Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाक काटिएको थियो कि थिएन? सिनासको पुस्तकमा यस्तो छ

Posted on January 11, 2015January 11, 2015 by mysansar

1-photo (21) कीर्तिपुर विजयपछि पृथ्वीनारायण शाहले त्यहाँका जनताको नाक काटेको थियो कि थिएन भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्रद्वारा प्रकाशित ‘कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास’ पुस्तकमा यस्तो लेखिएको छ-

दुई दुई पटक कीर्तिपुरबाट नराम्रो हार खाएपछि गोर्खा कीर्तिपुर विजय गर्न केवल सैनिक बलले नसकिने निश्कर्षमा पुग्यो र अन्य उपायले जित्ने कोशिस गर्न थाल्यो। दोस्रो पटक हार खाएर फर्केको तेह्र महिनापछि नै प्रथम युद्धमा होमिएका कालु पान्डेका छोरा काजी वंशराज पान्डेको नेतृत्वमा चारैतिरबाट कीर्तिपुरलाई नाकाबन्दी गरी राखे। नाकाबन्दी यतिसम्म कडा गरियो कि यदि कसैले केही पनि प्रतिबन्धित वस्तु कीर्तिपुरभित्र लगेको थाहा भएमा त्यस्ता व्यक्तिको हत्या गरी मूलबाटोमा फालिएर राखिन्थ्यो। आत्मसमर्पण गरेमा आममाफी दिने घोषणा पनि गर्दै रहे। साम दाम दण्ड भेद सबै अपनाए।

गोर्खालीले यसरी छ महिनासम्म घेरेर नाकाबन्दी गरी शहरभित्र केही पनि लान नदिने र शहर बाहिर पनि कोहीलाई आउन नदिने गरी राख्दा पनि केन्द्र पाटनमा वैधानिक राजा नहुँदा कुनै किसिमको सहायता प्राप्त भएन। झन् उल्टो त्यहाँका ६ प्रधानहरुले गोर्खालीसँग मिल्ने प्रयास गरी राखेका थिए। यस्तो अवस्थामा सहायता नआउनु कुनै आश्चर्यको कुरा थिएन। कुनै किसिमको राहतको उपाय खोज्न सकिएन। आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको नेतृत्व लिएका धनवन्त सिंख्वालका छोरालाई गोर्खालीले अपहरण गरी नुवाकोट लगिसकेकोले नेतृत्व वर्ग र साधारण जनतासमेत लड्नु भिड्नुदेखि वाक्क भइसकेका थिए।

त्यसर्थ गढ पर्खालभित्रै सरसल्लाह गरी आत्मसमर्पण गर्ने निधो भएपछि नेसं ८८६ चैत्र शुक्ल (१२ मार्च १७६६ इस्वी संवत्) का रात्रिमा गोपुर (सागः) को ढोका खोलियो र गोर्खालीहरु बाख्रा खोरमा बाघ पसे झैँ पसे। आत्मसमर्पण गरेमा आममाफी गर्ने घोषणा लत्याइयो। आफ्ना बाबु मारिएको रिसमा वंशराज पान्डे र आँखा फुटेको रिसमा सूरप्रताप मिली नुवाकोटबाट पृथ्वीनारायण शाहको अनुमतिमा आमहत्या अंगभंग गर्ने जस्ता कार्य गर्न थाले।

शरण पर्न आएका प्रजालाई जहाँ पायो त्यहीँ काट्ने, मार्ने गरे। नौ वर्षअघि आफ्ना काजी कालु पान्डेलाई मारेको र १३ महिनाअघि भाइ सुरप्रतापको आँखा फोरिएको सबै प्रतिशोध अब पृथ्वीनारायणद्वारा कीर्तिपुरका विजित जनतामाथि लिन थाल्यो। यसबारे धेरैले धेरै कुरा धेरै पटक लेखिसकेका छन्। हुनत केही इतिहासकारले यसलाई अनेकन् तर्क वितर्क र कविताको अन्वयसमेत गरी नाक काटेको हैन केवल नत्थु छेडेको मात्र भनी लेखेको समेत पाइन्छ। तैपनि यस विषयमा ककसले केके लेखेका छन् यहाँ प्रस्तुत गर्न उपयुक्त छ। भाषा वंशावली यस विषयमा लेख्छ-

कीर्तिपुरमा ललितपट्नका काजी तौधी श्रेष्ठहरु काजीहरु जाई कोटमा बस्याको थियो। तिनिहरुसित लडाइँ गरी कीर्तिपुरलाई घेराउ गरी ढोका बाहिरबाट मद्दत आउन र निस्कन नदी राख्दा संवत् ८८६ नष्ट चैत्र शुक्लका रात्रि कोटमा रहन्याहरु मध्ये कोही गोर्खातर्फ मिल्न जाई गोर्खालिकन कीर्तिपुरमा प्रवेश गराउँदा ती गोर्खालीहरु देश भित्र गै प्रजाहरु सामुन्ने देखा पर्‍याका धेरैलाई मार्‍या १२ वर्षदेखि उभोँका मानिसहरु सबैको अघि शूर प्रताप शाहको तीले हानी एक्कासी गरी रह्याको रिसले नाक काटि दियो। उस हुलमा लुकी रहन्या र भागि जान्याहरुको मात्र नाक बाँच्यो। (भाषा वंशावली द्वितीय भाग पृ ११८)

यसै व्यहोरामा राजभोग वंशावलीमा अलि फरक उल्लेख छ। कोटमा कब्जा गरिसकेपछि पनि केही प्रजाहरु त्यसको मुकाबिला गरी अन्तै बसेका थिए। सं ८८६ नष्ट, चैत्रमा गोर्खालीले कोट प्रवेश गरेको ९ महिनापछि ने सं ८८७ पौषमा मात्र सबै दागा छोडी कोतमा गै आत्मसमपर्ण गरेको देखिन्छ। उक्त वंशावलीको उद्धृत :

सम्वत् ८८६ नष्ट चैत्र शुक् ९ का दिनका रातृमा कीर्तिपुरमा गोर्खालीले प्रवेश गर्‍या। देश प्रजाहरु देषा पर्न्या आइ लाग्न्याहरुकन समाइ मार्‍या। पछिबाट अघि कालुपान्डे अरु सर्दारहरुकन र सुर प्रताप शाहका नेत्र तीरका प्रहारले फोरिदिया भन्या रिसले कीर्तिपुर्‍या प्रजाहरु १२ वर्षभन्दा बढी उमेरमा भयाकाहरुकन नाक काट्या, भागी दबी रहन्याहरु मात्र बाँच्या। तहाँपछि सम्वत् ८८७ साल पौष कृष्ण दशमिका रातृमा प्रजाहरु सब जम्मा भै चीराक बाली दगा छोडी कीर्तिपुरका कोट घरमा प्रवेश गर्‍या। (राजभोग वंशावली पृ ९२)

तत्कालीन कवि ललित वल्लभले सो कुरा कवितात्मक छन्दमा यसरी प्रस्तुत गरेका छन्

सर्वान् दुर्गवरान् समूपतिवरो जित्वाचतुर्दिकास्थितान्।
रम्यं कीर्तिपुरोति विश्रृतपुरं जगाह भूरिश्रवा।।
हत्वा शत्रुमनश्विनः कति पुनः प्रच्छिद्य नासादिकं।
कृत्वा कांश्च विरुपिणः कुपुरुषान् कीर्ति स्वरुपं द्विष।।

यसै विषयमा विदेशीले के लेखे? त्यसको पनि आआफ्नो महत्व छ। सर्वप्रथम माइकल एन्जेलोले ती अभागी कीर्तिपुरेको निमित्त शूरप्रताप कहाँ माफीको भिख पनि माग्न पुगेका थिए। तर पुकार सुनिएन। माइकल एन्जेलो तत्कालीन पादरीका प्रमुख थिए र उनी औषधि गर्न निपुण थिए। शूरप्रताप शाहकको आँखा फोरिँदा उनैले उपचार गरिदिएका थिए। क्रिस्चियन धर्ममा मानवप्रति दयाको आफ्नै स्थान हुन्छ र त्यसै धर्मका पादरी भएको अति शूरप्रताप शाहलाई औषधि गरिदिएका नाताले पनि कीर्तिपुरमा अनिष्ट हुन लाग्यो भन्ने ठानी उनले शूरप्रताप कहाँ क्षमादानका निम्ति समेत अनुरोध गर्न पुगेका थिए। यसबारेमा गुसिपिको भनाई यस्तो छ:

नाकाबन्दीको कारण छ सात महिनासम्म कठिन अवस्थामा कीर्तिपुरका जनताले जीवन बिताइसके। यत्तिकैमा एक्कासी पाटनका धनवन्त गोर्खालीहरुसँग मिल्न गई गोर्खाली सैनिक कीर्तिपुरमा हुले। यहाँका जनताले अझै पनि आफ्नो देशको रक्षा गर्न सक्दथे। तर गोर्खालीले आत्मसमर्पण गरेमा आममाफी दिने घोषणा गर्दै प्रचार गरे। धेरै लामो नाकाबन्दीले थाकेका कीर्तिपुरले गोर्खाको छलकपट बुझेनन् र आममाफी दिने घोषणाको विश्वासमा परी आत्मसमर्पण गरे। आत्मसमर्पणपछि गोर्खालीले सहरको सबै ढोका बन्द गरेर सहर भित्र बाहिर गर्न दिएनन्। यसको दुई दिनपछि नुवाकोटमा बसेका पृथ्वीनारायणको आदेशमा सूरप्रताप शाहले मुख्य मुख्यको ज्यान लिए। अरुको नाक ओठ काटे। केवल आमाको दूध खाने बालकमात्र बचे। काटेका नाक ओठ सबै जम्मा गरी राख्न आदेश भयो। जसले गर्दा कति रैति रहेछन् गन्न सकियोस्। अनि देशको नाम नै नष्कट पुर राखे। आदेश हरतरहले पालना गरियो। जतिसुकै दानवीय किन नहोस्। केवल मुखले बाजा बजाउने मात्र बच्न सके। फादर माइकल एंगेले कीर्तिपुरमा जनताको लागि दयाको भिख त मागिदिएका थिए। तर भिख पाएनन्। धेरैले त्यस यातनाको कारण आत्महत्या पनि गरे। अरु धेरैले हामी कहाँ औषधिमुलो खोज्दै आए। यति धेरै मानिसको काटिएको नाक र दाँतको दृश्य देख्दा साँच्चै नै मूर्दा त होइनन्? भनी दृश्य ह्दयविदारक हुन्थ्यो। (जर्नल अफ एसियाटिक सोसाइटी भोल्युम २ पृष्ठ ३१९)

त्यसैगरी कीर्तिपुर दखल भएको २३ वर्षपछि नेपाल आएका कर्क प्याट्रिकले यस्तो लेखेको पाइन्छ-

कीर्तिपुर……यस शहरमाथि विजय हासिल गर्नमा गोर्खालीलाई धेरै श्रम, सिप, धन र जन खर्च गर्नुपरेको थियो। साथै धेरै कष्ट सहनु परेको थियो। त्यसको प्रतिशोध स्वरुप विजय हासिल गरिसकेपछि त्यस ठाउँका बासिन्दालाई पक्री अमानवीय तरिकाले तिनीहरुको नाक, कान काटियो। हामीले यो कुरा हाम्रै भरियाहरु मध्ये धेरैको नाक नभएको देखी त्यसको कारण सोध्दा त्यस्तो जवाफ पायौँ र थाहा पायौँ। (कर्कप्याट्रिक -१६७)

यसरी नाक काटेको विषयलाई लिएर धेरै विवाद भए। धेरै मसी खर्च भए। यकिन हो भन्नेले पनि भने। खण्डन गर्नेले पनि गरे। अब हामीले यस विषयमा विचार गर्नुपर्दा खण्डन गर्नेको पनि खण्डन गर्ने ठाउँ छ। समर्थन गर्नेलाई खण्डन गर्न खोज्दा कताकता इतिहास लेखन प्रति नै बेइमानी हुन जाने पनि देखिन्छ। जब विदेशीले हाम्रो विषयमा राम्रो भनी लेख्दा हाँस्दै खुसी हुँदै सकार्ने, अन्य मन नपर्ने र आघात् पर्ने कुरा लेखेको पाएमा त्यसलाई असत्य मान्ने हो भने यो देशको सम्पूर्ण इतिहास नै पुनर्लेखन गर्न जानु पर्ने हुन्छ।

तत्कालीन इतिहासलाई केलाएर हेर्दा यो घटना नघटेको भन्न मिल्ने देखिँदैन। घटना सत्य नै हो। प्रथम आक्रमणमा आफ्नै सवल सैनिक कमान्डर मारिनु, दोस्रो आक्रमणमा भाइको आँखा फोरिनु र तेस्रो आक्रमण पनि पहिलो आक्रमण मै परी मर्ने कालु पान्डेको पुत्र व‍ंशराज पान्डेको नेतृत्वमा हुने र विजय प्राप्त भएपछि विजित शत्रुमाथि यसरी अतिशयोक्ति गर्नुमा कुनै आश्चर्य थिएन। विश्वका अन्य भागमा पनि पराजयपछि भोग्नुपर्ने नियतिको धेरै प्रमाणहरु तत्कालीन इतिहासमा पाइन्छ।

एक व्यक्तिबाट अर्को व्यक्तिमाथि मात्र भएको लाञ्छना भए, सानै स्तरमा मात्र घटेको घटना भए यसरी एकै स्वरले स्वदेशी तथा विदेशी सबैको मुखबाट वर्षौासम्म घटना विवेचना भई रहनु पर्ने थिएन। त्यसैले यो काल्पनिक कथाको पाना हुन सक्दैन। केवल विजय हासिल गर्नेको मात्र इतिहास लेख्ने र गुणगान गाउनु पर्ने भए यो असत्य हो। तर बिना सत्यता. बिना त्रासदी र पाशविक घटना नभएको भए यसरी सताब्दियौँपछि सम्म पनि यसको विवेचना भइरहने थिएन। त्यसैले यसमा सत्यता अवश्य छ। आशा गरौँ, यसको प्रामाणिक लेखौट एक दिन अवश्य प्रकाशमा आउनेछ।

