Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : झुस महिमा

Posted on January 12, 2015 by mysansar

-विप्र-

kapashe fol बुलबुल : कता हो ?

सिमसिम : यतै त हो । अनि कस्तो छ त एलर्जी अहिले ?

बुलबुल: ओखती गरेपछि ठिक भयो नि

सिमसिम: के खानु भयो त औषधी ? एन्टीहिस्टामिन नै त होला नि, हैन ?

बुलबुल: हो, एन्टीहिस्टामिन, बेनाड्रिल खाएँ केही चक्कीहरु। अनि यो एन्टीहिस्टामीन नै किन नि?

सिमसिम: हुन त अरु पनि औषधी हुन सक्थ्यो होला तर सुरुको लागि एन्टीहिस्टामीन नै दिएको होला भनेर अनुमान लगाएको नि। यस्तो पोल्ने, चिलाउने, डाबर आउने हुँदा शरीरमा हिष्टामिन भन्ने रसायन बनेको हुन्छ। पाठशालामा सानोमा शिक्षक शिक्षिकाहरुबाट सिस्नुको पोलाइ खानु भएको छ कि छैन? सिस्नुको पोलाइ पनि त्यसको काँडा, जुन विशेष प्रकारको झुस हो, त्यसमा पाइनेफर्मिक एसिड, हिष्टामीन, सेरोटोनीन, एसिटाइलकोलीन आदि रसायन मध्ये विशेष गरी फर्मिक एसिड र हीष्टामीनले गर्दा त्यस्तो पोलाइ अनुभव हुने हो।

बुलबुल: हैन, यो एलर्जी पनि कसैलाइ बढी हुने कसैलाइ कम हुने र कसैलाइ हुँदै नहुने रहेछ।

सिमसिमः हाम्रो शरीरमा हुने एलर्जी एउटा जटील प्रकृया हो । एउटै पदार्थले कुनै मानिसलाइ एलर्जी गराउँछ भने कसैलाइ त्यस्तो अनुभब हुन्न । यो हुनुमा मानव शरिरै विच्छे अनुवाशिक र प्रतिरोधीपना र सँवेदनशिलता मा भिन्नता र मानिस मानिसको प्रक्रृती र अन्य वातावरणसँगको फरक फरक अवशरको अन्तरक्रृयाको कारणले गर्दा हुने हो । कुनै एलर्जी गराउने कुनै खालको रसायनले प्रवेश गर्नासाथ शरीरमा जटील जीव रसायनिक प्रतिक्रृयाहरु सुरु हुन्छन्, जसमा ईम्युनोग्लोवीन ई (Immunoglobulin E , IgE) भनिने स्तनधारी प्राणीमा मात्र पाइने प्रतिरक्षारसायन ले भुमिका खेल्दछ । IgEले झुस अथवा परागकण बाट निस्किएको सम्भावित बिषालु रसायनलाइ समात्छ र शरिरलाइ प्रतिरोधी बनाएर थप नोक्सानी हुन बाट जोगाँउछ । यस प्रक्रृयामा शरिरको हिस्टिडीन (histidine (नामक ) एक प्रकारको ऊशकअम्ल (एमीनोएसीड, aminoacid) हिष्टामीनमा परिवर्तन हुनजान्छ । यो हिष्टामीनले अव शरीरमा केहि दुख दिन थाल्छ, जस्तै -नाक सुन्नीने, नार र आँखाबाट सिँगान र आँसु-पानी झर्ने, नाक, मुख चिलाउने , तथा छालामा राता डावर-चपराहरु देखापर्ने र चिलाउने । अव एन्टीहिस्टामीनको रुपमा बेनाड्रिल, जस्तै औषधी खाएपछि हिस्टामीन केहि तरहले ठेगान लाग्छ ।

बुलबुल: ओहो सिस्नुले पोलेको त कुरै नगर्नु न । कस्तो पोल्ने र झमझमाउने भन्या झाडीतिर झुक्कि्एर जाँदा सिस्नु छोइयो भने । अझ झरिको सिस्नु त झन क्या ज्याद्रो भने ।

सिमसिम: सिस्नुले पोल्दा दुख मात्रै हैन, आनन्द र दिमाग ताजा-चँख पनि भयो होला कि त ? हैन यो सिस्नुले विद्ध्यार्थी पोलेर तह लगाउने चाहीँ शिक्षकहरुको आवेग मात्रै हो कि नेपालाीपाराको मौलिक आविष्कार पनि हो ? शारीरिक र मानशिकरुपले दुखै दिने नियत भए त अरु हजार ऊपायहरु पनि छन् तर सिस्नु नै किन त ? मलाइ त खुलदुली लाग्न पो थाल्यो त, कतै ऋषीगुरुकुलबाट चली आएको चलन त हैन यो दण्डप्रक्रृया । यस्तो दण्ड पो अशलमा शैक्षीक दण्ड त ।

बुलबुल: धत् तपाइ पनि के भएको यस्तो ? आज अलि अलि लागेको छ कि क्या हो ? यहि सिस्नुले पोलेर कति स-साना विद्यार्थीहरुले पाठशाला छोडे होलान । विचराहरु! अहिलेको को जमानामा यस्तो निर्दयी दण्डको कुरा गर्न सुहाऊँछ तपाईलाइ ?

सिमसिम: तपाइले कुरै बुझ्नु भएन । सिस्नुमा हुने सेरोटोनीन र एसिटायलकोलीन रसायनहरु स्नायूसँवेगप्रवाहक (neurotransmitter ) हुन । शरीरमा यिनीहरुको उत्पती तथा प्रवेशले धेरै महत्वका कामहरु गर्छन्, जस्तै-शरिरको चाल, भावानात्मक प्रतिक्रृया र दु:ख, चोटपटक र आनन्द को जीवराशायनिक नियन्त्रण तथा शरिर शुखको महशुस गराउँछन । सेरोटोनीन (5-hydroxytryptamine or 5-HT) १९४८ मा अमेरिकी अनुसन्धानकर्ता Maurice M. Rapport ले पत्ता लगाएका हुन । सेरोटोनीनले जीवरासायनिक रुपमा पार्ने मनोवैज्ञानिक प्रभाव धेरै फराकिलो छ, जस्तै, यसले हाम्रो मनोदशा, चिंता, यौनच्छा , आक्रामकता, तथा सोच्ने क्षमता नियन्त्रण गर्छ । Prozac औषधीलाइ सेरोटोनीनको रुपमा लिने चलन छ तर सेरोटोनीनको अति प्रयोगले चाहिँ उल्टो खती नै गर्छ ।

बुलबुलः अनि एसिटोकोलीन नि?

सिमसिमः यस्तै गरि बेलायतका Sir Henry Hallett Daleले एसिटाइलकोलीन पत्ता लगाएका हुन् र यो सवै भन्दा पहिला पत्ता लागेको स्नायूसँवेगप्रवाहक हो ।यो कोलिन बाट बनेको हुन्छ । स्नायुतन्त्रप्रणालीमा एसिटाइलकोलीनले धेरै प्रकारका भूमीकाहरु खेलेको हुन्छ । मस्तिष्कमा यसले स्मरणको र शिक्षा लिने काम गर्दछ भने योनाँगहरुमा परानुकंपी स्नायुतन्त्र ( parasympathetic nerves) द्वारा एसिटाइलकोलीन प्रवाहित हुन्छ । एसिटाइलकोलीनले योनाँगहरुमा नाइट्रिक ऑक्साइड उत्सर्जन गरेर मिहीन मांसपेशीहरुलाइ सँकुचनबाट आरामदायी बनाँऊँनुका साथै रक्तप्रवाह गराएर यौनाँगहरुलाइ यौनक्रृयाकलापका बेला सबल बनाउँछ।

बुलबुलः ह्याया–, तपाँइ के भन्ने निहुँमा के के भन्न खोज्दै हुनुहुन्छ हँ ? कुरो र कुलो जता लागे पनि जान्छ भनेको यहि हो रहेछ ।

सिमसिमः आत्तिईहाल्नु पर्ने त्यस्तो केहि कुरा गर्या छैन। क्यानी,, मुल कुरा चाहिँ झुस विभिन्न प्रकारका बनस्पतीका लागि हतियार र गोलाबारुद कारखाना र हाम्रो लागि चाहिँ उपयोगी बनस्पतीय रसायनहरुको प्राक्रृतिक उद्ध्योग हो भन्न खोजेको मात्रै हो । काँडा र त्यसमा भएको रसायन फर्मीक एसिड, हिस्टामीन आदीले सिस्नुलाइ झुशिलि -किरा र जनावर बाट रक्षा गरे जस्तै त्यसमा भएका अन्य औषधीय र खाद्ध्य गुणले मानिस मालामाल हुन सक्ने भएन त ? अब त्यो सिस्नोको काँडामा त्यति बिधिकन उपयोगी रसायनहरु रहेछन भने थरीथरीका बनस्पतीको अन्य भागमा समेत गरेर अन्य मानवोयोगी र लाभदायक रसायन कति होलान नि । कुरो त खोज विन कै त बाँकी रह्यो, —

बुलबुलः अो अो । जाडो पनि कति बिध्न बढेको नि ? म त सिरक लिएर आउँछु है ओड्नलाइ ।अस्ति भर्खर नयाँ कपास किनेर घरमै बनाउन लगाएको छु । कुरा पनि चालु गर्दै गरौँ ।

सिमसिमः त्यो सिरक भित्रको कपास को गुजुल्टो पनि त झुसै हो नि। सिमल, काँश, कपास आदिको फलको बिउमा हुने रौँहरु पनि बिशेष प्रकारका, अनि सब भन्दा लामो झुसको प्रकार हो। त्यो झुसमा उच्चमात्रामा सेलुलोज जम्मा भएर कपासको यो रुप बनेको हो ।यस्ता खाले बिउमा हुने झुस (धागो)ले बिउलाइ हावामा उडाएर माउ रुखभन्दा टाढा लगेर उमार्न मद्धत गर्दछ ।

बुलबुलः भनेपछि त बोटविरुवाहरुलाइ शरिरभरी झुस उमारेरै फुर्सद रैन्छ, हैन त ? अनि बोटविरुवाले शरिरमा झुस उमार्ने अनि मानिसहरुलाइ यसले आक्रमण गर्ने ?। मानिसहरु पनि बाठो भएर उल्टै यसबाट फाइदा लुट्ने !

सिमसिमः यो मानव, पशुपछक्षी, किट-पतँग, अन्य शुक्ष्मजीव, ढुसी आदि र वनस्पतीविचमा अनादीकालदेखि चल्दै आएको अन्तरसँघर्ष र सम्बन्ध हो । वास्तवमा बनस्पतीले झुसको विकाश गर्नु भनेको एक प्रकारले राज्यहरुले, अझ खास गरेर गरीव देशहरुले सैन्य सँरचना र हतियारमा लगानी गरे जस्तै हो । सेना र हात- हतियारले सुसज्जित नभए कतिखेर कहाँबाट आक्रमण हुन्छ थाहा हुन्न, त्यसकारण यसमा देशले लगानी गर्नुपर्ने हुन्छ । बनस्पतीमा पनि यस्तै हो ।

बुलबुलः हैन, यो बनस्पतीको झुस र राज्यको सेना र हात- हतियारमा लगानीलाइ कसरी उस्तै उदाहरण दिन मिल्छ र ?

सिमसिमःमिल्छ नि । जसरी हात-हतियारमा लगानी गर्दा राज्यले अन्यत्र विषयहरु जस्तै खानपान, स्वास्थ्य, शिक्षा, अध्यायन-अनुसन्धान आदिमा मा जनताको बजेट कटौती गर्नु पर्ने हुन्छ, त्यस्तै गरि बनस्पतीले पनि झुसलाइ सैन्य र जीव-रसायनीक हतियारहको रुपमा तयार पारी राख्दा बनस्पतीले दुख गरेर जम्मा गरेको खाध लगायत अन्य रासायनिक कच्चापदार्थ जस्ता श्रोतहरुलाइ त्यसमा उपयोग गर्नु पर्ने हुन्छ, जसको कारणले बनस्पती सग्लेर बढ्न, पोषण पाउन र प्रजनन गर्ने प्रक्रृयालाइ चाहिने केही श्रोत र शक्ती यता खर्च हुन जान्छ । बनस्पती स्वयँलाइ झुसबाट प्रतिरक्षा बाहेक अन्य लिन सकिने फाइदा नगन्य छ ।

बुलबुलः झुसबाट पाइने अरु केहि उपयोगी रसायन र औषधीहरु छन त हामीलाइ ?

सिमसिमः जत्ति पनि छन्। बनस्पतीमा जीवाँग प्रतिशतको हिसावले झुसले ओगट्ने भागलाइ वनस्पतीको अन्य अँगहरुसँग तुलनागर्दा झुसबाट हामीले पाउने ओखतीमा झुसकै देन बढी होला जस्तो लाग्छ मलाइ त । तर यसको बैग्यानिक अध्यायन भए जस्तो लाग्दैन । जस्तो उदाहरणको लागि औलो (मलेरीया) नाशक औषधीलाइ लिन सकिन्छ । पहिला युरोपेलीहरुले औलोको औषधिको रुपमा कुइनीन (quinine)को प्रयोग गरे । दक्षीण अमेरिकाको अमेजन जँगलमा बस्ने क्वीचुवा (Quechua ) जातीका बासिन्दाहरुले परम्पराकाल देखिनै सिन्छोना नामक रुखको बोक्राबाट झोल निकालेर कामज्वरोमा खाने गर्दथे । लामखुट्टेबाट सर्ने शुक्ष्मजीव औलोको सँक्रमणलाइ यसले नाश गर्ने कुरा पछि स्पेनबाट त्यहाँ गएका पादरीले थाहा पाए र कुइनीनको प्रयोग विश्वब्यापी हुन गयो । अहिले शुक्ष्मजीव औलोले कुइनीन लगायत हन्य धेरै औषधीहरुको समेत प्रतीरोध गर्न थालिसक्यो ।

बुलबुल: अनि—

सिमसिम: यस्तै अर्को प्रसँग भियतनामयुद्ध र चीनको परम्परागत औषधीको छ । चीनमा परम्परागत रुपमा कामज्वरो र औलोको प्रकोपमा चीनियाँ जातको तीतेपातीलाइ प्रयोग गरिने रहेछ । १९७०को दसकमा भियतनामयुद्धको बेलामा चिनीया सेनालाइ भियतनामको लामखुट्टेले दुख दियो र चिनीया नेता माओ जे-तुँगको जसरी पनि औलोको औषधी पत्तालगाइ छोड्ने विशेष सक्रृयतामा पुृरै जसो लोप भैसकेको यो चीनियाँ जातको तीतेपातीको औषधीय गुणका आधारमा डा- यौउयौउले (Dr Youyou) आर्टिमीसिनीन (artemisinin) भन्ने प्रती-औलो सक्रृय रसायन पुनर्पत्ता लगाइ छाडे । यो औषधिको महत्व के छ भने परम्परागत कुइनीनले काम नगर्ने बहुऔषधी प्रतीरोधी औलोको उपचारमा आर्टिमीसिनीन मिश्रीत औषधिले भने मजाले काम गरी राखेको छ ।

अब यहाँ झुसको कस्तो मह्व छ भने तीतेपातीको औषधीयगुण भएको आर्टिमीसिनीन विशेष प्रकारको भकुण्डेझुसमा मात्रै पाइने रहेछ । त्यो पनि त्यत्रो तीतेपातीको बोटको खुद सुक्खा तौलमा आर्टिमीसिनीन को मात्र ०.१ देखि ०.८ % हुने रहेछ र त्यो सबै भकुण्डेझुसबाट मात्रै लिन पाइने भयो । अब सँसारमा खेती गरिएको तीतेपातीबाट पाइने आर्टिमीसिनीनले माग-आपुर्ती हिसाबले पनि थग्ने नसक्ने, अनि आर्टिमीसिनीन यति महँगो छ कि औलोका बिरामी जति जनसँख्या बढी भएका गरिब अफ्रिका-एसियामा हुने तर ओखतिको भाउ चाहिँ युरोपका धनी देशका बासिन्दाले समेत किन्न नसक्ने खालको छ ।

बुलबुल. ओहो गार्हो पो रहेछ ? अब यसको कुनै ऊपाय छैन ?

सिमसिम. नयाँ-नयाँ उपायहरुको खोजी भइराखेको छ । जस्तो, तितेपातीको कुन अँगमा पाइने, भकुण्डेझुसमा मात्रै किन र कसरी आर्टिमीसिनीन बन्छ र किन अन्य अँगमा बन्दैन भन्ने कुराको खोजी भयो । यसका आधारमा बैग्यानिकहरुले भकुण्डेझुसको कोषमा आर्टिमीसिनीन बन्ने बेलामा सक्रृय हुने अनुबाँशिक समुह प्रणाली (gene group ) को खोजी गरे र अनुबाँशिक मुख्यकर्ताहरु amorpha-4,11-diene synthase (ADS) र cytochrome P450 dependent amorpha-4,11-diene 12-hydroxylase (CYP71AV1) हुन भनेर पत्ता लगाएरै छोडे। अहिले यि दुई अनुबाँशिकलाइ यीष्ट भनिने दही, जाँड पाउरोटी आदि बनाउँदा प्रयोग गरीने ढुसीबर्गको शुक्ष्मजीवको अनुबाँशिक-कायप्रक्रृया प्रणाली (metabolic genetic system) मा घुसाएर प्रयोगशाला तथा औषधी उद्ध्योगमा आर्टिमीसिनीन उत्पादन गर्न सकिन्छ भन्ने प्रमाणित गरे ।अब बहुऔषधी प्रतीरोधी औलोको उपचार खर्च ३० देखि ६०% सम्म सस्तो पर्ने अनुमान छ । यो यीष्टमा आर्टिमीसिनीन उत्पादन गर्ने अनुसन्धान परियोजना सफल बनाउनमा बैग्यानिक अमेरिकी नागरीक जय किस्लीँग र विश्वविख्यात दानी तथा माइक्रोसफ्टका सँस्थापक विल गेट्सको लगाव र Bill and Melinda Gates Foundation को विशेष योगदान छ ।यसमा लागेको ४३ करोड अमेरिकी डलर खर्च गेट्सले दान गरेको वुझिन्छ ।

बुलबुल: भनेपछि जानेबुझेमा त झुस को खेल त ठुलै हुने रहेछ । नेपालबाट बर्षेनी कच्चापदर्थको रुपमा जडिबुटीहरु बिदेश निर्यात हुन्छन। कति त झुसमै औषधीय गुण भएका जडीबुटी पनि होलान नि ?

सिमसिम: अब अनुवाँशिक र जैवीक प्रविधी उपयोग गरेर यस्तै कम वजन र आयतन तर बढी मुल्य पाउन सकिने बनस्पतीय रसायनको निर्यात गर्न सके त धेरै वेश हुने थियो । यसबाट अनुसन्धान , शिक्षण, जागीर र अर्थोर्पार्जन सबै हुने थियो र अन्धाधुन्ध बनजँगल मासेर जडीबुटी बेच्ने लुट प्रथा पनि अन्त्य हुने थियो । हामी चाहिँ मुखले नयाँ नेपाल भन्दै हनुमानले बुटी को सट्टा पहाड बोके जस्तै बहुमुल्य र सक्रृय रसायनको खोजि नगरेर पुरै रुखपात, जरा र हाँगा-विँगा नै मासेर प्रक्रृति दोहन गरीराखेका छौँ । मानवोपयोगी रसायनहरु बिरुवाको ठुलाठुला अँगहरु जस्तै जरा, हाँगाविँगा र पातमा जम्मा हुन प्रक्रृतिमा लामो समय लाग्छ । कुनै को त बर्षौँ सम्म कुरेर बल्ल बाली भित्राउनुपर्ने हुन्छ । यसो गर्नु भन्दा अध्ययन अनुसन्धान गरेर आवश्यक औषधीय रसायनहरु वनस्पतीको झुसमा उत्पादन गर्न सकियो भने अथवा कारखानभित्र जैविक प्रविधी को प्रयोग गरेर तन्तु तथा अँगप्रजननका माध्यमबाट झुस बनाएर औषधीय उत्पादन गरियो भने घाम-पानी-माटो-स्थान, रोग र ऋतुको भरमा नपरिकन कम लागतमा शुद्ध, र उच्चस्तरको उत्पादन र बेचबिखन गर्न सकिन्छ ।

2 thoughts on “विज्ञान ब्लग : झुस महिमा”

  1. Lok says:
    January 16, 2015 at 10:57 am

    बिप्रा जी रोचक झुस माहिमा पस्किनु भएकोमा साधुबाद छ।

    Reply
  2. Shankar says:
    January 13, 2015 at 7:56 am

    बि प्रा जी
    तपाइले उल्लेख गर्नु भएको झुस सर्बत्र उपलब्ध भएरै होला देश ले झुसे प्रधानमन्त्री पायो अब उसका मन्त्रीमंडल सदस्य , कार्यकर्ता बेस्करी घुस खाएर कहिले सिस्नुबारी घुस्ने हो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme