नेपाली मिडियामा एउटा रोग छ – पत्रकार र कर्मचारीलाई समयमा तलब नदिने। नाम चलेका ठूला आकारका दैनिक पत्रिकादेखि रेडियो र टेलिभिजनसम्म उस्तै। निजी टेलिभिजनहरुको स्थिति अझ दयनीय छ। आखिर बिना पारिश्रमिक काममा लगाउने दुस्साहस मालिकमा आखिर पलाउँछ कसरी? न्युज २४ टेलिभिजनमा आन्दोलन गरी तलबका लागि मालिकलाई झुकाउन सफल भएका एक पत्रकार अनुज थापाको ठहर छ – पत्रकारहरुकै कारण। न्युज२४ टेलिभिजनमा आन्दोलन गर्दा के के भएको थियो, त्यसको निकै लामो फेहरिस्त उनले यो ब्लगमा प्रस्तुत गरेका छन्। मिडियाको भित्री कुरामा चासो नभएकाहरुलाई यसबारे खासै चासो नहोला तर मिडियालाई बुझ्न चाहनेका लागि यो लामो ब्लग बिना सम्पादन यहाँ राखिएको छ।
चुपचाप हेरेर बस्ने कि परिवर्तन गर्न आफू अघि सर्ने?
-अनुज थापा-
टेलिभिजन पत्रकारिता ५ वर्षजति गरियो नेपालमा। ठूलो रहर र सपना बोकेर यो क्षेत्रमा आएको थिएँ। अरुको अधिकारको लागि लड्ने – यो वाक्य सुन्दा नै मन रोमाञ्चित हुन्थ्यो। टेलिभिजन एउटा यस्तो शक्तिशाली माध्यम हो जसबाट समाजमा ठूलो परिवर्तन ल्याउन सकिन्छ। तर आज मैले उठाउन खोजेको विषय आफूभित्रको परिवर्तन हो।
जगजाहेर छ, नेपालका अधिकांश प्राइभेट टेलिभिजनहरुमा पारिश्रमिकको समस्या। यस क्षेत्रमा काम गरेकाहरुले सामाजिक संजालहरुमा ९० दिनको एक महिना भएको, बल्ल बल्ल ६ महिनाको एकचोटि पारिश्रमिक पाएको जस्ता स्टाटसहरु लेखिरहेका हुन्छन्।
यो सब हुनुमा सबैले सञ्चार उद्यमीलाई दोष दिन्छन्। तर म सञ्चार उद्यमी भन्दा बढी यो क्षेत्रमा कार्यरत पत्रकारहरुको दोष बढी देख्छु। बिना पारिश्रमिक पनि काम गर्न तयार हुनु यो कस्तो विडम्बना? सँधै अरुको अधिकारको लागि लड्ने पत्रकार आफ्नो अधिकारको लागि बोल्न चाहिं किन मौन? र यसको जवाफ हो – धेरैले यो पेशालाई आफ्नो स्वार्थसिद्ध गर्ने ठाउँ बनाएका छन्।
कुनै पनि व्यवसाय गर्ने व्यक्तिको चाहना नै हुन्छ कम लगानीमा धेरै प्रतिफल मिलोस्। म यदि मिडिया मालिक हुँदो हुँ त त्यही सोच्थेँ होला। तर कम लगानी भनेको मजदुरमारा लगानी त पक्कै होइन होला। तर यो कुरा अधिकांश प्राइभेट टेलिभिजनमा लागू भएको देखिन्छ।
बिना पारिश्रमिक काममा लगाउने दुस्साहस मालिकमा आखिर पलाउँछ कसरी? सरल उत्तर छ – पत्रकारहरुकै कारण।
हरेक टेलिभिजनमा नीति निर्माणको तहमा केही सीमित पत्रकारहरुको पहुँच हुन्छ जुन स्वभाविककै हो। हो, मालिकले त्यहि सीमित पत्रकारहरुलाई आफ्नो पकडमा ल्याउँछ। अनि शुरु हुन्छ बिना पारिश्रमिक काममा लगाउने काइदा।
ती सीमित पत्रकारहरुकै कारण हो यो क्षेत्र यति तहसनहस भएको हो। ती पत्रकारहरुलाई उक्त टेलिभिजनमा हरेक काम गर्न छुट हुन्छ, जति खेर मन लाग्यो त्यतिखेर कार्यालयमा आउन छुट हुन्छ, रिपोर्टिङको नाममा जे बजाउन पनि छुट हुन्छ, टेलिभिजनको डाडुपन्यु नै उनीहरुको हातमा हुन्छ। ती सीमित पत्रकारहरुमुनि असीमित पत्रकारहरु काम गर्छन्।
बिचरा ती असीमित पत्रकारहरु ती नीति निर्माण तहमा भएका सिनियरहरुले केही गर्लान् कि भनेर आश गरेर बस्छन् , बस् बसिरहन्छन्। तर परिवर्तन केही हुँदैन। ती नीति निर्माण तहमा भएका पत्रकारहरुले जब काँचको पर्दामा जनताको अधिकारको कुरा , नागरिकको सरोकारको कुरा गरिरहेको देख्छन्, दर्शकहरु वाह क्या राम्रो बोल्यो उसले भनेर सोच्छन्। यस्तो पत्रकार चाहिँ देशले अरु पनि जन्माओस् भनी कामना गर्छन्।
बिचरा दर्शकलाई के थाहा वास्तविकता। उसँग काम गर्नेलाई थाहा हुन्छ काँचको पर्दामा नागरिक सरोकारको कुरा गर्नेले आफ्नै कार्यालयमा काम गर्ने कर्मचारीको तलब र सेवा सुविधामा एकरत्ति पनि सरोकार राख्दैन। नेताहरुलाई कांचको पर्दामा इमान्दार बन्नुपर्छ भनी सँधै फलाकी रहने आफ्नो संस्थामा काम गर्नेहरुप्रति इमान्दार रहँदैन।
हो, यस्तै कारण हो टेलिभिजन पत्रकारिताभित्र समस्या बल्झिरहेको। तलब नदिने मालिक दोषी हैन, उसले तलब नदिँदा पनि यस्तै हो भाइ नेपालमा टेलिभिजनमा काम गर्न अलि अलि सहनुपर्छ, पछि राम्रो हुन्छ भनी नैतिक शिक्षा दिने दोषी हो।
तर अहँ, यो कुरा अब नयाँ पिँढीले सहनेवाला छैन। पत्रकारिताको नाममा मालिकको अव्यवसायिक चरित्रको विरोध नगरी आफ्नो रोटी मात्र सेक्नेहरुलाई नयाँ पिढीले ठीक पार्नेछ। हो आज यही वास्तविक कथा पाठकहरुमाझ राख्ने जमर्को गर्दैछु म। आफू काम गरेको संस्थामा कसरी सबै कर्मचारी एकताबद्ध भएर ती पत्रुकार र ती पत्रुकारलाई संरक्षण दिने मालिकलाई एकता र इमान्दारिताको शक्ति देखाइयो, यो वास्तविक कथा आज प्रस्तुत गर्दैछु म।
यो कथा प्रस्तुत गर्नुपछाडि एउटै कारण छ, त्यो के भने म चाहन्छु जुन्–जुन् संस्थामा अव्यवसायिक व्यवहार देखाइएको छ त्यहाँ प्रतिरोध गर्न शुरु गरियोस्। हाम्रा सिनियरहरुले त बोलेका छैनन्, हामी कसरी बोल्ने भनेर बसियो भने कहिले परिवर्तन हुन्न। संगठित भएर शुरुवात गर्नुहोस्।
मिति : २०७० साल माघ १० गते
समय : राति ८ बजे, न्युज पढ्ने बेला
स्थान : न्युज २४ टेलिभिजनको स्टुडियो
पत्रकारहरु : अनुज थापा र सविना कोइराला
हेडलाइन बजेपछिको ब्रेकमा यी दुई पत्रकारहरुबीच कुरा शुरु हुन्छ। विषय त्यही थियो पारिश्रमिक बारे। त्यहाँ कार्यरत पत्रकारहरुले पारिश्रमिक नपाएको लगभग ५ महिना भएको थियो। त्यसैले दुबैजनाको मूड ठीक थिएन। एकले अर्काको मुख हेर्दै केही मालिकको नजिक हुनेहरुलाई स्वर्ग भएको यो ठाउँमा हामी इमान्दार भएर बस्दा कति हेपेको होला भनी एकले अर्कालाई भन्यौँ।
त्यही बेला मैले अब यसरी सकिन्न, हामी माघ १६ अर्थात शहिद दिवससम्मको समय दिऔं, त्यतिबेलासम्म पनि हाम्रो कम्तिमा एक महिनाको तलब दिएन भने हामी अनिश्चितकालिन बिदामा बसौं भनी प्रस्ताव गरेँ। सविनाजीले सहमित जनाउनुभयो। र शुरु भयो हाम्रो कदम।
यता एउटा कुरा चाहिँ के इमान्दार भएर भन्नुपर्छ भने त्यतिखेर हामी पनि स्वार्थी भएर हामी एकंरहरुको मात्रै तलबको विषयमा कुरा गरेका थियौ। यस पछाडिको कारण के पनि थियो भने यसअघि पनि कार्यालयमा पटक पटक पारिश्रमिकको विषयलाई लिएर आन्दोलन हुन्थ्यो तर ती आन्दोलनमा फाइदा त्यहि मालिकको आसेपासेलाई हुन्थ्यो। हामी कर्मचारीहरु एकताबद्ध हुन नै सक्दैनथ्यौ अथवा कहिँ न कहिँ हामी भित्रै कतिले आफ्नो तलब बढाउन खेल खेल्थ्यो। यो सब कुरा थाहा भएकाले हामीले आफ्नो अर्थात् एकंरहरुको मात्र कुरा गरेका थियौं।
अर्को दिन
यसरी सविनाजी र मेरो यो सहमति पछि हामीले अर्का एंकर प्रदीप बस्नेत (जो अहिले अर्कै टेलिभिजनमा काम गर्न शुरु गरेका छन्) लाई फोन गर्यौँ। उनी पनि कार्यालय आए र हाम्रो प्रस्तावमा सहमति जनाए। यसरी टेलिभिजनका मुख्य प्राइम टाइम एकंरहरु एकताबद्ध भए र ५ महिनामा कम्तिमा एक महिनाको तलब दिनुपर्ने भन्ने माग लिएर तत्कालीन समाचार प्रमुख चीरञ्जीवीराज देवकोटा र तत्कालीन महाप्रबन्धक तपनाथ शुक्लाकहाँ गयौं।
दुबैले तपाइँहरुको यो माग नै होइन, काम गरेपछि पारिश्रमिक माग्नु पर्दैन, त्यो संस्थाले आफैंले दिनुपर्छ , हामी अध्यक्षसँग आजै कुरा गर्छौँ भनेर आश्वसान दिनुभयो। हामी एंकरहरु माघ १६ पछि अनिश्चितकालीन बिदा बस्दैछौं भन्ने कुरा भुसको आगो जस्तै सबै कर्मचारीहरुकहाँ पुगिसकेछ। सबैले सोधे के हो भनेर? हामी एकंरहरुले एक महिनाको तलब मागेका छौं, दिएन भने अनिश्चितकालिन बिदा बस्छौं भन्यौ। यसबीचमा अर्का पत्रकार विकास थपलिया पनि हामीसँग मिसिन पुगें र हामी चार जना भयौं।
माघ १५ गते
त्यो दिन हामी एकंरहरुलाई एक महिनाको तलब दिदैंछ भन्ने हल्ला चलेको थियो। हामी खुशी नै भएका थियौं। एकाउन्टेन्टले पनि तपाइँहरुलाई ५ महिनामध्ये एक महिनाको तलब दिदैंछ भनेर जानकारी दिंदा खुशी भएका थियौँ। तर जब-जब दिन ढल्किंदै गयो। हाम्रो कानमा के कुरा पर्यो भने अध्यक्षले पारिश्रमिक दिने सहमति जनाउँदा उनकै आसेपासे पत्रुकारले यसरी धम्कीको भरमा तपाइँले पैसा दिने हो भने अरुले पनि यसै गर्छन्। आज एंकरहरुले हड्ताल गर्दैछन्, भोलि क्यामेराम्यानहरुले खिच्दिनँ भन्लान् , पर्सि ड्राइभरले गाडी नचलाउनू भन्ला, यसरी सबैको माग पूरा गर्दै गयो भने यिनीहरुको मनोबल बढ्छ, त्यही भएर नदिनुस् भनेर उक्साएछन्।
रातको ८ बजेको समाचार पढेर सिध्याएपछि म र सविनाजी समाचार प्रमुख र महाप्रबन्धककहाँ जाँदा अध्यक्षले अझ एक हप्ता कुर्नस् अनि एक महिनाको तलब दिन्छौं भनेर भन्नुभएको छ भनी जानकारी गराउनुभयो। हामीले एक हप्ताअघि भनेको त्यो पनि एक महिनाको तलब माग्दा पनि नदिने, यो नियत ठिक भएन। हामी पैसा नदिएसम्म आउँदैनौं भन्यौ। समाचार प्रमुख र महाप्रबन्धकले पनि हाम्रो माग जायज भएको तर हामीले केही गर्न सकेनौं, आफ्नो स्वविवेक प्रयोग गर्नुहोला भनी सल्लाह दिएपछि हामी घरतिर लाग्यौँ। अनि चारै जनाबीच फोनमा कुराकानी भयो र भोलि मणि लोहनी सर (जो संस्थामा बिजनेस प्रमुख हुनुहन्छ) उहाँकी आमालाई हेर्न बानेश्वरको अस्पताल जाँदा सबै भेट्ने सल्लाह गर्यौँ।
माघ १६ गते
त्यो दिन मणि सरको आमालाई भेट्न हामी बानेश्वरको अस्पताल गयौं। चारै जनाको भेट भयो त्यहाँ। म अनुज, प्रदीप, सविना र विकास। त्यो दिन अफिसबाटै सबैजसोलाई फोन आएको थियो न्युज पढ्न आऊ भनेर तर हामी कसैले अफिसको फोन उठाएनौं। त्यसपछि बेलुकातिर समाचार प्रमुखले फोन गरेर रातिको न्युज के गर्ने भन्नुभयो। हामी सबैको एउटै स्वर थियो, कम्तिमा एक महिनाको तलब पाएपछि मात्र आउँछौ। तर अध्यक्षले त्यति पनि दिन नचाहेको हामीलाई जानकारी दिइयो। त्यसपछि हामी आफ्नो निर्णयमा अडिग भयौँ। र त्यस दिन रातको ८ बजेको समाचार, समाचार प्रमुख आफैंले भर्खरै नयाँ आउनुभएकी महिला एंकर सरिता काफ्लेसँग पढ्नुभयो।
यसरी समाचार प्रमुखले नै समाचार पढेपछि हल्लीखल्ली भयो मिडिया बजारमा। हामीलाई पनि विभिन्न समाचार संस्थाबाट फोन आउन थाल्यो के भएको हो भनेर। हामीले आन्तरिक कारण हो भनी केही बताएनौं।
माघ १७ गते
समाचार प्रमुखलाई मैले फोन गरेर किन पढ्नुभएको न्युज भनी जिज्ञासा राख्दा उहाँले प्राइम टाइम न्युज एक जनाले मात्र पढ्न मिल्दैन। त्यही भएर केही उपाय नभएपछि मैले पढेको भनी उत्तर दिनुभयो। उहाँको त्यो तर्क जायज पनि थियो किनभने समाचारप्रमुखको हिसाबले समाचारमा केही गडबडी भयो भने उहाँ नै त्यसको जिम्मेवार हुनुहन्थ्यो। त्यस कुरालाई हामीले सहज रुपमा लियौँ।
त्यस दिन हामीलाई संस्थाबाट कुनै फोन आएको थिएन। हामी रिसले मुर्मरिएका थियौँ। स्थापनकालदेखि काम गरेको ठाउँमा हामीलाई एक महिनाको तलब माग्दा पनि नदिने भनेर एकअर्काको मुख हेरेर बसेका थियौ। यसबीचमा रातको ६ बजेतिर हामीले समाचार प्रमुखलाई फोन गरेर भेट्न भन्यौ। उहाँले सहजै अफिसमा आऊ भन्नुभयो तर हामी अफिस कुनै पनि हालतमा नजाने बरु अफिस बाहिर भेट्ने भन्यौ।
६.३० बजेतिर उहाँसँग भेट्दा एकछिन हामीले आक्रोस पोख्यौँ हामीले एक महिनाको तलब माग्दा पनि यस्तो व्यवहार गर्ने भनेर। चारै जनाको एकदमै चित्त दुखेको थियो। समाचार प्रमुखले पनि मैले केही गर्न सकिनँ भनी लाचारी प्रकट गर्नुभयो।
एकैछिनमा सात बजेतरि कार्यालयको MCR अर्थात मास्टर कन्ट्रोल रुमबाट फोन आयो। फोन गर्ने पात्र थिए MCR.का तत्कालीन प्रोड्युसर चैतन्य श्रेष्ठ। (चैतन्य हाम्रै उमेरका युवा हुन्। उनी पनि तलबको विषयमा हामी एकजुट हुनुपर्यो भनी सधैं भन्थें र सधैं कर्मचारीको हितको कुरा गर्थे।) चैतन्यले राति ८ बजेको न्युज सरिता काफ्ले र भर्खरै जागिर छोडेकी एंकर अनिता सिलवालले पढ्न लागेको जानकारी दिए।
हामी त यो कुरा सुनेर छानाबाटै खसेजस्तो भयो। अब जागिरबाट राजीनामा दिइसकेकी कर्मचारीलाई न्युज पढ्न बोलाउनुभनेको हामीलाई नआइज भनेको जस्तो सोच्यौ हामीले। त्यही बेला अनिताले मलाई फोन गरिन्, दाइ मलाई न्युज पढ्न बोलाएको छ, म के गरुं?
मैले सबै बेलिविस्तार लाएँ र नजान आग्रह गरें। उनले हुन्छ त भनिन् तर केही समयपछि उनी न्युज पढ्न तयार भएको थाहा भयो। हामीले तत्काल समाचार प्रमुखलाई यो के भएको हो, समाचार प्रमुखलाई थाहै नदिई पूर्व कर्मचारीलाई न्युज पढ्न दिने भनी प्रश्न गर्दा उहाँ पनि रिसले आगो हुनुभयो र भन्नुभयो, यदि यस्तो हो भने म त्यहाँ बस्दिनँ, राजीनामा दिन्छु। अनि उहाँ त्यहाँबाट अफिस निस्कनुभयो।
त्यही बेला चैतन्यले फोन गर्यो र भन्यो, यार आज तिमीहरुले तलब माग्दा तिमीहरुको ठाउँमा अरुलाई ल्याउन खोज्यो, पछि हामीलाई पनि यही गर्न सक्छ। त्यसैले हामी आज न्युज पठाउँदैनौं। त्यही बेला टम बस्नेत दाइ (जो स्थापनाकालदेखि त्यहाँ कार्यरत हुनुहन्थ्यो, जो एनटिभीमा लामो समय काम गरेर सेवानिवृत्त हुनुभएको थियो) ले तिमीहरुलाई संस्थाले इपास गरेको छ हामी सहन्नौं भन्नुभयो र हाम्रो मागमा समर्थन गर्नुभयो। पूरा MCR डिपार्टमेन्टले हामीलाई साथ दियो। त्यसपछि हाम्रो हौसला पनि बढ्यो।
हामीले एकैछिन केही नगर्न आग्रह गर्दै तत्काल कार्यालय आउने जानकारी गरायौं। हामी चारै जना तत्काल टेलिभिजन गयौं तर भित्र छिरेनौं। टेलिभिजनमा MCR का सबै साथीहरुले कार्यालय बाहिर हामीसँग भेट्न आए र तिमीहरुको मागमा हाम्रो साथ छ भनी समर्थन जनाए।
त्यसपछि भिजुअल एडिटिङबाट हामीलाई साथ दिन पदम तिमिल्सिनाको अगुवाईमा सबै बाहिर आए। त्यस्तै स्टुडियोभित्र पनि धुव्र लामिछाने भाइले हामीलाई साथ दिन्छौं भनें। उता रिपोर्टिङबाट सुजित महत भाइले पनि हामी पनि साथ दिन्छौं भने र एक्कासी हाम्रो एकता धेरै मजबुत भयो।
८ बजेको न्युज पढ्न मात्र १० मिनेट बाँकी थियो। समाचार प्रमुखले यसरी पूर्व कर्मचारीलाई न्युज पढाउनु भनेको यहाँ कार्यरतमाथि अन्याय हो भनी भन्दा उल्टै हामीलाई भड्काएको आरोप लगाइएछ। त्यसपछि उहाँ पनि कार्यालय छोडेर ८ बज्न ५ मिनेट बाँकी छँदा गाडीमा घरतिर लाग्नुभयो। उहाँको अनुहार मलीन देखिन्थ्यो। अब ४ मिनेटमा निर्णय गर्नुथियो कसरी अगाडि बढ्ने भनेर।
कसैले एक हप्ता अल्टिमेटम दिउँ भने कतिले तोडफोड गरौं भने कतिले आगो लगाइदिउँ समेत भनें। ३ मिनेट बाँकी छँदा हामीले निर्णय गर्यौँ। अन्याय धेरै सहियो अब धेरै सहनै छैनौं। अब ८ बजेको न्युज पछि टेलिभिजनको प्रसारण नरोक्ने तर केही पनि कार्यक्रम र न्युज जान नदिने निर्णय गर्यौं।
अनि हामी बाहिरै बस्यौं अरु भित्र गए। जब राति ८ बजेको हेडलाइन बज्यो त्यसपछि MCR का सबै कर्मचारीहरु बाहिर निस्किए, एडिटिङका कर्मचारीहरु बाहिर निस्किए, रिपोर्टिङ, क्यामेरा सबैका कर्मचारीहरु बाहिर निस्किए र शुरु भयो कर्मचारीको आन्दोलन। र टेलिभिजनमा निरन्तर एउटै मात्र प्रोमो बजिरह्यो। त्यसबेलाको टिभी हेर्नका लागि तलको लिंक थिच्नुहोस्।
सबै कर्मचारीहरु कार्यालयको गेट बाहिर भएपछि अध्यक्ष हतार हतार तल कार्यालय प्राङ्गणमा आएको दृश्य देखियो। तर उहाँ कार्यालय बाहिर आउनुभएन। त्यसपछि हामीले अहिलेसम्मको सबै तलब नपाएसम्म टेलिभिजन बन्द नै राख्ने निर्णय गर्यौ। पत्रकारहरुले न्युज नभन्ने भन्दा हाम्रो नैतिकताले दिन्छ र भन्ने प्रश्न नउब्जेको पनि हैन। तर यसको उत्तर पनि भिडबाट नै आयो। पत्रकारहरुलाई ६–६ महिना बिना पारिश्रमिक काममा लगाउनु चाहिँ कुन नैतिकता अर्न्तगत हो त? २ घण्टा बितिसकेको थियो आन्दोलन शुरु भएको।
यसैबीच सहकर्मी अनिता बाहिर आइन्, हामीले उनीसँग केही पनि बोलेनौं? किन समाचार पढ्न गएको भनी प्रश्न पनि गरेनौं। उनको ८ बजेको समाचार प्रसारण नभएपछि उनले सबै आन्दोनकारीलाई अपशब्द बोलेको कुरा पनि आएको थियो। खैर, आफ्नै कानले नसुनेको कारण उनलाई केही भन्ने कुरा पनि भएन।। तर जे होस्, अनिता एउटी यस्ती पात्र भइन् जसको कारण नै हामी सबै कर्मचारीहरु रिसले आगो भएका थियौ व्यवस्थापन प्रति। शायद उनलाई पनि कतैबाट न्युज पढ्न दबाब थियो होला भन्ने लाग्यो हामीलाई। खैर उनको उपस्थितीले सबै कर्मचारीलाई एकताबद्ध बनाएको चाहिं पक्कै हो। उनी समाचार पढ्न नआएको भए, हाम्रो आन्दोलन शुरु हुने थिएन। त्यो चाहिं एकदमै साँचो कुरा हो। कहिलेकाहिं केहि नराम्रो घटनाले राम्रो परिस्थितिको निर्माण गर्छ भनेको चाहिँ साँचो हो।
टेलिभिजनमा निरन्तर एउटै प्रोमो बजिरहेको करिब २ घण्टा पश्चात हामी आन्दोलनकारीहरुको अगाडिबाट समाचार प्रमुख गाडी लिएर फर्किएको देख्यौं। तत्कालै मैले उहाँलाई आन्दोलनको बिगुल बजिसकेको र अब तलब नपाएसम्म टेलिभिजन खुल्दैन भनी हाम्रो निर्णय सुनायौं। उनले टाउको हल्लाएर स्वीकारोक्ति जनाउनुभयो र व्यवस्थापनको कोठामा जानुभयो। उहाँ माथि हुन्जेल तल हामीहरुबीच अब सहमति हुन्छ, आन्दोलन तुहिन्छ भनेर साथीहरुबीच तर्कवितर्क भइरहेको थियो। जानी नजानी म आन्दोलनको नाइके भएको थिएँ। सबै साथीहरु मलाई खुट्टा नकमाउन सजग गराइरहेका हुन्थें। यसअघि भएका आन्दोलनहरु कसरी तुहिएका थिए, त्यसबारे अवगत गराइरहेका हुन्थे।
मैले साथीहरु सबैलाई यो आन्दोलन सबैको भएको, पत्रकारको मात्र नभई व्यवस्थापनतिरका कर्मचारीहरुको पनि आन्दोलन भएकोले विश्वास गर्न आग्रह गरेको थिएँ।
यसैबीच लगभग ११ बजेतिर हामीलाई पनि वार्ताका लागि अध्यक्षबाट बोलावट भयो। हामीले ४ जना मात्र होइन सबै कर्मचारीलाई उपस्थित गराइयोस् भनी शर्त राख्यौ। उताबाट शर्त स्वीकार भयो । र त्यतिखेर लगभग ५० जना त्यहां रहेका कर्मचारीहरु अध्यक्षसँग वार्ता गर्न गयौँ।
वार्ता शुरु
त्यतिखेर अटाइ नअटाइ हामी अध्यक्षको कोठामा पस्यौ। सबैजना एकअर्काको मुखामुख गरिरहेका थिए। अध्यक्षको अनुहार रिसले आगो भएको थियो। केहि बेर सबै मौन बसेपछि संस्थाका मानव संसाधन प्रमुख सुमनशिला राजभण्डारीले मुख खोल्नुभयो – टेलिभिजन बन्द गर्ने अधिकार कसले दियो तपाईँहरुलाई?
एकछिन सबै मौन।
अनि फेरि बोल्नुभयो – बन्द गरेर पनि कहीँ समाधान हुन्छ?
त्यसपछि मैले जवाफ दिएँ – तलब नदिइकन काम लगाउने अधिकार कसले दियो तपाइँलाई?
