Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०१४ मा माइसंसारका टप १४ ब्लगहरु यस्ता छन्

Posted on January 1, 2015January 4, 2015 by Salokya

सन् २०१४ ले हामीबाट विदा लिएको छ। नयाँ वर्ष २०१५ लाई हामीले स्वागत गरिसक्यौँ। यो वर्षले के-के लिएर आउने हो, हामी कसैलाई थाहा छैन। तर २०१५ को नयाँ बिहानीसँगै पछाडि फर्किएर हेर्दा २०१४ मा माइसंसारमा कस्ता ब्लग बढी रुचाइए? को रहे बढी कमेन्ट गर्ने पाठक? कहाँबाट बढी पढियो यो ब्लग? वर्डप्रेसको जेटप्याकले दिएको तथ्याङ्कका आधारमा तल राखेको छु-

१४) हराइरहेको विमानको नेपाल कनेक्सन

संयोगले अहिले अर्को विमान पनि हराइरहेको छ एयर एसियाको। यो विमान यी पंक्ति लेख्दासम्म फेला नपरे पनि केही लाश समुद्रमा तैरिरहेको अवस्थामा फेला परिसकेको छ। तर यो ब्लग भने मलेसिया एयरलाइन्सको MH370 को नेपालसँग सम्बन्धको विषयमा लेखिएको थियो। मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङतर्फ उड्दै गर्दा हराएको यो विमान अहिलेसम्म फेला पर्न सकेको छैन। हराएको आठौँ दिनमा WNYC डेटा न्युज टिमले एउटा भिजुलाइजेसन गरेको थियो- कुन-कुन ठाउँमा यो विमान अवतरण हुनसक्ने स्थिति छ भन्ने विषयमा। विश्वका २६ देशका ६३४ वटा रनवेमध्ये नेपालको राजविराज विमानस्थल र काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई यसले सूचिकृत गरेको थियो। त्यसैगरी अर्को नेपाल कनेक्सन के भेटियो भने यो विमानमा रहेका यात्रुमध्ये नौ जना नेपाल घुमेर घर फर्कँदै रहेछन्।

१३) गढिमाई बलि समर्थकले हेर्नै पर्ने पाँच फोटो, हेर्नुस् र ‘गर्व’ गर्दै भन्नुस् ‘ठीकै हो’

वर्षमा सर्वाधिक चर्चा भएका विषयमध्ये एउटा गढिमाई मेला पनि हो। बलि समर्थक र विरोधीहरु एकापसमा तर्क वितर्क गरेर भिडिरहे, विचरा उनीहरुलाई गढिमाईको वास्तविक परिवेश भने पटक्कै थाहा थिएन। हामी गढिमाई मै पुगेका थियौँ र त्यहाँ देखेका थियौँ हजारौँहजारको आस्थामा कसरी गढेको रहेछ गढिमाई। राँगो काटेर छोरा वा सन्तान जन्मन्छ भन्ने विश्वासकै आधारमा भारतबाट ट्रयाक्टर चढी आउने रहेछन् हजारौँ। उनीहरुलाई फेसबुक र ट्विटरको विरोधले कुनै असर नपर्ने रहेछ। अनि हामीले त्यहाँ देख्यौँ चरम अव्यवस्थापन। नालायक प्रशासन। यो ब्लगमा भने केही फोटोमात्रै राखिएको थियो बलिका।

१२) ब्राजिली बाजेको यो फोटो सबैले देखे, तर एउटा अर्को फोटो धेरैले देखेका छैनन् होला


विश्वकपको लहर। अनि ब्राजिलको पक्षमा रम्नेहरु। कप जित्ने दावेदार ठानिएको होस्ट देशको टिम जर्मनीसँग नसोचेको रुपमा ७-१ ले पराजित भयो। ब्राजिलकै एक समर्थक बूढा बाजेको खेल अघि र पछिका केही फोटोहरुको बारेमा यो ब्लग थियो।

११) हो, मैले साझा सवाल छाड्ने निर्णय गरेँ- नारायण श्रेष्ठ

तीन किसिमका अन्तर्वार्ता नेपालमा हेर्न/सुन्न पाइन्छ। एउटा- अन्तर्वार्ता दिनेको बेस्कन झाँको झार्ने, दोस्रो- अन्तर्वार्ता दिने मान्छेभन्दा बढी आफै बोलेर आफ्नो विद्वता प्रदर्शन गरी आफ्नो कुरा मनाउन/भनाउन लगाउने, तेस्रो- हाँसी हाँसी नम्र भाषामा अन्तर्वार्ता दिनेलाई भित्तैमा पुर्‍याउने गरी प्रश्न सोध्ने। नारायण श्रेष्ठ तेस्रो किसिमको अन्तर्वार्ताका लागि प्रख्यात थिए। करिब सात वर्षदेखि ‘साझा सवाल’मा उनले आफ्नो यही ‘ब्रान्ड’ उचाइमा पुर्‍याएका थिए। तर गएको मार्चमा उनले अकस्मात् आफूले साझा सवाल छाड्ने बताउँदा सब अचम्ममा परे। उनले साझा सवाल छाड्न लागेको विषय सबैभन्दा पहिला माइसंसारमा छापिएको थियो। त्यसलगत्तै फेसबुक र ट्विटरमा उनले यसबारे घोषणा गरे। बीबीसीको पनि आधिकारिक वक्तव्य आयो। त्यो ब्लगमा उनले बताएको यो प्रसंग पनि निकै चर्चामा रह्यो- “मलाई धेरै पहिलेदेखि, पत्रकार बन्नुभन्दा पहिलेदेखि नै एउटा जिज्ञासा थियो- आखिर देश कसरी चल्दो रहेछ ? नेपाल कसरी चलिरहेको छ ? मतलब प्रशासनिक, राजनीतिक, विकास, नीतिनिर्माण आदि सबै कुरामा। यो कार्यक्रमका क्रममा देशभर गएपछि, नीति निर्माण तहका उच्चपदस्थ कर्मचारीदेखि राजनीतिक नेतृत्व, प्रधानमन्त्री-मन्त्रीसमेतसँग छलफल चलाएँ। सबैतिर हेर्दै जाँदा लाग्यो- यो देश त पशुपतिको कृपाले चल्दो रहेछ। कसैले चलाउने नै हैन रहेछ। त्यो गाउँतिरको पानी हुन्छ नि, कसैले केही नगर्दा पनि त्यो ओरालो-ओरालो आफै लाग्दै गइरहेको हुन्छ। त्यस्तै रहेछ। कुलो खनेर पानी लगाउने कोही रहेनछ।”

१०) चरी मर्‍यो पुलिसको गोलीले


अन्ततः गुन्डाहरुको अन्त्य हुने नै यसरी हो। जिउँदो हुँदा अनेक थरि गरेर पैसा कमाउँछन्, राजनीतिक शक्तिको आडले थर्काउँछन्, टोले गुन्डाभन्दा अलि बढी हैसियत भएकाहरु डन भनिदिए दङ्ग पर्छन्। तैपनि नराम्रो कामको परिणाम नराम्रै हुने नै भयो। आखिर दिनेश अधिकारी ‘चरी’ गत अगस्तमा पुलिसको गोलीले मरे।

९) अमेरिकाबाट डलर पाउने भाग्यमानीहरु (गोप्य कागजातबाट भएको खुलासा)

अमेरिकाले विदेशी मुलुकलाई सहयोग USAID मार्फत् गर्छ। यही USAID भित्र OTI भनेर एउटा छुट्टै विभाग खोलिएको छ। OTI पूर्ण रुप Office of Transition Initiatives हो। भन्नलाई अनेक थरिका चिप्ला, राम्रा कुरा भने पनि यसको वास्तविक उद्देश्य अमेरिकाको चासो रहेको देशमा आफ्नो स्वार्थ अनुरुपको ‘हस्तक्षेप’ गर्न ‘वातावरण मिलाउन’ गर्ने सहयोग हो। सन् २००६ देखि सन् २००९ सम्म OTI को मिसनबारे गरिएको मूल्याङ्कन प्रतिवेदनमा यति अवधिमा यसले २ करोड अमेरिकी डलर झण्डै ३ सय व्यक्ति/संस्थालाई बाँडेको थियो। यो दुई करोड डलर मिडिया सपोर्ट र नागरिक समाज केन्द्रित कार्यक्रमका लागि छुट्याइएको प्रतिवेदनमा उल्लेख छ। को को थिए त ती डलर पाउने भाग्यमानीहरु ? प्रतिवेदनमा सबैको नाम त छैन, केही हामीले सुन्दै आएका, चिनेका नाम भने अवश्य छन्। उनीहरुको सूचीबारेको ब्लग थियो यो।

८) के पारसको साटो अर्कै मान्छे थाइल्यान्डमा पक्राउ परेको हो? यो पढ्नुस्, प्रष्ट हुनुुहुनेछ

फेसबुकतिर एउटा थाइ साइटको लिङ्क र त्यसको गुगल ट्रान्सलेट खुब चलेको थियो। थाइ भाषा त खासै कसैले बुझ्ने कुरा भएन, अनि गुगलले गरेको ट्रान्सलेटमा पारस हैन सुरज गन्ज लेखिएको छ रे। फोटो पनि पहिलेको ह्यान्डसम पारस जस्तो देखिन्न। केही अन्धभक्तहरुलाई यत्ति भए पुग्यो। त्यसो चाहिँ नभइदिए हुन्थ्यो भनेर सोच्नेहरुलाई पनि यसले बल थप्यो। अनि एक किसिमको झुठ चेतना सामान्य मात्र हैन, पत्रकार, चिकित्सकजस्ताले पनि सामाजिक सञ्जालतिर फैलाउन थाले। आखिर के हो त सत्य यसको? के साँच्चै पारसको साटो अर्कै मान्छे थाइल्यान्डमा पक्राउ परेको हो? पारसको डुप्लिकेट पो पक्राउ परेको हो? त्यसैको विश्लेषण थियो यो ब्लगमा।

७) कमेडी नाइट्स विद् ऋषि धमला

भारतको रङ्गीन (कलर्स) टिभीमा आउने ‘कमेडी नाइट्स विद् कपिल’ नेपालमा पनि निकै लोकप्रिय छ। यो कार्यक्रमसित प्रतिस्पर्धा गर्न सक्ने कुनै कार्यक्रम नेपाली टिभीहरुमा देखेको थिइनँ। ऋषि धमलाले लिएको यो अन्तर्वार्ता भने साँच्चै नै त्यो कार्यक्रमलाई चुनौति दिने खालको छ। यो हेर्दा नहाँस्ने मान्छे कोही हुन्न होला। नेपाली टेलिभिजन अन्तर्वार्ताकै एउटा विशेष खालको, छुटाउनै नहुने यो अन्तर्वार्तामा प्रश्नकर्ताको प्रश्न त भयो नै उनको हाउभाउ, प्रश्न सोध्ने शैलिलाई पनि ध्यान दिनुस्। यो ब्लग भाइरल भएपछि ऋषिपत्नीले आवेशमा आएर मुद्दा चलाउने चेतावनी फेसबुकमा दिएकी थिइन्।

६) फेसबुकले एक खर्बमा किन्यो नेपाली कम्पनी क्यास अन एड

माइसंसारले सन् २००४ मा ब्लग सुरु गरेदेखि नै हरेक पहिलो अप्रिलका दिन एउटा रमाइलो, हो जस्तै लाग्ने ब्लग पोस्ट गर्दै आएको छ। हाँडिगाउँमा युएफओ भेटिएको, हिमानी हलिउडको हिरोइन बन्न लागेको, फेवातालको पानी सुकेको जस्ता केही शीर्षक निकै लोकप्रिय भएका थिए। यसपालि फेसबुकले धमाधम कम्पनीहरु किन्दै गरेको सन्दर्भ मिलाएर एउटा उदाउँदै गरेको नेपाली कम्पनी पनि किनेको ब्लग लेखिएको थियो, जुन अप्रिल १ को दिन बिहान ६ बजेर ६ मिनेटमा पोस्ट गरेको थिएँ। पोस्ट भएको केही मिनेटमै यो भाइरल भएर अन्ततः बढी पढिएको ब्लग हुनपुग्यो। केही सञ्चारकर्मीहरुसमेत झुक्किएको देखियो। एउटा अनलाइनले त साँच्चिकै ठानेर समाचार समेत लेख्यो। ब्लगको अन्त्यमा लिङ्क राखेर त्यसको अन्तिम लाइनमा स्पष्टसित अप्रिल फूल लेखिए पनि धेरैले त्यो लिङ्कमा क्लिक नै नगरेको देखियो। यसले सन् ४० र ५० को दशकमा चलेको आमसञ्चारको सिद्धान्त बुलेट थ्यौरी अझै असान्दर्भिक छैन कि भन्ने देखायो। यद्यपि, अधिकांशले अप्रिल फूल भन्ने थाहा पाएरै कमेन्टमा लेखे। यो ब्लग यो वर्षको सबैभन्दा धेरै कमेन्ट आएको ब्लग पनि हुनपुग्यो।

५) केटी कान्डमा किताब जलाउने कपुतहरु

हामी यस्तो समाजमा हुर्केका हौँ, जहाँ किताब जलाउने त कुरै छाडौँ, यसो खुट्टाले गल्तीले छुँदामात्र पनि ढोगेर क्षमा माग्छौँ। तर किताबहरुले भरिएको एउटा पुस्तकालयमा जुलाईको एक दिन दनदनी आगो बल्यो। निहुँ खासमा केटीको रहेछ। केटीको निहुँमा भएको झगडामा किताबमा आगो झोसेछन् कपुतहरुले। सब किताब खरानी! त्यसैबारे एउटा ब्लग थियो यो।

४) सम्भोगसँग जोडिएका रहस्यहरु

sex गौतम ‘उदय’ले लेखेका साताव्यापी विज्ञान ब्लगमध्ये यो ब्लग धेरै लोकप्रिय भयो। साधारण तरिकाले सोंच्दा वा भन्दा अन्य कुराहरु यथावत रहे कुनै निश्चित अवस्थामा र निश्चित उमेरभित्रमा पुरुष र महिला बिचमा गरिने शारीरिक सम्पर्कको माध्यमबाट एउटा नयाँ जीवन शुरु हुन्छ। हुन पनि यो कुरा ठिकै हो। तर सम्भोगसंग जोडिएर आएका, सुखानुभूति बाहेकका, प्रक्रियागत र जैविक कुराहरुलाई गहिरिएर हेर्ने हो भने यो साँच्चिकै आश्चर्यलाग्दो छ। त्यसैबारे ब्लग थियो यो।

अब टप थ्री ब्लगको पालो।

३) विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ

tv यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनबारे न‌याँ व्यवस्था गरेको छ। यस अन्तर्गत अब वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अघिल्लो बजेटले ३० इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा यस पटक ३२ इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ। त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर भन्सार महसूल लिइनेछ। यो महसूल दरमा चाहिँ परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभीमा कति कर लाग्छ त ? आर्थिक विधेयक २०७१ मा गरिएको व्यवस्थाबारे लेखिएको ब्लग थियो यो।

२) हाइफाइ केटीहरुले सुटुक्क ड्रेस चोरे, पसलेले सिसिटिभी फुटेज सार्वजनिक गरिदिए

पहिले पो सुटुक्क चोर्‍यो, कसले चोर्‍यो, कहिले चोर्‍यो- थाहै हुन्न थियो। अहिलेको युगमा त चोरहरुलाई नि साह्रै अप्ठेरो। एक त आजभोलिका सामान्य पसलहरुमा सिसिटिभी राखिएकै हुन्छ। अर्को इन्टरनेट र सामाजिक सञ्जालबाट त्यसलाई फैलाउन पनि सजिलो। गएको नोभेम्बरमा काठमाडौँको एउटा पसलमा दुई हाइफाइ केटीले सेल्सगर्ललाई अल्झाएर लुगा चोरेछन्। पसलका मालिक पनि के कम। सिसिटिभी फुटेजमा अनुहार देखिने र चोरेको देखिने गरी भिडियो फेसबुकमा राखिदिए। फेसबुकमा यो भिडियो यति भाइरल भयो कि त्यसैबारे लेखिएको यो ब्लग पनि वर्षको दोस्रो चर्चित ब्लग बन्न पुग्यो।

र, यो वर्षको सबैभन्दा टप ब्लग बन्न सफल भयो-

१)सुनकली : नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?

दुई वर्षअघि नेपाल भ्रमणमा आउँदा फिफा अध्यक्ष सेप ब्लाटरले भनेका थिए- नेपालले राम्रो खेल्छ तर एउटा मेस्सीको कमि भो। चमकदमकका साथ सजाइएको राजधानीको दशरथ रंगशालामा भएको एएफसी कपको उद्‌घाटन खेल हेरेपछि उनको त्यस्तो प्रतिक्रिया आएको थियो। ब्लाटरले भलै नेपालमा मेस्सीको कमि देखे होलान्, तर नेपालको सबैभन्दा गरिब जिल्ला मुगुलाई भने मेस्सीको अभाव महसूस भएको छैन। सिङ्गो जिल्लामा एउटा रं‍गशाला पनि नभएको मुगुवासीले किन एक किशोरीलाई मेस्सी बराबरै ठाने? कहाँ विश्वको सबैभन्दा महँगो खेलाडी मेस्सी, कहाँ मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको जिल्ला मुगु। तर पनि किन सत्कार र सम्मानको ओइरो लगाए? किन ‘सुनकली कस्ती, मेस्सी जस्ती’ नारा लगाइयो? कसरी फुटबलले मुगुवासीलाई ‘हामी पनि अघि बढ्न सक्छौँ’ भन्ने आत्मविश्वास दिलायो? जताततै ब्राजिलमा भइरहेको विश्वकपको चर्चा भइरहेको बेला, विश्वकपमा खेल्ने देशका जर्सीहरु लगाएर नेपालीहरु रमाइरहेको बेला विकट मुगुको मेस्सी र फुटबल साइनोबारे यी फोटोसहितको ब्लग राखिएको थियो। भोजराज भाटद्वारा निर्देशित यो डकुमेन्ट्रीले काठमाडौँमा भएको किम्फमा दुई वटा अवार्ड पायो र अब देशविदेशमा यो डकुमेन्ट्री देखाउने तयारी हुँदैछ।

attraction

अरु विविध तथ्य

-सन् २०१४ का ३६५ दिनमा कूल ६५६ वटा ब्लग पोस्ट गरिए।

-सबभन्दा धेरै ब्लग पोस्ट हुने दिन सोमबार रहेछ। यो दिन १०२ वटा ब्लग पोस्ट गरिएका रहेछन्।
-माइसंसार सबैभन्दा व्यस्त जुलाई १५ का दिन रह्यो। यो दिन मात्रै झण्डै ९० हजार भ्युज थियो। यो दिनको सबैभन्दा पपुलर पोस्ट थियो- विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ।
crunchy
– २०४ देशबाट माइसंसार हेरियो-
visitor
-सबभन्दा बढी कमेन्ट गर्ने पाँच जना यी हुन्-
comment

3 thoughts on “सन् २०१४ मा माइसंसारका टप १४ ब्लगहरु यस्ता छन्”

  1. kedar says:
    January 1, 2015 at 10:20 pm

    Top 5 commenters परेकोमा मलाई पनी बधाई छ |

    Reply
  2. सुभाषसिद्धि उपासक says:
    January 1, 2015 at 10:19 pm

    यो ‘न्यु योर’ देखि ‘माई संसार’ले स्तरीयता को सिढी उक्लिने प्रयास गरोस –
    शुभ वर्ष २०१५ को कल्याणकारि शुभ कामना !
    यस निम्ति केहि सलाह र सुझाव छन –
    ~ यसमा प्रकाशित हुने लेखहरु दलगत राजनीति र सम्प्रदाय निरपेक्ष हुनु पर्छ.
    ~ शनिवार कथा मात्र हैन , कविता , गीत र गजलले पनि स्थान पाउनु पर्छ.
    ~ सबै भन्दा बढी कमेन्ट गर्ने र सब भन्दा धेरै रुचाइएको कमेन्ट मात्र होइन कि
    सर्वोत्कृष्ट टिप्पणी गर्नेलाइ पनि वर्षमा एक पटक पुरस्कृत गर्ने परिपाटी थाले उत्तम होला . .

    Reply
  3. suzee says:
    January 1, 2015 at 6:19 pm

    लौ बधाई छ !!!!!
    बिबेक ढकाल को कमेन्ट संग आफ्नो विचार पनि मिल्ने हुदा राम्रो लाग्थ्यो, सब्द चयन हरु आफ्नै जस्तो लाग्थ्यो
    शंकर जी को परिपक्त कमेन्ट पनि खुब रमाइलो लाग्थ्यो , बुढाका कमेन्ट देखेर एकछिन हसिन्थ्यो पनि
    सिर्जाने को कमेन्ट पनि हेरिन्थ्यो , नाम देखेची के विचार रहेछ भनि , राम्रो कमेन्ट

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme