-निष्प्रभ सजी-
बाले पोखराको पुरानो बसपार्कको तलै ओर्लिएर बसको ड्राइभरलाई भेट्नु भयो र भन्नु भयो,
“केटो सानो छ, जतन गरेर लैजानु”!
सानै थिएँ । छ—सातमा पढ्थेँ हुँला । बाले बिस रुपियाँ दिनु भो । मलाई बुटवल बसपार्कको कफि निकै मन पर्थ्यो । स्टिलको जगमा मुख डुबाएर कफि मेसिनको धारोको टुटी सातै जाने गरी बेजोडले सुसाउँथ्यो । कफिवालाले त्यसपछि अग्लो सिसाको गिलासमा फिँजको जलप हालेर दिएको कफिको स्वाद लिने अवसर मलार्ई पहिलोचोटि बाले नै दिनुभएको थियो ।“कफि र डुनट खा, अनि कोहलपुर गएर लस्सी खान पनि पुग्छ”, बालाई मलाई डुनट मन पर्छ भन्ने पनि थाहा थियो । मनमनै लस्सी दिदीलाई किन्न लगाउँछु भन्दै बालाई हुन्छ भनेर टाउको हल्लाएँ । यो पहिलो चोटि थियो, पोखराबाट नेपालगञ्ज सँगको यात्रामा म कसै न कसैसँग साथ लागेर जान्थेँ । यसपालि मलाई मात्र पठाउनु भयो । बाले नेपालगञ्ज जाने धेरै जसो बसड्राइभरलाई चिन्नु हुन्थ्यो । धेरै ओहोरदोहर गर्दा गर्दै उनीहरुले पनि चिन्थे ।
“नआत्तिनुस् बाजे, कान्छो साउलाई म सँगै खाना ख्वाउँचु”!
बा ढुक्क भएर फर्किनु भो । मलाई ड्राइभरले अगाडि बोनटमा बस भन्यो । बोनट सिट होइन तर मलाई सबै भन्दा मनपर्ने सिट हो । इन्जीनको तातो कटनको हाल्फ पेन्टभित्रै छिर्थ्यो, म बाटोको छेउमा गाडिएको किलोमिटर लेखिएको सेतो पिल्लर हर्दै बस्थेँ । थाहा हुन्थ्यो, अब नारायणगढ आउन यति किलोमिटर बाँकि छ, बुटवल आउत यति, लमइ आउन यति अनि कोहोलपुर आउन यति ।
गाडि हिँड्यो, हिँडिन्जेल सम्म अगाडिको सिट खाली थियो । म अगाडिको सिटमा बसेँ । गाडी नारायणगढ पुग्यो । केही यात्रुहरु हलका हुन ओर्लिए । म झरिन । नारायणगढ पुगेपछि सबै सिट भरिए । म आफ्नै प्रिय बोनोटमा खुट्टा फट्ट्याएर बसेँ । खलाँसी टिकट चेक गर्दै र बिचमा चढेका यात्रुहरुसँग पैसा उठाउँदै आयो । म भन्दा देब्रपट्टि एउटा महिला थिइन् । खलाँसीले पैसा उठाउन खोज्दा अलि कन्कन् गरिन् ।
“म पनि स्टाफ हुँ, पैसा चाहिन्छ र ?”, उनले मस्किदैँ यसो भनेपछि, खलाँसिले फेरि सोध्यो, “कहाँको स्टाफ हो बहिनी”?
“म पुलिसमा छु” ।
अगाडिबसेका सबैलाई थाहा भयो । महिला, पुलिस हवल्दार रहिछन् । त्यसपछि खलाँसिले दोहोर्याएर सोधेन । उसले ड्राइभरतिर आँखा सन्कायो । मलाइ लाग्यो सायद उसले अनुमति माग्दै छ । बुटवल नपुग्दै रात पर्यो । नारायणगढबाट पश्चिम लागेपछि त्यो खलाँसि तेही महिला हवल्दारको सिटमा आएर कुरा गर्न थाल्यो । हाँसो ठट्टा हुन थाल्यो । मैले उनीहरु तिर हेरको थिइन तर कान सतर्क थिए । मलाई एउटा कुराले उत्सुक बनाएको थियो । सबै पुलिसले पैसा नतिर्ने रहेछन् । पुलिसको जागिर पनि काइदाको रहेछ । जताततै फिरिमा डुल्न पाइने । ती महिला भर्खरकै थिइन् । सुन्दर पनि थिइन् । गर्वका साथ आँफुलाई पुलिस हवल्दार हुँ भनेर परिचय दिइन् । खलाँसी सँग कुरा गर्ने क्रममा उनीले उनको पोस्टिङ बुटवलमा भएको भन्ने कुरा पनि खुलाइन् । मलाई लाग्यो कति फरासिली रहिछन् ।
शायद कावासोति पुगेपछि गाडि रोकियो । खलाँसिले पोलेका मकै किनेर ल्यायो । एउटा तिनै महिलालाई दियो । मलाई पनि मकै खान मन लाग्यो । मैले मकैको मुल्य सोधेँ । जम्मा एक रुपियाँ रहेछ । मैले पनि मकै किनेँ । बाटोको छेवैमा एउटा नल्कि रहेछ । पेलेर पानी पिएँ । पोखराको पानीसँग रँगमात्र मिल्छ, स्वाद मिल्दैन, र पनि खरो भएको थियो पिएर बसभित्र पसेँ । गाडीमा हिन्दी गीत बजिरहेको थियो । केही मान्छेले नेपाली गीत बजाउनु भनेको कुरा ड्राइभरले सुन्न चाहेनन् । गाडिले फेरि रफ्तार लियो ।
यसपछि खलाँसि र महिला फेरि गफिन थाले ।
“अहिले नआत्ति केटा रात अझै बाँकि छ”,
ड्राइभरले यसो भनेको मैले बुझिन ।
रात अझै बाँकि छ को तात्पर्य पनि बुझिन । ड्राइभरले खलाँसिलाई किन नआत्ति भनेको पनि बुझिन । त्यसपछि बरु मेरो मनमा झनै अर्को कोतुहलता थपियो । त्यो खलाँसि र हवल्दारनी के का लागि आत्तिएका छन् ? त्यो हवाल्दारनी किन यति नजिक भएकि खलाँसीसँग ? मानौँ यिनीहरु पहिल्यै देखि एक अर्कालाई चिन्छन् वा मिल्ने साथी हुन् ।
मैले अलिकति उत्सुकता पुर्वक तिनीहरुको कुना तिर आँखा लगाएँ । यतिखेर उनीहरु पछिल्लो सिटमा बसेका थिए । किनकी अगाडि बसेका अरु यात्रु कावासोतीमै ओर्लिए । हेरेपछि मलाई पछुतो लाग्यो । नमजा लाग्यो । लाज लाग्यो । मनमनै आँफैलाई गाली गरेँ । किन हेर्नु परेको ? खुरुक्क बाटोतिर नहेरेर ! खलाँसीले हवल्दारनीलाई जताततै छोइरहेको थियो । हवल्दारनीले नाइ नास्ती किन नगरेकिहोली ? किन चुपचाप बसेकी होली ? मैले आँफैलाई हकारेँ प्रश्न र उपप्रश्नहरुले । ड्राइभरले थाहा पाएछन् कि क्या हो ।
मतिर इशारा गरेर भने,
“कान्छा साहु बाटो तिर हेर, ठूलो भएपछि बल्ल जताततै हेरे हुन्च”!
मलाई पछाडि तिर जाउँ जाउँ भयो । तर कसैले पनि सोधेनन् । मलाई नरमाइलो लागेर भन्दा पनि अनौठो लागिरहेको थियो । ड्राइभरले किन यसो भनेको होला ? ठूलो भएपछि मात्र जताततै हेर्न हुने, यसको अर्थ झनै बुझिन ।
“कान्छा साहुले लभ गर्या छ”?
ड्राइभर दाइले अझै जिस्क्याउन खोजे । म अलिकति हाँसेँ । जवाफ दिइन । हाम्रो कक्षाका केटाहरुको सबैको गफ लाउने ससुराली छन् । स्कुलको बिदामा रोपाइँमा बिशेष गरी खेततिर जाँदा, कक्षाका राम्रा केटीहरुको घर बाटैमा पर्यो भने, गफ दिइहाल्थे ।
“ल हेर् मेरो ससुराली” !
त्यतीखेरका गफ पनि अनौठा हुन्थे । दाईहरुको ससुराली जाँदा जाँदा शायद हामी जस्तालाई पनि ससुराली शब्दसँग लगाव थियो । एउटा छिल्लिने बाटो । मैले पनि हाम्रो कक्षाको एउटा केटी राम्रो मान्थेँ । त्यतीखेरको मनपराइमा न प्रेम थियो न त वासना । त्यो मनपराइ पनि प्रिय थियो ।
“पछि तन्किएपछि थाहा हुन्छ कान्छा साहु”!
लाग्यो ड्राइभरले म सानो भएको कुरालाई संकेत गर्दैछन् र भन्दैछन् म दाइहरु जत्रो भएपछि बुझ्छु । ड्राइभरले अझै जिस्क्याउन छाडेनन् । यसपाली मलाई बोल्न मन लाग्यो ।
“के थाहा हुन्छ दाई”?
“हा हा हा हा……”!
ड्राइभरदाई यतिखेर मजाले हाँसे ।
खलाँसी र हवल्दारनीलाई हामी अगाडि छौँ छैनौ को कुनै प्रभाव वा असर थिएन । मैले त्यसपछि पछाडि हेर्ने दुश्साहस गरिन । तर एककिसिमको महशुस भने भइरहेको थियो ।बुटवल आयो । मैले लामो शास फेरेँ । ड्राइभरको संकेत अनुसार म खाना खान लागेँ ।म मासु खाँदैनथेँ । होटेलकि साहनी मुसुक्क हाँसिन । सायद लाग्यो होला, म सस्तो ग्राहक रहेछु । खलाँसीले हवल्दारनीलाई पनि लिएर आयो । अब मेरो खाना नरुच्ने भयो ।मेरो मन नराम्रोसँग खलबलिएको थियो । खाना खाएर चुपचाप बाहिर निस्किएँ । कफिवाला नजिकै थियो ।कफिवालाले झन् दिमाग ततायो । पैसा नदेखाइन्जेल कफिनै बनाउन मानेन । पाँच रुपिया कफिमा गयो । एक रुपियाँ डुनटमा । होटेलमा भात खाएजस्तो गरेर मात्र हिँडेको थिएँ । तर कफि र डुनटले पेट भरियो ।यसपछि मैले ड्राइभरलाई अर्को सिटमा राख्न आग्रह गरेँ । निँद लागेकोको बाहनामा । पछाडि एउटा सिट खाली रहेछ । खलाँसी निकै उत्साहित भएर मलाई सिट खोज्न लाग्यो । सायद उसलाई पनि म बोनोटमा बसेको मन परेको थिएन । त्यसपछि म निदाउन सकिन । बिहान पाँचबजे नै कोहोलपुरको सागर होटल अगाडि बस रोकियो । दिदी आएर बसेकी रैछ । अलि अलि उज्यालो भइसकेको थियो । ड्राइभरलाई थाहा थियो मलाई सागर होटेलको ठिक अगाडि झार्ने भनेर ।
दिदीले झर्ने बित्तिकै सोधी,
“ बसमा निदाइस् बाबु” ?
मैले टाउको हल्लाएँ ।
यसपछिका दिनहरुमा मलाई निकै पछि सम्म पनि कसैले लभ भन्ने शब्द प्रयोग गर्यो भने निकै डिस्टर्बड् हुन्थेँ । पछि शरिर पनि हुर्कियो, शरिरमा हर्मोन पनि फैलियो । लबको अर्थ पनि बुझियो । खलाँसी र हवल्दारनी को प्रेम कहानी पनि ! ड्राइभरले तेतिबेला भनेका थिए, “पछि तन्किएपछि था हुन्छ कान्छा साहु”! थाहा भयो यसको अर्थ पनि तन्काउन मिल्दो रै छ उमेर सँगै । प्रेमका अनेकौँ अनुहारहरु, वासनाका समय सापेक्ष परिभाषाहरु स्पष्ट लाग्दै गए मानौँ यी सबै ऐनाका अगाडि निर्लज्ज उभिएका छन् । समय नग्न छ । जय प्रेम ।
“प्रेम” को नाम दिई म्यानिपुलेट गरिने “भोग” हरु केवल राजनीतिमा नेताहरुले “जनता” को नाम लिएर गर्ने ठगी र भ्रष्टाचार सरह हुन् / “प्रेम”ले मानसिक “शान्ति” र “सुख” दिन्छ जसमा दुइ हृदय बीचको गहिरो समझदारी, त्याग, समर्पण, जितमा भन्दा हारमा खुसी हुन सक्ने क्षमता, आकांक्षा रहीत स्थिर सुख आदी आउछन / शारीरिक आकर्षण र उपभोग, बेताबी, धुर्तता-स्वार्थ, पिडा (धेरै प्रेमको भ्रमले हुने वा बिछोड पछी हुने) आदी प्रेमको नाममा कलंक हुन् / “प्रेम दिवस” ले यही म्यासेज दिन सफल होस् / धन्यबाद छ लेखकलाई /