Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसकारण मैले मेरो धर्म परिवर्तन गरें

Posted on December 25, 2014 by परिवर्तन

-परिवर्तन-

“धर्म परिवर्तन”को बहस चलिरहेका बेला एक रात मैले आफैसँग “मेरो धर्म के हो? भनेर प्रश्न गरें। उत्तर भेटिन। फेरि, कतै म नास्तिक त होइन वा कतै मैले मेरो धर्म परिवर्तन त गरिन? भन्ने प्रश्न गरें। त्यसको उत्तर पनि भेटिन। क्रमश: मैले जीवनमा आफूले गरेका कृयाकलापहरू सम्झिएँ। काठमाडौं बस्न लागेको १५ वर्ष भइसक्यो तर म पशुपति मन्दिर पुगेको छैन। अन्य मन्दिर पनि साथी-भाइ र परिवारसँग मात्र पुगेको छु। आफै एक्लै अहिलेसम्म कुनै मन्दिर छिरेको छैन। के मैले धर्म मान्न छोडेकै हो? मन्दिरमा जान्छु, टीका लगाउँदिन। पुजारीको सट्टा मन्दिर बाहिर माग्न बस्नेलाई २-४ रूपैया दिन्छु। गायत्री मन्त्र जान्दिन। जनै छैन, टुप्पी कहिल्यै पालिन। बिहान पिपलको बोटमा पानी चढाउन्न, सूर्यलाई नमस्कार गर्दिन। छोइछिटो गर्दिन। सबैसँगै खान्छु, सुत्छु र रमाउँछु। पाइने सबै जनावरको मासु खान्छु। यसरी खाँदा, सँगै बस्दा र संगत गर्दा मैले मेरो धर्म नासिएको, मासिएको देखिन। तर, के अहिले देखापरेका धर्मभिरुहरूको परिभाषामा म अधर्मी हो? के उनीहरूका लागि म अधर्मी वा हिन्दू विरोधी हो? के मैले कसैको डर, धम्की, त्रास र डलरको लोभले धर्म परिवर्तन गरें? उनीहरूले त धर्म परिवर्तन गर्ने सबैलाई लोभले धर्मपरिवर्तन गरेको देखिरहेका छन्। के अहिले चलिरहेको धर्म परिवर्तनको बहस म जस्ता मान्छेलाई पनि लिएर गरिएको हो? आखिर धर्म के हो? के यो परिवर्तन हुन सम्भव छ?

मेरो धर्म

मैले आजसम्म कसैलाई पिटेको-मारेको छैन, ठगेको छैन, लुटेको छैन, चोरेको छैन र जानेर कसैको अहित गरेको छैन। कुनै व्यक्ति, समाज वा राष्ट्रको अहित हुने कुनै काम गरेको छैन। मैले जहाँ जे काम गरेको छु, त्यो इमान्दारितापुर्वक गरेको छु र ठगेको छैन। न त मैले भ्रष्टाचार गरेको छु, न त कतै अख्तियारको दुरूपयोग गरेको छु। लागे पुगेसम्म साना नानी-बाबु, केही अशक्तलाई वर्षमा एकदिन भएपनि सक्दो सहयोग गरेको छु। वेला-वेलामा साना सामाजिक कामलाई पनि केही सघाएको छु। हो मैले मन्दिर बनाएको छैन। मन्दिरमा पैसा चढाएको छैन। पुजारी वा पण्डितको खुट्टा ढोगेको छैन तर रेष्टुरेण्ट, कुनै सार्वजनिक यातायात र ठाउँमा कतै झुक्किएर मेरो खुट्टाले कसैलाई छोइयो भने मेरा हात अकस्मात उठ्छन्, ती खुट्टा छुन पुग्छन् र स्वत: माफी माग्दै ती हात मेरो निधारमा पुग्छन्। मैले धर्म र धार्मिक कर्तव्यको ठूला-ठूला उपदेश दिनेले जस्तै आफ्ना औषधी र पानी आफै खान नसक्ने आफ्ना वृद्ध आमा-बाउलाई छोडेर र आफ्ना सामान्य कर्तव्य बिर्सिएर विदेशिएको पनि छैन। यो मेरो धर्म हो भन्ने लाग्यो र मैले त्यहीँ गरें। मलाई लागेको धर्म नै सत्य र एकमात्र धर्म पनि होइन। मलाई ठिक लाग्यो मानें तर सबैले मान्नुपर्छ भन्ने पनि छैन। यसका लागि वाध्य बनाउन पनि सकिंदैन, मिल्दैन।

मलाई सम्झना भएसम्म काठमाडौंको कुनै सार्वजनिक यात्रामा महिला, वृद्ध वा अपाङ्ग लेखिएको सीटमा बसेर यात्रा गरेको छैन। सीटमा बस्दा बृद्ध-बृद्धा र केटाकेटी भएका आमा देखेमा मिलेसम्म मैले मेरो सीट छोडेर उनीहरूलाई राखेको छु। मैले जहाँ, जसरी जे सकेको छु र मलाई जे राम्रो लागेको छ वा मेरो ब्रह्मले जे धर्म भनेर मानेको छ त्यो पालना गर्ने प्रयास गरेको छु। अहिले म मेरो परिवारसँग छु र उनीहरूको सक्दो सेवा गरेको छु। सेवा मेरा लागि धर्म हो। मेरो आचरण, मेरो नैतिकता, इमान्दारिता, सदाचार, सहनशीलता आदि मेरा धर्म हुन्। मैले यो धर्म जानेसम्म पालन गरेको छु र जीवन पर्यन्त पालन गर्नेछु।

तर, मैले काठमाडौं, न्युवर्क, टोरन्टो वा सिड्नीको कुनै रेष्टुरेण्टमा बसेर “विफ” खाँदै नेपालमा “गाई काटिनु हुन्न” भन्ने अर्ति दिएको छैन। अर्ति दिनेहरूसँग पनि रीस-राग छैन। यो सत्य हो कि मैले विफ खाएको छैन तर विफ खानेका लागि मेरो धर्मले “नखाउ, खानु हुन्न” भन्ने अनुमति दिंदैन। न त मैले ‘म्लेक्षहरूसँग दिन-रात बिताएको छु, न त उनीहरूसँग संगत गरेको छु, न त उनीहरूका लागि काम गरेको छु वा उनीहरूकै देशमा बसेको छु र उनीहरूको पैसाको भरमा बाँचेको छु। तैपनि मलाई त न “म्लेक्ष”हरू पराई लाग्छन्, न त नेपालका “दलित” समुदाय। मेरा लागि यी सबै समान हुन्। मेरो धर्मले कसैलाई नछुनु भन्दैन। कसैलाई तल्लो र कसैलाई माथिल्लो जातको श्रेणीमा विभाजित गर्दैन। कसैलाई बोक्सीको आरोपमा आचि खुवाउन सिकाउँदैन, कसैलाई आफ्नै होटलमा पैसा तिरेर भाँडा माझ्न लगाउँदैन। न त मन्दिरमा छिरेको आरोपमा गाउँ निकाला गर्छ। मेरो धर्म यति बलियो छ कि यो जोगाउनका लागि न त चर्चमा बम पड्काउन आवश्यक छ न त कानून बनाएर आफ्नै धर्म मान्नेहरूप्रति अविश्वास गर्न जरूरी छ। मेरो धर्मले मानवीयता हेर्छ। मेरो धर्मले नैतिकता हेर्छ र सदाचार हेर्छ। मेरो धर्म कसैको लोभ, लालच वा डर धम्कीका आधारमा परिवर्तन हुने कमजोर धर्म होइन। यस अर्थमा मेरो धर्म हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ।

तिम्रो धर्मका विरूद्धमा

मैले आफ्नै दाजुभाइलाई मन्दिर छिर्न रोक्ने धर्मलाई कहिल्यै धर्म मानेको छैन। मैले आफ्नै दाजुभाइलाई हिजोका दिनसम्म जवर्जस्ति ‘सिनो” खानुपर्ने कानून बनाउने धर्मका ठेकेदारले भनेको धर्मलाई धर्म मानेको छैन। सयौं वर्षदेखि दलित, दमित, शोषित दाजुभाइले हाम्रो आफ्नै धर्मले हामी आफैलाई “ कुनै वेलाको म्लेक्ष वा कुनै जनावर”लाई जत्तिको पनि स्थान दिएन भनेर दुखेसो गर्दा “त्यही म्लेक्षले पैसा दिएर तिमीहरू भड्कियौ” भनेर आरोप लगाउँदै कडा कानून बनाउनु पर्छ भन्नेहरूको धर्मलाई धर्म मानेको छैन। जङ्गबहादुरको पालादेखि “म्लेक्ष”सँग सम्बन्ध राख्दै, पानीपतियाका नाममा जनतालाई शुद्ध र अशुद्ध बनाउँदै, आफ्नो स्वार्थ पुरा गर्ने खास जात र समूहले अहिले पनि जात-पात र उच-निचलाई कायम राख्दै धर्मको मात्र कुरा गर्छ तब त्यो धर्मप्रति मलाई श्रद्धा होइन घृणा जाग्छ। यसका विरूद्धमा मलाई विद्रोह गर्न मन लाग्छ। विद्रोह सकिन भने “तिम्रा धर्म तिमीसँगै राख” भनेर मलाई धर्मको आफ्नै परिभाषा बनाउन मन लाग्छ।

तिम्रो अन्यायी धर्मका पक्षमा देश-विदेशमा लेख्ने “धार्मिक अंहकारीहरू”ले जस्तै मैले “जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी” भन्ने नारा भट्याउँदै भिसाका लागि लाइन बसेको छैन। न त मैले भिसाका लागि लाइन लागेकालाई तिमीले देशप्रतिको धर्म बिर्सियौ भनेर गुनासो नै गरेको छु। मैले यति मात्र भन्न सक्छु, तिमीले तिम्रो धर्म मान, मैले मेरो धर्म मान्न पाउनु पर्छ।

मलाई न त धर्मका कुनै श्लोक आउँछ, न त धार्मिक मन्त्र नै आउँछ। मलाई मन्दिर, मस्जिद वा चर्च जानु र श्लोक भट्याउनु मात्र मेरो धर्म हो भन्ने कहिल्यै लागेन। यदि यो नै धर्म हो भने मैले सगौरव यो घोषणा गर्नुपर्छ कि मैले जानेदेखि नै मैले मेरो धर्म परिवर्तन गरिसकें। यदि बाहुनका नाताले धर्म मान्नका लागि गायत्री मन्त्र जान्नुपर्ने र काँधमा जनै भिर्नुपर्ने हो भने त्यो पनि मैले त्यागिसकें। यस अर्थमा मैले मेरो धर्म परिवर्तन गरिसकें। म घण्टाघर नजिक पुग्दा मेरो हात अनायसै मस्जिद सामु उठ्छन् तर म मस्जिद भित्र छिरेको छैन। मस्जिद वालाले पनि मलाई “गैर मुसलमान“ देख्लान्, हिन्दूवालाले गैर हिन्दू देख्लान्। मलाई यसमा समस्या छैन।

तिमीलाई तिम्रो धर्मले खास जात, क्षेत्र वा वर्गलाई अन्याय गरे पनि त्यो धर्म नै हो भन्ने सिकाउला, तिमीलाई छोइछिटो नगरे धर्म नासिएला भन्ने डरले सताउला। तिमीलाई ती समुदायको मान्छेको हित भएमा पनि धर्म मासिएला भन्ने चिन्ता होला। तर, मेरा लागि भने तिम्रो धर्मको परिभाषाले काम गर्दैन। तिम्रो धर्मको मान्यताले काम गर्दैन। तिमीले आफ्नै दाजुभाइमा पनि पानी चल्ने र नचल्ने गरेर विभाजित गरेका छौं। तिमीले तिम्रो भगवनालाई पनि आफ्नो पेवा बनाएका छौ, त्यसैले त तिमीले त्यहीँ हातले बनाएको मन्दिर छिर्न खोज्दा ती दाजुभाइलाई मारेका छौं। अझै केही धार्मिक विद्वान्‌ले त यसभित्र पनि “विज्ञान” छ भनेर प्रमाणित गरिदिन र लेख, किताब लेखिदिन सक्छन्।

तर सत्य, मैले तिम्रो घृणामा कहिल्यै धर्म देखिन। तिम्रो “विज्ञान र विद्वतामा” कहिल्यै विश्वास गरिन। तिम्रो भ्रष्ट र खुनी हातले मन्दिरको घण्ट हल्लाउँदा मैले जहिले पनि त्यहाँ एउटा भीमकाय दानव मात्र देखें। मलाई एउटा दानवले कसरी धर्मको रक्षा गर्न सक्छ, कसरी धार्मिक हुन्छ भन्ने प्रश्नले पनि तिमीले भनेको र मानेको धर्ममा आस्था राख्न गाह्रो भयो। त्यसैले मैले तिमीले भनेको र मानेको धर्मको सदैव विरोध गरें।

यसकारण धर्म परिवर्तन

मेरो आफ्नै धर्म छ, मेरो आफ्नै नियम छ। म तिमीले लिएको धर्मको ठेक्काको विरोध गर्छु। म तिमीले धर्मका नाममा गरेको राजनीतिको एक कार्यकर्ता बन्न अस्वीकार गर्छु। म तिमीले भनेको धर्म परिवर्तन गर्न नहुने नियमको विरोध गर्छु र धर्म परिवर्तन गर्ने घोषणा गर्छु। मलाई तिम्रो धर्म र तिमीले भनेको धर्ममा पटक्कै विश्वास छैन। तिमीले भनेको धर्ममा जातको बन्देज छ, तिमीले भनेको धर्ममा वर्गको बन्देज छ, तिमीले भनेको धर्मले बेइमानी सिकाउँछ, भ्रष्ट हुन सिकाउँछ। तिमीले भनेको धर्मले हिंसा गर्न उत्प्रेरित गर्छ, मर्न र मार्न सिकाउँछ। तिमीले भनेको धर्मले तिम्रो, तिम्रो जातको बाहेक समस्त मानव समुदायको कल्याण गर्दैन। तिम्रो धर्मले दलित, महिला र वर्गका माझ विभेद गर्छ। तिम्रो धर्मले नैतिकता, इमान्दारिता, सदाचार सिकाउँदैन। तिम्रा धर्मले लुट्न, चोर्न, ढाँट्न र ठग्न सिकाउन थालेको छ, त्यसैले तिम्रो धर्मप्रति मलाई विश्वास छैन।

अहिले म हिन्दू सम्प्रदाय, परिवार र समाजमा जन्मिएर मैले जे लाई मेरो जीवनको आदर्श मानेको छु, मैले जे लाई “धर्म” मानेको छु, मैले जे “गर्न हुन्न” भनेको छु र “गरेको छैन” त्यो नै मेरो धर्म हो। यो धर्म मैले आजसम्म निभाएको छु र भोलि पनि निभाउने छु। यही धर्म म गैर हिन्दू परिवारमा जन्मिएको भए पनि मान्ने थिएँ। हो मैले पूजा गर्ने थिइन, मन्दिर जाने थिइन तर अहिले मानेको धर्म त पक्के पनि मान्थे। म मस्जिद वा चर्च जान्थें होला तर कसैलाई लुट्न सक्ने थिइन, कसैलाई मार्न सक्ने थिइन, ढाट्न र चोर्न वा ठग्न सक्ने थिइन। म भ्रष्ट बन्न सक्ने थिइन। मैले गरीब, असहाय वा अपहेलित समुदायका लागि साना सहयोग गर्न आफैलाई रोक्न सक्ने थिइन। मेरा लागि यो धर्म हो। मेरा लागि संसारमा यो भन्दा ठूलो र उत्कृष्ट अर्को धर्म अरू छैन। यो धर्म अहिले म जुन समुदाय सम्प्रदाय वा समुदायमा जन्मेको छु त्यहाँ पनि धर्म हो र अन्य समुदाय वा सम्प्रदायमा जन्मेको भए पनि त्यो धर्म नै हो। मेरा लागि धर्म जीवन पद्दती हो, मेरो आदर्श हो। त्यसैले मेरो जीवन पद्दती, आदर्श कसैले किन्न सक्दैन, कसैले खोस्न सक्दैन र कुनै धर्मको झण्डाले छेक्न सक्दैन। त्यसैले धर्म के हो? भन्ने कुरा मलाई कसैले सिकाउनु पर्दैन, बुझाउनु पर्दैन। अझ नैतिक, आर्थिक, सामाजिक वा अन्य हिसाबले पतित मान्छेहरूले त धर्मका वारेमा नबोलेकै/नलेखेकै बेस।

हो मैले हिन्दू धर्म नमाने हात काट्ने कुरा गरिन होला, हो मैले केही कम्युनिष्ट नेताले जस्तो जिन्दगी भर सामन्ती संस्कार भन्दै दशैं-तिहार बहिस्कारदेखि अन्य धार्मिक कृयाकलापको विरोध गरेपनि जीवनको उत्तरार्धमा धर्म नै जीवन हो भनेर हिड्न सक्दिन होला। न त म मोहनचन्द्र र प्रचण्ड जस्तै जीवनभर अन्य युवालाई उरालेर धर्मकर्मको विरोध गरेपछि यज्ञ लगाउँदै र भैसीं पूजा गर्दै हिड्न नै सक्छु। तर यो नगरेको कारणले नै म “अधार्मिक हुने?” यति कारणले नै म “अहिन्दु र नाष्तिक हुने? यति कारणले नै मैले मेरो धर्म परिवर्तन गरेको भनेर तिमीले आरोप लगाउने? यति कारणले नै मलाई कसैले बहकायो, पैसा दियो, धम्क्यायो भनेर आरोप लगाउने? के गरीब, दलित वा जनजाति मात्र लोभी छन्, पैसामा बिक्छन् वा डर-धम्कीले धर्म परिवर्तन गर्छन्? चर्चका पादरी हेरे हुन्छ, त्यहाँ पनि बाहुन-क्षेत्रीकै वर्चश्व छ। त्यसैले हिम्मत भए तिम्रा आफ्नै जातका मान्छेलाई र आफ्नै सन्तानलाई तिमीले भनेको धर्म भित्र बाँधेर राख। हिम्मत भए तिम्रा सन्तानलाई हिन्दू धर्मले भनेको/मानेको छुवा-छुत भित्र यहाँका “दलित” समुदाय मात्र होइन “म्लेक्ष”हरू पनि पर्छन् भनेर बुझाउ। दलित-जनजातिको संगत गर्नबाट प्रतिबन्ध लगाए जस्तै “म्लेक्ष”हरूको संगतबाट पनि जोगाउन घरभित्र थुनी राख। हिम्मत भए मैले लिएको आदर्श, मैले गरेका सामान्य कामहरू र मैले जीवनमा अपनाएका सिद्धान्तहरूलाई धर्म हैन भन्ने घोषणा गर र थुनिदेउ। हिम्मत भए तिम्रो धर्मको विरोध गरेकोमा, तिम्रो धर्म नमानेकोमा, तिम्रो धर्म भन्दा फरक विचार राखेकोमा र धर्म परिवर्तन गरेकोमा कारवाही गर। तर, म मेरो धर्मप्रति अडिग छु, मेरो विश्वासप्रति अडिग छु। मेरो नैतिकता, सदाचार, दु:खी-गरीबहरूको सेवा गर्नुपर्ने भावसँग सहमत छु र कटिवद्ध छु। मेरा सबै दाजुभाइहरूले समान रूपमा सबै कुराको उपभोग (तिम्रो मन्दिरको पनि) गर्न पाउनुपर्छ भन्ने कुरामा अडिग छु, भ्रष्ट नहुने र इमान्दार हुने कुरामा प्रतिवद्ध छु। यो नै मेरो धर्म हो र यस मानेमा तिम्रो र मेरो धर्म फरक हो। मैले तिमीले भनेको धर्म परिवर्तन गरिसकेको छु र एक “इमान्दार असल मानिस” बन्ने कोशिस गरेको छु।

38 thoughts on “यसकारण मैले मेरो धर्म परिवर्तन गरें”

  1. जसराज राई says:
    December 30, 2014 at 8:44 pm

    जुन मान्छेहरु यहाँ धर्मको वकालत गर्दैछन उनीहरुलाई धर्मको आध्यात्मिक अर्थ नै थाहा छैन किन पण्डित भै टोपल्छ कुन्नि? …धर्म भनेको मान्छेको आचरणलाई इश्वरीय कानुनको रुपमा सहि मार्ग देखाउने एउटा आध्यात्मिक नियम हों| जो जसले आफुलाई इश्वरीय नियम कानुन भित्र बाधेर राख्न सक्छ त्यो नै एउटा धार्मिक मान्छे हों, कुनै पनि धर्म सानो वा ठुलो हुदैन न त किनेर पाइने वा दिईने कुरा नै हों| जुन कुरा हृदय भित्र हुन्छ त्यो कुरा मूल्य तिरेर किन्न पनि पाइदैन न त बिक्रि नै गर्न मिल्छ, त्यसैले धर्म किन्ने र बिक्रि गर्ने कुरा गर्नु पागलले गीत गाएको सरह हों|

    अब यसो चियो चर्चो गरौ कुन धार्मिक जनता कति अनुशासित? मैले देखेको अनुसार ५०% हिन्दु धार्मिक जनताहरु आफ्नो धर्म प्रति (इश्वरीय कानुन भित्र) छैनन अर्थात् झुकाब राख्दैनन् उनीहरुले धर्मलाई एउटा परम्पराको रुपमा हेरेको पाइन्छ| परम्परा यस्तो कुरा हों जगेर्ना गर्नु राम्रो नगरे पनि खासै फरक नपर्ने, त्यसकारणले अहिले हिन्दु धार्मिक जनताहरु गैर जिम्मेवारी जीवन बिताइरहेका छन्| अर्को एउटा पक्ष: हिन्दु मन्दिर या धर्मशाला भित्र कसैले गैर धार्मिक कार्य गरेमा तिमीले धार्मिक नियम उलंघन गरयौ अब तिमीले दण्डित हुनुपर्छ भन्ने नियम वा अनुगमनको व्यवस्था छैन त्यसकारणले प्राय: हिन्दु धर्म मान्ने जनताहरु बन्धनबाट छुटेर भागेको जनावर जस्तै मनपरी गर्दै हिडेको पाइन्छ| तर यो कुरा क्रिस्चियन धार्मिक जनतामा भने नितान्त फरक छ, यदि कुनै एउटा क्रिस्चियनले धार्मिक नियम उलंघन गरेको प्रमाण पाइएमा, धार्मिक नियम अनुसार तुरुन्त दण्डित गरिन्छ त्यसैकारणले गर्दा हिन्दु धार्मिक जनताको दाजोमा क्रिस्चियनहरु धेरै अनुशासित र सजक हुन्छन| नेपालमा अहिले थुप्रै मानिसहरु पारिवारिक समस्याको कारण सधै तनाबमा रहने, अनि छोरा छोरीहरु ट्यापे हुन्छन कि भन्ने डरले अनुशाशित समाजको खोजिमा छन् शायद यहि कारणले होला नेपालमा अहिले हिन्दु धर्मबाट क्रिस्चियन बन्ने क्रम बढिरहेको छ|

    अन्तमा: धर्मको बिषयमा जति थोरै बहस त्यति नै समाजलाई फाइदा, जति धेरै बहस त्यति नै धेरै तहसनहस| त्यसैले देशमा सबैलाई मान्य हुने संबिधान आवोस, सबै धार्मिक जनताले स्वतन्त्रको अनुभूति गर्न पाउन|

    Reply
    1. Prakash says:
      January 1, 2015 at 5:45 pm

      जे होस् सोल्टीले माथि गरेको ब्याख्या पद्न नजानेको होकी बुझ्ने कोसिस नगरेको हो सत्त्ये बादी धर्मले कसैलाई दण्ड दिदैन दिन्छ त खाली असत्य Lai दिन्छ

      Reply
      1. Prakash says:
        January 1, 2015 at 5:50 pm

        मैले भन्नु खोजेको Hindu धर्म एस्तो धर्म संसारमा नै नभएका अनगिन्ति रुप ढुंगा लाइ भगवान बादर Lai भगवान गाइ गोरुलाई भगवान कुकुर सर्प केके हो केके जबकि तिनीहरुले मान्छेलाई छुवाछुत तल्लो जात माथिल्लो जात भंचन र yiniharu nai Hun धेरै दण्डित गर्ने पनि

        Reply
  2. surya says:
    December 30, 2014 at 11:23 am

    लोकल रक्सी सुर्काउदै भैंसीको सुकुटी चपाउने हरु धेरै (हिन्दू) धर्मिक बन्ने चलन छ । यहाँ तथाकथित धर्मको ‘लेवल’ लागेका केहि मानव कम धर्मिक बढि(आध्यात्मिक पटक्कै हैन) खालका विद्वान साथीहरूले गर्नुभएको कमेन्ट, आफ्नो उपदेश आँफैलाई काम नदिने छ। भगवान को बारे मा बोल्दै सब कुर सत्य हुन्छ भन्ने लाग्छ होल|। संसारको सवैभन्दा सजिलो काम उपदेश दिनु हो ।किन तपाईकै मन्दिरमा पुजा गर्न गएकी युवती बलात्कृत हुन्छिन तपाईकै धर्मको ठेकेदार पुजारीबाटै? किन बालिका बलात्कृत हुन्छन चर्च भित्र तपाईका धर्मरक्षक पादरी बाटै । र किन बलात्कृत हुन्छन पल नारीहरू अल्लहकै दुतहरूबाट ? कस्ले गर्यो यहाँ धर्मको पालना ? म तपाईँहरूलाई भोकले प्राण जान लागेको बेला, रिसले पागल भएको बेला र यौन उन्मादले अन्धो भएको बेला देख्न चाहन्छु तथाकथित धर्म नामको आडम्बरी नकाब । यहाँ आडम्बरको , अहमको पातलो नकाब उतार्नु हो भने मान्छे भन्दा निर्दयी, बर्बर र खतरनाक पशु केहि छैन । केवल ईगो हुन धर्म र आदर्शहरू ।मानवतालाई बुझ्न सके मन्दिर, मस्जिद, चैत्य गुम्बा सवै सवै भत्काई दिंदा हुन्छ ।धर्मले केवल विभाजन गर्यो मानवलाई कहिल्यै बिश्वबन्धुत्व सिकाएन ।

    Reply
  3. Limbu naYan says:
    December 28, 2014 at 4:12 pm

    कुरा ९९ जतिकै गरियो नि ?!! बधाई पो दिएँ ! धर्मको विविध नाम लिएर कुरा, काम गर्नु सुनिदा खास राम्रो सुनिन्न! टाइटल अनुसार विचार उत्तम छ I अरुलाई हेप्नु हेपिएको छ! अरुको चर्चा फ्रीको पर्चा झैं फ्याकिएको, यस्तो-त्यस्तो भनेर हार, उपहार, सजाय, दोष दिइएको छन् ! ति भने आफैमा बेटर हुने आधार खोजिएको मन परेन ! पुरस्कार र सम्मान पनि गरे कसो प्रतिसतको हिसाबले/ अल द बेस्ट छदैछ I

    Reply
  4. Shankar says:
    December 28, 2014 at 10:12 am

    तपाइले हिन्दु धार्मि लाइ दिए जति उपदेस र आलोचना एउटा मुसलमान ले मुस्लिम लाइ र क्रिस्चियन ले क्रिस्चियन लाइ बिरलै दिन्छ | एसको मतलब जिजस र अल्लाह चै सुट लाएर हरेक हप्ता आफ्नो अनुयाई लाइ भेट्न आउछन र उनीहरुको चै धर्म पूर्ण छ भन्ने त् पक्कै हैन |बिद्द्वान मिलेर लेखेको संबिधान र बिधान मा त् खोट हुन्छ त् कुनबेला कसले छुस्स दिएर गएको कुरामा जोड घटाउ गर्नुपर्ने कुरा त् धेरै भै नै हाल्छ नि |फेरी पनि मान्छे ले दैनिक गर्नु पर्ने काम मा व्यस्त भएर केहि समय धर्म मा दिएको छ | धर्म ले खान दिने हैन ( कोइ कोइ बाहेक ), तेसैले धेरैले हल्का लिएको बिसय लाइ बेकार को बहस किन ?
    आर्को कुरा ,
    न मुसलमान ले अल्लाह भेटेको छ , न क्रिस्च्यां ले जिजस, न बुद्दिस्ट ले बुद्द न हिन्दुले राम |
    सबै ले कल्पनाको देउता पुज्ने हो , कल्पनाको स्वर्ग जाने खोज्ने हो , कल्पनाको नरक जान न परोस भन्ने हो त् अनि हिन्दु धर्मिलाई येत्रो भूमिका बाधेर प्रहार किन ?
    कतै दिमाग मा तपाइको खोट र मन मा पाप त् छैन ?

    Reply
  5. Raja says:
    December 27, 2014 at 11:52 pm

    लेखक ले हिन्दि फिल्म पिके हेरे जस्तो छ भर्खरै. ल ल . उक्साउ मान्छे लाई, चढ माथि, चम्काउ आफ्नो नाम , चाहे जुनसुकै मुल्यमा होस् .

    Reply
  6. Toran Chhetri says:
    December 27, 2014 at 7:27 pm

    हिन्दु धर्म भनेको सभ्य तरिकाले जिउने पद्दति हो, सबै थोक गर्न छुट छ, तर जबर जस्ती गर्न पाइदैन .

    Reply
  7. Bipin Sharma says:
    December 27, 2014 at 6:44 pm

    सारै सहि विचार राख्नु भयो परिबर्तन जी / टपरे काठालाई दान दिएर हरे Krishna हरे राम , जय शिव शम्भो भनेको भरमा हिन्दु धर्म टिक्ने पनि होइन हिन्दु हुने पनि होइन आफु चलेका कथित चार धर्म कुनैमा नलागीपनि अरुलाई मर्का नपारी गरिने जुनसुकै काम नै मानब धर्म हो तथा आफु हिन्दु हु भनेर वा अर्को कुनै भए पनि खुरा पति नगरी जिबन यापन गरे कसलाई के आपत्ति र / हिन्दु धर्म महान भनेर तेस्तै अरु धर्म महान भनेर दुक्रिनु जरुरि छैन / छोइछितो नगरी सबै मानिसलाई बराबरी ब्यबर गर्ने मान्छे हिन्दु, muslim, christen जे भएनी कसलाई के आपत्ति ra!

    Reply
  8. khem says:
    December 27, 2014 at 8:40 am

    लेखकलाई धन्याबाद राम्रो अनुभव सहितको विचार लेख्नु भयको मा / म क्रिस्त्चियन त होइन तर धेरै मानिस हिन्दु धर्म को बिकिर्ती बाट बिरक्तियर धर्म परिबर्तन मा छन् / धर्म कर्म मा म पनि धेरै चोटी ठागीयको छु / धेरै टाढा जानु पर्दैन पशुपति र कुनै मन्दिर को वर पर बस्ने बाहुनले कसरि ठगछन / २५०० पैसामा ५००० जप्ने भनेको दान गर्नु , टिका लागैदिनु पर्दा , र अन्तिममा सांगे गर्नु पर्दा ५००० भन्दा बढी खर्च गरायो / हरेक दिन सोझा नेपाली धर्म को नाममा ठागीनछन / यस्तो त कुनै धर्म मा पनि गर्दै गरिन्दैन / के गर्ने?

    बाहुनलाई दान गरियो भने स्वर्ग पुगीन्छा भनेर ठाग्छ/ शोझा साझा र जनजाती देखे भनेत यस्तरी बाहुनले ठाग्छ कि कुरै नगरौ / हिन्दु धर्म नै दलाल को भन्ने हुन्छा /

    Reply
  9. सुभाषसिद्धि उपासक says:
    December 26, 2014 at 11:40 pm

    यस लेखको सार भन्नु नै –
    आफूले जन्मै देखि ग्रहण गरेको धर्ममा बुझ्ने भए पछी थुप्रै विकृति , विसंगती र बेथितिहरू बाट समाजलाई जागरुक बनाउनु रहेको बुझिन्छ , जुन अति स्वागतयोग्य प्रयास हुन्.
    तर अफसोस के कुरामा रह्यो भने ,
    धेरै जसो तिप्पनिकlरहरुले लेखकको सदाशयता ठम्याउनै सकेनन . यस्तालाइ नै ‘डेढ अक्कली’ भन्ने होला. किनभने , यस्ता महाशयहरु आफुले पनि नगर्ने , अरुले गरेको पनि देखि नसहने हुन्छन. यति सारो सकारात्मक लेखमा दोष देख्ने ‘दोषी चश्मा’ बाहेक के भन्नु !

    Reply
  10. Ananta says:
    December 26, 2014 at 10:58 pm

    Dear Writer, you haven’t understand what is Hinduism but you are criticizing it. If you understand the main core of Hinduism you will know that it provides pure knowledge which helps one to attain enlightenment. It doesn’t differentiate between caste, colour, rich or poor. Because your parents were Hindu, with them you have learn some morals in life,therefore you give money to beggars, you feel sorry for old, pregnant woman and you give seat etc, don’t forget that.
    मैले आजसम्म कसैलाई पिटेको-मारेको छैन, ठगेको छैन, लुटेको छैन, चोरेको छैन र जानेर कसैको अहित गरेको छैन। कुनै व्यक्ति, समाज वा राष्ट्रको अहित हुने कुनै काम गरेको छैन। मैले जहाँ जे काम गरेको छु, त्यो इमान्दारितापुर्वक गरेको छु र ठगेको छैन- While you say these words you must be sure that you haven’t done bad to anyone with words, mind and action.
    Going to temple is just to make strong bond with God and not to ask for your wishes. Wake up dude, Hinduism is so vast, you will never finish learning it.

    Reply
    1. rupace says:
      December 27, 2014 at 11:56 am

      अनन्तजी , राम्रो जति सबै हिन्दुइस्म र नराम्रो जति सबै अरु सम्प्रदायको हो कि क्या हो? हिन्दु सब्द को साटोमा तपाई किन धार्मिक भन्ने सब्द प्रयोग गर्नु हुन्न?? कि धार्मिक भन्ने सब्द तपाई जस्तो हिन्दु को मात्रै हो?? लेखक तटस्थ हुनुहुञ्छ, कि हिन्दु को label लगौदिन भन्दा तपाइ लै तनाब भएको? लेखकले राम्रो मान्छे बन्ने कोशिस गर्दै हुनु हुन्छ, तपाई हिन्दु हो भने राम्रो (हिन्दु) मान्छे बन्नुस, हिन्दु मात्रै नबन्नुस… लेखक लै धन्यवाद.

      साधु साधु साधु

      Reply
  11. bibek dhakal says:
    December 26, 2014 at 10:50 pm

    मलाइ लाग्छ धर्म परिवर्तन कुनै ठुलो कुरा हैन. पैसाको लागि आफु जन्मेको घर, गाउँ र देश परिवर्तन गर्न सक्नेहरुले धर्म परिवर्तन गर्न हुन्न भनेको पटक्कै सुहाउन्न – पटक्कै.

    मानव धर्म र संस्थागत धर्म बीच धेरै फरक छ. जुनसुकै संस्थागत धर्म लिएपनि वा नास्तिक नै भएपनि मानव धर्म पालना गरेसम्म धार्मिक नै रही रहन सकिन्छ. मन्दिर गई शिव, विष्णु को पुजा गरेर धर्मात्मा हुने हैन. मनकामनामा भाकल गरेर धर्म हुने हैन. गोदान गरेर धर्म हुने हैन. त्यस्तै १३ दिन बार्न छोडेर अधर्मी हुने हैन. गाइ को मासु खाएर अधर्मी हुने हैन.

    धेरै साथीहरुले मलाइ लाग्छ धर्म भन्दा पनि हिन्दु धर्म नामक संस्थागत धर्मको वकालत गरिरहनु भाको छ. हामी हिन्दु धर्म, वेद अनि ऋषिमुनिहरुबाट मानव जीवनले पाएको उपयोगी आयुर्वेद, योग, नैतिक सिक्ष्या यता उता को खुब ठुल ठुलो कुरा गर्छौं,. तर यथार्थमा हामीले जीवन भरि प्रयोग गर्ने आधुनिक सामग्री देखि अलिकति छिसिक्क हुँदा खाने ओखति ति वैज्ञानिक र अनुसन्धानकर्ता का देन हून जो प्रायश नास्तिक नै थिए र आस्थिक नै भए पनि अधिकांस क्रिस्चियन थिए. तेसो भए किन थोलो कुरा गर्नु..हिन्दु धर्म यस्तो उस्तो भनेर हुङ्कार लाउने हरु को दिनचर्या किन त्यै क्रिस्चियनहरु को देन वारी परि घुमेको. मुख्य कुरा भनेको हिपोक्रिट हुन छोड्नु पर्यो.

    Reply
  12. yogi says:
    December 26, 2014 at 10:10 pm

    सबै भन्दा पहिला हामी नेपाली हौं अनि मात्र फरक जाति, फरक धर्म, फरक पार्टी…हामी सबैले भुज्नु पर्छ हाम्रो पहिचान के हो … हामी कसरि नेपाली भएर बचिराख्न सक्छौ त्यो बारेमा सोच्नु पर्यो… यहाँ पहाडी, जनजाती , तराई भनेर हामीलाई छुत्यौदै छ… त्यो हामीले बुझ्नै पर्छ…कुरा कसको बहुमत छ भन्ने होइन किनभने जाति, धर्म , पार्टी आदि को हिसाबले फरक फरक बहुमत छ.. यहाँ नेवारहरुको ५-७% मात्र जनसंख्या छ तर उनीहरुको महत्व यो देशमा साँकृतिक,कला अनि नेपालको अस्त्वित्को हिसाबले कति छ भन्ने कुरा भन्नु नपर्ला तेसैगरी सबै जात जातिको आ आफ्नै बिशेस्ता छ उदाहरण नेवारको दिएको मात्र हो….जसरि अल्पमतमा नै भएपनि नेवारहरुको अस्त्वित्व संग नेपालको पहिचान जोडिएको छ तेसरिनै नेपालको अस्त्वित्व धर्मको हिसाबले के गर्यो भने जोगिन्छ त्यो ठुलो कुरा हो….यहाँ कुनै पनि नामले कमेन्ट पोस्ट गर्न सकिन्छ…तेसैले जनजाती अनि बाहुन छेत्री लेख्दैमा उनीहरुले नै पोस्ट गरेको भन्न सकिदैन…यहाँ डलर को खेतीमा कमेन्ट रोप्ने को पनि जमात नहोला भन्न सकिदैन… तर सबै धर्मको सम्मान एउटा कुरा हो अनि पहिचान अर्को कुरा हो…
    १. यो देश राजा महेन्दको पालामा हिन्दु राष्ट्र किन भाको हो भने यु एन मा सदस्यताको जरुरिले हो … त्यो भन्दा पहिला पनि नेपाल हिन्दु राष्ट्र नै थियो …योदेशमा मठ मन्दिर अनि गुम्बा कति थियो अनि छ | अनि आज डलर को खेति गर्दा पनि चर्च कति छ तेस्ले नै थाहा हुन्छ नेपाल कुन राष्ट्र हो भनेर …तेसैले कसैले माने पनि नमाने पनि तथ्यलाइ कसैले बंग्यौना सक्दैन…
    २. हिन्दुहरु क्रिसमस मा पनि दरबार मार्गमा जम्मा हुन्छन तर क्रिश्चन चर्चहरुले दशैंको बेलामा क्रिस्टियनहरु मन्दिरमा जालान भनेर विभिन्न कार्यक्रम राखछन्… तेसैबाट थाहा हुन्छ नेपालमा क्रिस्टियनहरु कसरि एकोहोरो पारिन्छन भनेर…
    ३. सबैले देखेकै कुरा हो यहाँ मान्छेको कमजोरीको फाइदा उठेर क्रिस्चन बनाइन्छ… तर उनीहरुलाई मात्र दोष दिनु गलत हुने छ.. किन भने भोको पेट पाल्नै पर्यो… दलित भनेर मन्दिरमा छिर्न दिदैन… गाउमा एउटा सितामोल छैन… जागिर छैन…तर तेस्मा टेकेर ब्ल्याकमेल गर्नु पनि गलत हो …
    ४. उपय एउतै छ… रोजगारीको सिर्जना गरौँ… कोहि भोको हुनु भएन …. जात भातको नाम मा हेप्न भएन …आफ्नो मन्दिरमा आफै जान पाएन भने त्यो धर्म प्रति नै बितृष्णा जाग्छ… खाली नेपालीहरु स्वार्थको लागि क्रिस्चन भए भनेर कराउने होइन … उनीहरुको बाध्यतालाइ पनि त बुज्नु पर्यो नि…. घरमा परिवार अनि बच्चा लाइ खान दिन चामल एक गेडा छैन अनि उनीहरुलाई भोकै मार्नु भन्दा त्यो बाउले चर्च को बाटो नलागेर के गरोस त…
    ५. दोष रोजगारी दिन नसक्ने राज्यको हो … दोष तल्लो जात भनेर हेला गर्ने कथित ठुला जातिको हो …दोष अभाबको हो अनि सबै भन्दा ठुलो दोष भनेको यी समस्याको फाइदा उठाएर धर्मको नाममा सोझा साझा नेपाली माथि राजनीति गरि देश अनि जनता टुक्र्याउन खोज्ने देशी बिदेशी षडयन्त्रकारीहरुको हो …किनभने दान धर्म त आत्मा संतुस्ती को लागि अनि उपकार गर्नको लागि हो बाद्य बनाएर धर्म परिवर्तन, पार्टी परिवर्त, अनि नागरिकता नै परिवर्तन गर्नको लागि होइन…
    ६. यहाँ सबै नेपालीले के बुझ्न जरुरि छ भने किन चोर बाटो बाट राजतन्त्र फाल्यो, किन चोर बाटो बाट धर्म निरपेक्ष गर्यो, किन संघियता भनिदैछ… यिनीहरुको बहुमत हुदो हो त सिधै जनमत संग्रह गरि हाल्थ्योनी… यिनीहरु ०.२% बाट बढेर ३ -४ % हुदा त यस्तो दबाब अनि मनोमानी छ सनातन धर्मको जस्तो ९५% जनता भएको भए के हुन्थो होला…
    ७. अन्तमा निचोड के हो भने यो सबैको कुराको कारण एउतै हो देश अस्थिर बनाउनेको हाली मुली अनि उपाय भनेको रोजगारी .. सबै रोजगार भएमा कसले कसैलाई लोभ देखाउन सक्दैन, हेप्न सक्दैन जति पनि बाटो बिराएकाहरु छन् सबै आफ्नै घर फर्कन्छन .. मात्र ढिलो चाडो…

    Reply
  13. som says:
    December 26, 2014 at 9:53 pm

    अति राम्रो विक्ष्लेक्षण गर्नु भएको छ लेखक महोदयले ! परिवर्तन जीको लेख मलाइ अति रोचक र दमदार लाग्छ ! राजनीतिक लेख पनि लेख्नु होला खास गरि पहिचानको सवालमा कृपया !

    Reply
  14. Shankar says:
    December 26, 2014 at 6:55 pm

    हिन्दु धर्म मा छिर्न चाहने को लागि समाचार !!
    अहिले विश्व हिन्दु परिसद र आर आर यस ले इन्डिया को केरला र बिभिन्न सहर हरुमा मुसलमान र क्रिस्च्यांन हरुलाई घर बापसी कार्यक्रम अन्तर्गत भटा भट हिन्दु बनाउदै छ |
    आफु कुन जात मा बस्ने हो तेसैमा बस्न पाइने रे भनेर टाइम्स अफ इन्डिया लेख्छ |

    Reply
  15. chitra says:
    December 26, 2014 at 5:28 pm

    हैन लेखक ज्यु तपाई को मतलब के मैले त यो बुझ्न सकिन भ्रस्टाचार गर्ने जति जम्मै हिन्दु नगर्ने चै अन्य. जातभात को भेदभाव गर्ने जति हिन्दु नगर्ने अन्य. मन्दिर जाने चाइ हिन्दु मात्रै हुन् त तेसो भए चर्च मस्जिद गुम्बा चाइ के लाइ हो. भ्रस्टाचार गर्ने जति जम्मै हिन्दु हुने भए बिस्व मा अहिले हिन्दु मात्रै हुन्थ्यो होला..

    Reply
  16. रविन says:
    December 26, 2014 at 4:04 pm

    लेखकको नाउनै परिवर्तन तेसैले सोच पनि परिवर्तित रहेछ. मैले बुझे सम्म हिन्दु भनेको कुनै धर्म होइन यो त प्राकृतिक सभ्यता जुन समानुकुल हामीलेनै कुरीतिलाई परिमार्जित गर्दै लाने र विभिन्न विचार बिमर्श गर्दै जाने. धर्म भनेको त कुनै पार्टी बिशेष जस्तो कुनै लादेर सुरुवाती र अन्त्य बिन्दु पनि हुन्छ जस्तै ख्रीष्टियन को येसु , मुश्लिम को मोहम्मद पोपेट यस्तै यस्तै …

    अव कुरो धर्म परिवर्तनको हाम्रा पाखण्डी नेता भनौदाहरु आफ्नो सस्कृति र पहिचानको कुरो गर्ने तर आफ्नै सभ्यता र रिति रिवाज परिवर्तन अरुको आयातित धर्म संस्क्र्ति अगाल्ने अनि बडो ठुलो हाँक संग बोल्ने .

    यो रबैया राम्रो होइन नराम्रो कुरीतिलाई परिवर्तन गरि आफ्नै संस्क्र्ति र सभ्यताको बिकाश गरौ
    सबैलाई चेतना भया !!!

    Reply
  17. rkg bhai says:
    December 26, 2014 at 1:41 pm

    हिजो गोरा र काला जाती बिच को सम्बन्ध बिर्सनु भयोर महोदय?? नेपाली समाज परिवर्तन्सिल छ, जुन जातियबाद बाट माथि उठदै छ? मन्दिर पस्न नदिने कुरा गर्नुहुन्छ हिजो गोरा ले काला को नाकमा लगाएको रसी बिर्सनु भो ???? महत्मा ज्यु नेपाल मा दन्द चलिरहेको छ असान्ती छ जनुस् बिदेस तिर उतै बस्नुस् जहाँसान्ती छ तपाईंले धर्म परिवर्तन गरेर मन्दिर पस्न नपाउने पर्था हराउदैन सोच परिवर्तन गर्नुपर्छ पहिचान हैन

    Reply
  18. Priyanka says:
    December 26, 2014 at 1:33 pm

    “परोपकार पुन्याया पापाय परपिडनम अर्थात्, अरुलाई सहयोग गर्नु धर्म हो र अरुलाई पिडा दिनु पाप हो” र “अहिम्शा परमो धरम अर्थात् हिम्सा नगर्नु नै सबै भन्दा ठुलो धर्म हो”, हिन्दु धर्म भनेको येही हो . अरु सबै संस्कार हुन् . वास्तविक हिन्दु धर्म मा बिकृति हरु छैनन् तर कतिपय संस्कार हरु चाही समय सपेक्छ्या हुन नसकेका हुन् .

    Reply
  19. Bishnu Dahal says:
    December 26, 2014 at 12:50 pm

    धर्म परिबर्तन गर्ने न गर्ने अधिकार नागरिक को जन्म सिद्ध अधिकार हो! तर यहाँ कुरा स्वोबिबेक ले भन्दा पनि लोभ लालच ले धर्म परिबर्तन गरौन लगाउने हरुको नियेत ले गर्दा कडा कानुन को निर्वाण हुनु जरुरि छ! मतलब येदि कोहि तपाई लाई लोभ लालच , डर धम्कि र अनाबस्यक दबाब दिएर धर्म परिबर्तन गराउन चाहन्छ भने त्यो सरासर गलत हो र यो रोकिनु पर्छ ! लेखक ज्यु तपाई ले भने जस्तै प्राय युवा हिन्दु हरु पनि ढोंग को पछि छैनन्! हिन्दु आदर्श ले क्रिस्टियन मुस्लिम वा अरु धर्म सबै लाई मान्छ! औता सनातन हिन्दु मान्ने मान्छे चर्च मस्जिद गुम्बा मन्दिर गुरु द्वारा जे मा पनि स्रधा ले जना सक्छ! तेही भएर त जहाँ सनातन हिन्दु हरु छन् त्यहाँ अरु धर्म हरु पनि सुरक्षित छन्!

    Reply
  20. Jiban sharma says:
    December 26, 2014 at 12:47 pm

    राम्रा शब्दहरू एकै ठाउमा थुपारि प्रशंसा को कहानि लेख्नु र ब्यबहारमा देखाउनु फरक पाटो हो । तपाईलाई हिन्दु धर्म मन नपर्दैमा लाखौं राम्रो कुराहरू नजरअन्दाज गरेर दुईचार नराम्रो कुराहरूको फेहरिस्त लेख्दैमा लेखको महत्व त्यति हुदैन ।राम्रो कुरा बोलेर र लेखेर हुने भए त नेपाल स्विजरल्याण्ड भै सकेको हुनेथ्यो ।लेखक महोदयले धेरै राम्रो काम गर्नु हुदोरहेछ । धन्न १ टुक्रा रोटिले सयौंको पेट भर्नुभएको रहेनछ, १ टुक्रा धोतिले सयौंको लाज ढाक्नु भएको रहेनछ, छोएर सयौंको रोग निको पार्नु भएको रहेनछ नत्र अर्को ईश्वरको जन्म हुने पक्कापक्कि हुनेरैछ।
    तपाईं राम्रो काम गर्नुहुन्छ ठिक छ तर कुनै धर्मलाई दोष दिनु उचित लागेन।

    Reply
  21. Devendra Basnet says:
    December 26, 2014 at 11:44 am

    सामाजिक कुरीति, कुसंस्कार र अन्धबिस्वास लै हिन्दु धर्म संग जोडेर महोदय ले खुब बिस बमन गर्नु भयो . तर पनि तपैले माथि भने जस्तै जीवन साचिकै जिउनु भएको छ भने सार्है सरहानिये छ.

    Reply
  22. Hishil says:
    December 26, 2014 at 10:54 am

    धर्म मान्नको लागि मान्दिर जानै पर्छ भन्ने छैन, म पनि पराए जस्तो मन्दिर जदिना तर तेसको मतलब यो होइन कि म मेरो धर्म मान्दिन

    Reply
  23. raju says:
    December 26, 2014 at 9:53 am

    जब हात्तीले धर्म छोड्छ मानिस मार्न थाल्छ , पृथ्वीले धर्म छोडेमा अन्न उब्जदैन, नदीले धर्म छोडेमा बस्तीमा पस्छ, उडिरहेको हवाईजहाजको मेसिनले धर्म छोडेमा जमिनमा खस्छ अनि मानिसले धर्म छोडे के हुन्छ लेखक ज्यू ? हिन्दु कुनै धर्म होईन जीवन दर्शन हो जीवन पद्धती हो त्यो तपाईले निर्वाह गरि रहनु भएको छ भने कसरी धर्म परिर्वतन गर्नु भयो ?

    Reply
  24. raj says:
    December 26, 2014 at 9:36 am

    हजारौं बर्ष पहिले लेखेको र मान्दै अाइ रहेको परम्परा लाई परिमार्जन गर्दै लैजानु आज को आवश्यकता हो हिन्दू सन्स्क्रीती( मैले हिन्दू सन्स्क्रीती भने किनकी जहाँ सम्म मैले पडेको कुनै पनि ग्रन्थ मा त्यस्लाई यो धर्म सँग सम्बन्धित छ भनेर लेखेको वा भनेको पाएको छैन ) मा भएको कुरिती अन्धविश्वास लाई बदल्नु र हजारौ साल पुरनो सन्स्क्रीती को दस्तावेज मा समय सापेछ परिवर्तन गर्नु जरुरी छ त्यही पुरनो केही मन्यता लाई दोश देखाएर आफ्नो सन्स्क्रीती बाट पंछिनु ठीक होइन यदी तपाईं ले कुनै आडम्बर् न भएर लेखेको हो भने यो सुधार स्वागत योग्य हो होइन भने पुरनो सोच लाई आधार बनाएर आफ्नै सन्स्क्रीती लाई गलत हो भन्ने कुनै तुक रहदैन किनकी एस्ता परम्परागत कुरिती विश्व को जुनै पनि समाज र सभ्यता मा व्याप्त छ

    Reply
  25. anamol says:
    December 26, 2014 at 7:08 am

    हिन्दु धर्म बारे अलि राम्रो अध्यन गरेर मात्र लेख लेख्नु भएको भए हुन्थ्यो कि लेखक ज्यु….गीता पढ्नुस..तपाइको लेखले भन्दा हजार गुना आदर्शबादी कुरा सिकाउछ…

    Reply
    1. Prakash says:
      January 1, 2015 at 6:09 pm

      अनि Gita ले सिकौदो रहेछ त किन नेपालमा एस्तो क्रुर गर्चाता हिन्दुले जबकि अहिले मात्र हैन सयौ वर्ष तेही Hindu ले नै देसमा एस्तो गरिराखेको ठुला साना जातका छुवाछुत कसले बनायो मन्दिर जानु कसले रोक्छ किन हाम्रा पुर्खालाई जबजस्ती हिन्दु बनायो के यी कुरा हरु गित लेनै सिकौचा त

      Reply
  26. Udeep says:
    December 26, 2014 at 4:32 am

    यदि तपाईले माथि उल्लेख गर्नु भएका कुरा हृदयले पालना गर्नु हुन्छ भने तपाईले धर्म परिवर्तन गर्नु भएको छैन, धर्मको पालना गर्नु भएको छ |
    आजको समाज अज्ञानतामा यति लिप्त छ कि मानिस “धर्म” र “कुरीति, विकृति र कुसंस्कार” बीच अन्तर छुट्यौउन असमर्थ छ| धर्मको सोझो सम्बन्ध कर्मसंग छ, पुजा-पाठ, बलि, हवन आदि-इत्यादीसंग होइन | धर्मको नाता बिबेकसंग छ चेतनासंग छ, आत्मासंग इश्वरसंग होइन | इश्वर त भएर पनि नभए समान छन्, कर्ता भएर नि अकर्ताका रुपमा ! कर्म गर्ने र गर्नुपर्ने कर्ता भनेको त तपाई-हामी नै हौँ ! सत्कारमा गर्दैमा वहा-वाहि पाइन्छ भन्ने कुनै ग्यारेन्टी छैन, दुष्कर्म गरेपछि चाही दुखको ग्यारेन्टी हुन्छ| तै पनि एउटा असल र प्रगतिशील समाजको निर्माणको लागि मान्छेले असल काम गर्नै पर्छ, व्यक्तिगत स्वार्थ त्यागेर माथि उठ्नै पर्छ! नत्र परिणाम तपाई-हामीले देखेको नेपाली समाज को जस्तै हुन्छ, भ्रस्ट, अविकसित, अशिक्षित, र अन्धकारयुक्त!
    त्यसैले गीतामा कृष्णको यो वाक्य सह्राहनीय छ
    “कर्मणये वाधिकारस्ते मां फलेषु कदाचन । मां कर्मफलहेतुर्भू: मांते संङगोस्त्वकर्मणि ।। ” अर्थात् जुन समाज फलको लालशा त्यागेर कर्म गर्न जान्दैन, त्यो समाजको प्रगति हुन सक्दैन |
    तर गीता पनि मानिस कै कृति हो, तेसैले त्यसमा भनिएका सबै कुरा सत्य चाही होइन | तात्पर्य यो हो कि, आफुलाई चाहिने र सत्य र चेतनामुलक कुरा लिने, बाँकी कुरा नकार्ने! जय शम्भु! 😀

    Reply
  27. Pramod says:
    December 26, 2014 at 2:58 am

    श्री हरी भन्नु हुन्छ,
    अलग पन भिन्नतानै अधर्मको मूल हो ।
    एकाक्त्मानै धर्मको आधार हो ।

    बिस्तारमा श्री कृष्ण भन्नु हुन्छ,
    हाम्रो यात्रा,
    रिश्, राग्, द्वेश्, ईर्ष्या, अलग पन्, मपाई अनि भिन्नता बाट्
    माया, प्रेम्, स्नेह्, सहिष्णु, सामिप्यता, अपनत्व अनि एकाक्त्मा हो ।

    मनुष्य यो जान्दछ कि,
    उसको सुखको आधार उसको परिवार हो
    माता, पिता, दाजु भाई, दिदी बहिनी अनि
    तत् बाट जोडिएका परिवार हो ।
    अनि यो पनि जान्दछ कि, उसको सुख यही समाजबाटै आउछ,
    किन्तु, यही मनुष्य यही समाजको साथ अन्याय गरिरहन्छ्,
    उ समाजको शोसण कुनै न कुनै प्रकारले गरी रहन्छ ।
    किन कि उ समाजलाई सुखको कारण मान्दैन , बरु
    उ मात्र समाजलाई सुखको साधन मानिरहन्छ ।
    भेद त केवल कारण र साधनमा छ ।
    जब जब मनुष्यलाई यो कुराको बोध हुन्छ कि
    सारा जगत परमात्माकै स्वरूप हो, कण कण परमात्माकै अंश हो ।
    तब अर्थात कोइ पराया नै छैन्, कोइ मित्र छैन कोइ शत्रु छै ।
    जता ततै एकाक्तमा देख्दछ, तब धर्मको स्थापना हेतु अग्रसर हुन्छ ।

    श्री हरि, हामी सबैको कल्याण होस भन्दै फेरि भन्नु हुन्छ । ।

    ॐ सहना भवतु: (ईश्वर हाम्रो रक्षण पालन पोषण गर्नु होस्)
    सहनो भनत्तु, (हामी सबै मिलेर सुख भोगौ)
    सह विरयं करवा वही । (हामी एक दोश्रोको लाभ्, परस्पर उन्नति, प्रगती हेतु प्रयास गरौ)
    तेजस्वी नो वधितम् मस्तु, (हामी सबैको जिवन तेजले भरियोस अर्थात पुर्ण होस्)
    मावेद विशा वहे । (परस्पर एक आर्कामा कुनै द्वैस, ईर्ष्या नहोस् एकाक्त्मा सबैको हृदयमा बास गरोस्)
    ॐ शान्ती ॐ शान्ती ॐ शान्ती

    साभार्: माहाभारत अनि गितोपदेष

    Reply
  28. Pramod says:
    December 26, 2014 at 2:52 am

    श्री हरी भन्नु हुन्छ,
    अलग पन भिन्नतानै अधर्मको मूल हो ।
    एकाक्त्मानै धर्मको आधार हो ।

    बिस्तारमा श्री कृष्ण पभन्नु हुन्छ,
    हाम्रो यात्रा,
    रिश्, राग्, द्वेश्, ईर्ष्या, अलग पन्, मपाई अनि भिन्नता बाट्
    माया, प्रेम्, स्नेह्, सहिष्णु, सामिप्यता, अपनत्व अनि एकाक्त्मा हो ।

    मनुष्य यो जान्दछ कि,
    उसको सुखको आधार उसको परिवार हो
    माता, पिता, दाजु भाई, दिदी बहिनी अनि
    तत् बाट जोडिएका परिवार हो ।
    अनि यो पनि जान्दछ कि, उसको सुख यही समाजबाटै आउछ,
    किन्तु, यही मनुष्य यही समाजको साथ अन्याय गरिरहन्छ्,
    उ समाजको शोसण कुनै न कुनै प्रकारले गरी रहन्छ ।
    किन कि उ समाजलाई सुखको कारण मान्दैन , बरु
    उ मात्र समाजलाई सुखको साधन मानिरहन्छ ।
    भेद त केवल कारण र साधनमा छ ।
    जब जब मनुष्यलाई यो कुराको बोध हुन्छ कि
    सारा जगत परमात्माकै स्वरूप हो, कण कण परमात्माकै अंश हो ।
    तब अर्थात कोइ पराया नै छैन्, कोइ मित्र छैन कोइ शत्रु छै ।
    जता ततै एकाक्तमा देख्दछ, तब धर्मको स्थापना हेतु अग्रसर हुन्छ ।

    श्री हरि, हामी सबैको कल्याण होस भन्दै फेरि भन्नु हुन्छ । ।

    ॐ सहना भवतु: (ईश्वर हाम्रो रक्षण पालन पोषण गर्नु होस्)
    सहनो भनत्तु, (हामी सबै मिलेर सुख भोगौ)
    सह विरयं करवा वही । (हामी एक दोश्रोको लाभ्, परस्पर उन्नति, प्रगती हेतु प्रयास गरौ)
    तेजस्वी नो वधितम् मस्तु, (हामी सबैको जिवन तेजले भरियोस अर्थात पुर्ण होस्)
    मावेद विशा वहे । (परस्पर एक आर्कामा कुनै द्वैस, ईर्ष्या नहोस् एकाक्त्मा सबैको हृदयमा बास गरोस्)
    ॐ शान्ती ॐ शान्ती ॐ शान्ती

    साभार्: माहाभारत अनि गितोपदेष

    Reply
  29. Nakul Gautam says:
    December 26, 2014 at 12:59 am

    पाङ्रे लेख कता गूडाको कुरो ??

    समय सापक्ष हुँदै म परिवर्तन भय भनेको भय ठीक हुन्थ्यो।

    धर्म कुनै बस्तु अवस्थाको कृया वा गुण हो, यस्को उपज कर्मफल। नकी पृथ्वीनारायण, स्टालिन, कार्ल माक्स, प्रचन्ड-दाहालको धर्म नै हो, यो समय अनुसार को कृया प्रतिकृया हो।

    दुइचार अक्षेर ईतिहास रची ठान्ने धर्म भिरुहरुको दोसीचस्मा धेरै दिन तिक्दैन बैज्ञानीक कारण खोज्ने समयकालमा।

    नास्तिक अनी आस्थिक बस्तु अनी बिषय हुन। (मानस कि विश्व)

    उपनाम परिवर्तन रे कुरो फेरी घाडो, एकोहोरो, सतही अनी अचल??

    परिवर्तन संसारको नियम हो यो नै विश्वब्यपी धर्म हो!!

    Reply
  30. Shankar says:
    December 26, 2014 at 12:24 am

    मुख भन्दा ठुलो कुरा गरे मदारी भनिन्छ भन्ने यी लेखकलाई थाह रहेनछ | म येसो गर्छु , म उसो गर्छु , बा मैले यो गरे ,त्यो गरे भनेर राम्रा कुरा फुल बुट्टा भरेर प्रबचन गर्न जति सजिलो छ ब्यबहार मा पक्कै तपाइँ झुटो बोल्दै हुनुहुन्छ | नत्र येत्रो बक बक गर्न जान्ने ठुलै योगी , महर्सि बनेर चिनिन्छ | साचो बोल्नु पर्छ भन्ने कुरा ४ पास लाइ पनि थाह छ तर ठुला नेता , अभिनेता , पियाच दि पास सब झुटो बोलिरहेको हुन्छ | कुरा ले प्रभाब पारेर आफ्नो स्वार्थ सिद्द गर्ने दिन गए अब , ब्यबहार मा देखाउन पर्यो | ब्यबहार मा फेल भए त्यो मान्छे जति नै राम्रो कुरा गरे पनि फेल हुन्छ | जस्तो कि हाम्रो नेता हरु |

    तपाइको कुरा झट्ट सुन्दा राम्रो लाग्छ किनकि यो तेही प्रयोजन को लागि लेखिएको छ | ब्यबहार बाट १० बित्ता पर छ | फुल बुट्टा भरेर कुरा गर्ने भन्दा गमला मा फुल फुलाउन सिक्नुस |

    Reply
  31. Rajendra Adhikari says:
    December 25, 2014 at 11:18 pm

    तपाईको अचरण, मुल्य मान्यता र स्वधर्म अनुकरणीय छ । तर पैसा खएर धर्म परिवर्तन गरिँदैछ भनेर अचेलभरि गरिएको प्रचारबाजीले तपाईँलाई क्रुद्ध बनाएको रहेछ र तपाई जसतो निष्ठामा हिँडेको मानिसलाई त्यस कुराले क्रद्ध बनाउनु स्वभाविकै हो । जसरी सबै धर्म परिवर्तन गर्नेहरूले पैसाको लागि गरेका छैनन् (जस्तै तपाईँ), त्यस्तै सबै हिन्दु धर्मलम्बीहरू भ्रष्टाचारि, हिंस्रक, अन्न्यायी, पातकी छैनन् । वास्तबमा हिन्दु धर्मले अहिंसा, समानता र भाइचारा सिकाउँछ, ‘परोपकार पुण्ड्याय पापाय पर पिडनम्’ सिकाउँछ, जात पात, बली प्रथा आदि इत्यादी, हिन्दु धर्मको गलत व्याख्याले गर्दा उब्जीएको सामाजिक कुसंस्कार हुन् भनेर हिन्दु धर्मलाई सुधारको बाटो हिँडाउनु पर्छ भन्ने हिन्दु धर्मालम्बीहरू पनि धेरै छन् । तर आवेषमा आएर तिम्रो धर्मले मान्छे मार्न सिकाउँछ, भाई-भाई झगडा गराउँछ भनेर पुरै धर्मलाई गाली गर्दा द्वन्ध मात्र बढ्छ । दुवै पक्षले Generalization नगर्न ध्यान दिँदै, सुधार र सहयात्राको पहल गर्नुनै उपयुक्त देख्छु ।

    Reply
    1. prakriti says:
      December 26, 2014 at 6:25 am

      म त सधै सुर्य लाई नमस्कार गर्छु अनि पिपल नि लाई जल चद्दौछु अनि प्रिथिवी लाई पनि द्दोग्छु . किनकि मेरो जीवन को आधार नै यी तीन कुरा हरु हुन्. मलाई कसै को धर्म लाई नै केहि भन्नु छ , न त मेरो धर्म नै लाई प्रचार गर्नु छ . And I do what make sense ,not what religion tells me to do .

      Reply
      1. ramu dhakal says:
        December 26, 2014 at 11:21 am

        Hinduism is not a religion; it is a way of life.
        Hinduism has a power to accept all religions
        including Islam and Christianity.” Vasudev
        Kutumbkam ” means World is my family; if you live
        on earth, you are part of my family.This is the
        philosophy of Hinduism. No need to convert people
        as Hindu, because World is coming towards the
        integrity of Hinduism.

        Reply
        1. upaasak udaas newa: says:
          December 26, 2014 at 4:12 pm

          परिवर्तनजी समाज सुधार निम्ति अरु लेख्दै गर्नु होला !
          जो कसैले देखेको हुन्न , उनको चित्र बनाउन अति सजिलो हुन्छ.
          जुन धर्मको कुनै परिभासा नै छैन , त्यो धर्म भित्र विश्वको सबै असल खराब अटाउन सक्छ….जसले ‘गीता’ को पन्ना पल्ताएको हुँदैन , उनैले यो पढ्ने सुझाव दिन सक्छ !
          छ कुनै पुस्तक पोथी, जसमा ‘हिन्दु धर्म’को कुनै सरल , सुबोध र ग्राह्य परिभाषा होस् ?
          Thank you Privartanjee for your positive approach !
          If you consult an arabic, urdu or other languages dictionary actual meaning of this term ‘hindu’ had been shown as : worse people ; nonsense & stupid !
          why it is so ?…coz. this is not a proper name for any Aarya Dharm !…
          so , it will be wiser to call rather : वैदिक , सनातन , त्रयी-धर्म or something else, but never as Hindoo !…there is nothing to gain positive to attach with it .

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme