Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिजोआजका गनगन

Posted on January 15, 2015 by mysansar

-लेखनाथ काफ्ले-

Protest (2) बागमतीको पानी जस्तो छ त्यस्तै छ काठमाण्डौको राजनिती। जिल्ला, गाउँघरका नदीनाला सफा छन् अनि राजनीति पनि। काठमाडौंका भत्केका सडक जस्तै भत्केको राजनीति, फोहोरको डंगूरले गनाएको जस्तै राजनीतिको फोहोर देखेर मुख छोपेर हिंड्नु पर्छ। काठमाण्डौका सबै नदि/नालाहरुमा मिसिएका ढलहरु जस्तै यहाँको राजनीतिमा पनि देशी-बिदेशी फोहोर मिसिएको छ र त गनाएको छ डुंगडुंगती।

तपाइँ हामीहरु जो केहि हिसाबले (पद वा जागिर वा पढाई वा अनुभव आदि इत्यादि) सामाजिक भर्याङको अलिकति माथिल्लो खुट्किलोमा छौ, बिगतमा आफ्नो मर्यादामा बस्यौ वा भविष्यमा बस्ने छौ? सकारात्मक उत्तर दिन गारो छ। हामी लेख्छौ एउटा, गर्छौ अर्को, सोच्छौ झन् अर्को।

कहिलेकाहीँ त हामी अलि पढेलेखेका वा जान्ने सुन्ने, पद नोकरीमा कलम चल्ने ठाउँमा बसेका सबै जसोको देखावटी बुद्धपन भित्र मैले कठोर पाखण्डपन भेट्छु। एउटा प्राध्यापक एउटा रङको टोपी लगाएर डीन वा क्याम्पस प्रमुख वा भिसी बन्छ र अर्को रङको टोपी लगाउनेले आन्दोलन गर्छ। अनि दुवै भन्छन् शिक्षामा राजनीति नगरौं।

विद्यार्थीहरु पनि आफ्नो आफ्नो रङमा मिसिन्छन र भन्छन अर्को पक्ष मुर्दावाद। बिपक्षमा रहदा नेपाल बन्द ठिक, सत्तामा पुग्नासाथ गलत। सट्टामा हुदा महंगी बढ्नु जायज, बिपक्षमा हुदा सरकारी नालायकी। यहि हो हाम्रो विडम्बना र सत्य ! तर म आफै बदलिन सक्छु कि सक्दिन थाहा छैन। अरुलाई के भनौ ! आफै पनि एउटा फुर्को नसमाती खुड्किलो चड्न सक्छु कि सक्दिन थाहा छैन। गल्ति हो भन्ने जानेर पनि त्यसैलाई मान्नु पर्ने कि बाध्यताले हुन्छ कि लोभ/लालासाले।

अर्को पक्ष झन् खराब छ, सिके राउत जसले विकास गरेको सफ्टवेयर अहिले पनि अमेरिकी रक्षा मन्त्रालयले आतंककारी बिरुद्ध लड्न प्रयोग गरि राखेको छ त्यस्तो मान्छेमा बिखण्डनकारी विचार आउछ। एउटा संसारले जाने मानेको डा. उपेन्द्र शाही शासनमा चुपचाप मन्त्री बन्न हिच्किचाउदैनन्। एउटा प्रतिभाशाली डा. आँखाको अपरेसन गर्ने आफ्नो सफल पेसालाई पश्चिमी एक देशको लागि उत्तर कोरियामा जासुसी गर्न मद्दत गर्छ। देशले मानेकी दिलशोभा आफै बालबच्चाहरुको दुरुपयोग गर्ने तर दातासामु आँसु बगाई पैसा झार्छिन। मह जोडीले विदेशीसंग कार्यक्रम बनाउन ५ करोड लिन्छन, कार्यक्रम टिभीहरुमा प्रशारण हुन्छन, कार्यक्रम बनाउन अनुदान लिइसकेपछि त्यसबाट आएको आम्दानी के भयो भन्नु पर्दैन र ? वा के कस्ता सर्तमा ति अनुदान पाए, सित्तैमा त पक्कै पाएनन्। यस्ता छन् हाम्रा आदर्श मानेका केहि मान्छेहरु। अनि कोबाट कस्तो आदर्शको आशा गर्ने। हामी सबै आफ्नो पद, प्राज्ञिक क्षमता र पहुँचलाई आफ्नो स्वार्थ सिद्धि गर्ने भाँडो बनाएका छौ। त्यसो गरेपछि जहाँ सकिन्छ, जसरी सकिन्छ, जे ले सकिन्छ ठुलो भाग आफुलाई पार्ने हो बस्, बाँकी सबै गनगन मात्रै हुन्।

अहिले नेपालका शहर र बिदेशमा बस्ने केहि नेपालीहरुको मगज संघियताको बहसले तातेको छ। पत्रपत्रिकाहरु, नेता-कार्यकर्ताहरु, पार्टी प्रति झुकाब राख्ने बुद्धिजीवी, कर्मचारी, लेखकहरु मिडियामा आ-आफ्नो तर्क सहि हो भनेर उफ्रेका छन्। सोझो बुझाइमा संघियता भनेको देश टुक्राउने व्यवस्था होइन, यो त स्थानीय विशेषतामा आधारित बिकाशको सुलभताको लागि गरिने प्रशासनिक र राजनैतिक ब्यबस्थापन मात्रै हो। अहिले पनि प्रशासनिक र राजनैतिक ब्यबस्थापनको लागि ५ बिकाश क्षेत्र, १४ अंचल, ३००० भन्दा धेरै गाबिसहरु र सय भन्दा धेरै नगरपालिकाहरु बनाइएका (टुक्राइएका) नै छन्। तर यो ब्यबस्थापनले बिगत ५० बर्षमा स्थानीय विशेषतामा आधारित बिकाशको सुलभता र जनताको जीवनमा सकारात्मक प्रभाव पार्न असफल रह्यो। त्यसैले त्यस पक्षमा पनि परिवर्तन किन नगर्ने भन्ने बहस गलत होइन। संघियताले अहिलेका बिकाश क्षेत्र, अंचल र गाबिस/नगरपालिकाहरुको पुन: ब्यबस्थापन र नयाँ, बैज्ञानिक तवरले ब्यबस्थित गर्ने मात्रै हो। यो देश टुक्राउने व्यवस्था होइन बरु अहिलेको विभाजनलाई पुनर्गठन गर्ने हो।

संयुक्त राज्य अमेरिका आफैमा धेरै गणराज्यहरुको गठजोड हो। यो बृहत संघहरुको संयुक्त रुप हो। युके (संयुक्त अधिराज्य) पनि चारवटा देशहरुको एउटा छाता हो। अमेरिका वा युके दुवैमा गणराज्य वा छातामुनिका देशहरुलाई व्यापक स्वतन्त्रता र स्वायत्तता त्यहाको कानुनले नै प्रदान गरेको छ। भर्खरै मात्रै युकेमा स्कटल्याण्डले आत्मनिर्णयको अधिकार प्रयोग गरि युकेबाट स्वतन्त्र हुने कि युकेको छातामुनी नै बस्ने भन्नेमा जनमत संग्रह नै गरेर संगै रहने निर्णय गर्यो। बिकाशको लागि ब्यबस्थाले ५०% र राजनैतिक नेतृत्वले ५०% भूमिका निर्वाह गर्छन भन्ने भनाई छ। हाम्रोमा न त व्यवस्थाले केहि गर्न सक्यो न त राजनैतिक नेतृत्वले नै। संघियताले नै बिकाशको ग्यारेन्टी गर्ने होइन तर सम्भावनाको बढोत्तरी भने अबस्य हुनेछ। त्यस्तै राजनैतिक नेतृत्व पनि परिवर्तन गर्नै पर्दछ। उनै पुराना र समयले असफल प्रमाणित गरेकाहरुले जुनसुकै ब्यबस्था र अबस्थामा राज गर्दा अबका ब्यबस्थाहरु पनि बेकम्मा नै साबित हुने सम्भावना पनि धेरै छ।

देश भित्रैका कुनै भागमा बस्ने देशबासीले आफुलाई राज्यबाट पटकपटक उपेक्षा र अपहेलित ठाने भने जुनसुकै बेबस्था र अबस्थाले राज्यलाइ कदापी हित गर्दैन। कर्णालीलाई स्रोतमा र मदेशलाइ पहिचानमा काठमाडौंले यस्तै हेप्दै गयो भने भविष्यमा के होला भन्न सकिन्न। राम्रो विकेन्द्रीकरण, स्रोतको सहि वितरण र सुशासनले देश जस्तो अबस्थामा पनि जोगिन्छ भन्ने उदाहरण नेपाल जस्तै विविधता भएका देशका छन्। सोच्ने काठमाडौंका कुर्चीमा बस्नेले हो। जनसाधारणको विचार त सधै देश उभो लागोस, उत्कर्षमा रहोस र शक्तिशाली होस् भन्ने नै हो।

कर्णाली नेपालको सबै भन्दा बैभाबशाली क्षेत्र थियो। हामीले प्रयोग गर्ने खस नेपाली भाषा र सस्कृति त्यतैबाट विकास भएको हो। शाह राजले आफु भन्दा बलियो र राम्रो राज्य देखि नसहेर जानीजानी पछाडी परेको हो। संसारमा कुनै पनि देश भौलागिक रुपले १००% सुगम छैनन् र हुदैनन् पनि। सुगम बनाउने शासन र विकासले हो। मदेश महेन्द्रीय राष्ट्रबादको सिकार भएको छ। कालो देख्यो कि इन्डियन भन्ने र मदेशी देख्यो कि भारतको अंश भएको मान्ने। मैथली, अबधि, भोजपुरी बोल्ने हाम्रा मदेशका नागरिकलाई जो आफै हिन्दि राम्रोसंग बुझ्दैन र पनि हामीले “भैया” भनेर काठमाडौंमा भन्न नछाड्ने र कर्णालीमा चामल दिए पछि पुग्छ भन्ने हो भने भविष्यमा जटिलता आउला। मदेशका भ्रष्ट नेताहरुलाई हेरेर सबै मदेशबासीहरुलाई उस्तै देख्नु हुदैन। मदेशका नेताहरु र कर्णालीका नेताहरु त काठमाडौंका बर्णशंकर हुन्। खास कुरा मदेश र कर्णालीका जनता समक्ष गएर बुझ्नु पर्छ। पहाडिया र काठमाडौंको नजरले देश पुरैलाइ हेर्दा गल्ति हुन जाला।

र अन्तमा, जनता आफू लाइनमा बसेर पालो पर्खिदैन, बलियोले सकेसम्म लाइन मिचेर आफू अगाडी जान खोज्छ, अनि उसको नेताले नियम मिच्दैन? जनता आफू बागमती लगायतका सबै नदीमा ढल मिसाउछ, फोहोर फाल्छ अनि नेताले पनि राजनीतिमा फोहोर मिसाउदैन ? जनता आफू सामान्य ट्राफिक नियम मान्दैन अनि नेता देशको नियम मान्छ? महंगी सबैलाई बढ्छ तर आफ्नो पार्टी सरकारमा हुने समर्थकहरू ठान्छन भाउ बढाउनु ठिक र बिरोध गर्नु बिरोधी पार्टीहरुको काम हो। अनि नेताहरू मिलेर काम गर्छन ?

सोर्स-फोर्स लगाइदिन सक्ने, नमिल्ने काम गरिदिन सक्ने र अयोग्यलाई अनि जागिर लगाइदिन सक्नेलाई जनता भोट दिन्छ र शक्तिशाली नेता भन्छ। अनि नेताले आफ्नो लागि पनि नियम मिचेर पनि गरेर भ्रष्टाचार गर्दैन ? जनता आफू मासु, भात, जाँड, रक्सी र पैसामा आफ्नो भोट बेच्छ अनि उसको नेताले आफूलाई विदेशीको डलर / युरो / पाउण्ड मा बेच्दैन ?

नेताले जनता बनाउने होइन, जनताले नेता बनाउने हो। जनताहरू जस्ता हुन्छन नेताहरू पनि त्यस्तै हुन्छन। नेताहरू त त्यहाँका जनताका ऐना हुन्। त्यहाँका जनता कस्ता छन् भनेर अन्त हेर्नै पर्दैन, त्यहाँका नेता कस्ता छन् हेर्दा हुन्छ।

त्यसैले आफूलाई हेरौं, म जस्तो छु, मेरो नेता पनि त्यस्तै छ र तपाईंको नेता जस्तो छ तपाईं त्यस्तै हुनुहुन्छ। मैले आफूबाट समाज, छरछिमेक र साथीभाईहरुलाई जे जस्तो ब्यबहार गर्दैछु, मेरो नेताले पनि देश र जनतालाई त्यस्तै ब्यबहार गर्दैछ। हामी नेताहरुलाई बेसरी गाली गर्छौ तर तिनैलाई पटकपटक जिताएर संसद भवन पठाउँछौं। हामीसंग बिकल्प नभएर होइन बरु आफ्नो स्वार्थ जोडिएर हो । हामीलाई थाहै छ पार्टी वा जुनसुकै समुह पनि उस्तैउस्तै मन, विचार र सामुहिक स्वार्थ मिल्ने मान्छेहरु मिलेर बनेको गोलो न हो।

10 thoughts on “हिजोआजका गनगन”

  1. डिल्ली says:
    January 16, 2015 at 2:27 pm

    नेता र नेतृत्वले ठूलो महत्व राखे पनि बास्तबमा पटक पटक अस्थायी सरकारले स्थायी सरकारलाई समय सापेक्ष र जवाफदेही बनाउनुको सट्टा भ्रष्टाचारमा सहयोगी र निकम्मा निकायकारुपमा परिणत गराउनाले देश अधोगति तिर गएको हो । पार्टी, दल र नेता देश सञ्चालन गर्न अस्थायीरुपमा आउँछन् र जान्छन् । तर कर्मचारी र प्रशासन स्थायीरुपमा देशको मूल कानुनले प्रत्यायोजन गरेको नीति मुताविक काम गर्ने निकायकारुपमा आउन सक्नु पर्छ । यसको बर्खिलाप यौटा व्यवस्था वा सत्ता परिवर्तनसँगै “भ्रष्ट”को आरोपमा आसेपासे नियुक्ति गरी अकुत कमाउने भर्याङ बनेको बर्तमान स्थायी सरकार (प्रशासन) बन्न उत्साहीत गर्ने हालका नेता र दल हुन् । यसर्थ सबल सक्षमलाई पाखा लगाएर भ्रष्टलाई काखी च्यापेर र रमेश खरेलले भने जस्तै ब्रिफकेस बोक्नेलाई पद दिने लिने परम्पराको थालनीलेमात्र हाम्रो देश असफलता उन्मुख भएको हो । पहिले देश विग्रिनु राजा, पञ्च र कर्मचारीलाई दिइन्थ्यो । बहुदलीय व्यवस्थाको पु:नरागमनसँगै कर्मचारी र उही पुराना पञ्च र राजालाई नै दोष थोपर्दै ३० वर्ष गनेर बस्ने दललाई बास्तविकता विर्सेर पूजा अर्चना गर्न पुग्यौँ । हामीले नेतालाई अौँला दिइरह्यौँ उनीहरूले हाम्रो डुडुलो निलिरहे । जुन दिनसम्म स्थायी सरकारलाई भ्रष्टाचार गर्ने मोहराको रुपमा दलले प्रयोग गर्छन् तबसम्म स्थितिमा फरक आउँदैन ।

    अहिलेको अवस्थामा देशको सर्वस्वीकार्य अल्प र दीर्घकालिन नीति तथा बैदेशिक नीति बनेको छैन । जसले जुन दल सत्तामा पुगे पनि नीतिगत कुरामा समानता राख्न सक्थ्यो वा समान धारणा प्रस्तुत गर्न सक्थ्यो । हाल जस्तो गैह्र कुटनीतिक परम्पराको विकास पहिले थिएन । यौटा स्वाधिन देशको प्रधानमन्त्रीलाई दूतावासको कनिष्ट कर्मचारीले सहज भेटन र थर्काउन सक्छ जुन हुनै हुँदैन थियो । त्यसैलाई दलका नेताले बोकेर बसी रहेकाछन् ।

    यौटा नेतालाई पेट ढाडिएको बहानामा दिल्ली पुग्छ अर्को टाउको दुखेको निहुँमा । अर्को वायु अड्किएको बहानामा उता पुग्छ त अर्को श्रीमती वा साली विरामीको बहानामा । पदकालागि धुपौरो बाल्न दिल्ली धाउने परमपराले नेपाली राजनीति ग्रसित छ ।

    आर्थिक नीति फेरिन सक्छन् तर कुट्नीतिक र परराष्ट्र नीति स्थिर हुनु पर्ने हो । हाम्रोमा नेतै पिच्छे फरक फरक अवधारणा छन् जसलाई स्थायी सरकार वा कर्मचारी मार्फत एकमतमा लागू गरिनु पर्ने थियो ।

    अहिले कुडुलो परेर कहलिएका वा ठूटे नेता कोही दिल्ली धाउँदैछन् त कोही युरोपियन वा अमेरिकन मन्त्रिदैछन् ।एक थरी मधेश मामिलामा मधेशी दलका “नेता?” भनिएकाले भारतीय नेतालाई मधेश किन नभनिदिएको भनेर गुनासो गर्न भ्याए भने सेनापति कटुवालले पदै थाम्न दिल्ली गुहार्न भ्याए । दिल्ली दरवारको नेपाल शाखा लाजिम्पाट दूतावासमा नेताहरू ताँती लागेर बार्ता गर्न पुग्छन् वा खप्की खान जान्छन् । अर्का थरी आदिबासीको नाममा युरो र डलर थाप्छन्, कबिला र ढुङ्गेयुगमा पुर्याइ पाउँ भनी उनीहरू बिन्ति बिसाउँछन् ।

    अर्को तर्फ जे भए पनि मन्त्री पद पाए पुग्ने नेताहरूमा न मन्त्रालयगत काममा ज्ञान छ न त हाँक्न सक्ने कुनै योग्यता नै । जो मन्त्री भए पनि बाटो र बिजुली प्राथमकतामा राख्छ मन्त्रीले चाहे खेलकुद मन्त्री नै किन नहोस् । सम्बन्धित मन्त्रालयमा असमन्धितहरूको लस्करले विकास भाँडिएको अवस्था छ ।

    विकेन्द्रीकरण ठीक वा संघीयता नै आवस्यक भन्ने नै प्रस्ट हुन सकेको छैन । देशले आफ्नो नागरिक को हो नै चिन्न सकेको छैन् । रैथाने नेपाली भन्दा फिरन्ते नव नेपालीको बोलवाला छ । तराईमा सैयौँ वर्षदेखिका भूमीहीन अनागरिक नै छन् तर चीनको सत्ता थेग्न नसकेर तिब्बतबाट भागेको होस् वा भारतमा अपराध गरेर नेपालको नागरिकता किनेको होस् उ झन जौडे नेपाली बनेको छ सत्तामा सजिलै विराजमान हुन सक्ने हैसितमा छ । समस्यको जड भन्दा मृगतृष्णा ठूलो बनेको हाम्रो देशमा संघी यता भए पनि संघी उता भए पनि ताप्केबाट नेपाली जनता भुंङ्ग्रामै जाकिने हुन् यही परिस्थिति रहिरहे ।

    Reply
  2. Prabhu says:
    January 16, 2015 at 9:15 am

    कटु सत्य!
    “मैले कठोर पाखण्डपन भेट्छु” यस्तै हो, नेपालमा श्रीमती र बच्चा राख्ने, विदेशमा केटिसाथि सित जीवन बिताउनेलाई के भन्ने हो?

    Reply
  3. Nabin Sharma says:
    January 16, 2015 at 9:09 am

    यो देशको बिडम्बना नै येही छ / हामी हरु भन्छौं एक थोक गर्छौं अर्को थोक/ सबै जना पुर्व निश्चित गरिएका धारणा बाट निर्देशित छौं / समय र परिणाम अनुसार आफ्ना धारणा बनऊँदैनौं / आफ्नो आस्था रहेको पार्टीले जस्तो सुकै काम गरेपनि आँखा चिम्लेर समर्थन गर्छौं, जसले गर्दा उसले गलत गरेको भएनी सुध्रने मौका पाऊँदैन/ नेत्त्रित्तोको सदैब गुण गान मात्र गाऊँचौं / आफ्नो फाइदा भय अरुलाई असर पर्ने भएनी त्यो काम गर्न लाज र डर मान्दैनौ/ काफ्ले जी ले उठाउनु भयको कुरा सान्दर्विक छ / मह जोडीले प्रोग्राम बनाउन पैसा त लिए तर तेस्को परिणाम के भयो अनि त्यो पैसा कसले किन दियो भनेर खुलाउनु पर्दैन ? अधिकार खोज्ने नाम मा देश टुक्राउने काम जायेज होइन भनेर राउत जी लाई हाम्ले सिकाउनु पर्ने हो ? संबिधान नबनाउने तर उत्क्रिस्ता सभासद्को पगरी गुथ्ने ? यो भन्दा लाज सरम क हुन्छ ? घोसणा गर्ने सस्था नि कस्तो हो ? जे काम को लागि सभासद भएका हुन् त्यो नहुदै उत्क्रिस्ता छान्ने ? काफ्ले जी लाई धन्नेबाद छ विचार बहस मा ल्याउनु भयको मा /

    Reply
  4. Rosan says:
    January 16, 2015 at 8:50 am

    नेताले जनता बनाउने होइन, जनताले नेता बनाउने हो। जनताहरू जस्ता हुन्छन नेताहरू पनि त्यस्तै हुन्छन। नेताहरू त त्यहाँका जनताका ऐना हुन्। त्यहाँका जनता कस्ता छन् भनेर अन्त हेर्नै पर्दैन, त्यहाँका नेता कस्ता छन् हेर्दा हुन्छ।=============

    Reply
  5. ekraj says:
    January 15, 2015 at 4:30 pm

    नेपाल मा नेत्रित्य पंक्ति फेरिने पर्दछ, राम्रो सोच र राम्रो काम गर्न सक्नेले| फहिलेइ भ्रस्ट, हुतिहारा, फटाहा र पाखण्डी भनेर चिनेका लाई पटक पटक चोरेर खान मौका दिनु धेरै हद सम्म जनताको गल्ति छ|
    नेपाल को सबभन्दा ठुलो बिडम्बना भनेकै, विधिको बिधान लाई काम गर्न नदिने प्रसनिक गद्धारी र गल्ति गर्ने लाई सजाए दिन नसकेरै जताततै बदमास हरुले भांड भैलो गरि रकेका छन्|
    राज्य चलाउने र प्रशासन चलाउने मा दम भए नाम को लागि दस थरि प्रोयोग्यात्मक प्रसानिक क्षेत्र बनाएर केहि हुनेवाला छैन| अलि अलि परिपाटी बसेको बेबस्था सुधार गर्न नसक्ने नापुन्ग्षक हरुले, अनाबस्यक प्रसाशनिक टाट पल्टने बेबस्था लादेर केहि हुने वाला छैन|
    नेपाल जसरि सम्भिधान बनाउने नाममा बज्रस्वांथहरुको जमात बबयेरा समाएको मात्र बर्बाद गर्यो, अनि तिनिहरुलेइ लुटेरा जनता हैरान छ| कसले छातीमा हात राखेर भन्न सक्तछ ६०१ जनाको बथान मा कत्तिजना सम्मिधान लेख्न र नमिलेका कुरा मिलाउन लागि परेका छन्?
    म सर्ब साधारणले जबाब दिनु पर्दा, इनिहरु कसैले पनि खासै चासो राखेका छैनन्|
    यी सब अल्छी र ठग का बथानहरु हुन् , पहिला पनि तेत्तिकै भत्ता खाइयो एस पटक पनि तेही हुन्छा, भनेर बसेका छन्|
    भोलि सम्मिधन बन्ने बित्तिअकै ६०१ जना त चाहिदैन होला? अनि किन काम गर्छन?
    भारत जस्तो बिशाल देश र तेत्रो जन संख्या भएको ठाउमा ६०० भन्दा कम्ले देश चलि राखेको छ| त्यो दाजोमा नेपाल मा ४०- ५० जना केहि गर्न खोज्ने, जान्ने, आँट भएका सांसद भए हुनेहो ति पनि सबै प्रतेक्षा लडेर एक|| समनोपतित भनेको पतित हरुको मुलिजुली चोरी ठगि खाने बथान मात्र हो| जब सम्म यी पाखण्डीहरुलाई विधिको बिधान मा राख्न सकिन्न तेतिखेर सम्म नेपाल मा केहि हुदैन| यो लेखेर राखे हुन्छा|
    होइन भने यो राजनैतिक टाट पल्टाई को कर्मभंग कहिलेइ पनि हुदैन र देश को बेबस्था को दुर्गति नेपाल को नियेती हुञ्छ|

    Reply
  6. PradeepMS says:
    January 15, 2015 at 4:08 pm

    कुरा १६ऐ आना सहि लाग्यो ! देश बदल्नु छ, पहिले आफैबाट सुरु गरौँ !!!

    Reply
  7. Chakra Limbu says:
    January 15, 2015 at 1:28 pm

    काफ्लेजी, एकदमै राम्रो धारणा लेख्नू भएको छ, खुसि लाग्यो तपाइको बिचार पढेर
    सर्बप्रथम मानिसले आफ्नो सोच मा परिवर्तन ल्याउनू पर्छ, तसर्थ आफू अगाडी को संसारलाइ सोहि अनुसार को देख्छ, जुन कुरा तपाइको लेखले स्पस्ट पार्छ, आफु भलो त जगत भलो, होइन भने त सबै कुरो टिकी ठ्यास ठ्यास 😉

    Reply
  8. xyz says:
    January 15, 2015 at 1:14 pm

    Leaders are suppose to solve problems, in Nepal, they create problems. Therefore, it is wrong to assume that the problems (situations) create leaders, it is the other way round.

    Reply
  9. madan bajracharya says:
    January 15, 2015 at 12:45 pm

    लेख नाथ काफ्लेज्यु/
    यस्तो राजनैतिक गम्भीर स्थितिमा आखिर तपाइंले भन्न खोज्नु भयको के हो र कसलाई ठिक कसलाई बेठिक भन्न खोज्नु भयको हो त्यो नै स्पस्ट भयन/ मावोबादी सिट दिल्लीमा १२ बुंदे सम्झौता पछी ८ बुंदे सम्झौता भयो/ ८ बुंदे सम्झौताको ६ नम्बर बुंदामा संबिधान सभा बात लोकतान्त्रिक प्रक्रिया अनुसार संबिधान सभामा लोकले निर्वाचित लोकको प्रतिनिधिहरु बात नया संबिधान बनाउने सहमति गरियको छ केहि नेता बिचमा सहमति गरेर संबिधान बनाउने भनियको छैन/ मावोबादिले चाहेको देसमा जातीय पहिचान हुने संघियताहो/

    अहिले संबिधान बनाउन प्रमुख बाधा गरेको कुरो मधेशबादीहरुले सम्पूर्ण तराईलाई पहाड सिट नजोडेको, मधेसिकों स्वशासित र मधिसे भनिने समुदायले तराइमा उपलब्ध श्रोत भुमि र अबसरमा अग्राधिकार पाउने र उनीहरुले चाहेमा तराईलाई नेपाल बाटै अलग्याउने आत्म निर्णय समेत गर्न सक्ने “मधेश” बनाउन माग गरेकोले नै हो/ मधेश्बादिको यस्तो मागलाई तराईकै मतदाताहरुले स्पस्ट अस्विकार गरेको छ/ फेरी तराईलाई मधेश बनाउनु पर्ने भन्ने माग मावोबादीको जातीय पहिचान हुने राज्य बनाउनु पर्ने मागको बिपरित छ र तराइमा थारु मैथिली लगायत आदिबासी जनजातिहरु बहु संख्यामा बसोबास छन्/ थारु मैथिलीहरु आफुलाई मधेसी मान्दैन/ माधेश्बादीहरु तराइमा जातीय राज्य बनाउने कुराको बिरोध गर्छन/ ई कुराहरुले मावोबादी र मधेश्बादिको माग र नीति पटक्कै नमिलेको स्पस्ट देखाउंछ/ त् भन्नुस लेखनाथज्यु अहिले किन कसरि कुन आधारमा मावोबादिहरु मधेश्बादिको माग पुरा गराउन चाहिरहेको छ/

    अब कुरा सुरु गरु तराइ लाइ मधेश भन्नु उपयुक्त छ बा छैन भनेर/ मधेशबादिहरु मनुस्मृतिमा उल्लेख भयको भनेर तराइको भुमि बिहारको बिन्द्याचल सम्मको मध्य देस भनिने भुमि हो भन्छ/ जनकपुर तराईकै भूमिमा पर्छ रामायण कालमा जनकपुरलाई मध्य देस भनियको छैन/ बिराट नगर पनि तराईकै भूमिमा पर्छ महाभारत कालमा बिराट नगरलाई मध्य देस भनियको छैन/अशोक राजालाई भारतको सम्राट मानिन्छ/ अशोक को पालामा तराइ मै रहेको लुम्बिनीलाई मध्य देस भनियको छैन/ अंग्रज सिट सुगौली सन्धि हुँदा तराईलाई मध्य देस भनियको छैन/ सुगौली सन्धि पछी अंग्रेजको भारतले भारतको नक्सा लेखेको नक्सामा कालापानी नेपालको रहेको देखायको थियो र त्यो नक्सामा पनि मधेश्बादिले भने जस्तै भारतको बिहारको बिन्द्याचल र नेपालको तराईलाई मध्य देस भनियको छैन/ अंग्रेजकै पालामा स्वतन्त्र भारतको रुपमा सन् १९४५ंमा भारतलाई संयुक्त रास्ट्र संघको सदस्य बनायको थियो/तेतिबेला पनि भारतले भारतको बिहार सिट जोडेको नेपालको तराईलाई मध्य देस भनियको छैन/ सन् १९५०ं र तेस्पछी भारत सिट तराइको श्रोतहरु मा कयौं अन्धिहरु भयको छ/ ती कुनै सन्धिहरुमा तराईलाई मध्यदेस भनियको छैन/ अरु र अरु अस्ति भर्खरै भारतको प्रधान मन्त्रि नेपाल आउँदा पनि तराईलाई टाऋआआईणाई भने मध्यदेस भनेंन/ तराईलाई मधेश बा मध्यदेस भन्नु पर्ने कुनै ऐतिहासिक र राजनैतिक नै छैन/ मधेशबादीहरु तराईलाई नेपाल बात अलग्याउन चाहेको कुरा उनीहरुले बिगतमा अहिले पनि गरे बोले मागेको कुराले स्पस्ट गर्छ/ यसैले तराईलाई मधेश्बादिले मधेश भनेकोमा सतर्क मात्रै हुनु पर्छ आश्चर्य मान्नु पर्दैन/ मधेशबादी सिट गठबन्धन गरेको दलहरु र तिनका नेताहरुले तराईलाई मधेश भने पनि आश्चर्य मान्नु पर्दैन/ आश्चर्य त् तपाईं जस्तो बुद्धि जिविले समेत तराईलाई मधेश भनेकोमा मान्नु पर्छ/

    नेपालमा अब बनिने संघीय राज्यहरुको कुरालाइ तपाइंले संयुक्त गरेर बनेको बिस्वो अरु देसको कुरा जोड्नु भयो/ तपाइंले यसो भन्नु भयर तराइ मधेश बादीले भने जस्तै नेपाल र भारत बीच नेपालको नभयको मुलुक भयको हो भनेर कुरा घुमायर भन्नु भयो/ यसो भन्नु अघि तपाइंले तराइ कुनै पनि बेला नेपाल भन्दा अलग्ग र इंगलैंड सिट संयुक्त भयको स्कटलैद जस्तो मुलुक नभयको कुरा चत्ताक्कै भुल्नु भयको हो बा गलत उदाहरण दियर गलत कुरालाई सहि साबिद गर्न खोज्नु भयको हो ?

    नेपाल हिमाल पहाड र तराइ मिलेर बनेकोहो/ तराईमै नेपालको अधिकाश स्रोतहरु समेतियकोछ/ तराइको श्रोतको समानुपातिक वितरण बिना नेपालमा बनिने कुनै पनि संघीय राज्य चलन टिक्न सक्दैन/ यो हुँदा हुँदै पनि कुरा घुमायर चपायर तराइमा आदिकाल देखि बसोबास गर्दै आयको आफ्नै पहिचान भयको जनजाती आदिबासी सबैको पहिचान मितायर सम्पूर्ण तराईलाई मधेसीको आत्म निर्णय गर्न सक्ने मधेश बनाउने मागको औचित्य किन साबित गर्न खोज्दै हुनु हुन्छ बुझ्न सकिन/

    लेखनाथज्युले सन् १९५५ंआआ नेपाल संयुक्त रास्ट्र संघको सदस्य बनेको लगतै रघुनाथ ठाकुर भन्नेले तराइ नेपालको नभयको भन्दै तराईलाई नेपाल बात अलग्याउन दिल्लीमा अनसन बसेको र जयकृष्ण गोइत सिके रावत् ले तराइ नेपाल बात अलग्याउनु पर्ने र तारामा बसेको अन्य नेपालीलाई लखेट्नु पर्ने अभियान चलायको र अस्ति भर्खरै मात्रिका यादव र जे पी गुप्ताले तराइमा आन्तरिक बसाइ सराइ बिरुद्ध र तराईलाई रास्ट्रिय आत्म निर्णय गर्न सकिने मधेश बनाउनको निमित संघर्स गर्ने घोसना गरेको कुराहरुलाई अनौठो लाग्ने गरि पुरै बेवास्ता गर्नु भयो/ आन्तरिक बसाइ सराइ बिरुद्ध संघर्स गर्ने भनेको अर्को सब्दमा पहाडीलाई तराइमा पस्न बस्न नदिने भनेको हो/ रास्ट्रिय आत्म निर्णय गर्ने भनेको स्पस्ट नै तराइ लाइ नेपाल बात अलग्याउने हो/ के संघियता यस्तैको निमित खोजियको हो?

    Reply
  10. dsunil says:
    January 15, 2015 at 10:51 am

    राम्रो लेख। बदल्नु पर्ने कुरा हाम्रो मनोवृत्ति हो संबिधान हैन । हामीले हाम्रो मनोवृत्ति बदल्न सक्यौ भने देस बदल्न धेरै समय लाग्दैन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme