Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वामित्व फेर्न नेपालन्युज बन्दको ‘नाटक’

Posted on January 11, 2015January 11, 2015 by Salokya

nepalnews आइतबार दिउँसो अचानक सोसल मिडियामा नेपालको पहिलो अनलाइन न्युज पोर्टल नेपालन्युज डट कम बन्द भएको खबर फैलियो। धेरैले वर्षौँपछि आफ्नो ब्राउजरमा नेपालन्युज टाइप गर्दा त्यहाँ देखे मर्कन्टाइल कम्युनिकसेन्सका अध्यक्ष सञ्जीव राजभण्डारीको एउटा सन्देश जसमा लेखिएको थियो- ‘यो कामबाट बाहिरिने बेला अब भयो। हामी तत्काल लागू हुने गरी नेपालन्युज डट कममा न्युज अपलोडको काम बन्द गर्ने घोषणा गर्छौँ।’

धेरैलाई यो घोषणा अनौठो र अकस्मात् भएको लागे पनि भित्री पाटो भने अर्कै छ। यस्तो घोषणाको तयारी केही दिनअघिदेखि नै भइसकेको थियो। नेपालन्युज सँधैको लागि बन्द हुन लागेको नभई स्वामित्व फेर्न केही दिनका लागि बन्दको नाटक गरिएको विभिन्न स्रोतहरुले बताएका छन्। के हो त अन्तर्कथा नेपालन्युजको ?
nepalnews

सञ्जीव राजभण्डारीले आफ्नो नोटमा लेखेका छन्-

In keeping with Mercantile’s pioneering spirit, Nepalnews the online news portal was launched in 2000, with a view to publishing the news, events, polls and forums about and from Nepal through the internet.

उनले आफ्नो नोटमा सन् २००० मा नेपालन्युज लञ्च गरेको बताए पनि खासमा यो सन् १९९९ देखि नै सुरु भएको हो। आफ्नो साइट कहिलेदेखि सुरु भयो भन्ने बारे समेत ज्ञान नहुनुले उनले आफ्नै नोटमा लेखेको We faced many challenges in this journey as this is not our mainstream activity. लाई पुष्टि गरेको छ।

सन् १९९९ मा नेपालन्युजको होमपेज यस्तो थियो
सन् १९९९ मा नेपालन्युजको होमपेज यस्तो थियो

यद्यपि मर्कन्टाइल कम्युनिकेसन्सले अनलाइन पत्रकारितामा पुर्‍याएको योगदानलाई त्यति सहज र हलुका रुपमा भने लिन मिल्दैन। नेपालन्युज सुरु हुनुभन्दा अघि द काठमाडौँ पोस्टलाई दक्षिण एसियाकै पहिलो इन्टरनेटमा उपलब्ध अखबार बनाउन मर्कन्टाइलले नै सहयोग गरेको थियो। उसकै इमेलबाट अमेरिकामा अध्ययनरत राजेन्द्र श्रेष्ठको इमेलमा सामाग्री पठाई श्रेष्ठ अध्ययनरत विश्वविद्यालयले दिएकै ‘स्पेस’मा पोस्ट प्रकाशन गरिएको थियो। पछि south-asia.com हुँदै न्युजमात्रका लागि नेपालन्युज सुरु गरिएको थियो। एक जमाना यस्तो थियो जतिबेला गोरखापत्र, कान्तिपुरदेखि अन्य दैनिक र साप्ताहिक पत्रिकासमेत नेपालन्युजमै प्रकाशन हुन्थ्यो।

समयसँगै परिवर्तन हुन नसक्दा
समयसँगै प्रविधि परिवर्तन हुँदै गयो, तर नेपालन्युज परिवर्तन हुन सकेन। कान्छा अनलाइनहरुले बजारमा प्रभावशाली उपस्थिति जनाउँदै गर्दा अग्रणी अनलाइनको प्रभाव झन् भन्दा झन् कमजोर हुँदै गयो। तर पनि नेपालन्युज एउटा यस्तो ब्रान्ड थियो, जसको इतिहास र प्रभावलाई कम आँक्न सकिँदैन थियो।

नेपालन्युजका एक दर्जनभन्दा बढी कर्मचारीहरु कार्यरत थिए। केहीको पद अपलोडर थियो, अर्थात् कसैले लेखेको न्युज अपलोड मात्रै गर्ने। जबकि हालका अनलाइनमा समाचार लेख्नेले नै समाचार अपलोड गर्ने गर्छ। कन्टेन्टका लागि भन्दा प्राविधिकहरुको बाहुल्य रहेको नेपालन्युज व्यवस्थापनका लागि कर्मचारी समस्याको विषय भइरहेको थियो।

यसैबीचमा नेपाल सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्युनतम पारिश्रमिकको माग गर्दै नेपालन्युजमा कार्यरत पत्रकारले गत पुस ८ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिसँग संयुक्त बैठक गरी व्यवस्थापनलाई मागपत्र बुझाए। त्यसपछि व्यवस्थापनको मूड परिवर्तन भयो। श्रमजीवी पत्रकार ऐन अनुसार चल्ने हो भने १७ वर्षदेखि करारमा काम गरिरहेका सबैलाई स्थायी नियुक्ति दिन बाध्य हुनुपर्थ्यो।

स्वामित्व परिवर्तनको तयारी
नेपालन्युजको व्यवस्थापन निकट स्रोतले दिएको जानकारी अनुसार यसको स्वामित्व परिवर्तनका लागि सबै टुङ्गो लागिसकेको अवस्था छ। नेपालन्युजमा कार्यरत १८ जनाले निकालेको संयुक्त विज्ञप्तिमा पनि यसको संकेत गरिएको छ। विज्ञप्तिमा भनिएको छ- ‘लामो समयदेखी कार्यरत पत्रकारहरुलाई हटाई भाडामा दिने नियतका साथ गरिएको यस कार्यको यस नेपालन्युजडटकमा कार्यरत पत्रकारहरु घोर भत्सर्ना गर्दछौं।’

हेर्नुस् पुरा विज्ञप्ति
यस नेपालन्युजमा कार्यरत पत्रकारहरुको तर्फबाट विगत १९९८ देखि संचालन हुँदै आएको नेपालको पहिलो अनलाइन नेपालन्युजडटकम आजको मितिबाट (२०७१/०९/२७) बन्द भएको कुरा सुनाउँदा पर्दा हामीलाई दुःख लागेको छ।
विगत १७ बर्ष देखि करारमा रहेको पत्रकारहरुले स्थाई लगायतका विविध मागहरुबाट भाग्दै ब्यवस्थापकले आजको मितिबाट बन्द गर्ने निर्णय गरेको हो। सिइओ संजिव राजभण्डारीले पठाएको इमेल पत्रकारहरुले आफनो काम गरिरहेको अवस्थामा ब्यवस्थापकका तर्फबाट प्रबन्धक मधु अमात्यले पढेर सुनाउदै आजको मितिबाट नेपाल न्युज बन्द गरिएको सुचना सुनाए। पत्रकारलाइ उक्त सुचना सुनाएको १५ मिनेट लगत्तै ब्यवस्थापकले न्युज पोर्टलमा सिइओले पठाएको पत्र राखेर बन्दको सुचना राख्दै साइटको Admin password परिवर्तन गरेका थिए तर वेबसाइटमा न्यूज अपडेट बाहेकका कार्य जारी राखेका छन्।
विगत १७ बर्ष देखि मर्कन्टाइल कम्युनिकेशन अन्र्तगत नेपालन्युज संचालन भएको थियो। गत पुस ८ गते नेपाल पत्रकार महसंघका प्रतिनिधीहरुसँग सयुक्त बैठक पछि नेपाल न्युजमा कार्यरत पत्रकारले आफनो माग पत्र बुझाए संगै ब्यवस्थापकहरुले ‘नेपाल न्युजमा महासंघ ल्याउने हामीले बन्द गर्छौ के गर्न सक्छौ ?’ भन्दै कार्यरत पत्रकारहरुलाई पटक–पटक धम्की दिँदै आएका थिए। लामो समयदेखि कार्यरत पत्रकारहरुलाई हटाई भाडामा दिने नियतका साथ गरिएको यस कार्यको यस नेपालन्युजडटकमा कार्यरत पत्रकारहरु घोर भत्सर्ना गर्दछौं।
श्रमजीवी पत्रकारहरुको विरुद्धमा गरिएको यस किसिमको हर्कतका विरुद्ध एक हुन नेपाल पत्रकार महासंघ, प्रेस युनियन, पे्रस चौतारी, क्रान्तिकारी पत्रकार महासंघ लगायतका संघ, संगठनसँग नेपालन्युजमा कार्यरत पत्रकारहरु संयुक्त रुपमा अपिल गर्दछौ ।
कार्यरत पत्रकारहरु:
रवि रिमाल राजेश चौधरी संजीव डंगोल
राजेन्द्र पोख्रेल किशोर पौडेल रबिन्द्र महर्जन
रुपचन्द्र महर्जन कुमार भण्डारी रिचा थापा
किरण श्रेष्ठ आनन्द चौधरी नारायण महर्जन
हेमन्त श्रेष्ठ राम हुमागाई तपस थापा
रजिन राई मनोज रिजाल नविन झा

तर स्रोतका अनुसार भाडामा होइन स्वामित्व परिवर्तनकै तयारी छ। स्रोत भन्छ, केही दिनसम्म न्युजपोर्टल यत्तिकै रहने र त्यसपछि यो नयाँ व्यवस्थापनमा सञ्चालन हुनेछ।

अङ्ग्रेजी साप्ताहिक ‘नेपालीटाइम्स’ सञ्चालन गर्दै आएको हिमाल मिडिया समूहअन्तर्गत नेपालन्युज सञ्चालन हुने टुङ्गो लगभग भइसकेको स्रोत बताउँछ। त्यसो त सञ्जीव राजभण्डारी र हिमाल मिडियाबीचको पुरानो सम्बन्ध पनि छ। राजभण्डारी केही वर्षअघिसम्म हिमाल मिडियाको बोर्ड अफ डाइरेक्टरमा थिए। सँधै घाटामात्रै देखाइने व्यवसायबाट उनले केही अघि मात्रै लगानी झिकेका थिए। हाल हिमाल मिडियाको बोर्डमा कनकमणि दीक्षित, कुन्द दीक्षित बाहेक अम्बिका श्रेष्ठमात्रै छन्।

हिमाल मिडियाको पुरानो बोर्ड अफ डाइरेक्टर
हिमाल मिडियाको पुरानो बोर्ड अफ डाइरेक्टर समूह

बन्दैछ नयाँ टिम
नयाँ व्यवस्थापनमा आउन लागेको नेपालन्युजका लागि टिम धमाधम बन्दैछ। नयाँ टिमका लागि केही मिडिया हाउसबाट पत्रकारहरु लगिसकिएको छ भने केही अनलाइनका मान्छे पनि लगिँदैछन्। ‘नेपालन्युजकै केही काम लाग्ने जनशक्ति छन् भने उनीहरुलाई पनि टिममा एडजस्ट गर्न सकिन्छ’, स्रोत भन्छ, ‘तर अपलोडर जस्ता जनशक्ति भने लगिने छैन।’

चीनको चासो
पछिल्लो समयमा नेपालमा चीनको चासो बढ्दैछ। चाइना डेली नेपालमा छापिन थालेको धेरै भइसक्यो। कान्तिपुरको प्रेसमा छाप्ने अन्तिम तयारी भइसकेर पनि रात रहेर अग्राख पलाएर डिसिजन चेन्ज भएपछि चाइना डेली हिमाल मिडियाको प्रेसमा छापिन पुगेको थियो। सन् २०१३ को मार्च १ देखि हिमाल मिडियाको नेपालीटाइम्स सँगै चाइना डेली एसिया विक्लीको साप्ताहिक संस्करण वितरण हुन्छ। यसबाहेक हालै चीनको एसिया प्यासिफिक डेली सुदूर पश्चिमबाट समेत प्रकाशन हुन थालेको छ। कुटनीतिक स्रोत बताउँछ, चीनको चासो धेरै पहिलेदेखि नेपालमा एउटा प्रभावशाली अनलाइन सञ्चालनमा थियो। नेपालन्युजको स्वामित्व परिवर्तन र चीनको चासोबीचको तादाम्त्यताबारे भने स्रोतले केही बताउन चाहेन। ‘थाहा पाइहाल्नु हुन्छ नि,’ उनको कथन थियो।

3 thoughts on “स्वामित्व फेर्न नेपालन्युज बन्दको ‘नाटक’”

  1. Arjun says:
    January 15, 2015 at 4:39 pm

    नेपालमा सवै दलालहरु मिडियामा घुस्न थालेका छन् कर्मचारीको शोषण कसरी गर्ने भनेर सोच्दा सोच्दै आखीर आलु खान्छन् यि ठग र लुटहरुले

    Reply
  2. Alikhit says:
    January 12, 2015 at 1:23 pm

    इन्टरनेट प्रदायक कम्पनिको रुपमा मर्कन्टाइल कम्युनिकेसन्सले आफ्नो बजार गुमाउदै छ, कुनै जमानामा एप्पल, एसर, IBM , एप्सन लगायत ब्रान्डहरुको एकाधिकार बोकेको यो कम्पनि आज ती सबै ब्रान्ड हरु अन्य कम्पनिले लागि सके, पुमोरी को हालत बर्बाद छ, के हुदैछ यो कम्पनि लाई ?

    Reply
  3. tulsiram says:
    January 12, 2015 at 12:45 am

    जिन्दगि मा पहिलो पटक मैले खोलेको website येही थियो …येस्मा पनि लफडा सुरु भयेछ ..हल्का दुख लागेको अवस्था …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme