Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : कोलूसा

Posted on December 6, 2014 by mysansar

saturday-fiction उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन् । आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन । मेरो सान्निध्यताले उनमा जुन उत्सुकता अनि भावावेगको अपेक्षा गर्दथ्यो, त्यसलाई अलिक पनि नदेखाई उनी भुँइतिर आँखा तेर्स्या ई निहुरिइरहिन् ।

मैले उनलाई अभिवादन गरें र सोधें, “बहिनी, यो समाधि कसको हो ?”

“मेरो छोरो को ।” उनले अलिक रुखो शैलीमा जवाफ दिइन् ।

“के ऊ उमेरदार जवान थियो ?”

“होइन, वाह्र वर्षको थियो ।”

लामो निश्वास छाड्दै उनले आफ्नो कपाललाई निधारवाट हटाइन् । प्रचण्ड धूप वर्षि्हेकोले दिन अत्यन्त गर्मी थियो । मूर्दाहरुको त्यस नगरीका लासघरहरुमा पलाएका धेरथोर घाँसहरु पनि चर्को घाम र धूलोका कारण ओइलाएका देखिन्थे । समाधि स्थानको वरिपरि उभिएका धुलाम्य रुखहरु हलचलविहीन चुपचाप उभिएका थिए, मानौं उनीहरुलाई पनि मृत्युले आफ्नो शिकार वनाइसकेको होस् ।

केटाको समाधितर्फ टाउकोले इशारा गर्दै मैले सोधें, “उसको देहान्त भयो कसरी ?”

“घोडाका टापहरुले कुचल्नाले ।” शव्दहरु गन्दै र छान्दै उनले जवाफ फर्काइन र लगत्तै समाधिलाई स्पर्श गर्न आफ्ना खस्रा हत्केलाहरु वढाइन् ।

“कसरी त्यस्तो हुनपुग्यो?” मलाई थाहा थियो मैले अभद्रता देखाइरहेंको थिएँ । तर उनको मौनता, एकाग्रता र वेवास्ताले मलाई उत्तेजित पारिरहेका थिए । मभित्र उनको आँखामा आँशु देख्न मिलोस् भन्ने सनक चढेको थियो । निश्चय पनि उनको उदासिनता अस्वभाविक थियो तर मलाई लागिरह्यो, उनी त्यसप्रति विल्कुल अनभिज्ञ छिन् ।

मेरो सोधाइको कारण उनले आफ्ना आँखाहरु उठाइ एकसरो मलाई माथिदेखि तलसम्म हेरिन्, एकपटक लामो श्वास फेरिन र सानो स्वरमा आफ्नो कथा वताउन थालिन् ।

“घट्ना यसरी घट्यो । यसको वावु आर्थिक हिनामिनाको कारण डेढ वर्षका लागि जेल चलान भएको थियो । यसविचमा हाम्रो सम्पूर्ण वचत पुँजी खर्च भैसकेकाले दैनिक गुजारा चलाउन सास्ती भइरहेको थियो । त्यो मान्छे जेल वसुञ्जेल हामी घाँस वालेर खाना पकाउँथ्यौं किनकि त्यहाँ पठाइनु अगाडि उसले एक गाडी घाँस ल्याएर छोडेको थियो, जसलाई मैले सुकाएकी थिएँ । घाँस वाल्दा एकदमै नमीठो धूँवा त निस्कन्थ्यो नै, त्यसले खानाको स्वाद समेत विगारिदिन्थ्यो । यो मेरो छोरो, जसको नाम कोलूसा हो, ती दिनहरुमा पाठशाला जाने गर्थ्यो । पढाइमा ऊ निकै तेज थियो अनि मितव्ययी पनि । पाठशालावाट फर्कंदा उसले वरपर भेटिएका हाँगाविगा र दाउराहरु वटुली ल्याउँथ्यो । ठण्डीयाम पछि वसन्तमास हिउँ पग्लन सुरु गरिसक्दा समेत उसंग एकजोर पुरानो कमसल जुत्ता मात्रै थियो जसलाई उतार्दा चिसोका कारण उसको खुट्टा कठ्याङ्ग्रिएको र रातो भएको देख्न सकिन्थ्यो ।”

“हामी यति सार्हो् विपन्न भएका थियौं कि उसको लागि एकजोर जुत्ता किन्न समेत नसक्ने हालतमा थियौं तर यस्तैमा एकदिन ती मानिसहरुले यसको वावुलाई जेलवाट छोड्दै घरमा ल्याएर राखिदिए । जेलमा उसलाई मुटुको रोगले समाएको थियो । ऊ ओछ्यानमा पल्टियो र मलाई हेरिरह्यो । उसको अनुहारमा कुटील मुस्कुराहट थियो । मैले पनि उसलाई हेरें र मनमनै सोचें – तैंले नै मेरो यो हालत वनाइस् । अव मैले तेरो पेट कसरी भर्ने? तलाईं फोहोर मिल्काइने ठाउँमा लगि मिल्क्याइदिउँ! हो, म यही गर्न चाहन्छु ।”

“तर कोलूसाले उसलाई देख्दा भने प्रताडीत भावमा आँखाभरी आँशु पार्दै मलाई सोध्यो – आमा, उहाँको हालत किन यस्तो भएको ?”
“मैले भने – उहाँले आफ्नो जीवन वाँचिसक्नु भएको छ ।”

“त्यस दिनपश्चात हाम्रो हालत झनै विग्रदै गयो । म दिनरात मिहिनेत गर्थें तर आफ्ना रगत सुकाउँदा पनि वीस कोपेक भन्दा ज्यादा जुट्दैनथ्यो । अभ, भनौ, त्यत्ति पनि भाग्यमानी दिनहरुमा कमाउन सक्थें । यो हालत मृत्युभन्दा पनि खराव थियो र म प्रायः आफ्नो जीवन खत्तम गरिदिन चाहिरहन्थें ।”

“यो सवै देख्दा कोलूसा चिन्तित भई यतउता हिँड्दथ्यो । एकदिन जव मलाई लाग्यो कि यी सवैकुरा मेरो सहन शक्ति भन्दा वाहिरका हुन्, मैले भनें, ‘आगो लागोस् यो मेरो जिन्दगीमा । म किन मर्दिनँ? या फेरि तिमीहरु मध्ये कसैको ज्यान किन जाँदैन ? ‘ निशन्देह मेरो इशारा कोलूसा र उसको रोगी वावुप्रति लक्षित थियो ।”

“उसको वावुले टाउको हल्लाउँदै केवल यत्ति भन्यो कि ऊ छिट्टै मर्नेछ । मात्रै केहि दिनको धैर्यता आवश्यक हुनसक्छ । तर कोलूसाले भने लामो समयसम्म मेरो मुहारमा हेरिरह्यो र केहि क्षण पश्चात ऊ घरवाट वाहिर निस्कियो । ऊ वाहिर जानासाथ मलाई आफ्ना शव्दहरुप्रति ग्लानि हुन थालिसकेको थियो तर अव केहि सुध्रनेवाला भने थिएन, किनकि धनुवाट काँड छुटिसकेको थियो ।”

“त्यसको एक घण्टा पनि नवित्दै एक घोडसवार सिपाही आएर सोध्यो, ‘के तपाईं गौसपोजा शिशीनिना हो ?’ यो सुन्दा मेरो हृदय काम्यो । उसले अगाडि भन्यो – तिमीलाई अस्पतालमा वोलाइएको छ । व्यापारी एखोनिनको घोडाले तिम्रो छोरोलाई कुल्चेर घाइते वनायो ।”

“तुरुन्तै म गाडीमा चढी अस्पतालतर्फ हानिएँ । मलाई लागिरह्यो गाडीको सिटमा कसैले वलिरहेका राताराता कोइलाहरु विछ्याएको छ । म आफैलाई सराप्दैं थिएँ – हे पापिनी, तैले यो के गरिस् यस्तो!”

“अस्पतालमा कोलूसालाई विछ्यौनामा राखिएको थियो र उसका शरीरभरी पट्टी वाँधिएका थिए । ऊ मलाई हेर्दै मुस्कुरायो तर उसका आँखावाट आँशु वग्न थाले ।’ अति सानो आवाज निकाल्दै उसले भन्यो – आमा, मलाई माफ गर्नुस् । प्रहरीका मानिसहरुले मेरो पैसा लिएका छन् ।”

“तिमी कुन पैसाको कुरा गरिरहेछौ, कोलूसा ? – मैले सोधें ।”

“त्यो.., त्यो पैसा…, अरे जुन एखोनिन् र अरु मानिसहरुले मलाई दिएका थिए ।”

“उनीहरुले तिमीलाई पैसा किन दिए ? – मेरो प्रश्न । ”

“उसले भन्यो – यसकारण कि…”

“उसले विस्तारै कोल्टे फेर्यो । उसका आँखा ठूला हुँदै गइुहेको मैले देखें ।”

“कोलूसा”, मैले भनें, “यस्तो कसरी भयो कि घोडाहरु आइरहेको तिमीले देखेनौँ ?”

“उसले प्रष्टसंग भन्यो, – आमा, मैले घोडाहरु आइरहेको प्रष्टसंग देखेको थिएँ । तर मलाई लाग्यो, यदि घोडाहरुले मलाई कुल्चँदै दौडिए भने मैले अझै धेरै पैसा पाउनेछु । आखिर उनीहरुले दिए पनि ।”

“यी उसका शव्दहरु थिए । अव भने मैले सवै कुरा वुझसकेकी थिएँ, सवै कुरा, त्यस भावुक दयालु केटोले यी सवै किन गर्यो । उफ्, अव केहि पनि वद्लिनेवाला थिएन् ।”
“भोलिपल्ट विहानै ऊ मर्यो । अन्तिम श्वास लिँदासम्म पनि ऊ चेतनामै थियो र उसले पटक पटक भनिरह्यो, वुवाको लागि यो किनिदिनु, अनि आफ्नो लागि त्यो…, मानौं उसंग धेरै पैसा होउन् । र उसंग थिए पनि । यथार्थमा उसले आफ्नो जिवनसंग खेलेर सड्चालिस रुवल कमाएको थियो ।”

“म एखोनिनकोमा गएँ तर उसले केवल पाँच रुवल दिंदै चर्को स्वरमा गाली गर्दै भन्यो, ‘केटोले आफैलाई घोडाहरु विच हुर्याएयो जुन धेरै मानिसहरुले देखेका छन् । त्यसको वदलामा के तँ मसंग भीख माग्न आएकी?’ म त्यहींवाट फर्कें तर कहिन्यै घर गइनँ । भाइ, यही हो मेरो कथा ।”

समाधिस्थलभर नमीठो सन्नटा अनि मौनता छाएको थियो । कोलूसाको समाधि, परिपरिका रोगी घाँस र रुखहरु, माटोका ढिस्का अनि समाधि छेउ वसिरहेकी चरम दुःखी नारी – यो परिवेशमा म मृत्यु र मानवीय दुःखवारे सोच्न थालें ।

तर आकाश सफा थियो र धर्तीउपर निरन्तर ताप र गर्मीको वर्षा गरिरहेको थियो ।

मैले आफ्नो खल्तीवाट केहि सिक्काहरु निकाल्दै उनीतर्फ वढाएँ, जो जिन्दगीले ठग्दा पनि जिवनसंग सिंघौरी गरिरहेकी थिइन् ।

उनले टाउको हल्लाउँदै रोकिइ रोकिइकन भनिन्, “भाइ, किन वेकार आफूलाई हैरानी दिलाउनुहुन्छ ? आजको लागि मेरो लागि जिउन म संग पर्याप्त छ अनि मलाई अधिक पैसाको कुनै जरुरी हुँदैन । म यो संसारमा एक्ली छु, नितान्त एक्ली ।”

उनले एकपटक फेरि लामो श्वास लिइन अनि मुहारभर फिँजिएको वेदनाका रेखाहरु विच आफ्ना पातला ओठहरु वन्द गरिन् ।

कथाः म्याक्सिम गोर्की
अनुवादः देव ‘अञ्जान’ शाह

2 thoughts on “कथा : कोलूसा”

  1. जय प्रकाश विवश says:
    December 9, 2014 at 1:29 pm

    म्याक्सिम गोर्कीको कथा पढ्न पाउनु पनि राम्रो हो अनुबादक तथा माईसन्सारलाई धन्यबाद

    Reply
  2. jeevan verma says:
    December 6, 2014 at 1:05 pm

    धेरै बर्स पछि आफ्नो मन परेको लेखकको रचना पदना पाउदा, धेरै खुसि भएँ तर दुख पनि त्यतिकै लाग्यो कथा बस्तु ले | हाम्रा गरिब किसानका लागि आएको ६ अरब रुपियमा आधा जति खान मा र आधा तालिम खच गर्ने कर्म चरी सम्झे,,जुन समाचार यस्तै ह्हप्ता एको थियोउ समाचार मा, लोक मानले ‘ ठुला माछा को बैंक ब्यालेन्स ५००/१०० मात्र हुञ्छ भनेको पनि सम्झे, अनि विकास बजेट खर्च हुन नसकेको कुरा पनि सम्झे| सोचे यी सबै को उप्छार कसै हुञ्छ ? के यी सबै को उपचार एउतै छ? के हो त ? इच्छा शक्ति भएको राजनितिग्य ? इमान्दार राजनितिग्य ? सबल कर्म चरी वर्ग ? वा सहि मान्छे छान्न सक्ने हामी ?

    अब पनि हामी फेस बुक का भित्ता रंगौना मा, वा सम भोग वा सम्भोग भन्ने शब्दको ब्याख्यामै समय फाल्छौ भने नेपाल भन्ने देश पनि थियो भनेर आज भन्दा ३० वर्ष पछाडीका बच्चा ले भन्छ भनेर कसैले भन्छ भने म संग त्यसको प्रति बाद गर्ने नैतिकता वा तागत छैन| झाले , माकुने, प्रचंडे, ओली अनि देउवा लाई यस्ता कुरा सोच्ने फुर्सद नै छैन उनि हरु त नेपाल आमा लाई कसरि बलात्का गर्ने भन्ने योजना बुन्न मै ब्यस्त छन् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme