-पूर्ण ढकाल-
मनमा खुल्दुली मच्चियो भोलि रिपोर्टमा के होला? आफ्नो मृत्यु वा जीवनको नतिजा आफै लिन जानुपर्ने थियो। खाना खान मन लागेन तर पनि परिवारको सदस्यले पिर मान्लान भनेरै खाएँ। कति खाएँ के खाएँ याद छैन। सुत्न सकिनँ। रातभर सुत्ने कोशिश गरेँ। मनमा अनेक कुराहरु खेले। आँखा निदाउन सकेन। मनको दुःखमा मेरा आँखा पनि रातभरी जागै रहेर साथ दिए। दुःख मनमा थियो तर पायो आँखाले।
बिहान उठेँ, हिजो जस्तै आफ्नै समयमा सूर्य उदायो तर मन अस्ताएको थियो। मलाई अस्पताल गएर आएको शरीरमा मौलाएको रोगको रिपोर्ट लिनु थियो। काठमाण्डौँमा छोरी पुष्पा र ज्वाईँ दिनेश भएकोले मलाई ढुक्क थियो छोरी या ज्वाईले हस्पिटल साथै लिएर जानेमा। तर अफिस जानै पर्नेले वानेश्वर चोकबाट एक्लै बसमा भक्तपुर क्यान्सर अस्पताल। बाटोमा नेपालगंजबाट छोरा पूर्णको फोन आयो, बुहारी सविताको फोन आयो, रिपोर्ट लिइसक्नु भयो होला भनेर, छोराले भन्यो तपाईले न त खैनी खानुभयो न त रक्सी। क्यान्सर हुने केही चिज खानु भएकै छैन। ढुक्क हुनुहोस् रिपोर्टमा त्यस्तो केही आउँदैन। बुहारीले पनि यसै भनिन्। मनलाई दुबैको कुराले बुझाउन खोजेँ तर मानेन। रिपोर्ट के आउने हो चिन्ताले बोल्न सकिनँ।
आफ्नो फाइल बोकेर रिपोर्ट पाउने कोठा नं. १४ मा पुगेँ। रसिद दिएँ। एकैछिनमा मेरो जिन्दगीको लेखाजोखा पाएँ। भावीले छैठौ दिनमा लेखेको थिएन। मेरो भाग्य त यो ल्याब अफिसरले लेखेको रहेछ, ४९ औँ वर्षमा आएर। ल्याबको रिपोर्ट दिनेले भने–“तपाईँलाई क्यान्सरले अलिकति छोएको छ।” रिपोर्ट हेरेँ। मनमा भक्कानो छुटेर आयो। आँसु मनबाट आयो आँखाबाट आएन।
फोन आउने क्रम चलिरहेको थियो। छोरा, छोरी, बुहारी र जिवनसाथी लिलारामजीको। परिवारका सबै सदस्य र लिलारामजी ढुक्क हुनुहुन्थ्यो मेरो रिपोर्ट सकारात्मक आउँछ भनेर। तर सबैको बुझाई अनुमान गलत आएको थियो। सबै गलत थियो। सही त्यही निर्दयी रिपोर्ट थियो।
रिपोर्ट लिएँ, डाक्टरले जतिसक्दो चाँडो अप्रेशन गनुपर्छ। ढिलो नगर्नुहोला भन्नुभयो। हस् भनेर हिँडे। भक्तपुर क्यान्सर अस्पतालबाट बानेश्वर जानु पर्ने तर कोटेश्वर चोकमै झरेँ। सबै कुरा चलिरहेको थियो। मोटरसाइकल, गाडी, बस, मान्छेहरु। तर मेरो लागि संसार रोकिए जस्तो लग्यो। मान्छेहरु रोड काटिरहेका थिए। भरियाले भारी बोकेका थिए, जुत्ता सिलाउने बाटोको आड लिएर सिलाएका थिए। माथि आकासबाट ठूला जहाजहरु त्रिभुवन विमानस्थलमा अवतरण गर्दै थियो। मेरो जिन्दगी पनि त्यही जहाज जस्तै अवतरण गर्दै गरेको महशुश भयो।
नजिकै चुरा पसल देखेर भित्र छिरेँ। सिन्दुर किनेँ, हातभरी पुग्ने चुरा किनेर लगाएँ। रातो चुराले दुबै हात भरेँ,अर्को पसलमा छिरे रातो धोति किनेँ, अर्को पसलबाट कालो चस्मा किनेँ। लिलारामजीले मलाई जीवनमा हर समय साथ दिनुभयो। वहाँको म ऋणी थिएँ, त्यसैले वहाँको नाममा सिन्दुर, चुरा रातो कपडा किनेँ, आँखाबाट आँसु बगिरहेको थियो, त्यसलाई लुकाउन कालो चस्मा किनेँ।
मेरो स्तनमा देखिएको क्यान्सरको रिपोर्ट मलाई मृत्युको निमन्त्रणा पत्र दिएजस्तो लाग्यो। मुटु थरथर काप्न थाल्यो। मृत्यु देखि कसलाई डर लागदैन र ? जीव, जनावर, बच्चा, वृद्ध, युवा, महिला, पुरुष, हिजडा, सबैलाई डरलाग्छ। मलाई पनि डर लाग्यो। रिपोर्ट आएपछि एक दुई दिनमै मर्ने हो कि कहिले हो थाहा थिएन, पिडा असाध्यै थियो। लाग्यो मैले किन रक्सी पिइन कहिल्यै ? पिउने बानी भैदिएको भए आज यो पिडा लुकाउन २/४ बोतल नै पिइदिन्थेँ र पीडा भुलाउँथेँ। रक्सीमा मात्तिन्थे अनि साहसी बन्थे। तर अब आएर यो गर्न पनि सकिने कुरा थिएन, गरिनँ। डाक्टरले स्तनको फेरि अप्रेशन गनुपर्छ जतिसक्दो चाँडो भन्ने कुराले पारिवारिक छलफल हुँदा तुरुन्तै गर्ने निर्णय गरियो। रिपोर्ट आउने दिन सबै रिपोर्ट सकारात्मक आउँछ भनेर काठमाण्डौँ बाट नेपालगंज जाने टिकट छोराले पहिल्यै सोही दिन बुक गरिसकेकोले नेपालगंज गए। २ दिनको बसाईपछि तेश्रो दिन फेरि लिलारामजी र छोरा पूर्णसहित काठमाण्डौँ फर्कियौँ।
अप्रेशन गर्नै पर्ने, अप्रेशनपछि फेरि केमोथेरापी र रेडियोथेरापी गर्नु पर्ने डाक्टरले भन्नुभयो। जसो जसो डाक्टर तेसै तेसै स्वाहा गर्नु पर्ने थियो, गरियो। अप्रेशनका लागी तयार गराउन डाक्टरले नर्सलाई अह्राए। सबै कपडा खोलिदिए स्वाङ्ग नाङ्गो पारेर। यस्तो लाग्यो मुर्दालाई नाङ्गो पारेरै जलाइन्छ। म त जिवित मुर्दा। त्यसैले नाङ्गो पारिदैछ। अब मलाई चिरा चिरा पारेर काटिन्छ अनि फ्याँकिन्छ। कानको, नाकको गहना निकाल्न लगाए। मैले निकालेँ। हातको चुरा समेत खोल्न लगाए। मलाई चुरा खोल्न मन थिएन तर “खुरुक्क खोल्नुस त” भन्ने नर्सको आवाजले खोल्न खोजेँ। आएन। हात खुट्टा सुन्निएको थियो। त्यसैले चुरा आएको थिएन। आखिर फुटाउन प¥यो। यि दृश्य हेरिरहनु भएका लिलारामजी र छोराको आँखा रसाइरहेको देखेको थिएँ।
करिब १ घण्टामा अप्रेशन सकिएछ। मेरो शरीरमा ब्याप्त क्यान्सलाई डाक्टरले प्लाष्टिकको डब्बामा बन्द गरेर परिवारलाई कोसेली दिएछन। अप्रेशन सफल भयो। विस्तारै घाउ पनि निमूल हुँदै गयो। अप्रेशनको २१ औँ दिनपछि केमो थेरापी शुरु गर्नु पर्ने थियो। क्यान्सर अस्पतालमा गेटमा बस्ने पाले देखी क्यान्टीनको साहुजी सम्मका सबै हाम्रा परिवारका सदस्य भएका थिए। नेपालगंज देखि भक्तपुरको यात्रामा विगत २÷३ वर्षमा बुद्ध यअर, एति यअरका सबैले चिन्थे। मेरो परिवार ठूलो बन्दै गएको थियो। मलाई जुन रुपले भएपनि चिन्ने मानिस बढ्दै गएको थिए। मायाको संसारमा बाँच्ने रहर झनझन बढ्नु, बाँचे यसो हुन्थ्यो, उसो गर्थे भन्ने चाहना बढ्दै जाने रैछ। झन सानी २ वर्षकी नातीनी प्रिसाको मायाले त्यस्तै असह्ै बनाएको थियो। केयो थेरापी ६ पटक सम्म गर्नु पर्ने थियो। पहिले केमोथेरापी ६९ साल कार्तिक १७ गते गरेपछि नेपालगंज घर फर्किए। घरआएपछि मलाई भेट्न नातेदार, साथी, छिमेकी मलाई चिन्ने जति प्रायः सबै आउनुभयो। कतिले अब ठिक हुन्छ फलानो पनि क्यान्सर भएरै ठिक भएको हो भन्ने उदाहरण दिदै साहसी बन्न सघाँउथे, कति भेट्न आउँदा रुदै आउथे, कति अब डाक्टरले कति दिन भित्र मर्ने हो ? डेट कति दिनको दिएको छ ? भनेर सोध्थे। भेट्न आउनेमा कतिपय सन्चो भएका बेला ठाकठूक परेका मानिस समेत आए, प्रेम दर्शाय। कति आफ्नै भन्नेहरु आए तर झन निराशाजनक कुरा गरेर गए। यसरी भेट्न आउने र जाने क्रम चलिनै रहयो। आजको दिनसम्म पनि चलि रहेको छ।
केमो थेरापीले मलाई गलाउँदै लग्यो, केमो थेरापी मन्द विष जस्तै रहेछ। यो औषधी मेरो शरीरमा प्रवेश गराउँदा यस्तो पिडा हुन्थ्यो जुन प्रसव पिडा भन्दा हजारौँ गुणा धेरै हुँदो रहेछ। अजिङगर, विच्छी खतरनाक सर्प, छेपारो, पिप, आदीले बनेको जस्तो लाग्थ्यो। कहिले काही त लाग्यो यो थेरापी गर्नु भन्दा भागेर हिडौँ जस्तो। तर सोचे आखीर भागेर हिडे पनि मर्नु नै छ भने अब सहन्छु जे भएनी होस भनेर सहे। पहिलो र दोश्रो थेरापी सँगसँगै शरीरमा भएका रौँहरु झर्न थाले। कपाल पुरै झरेर टाउको मुडुल्लो भयो। एकाएक खाइलाग्दो शरीर र राता गाला कुरुप बन्यो।
शरीरमा रोगसँग लड्न सक्ने क्षमता रहेन। जे खाएपनि बान्ता हुने। फुलफुल, जुस, भात केही खान नै नसक्ने भए। पानीले मात्र नि शरिर बाँच्ने रहेछ कति दिन पानी नै खाएर मात्रै पनि बाँचे। नेपालगंज आउन जान नसक्ने भइयो।, झत्तपुरमै डेरा लिने निर्णय गरियो। तर रोगी त्यसमाथी क्यान्सर रोगी भनेपछि कोठा पाउनै गाह्रो रहेछ बल्लतल्ल पाइयो। थेरापीकै क्रममा मेरो हर समयमा खयाल गर्ने लिलारामजीले मलाई कुनै कुराको कमी हुन दिनु भएन। क्यान्सर अस्पतालको परिसरमा थुप्रै बिरामी पैसा नभएरै घर फर्केको, उपचारमा लाग्ने औषधी र परिवारको सपोर्ट नभएकोले तडपिएर मृत्यु भएको मेरो आँखाले देख्दथ्यो। तर गर्न केही नसक्ने म विवस प्राणी थिए। थुप्रै पैसा खर्च हुने यो रोगको उपचारमा अलिकति पनि कन्जुस्याई गर्नै हुँदैन भन्ने छोरा पूर्ण र बुहारी सविताको समझदारी र उदारताले आपूmलाई मैले भाग्यमानी सम्झन्छु।
मलाई पाँचौ पटकको र छैटो पटकको किमो थेरापीले असध्यै पिडा दियो। २०६९।११।३ गते मेरो पिडा हेर्न सुर्खेतबाट काठमाण्डौँ आएकी मेरी दिदीले मलाई हरेक पल साथ दिइन। सानो हुँदा मलाई खेलाउने, फुलाउने दिदी म ५ वर्षको हुँदा ढुंगाले ठेस लागी रोएको बेला जसरी मलमपट्टी गरेकी थिइन त्यही माया र ममताले मलाई ५० वर्षको उमेरमा पनि गरिन। पहिलो पटक काठमाण्डौँ आएकी दिदीलाई पहिलो पटक कुर्था सुरवाल लगाएर पशुपति, दक्षिणकाली घुम्ने मन रहेछ। तर मेरो पिडाले उनलाई यति पोलेछ कि उनी कतै गइनीन। सिलाई लिएर आएको नयाँ कर्था सुरवाल झोलामा राखी पुरानै धोती लगाएर सुर्खेत फर्किन।
असह्य पिडा भएपनि काल नआई मरिदो रहेनछ। त्यसैले आजसम्म बाँचेको छु। छोरा पूर्णले मेरो अगाडि आजसम्म एक थोपा आँसु झारेको छैन, उसले सधैँ भन्छ तपाईको उमेरकै नायिका मनिषा कोइरालालाई पनि तपाईसँगै क्यान्सर भएको हो। साथै केमो थेरापी, रेडियो थेरापी भयो। अहिले ठिक भएर नयाँ फिल्ममा कम्मर मर्काएर नाच्ने भइसकीन। किन डराउनु हुन्छ ? केहि पनि हुँदैन। उसले मलाई यस्तै आश्वाशन दिइरहन्छ। उसको कुरा सधै यस्तै हुन्छ – मदन कृष्ण श्रेष्ठको श्रीमती, अहिलेका प्रधानमन्त्री शुशिल कोइराला सबै बाँचेका छन तपाईपनि बाँच्नुहुन्छ। उसले पनि उनै व्यक्तिहरुको तुलना गरेर मन बुझाउँछ होला आँखाबाट आँसु नझारेपनि।
रेडिया थेरापीको लाईन लाग्दा भक्तपुर क्यान्सर अस्पतालकै एकजना श्रेष्ठ थरकी नर्स लाई मैले भने नानी साह््रै गाह्रो हुँदो रहेछ के गर्नु हेरन उनले अलि रुखो स्वरमा फर्काइन – “यस्तो सबैलाई हुन्छ, सहनु पर्छ।” तर सहन धेरै गाह्रो हुन्छ भन्ने उनले बुझेकी थिइनन। यो सहन गर्न यति गाह्रो हुन्छ कि मैले सबैभन्दा ठूलो सत्रुलाई श्राप दिन प¥यो भनेपनि तलाई क्यान्सर होस भन्ने छैन र कसैलाई नहोस भन्ने पनि चाहन्छु।
रेडियो थेरापी पनि सकियो, डाक्टरले मलाई तीन–तिन महिनामा नियमित चेक गराउन आउनु पर्ने भन्नु भएको छ। अहिले नियमित चेक जाँचकै क्रममा छु। अस्तिको पटक चेक गराउन जाँदा कपाल मुडुल्लो परेको शरिर दुब्लो पातलो एउटा २५÷२६ कि महिलालाई चिने जस्तो लाग्यो। राम्ररी हेरे ति महिला त्यही कार्यरत उनै श्रेष्ठ थरकी नर्स थिइन। मन रोयो। रोगले उमेर, पेशा केही नभन्ने रहेछ। उनलाई पनि क्यान्सर भएको रहेछ मलाई हेर्दै उनले भनिन त्यो दिन सहन गाह्रो हुन्छ भन्नु भएको थियो दिदी आज मैले भोगे – यति भन्दै आँसु खसालिन्। आजभोली मेरो दिनचर्या रमाइलो छ। मैले आत्मविश्वासका साथ बाँचेको छु। आशा हारेको भए उहिल्यै मरिसक्थे होला। तर दिनचर्या फेरेको छु। घरमा खाना बनाउन, नातीनी खेलाउन सक्छु। नाती रचित सँग लडीबुढी गर्छु। अब यस्तो लाग्न थाल्यो कि अब म फेरि जन्मिएको हुँ। बाँचुन्जेल अब रमाएरै बाँच्ने छु र यति चाहन्छु कसैलाई क्यान्सर नहोस, भएमा पनि आत्मविश्वास मेरो झै बनाउनुस, कमजोर मनले हरेक क्षण बाँचेर पनि मरे जस्तै बनाउन सक्छ तर मर्नु त सबैको एकदिन निश्चित छ बाँचेर हासेरै मरौं।
(यो वास्तविक अनुभव लेखक पूर्ण ढकालले उहाँकी आमा सिता ढकालसँगको कुराकानीको आधारमा तयार पारिएको हो। क्यान्सर रोगी र परिवारको मनोबल बढाउन कथा सक्षम हुनेछ भन्ने विश्वास रहेको छ)
आत्मविश्वास बढाउ भन्न सहज किनकी उपदेश दिन सहज छ तर पिडा खप्ने र भोग्नेलाई कति असह्य हुन्छ कसले अनुमान गर्न सक्छ र ……..
CANCER a killer disease…
The patient himself suffers alot and also the family members has to suffer more who cannot see their beloved one trapped in the web of such killer disease…
wish no one suffers from this disease..
पिडित पक्षप्रति मेरो सहानुभूति छ | क्यान्सरसम्बन्धि चेतनाको अभाबको कारणले गर्दा पनि धेरैले दुखः भाग्नु परेको देखेको छु |
पहिलो कुरो मान्छेहरु क्यान्सर र ट्युमोरलाई पर्यायको रुपमा लिनेगरेकाले नि मानसिक तनाब भोग्नु परेको अनुभब छ | सबै ट्युमोर क्यान्सर हुदैनन् , क्यान्सरमा परिवर्तन चाही हुन सक्ने क्षमता चाही अवस्य हुन्छ | त्यसैले समयमै जचाएर उपचारको प्रक्रिया पुरा गरेमा मान्छे पूर्ण रुपमा स्वस्थ हुने सम्भावना एकदम बढी हुन्छ | प्रायजसो ट्युमोरहरु निम्न अनुसारका लक्षणहरु देखाउछन:
१) ज्वरो आउने, राति सुत्दैगर्दा निथ्रुक्क भिज्ने गरि पसिना आउने र अप्रत्यासित रुपमा छोटो समयमा वजन घट्ने !
२) सरिरमा पाक्ने र ठुलो हुदै जाने मासुका डल्लामा घाउहरु देखा पर्ने
३) थुक, दिशा र पिशाबमा रगत देखा पर्ने
४) केटीहरुको स्तनमा भित्र सर्ने र नसर्ने दुवै किसिमका डल्लाहरू छाम्दा महसुस गर्न सकिने (स्तनको क्यान्सर महिलाहरुमा हुने क्यन्सर्मध्ये नम्बर १ मा पर्छ | यो सबै उमेरका महिला र पुरुषमा समेत हुन सक्ने भएको ले, बिशेस गरि महिलाहरुले आफैले ध्यान दिनु पर्ने हुन्छ| प्रायजसो स्तनको ट्युमोर स्तनको माथिल्लो बाहिरी भागमा आउदछ ! )
५) केटाहरुमा चाही प्रोस्टाटाको क्यान्सर बढी देखिन्छ, बिशेष गरि ४०-५० वर्सभंदा माथिका | उमेर बढ्दै गएपछि पिशाबको धारा सानो हुदै जाने, थोरै थोरै गरेर धेरै पिशाब गर्नु पर्ने, पिशाब गरिसकेपछि पनि पुरै नआएको जस्तो लाग्ने, पिशाबमा (दुख्ने-नदुख्ने दुबै किसिमा) रगत देखा पर्ने र यसका लक्षणहरु हुन् |
६) दिमागी ट्युमोरमा चाही मान्छेको स्वभाबमै दुरुस्त परिवर्तन हुने, चक्कर आउने, होस् हराउने, आँखाको दृस्टी अप्रत्यासित रुपमा कम्जोर हुने वा डबल देखिन थाल्ने, जिउका अंग प्रत्यंग अचानक अचेत हुने आदि लक्षणहरु देखिन्छन |
प्रायजसो ट्युमोरहरु प्रारम्भिक अवस्थामा पहिचान गर्न सके सजिलै उपचार गर्न सकिने भएकोले माथिका लक्षणहरु देखा परेमा वा आफुलाई संका लागेमा डाक्टरसंग तुरुन्तै परामर्श लिनु बुद्धिमानी हुन्छ | डर मानेर ढिलो जचाउन जाने, एकदम सहन नासिकिने भए पछि मात्र डाक्टरकहाँ जाने प्रवृतिले मान्छेको ज्यान जना सक्छ| लक्षण र जचाउने/उपचार गराउने बीच जति समय बित्छ त्यति नै ट्युमोर क्यान्सरमा परिणत हुने जोखिम पनि बढ्छ | त्यसैले बेलैमा उपचार गरौनुस!
सबैलाई चेतना भया !
सिताजी लाई छिट्टै पूर्णरुपमा सन्चो होस्
क्यान्सरले के धनी के गरिब कोही नछोड्ने रहेछ । चुरोट, रक्सी र कुलतलाई मात्र क्यान्सरका कारक मान्न नसकिने रहेछ । विषादी, खाना, वायु र विकिरण आदिका कारण शरीरमा हुने रसायनिक परिवर्तनले दिने महारोग रहेछ । केही कारण व्यक्तिको आचरणबाट नियन्त्रण गर्न सकिए पनि धेरै जसो कारण व्यक्तिको नियन्त्रण बाहिर नै रहेछन् ।
आत्मविश्वास बढाउ भन्न सहज किनकी उपदेश दिन सहज छ तर पिडा खप्ने र भोग्नेलाई कति असह्य हुन्छ कसले अनुमान गर्न सक्छ र ! जे भए पनि उत्पादकहरूले अधिक विषादी युक्त अन्न, तरकारी, खाद्य पदार्थ उत्पादन नगरिदिए, प्रदुषण नियन्त्रणमा राज्यले कदम चाले, त्यसलाई व्यक्तिले सहयोग गरिदिए, खानपान र दैनिक आहार व्यवहारमा व्यक्ति स्वयमले परिवर्तन गरे धेरै हदसम्म क्यानसर नियन्त्रण हुने थियो । के भन्ने कमिसनको लोभमा अखाद्य बस्तु नै खाद्य पदार्थको लेवल बोकेर व्यक्तिको भान्सा भान्सासम्म पुग्छ ।
सर्वसुलभरुपमा परीक्षण गर्ने व्यवस्था मात्र राज्यले गरिदिए पनि शुरू अवस्थामै कम खर्चमा क्यान्सर हटाउन सकिन्थ्यो । तर बिडमबना एमाले नेतृ विद्या भण्डारीलाई रक्त क्यान्सर भयो राज्यले खर्च गरिदियो विदेशमा गएर उपचार गरिन निकि भइन । प्रधानमन्त्रीलाई भयो राज्यकोष खर्चेर नै समुद्रपार गइ उपचार गरेर आए । कसैको जेथो होला उसले उपचार गर्न सक्ला कंगाल नहुँदासम्म । अहिले त उपचार गर्दै कैयन परिवार सडकमा आइपुगेका छन् । रोगी पनि न बाँच्न सक्छ न परिवार दरिद्र हुनबाट जोगिन्छ यो स्थिति धेरै घर भित्रि सकेको छ । बेरोकटोक चलेका कतिपय अस्पताल नामका मानव वधशालाले लुटेर पनि कङ्गाल पारेका छन् । कंगालहरू त विना उपचार क्यान्सरले चिथोरेर मर्ने नै भए ।
आशा गरौँ हाम्रा नियतिले हामीलाई जोगाउने छ । पशुपति नाथले कल्याण गर्ने छन् ।
आमाले क्यान्सरलाइ जित्नु भएछ, सार्है खुसि लाग्यो| आमाको बाकी जीवन सुखमय बितोस|
सिताजी लाई छिट्टै पूर्णरुपमा सन्चो होस् – भगवानसंग प्रार्थना गर्दछु / तपाइको दर्दनाक अनुभव पढेर आसु झर्यो / खानपानामा रेखदेख, इन्फेक्सन बाट टाढा, आध्यात्मिक जीबन, सकारात्मक सोचाइ आदीले छिट्टै सन्चो हुनमा मदत पुर्याउने छन् /
Very touching article. My mother also passed away due to the cancer. I cannot even guess how much she suffered.
These days every second house has a person suffering from cancer. Government should look into what’s going on. At the least, drinking water should be tested.