अनि शुरु भयो तर्कवितर्क। यसबीचमा सविनाजी, चोलेश्वर तिवारीले पनि कुनै डर नमानी मज्जाले बोल्नुभयो। सविनाजीले अझ भावुक हुंदै भन्नुभयो–यो संस्थाको पुरानो स्टाफ मध्ये एक हुं म, म माथि पनि यसरी अन्याय गर्नुहुन्छ भने नयां स्टाफलाई त तंपाईहरु मान्छे नै गर्नहुन्न भन्ने पुष्टि भयो। व्यवस्थापन पक्षबाट सुमनशीलाजीले मात्र बोलिरहनुभयो। हामी आन्दोलनकारीले भटाभट आफ्नो कुरा राख्दै गएपछि अरु कर्मचारीहरुलाई पनि मनोबल बढ्यो।
भिजुअल एडिटिङबाट करुणा श्रेष्ठ , स्टुडियो भित्रको क्यामेरा डिपार्टमेन्टबाट धुव्र लामिछाने, क्यामेराबाट ममता कोइराला, रिपोर्टिङबाट सुजित महत एम. सी. आर. बाट चैतन्य श्रेष्ठ लगायत सबैले आफ्नो तलब नपाएको आक्रोश पोखेपश्चात समाचार प्रमुखले पनि आफ्नो आक्रोश पोख्नुभयो। यसरी विना पारिश्रमिक कर्मचारीहरु काम गर्न सक्दैनन् भनेर भन्नुभयो। अनि सबैको कुरा आएपछि अध्यक्षले बोल्नुभयो – मलाई अझै तपाइँहरुलाई तलब दिन गाह्रो छ, अहिलेलाई आन्दोलन छोडिदिनुहोस्। मैले अझै एक वर्ष तपाइँहरुलाई तलब नियमित खुवाउन सक्दिन।
त्यति भनेपछि सबै आन्दोलनकारीले मेरो अनुहार हेरे। अघि केही बेरअघि खुट्टा नकमाउनु है दाइ, भनेको कुरा कानमा गुन्जिन थाल्यो। अनि मैले भनेँ– हुन्छ सर, जब तलब नियमित खुवाउने पैसा हुन्छ तब टेलिभिजन खुल्छ, अहिलेलाई बिदा दिनुहोस्। जाऔं साथी हो हाम्रो माग पूरा भएन, ढिलो भयो लागौं घर।
यति भनेर म सबभन्दा पहिला अफिसबाट निस्किएँ। सारा कर्मचारी त्यो कोठाबाट निस्किए। अनि हामी सबै तल जम्मा भएर छलफल गर्यौं। भोलि सबै काममा आउने तर काम कसैले नगर्ने बरु यही आँगनमा बसेर विरोध गर्ने। टेलिभिजन त्यतिकै प्रोमो बजिरहोस्। र एउटा अर्को सहमति हामी बीच के पनि भयो भने यो आन्दोलनको कुरा सामाजिक संजालमा नलेख्ने र संस्थाका कर्मचारी बाहेक कोहीसँग पनि यसबारे कुरा नगर्ने। त्यसपछि हामी सबै लाग्यौं आ –आफ्नो वासस्थानतिर।
बाइकमा घर जाँदै गर्दा धेरै मोबाइल बजेको बज्यै भयो। माइतीघर पुगेपछि फोन उठाउंदा तत्कालिन नेपाल पत्रकार महासंघ न्युज २४ प्रतिष्ठान शाखाका अध्यक्ष सुशील अर्याल सरले फोन गर्नुभएको रहेछ। उहांले अध्यक्षले तिमीसंग एक्लै कुरा गर्न चाहनुभएको छ तुरुन्त आऊ भन्नुभयो। मैले अघि कुरा भइसकेको अब भोलि बिहान कुरा गर्ने भनी उहाँलाई भनेँ। यसबीचमा बाइक यात्राको क्रममा निरन्तर सहकर्मीहरुको फोन आइरहेको थियो र कुरा पनि गरिरहेको थिएँ। घर पुग्दा १ बजेकेा थियो। हरेक डिपार्टमेन्टका साथीहरुले फोन गर्दै अब आन्दोलन यसरी नै बढ्नुपर्छ भनी हौसला दिइरहेका थिए।
यत्तिकैमा २ बजेतिर एम.सी.आर. डिपार्टमेन्टका चैतन्य श्रेष्ठले फोन गरेर अफिसबाट पुरानो स्टाफलाई फोन गरेर टेलिभिजनमा नयां कार्यक्रम हाल्न भनेको जानकारी गरायो। मेरोले तुरुन्त जतिन तण्डुकार (जो केही समय अघि त्यहि इन्जिनियरको रुपमा काम गर्थ्यो) उसलाई फोन गरेर त्यसो नगर्न भन्यो। जतिनले उल्टै – तिमीहरुको आन्दोलनको बारे सबै थाहा पाइसकें, तिमीहरुको आन्दोलनमा मेरो पनि साथ छ भन्यो। र यसरी टेलिभिजन निरन्तर एउटै प्रोमो बजिरह्यो र आन्दोलन जारी रह्यो।
माघ १८ गते
बिहान ६ बजे नै मेरोको मोबाइलमा मेसेज आयो जसमा मणि लोहनी सरको आमा बित्नुभएछ र आर्यघाट लगिएको छ लेखिएको थियो। त्यसपछि केही साथीहरुलाई फोन गरेर लागियो पशुपतितिर। त्यहां धेरै साथीहरु जम्मा भइसकेछन्। मणि सरलाई भेटि दिवंगत आत्माको चिर शान्तिको कामना गर्यौं। त्यहिबेला समाचार प्रमुख चिरञ्जीवीराज देवकोटा, मेरो, विकास थपलिया, प्रदीप बस्नेत कसरी अगाडि बढ्ने भनेर केहि बेर अनौपचारिक कुरा गर्यौं। त्यहि बेला अरुणदेव जोशी जो समाचार संस्थामा न्युज कोर्डिनेटर हुनुहुन्थ्यो उहां पनि आइपुग्नुभयो। अरुणदेव जोशी सरले शुरु देखि नै आन्दोलनको नैतिक समर्थन गरेको थाहा थियो र उहांले माघ १६ गते बिहान प्रदीप बस्नेतले चलाउनुपर्ने टक शो उहांलाई चलाउन भन्दा आन्दोलनको समर्थन गर्दै बहिस्कार गरेको थाहा थियो। यसैले नै उहांले हाम्रो मन जितिसक्नुभएको थियो। उहां पनि अब दह्रैसँग हामीसँग मिसिनुभयो।
मेरो मोबाइलमा तारन्तार कार्यालयबाट साथीहरुको फोन आइरहेको थियो। सबैजना कति खेर आउने हो भनी सोधिरहेका थिए। यसबीचमा केहि आन्दोलन विरोधी भनुं या आन्दोलनबारे थाहा नभएकाहरु काम गर्न लागेको हामीलाई जानकारी भयो। मेरोले तुरुन्त उनीहरुलाई संझाउन र नमाने काम गर्न दिन साथीहरुलाई भन्यो।
यता हामीहरु १० बजे कार्यालयमा पुग्ने भनेर हिजै निर्णय गरेकोमा त्यहि १० बजिसकेको थियो। हामी जान हतार गर्दै थियौ। संस्थाका अध्यक्ष, त्यस्तै न्युज कोर्डिनेटर प्रेम बांनिया सरले हामीलाई त्यहि वार्ता गर्न आग्रह गर्नुभयो। हामीले असहमति जनाउंदै कार्यालयमा वार्ता गर्ने भन्यौ तर उहांहरुले मान्दै मान्नुभएन। त्यसपछि हामी त्यहिको एक चिया पसलमा वार्ता गर्न थाल्यौ। त्यस वार्तामा संस्थाका अध्यक्ष, सुशील अर्याल, प्रेम बांनिया, अरुणदेव जोशी, विकास थपलिया, र मेरो रहेको थियो। लगभग १ घण्टा चलेको वार्तामा संस्थाका अध्यक्षले कहिले थर्काउनुभयो त कहिले अनुनय गर्नुभयो। यता प्रेम बानियां सरले पनि आन्दोलन छोडेर वार्ता गर्न सुझाव दिंदै अध्यक्षको समर्थन गरेपछि हाम्रो रिसको पारो तात्यो र हामी उहांमाथि खनियौं।
४ राउण्डको चिया पश्चात हामी ५ महिनाकै तलबको अडानमा बस्यौ भने अध्यक्ष एक महिनाभन्दा बढी नसक्ने अडानमा। वार्तामा कुरा नमिलेपछि अब कार्यालयमै वार्ता गर्ने भनेर हामी त्यहांबाट निस्कियो।
बिहानै आर्यघाट आएकाले होला भोकले ओठ मुख सुकिसकेको थियो। त्यत्तिकैमा विकासले आफ्नो घरमा गएर केहि खाएर अफिस जान सुझायो। अनि हामी अर्थात अरुण सर, विकास , प्रदीप र मेरो उसको घर गयौं। यत्तिकैमा हामी र अध्यक्षबीच वार्ता गरेर सहमति भएको र टेलिभिजन खोल्ने सहमति भएको हल्ला अफिसभरि फैलिएछ। उता अफिसका साथीहरुले तारन्तार फोन गरेर सोधिरहेका थिए। हामीले हैन त्यस्तो सहमति भएको छैन भनीरह्यो। तर उनीहरु के मान्थें र? छिट्टो अफिस आउन निर्देशन दिएपश्चात फटाफट खाना खाएर हामी अफिसतिर लाग्यौ।
अफिसतिर पुग्नेबित्तिकै सबै साथीहरुले खाउंला जसरी हेरें। आन्दोलन तुहियो भनेर हल्ला आन्दोलन विरोधीहरुले फिंजाइसकेका रहेछन्। हामीले सबैलाई अफिसको प्रांगणमा बसेर त्यस्तै हैन भन्यौं।
यसबीचमा हामी सबैजना कर्मचारीहरु अफिसकौ चौरमा आन्दोलन भन्दै बस्यौ।
टेलिभिजनमा निरन्तर एउटै प्रोमोहरु बजिरहेको थियो। अब कसरी अगाडी बढ्ने त भनी छलफल हुंदा केहि हंसिमजाक पनि मज्जाले भएको थियो। विशेषगरी टेलिभिजनका कार्यक्रमहरुलाई उडाउंदै आन्दोलनको बारे हंसिमजाक भएको थियो।
केहि हंसिमजाक यस्ता थिए
स्वाभिमान टेलिभिजनमा बोलेर हैन, बनेर देखाउनुपर्छ।
अब प्रत्येकको देखिने छ REAL FACE
आन्दोलन नै सबैभन्दा ठुलो POWER NEWS
कर्मचारीको जायज आन्दोलनमा समर्थन जनाउनु प्रत्येकको कर्मचारीको उत्तरदायित्व हो।
काम हाम्रो आमा हो तर आमाले पनि अन्याय गरिन् भने हत्कडी लगाइन्छ।
यो कुरा अब SPORTS NEWS पनि बज्नेछ।
यहि हो आजको ISSUE OF THE DAY
हंसिमजाक सिद्धिएपछि प्रेम बानियां सरले एउटा प्रस्ताव ल्याउनुभयो। यसरी टेलिभिजन नै बन्द गरेर हुन्न, सहमति गरौं भनेर भन्नुभयो। हामीले पनि टेलिभिजन बन्द गर्नु हाम्रो उद्धेश्य हैन भनेर भन्यौ।
अनि उहांले २ महिनाको तलब अहिले दिने त्यसपछि अर्को बांकी २ महिनाको अर्को महिना दिने प्रस्ताव गर्नुभयो। हामीले उहांको प्रस्ताव मानेनौं र भन्यौं कम्तीमा ३ महिनाको प्रस्ताव अहिले चाहिने र त्यसपछि प्रत्येक महिना तलब दिनुपर्ने। उहांले हुन्छ यहि बटमलाइन बनाऔं अब उहां मान्नुहन्छ भन्नुभयो। हामीले उहांले मान्नुभएन भने के गर्ने भनी प्रश्न गर्दा उहांले नत्र टेलिभिजन ब्लयाक आउट म आफैं गर्छु भनेर घोषणा गर्नृभयो। त्यत्रो ठुलो ब्ल्याक आउट सम्मकै कुरा गरेपछि हामीले पनि उहांलाई आफ्नो दुत बनाएर माथि पठायौं।
आधा घण्टा पश्चात उहांले हामी सबैलाई माथि मिटिङ रुममा बोलाउनुभयो। त्यहां सबै कर्मचारी, व्यवस्थापनबाट मानव संस्ााधन प्रमुख सुमनशिला राजभण्डारी हुनुहुन्थ्यो। प्रेम बांनिया सरले पावर न्युज चलाएको जसरी भुमिका बांढदै बोल्न थाल्नुभयो। मेरोले उहांलाई पावर न्युज पछि चलाउनुहोस् पहिला हाम्रो मागमा सहमति जनाउनुभयो अध्यक्षले भनी प्रश्न गर्यो। अनि उहांले बोल्नथाल्नुभयो – हेर्नुस् साथी हो हाम्रो आन्दोलन जायज छ तर तरिका अलि नाजायज जस्तो देखिएको छ, हामीले काम गरेपछि तलब पाउनुपर्छ यसमा दुई मत छैन तर संस्थाको पनि केहि अप्ठ्याराहरु हामीले बुझिदिनुपर्छ। अहिलेलाई उहांले २ महिनाको मात्र तलब दिने र पछि विस्तारी दिने कुरामा सहमति जनाउनुभएको छ, विचारमा यसमा सहमत हुंदा वेश हुन्छ। ५ महिनाको तलबबाट ३ महिनामा झर्दा समेत यस्तो प्रस्ताव आउंदा त सबै रिसले आगो भए। अनि मैले यो कुरामा सहमत हुन सकिन्न जाऔं साथी हो भनी सबैलाई आग्रह गरेँ र सबै साथीहरु ह्वार्र तल चौरमा ओर्लियौं। त्यसपछि अब झन् आन्दोलन चर्को हुने संकेत देखिदैं थियो।
प्रेम बानियां सर तल चौरमा आउने बित्तिकै उहांलाई अघि आफुले बोलेको कुरा पुरा गर्न चुनौती दिइयो। उहां पनि रिसले आगो हुनुभयो र जे भन्यो त्यो पाइन्न भनी कुर्लिनुभयो। हामीहरु पनि के कम, आन्दोलनको पारो तातिरहंदा व्यक्तिगत रुपमै टेलिभिजनमा बोलेर हुन्न स्वाभिमान भन्ने कुरा बनेर देखाउन सक्नुपर्छ। बाढी पीडितको लागि टेलिभिजनमा बोलेर मात्र हुन्न, न्युज २४ पीडितको लागि पनि बोल्न सक्नुपर्छ भनी कटाक्ष गर्यौ। उहां त्यसपछि रिसाउंदै अब म बिदामा बस्छु जे गर्नुछ गर भन्दै अफिसबाट बाहिर निस्कनुभयो। उहांलाई हामीले कटाक्ष गर्नुको पछाडी अर्काे कारण पनि थियो। जसरी कुनै पनि आन्दोलनमा जहां पनि भिजिलान्ते हुन्छन् , हाम्रो आन्दोलनमा पनि केहि भिजिलान्ते थिए। उनीहरु हाम्रो आन्दोलनको रणनीतिहरु मााथि पुर्याउंथे। हाम्रा पनि केहि भिजिलान्ते थिए जसले उनीहरुको कुरा हाम्रोमा ल्याउंथे। उनीहरुले हामीलाई जानकारी दिइसकेका थिए कि प्रेम बांनिया सर माथिको मान्छे हुनुहुन्थ्यो र जसरी पनि आन्दोलनलाई तुहाएर अध्यक्षको अझ नजिक बन्न चाहनुहुंदैछ।
तर हाम्रो आन्दोलन त्यत्तिकै कहां तुहिनेवाला थियो र? जब भोको पेट कराउंछ तब यसले सबैलाई एकजुट बनाउंछ। अध्यक्षको प्रस्तावलाई नकारेपश्चात अब हामी लिखित रुपमै माग बुझाउनका लागि मागपत्र बनाउन थाल्यौं। धेरै बेरको विचार विमर्शपछि केहि बुंदाहरु तयार पार्यौ र यसरी प्रस्तुत गर्यौ।
जसको प्रमुख बुंदाहरु यस प्रकार थिए।
१. सबै कर्मचारीको अहिलेसम्मको बक्यौता रकम दिने।
२. कर्मचारीलाई नियमित तलब दिनुपर्ने।
३. कार्यालयमा काम गर्ने वातावरण चुस्त दुरुस्त पार्नुपर्ने।
४. कार्यालयमा नियमित रुपमा पेट्रोल , डिजेल, डिभी क्यासेट जस्ता कुराहरु उपलब्ध गराउने।
यसरी यी मागहरुलाई माथि अध्यक्षका पठाउंदै हामी राति ७ बजेसम्म कार्यालयमा बस्यौं र हामी भोलि बिहान फेरी आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने भन्दै आ–आफ्नो घरतिर लाग्यौ। त्यतिन्जेल पनि टेलिभिजनमा केहि कार्यक्रमहरु प्रशारण भइरहेको थिएन। धेरै मिडियाकर्मीलाई आन्दोलनको बारे थाहा भइसकेको थियो। अनलाइनमा छ्याप्छ्याप्ती आन्दोलनका खबरहरु आइरहेका थिए। केहि समाचारमा आन्दोलन विरोधी समाचारहरु पनि आइरहेका थिए। टेलिभिजनै बन्द गर्नु बेठिक भनेर केहि अनलाइनले लेखेका थिए। हामी सबै आन्दोलनकारीलाई थाहा थियो त्यो कसले लेखाएको थियो भनेर। त्यहि पनि हामी चुपचाप आफ्नो आन्दोलनतिर नै लाग्यौ।
रातको समय
राति सुशील अर्याल सरको फोन आएको थियो। अध्यक्षले भेट्न खोज्नुभएको रहेछ। पंक्तिकारले असहमति जनायो र भोलि नै भेट्ने जानकारी गरायो। केहि बेरमा समाचार प्रमुख चिरिञ्जीविराज देवकोटा सरले भोलि बिहान भाटभटेनीमा भेटौं भनेर फोन गर्नुभयो। मैले हुन्छ भनेँ र केहि आन्दोलनको अगुवाई गरेका र केहि आफ्नो विस्वास पात्रलाई फोन गरेर भोलि बिहान भाटभटेनी भेट्न बोलायौं।
माघ १९ गते
माघ १९ गते अर्थात पूर्व राजाले कु गरेको दिन। कस्तो दिन छलफल गर्नुपरेको बिहान बिहानै जस्तो लागेको थियो। पत्रकारको दिमाग हरेक कुरा शंकाले जो हेरिन्छ। त्यो दिन मलाई खै किन हो कस्तो कस्तो लागेको थियो। कतै समाचार प्रमुखले पनि फंसाउन खोजेका त छैनन् जस्तो लागेको थियो। त्यहि पनि आन्दोलनको सफल व्यवस्थापन जरुरी थियो, त्यहि भएर सहमति खोज्ने विहान खोज्न भाटभटेनी बाहिरको रेस्टुरेन्ट गइयो।
त्यहां छलफलमा समाचार प्रमुख चिरञ्जिीविराज देवकोटा, सविना कोइराला, प्रदीप बस्नेत, विकास थपलिया, मेरो र उसका विस्वासपात्रहरु क्यामेरापर्सन ज्ञानेन्द्र शर्मा , रिपोर्टर कुशल तिमिल्सिनालाई त्यहां थिए। करिब ३ घण्टा झगडा, तर्कवितर्क, रिसाउने , फत्फताउने कुराहरु भए। हामी चाहन्थ्यौं अहिलेसम्मको सबै अर्थात ५ महिनाको सबै तलब पाएपछि मात्रै टिभी खाल्ने। तर त्यो संभव थिएन त्यो हामीलाई पनि थाहा थियो। यसको कारण के पनि थियो भने हाम्रा आन्दोलनका सहयात्री एकाउन्टेण्ट संजय पराजुलीले एक महिनामा कर्मचारीको तलब ७ देखि ८ लाख हुने जानकारी दिइसक्नुभएको थियो। यसरी हिसाब गर्दा ५ महिनाको एकैचोटी ४० लाख दिनुपर्ने देखिन्थ्यो। त्यसैले , सेफ ल्यान्डिङका लागि २०७० मंसिरसम्मको सबै बक्यौता रकम एक हप्ता भित्र दिनुपर्ने र अर्को तलब पछिल्लो महिनाको १५ गतेभित्र नियमित गर्नुपर्ने निर्णय गर्यौ। सरल रुपमा भन्दा पुसको तलब चाहिं फागुन १५ गतेभित्र दिनुपर्ने र यसरी नै नियमित रुपमा यसलाई अगाडी लानुपर्ने। तलबको लागि कहिलै लड्नुनपर्ने प्रतिबद्धता जनाउनुपर्ने। र अर्को महत्वपूर्ण निर्णय ट्रेड युनियन दर्ता गर्न दिनुपर्ने।
पत्रकार महासंघको प्रतिष्ठान हुंदाहुंदै पनि पारिश्रमिकको मामलामा यसले केहि गर्न नसकेको सत्य सबैलाई थाहा थियो। त्यहि भएर यसको विकल्पको रुपमा ट्रेड युनियन चाहिएको थियो। यसले संस्थामा कार्यरत सबै कर्मचारीलाइ पनि समेट्थ्यो । कुनै महिना तलब ढिलो हुने बित्तिकै टेलिभिजन ब्ल्याक आउट हुने समेत चेतावनी दिइएको थियो।
यो मागलाई मुर्तरुप दिएपछि अब यसबाट पछि नहट्ने निर्णय पनि गरियो।
अब हाम्रो माग लिएर हामी सबै कार्यालय गयौ। साथीहरु हाम्रो प्रतीक्षामा थिए। हामीले हाम्रो सहमतिको खाका देखायौ। केहिले आलोचनात्मक समर्थन गरे भने अधिकांशले समर्थन गरें। त्यसपछि समाचार प्रमुख त्यो हाम्रो माग लिएर अध्यक्षकोमा जानुभयो । आधा घण्टा पछि उहां फर्कनुभयो र अध्यक्षले सहमति जनाएको बताउनुभयो। अब सहमतिमा हस्ताक्षर गर्ने बेला भएको थियो।
हामी माथि अध्यक्षको जाने तयारीमा थियौँ। प्रेम बांनिया सर पनि सहमति हुन लागेको थाहा पाएर आउनुभयो। हाम्रो सहमति हुन लागेको बुंदा पढेपछि उहांले यसरी आन्दोलन गर्दै तलब दिने हो भने गलत नजिर बस्छ भनी बोल्नुभयो। हामी कसैले पनि उहांको अभिव्यक्तिको वास्ता गरेनौं किनभने यसको जरुरत पनि थिएन।
हस्ताक्षरको बेला
हस्ताक्षरको लागि हामीलाई माथि जान लाग्दा हामीले महिला तथा सिनियर एकंरको प्रतिनिधीको रुपमा सविनाजीलाई पनि माथि आउन आग्रह गर्यौ। जब अध्यक्षको कोठामा पुग्यौ उहांको अनुहार रिसले कालो थियो जसलाई हामीले स्वभाविक ठान्यौं। अनि त्यसपश्चात सहमतिमा आन्दोलनकारीको पक्षबाट अरुणदेव जोशी र मेरोले हस्ताक्षर गर्यो भने व्यवस्थापनको पक्षबाट अध्यक्षले हस्ताक्षर गर्नुभयो। उहांले हस्ताक्षर गर्ने बित्तिकै भनेको वाक्य अझै याद आउंछ – अब सबै कुरा अनलाइन लाइभ गर्ने होला नि, हैन त? तर उहांलाई शायद थाहा थिएन, ती सब उहांकै नजिकका व्यक्तिहरुले गरेका थिए जो त्यहि अनलाइन देखाएर उहांको कान भर्ने र उहांको नजिक बन्ने काम गरिरहेका थिए।
यसरी सहमति भएपछि अनौपचारिक रुपमै पहिलै भनिएको थियो कि त्यस दिन कम्तीमा एक जना कर्मचारीलाई मंसिरसम्मको तलब दिने भनेर जस अनुरुप भर्खरै जागिर छोडेका हेल्पर भरतलाई एकमुष्ट ३० हजार दिइयो। उनले ३० हजार एकमुष्ट बुझेपछि मेरोलाई बाहिर बोलाएर महंगो होटेलमा लगेर दाई के खाने भन्नुस् म आज एकदमै खुशी छु भनेको अझैं याद आउंछ। उनले सपनामा पनि नचिताएको पैसा एकैपटक पाएका थिए। तर उनको त्यो परिश्रमकै पैसा थियो। उसलाई त्यो महंगो रेस्टरेन्टबाट बाहिर निकालेर हामी सधैं खाने पसल गएर चिया खाएका थियौ।
एक हप्ताको समय
सहमति भएकै दिनदेखि टेलिभिजन शुचारु भइसकेको थियो। अब व्यवस्थापनले तलब मंसिरसम्मको दिन शुरु गरेको थियो। तलब बांडदै गर्दा थाहा भयो अध्यक्षका नजिकको व्यक्तिहरुको एक महिना मात्रै बांकि थियो। उनीहरुलाई त महिना मर्ने बित्तिकै दिइन्दो रहेछ। तर त्यसमा हाम्रो कुनै आपत्ति थिएन किनभने उहांहरुले पनि आफ्नै पारिश्रमिक पाउनुभएको थियो। तर आपत्ति के कुरामा थियो भने एक दुई व्यक्तिले मात्र पारिश्रमिक पाउने हैन, सबैलाई दिनुपर्ने थियो। त्यस्तै प्रवृत्तिले यो क्षेत्र बिग्रियो।
खैर, मंसिरसम्मको तलब दिंदा थाहा भयो कोह कोहिको त एक वर्षदेखिको तलब बांकी रहेछ, सबको एक एक हिसाब लिंदै सबलाई तलब दिलाइयो। यसबीचमा न्युज २४ टेलिभिजनमा स्थापनाकालदेखि काम गर्नुभएका चिफ क्यामेरापर्सन आदरणिय विजय उदय पाल्पाली सरले सबभन्दा बढी डेढ लाख रुपैंया बुझ्नुभएको थियो भने त्यसपछि मणि लोहनी सरले १ लाख बुझ्नुभएकेा थियो जुन् पैसा मैले लिएर मणि लोहनी सरको बैंक खातामा हालिदिएको थिएँ। र यसरी हरेक कर्मचारीहरुले आ–आफ्नो बक्यौता पारिश्रमिक पाएपश्चात एउटा ठुलो लडाई टेलिभिजनमा हामीले जितेका थियौ। यो सबै हामी कर्मचारीहरुको एकताले नै संभव भएकेा थियो। अनौपचारिक रुपमा थाहा भए अनुसार यो बीचमा संस्थाले ५० लाखभन्दा बढी कर्मचारीको तलबको रुपमा भुक्तान गरेको थियो।
अर्को लडाई ट्रेड युनियन
सबै कर्मचारीको पारिश्रमिक पाइसकेपछि अब हाम्रो लंडाई ट्रेड युनियनको लागि थियो। ट्रेड युनियनको तदर्थ समिती हामीले गठन गरिसकेका थियौं जसको अध्यक्षमा सर्वसम्मत रुपमा अरुणदेव जोशीलाई बनाइएको थियो भने उपाध्यक्षमा यो पंर्िक्तकारलाई। अब हामी कानुनी रुपमै टेकुस्थित श्रमविभाग गएर दर्ता प्रकृया शुरु गर्यौ। यसका लागि सबै कर्मचारीसंग हस्ताक्षर संकलन गरियो र सबै कर्मचारीहरुले यसमा हस्ताक्षर पनि गरे। यस बीचमा पुस महिनाको तलब फागुन १५ मा दिनुपर्नेमा एक दिन ढिलो हुंदा हामीले विरोध गर्नेबित्तिकै तलब दिइएको थियो। ट्रेड दर्ताको प्रकृयामा गएपश्चात अध्यक्षलाई आन्दोलन विरोधीहरुले ट्रेड युनियनले संस्था खत्तम पार्छ भनी कान भर्ने काम भएछ। अध्यक्षबाट हामीलाई बोलावट भयो तर हामीले मानेनौं। यसरी फेरी संस्थापनबीच शीतयुद्ध शुरु भएको थियो। उता श्रम विभागबाट त्यहांको कर्मचारी व्यवस्थापनपक्षको हस्ताक्षरको लागि आउंदा हस्ताक्षर गर्न नमानेपछि हामीले त्यसको विरोध गर्यौं।
त्यसपश्चात अध्यक्षबाट हामीलाई वार्ताका लागि बोलावट भयो। हामी सबै गयौ। त्यो वार्तामा अध्यक्ष, मानव संसाधन प्रमुख, सुशील अर्याल, मुकुन्द दाहाल, प्रेम बानियां, अरुणदेव जोशी, सविना कोइराला, विकास थपलिया र मेरो सामेल थियो। ३ घण्टा चर्काचर्कि परेपछि हामी ट्रेड युनियनबाट पछि हट्यौ तर शर्त राख्यौ पत्रकार महासंघको प्रतिष्ठानमा ट्रेड युनियनका पदाधिकारीलाई सार्नपर्ने। अध्यक्षले सहमति जनाउनुभयो। हामीले सोच्यौ कर्मचारीको हकहितका लागि लड्न महासंघ नै काफी छ। महासंघमा पत्रकारको हकहितकै बारे बोल्ने पत्रकारहरु भयो भने सजिलै आफ्ना माग पुरा गर्न सकिन्छ। संस्थाले केहि गर्ने हैन, गर्ने व्यक्तिहरुले हो। त्यहि सोचेर हामी पत्रकार महासंघतिर गयौ।
ट्रेड युनियनबाट पत्रकार महासंघमा सर्ने निर्णयको गलत व्याख्या आन्दोलन विरोधी र केहि सिनियहरुबाटै भएको थाहा भयो। एक निकै सिनियर पत्रकारले त एक कर्मचारीलाई इस् तेरो युनियन, गयो अब … भनी लोप्पा ख्वाएको समेत थाहा भयो। यसरी हामीलाई संझौता धोका भएको भनी केहि साथीहरुले समेत अविश्वास गरे जुन् निकै स्वाभाविक थियो। कारण हामीलाई पनि कता कता आभाष भइसकेको थियो कि हामीमाथि षड्यन्त्र भएको थियो। तर हामी महासंघबाट कर्मचारीको हकहितको लागि अगाडी बढ्न सकिन्छ भनेर दृढ थियो। यहिबीच सधैं राम्रो काम गर्ने एक भाइ जो सधैं कर्मचारीको हितको कुरा गर्थ्यो , पदम तिमिल्सिना,ले व्यवस्थापनबाट कुनै पनि हालतमा महासंघमा युनियनका कर्मचारी सार्न नदिने काम भइरहेका खुलासा गर्यो। अनि हामी पनि दृढ भएर यसलाई हामी सबै कर्मचारीको प्रतिष्ठाको विषय बनायौ। महासंघभित्रको राजनीति हामी केहि बुझ्दैनथ्यौ। यहां त कांग्रेस, एमाले र माओवादीको मान्छे भनेर हेरिन्दोरहेछ। हामीलाई यसको सरोकार थिएन किनभने हामी कसैको मान्छे थिएनौ। थियौ तर केवल श्रमजीवी। यसबीचमा महासंघको प्रतिष्ठान शाखाको चुनावको लागि तत्कालिन अध्यक्ष सुशीलबाब अर्याल सरलाई भन्दा उहांले आनकानी गर्नुभयो।
नयां सदस्यता थप्न नमिल्ने लगायतका कुरा उहांले गर्नुभयो। हामीलाई थाहा थियो कि सदस्यता थप्न मिल्छि भनेर। तर यो भित्रको राजनीति हामीलाई केहि थाहा थिएन। यसपछि तुरुन्त हामी मात्रिका पौडेल सरकोमा गयौं। ( उहां केहि समय पहिले न्युज २४ संगै आबद्ध हुनुहुन्थ्यो। तर पछि खिलराज रेग्मीको सरकारको पालामा सञ्चारमन्त्रीको सल्लाहकारको रुपमा नियुक्ति पाएपछि बिदामा बस्नुभएको थियो। ) मात्रिका पौडेल सरले श्रमजीविको पक्षमा खुलेर समर्थन गर्नुभयो। उनले भन्नुभएको अझै याद आउंछ –तिमीहरुले त न्युज २४ मा हामीले गर्न नसकेको कुरा गरेका छौं, यस्तो एकता र श्रमजीविको पक्षमा तिमीहरुको सक्दो सहयोग गर्छु। सांच्चिकै मात्रिका पौडेल सरले न्युज २४ को आन्दोलन सफल बनाउन निकै ठुलो गुण लगाउनुभएको छ। उहांकै प्रयासले संस्थामा नयां सदस्यको नाम थपियो भने तत्कालिन न्युज २४ शाखाका अध्यक्षले नचाहंदा नचाहंदै २०७१ वैशाख ४ गते न्युज २४ प्रतिष्ठान शाखाको दोस्रो अधिवेसन तोकियो।
वैशाख ३ गते
जति जति प्रतिष्ठानको चुनाव नजिकिंदो थियो त्यति त्यति हामी आन्दोलनकारीहरु हार्ने हल्ला चलाइयो। हुंदाहुदा आन्दोलनमा अगाडी देखिएको अनुहार सहकर्मी विकास थपलिया समेत हामीहरु हार्ने कुरा गरिरहेका थिए। विकासबाट त्यस्तो कुरा सन्दा निकै नरमाइलो लागेको थियो। विकास पछिल्लो समय अध्यक्षको नजिक भएको र हामीलाई धोका दिन लागेको कुरा मेरोको कानमा नपरेको पक्कै होइन। तर आन्दोलन चल्दा यस्ता हल्लाको पछि लाग्नुको अर्थ पनि थिएन। तर कता कता मेरोलाई विकासमा प्रतिष्ठान शाखाको अध्यक्ष हुने लोभले लोभ्याएको जस्तो लाग्ोको थियो । यसबीचमा वैशाख ३ गते अर्थात निर्वाचनको एक दिन अघि सर्वपक्षिय मिटिङ डाकियो। यसमा हामी अरुणदेव जोशी जो युनियनको अध्यक्ष थिए उनलाई अध्यक्ष बनाउनपर्छ भन्ने पक्षमा थियौ भने उताबाट मुकुन्द दाहाल सरलाई अध्यक्षको रुपमा सारिएको थियो। उहांहरु सहमति गरौं भन्नुहुन्थ्यो हामी पनि सहमति गर्ने तर सहमति नभए मतदानबाट कुरा टुंग्याउने रटान लगाइरहेका थियौ। अझ उता पक्षबाट मतदान भयो भने मन भांचिने कुतर्क पनि गरिरहेका थिए। अरे टेलिभिजनमा लोकतन्त्रमा निर्वाचनको त्यत्रो वकालत गर्ने व्यक्तिहरु निर्वाचनले मतभेद हुन्छ भनेको देखेर टिठ लागेको थियो।
त्यो दिन केहि चर्काचर्की भएपश्चात भोलि निर्वाचनमा देखा जाएगा भन्दै उठ्यौ। त्यहि रात केहि आन्दोलन विरोधी साथीहरुले आफु मातहतका कर्मचारीहरुलाई सहमति गर्ने ,नभए निर्वाचन बहिस्कार गर्नुपर्छ , हामीले भनेको मानेनौं भने पछि तिमीहरुलाई अप्ठ्यारो हुन्छ भनेका रहेछन्। हुंदाहुंदा मेरो वैशाख ३० गते अमेरिका जाने भएकाले उ गएपछि कसले नेतृत्व गर्छ भनेर माहौल बिगार्ने प्रयास भएको थाहा भयो। त्यो रात सबै साथीहरुलाई फोन गरेर भोट जसले अन्यायको विरुद्ध बोलेको छ र जसले तंपाइंहरुको हित हुन्छ उसको पक्षमा गर्नुहोस् भनी फोन गरियो। आफ्नो अमेरिका जाने कुरा नितान्त व्यक्तिगत भएकोले त्यस कुराको पछि नलाग्न आग्रह गरे।
वैशाख ४ गते अधिवेशनको दिन
अधिवेशनको दिन सबै कर्मचारीहरु कार्यालय आइसकेका थिए। हामी निर्वाचनको तयारीमा थियौ। महासंघबाट निर्वाचन गराउन मात्रिका पौडेल सरको नेतृत्वमा दिलिप थापामगर र प्रकाश थापा आइसक्नुभएको थियो। सहमतिको अन्तिम प्रयास भनेर फेरी हामीलाई बोलाइयो। त्यो बीचमा अरुणदेव जोशीलाई अध्यक्ष पद मुकुन्द दाहाल सरलाई छोड्न आग्रह उता पक्षबाट भयो। हामीले मानेनौं। हामीले मुकुन्द दाहाल सरलाई अध्यक्ष छोड्न र आन्दोलनको स्पि्रटलाई मान्न आग्रह गर्यौ।
त्यहां निकास ननिस्किएपछि दुबैजना अर्थात मुकुन्द दाहाल र अरुणदेव जोशीलाई छुट्टै कोठामा लगियो। आधा घण्टासम्म दुबैजना टसमस नगरेपछि अब निर्वाचन गर्ने भनी हामी नारा लगाउन थाल्यौ।
यसबीचमा मुकुन्द दाहाल सरले मेरो र अरुणदेव जोशी सरसंग मात्र कुरा गर्न खोज्नुभयो। मेरोले उहांलाई आन्दोलनको स्पि्रट बुझ्न आग्रह गर्यो र यदि निर्वाचन भए तंपाईको हार हुने समेत भन्यो। उहांलाई पनि थाहा थियो मतदान भयो भने धेरै सिनियरहरु महाधिवेशन प्रतिनिधि समेत चुनिनेवाला थिएनन्। त्यहि भएर अन्ततः उहांले मैदान खाली गर्नुभयो र सहमति भयो। सहमतिमा उहांहरु अर्थात सिनियरहरु र नयांहरुलाई लाई महाधिवेशन प्रतिनिधि बनाउने र कार्यसमितीमा नयां र युनियनका पदाधिकारीलाई समायोजन गर्ने। अनि बल्ल नेपाल पत्रकारमहासंघ न्युज २४ प्रतिष्ठान शाखाको दोस्रो अधिवेशन सम्पन्न भयो जसको अध्यक्ष अरुणदेव जोशी हुनुभयो।
यस सम्बन्धी न्यज २४ टेलिभिजनमा यसरी बजेको थियो।
(नेपाल पत्रकार महासंघ न्युज २४ प्रतिष्ठान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। बुधवार सम्पन्न अधिवेशनले अरुणदेव जोशीको अध्यक्षमा १३ सदस्सीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको छ कार्यसमिेतिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा टम वस्नेत, सचिवमा संगम वानिया सहसचिवमा श्यामहरी पुडासैनी र कोषाध्यक्षमा रुपकृष्ण कर्मचार्य रहनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा महिला कोटामा सरिता काफ्ले, जनजाति कोटामा आखु पुलामि, मधेशी कोटामा सुबोध पटेल र खल्ला तर्फ पदम तिमल्सिना, धुव्र लामिछाने, नवराज पाण्डे, अशोक मानन्धर र विना अधिकारी रहनुभएको छ । अधिवेशनले दश जना केन्द्रिय प्रतिनिधि चयन गरेको छ । केन्द्रिय प्रतिनिधिहरुमा मुकुन्द दाहाल, चिरञ्जीविराज देवकोटा, सुशीलबाबु अर्याल, मणि लोहनी, विकास थपलिया, ज्ञानेन्द्र शर्मा, अनुज थापा सविना कोइराला प्रदिप बस्नेत र दीपक बोहरा रहनुभएको छ । अधिवेशनको लागि पत्रकार महासंघ केन्द्रिय कार्यलयबाट केन्द्रिय प्रतिनिधिमा सुर्यमणी गौतम आउनुभएको थियो । त्यस्तै अधिवेशनमा केन्द्रिय सदस्य मात्रिका पौडेल , दिलिप थापा मगर र प्रकाश थापाको पनि उपस्थीति रहेको थियो । अधिवेशनको लागि न्युज २४ मा कार्यरत प्रेम वानिया प्रमुख निर्वाचन अधिकृत रहनुभएको थियो भने शिव लामिछाने र कुशल तिमल्सिना निर्वाचन अधिकृत रहनुभएको थियो । )
निष्कर्ष
अहिले न्युज २४ टेलिभिजनमा कर्मचारीहरुले नियमित तलब पाइरहेका छन्। त्यतिबेलाको सहमति अनुसार नै पारिश्रमिक पाइरहेका छन्। नियमित पारिश्रमिक र पत्रकार महासंघको शाखा प्रतिष्ठानमा पनि मजदुरकै पक्षमा बोल्ने पत्रकार छन्। यसरी एउटा ठुलो लडाइं त्यहां जितियो जसको श्रेय त्यहि कर्मचारीको एकतालाई नै जान्छ। हामी पत्रकारहरु अरुको न्युज, अरुमाथि अन्याय भएको न्युज बनाउन सधैं आतुर हुन्छौं तर आफुमाथि यो क्षेत्रबाटै भएको अन्याय फेसबुकमा पोख्नुबाहेक केहि गर्दैनौं। पत्रकार महासंघले गरेन, महासंघलाई गाली मात्र गछौं तर आफु चाहिं यसबारे माखो नै मार्दैनौं।
मेरोका विचारमा महासंघलाई गाली गर्नुको औचित्य नै छैन। जब तिमीमाथि अन्याय भएको कुरा तिमी आफैं बोल्न सक्दैनौ भने महासंघलाई किन गाली गर्नु? आफु–आफु नै बलियो भएर स्वच्छ भएर अघि बढ्यो परिणाम त मजदुरको पक्षमा नै आउंछ। न्युज २४ टेलिभिजन एउटा बलियो उदाहरण हो। टेलिभिजन उधोगमा यति धेरै विकृति हुनुमा यसको संचालक जति दोषी छ, त्यो भन्दा बढी त्यसमा कार्यरत पत्रकारहरु छन्।
आफुविरुद्ध यसरी थिचोमिचो हुंदा समेत चुइक्क नबोलेपछि संचालकलाई मतलबै हुन्न। धेरैलाई भ्रम के पनि छ र के पनि सुनिन्छ भने सिनियरहरुले बोल्दैनन् , हामीले के बोल्ने? हो, कुरा यहि बिग्रिएको छ। त्यहि केहि अग्रज सिनियहरुले नबोलेर त हो टेलिभिजन उधोग यति बिग्रिएको। जब ६० सालपछि खुलेको टेलिभिजनहरुमा काम गरेका सिनियरहरुले त्यति बेलै विना पारिश्रमिक खबर भित्रको खबरहरु भन्न छोडेर आफु नै खबर बनेकोे भए , अहिले टेलिभिजन उधोगको यो दुरावस्था आउने थिए। एकछिन् समाचार उभिएर पढेर , लाइभ गरेर स्टार भइयो भनेर खोक्रो भ्रम पालेको र अरुलाई पनि यहि भ्रम बाढेकै कारण हो नयां पुस्तालाई अहिले टेलिभिजन पत्रकारितामा गाह््रो भएको। पत्रकारिताको नाममा पत्रुकारिता गरेको कारण यो क्षेत्र प्रदुषित बनेको छ। नेताको समाचार बजाएर उसको नजिक हुने, व्यापारीको समाचार बजाएर उसंग आर्थिक लाभ लिने, पैसा लिएर अर्न्तवार्ता बजाउने, समाचारको विषयलाई तोडमोड गरेर लाभ लिने खालका प्रवृत्ति, केहि संस्थाको अध्यक्षको नजिक रहने सिमित व्यक्तिको अमर्यादित पत्रकारिताको कारण सांच्चिकै पत्रकारितामा केहि गर्छु भन्नेहरुलाई गाह््रो भइरहेका छन्।
कांचको पर्दामा सबभन्दा बढी इमान्दार, सच्चा, सत्यको मात्रै वकालत गर्ने, देशभक्त र स्वाभिमानी जस्तै देखिने तर पर्दा बाहिर अरु नै रुप भएकाहरुले नै हो यो क्षेत्र दुषित बनाइरहको। त्यसैले लड्नुपर्छ भने पहिले ती प्रवृत्ति भएका पत्रुकारहरुसंग लड्नुपर्छ। उनीहरुलाई पाखा लगाइयो भने त मालिकको आंखाको पट्टी आफ से आफ खुल्छ। सिनियरहरुले लागि बोल्देला भनेर सधैं बसियो भने बसेको बस्यै भइन्छ। त्यसैले यो क्षेत्र भित्रको विकृतिविरुद्ध लड्न ती सबै श्रमजीविको पक्षमा रहेका पत्रकाहरु ग्ाोलबन्द हुन जरुरी छ। अरुलाई अन्याय भयो भनेर टेलिभिजनमा बढी फलाक्नुभन्दा आफुमाथि भएको अन्यायको खिलाफ पहिला लडौं, अनि मात्र समाज परिवर्तन गर्छु भनेर हिंडेको हेर्न सुहाउंछ। यो पत्रकारिता पेशलाई मर्यादित बनाउन सबै सबै इमान्दार पत्रकारहरुको एकता निकै नै आवश्यक छ। मेरोले स्थापनाकालदेखि ५ वर्षसम्म एक संस्थामा रहेर काम गरेको अनुभव हो यो। आमिर खानको फिल्म रंग दे बसन्तीको डायलग याद आउंछ यस्तो बेला…, दुनियांमा दुई प्रकारका मानिस हुन्छन्, एक जो संसारमा जे भएको देख्छ त्यसलाई स्वीकार्छ र अर्को जिम्मेवारी उठाउंछ त्यसलाई बदल्नका लागि।
तपाईहरु जस्तै एभिन्युजका साथिहरुले गरिदिएको भए ।।।।।। एकजना पत्रकार अकालमा मर्दैनथे शायद!
समाचार पढ्नेहरूको समाचारनै कति दुखत रहेछ ,,,,, कम्तिमा सेलरीको लागि कुनै संघर्ष र सम्झौता गर्न नपरोस ……कसैलाई पनि..
मिडिया मालिकलाई तलब नदिई पत्रकारहरु लाई काम मा लगाउने साहास पत्रकार हरु कै कारण ले आएको हो, पत्रकारको नाम मा घाँटी मा झुन्ड्याउने प्रेस पास भए पुग्ने नालायक हरुले सबै बर्बाद पारेका हुन्.
पुरै पढे मैले
लेख निकै नै सन्दर्बिक छ
यसलाई पत्रकार साथी हरु ले भन्दा पनि मिडियाका संचालक हरुले मनन गर्न आबस्यक छ एस्तो दिन आउन नदिन बेलै मा सचेत भै पत्रकारको भावना बुझेर यस्ता बाध्यात्मक कार्य गर्न प्रोत्शाहन नगरियोस
अन्त्यमा , तपैहरुले चलेको कदम ठिक वा बेठिक टिप्पणी गर्दिन तर संचालकहरु ले पक्कै बेठिक गरेका हुन् ,येति त भन्नै पर्छ
लेख पढ्दा धेरै खुसि लाग्यो राम्रो कामको सुरूवात अाफैबाट हुनुपर्छ “कांचको पर्दामा सबभन्दा बढी इमान्दार, सच्चा, सत्यको मात्रै वकालत गर्ने, देशभक्त र स्वाभिमानी जस्तै देखिने तर पर्दा बाहिर अरु नै रुप भएकाहरु जस्तै माथिको लेख अनुसार भन्नुपर्दा प्रेम बानियाहरू जस्ता ले नै हो यो क्षेत्र दुषित बनाइरहको।
नेपाल जहाँ जम्मा ५/७ वटा सहर हरु मात्र आर्थिक रुपमा सबल भयको देशमा त्यत्रो दर्जन भन्दा बढी टेलिभिजन प्रशारण को स्वीकृति दिने नेपाल सरकार प्रमुख दोषी हो यो सब मा, मेरो विचार मा / अनि आर्को कुरा नेपाल जस्तो सानो अर्थ तन्त्र भयको देश मा पनि सम्भाव्यता अध्यन केहि नगरी हावा को भर मा टेलिभिजन चलाउन खोज्ने अल्प ज्ञानी लगानी कर्ता हरु पनि दोश्रो ठुलो दोषी मान्छु म / त्यस्तै अनुज ले भने जस्तै स्वाम पत्रकार पनि दोषी हो, अनुज आफै पनि ५ बर्ष त्यहि दुख सहेर बस्यो किन भने उनले त्यस बेला आर्को विकल्प खोजेन, उनले त्यस बेला मात्र संघर्ष गर्ने हिम्मत गर्यो जब उनि अमेरिका जाने विचार मा पुगे
साथीहरुले यत्रो मेहेनत गरेछन् अनि हामी जिल्लाबाट काम गर्दै आएका रिपोर्टरहरु चैं कसैलाइ केहि खबर गरेनन् र एक्लै पोइसो लिए । सायद जिल्लाबाट साथीहरु आए भने हाम्रो भाग घट्छ भन्ने सोचेछन् कि क्या हो । तत्कालिन न्यूज डेस्क जस्ले हाम्रो श्रमको वास्ता गरेर त्यसप्रति घोर भत्सना गर्दछु ।