तर घटन घटेको दुई सय वर्षपछि लेखिएको एउटा पुस्तकमा मात्र यसको खण्डन गर्न तर्क वितर्क अघि सार्नु इतिहासलाई बंग्याउन खोज्नु मात्र हो। त्यसर्थ समष्टिगत रुपमा विश्लेषण गर्दा विभिन्न लेखकहरुद्वारा प्रस्तुत गरिएको निश्कर्ष पनि अघि सार्नु वाञ्छनीय हुन्छ। यसै विषयलाई लिएर तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्र लेख्छन्-

धेरै जसो समकालीन ग्रन्थहरुमा नाक कान काटिएको घटनाको वर्णन छ। केही इतिहासकारहरुले पादरी जेसेपिको भनाइलाई असत्य ठहर्‍याएका छन्। तर इसाई पादरीले मात्र यस घटनाको वर्णन गरेको भए सोको सत्यतामा शंका गर्ने ठाउँ हुन्छ। तर दरबारिया कवि ललिता वल्लभ तथा सुन्दरानन्द र कर्कप्याट्रिकले पनि यस घटनाको उल्लेख गरेका हुनाले यो ऐतिहासिक घटना देखिन आएको छ। र कीर्तिपुरका जनताको नाक कान काटिएको घटना सत्य प्रतीत हुन्छ। (वैद्य र मिश्र पृ ४३)

अन्तमा यो घटना घटेकै देखिन्छ। नाक काटिएकै थियो। सत्यलाई जति बंग्याएर लेखेतापनि आखिर सत्य सत्य नै रहन्छ। यस विषयमा गुरु वंशावली सत्यताको धेरै नजिक पुगेको देखिन्छ। त्यसमा जम्माजम्मी ८६५ जनाको नाक काटेको उल्लेख भएको छ। माथि उल्लेख भए जस्तै कीर्तिपुरमा यसबेला करिब हजारमात्र लड्न भिड्न सक्ने जनता थिए। (पृ १७) माइकल एन्जेलो र गुसिपिले देखेको घटना कर्कप्याट्रिकले देखेको अभागीको अनुहार कसरी असत्य मान्ने? यस तथ्यलाई नमान्ने हो भने आज नेपालका बारेमा जति पनि विदेशीले लेखे सबै अमान्य गर्नुपर्ने हुन्छ। इतिहासमा सत्यता र तथ्यताको आफ्नै महत्व हुन्छ। केवल वाक् चातुर्यता इतिहास बंग्याउन खोज्नु देशकै निमित्त अन्याय गरेको सम्झिनु पर्छ। इतिहास लेख्नमा बेइमानी गरेको ठहरिन्छ।

27 thoughts on “नाक काटिएको थियो कि थिएन? सिनासको पुस्तकमा यस्तो छ”

  1. रविन says:
    January 16, 2015 at 2:21 pm

    ईतिहासलाई परिवर्तन गर्न सकिन्न यो बितेको घटना हो. त्यतिखेरको समयान जताततै क्रुरता थियो. मानव अधिकार, शिक्षा कसैमा पनि जागरुकता भन्ने थिएन. पहिलेको त के कुरो गर्नु आधुनिक सभ्य समाज हाम्रै पालामा भएको माओबादी युद्दको क्रुरता र बरबर्ता झन् कहाली लाग्दो छ. यिनीहरुलाई त अझै कारवाही गर्न सकिन्छ र यिनले गरेको युद्ध सहि हो भनेर अझै पनि प्रमाणित गर्न सकेका छैन र जनताबाट तिरस्कृत भएर निर्वाचनले नै यिनीहरुको हैसेत देखाई सक्यो.

    त्यति खेर बरबर्ता भएको थियो भनेर अहिलेको पुस्ताले पिढा भोग्नु परेको छैन . त्यतिखेर दुखि पिडित भए पनि नेपाल एकीकरण जरुरि थियो पृथ्वीनारायण शाहले सक्दैनै थिए त अरु कसैले गरि हाल्थ्यो झन् पिडा पनि हुन् सक्थ्यो तेसैले इतिहासलाई सच्यौन सकिन्न तर इतिहासबाट पाएको उपलब्धि यो देश हो तेसैले राष्ट्र निर्माताको हैसिएतले हामीले प्रितिविनार्याँ शाहलाई मान्ने पर्छ.

    Reply
  2. कमल says:
    January 14, 2015 at 12:38 am

    कान काटेको हो कि होइन भन्दा हो भन्ने पक्कै भयो| अब फेरी दुईमत नरहला| काट्नु ठिक थियो वा थिएन त्यो बारे वहस र विवाद चल्दै रहला| यँहा धेरैले सोचेजस्तो युद्धमा नाक काटेको होइन, युद्धपछि पृथ्वी नारायणको विजयलाई स्वीकार गरेपछि नाक काटेको प्रमाणित भैसकेको छ| कीर्तिपुरेको पीडा पनि बुझ सक्नु पर्यो|
    त्यसपछि एकीकरण गरेको हो वा होइन भन्दा त्यसमा पनि विवाद छ| के हो एकीकरण भनेको? अहिलेको हेराई र सोचाईले हेर्ने हो कि उबेलाको? जब देशको एउटा ठुलो हिस्सा वा जातिलाई नै पाखा लाउने नीति भएको राजाले के को एकीकरण गर्ने भनेर पनि कसैले भने बेठिक हुनेछैन| कसैले कुतर्क दिएका छन् यँहा, एमाले, माओवादी, राणा शासनमा पनि मान्छे मारिए, टाउको काटे, इत्यादि भन्दै तुलना गरेर| माले एमाले माओवादी र राणा शासन कसैले पनि एकीकरण गरेको हो भनेर न श्रेय लिएका छन् न कसैले दिएका छ|
    नेपाल कृषि प्रधान देश हो, नेपाल जलश्रोतको धनी देश हो| जसरि पाठ्य पुस्तकमा घोक्दा घोक्दा यस्ता पढेकाले कुरै नसुझी दिमागको हार्ड ड्राइभमा सुरक्षित राखेका छन, त्यस्तै बडा महाराजले एकीकरण गरेका हुन् भनेर पढेको केलाई जीलाई नगरी अक्षर जानेकाहरुले ठोकुवा गर्नेहरुको पनि भीड देखियो|
    एकीकरण गरेको भए तपाई र तपाईको सम्प्रदायको लागि गर्यो होला| ढुक्क हुनुस, खुशी हुनुस| तर ख्याल राख्नुस सिंगो मुलुक भनेको तपाई र तपाईको सम्प्रदाय मात्र होइन| उपत्यकामा कुनै बेला किरातीले पनि राज गर्थे भन्ने कसैलाई हेक्का होला? गौरवमय इतिहास कसैले जान्ने र सुनाउने गरेको होला? तपाई र तपाईको लागि मात्र भए त्यो एकीकरण होइन, सके दुकिकरण नत्र करण मात्र हो| जसको लागि गरेको ठहरिन्न, उसले पनि एकीकरण भनेर हावाको वेगमा मन चंगा उडाईरहन पर्दैन|
    अब एकीकरण र नाक काट्ने हो वा होइनमा अहिले आएर किन टाउको दुखाउने भनेर सोध्नुहोला| मिथ्या कुरो र मिथ्या इतिहासमा डुबेको जाति र मुलुक तक्दैन| यसलाई खोज्ने र सच्याउने बिदेशीको काम होइन, हाम्रै हो|
    पृथ्वी नारायण शाह लाई एकीकरण कर्ता भन्नु र माओवादीलाई गणतन्त्रको सम्पूर्ण श्रेय दिनु सरह हो? दुइटा उचित हुनेछैन|

    Reply
  3. डिल्ली says:
    January 13, 2015 at 7:58 am

    नाक, कान वा ओठ के काटियो वा काटिएन वर्तमानमा खासै महत्व नराख्ला । त्यस्तै हिसाब राख्तै जाने हो भने ९० दशकमा राणाले, २०२८ सालमा मालेले (हालको एमाले), २०५० पछि माओबादीले नाक कान मात्र हैन टाउकै छिनाएका थिए । उहिले कोत, भण्डारखाल वा नारायणहिटीमा छिनाइएका वा मारिएका शासक र निम्ति हात उचालेर खुच्चिङ मच्चाउनु पनि सही नहोला । वर्तमानमा भएको नारायणहिटी संहारमा राजा र राजपरिवार मारिए कस्ले मार्यो न आयोगले बताउन सक्यो न छानविन नै भए । मारिएका मध्येका दिपेन्द्रलाई बलीको बोका बनाएर घटनाको पाना अन्त्य गरियो । अहिले गृहयुद्धमा मारिए पहिले टुक्रे देशका बीच युद्ध भयो र काटिए वा मारिए । प्रतिसोध वा दम्भस्वरुप काटिए होलान् केही धोखा दिएर मारिए पनि होलान् । विजेताले हार्नेलाई दास बनाउने समयको कुरालाई जोडेर खोतल्ने हो भने निवर्तमानमा गरिएको ज्यादतिलाई विकसित समाजले विकसित मानसिकता राखेर मूल्याङ्कन गर्ने कि त्यो बेलाको अबिकसित समाजमा भएको घटना परिघटना वा ज्यादतिलाई महत्व दिने भन्ने हो । एकिकरणताकाको ज्यादति भन्दा कैयन गुणा ज्यादति “जन?युद्ध” ताका गरिए ।

    उक्त समय आसपास युद्ध हार्नेहरूलाई मार्ने चलन संसार भर व्याप्त थियो । त्यसबाट पृथ्वीनारायण शाह पनि अछुतो रहेनन् होला । उनले त्यतिबेला शरण परेकालाई मारे गल्ति गरे भन्न सकिएला वा अपराध नै गरे भन्न मिल्ला । कुरा आ-आफ्ना हेराइको हो दृष्टीकोणको हो । तर यस सारको के अर्थ रहन्छ वर्तमानमा ? अब के त २२-२४ लगायतका राज्य उतिबेलाकै सरह राजा रजौटा बनाउने र तिनका सन्तानलाई राजा बनाउने ? उपत्यकालाई पनि ३ वटा देश बनाउने र मल्ल खोजेर राजा बनाउने ? कि घले राजाहरूलाई विहे गरेको दिन सुहागरात मनाउन श्रीमती, जाँड र रक्सी सहित पठाउने ? पृथ्वीनारायण शाहले राज्य गर्नु पूर्व चाहीँ समाज स्वर्ग नै थियो भन्न खोजिएको हो कि ?

    Reply
  4. suman p says:
    January 13, 2015 at 7:25 am

    म कीर्तिपुरे हु , मेरा बाजे बराजुले भन्दै र सुनाउदै आएका कुरा हुन् यी, मेरा आफ्नै सम्पूर्ण पुर्खा पनि एसको सिकार थियो रे कोहि कोहि मात्र लुकी बचे क थिए रे , आफ्नै बाजे बराजुले हामी संग कसरि झूठ बोल्न सक्छ र हामी हैन सक्छौ र ?

    Reply
  5. कमल says:
    January 12, 2015 at 8:44 pm

    वहसको मूल मुद्दा के भने कान काटेको हो कि होइन? शाहबंशले राज गरिन्जेल सम्म कतिले यो हुँदै होइन भने वा कतिले सांकेतिक रुपमा रहेको सम्म मात्र स्वीकारे र कतिले स्वीकारेर पनि कान्लाको काँक्रो ताछेको सरह ठान्दै आएका छन| कतिले युद्धमा यस्तो हुन्छ र ठिकै गरे भन्ने सम्म तर्क राखेका रहेछन|
    कान काटेको हो कि होइन?
    कान काटेकै हो तर स्तुतिकर्ता, जयकार र कायर इतिहासकारहरुले यसलाई जाँदा जाँदै जस्तो गरेर साइडलाइन लाएर नलेखी नहुने जस्तो भाव मात्र प्रकट गरिदिएकोले संशय उत्पन्न गराइदिएर यो वहस अहिले आएर चर्किएको हो| निरङ्कुश शासक हिटलरका सहयोगीले भनेका थिए, झुट पनि हजार पल्ट दोहोर्याए साँचो मान्छन| हाम्रो मुलुकमा करिब अढाई शताब्दी सम्म राज्यले फुकी फुकी झुट प्रचार गरे पछि सुधा सादा सोझा जनतामा भ्रम पर्ने नै भयो| विगत चार दशक देखि जे पाठ्य पुस्तकमा देखियो पढियो त्यहि दिमागमा पस्ने र बस्ने भयो| किन र कसरि भनेर केलाउने जिलाउने कमै हुन्छन|

    अर्को मुद्दा हो एकीकरणको|
    एकक्षणलाई लौ मानौ युद्धमा कान काटेको जायज| अझ कसैले यो पनि थापिदेला, कान मात्र काटे, हात र खुट्टा पनि काट्न सक्थे| यो पनि मानौ पृथ्वी नारायण शाह विजेता र पराक्रमी राजा|
    अहिले सम्मको प्रमाणले के भेटाउछ भने कान काटेको युद्धमा होइन, युद्ध पश्चात हो|
    जब पृथ्वी नारायण शाहको मनमा एकीकरण थियो भने युद्ध पश्चात उनकै प्रजा हुने हो कीर्तिपुरे पनि| एकीकरणवालाले प्रतिशोधको ज्वाला आफ्नै हुनेवाला प्रजामा खनाउने कस्ता राजा हुन्? किन यो उत्पात र उन्माद?
    नेपाल खाल्डो विजय गरेपछि ढुंगे दरवारबाट आफुलाई सरुवा गराएर हनुमान ढोका दरवारमा स्थापित गरे| त्यो बेलामा उपत्यकाका तिन राज्यका संचालकहरु बीच अहिलेका राजनैतिक दलहरु बीचको जस्तो वैमनस्यता र खिचातानी थियो|
    मेरो सोचाईमा पृथ्वी नारायण शाहले गोर्खा नभनेर नेपाल भनेकोमा श्रेय दिन्छ भने बुझौ त्रिशुलीको पानी मर्स्याङ्ग्दिमा मिसिदा त्रिशुली हुँदैन, मर्स्याङ्ग्दि हुन्छ| त्यसैले उनले गोर्खा राज्य नामाकरण नगरेर नेपाल राज्य कहलाए|
    उपत्यका देखि पूर्वका रजौटालाई हाताँ लिंदा उनले क्रुर र छल कपट अपनाए| यस्ता कार्यले एकीकरण होइन, फुट र बैरभावको जग बसाल्यो|
    निष्कर्षमा, साँचो र इमान्दार रुपमा इतिहास आउँन बाँकी नै छ| जे जति थाहा लागेको छ, त्यसको आधारमा भन्नपर्दा पृथ्वी नारायण शाह एकीकरण कर्ता होइनन, उनी केही हुन् भने ठिक त्यसको बिपरित| हामीलाई अहिले सम्म जे पढाउदै आए र हामीले जे पढ्दै आयौ त्यसको पूर्वाग्रह रहित धारावाहिक रुपमा अवलोकन र विश्लेषण गरिन आवश्यक छ|

    Reply
  6. Prakash says:
    January 12, 2015 at 12:26 pm

    नाक काट्नेको बंसज जिउदै छन् भने काटी माग्नेको बंसज पनित कोहि न कोहि होलान खोइ किन चुप छन् तिनी हरु ?
    बडा महाराज पृथ्वी नारायण शाहको देनले वर्तमान नेपालको स्वरुप छ र हामी नेपाली भन्ने गर्व छ । युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्ने उक्खान नै छ । आत्मसमर्पण गरिसकेपछि किर्तिपुरका लडाकुहरुको नाक काटिएको हो भने यो कायर पन हो र थियो , वीर गोर्खाली भन्न लाज लाग्ने बेला आएको छ ।
    तर शौरभ ज्यु ले आफ्नो पुस्तक “अशहमति” मा यो बारे लेख्नु भा को छ । यो प्रोपोगान्डा नेपालको इतिहासको मात्रै किन ?

    सच्चा नेपालीले यो सोच्ने बेला आएको छ ।

    Reply
  7. Ramesh says:
    January 12, 2015 at 10:01 am

    गएको दस पन्द्र बर्समा दसौ हजारौको टाउको काटियो, हात काटियो, खुट्टा काटियो | कसैको छोरा काटियो, कसैको लोग्ने, कसैको भाइ, कसैको मास्टर काटियो त कसैको पत्रकार | त्यो सबै “क्रान्ति” को लागि गरिएको रे भन्यो काट्ने र कटाउनेको शिरमा टेकेर नाम र दाम कमौनेले | अनि तिनलाई नतमस्तक भएर नेता मान्ने तिमि | आजका ति बिधवाको चिन्ता लागेन तिम्लाई न त सन्तान गुमाएकी आमा को वा छोरा गुमाएको बाबुको वा दाजु भाइ गुमाएका दिदि बहिनीको | अस्ति भर्खर १७००० जनाको रगत को खोला बगेको भुसुक्कै बिर्सियौ | अनि ३०० वर्ष आगाडीको काटिएको नाकको चिन्ताले चै अति नै सतायेछ तिम्लाई | मलाई किन किन तिम्रो चै चिन्ता लाग्न थाल्यो, तिम्रो दिमाग त कसैले मजाले भुटीसकेछ | त्यो नाकको तेतिको चिन्ता लागेको भए तिमि आफुलाई नेपाली नभने त भैगो नि | जुन घरमा बस्छौ तेस्मा आगो लगाउने काम चै नगर – मेरो बिन्ति |

    Reply
  8. ramesh says:
    January 12, 2015 at 8:37 am

    पृथ्वीनारायण शाहको पालमा विश्वका कुन भुभागमा उथल पुथल थिएन ? त्यो लडाइको युग थियो । त्यो समयमा जनमत संग्रह गर्दै कुन देशमा बस्छौ वा छुट्टिन्छौं भन्ने अभ्यास हुन्थ्यो र ? युद्धमा क्रुरता मिसिएकै हुन्छ । अब कति धार्नी वा कति क्वीण्टन नाक काटे भनेर बहस गर्दै जानेहो भने त्यो पनि आउला । तर तथाकथित क्रान्तिका नाममा हाम्रै आँखा अगाडी बसमा आगो लगाएर बम पड्काएर खसी झै मान्छे काट्नेहरुलाई एक चोटी सवै मिलेर लखेटौं अनि बल्ल यसमा बहस गरौंला । किन कि यसरी खसी झै नेपालमा मान्छे काट्दा विश्वमा अनेक खालका प्रजातान्त्रिक अभ्यास गर्ने परिपाटी भित्रिएको थियो । पृथ्वीनारायण शाहको पालमा जस्तो हिंसा निर्विकल्प थिएन ।

    Reply
  9. gyan says:
    January 12, 2015 at 7:59 am

    अबकाे पाठ्यपुस्तकमा पि एन शाहकाे गुण गान मात्र हाेइन उस्काे निर्दयीताकाे कुरा पनि लेख्नु पर्छ ।

    Reply
  10. madan bajracharya says:
    January 12, 2015 at 5:05 am

    पृथ्बी नारायण शाहले नाक कान काटेका किर्तिपुरको नागरिकहरुको सन्तानहरु बझैंजिवित नै छन् उनीहरुले अझै पृथ्बी नारायण शाह्कों क्रुरता बिर्सेको छैन/ तसर्थ सत्य बुझ्न अरु कुरा हेर्नु पढ्नु पर्दैन; यक चोटी किर्तिपुर गयर बुझे पुग्छ/म ८ क्लासमा पढ्दा खेरि कोर्षको किताव कै रुपमा नेपालको ईतिहास भन्ने किताव पढ्नु पर्थ्यो/ त्यो किताव सायद बाबुराम आचार्यले लखेको हो/ त्यो कितावमा पृथ्बी नारायण शाहको कालो कर्तुत भनिने यक अध्याय नै छ/ त्यो अध्यायमा पनि उल्लेखित कुराहरु बर्णन गरियको छ/ सारंसमा भन्नु पर्दा पृथ्बी नारायण शाहलाई आफ्नो प्रजालाई माया गर्ने राजाको रुपमा लिन सकिंदैन/

    पृथ्बी नारायण शाह गोर्खाको राजा थिय/ उसले जात जातको राज्यहरु लगायत नेपाल पनि जिते/ तर उसले आफुले जितेको जात जातको राज्यहरु र नेपाल लाइ गोर्खा देसमा गाभेनन उल्टै आफ्नो गोर्खा समेत नेपालमा गाभे/ यसैले पृथ्बी नारायण शाहले नेपालाई यकिकृत गरेको थियो भनेर मान्नु पर्ने नै हुन्छ/

    Reply
  11. eklavya says:
    January 12, 2015 at 2:35 am

    वाह रे वाह नेपालीहरुको सुझबुझ इतिहास प्रति देखेर बडो उदेक लग्न थालेको छ खासगरी युवाहरु ..आजको समय जहाँ नेपोलियन, अलेक्जेन्डर,अशोक जस्ता योद्धाहरुको नाम बिरतासित गाभेर हेरिन्छ यहाँ सम्म कि लाखौ यहुदीको हत्या गराउने हिटलर समेत इतिहासमा सम्मान सित लिने गर्दछ त्यो जसले सायद स्वार्थको लागि नै किन नहोस राज्य बिस्तारको परिकल्पनामा एउटा बिशाल राज्य खडा गरे नेपाल भनि नाम दिए आज विश्वसामु हामी नेपाली भनि चिनाउने हैसियत दिए तिनै पुरुष कालान्तार्मा आएर दानव साबित भए ..अलेक्जेंदर्ले विश्व जित्ने अभियानमा कैयन देशलाई ध्वस्त पारे कति सभ्यताको अस्तित्व नै सखाप पारे आज दि ग्रेट भनिन्छ के हाम्रो देशको इतिहास तिनका भन्दा क्रुर थिए तिनले जस्तै जितेका राज्यको सम्पति आफ्नो देश लागेका थिए न कि काठमान्दुलाई राजधानी बनाए …लडाइमा के जायज के नाजायज भनेर हेरिन थालियो भने लडाई कहिले हुदैन नाजायजले भरियेकोलाई लडाई भनिन्छ चाहे त्यो हाम्रा राष्ट्र निर्माताले गरेको होस् या चाण्डाल अशोकले …..

    Reply
  12. kumar says:
    January 12, 2015 at 12:20 am

    हिटलर र प्र्थिवी नारायेने येउतै हुन् भन्ने भुझ्दै छु

    Reply
  13. सुवल says:
    January 11, 2015 at 11:47 pm

    आज नभए भोलि, भोलि नभए पर्सि निपर्सि सत्य तथ्य खुलिछाल्छ| आज त्यसरी उजागर भैरहेछ| जसले प्राप्य सत्य तथ्यलाई पूर्वाग्रह छाडेर आत्मसात गर्दैन तबसम्म कुनै स्तरमा विवाद र द्वन्दको स्थिति रहिरहन्छ|
    पृथ्वीनारायणले नाक काटेकै हो|
    नेपालको शाह बंशको इतिहास इतिहास होइन स्तुतिगान हो| अन्तमा गएर कसरि ढले शाह बंश आफ्नै पाप, भार र निकम्मापनले| राणाहरुले आफ्नो स्वार्थमा शासन हातमा नलिएको भए उहिल्यै शेष हुने थियो शाह बंशको, कीर्तिपुरेहरुको शराप परेको| पृथ्वीनारायण र उनको सेना नायकेहरु क्रुर थिए| एकीकरणको कुरा छाडौ, विस्तारवादी थिए| आज हामी एकीकरणका महाराज भनेर पुजिने व्यक्ति निर्दयी र क्रुर थिए भन्ने कुरामा शंकै छैन|
    जसले पृथ्वीनारायणले एकीकरण नगरेको भए आज हामी नेपाल र नेपाली हुने थिएनौ भन्ने लेंड़े तर्क दिन्छ त्यो त्यति हदसम्म ठिक ठहर्छ जब उसले भन्न पर्छ मेरो बाबाले आमालाई उबेला नभेटेर विवाह नगेरेको भए म आज यो संसारमै आउने थिईन| अंग्रेजले इन्डिया हडपेर एक शताब्दी राज नगेरेको भए इन्डिया आज टुक्रा टुक्रा हुने थियो भन्नु र पृथ्वी नारायणलाई एकीकरणको जश दिनु करिब उस्तै उस्तै हो|
    १. एकीकरण प्रति उनको किञ्चित मात्र पनि ध्यान भएको भए मोगल सरह किन हदै नाघेको निर्दयी र क्रुर हुनपर्थ्यो?
    २. बाइसे र चौबीसेमा आफ्ना र सगोलकालाई मात्र हालेर अरुलाई पाखा लाउनेले दुरगामी द्वन्दको बीज त्यहि बेला रोप्नेलाई कसरि एकीकरणको महाराज मान्ने?
    कान्तिपुर देखि पूर्वमा स्थित तिमाल भूभागमा राज गरेका तामांग राजा रिन्जिंग दोर्जे वललाई कसरि मित्रता देखाएर नीच छल र षड्यन्त्रपुर्बक हत्या गरे अनि त्यसपछि २४० बर्ष सम्म धर्म र भाषा र संस्कृति मास्ने निरन्तर दुष्प्रयास गरियो त्यो पूर्वाग्रह पीडित स्तुतिकर्ता इतिहासकारहरुले जानाजानी बिर्से अनि नलेखे पनि यो पुस्ता सम्मका तामांगहरुले दुखेनी गीतमा पोख्दै आएका छन्| वास्तविक तथ्य अहिले उजागर हुँदै आएको प्रमाण हराएको छैन|
    ३. चार जात छत्तिस बर्णको फुलबारी भनेर राज गरने अनि अहिले आएर एपोलोजिस्टहरुले त्यो भनेको छतीस जात चार बर्ण भनेर व्याख्या गरेर जनताको आँखामा धुलो हाल्न खोजने?
    भर्खरै मात्र शाह बंशको धराशयी भएर कतिले बल्ल मुख खोल्न पाएका छन्| लिगलिगेमा मगर जातिलाई छल गरेको के झुटो हो? एक दुई जनाको नाक काटिदियो र धेरै हल्ला मात्र गरेको भनेर सोच्नेले एकीकरण महाराज कति निर्दयी र क्रुर थिए त्यो पनि सही ढंगमा बुझ्न आवश्यक छ|
    आजभोली जोडले सुनिने पहिचान सहितको संघीय व्यवस्थाको मांग गर्दा देश टुक्रन्छ भनेर तर्क दिनेले पृथ्वी नारायाणको कथित एकीकरण कति झिनो धागोमा अढेको रहेछ भनेर पनि बुझ्नपर्छ|
    शताब्दीसम्म राजतन्त्र नरहे नेपाल रहन्न भन्ने मन्त्र पढाइयो, घोकाइयो र डर देखाईयो| त्यही लवज र त्रासमा हालीमुहाली र खाईपाई आएकाहरुले अहिलेको नंया घोकाईने पाठ चाहि पहिचान सहितको संघीय व्यवस्था आए देश टुक्रन्छ भन्ने हो| उसो भए पृथ्वी नारायणले देश चुइङ्ग गम सरह बनाएका थिए त्? उनले कीर्तिपुरेको मात्र नाक काटेनन, एकिकरणको पनि उही बेला नाक मुख काटेर कुरुप र जीर्ण बनाए| दिब्य मन्त्र चार जात छत्तिस बर्णले धुमचाकरी मच्चायो र अहिले पनि मच्चाईरहेको छ|
    चार जातको नीतिको परिणाम स्वरुप कति जनजातिहरु अहिले पनि सीमान्तकृत, उत्पीडित छन्| जनजातिलाई पाखुरे मात्र भनेर हेयको दृष्टिले हेर्ने कथित दिव्योपदेशले चार जातलाई फायदा पुगेकै हो, अहिले पनि पुग्दै आएको छ तर र उनीहरुमध्ये (सबै होइन केरे) धेरै जसो एकै शोरमा स्तुतिगान र जदौ संस्कारलाई निरन्तरता दिन लागेका देखेका छौ|
    काखा र पाखा अनि क्रुरताको नीति सिर्जना गरेर भताभुङ्ग स्थितिको बिजारोपण गर्ने पृथ्वी नारायणलाई कुनै पनि हालतमा आजको एउटा सजग, सुसुचित, चेतनशील र गणतन्त्र प्रेमी नेपालीले एकीकरणको श्रेय दिने छैनन्| यो सोचको लागि माओवादी, एमाले, झाले, राप्रप्रा, केहि पनि नभएर आजको नेपाली मन लिएर सोचे पुग्छ|

    Reply
    1. kancha says:
      January 12, 2015 at 12:33 am

      नाक काटिएको कुरो साचो हो ! कति जनाको भन्ने मात्रै सवाल उठ्छ !१६ धार्नी नाक काटिएको भन्ने कुरा र सबैको नाक काटिएको भन्ने कुरा चाही अलि नहोला! युद्ध गर्न सक्ने उमेरकाको नाक काटिएको हुनुपर्छ ! त्यो समयमा चोरी गर्ने, पोइल जाने र ठगि गर्नेलाइ समाजमा बेइज्ज़त गर्नलाई नाक काटिदिने चलन थियो उपत्यकामा पनि !
      जे भयो त्यो गलत भयो! याद गरौ यो तेही समय थियो जहाँ मुघलहरु चितोर र देल्हीमा टाउकाको पहाड बनौठे! ओस्मान तुर्कहरु पुर्बी युरोपमा बच्चा र दुस्मन सैनिकहरुलाई मरेर घोंचोमा उनेर राक्थे! मोङ्गोलहरु ले येही समयको आसपासमा पुरा क पुरा सहरहरु जालाएको रेकोर्ड नै छ ! र त्यो तेसबेलाको युद्ध नीति नै मानिन्थ्यो ! पी एन शाह ले नि काठमाडौँ बासिलाई डर देखौन र किर्तिपुरेहरुलाई आफुसंग झुक्न बाध्य पर्ने येसो गरे! क्रुसेडरले जेरुसलेमका पुरै लोग्ने मानिस मरेका थिए, अहमद शाह अब्दाली र घौरी ले देल्ही ,लाहोर जस्ता शहमा १० सौं हजार मानिस हरु काट्न लगाएका थिए यसै समय को आस पास !हुन सक्छ उपत्यकाका राजाहरुले नि आफ्नो पलमा त्यस्ता युद्ध नीतिहरु अपनाएका थिए किन कि त्यो तेतिबेला नोर्मल नै मानिन्थ्यो !
      तेसैले पी एन शाह लाई नि तेही समय का सैनिक साशकहरुसंग तुलना गरौ ! स्मरण गरौ गोर्खाली फौजको सबै भन्दा ठुलो र बिभत्स युद्ध जुम्लासंग भएको थियो! तनहुँ पाल्पा जस्ता राज्यको जीतमा पनि छलको कहिँ न कहिँ प्रयोग भएको थियो !

      Reply
    2. eklavya says:
      January 12, 2015 at 4:44 am

      भुतकाल जतिसुकै निर्दयी,पीडादायक,पश्चातापपूर्ण भएपनि बर्तमान सवल अनि भविष्य सुनिश्चित भए हिजोको जय जयकार गरिन्छ तर तेस्को ठिक बिपरित हुन पुगे मेरो बाउले एस्तो गरेन मेरो बाजेले तेस्तो गरेन भन्नु मानवीय स्वभाव हो जुन आज प्रष्ट देखिन्छ इतिहासको बारेमा जानकारी राख्नु र खोजीनिती गर्नु साधु हो तर कसैको छविमा खेलवाड गर्नु कहाँको न्यायसंगत होला ?? लडाई के दयावान सोझा दानवीर हरुले गर्छन??एकीकरण भएको आज हामीले महसुस गरेको कुरा हो तेतिबेला जित्नु ठुलो थियो होला राज्य विस्तार नै आफ्नो अस्तित्व थियो होला शासन तागत बल र हैकमले गरिने समय थियो होला जातभात उचनीच जस्ता अन्धबिश्वासको समय थियो होला सति जाने नरवलि दिने पटरानीहरु राख्ने धामी झाँक्री राख्ने आदिको समय थियो होला …तर आज ति सबै मिथ्या साबित भए तर एकीकरण कसरि मिथ्या ??के तपाई मेरा भारत महान भन्दै हुनुहुन्छ ??बाउले आमालाई नभेटेको भए मा कसरि हुन्थे सहि हो सत्य हो तर सत्य तितो हुन्छ सुन्न लायक हुदैन तर बडा सरल हुन्छ …

      Reply
  14. Shishir Bastakoti says:
    January 11, 2015 at 11:24 pm

    येस्तई कुरा गर्ने हो भने प्रचंडे, बाबुराम जस्ता माओबादी हरुले हजारौ मानिसहरुलाई निर्मम ढंगले मारे, हजारौ मठ मन्दिर भत्काय ; बाटो घाटो भत्काय! खोइ त् तेही चोर हरु प्रधान मन्त्रि भय
    के यिनीहरुलाई कारबाही गर्नु पर्दैन ???
    पुराना कुरा कोट्याएर उग्र हुनतिर लाग्नु भन्दा बरु कसरि देशलाई बिकाश तिर अघि बढाउने भन्ने तिर समय खर्छिनु बढी बुद्दि मानी होला!

    Reply
    1. Bajra Kumar says:
      January 12, 2015 at 10:00 am

      यो देश यस्तै छ अजभ्लोली राजनीति गर्ने बदि भएर होला साएद नेपाल मा आतंकबादी पार्टी नेपाली कांग्रेस जो हवाजह्ज रहेको नेपालको रास्ट्रिय धन लुते यानेकि Hijack गरे तेही पार्टी सबल अनि no १ पार्टी भने नेपाली कति सम्म भगवान भरोसामा देश चलौंचा भनेने कुरा तेन्ही बाट थाहा हुन्छ / अनि माओबादी लुटेरा भारत को र को agent नै के देश बनुला इनिहरुले कोहि खोला बेच्ने कोहि नदि बेचने डाक राजनीत मात्र हो /

      Reply
  15. DEV says:
    January 11, 2015 at 11:17 pm

    नेपाल को हिस्तोरी को राम्रो संग STUDY हुन जरुरत छ , अब राजा हुदा राजा को नराम्रो काम को बारे मा पनि बंगयारा राम्रो बनायर देखायको छ , साचो कुरा बाहेर आउनु पर्छ, हामी महान राजा भन्ने मान्छे ले एस्तो काम गरेको रैछ भने त्यो महान हुन सकदैन, एस्तो राजा को जन्म दिन मनाईदैन.

    Reply
  16. Shankar says:
    January 11, 2015 at 10:17 pm

    आब साह बंस इतिहास भै नै सक्यो , त्यो बेला के भयो ,कसो भयो देख्ने कोइ छैन , सबले आधार एसले येसो भन्यो ,उसले उसो भन्यो भनेर बिदेसी लाइ देखाएको छ | सत्य हाम्रो अगि पृथ्बी नारायण ले एकीकरण गरेको नेपाल छ , अरु १० थरीले दस कुरा लेखेको छ | ब्याख्या गर्ने २० थरि निक्लिए | २२५ बर्स अगि येसो भा थ्यो भन्दै मन गदन्तेबहस गर्दै आत्तो थापेर बिग्रह को निम्ति बहस गर्नु भन्दा कसरि नेपालि एक जुट हुने भन्ने बिसे मा बहस चलाउदा ठिक हुन्थ्यो कि ?

    फेरी पनि संबिधान न बन्ने भो | २५० बर्स अगि हाम्रो नाक कान काटेको मा हामि बहस गर्दै छु , यहा अब हाम्रो घाती नै काटी सक्यो बर्तमान नेताहरुले |

    Reply
  17. kancha says:
    January 11, 2015 at 9:55 pm

    नाक काटिएको कुरो साचो हो ! कति जनाको भन्ने मात्रै सवाल उठ्छ !१६ धार्नी नाक काटिएको भन्ने कुरा र सबैको नाक काटिएको भन्ने कुरा चाही अलि नहोला! युद्ध गर्न सक्ने उमेरकाको नाक काटिएको हुनुपर्छ ! त्यो समयमा चोरी गर्ने, पोइल जाने र ठगि गर्नेलाइ समाजमा बेइज्ज़त गर्नलाई नाक काटिदिने चलन थियो उपत्यकामा पनि !
    जे भयो त्यो गलत भयो! याद गरौ यो तेही समय थियो जहाँ मुघलहरु चितोर र देल्हीमा टाउकाको पहाड बनौठे! ओस्मान तुर्कहरु पुर्बी युरोपमा बच्चा र दुस्मन सैनिकहरुलाई मरेर घोंचोमा उनेर राक्थे! मोङ्गोलहरु ले येही समयको आसपासमा पुरा क पुरा सहरहरु जालाएको रेकोर्ड नै छ ! र त्यो तेसबेलाको युद्ध नीति नै मानिन्थ्यो ! पी एन शाह ले नि काठमाडौँ बासिलाई डर देखौन र किर्तिपुरेहरुलाई आफुसंग झुक्न बाध्य पर्ने येसो गरे! क्रुसेडरले जेरुसलेमका पुरै लोग्ने मानिस मरेका थिए, अहमद शाह अब्दाली र घौरी ले देल्ही ,लाहोर जस्ता शहमा १० सौं हजार मानिस हरु काट्न लगाएका थिए यसै समय को आस पास !हुन सक्छ उपत्यकाका राजाहरुले नि आफ्नो पलमा त्यस्ता युद्ध नीतिहरु अपनाएका थिए किन कि त्यो तेतिबेला नोर्मल नै मानिन्थ्यो !
    तेसैले पी एन शाह लाई नि तेही समय का सैनिक साशकहरुसंग तुलना गरौ ! स्मरण गरौ गोर्खाली फौजको सबै भन्दा ठुलो र बिभत्स युद्ध जुम्लासंग भएको थियो! तनहुँ पाल्पा जस्ता राज्यको जीतमा पनि छलको कहिँ न कहिँ प्रयोग भएको थियो !

    Reply
  18. रविन says:
    January 11, 2015 at 9:27 pm

    हो त्यही भएर भनेको

    Reply
    1. Sam says:
      January 11, 2015 at 10:07 pm

      त्यो समय मा क्रितिपुर बासी पृथ्वीनारायण शाहका जनता थिएनन्. केवल सत्रु थिय सत्रु .

      Reply
    2. बशन्त राज says:
      January 15, 2015 at 4:16 am

      म केहि प्रसङ्ग उल्लेख गर्न चाहान्छु/ हरेक देश को इतिहास रक्त्तिम छ / चाहे त्यो जापानले दोस्रो बिस्व युद्धमा कोरियन चिनिया रास्ट्रका महिलालाई यौन दासी बनायको देखि ब्रिटिश राजाको सिर काटीएको इतिहासको घटनामा थुप्रै मानब मुखमा कालो पोतिने घटना भयका छन् / अब सबैले एसको बदला लिन्छु भन्न थाल्यो भने यो संसार बाट मानब नै पतन हुन् बेर छैन / इतिहासको कुरा त्यो समयको हिसाबले जायजै थियो / आज आयर निहु खोज्नु भनेको हजुर बाउले घीउ खयर नातिमा बल छ भन्ने फुर्ति लगाउनु जस्तै हो / राजा प्रीथिबी नारायण शाह जसले जेभने पनि मेरो लागि नेपालको एकीकरण गर्ने महान राजा हुन् / दुई चार जना पढेलेखेका मुर्खले बिरोध गर्दैमा त्यो मुर्ख हरु को पछि लाग्नु छैन / रामायणमा रावण बेद पढेको विद्वान थियो र त उसले अर्काको श्रीमती अपहरन गर्ने अपराध गर्यो/ तेस्तै नेपालमा पनि पढे लेखेका विद्वान मुर्खहरु को कमि छैन / येस्तैमा यो रबिन पनि पर्दो रहेछ/

      Reply
    3. रविन says:
      January 16, 2015 at 5:30 pm

      सदियौ पहिले भएको कुरोलाई लिएर बिग्रह, यस्तो उदण्ड र उग्र प्रचारबाजी गर्नु भनेको अहिलेको बर्तमानलाई पनि अँधेरो तिर धकेल्नु हो . यसमा केहि उदडहरु नेता बन्न खोज्दै छन् सबै सजक हुनुपर्छ. चाहे किर्तिपुरबासि हुन् या जनकपुरबसी जो सच्चा नेपाली हो भने तेस्लाई जनकपुर र किर्तिपुर भन्ने फरक माया हुँदैन राष्ट्रको सम्पुर्ण भूभाग उस्कोलागि अतिनै महत्व र प्यारो हुन्छ. युद्ध भएपछी हिंशा हुन्छनै त्यो पनि त्यो जंगली युग जस्तो बेलामा जताततै तेस्तै थियो. हामीले के भुल्न हुन्दैन भने किर्तिपुरबासिको जनकपुर जनाकपुरबासिको किर्तिपुर मेरो हो भन्ने भावना र एकता निर्माणकर्ता पृथ्वीनारायण शाहनै हुन् . जव सम्पुर्ण नेपाल आफ्नो मानिन्छ भने यसको निर्माणकर्ता को रुपमा राष्ट्रिय एकता दिवस चाहिं किन नमान्ने ? सबैलाई चेतना भया !!!

      पृथ्वीनारायण शाह मेरा नाताका पनि होइन र मेरो गाउँका पनि होइनन तर म सम्पूर्ण राष्ट्र निर्माताको हैसिएतले सम्मान गर्छु ताकि अहिले बिखनडनबादि हिश्रकहरुलाई होइन.

      Reply
  19. गोर्खे says:
    January 11, 2015 at 9:22 pm

    अाफ्नो भाईको आँखा फोडेपछि, तेती बदला त लिनै पर्यो नि।
    बंशराज पाँडे ले पनि बाउ मारेको बदला लिएको हो तेसलाई अन्यथा लिनु हुन्न।

    Reply
    1. Karbir says:
      January 12, 2015 at 11:55 am

      तेरीमा फंतुस गोर्खे…युद्धमा त मारकाट हुञ्छ, कुरो सरन परिसकेपछिको हो के गोर्खे…बुझिस कि नै ?

      Reply
      1. bibas nepali says:
        January 13, 2015 at 6:11 pm

        नामै गोर्खे रे तेस्को करबिर जी, नामै गोर्खे , स्यांग्जे , झ्यापे भए पछी सक्की गो नि …

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme