन्दु विश्वविद्यालयमा अध्ययन पनि जारी राखे।

अध्ययनकै क्रममा सन् १९९० मा काशी नरेशको पुजारी बन्ने मौका पाए। ‘परीक्षा दिएर छनौट भएको हुँ’, उनले भने, ‘८० जनाले परीक्षा दिएकोमा दुई जना छनौट भएका थिए जसमा म पनि परेँ।’

‘काशी नरेशलाई वेद सुनाउन म नियुक्त भएको थिएँ,’ उपाध्याय सम्झन्छन्‌, ‘त्यसपछि मलाई पढ्न र दैनिक खर्च जुटाउन समस्या भएन।’

सेनामा भर्ती
सन् १९९५ मा उनी भारतीय सेनाको गोर्खा फौजमा भर्ती भए। त्यतिबेला उनी भर्खर २०/२१ वर्षका थिए।

फौजमा भर्ती भएपछि उनले आफ्ना पितालाई यो खबर सुनाउन चाहे। ‘त्यतिबेला अहिले जस्तो मोबाइलको सुविधा थिएन, तार पठाउनु पर्थ्यो। म हजुरसित बात गर्न चाहन्छु भनेर तार पठाएँ। एक हप्ता लाग्थ्यो सदरमुकाम आउन’, आफ्नो जीवनधार परिवर्तन गर्ने त्यो क्षण सम्झँदै उनी भन्छन्, ‘पिताजीलाई मैले म सेनामा भर्ती भएको कुरा सुनाएँ।’

‘म सेनामा भर्ती त भएँ, अब हजुरको आदेश के छ भनेर सोध्दा उहाँले भन्नुभयो, सेनामा गएर आफ्नो जीवन त आरामले बिताउने भइस् बाबु, म मरेपछि पिण्ड र जल कसले देला?’

पिताको अन्तरक्लेष देखेर उनले क्रान्तिकारी निर्णय लिए। र, तत्कालै भने, ‘म सेनामा जान्नँ पिताजी।’

सेनाको जागिर खान उनी त्यहाँबाट फर्केर कहिल्यै गएनन्।

१९९७ मा उनले वेदको परीक्षामा स्वर्ण पदक पाए। त्यसपछि उनलाई स्वर्गद्वारीदेखि जनकपुरसम्मबाट वेद पढाउने अफर आयो।

नेपाल जान तयार पनि भइसकेका थिए। तर त्यसअघि सल्लाह लिन बनारसकै एक जना कहलिएका सन्त कहाँ गए। उनले ‘कल तुम्हेँ बताएँगे’ भन्दै फर्काइदिए।

त्यही रात उनले सपनामा विश्वनाथ दर्शन गरिसकेपछि एक जना सन्तले प्रसाद लिऊ भनेर दिएको देख्छन्। भोलिपल्ट सन्तलाई त्यही कुरा सुनाएपछि उनले भनेछन्, ‘अब तुमको काशी छोडके कहीँ नहीँ जाना है।’

‘बाबा विश्वनाथले तिमीलाई पोको दिएका छन्, त्यसैबाट जीवनपर्यन्त खाँदै बस, कहिल्यै सकिने छैन, कतै जानु पर्दैन’ सन्तको भनाई अहिले पनि झल्झली सम्झन्छन् उनी।

त्यसको केही समयपछि नै विश्वनाथ मन्दिरमा पूजारीको ‘वान्टेड’ निस्कियो। ४८० जना प्रत्याशी। नियुक्त हुने स‍ंख्या जम्मा पाँच। उनले पनि परीक्षा दिए। छनौट समितिले सबै कुरामा निपुण देखेपछि उपाध्यायले पूजारीको नियुक्ति पाए।

मोदी कनेक्सन
संविधान सभामा आफ्नो बारेमा मोदीले गरेको सम्बोधनबाट उनी दङ्ग छन्। त्यसो त प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि नै नरेन्द्र मोदीसित उपाध्यायको चिनजान थियो।

आफ्नो नेतृत्वको भारतीय जनता पार्टीले अत्यधिक बहुमत पाएर प्रधानमन्त्री हुने निश्चित भइसकेपछि मोदी विश्वनाथ मन्दिरमा पूजा गर्न आएका थिए।

त्यसै क्रममा दक्षिणा माग्दा आफूले भनेको कुरालाई नेपालीमा अनुवाद गर्दै उनी सुनाउँछन्, ‘नेपालको जनतासँग तपाईँप्रति धेरै आशा छ। नेपाल हिन्दु राष्ट्र थियो, अझै पनि छ। तर केही स्वार्थी तत्वले राजनीतिक षड्यन्त्र गरी नेपालको हिन्दु राष्ट्रको अस्तित्वलाई समाप्त गर्न खोजिँदैछ। त्यसबाट तपाईँले बचाउनु पर्छ। यो शरीर नेपालको हो, त्यसैले म नेपालको तर्फ, नेपाली जनताको तर्फबाट तपाईँलाई निवेदन गरिरहेको छु। मेरो लागि दक्षिणा यही हुनेछ।’

सांस्कृतिक सम्बन्ध
मोदीले विश्वनाथ र पशुपतिनाथलाई जोड्ने गरी गरेको सम्बोधनपछि यहाँ नेपालप्रतिको चासो बढेको अनुभव गर्छन् उपाध्याय। ‘भारतमा रहेको द्वादश ज्योर्तिलिङको दर्शन गरेर जबसम्म पशुपतिको दर्शन गरिँदैन तबसम्म पुण्य पाइँदैन भनेर धर्मशास्त्रमा लेखिएको छ। म यहाँका श्रद्धालुहरुलाई त्यही सुनाउँछु।

नेपालबाट विश्वनाथको दर्शनमा पुग्ने श्रद्धालुहरुप्रति उनको विशेष लगाव रहन्छ। पण्डाहरुबाट ठगिएका नेपाली श्रद्धालुलाई कति पटक उनले आफै बोलाएरै विश्वनाथको ज्योर्तिलिङ दर्शन गराएको उनी बताउँछन्।

राष्ट्रपति रामवरण यादवले पनि विश्वनाथ दर्शन गर्न आउँदा आफूलाई पशुपतिबारे यहाँका श्रद्धालुलाई बताइरहन भनेको उनी सुनाउँछन्।

9 thoughts on “पशुपतिमा भारतीय पुजारी Vs भारतको काशीमा नेपाली पुजारी : यस्तो छ फरक”

  1. kanncha says:
    February 22, 2015 at 2:12 am

    फरक त के पर्नु र भारतीय लंगौती धोतीले पर्ती महिनामा करोडौ लैजान्छ मेर्चिदेंच बेञ्च कार chadera हाम्रो सिधा गोर्खालीले मात्र जम्मा जम्मी भारु केहि हजार वा लाख लिएर फर्कन्छ

    अस्तु अहिले लाई

    Reply
  2. Prakash says:
    February 19, 2015 at 1:59 pm

    कस्तो नियेम हो तेस्तो पुजारी त्यो पनि ढुंगाको मुर्तिलाई सेवा गर्ने लै किन लाख तलब र तेस्मा कुन बिधान मा लेखिएको छ भारतीय नै हुनुपर्छ भनेर भगवान को पुजा गर्न सच्चा भक्त होस् रसच्चा धर्म होस् भने किन एस्तो बेभिचार के मानब सबै बराबर हैनर मलाई धर्म संग कुनै मतलब छैन तर Hindu धर्मको मन नपर्ने कुरा हरु एस्त येस्तै Hun तल्लो जात माथिल्लो जात छुवाछुत हुने नहुने मनाबिये कल्पनाका कथा हरु के सच्चो bhagawan le नै chuttaucha हो हिन्दुधर्म मा एस्त कुरा हरु क हिन्दु धर्ममा येस्तै भेदभाब क कुराहरु छन् हो छैन भने किन येस्तोता के हिन्दु धर्ममा नाङ्गो भएर हिन्नु धर्म मिल्छ भनेको छ

    Reply
  3. बशन्त राज says:
    February 19, 2015 at 1:23 am

    म यहाँ केहि प्रसङ्ग उल्लेख गर्न चाहन्छु/
    साउदी अरेबियामा तेल सकियपनि इस्लामिक तिर्थ यात्रा केन्द्र बनाई त्यहाको अर्थतन्त्र बलियो बनाउने एक धार्मिक नियत हो/ इस्लाम धर्म अनुसार साउदीमा तिर्थ यात्रा गर्न नगए आगोको नर्कमा जाने भन्दै उनीहरुको ग्रन्थमा लेखीयाको छ/ यसलाई धार्मिक पर्यटन भनिन्छ/ जब एक जना हज गर्ने भन्दै साउदी अरेबिया जान्छ उसको कति खर्च हुन्छ ? नेपाली १ लाख देखि जति पनि हुन्छ / साउदी जादा त्यहाको प्लेन को टिकेट(साउदी प्लेन कम्पनिको अम्दामी) तेस पछि त्यहा बस्ने खर्च त्यहाको होटेल ब्यबसाएको अम्दामी आदि आदि / यो एक धर्मको खोल ओडेको एक धार्मिक पर्यटन हो/
    तेस्तै नेपाललाई पनि हिन्दु धर्म अनि बुद्ध धर्मको केन्द्र बनायर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ / एक उदाहरण काभ्रे र भक्तपुर को सिमानामा एक बिस्वकै ठुलो सिबको मुर्ति स्थापना गरियो/ तेसबाट कसलाई के घाटा भो थाहा छैन तर त्यो स्थल हाल सोमबार सोमबार एक धार्मिक पर्यटन एक राम्रो स्थल भाको छ/ मुर्ति भाको स्थान सम्म जादा प्रसस्त सानो तिनो पसल राख्न्नेले राम्रै अम्दामी गरेका छन् / त्यो स्थानमा उत्पादन हुने फलफुलले राम्रै बजार पाको छ/ हिन्दु राज्य दिय पनि नदियपनि नेपाललाई हामीले चाहने हो भने राम्रो धार्मिक पर्यटनको विकास गर्न सकिन्छ/ लुम्बिनीलाई बुद्ध धर्मको केन्द्र बनायर बुद्ध धर्मको धार्मिक पर्यटनको विकास गर्न सकिन्छ /
    क्रीस्थीयन धर्मको केन्द्र भ्याटिकन भय जस्तै हिन्दु अनि बुद्ध धर्मको केन्द्र नेपाल बनायर धार्मिक पर्यटन को विकास गर्न सकिन्छ/
    अर्को कुरा भारतले रकेट बनायर मगल ग्रहमा पूरायो/ चिनले रकेट बनाएर चन्द्रमामा पूरायो/ नेपालमा चाही बाहुनले रकेट बनाएर मगरको घर भत्कायो/ गुरुगले रकेट चलाएर क्षत्रीको घर भत्कायो/ नेवारले रकेट बनायर तामागको घर भत्कायो/ दलितले रकेट हानेर सेर्पाको घर भत्कायो/ मदेसीले रकेट हानेर पहाडेको घर भत्कायो/ यो सब तमासा हेर्दै एमाले कांग्रेश माओबादी जनमोर्चा सद्भावना फोरम आदिले ताली फिटेर तमासा हेरेर बसे / अझ आगोमा घीउ थप्ने काम गर्दै नेपाललाई बिखन्डनको चरम चुलीमा पुराए/

    Reply
    1. Shankar says:
      February 19, 2015 at 9:25 am

      बसन्त राज जी ले राम्रो कुरा गर्नु भो ,दिल खुस भो |
      साउदी अरब मा अझै पनि हत्या जस्तो अपराध गर्ने हरुलाई तरबार ले टाउको छिनालेर मारेको यु ट्युब मा देख्न सकिन्छ | चोर्ने लाइ तरबार ले आउला काट्ने र घरेलु अन्ति बायोतिक लगाएर छोड्ने गर्छ | यो इस्लामिक नियम बाट चलेको छ , कुकुर ,बिरालो लाइ यातना हुदा समेत हेलिकोप्टर उडाएर उद्दार गर्ने पश्चिमी देश ,अमेरिका साउदीको बारे बोल्दैन |

      मुसलमान हरु आफ्नो धर्मलाई आदर र सम्मान गर्छन , दिन मा ५ चोटी ध्यान गर्छन | तेसैले इरान ,साउदी , पाकिस्तान र अरु धेरै इस्लामिक देश बनेका छन् | अमेरिका र केहि क्रिश्यान देश हरु छन् तर बहुसंश्यक हिन्दु भएको देश भारत र नेपाल हुँदा समेत किन हिन्दु रास्ट्र बन्न सकेन ?
      किन भने म लाइ लाग्छ हिन्दु हरु जन्मेर मात्र हिन्दु भएको छ , आफ्नो धर्म लाइ स्रद्दा पुर्बक मान्ने धेरै कम छ , नेता बाहुन पुत्रहरु प्रचण्ड ,बाबुराम , माकुने , बामे , ओली झलेहरु
      एस्लाई अफिम मान्छ , जनता बाहुन पुत्र हरु जनैलाई किलामा झुन्ड्याएर भट्टी पस्छ |
      अब टिके ,पुजारी , जोगी कराएर मात्र नेपाल हिन्दु रास्ट्र बन्ला ?
      तेस्माठी आजकाल को प्रचण्ड ,बाबुराम को नया बिकसित नेपाल को नया परिभासमा
      धेरै चेन्ज आएको छ | जस्तो छ नया मार्ग चित्र र समीकरण
      हिन्दु धर्म र दसैँ — बाहुन क्षेत्रीको धर्म र चाड
      प्रतिक्रिया बादी भन्नाले – बाहुन क्षेत्री
      मदिसे + जनजाति
      यो कहा गएर टुंगिन्छ अहिले नै भन्न अलि गारो छ |

      Reply
  4. रैथाने says:
    February 18, 2015 at 9:06 pm

    पशुपतिका हिन्दु पुजारीले लाखौ तलब भत्ता हसुर्दै दशौलाख भित्र भित्र बाट चप्काउछन र त्यो पैसा भारत लैजान्छन!
    काशीको बिश्वोनाथको नेपालि पुजारीले पन्ध्र हजार पाउछन र त्यो तेती भ्याउछन!
    फल र फाइदा दुबैले भारतलाई नै हो!
    अब पशुपतिमा पुजारीको तलब साथै भत्ता र अन्य सुविधामा पनि सहि नियन्त्रण गर्नु पर्यो!
    पुजारी नफेरे र भारतीय नै राखेपनि अरुकुरा त फेर्न सकिन्छानी!

    Reply
  5. Nimesh, BKK says:
    February 18, 2015 at 1:01 pm

    नेपालका पुजारी देखि नेतासम्मकाले “नेपाल हिन्दु राष्ट्र” होस् भन्ने कामना गर्छन र भारतलाई गुहार्छन तर भारतमै द्वादश ज्योर्तिलिङ हुनुका साथै हिन्दुहरुको जनसंख्या नेपालमा भन्दा बढी छ तापनि हिन्दु राष्ट्रको वकालत गरेको देखिन्दैन . अचम्मको कुरा त के छ भने
    “पशुपतिनाथमा भारतीय पुजारी नै हुनुपर्छ भन्ने नियम छ। विश्वनाथ मन्दिरमा भने नेपाली हुनुपर्ने भन्ने नियमका कारण नेपाली पुजारी भएका हैनन्। त्यहाँ योग्यताले तथा परीक्षा दिएर नियुक्त हुन्छन .” अझ अचम्मको कुरा “यहाँ लाख तलब पाउँदा त्यहाँ १५ हजार आइसीमात्रै पाइन्छ।” पशुपतिको पुजारी अर्थात भारतीय पुजारी आफ्नो हात जगन्नाथ, तर नेपाली पुजारी केहि हजारको तलब थापेर आउँदो रहेछ . भनेपछि नेपाली पुजारी बुढो वा अशक्त भएपछी नेपाल सरकारको कोष नै त ताक्ने होला नि . तैपनि हिन्दु राष्ट्रको लागि भारतलाई गुहार्न छोडेको छैन . स्मरन रहोस नेपाल हिन्दु राष्ट्र २०१५ साल पछि राजा महेन्द्रले बनाएको हो आफ्नो राजकीय स्वार्थको लागि, हिन्दु राष्ट्र नहुँदैमा नेपालीहरु त्यतिकै मर्दैन . कसैको स्वार्थको लागि धर्मलाई प्रयोग नगरौं .

    Reply
    1. bibek dhakal says:
      February 18, 2015 at 10:46 pm

      र कमल थापा जस्ता हरु धमिलो पानि को फाइदा उठाएर आउट्डेटेड नारा उचाल्दै माछा मर्न खोज्दैछन. अनि साथ् दिनेहरु पनि छन् धर्म को नाममा ज्यानै फाल्न तयार हुने पटमुर्खहरु. कार्टून बनाको भरमा शारली हेब्डो र कोपन्हेगनमा भौतिक आक्रमण गर्ने हरु र दशैंको गित गाउन्न भन्दा लोकप्रिय कलाकारलाइ हर्यास गर्ने हरु एकै कोटी का हून.

      Reply
  6. kancha says:
    February 18, 2015 at 8:05 am

    पशुपति मा दिनमा १० देखि २० लाख सम्म पैसा जम्मा हुन्छ भन्ने पत्रिका मा माओबादी को पशुपति काण्डको बेला पढ्या थें ,अझ शिवरात्रि,तीज र अन्य ठुला पर्वको बेलामा दिनकै ५० लाख सम पुग्छ रे, त्यो पैसा को हिसाब कसले दिने ?

    Reply
  7. माेहन ज्ञवाली says:
    February 17, 2015 at 1:39 pm

    “नेपाल हिन्दु राष्ट्र थियो, अझै पनि छ। तर केही स्वार्थी तत्वले राजनीतिक षड्यन्त्र गरी नेपालको हिन्दु राष्ट्रको अस्तित्वलाई समाप्त गर्न खोजिँदैछ। त्यसबाट तपाईँले बचाउनु पर्छ।” याे बाेली नै तपाइकाे तर्फ बाट नेपाल लाइ दिने सवै भन्दा ठुलाे रिण हुनेछ । धन्यबाद तपाइलाइ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme