-लेख एन दाहाल-
एलक्स्ज्यान्डर बर्र नाम गरेका चित्रकर्मीको ‘ग्रेस बिफोर डिनर’ ओयल पेन्टिङ्गको पेन्सिल स्केच उतार्ने कोशिस गरेको ह’ मैले । यस चित्र बनाउँदाको एक प्रसंगले मलाई सधैं धरातलमा पछार्दछ । छिमेकमा रहेकी एउटी तरुनी घरिघरि एउटा बिरालो च्यापेर चिया पिउन आउँथी । तरुनी असाध्यै रुपवति पनि थिई तर कम बोल्ने र त्यति नहाँस्ने स्वभाव भएकाले खासै हिस्सि परेकी जस्तो लाग्दैन थियो । तैविसेक तिनलाई मैले यो चित्र उतारेको खुबै मनपथ्र्यो । यो चित्र बनाउने क्रममा चित्रकला कति सकियो भनेर दिन बिराएर जसो हेर्न आउँथी । तिनको एउटा पर्सियन प्रजातिको औधि भुवादार सेतो बिरालो थियो । आउँदा कहिल्यै बिरालो ल्याउन बिर्सिन्नथी ।
कोठामा छिर्ने बित्तिकै बिरालो म्याँउ गर्दै खाटको गोडामुनिको भागमा लमतन्न पथ्र्यो । त्यसको चर्तिकला हेर्न मलाई पनि रमाइलो लाग्थ्यो । ती तरुनीलाई दुध नहालेको चियामा तीन चमच चामलचुलि पारेर चिनी चाहिन्थ्यो । कुन दिन डाइबिटिचले थला पर्छे यो जस्तो लाथ्यो । चियाको सानो सुर्पि लाउदैं पिउँथि, आधा कप चिया पिउन धेरै समय लगाउँथी र आधा त्यतिकै छोड्थी । तिनको त्यो बानि बुझेर पछिपछि मैले आधा कपमात्र चिया दिँदा कपमा एकछिन घोरिएर गम्भिर हुँदै कस्तो लोभि… जाबो आधि कप चिया दिन्छ भन्थी । चित्रकलाका बारेमा खासै केहि टिप्पणी गर्दिन थिई, आहा कस्तो राम्रो मात्रै भन्थि ।
एक दिन भने चित्र हेर्दै मेरो नाकतिर चोर औला सोझ्याउँदै भनी यो ७६ बर्षको बुढो बाजे चै तिमी, अनि यी सात वर्षकि तिम्री नातिनी । मैले पनि उसैगरी तिनका नाकैमा चोर औला सोझ्याउँदै प्याच्यै भनिदिए अनि यी नातिनीकी ६८ वर्षकि हजुरआमा चाँहि तिमी । मलाई थाहा थियो ती तरुनी मभन्दा आठ वर्ष कान्छि छिन् भनेर ।
तिनी वाक्क न व्याक्क पर्दै, ओठ लेप्य्राउंदै भनि, अँ खुबै होला । मलाई औडाहा के भयो भने कसरी तिनले उमेर र नातासमेत किटान गरेर ७६ वर्षको बुढो र ७ वर्षकी नातिनी भनि । चित्र बनाउँदा मेरो ध्यान यी पात्रहरुको उमेर र साइनोमा गएको थिएन । मलाई एउटा गहिरो चिन्तनमा डुबाएर गई तरुनी । कहिलेकाहीं सोध्न मन लाग्थ्यो, यस तस्विरका पात्रका उमेर कसरी अड्कल्यौ, अनि किन मलाई त्यो उमेरको भार बोकायौ ? स्वास्नी नभएको म एक्लो रांडोलाई किन नातिनीको जिम्मा लगायौ ? चित्रकला सकिएपछि तिनीसँग खासै भेटघाट भएन । अरु चित्रकलामा त्यति चासो राखिन ।
कामको व्यस्तताले मैलेपनि उतिसारो चित्र उतार्न पाइन । तिनीसंग भेट नभएको कैयौं महिना भैसकेको थियो । कहिलेकाहीं सांझपख बिरालो भने बगैचातिर लम्पसार परेको देखिन्थ्यो । एकदिन कामबाट फर्केपछि घरबेटी आमैले सुनाईन्, पारि घरकी तरुनी बिरालो च्यापेर आज दिउसो आएकी थिई । पढाइ सकि रे । गाडिको लाइसेन्स पास गरिवरि गाडि किनी रे । एउटा खेलकुद सामग्री दोकानमा सुपरभाइजरको जागीर खान थाली रे । एउटा ठिटोपनि फेला पारेकी छे रे । ठिटो दिउसो कलेज धाउँछ अनी सांझ सिनिमा हलमा सोडा–पानी र मकै बेच्छ रे । आमै तरुनीको र सोडा–पानी बेच्ने ठिटोको बेलिविस्तार लगाउँदै थिई । म गम्दै थिए, उमेरको धरातलमा तिसौं वषन्तको टेकोपनि लाउन नपाउँदै दह्रो भारी बोकाएर गएकी थिई तरुनी । म ७६ वर्षको बुढो…..मेरी सात वर्षकी नातिनी….आदी आदी……