Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : १९ नम्बर

Posted on December 27, 2014December 27, 2014 by mysansar

-अनमोलमणि-

saturday-fiction अखबारमा उसको आत्महत्याको खबर छापियो।
ऊ आफैले आफ्नो आत्माको स्वविवेक हत्या गरेको थियो। उसकाबारे लेखिएको खबर पढेपछि मेरो आँखामा नाचेको दृश्य यस्तो थियो—

In the dark times
Will there also be singing?
Yes there will also be singing
About the dark times.
Bertolt Brecht

यी कवितांश पढ्दा ऊ मसँग ढेप्पिएर बसेको थियो। विश्वविद्यालयको हरियो पाखे चौरमा अरु पनि यसरी बसेका थिए। एउटा पोथ्राइलो रुख हामीलाई सियाल दिइरहेको थियो। मन्द हावामा रुखका पातहरु एक अर्कामा ठोक्किएर निस्केको आवाजले हाम्रो आवाज दबाउन सकेको थिएन। हामी बोली पनि रहेका थियौं र कविता पढि पनि रहेका थियौं। हावाको झोक्काले झेरेको एउटा सुकेको पात उसको टाउकोमा खस्यो। मैले त्यसलाई जतनसाथ टिपेँ र पर पुगोस् भनेर हुत्याएँ। पात भुइँमा खसी नसक्दै उसले आफ्नो दाहिने हात तालुमा कुदायो। एक पल्ट मलाई हेर्‍यो।

त्यसपछि आखा झिमझिम पारेर रुखका हागा र पाताहरु हेर्‍यो।

त्यसपछि आकासतिर आँखा डुलायो।

त्यसपछि मेरो कुममा चिउँडो अड्याएर ऊ झन् छेउमा ढेप्पियो।

त्यसपछि मैले सस्वर वाचन गरेको कविता सुन्यो।

सडक छेउकै सियालमा कोही पाण्डुलिपी लेख्दै थिए। कोही पाण्डुलिपी पढ्दै थिए। कोही नोटकापी घोक्दै थिए। कोही हातमा नोटकापी र अंग्रेजी किताबका ठेली बोकेर त्यसै टोलाएर बसेका थिए। कोही जोडी बनेर गफिइरहेका थिए। तिनले खित्का छाडेर हाँस्दा हामी बेलाबेला त्यता नजर दिन भ्याइरहेका हुन्थ्यौं।

‘ह्या…कति पढ्नु जति पढे पनि दिमागमा घुस्दैन’, हाम्रो दाहिनेतिर गाला जोडेर बसेका एक जोडी हेर्दै ऊ बोलेको थियो।

एकैछिनमा उसले मेरो तिघ्रामा टाउको उत्तानो पारेर त्यो खुला आकाश हेर्‍यो। जहाँ कतै पनि बादलको निशान थिएन। नीलो आकास छ्याङ्ग थियो। रुखका हागा र पातले छोक्न नभ्याएका मसिना छिद्रबाट ऊ ती सबै हेरिरहेको थियो। तर बोलेको थिएन। आँखा चिम्लेको पनि थिएन। म उसलाई ती कवितांश दोहोर्‍याएर सुनाइरहेको थिएँ—

In the dark times
Will there also be singing?
Yes there will also be singing
About the dark times

यसरी एउटा साँझ हामी त्यो चौरबाट बाहिरियौं।

•
आत्मा आफैमा एउटा अद्भूत रहस्य हो। त्यो रहस्यको पर्दा कहिल्यै उघारिएको छैन। आत्महत्या झन् रहस्यमय हो। आफूलाई समाजशास्त्री मानवशास्त्री भन्नेले यसबारे गर्ने व्याख्याको प्रयास पूर्ण छैन। त्यसैले आत्महत्या पनि रहस्यमय छ। अखबारमा आउने आत्महत्याका खबर सधैँ रहस्यमयी हुन्छन्। यो खबर पनि त्यस्तै छ।

म पुस्तकालयको टेबुलमा अखबारका पानामा घोप्टिएको छु। मलाई छोपेका कपडाबाट फुत्केर म आत्मालाई भेट्न हतारिएजस्तो भएको छु। त्यो भ्डकरहेको/नभड्किएको आत्मा यतै कतै छ कि? म पुस्तकालयको कुना, चेप र टेबुलतिर आखा दौडाउछु। अलि आखा तन्काएर सडक तिर पनि हेर्छु। बाहिर फुस्रो घाम लागेको छ।

‘यहाँ आत्मा भेट्ने कुनै सम्भावना छैन। अर्थात् आत्मासित साक्षात्कार हुनै सक्दैन’ मनमनै सोच्छु। काठमाडौंको शिवपुरी जंगलमा ‘घोस्ट डिटेक्टर’ राखिएको सुनेको छु। ‘मेटल डिटेक्टर’जस्तै हो ‘घोस्ट डिटेक्टर’। फरक, मेटल डिटेक्टरले धातुबारे जानकारी दिएजस्तै घोस्ट डटेक्टरले भूत बारे अर्थात आत्मा बारे पनि जानकारी दिन्छ भन्ने वैज्ञानिक मान्यता छ। अर्थात् यो अवैज्ञानिक पनि होला। त्यसले आत्मा पत्ता लगायो लगाएन म जान्दिनँ। अब खोज्नु पर्ला!

मलाई पनि आत्मासित कुरा गर्नु छ। सोच्छु,
आयो भने त्यो आत्मा कसरी आउला?

मैले सग्लो देखुँला?

मसित उसले दोहोरो कुरा गर्ला?

स्वर कस्तो होला?

हावाजस्तै सुसाएर बोल्ने हो कि?

मैले यस्तो सोचिरहँदा विश्वविद्यालयको मूल सडकमा तालु खुइले प्रोफेसरहरु अंग्रेजीमा गफिदै हिंडेका छन्। टाइ लगाएर भलाद्मी झैं देखिएका लेक्चररहरु हतारिएर क्याम्पस तिर लम्केका छन्। विद्यार्थी हुल आफ्नै तालमा मस्ताराम हिंडिरहेको छ। केही जोडीहरु उन्मुक्त हासेको मैले भित्रैबाट देखेको छु। एउटा उत्तेजित हासो। विद्यार्थी संगठनका नाममा केही नाराबाजी गर्दै विश्वविद्यालयको मूल भवनतिर झरेका छन्। तिनको आत्मामा के कुदेको होला भन्ने पनि सोच्छु। जीउदो आत्मा चेतनामा छ। यी मरेका छैनन्। तर मलाइ यी कराएर हिंडिरहेका विद्यार्थी होइनन आत्मा हुन् जस्तो लाग्छ। यिनले आफ्नो आत्माको स्वविवेक हत्या गरिसकेझैँ लाग्छ मलाई।

नाराबाजी गर्दै यी आत्माहरुले अब विश्वविद्यालयका केही सग्ला झ्यालहरु सहिद बनाउने छन्। र ती स्वर्गीय झ्याल र यिनको आत्मा एक हुनेछ।

शायद परीक्षा फर्म खुलेको छ, थुम्कोमा रहेको बैङ्कमा विद्यार्थीको लाम निकै लामो छ। तिनको हातमा एउटा लामो चिरकट्टो छ। त्यो भौचर हुनु पर्छ। परीक्षा शुल्क तिर्न भौचर बोकेका यी जिउँदा सग्ला आत्माहरु आपसमा गफिइ पनि रहेका छन्।

ऊसित मेरो पहिलो भेट यहिँ बैङ्कमा भएको थियो। म पनि फर्मको शुल्क बुझाउन भौचरको चिरकट्टो लिएर लाइन बसेको थिएँ। ऊ पनि लाइनमै थियो। अन्तिम समय भएर होला लाइन तुरुन्तै घटी हाल्ने खालको छोटो थिएन।

‘कति पढ्नु?’, अल्छेलाग्दो दिग्दारीमा बोलेको थियो।

‘पढेर कहिल्यै सकिन्न। जीवन एउटा लामो सिकाइ हो’, मैले नचिनेरै पनि उत्तर फर्काएको थिएँ।

भौचर बुझाए पछि फर्म भर्ने बेला उसले मसित केही सहयोग माग्यो। नुबझेका अंग्रेजी शब्दबारे। मैले भनिदिएँ, अथ्याइदिएँ। ढिलो गरी अंग्रेजीका अक्षरहरु फर्ममा भर्‍यो। हामीले परीक्षा नियन्त्रण कार्यालय गएर सँगै फर्म बुझायौँ।

त्यसपछि विश्वविद्यालयमा प्राय नियमित भेट हुन थाल्यो। कम बोल्थ्यो। धेरैसित उसको हिमचिम थिएन। कसरी कसरी हामी चाहिँ घनिष्टझैं भयौं।

म उसलाई कथा र कविता सुनाउथे। नेपाली अंग्रेजी दुवै। ऊ प्रेम कविता खुब मन पराउथ्यो। अंग्रेजी कविता सुनाउथे, ऊ टोलाउँथ्यो।

‘साला, यो अंग्रेजी नजानी जीवन सकिने भयो। जति गरे नि आउन्न। के हुन्छ यो अंग्रेजीमा?’, अंग्रेजी कविताको भाव नेपालीमा अर्थ्याएपछि ऊ बोलेको थियो, ‘मसितै पढेकी त्यो केटी म खरर अंग्रेजी बोल्ने भएर गाउ फर्केको हेर्न चाहन्छे। मेरा बा आमा म हेडमास्टर भएको देख्न चाहन्छन्। आफूलाई अंग्रेजीको भूतले कहिल्यै छाड्दैन। कैले पास हुनु खै यो तालले?’

उसले भनेको त्यो केटी उसकी प्रेमिका थिइ। जसलाई ऊ औधी माया गर्थ्यो। बेला बेला चीठी लेख्थ्यो। केही वाक्य अंग्रेजीमा पनि। नेपालीमा लेखेका वाक्यालाई अंग्रेजी अनुवद गर्न कहिले काहिँ मेरो सहयोग माग्थ्यो। ती शब्द सामान्य अर्थका हुन्थे। कुनै चीठीमा उसले प्रेम कविता पनि पठाएको थियो। ती सारेका कवितालाई उसले कहिल्यै आफ्नो दावी गरेन। लेख्न चाहि आफू पनि प्रेम कविता लेख्थ्यो। तर उसले कहिल्यै आफ्ना प्रेम कविता सार्वजानिक गरेन।

त्यो केटी उसितै स्कुल पढेकी थिइ। एसएलसीमा अंग्रेजी विषयमा ऊ दुई पल्ट फेल भइ। त्यसपछि परीक्षानै दिइन। भन्थ्यो, ‘फेल भएर के भयो र अहिले गाउँको प्राथमिक स्कुलमा ऊ मास्टर भएकी छे। व्यवस्थापन समितिमा उनका बा अध्यक्ष छन्।’

‘मैले पनि तेस्रो पल्ट पास गरेको, त्यै पनि बल्ल ३२ आएछ। धन्य त्यो मास्टरलाई, जसले मेरो केरिङमिरिङ अक्षर लेखिएको कपि जाँच्यो। मैले तेस्रो पल्ट पनि पास नगरेको भए म कहा विश्वविद्यालयको अनुहार देख्न पाउने हुन्थेँ र? कामका लागि कतार, दुवइ वा मलेसिया पुगिसकेको हुन्थेँ’, उसले आफ्नो एसएलसीबारे मलाई यस्तै सुनाएको थियो। आफू पास भएकामा पनि ऊ साह्रै खुसी थिएन। किनभने आफ्नी प्रेमीका फेल भएकोमा ऊ बढी चिन्तित थियो। ‘उसले एसएलसी गर्नु पर्थ्यो’, बेला बेला भन्थ्यो, ‘एसएलसी पास भएको भए हामी सगै सहर आउथ्यौ र कलेज पढ्न पाउँथ्यौँ। यहा घुमघाम सँगै हुन्थ्यो नि त। तर त्यस्तो भाग्य कहाँ? अंग्रेजीले खोस्द्यो नि।’

उसले मलाई यस्तो पनि सुनाएको थियो, ऊ एसएलसी पास भएकोमा सयौं माइल परको सुदूर गाउमा रहेकी उसकी प्रेमिका निकै खुसी छे। ऊ चाहिँ त्यति धेरै खुसीले उफ्रिसकेको छैन। आफू पास हुनु भनेको उसलाई छाडेर सहर पढ्न आउनु थियो, जो उसको मनले मानेको थिएन।

‘मैले उससित वाचा गरेको छु, उसले मलाई वाचा गराएकी छे म अंग्रेजी पास नभइ गाउँ फर्किन्न’, एक साँझ उसले गम्भीर भएर सुनायो, ‘फर्केर ऊसित भेट होलाजस्तो पारा छैन। आइएमा बल्ल पाचौ पल्ट अंग्रेजी पास गरेँ। बीए को यो सातौं पल्ट परीक्षा दिदैछु। अब पनि फेल भए भने मैले कसरी मेरी उसलाई फेल भएको मेरो अनुहार देखाउनु?

त्यतिखेरसम्म त उसले अर्कैसित विहे गरिसकेकी हुन्छे होली।’

एक साझ उसले प्रेमिकाको तस्वीर पनि मलाई देखाएको थियो। जसलाई ऊ जतनसाथ मनि ब्यागको भित्री कुनामा लुकाएर राख्थ्यो। र बेला बेला हेर्थ्यो। पाइन्टको पछाडि खल्तीमा राख्ने गरेकाले हुन सक्छ तस्वीर चेपिएर कच्याकमच्याक भएको थियो।
मैले यो पनि सम्झेँ, दाह्री र कपाल तिलचामले भएको प्रोफेसरको अंग्रेजी कक्षाको अन्त्यतिर उसले एक दिन केही प्रश्न पनि सोधेको थियो,
‘सर अंग्रेजी नजाने के हुन्छ?’, उसले अत्यन्त गम्भीर भएर नेपालीमा सोधेको थियो, ‘के सारा संसार अँध्यारो हुन्छ? ज्ञानका सबै ढोका बन्द हुन्छन्? संसारका सबै मान्छे अंग्रेजीमै वात मार्छन्? सपना पनि अंग्रेजीमै देख्छन् हो सर?’

प्रोफेसरले गालाका झपक्कै तिलचामले दारी दाहिने हातले मुसार्‍यो। एकछिन अकमक्क पर्‍यो। प्रोफेसरको उत्तरको प्रतीक्षामा कक्षा चकमन्न भयो। उत्तर दिने शब्द भेटेन र हो वा कस्तो लद्दु विद्यार्थी रैछ जाबो अंग्रेजी पनि जान्दैन भन्ने सम्झेर हो त्यो दिन प्रोफेसरले उसको प्रश्नको उत्तर दिएन। प्रेफेसरको भृकुटी खुम्चेको प्रष्ट देखियो। पावरदार चस्मालाई हल्का माथि धकेलेर प्रोफेसर फेरि पूर्ववत् कविताको व्याख्यामा लाग्यो,

In the dark times
Will there also be singing?
Yes there will also be singing
About the dark times

उसले कविता बुझ्यो बुझेन प्रोफेसरले सोधेन। कक्षा शान्त थियो, ऊ पनि शान्त भएर बस्यो। कति विद्यार्थी प्रोफेसरलाई ट्वाँ परेर हेरिरहेका थिए। केही विद्यार्थी आफ्नो नोटकापीमा प्रोफेसरले भनेका वाक्याहरु हतार हतार टिपोट गरिरहेका थिए।
त्यसपछि उसले कुनै पनि प्रोफेसरलाई कहिल्यै कक्षामा प्रश्न सोधेन।

•

प्रहरीले आत्महत्याको मुचुल्का उठाए। रिपोर्ट बनाए। सुदूर गाउँबाट सायौं नदी, जंगल र पहाड छिचोलेर शहरको विश्वविद्यालय आइपुगेको केटोले किन आत्महत्या गर्‍यो?
‘उसका केही डायरी र सुसाइड नोट हात परेको छ’, अनुसन्धानमा संलग्न एउटा प्रहरी अधिकृतले पत्रकार सम्मेलनमा भन्यो, ‘कुनै गहिरो मानसिक चोटले आत्महत्या गरे जस्तो लाग्छ। डेड बडीलाई हेर्दा पनि त्यस्तै देखिन्छ।’

मानसिक चोट डेडबडी हेर्दा कसरी थाहा लाग्छ? प्रहरी अधिकृतको कुरा बुझिएन। प्रहरी उसले अनुसन्धान गरेका सामग्रीका आधारमा बेलेको थियो।

पोस्टमार्टमका लागि शबलाई शिक्षण अस्पताल पुर्याइएको थियो। पोस्टमार्टम रिपोर्टमा शंका गर्नु पर्ने कुनै कारण फेला परेको थिएन।

बरु प्रहरीले उसको कोठामा फोला पारेका अहिले प्रहरी हिरासतमा रहेका उसका नोटकापीमा कोरिएका दैनिकीजस्ता लाग्ने तीन थान पत्रमा यस्तो भेटियो,

पत्र १

१ असार २०६०
तिम्रो पत्र पाएँ।
म उत्तर लेख्न सक्ने अवस्थामा छैन। के लेखुँ? परीक्षाफल आएको छ र म सातौं पल्ट फेरि अंग्रेजीमा फेल भएको छु……..।

यतिखेर म तिमीलाई सम्झिरहेको छु। तिम्रा मसिना परेला र मोटो आखाको डिलको झल्को मेरो आखामा छ। तिमीसित गरेको वाचा पूरा गर्न म यो जुनीमा सक्छुजस्तो छैन। म तिम्रो आखामा आफूलाई हेर्न सकुला र?

बीएड पास गरेर हेडमास्टर हुने मेरो धोको पूरा भएन। म सातौं पल्ट पनि अंग्रेजीमै फेल भएँ। अरु विषयमा मेरो नम्बर नराम्रो छैन। अंग्रेजीमा यसपाली पनि १९ नै आएको छ। अब म ब्याक पेपर दिन पाउन्न। मैले फेरि पहिलो वर्षदेखि अर्को ३ वर्ष नियमिति पढ्नु पर्छ। फेरि पास भएर तिमीलाई भेट्न आउने बेलासम्म म सायद् बुढो भइसक्छु। त्यहा तिम्रो विहे भइसक्ने छ। तिमी बच्चा बच्चीको आमा भइसक्ने छ्यौ।

यी सबै कुरा सम्झिदा मलाई यस्तो लाग्दैछ, हामीवीच अब पार गर्नै नसक्ने दह बन्दैछ, पुल नभएको कर्णाली नदीको दहजस्तो। हाम्रोवीचमा अब पहाडका पर्खालहरु ठडिने छन्। अब तिमीले मलाई विर्सिदै गए राम्रो हो।

त्यसका लागि तिमीले गर्नु पर्ने धेरै छैन, मैले लेखेका पत्र, केही प्रेम कवितालाई दया गरेर डढाइ दिनू। तिमीसित भएको मेरो अक्सफोर्डको एड्भान्स्ड इंगलिश डिस्नरी र अंग्रेजीका सबै पुस्तकहरु कतै लगेर गाडिदिनू या नदीमा बगाइदिनू। मैले कहिल्यै खिप्न नसकेका अक्षरहरुसित तिम्रो कुनै सम्बन्ध नहोस् भन्ने म चाहन्छु।
उही तिम्रो
…………..

पत्र २

२ असार २०६०

प्रिय,
त्यो खोल्सो लेउ लागेर हरियै भएको होला। तिमी विदाको शनिवार बाख्राको बथान धपाउदै खोला जंगल गरिरहेकी हौली। अरुदिन चक डस्टर समातेर साना केटाकेटीसित खेल्दी हौ। तिमी चिप्लो किनार हिंड्छ्यो, त्यहा निहिंड्नू। लड्न सकिन्छ। म यहा अंग्रेजीको बाटोबाट लडेको छु। तिमी त्यो लेउमा चिप्लिन सक्छ्यौ।

म यहा तिम्रो थाप्लामा बस्ने नाम्लोको डाम सम्झिन्छु, मलाई अंग्रेजीले पिर्छ। गारो भत्किएको र बेन्ची नभएको तिम्रो स्कुल सम्झिन्छु, मलाई अंग्रेजीले पिर्छ। अंग्ेजी पढेर छोरो हेडमास्टर हुन आउछ भन्ने आस पालेर बसेका आमाबाउको प्रेम सम्झिन्छु मलाई अंग्रेजीले थप्पडा हान्छ। अंग्रेजीमा १९ लेखिएको त्यो मार्कसिटले मेरो दिमाग घोचिरहन्छ। मलाई एउटै पीडाले सताइरहन्छ, मैले किन यो अंग्रेजी बुझिनँ?

अब अंग्रेजीमात्रै म यी सबै कुरा एक साथ विर्सन चाहन्छु। जस्तो म हिंड्ने बेला तिमीले दिएको रुमाल र कस बसेको पुरानो औंठी। र तिमीले लेख्दै गरेको एक थान कलम। त्यो कलमले यहा मैले केही कविता लेखेँ। एउटा परीक्षा पनि लेखेँ संयोगले त्यो अंग्रेजीकै परीक्षा थियो। तर म अंग्रेजीमा पास भइनँ। म अब अंग्रेजी बिर्सिन चाहन्छु।
मेरो मनमा गाँठो परेर बसेको तिम्रो प्रेम पनि बिर्सन चाहन्छु। म सबैलाई विर्सिन चाहन्छु।

उही तिम्रो
………….

पत्र ३

३ असार २०६०

प्रोफेसर,
कक्षामा तिमीले मेरो प्रश्नको उत्तर दिएनौ। मैले तिम्रो कक्षाको. स्वाद लिन सकिनँ।
यदि मैले अंग्रेजी पास गरेको भए यति लेखिरहदैन थिएँ।

प्रोफेसर, रिजल्ट आयो। म फेरि फेल भएँ। अंग्रेजीमा मेरो यसपाली पनि १९ कटेन। यसको दोषी मै हुँ। तर यसको आंशिक दोष तिमीसित पनि जोडिएको छ। सातौ पल्ट विश्वविद्यालय फेल हुदा मसित भएका सबै सपनाहरु खरानी भएका छन्। म यही खरानीको डंगुरमा यी अक्षर लेख्दैछु।

अब त्यो कक्षा कोठामा हाम्रो भेट हुदैन। फन्टुस प्रश्न सोध्ने एउटा विद्यार्थी अब तिम्रो छेउ पर्दैन। परीक्षाको कपीमा मैले थुप्रै पूर्णविराम दिएँ। प्रोफेसर यो पत्रमा म अन्तिम पूर्णविराम दिदैछु।

तिमीले ठानेको उही लद्दु विद्यार्थी
………….

•

मेरो आत्माले केही सोचेन। अखबारलाई एकातिर थन्क्याएँ। छेउछाउका अरुलाई हेरेँ। सबै आफ्नै तालमा थिए। अघिल्तिर ठूल्ठूला ठेलि पल्टाउर चिटचिट पसिना निकाल्दै निधार खुम्च्याएर एकनास त्यसमा घोप्टिरहेकाहरु थिए। म एक्लो अखबार पढ्नु बाहेक केही गरिरहेक थिइनँ।

उठेँ। ब्रतोल ब्रेख्त फेरि खोजेँ । र कवितांस फेरि एकपल्ट दोहोर्‍याएँ,

In the dark times
Will there also be singing?
Yes there will also be singing
About the dark times.
Bertolt Brecht

2 thoughts on “कथा : १९ नम्बर”

  1. विजय says:
    December 28, 2014 at 7:00 pm

    अनमाेलमणीको अनमाेल लेखन, हाे नी ब्रतोल ब्रेख्त : अँध्याराे कालखन्डमा पनि गीत गाइन्छ- उज्यालोको नसही, अँध्याराेकै सही…

    Reply
  2. Hari says:
    December 28, 2014 at 12:53 am

    कसैले खुबै रिस उठायो र त्त्यसको बदला लिन मन लग्यो भने यो कथा प्रिन्ट गरेर त्यसको अगाडी राख्दिने विचार गर्दैछु , त्यसले झुक्किएर यो कथा पुरै पढ्यो भने यो भन्दा ठुलो सजाय अरु होला जस्तो लाग्दैन …….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme