Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गाउँगाउँमा पुगेको मोबाइल र इन्टरनेटले यस्ता विकृति पनि सँगै ल्यायो

Posted on December 4, 2014December 4, 2014 by mysansar

-लक्ष्मी गौतम-

०७१ साउन दोस्रो साता पाँचथर लुम्फाबुङकी ६ वर्षीया रसिला (नाम परिवर्तन) लाई छिमेकी १४ वर्षीय किशोरले मकैबारीमा बोलाएर बलात्कार गरे। बलात्कृत बालिकाका अभिभावकले जाहेरी दिएपछि पक्राउ परेका ती किशोरले मोबाइलफोनमा अश्लील भिडियो हेरेपछि उत्तेजना रोक्न नसकी बालिका बलात्कार गरेको बयान दिए।

पाँचथर अस्पतालमा उपचार गराइरहेको अवस्थामा भेटिएकी रसिलाले बताएअनुसार छिमेकी ती किशोरले आफूलाई हरियो मकै दिन्छु भन्दै बारीमा बोलाएका थिए। उनले भनिन्, ‘त्यसपछि मोबाइलमा ‘छाडा गरेको’ भिडियो देखाएर मलाई पनि त्यसै गरे।’

सदरमुकाम फिदिमको एउटा वित्तीय संस्थामा कार्यरत एक युवती आफ्नै कार्यालय रहेको घरधनीको कामदारबाट पीडित भइन्। ती युवाले पहिले फेसबुक प्रोफाइलबाट ती युवतीको फोटो डाउनलोड गरी युवतीकै नामबाट फेसबुक आईडी बनाएर त्यसको दुरुपयोग गरे।

ती युवकले उनलाई मानसिक यातना दिन छोडेनन्। हुँदाहुँदा उनले नयाँ–नयाँ नम्बरबाट फोन र एसएमएस गरेर विवाहका लागि प्रस्ताव राख्न थाले। रातको समयमा बुबाआमालाई समेत तनाव दिन थालेपछि पीडितको जाहेरीका आधारमा उनी पक्राउ परे।

उमेर, शैक्षिकस्तर केही पनि नमिल्ने ती युवकले पटकपटक आफूलाई मानसिक यातना दिएपछि बाध्य भएर जाहेरी दिएको ती युवतीको भनाइ छ। आफू कार्यरत वित्तीय संस्थामा कारोबार गर्न आउँदा देखेकै भरमा ती युवकले आफूलाई निरन्तर सताएर बेइज्जत गरेको उनले बताइन्।

यो घटनापछि ती युवतीले आफ्नो फेसबुक आईडी बन्द गर्नुका साथै मोबाइल नम्बरसमेत परिवर्तन गरेकी छिन्। उनी भन्छिन्, ‘बोल्दै नबोलेको मान्छेले कहाँकहाँबाट फोननम्बर लिएर मानसिक तनाव दिइरह्यो।’

जिल्लाकै मेमेङ गाउँ विकास समिति– ८ की विमला साँवा (३६) ले असोज पहिलो साता आफ्नै देवर नाताका पदम लिम्बुसँग दोस्रो विवाह गरिन्। श्रीमान् वैदेशिक रोजगारीमा रहेका विमलाका दुई छोराछोरी छन्। पति बिदेसिएपछि एक्लो महसुस गरेकी विमला घाँस, दाउरा र मेलापात गर्दा पदमसँग नजिकिएकी थिइन्।

उनलाई पतिले विदेशबाटै फोटो खिच्न र भिडियो हेर्न मिल्ने मोबाइल सेट पठाइदिएका थिए। घाँस–दाउरा गर्दै त्यही सेटमा गीत र चलचित्र हेर्दाहेर्दा पदमले विवाहको प्रस्ताव राखे। विमलाले एक दिन साथीको मोबाइलबाट सेक्ससम्बन्धी क्लिप सारेकी थिइन्। भोलिपल्ट गीत हेर्दै गर्दा त्यो क्लिप आफैँ ‘प्ले’ भयो। हेर्न असजिलो हुँदाहुँदै पदमले भिडियोमा जस्तै गर्न थाले। विमला उम्किन सकिनन्।

यसपछि पदमले फोन गर्दै असजिलो अवस्थामा पनि यौन प्रस्ताव राख्ने र स्वीकार नगरे समाजसामु बेइज्जत गरिदिने दबाब दिन थाले। विमला भन्छिन्, ‘यही मोबाइल फोनले गर्दा दुई बालबालिका र पति छोडेर दोस्रो विवाह गर्न बाध्य भएँ।’

०७१ असोज दोस्रो साता पाँचथरकै पञ्चमी गाविसका २८ वर्षीय देवी कटुवाल जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परे। उनीमाथि पनि मोबाइलमा अश्लील भिडियो हेरेर अमरपुर गाविसकी २० वर्षीया महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको छ।

‘पति बिदेसिएपछि मोबाइल र फेसबुकमार्फत भेटघाट र गफगाफ गर्ने आदत बस्यो। क्रमशः साथी थपिने क्रम बढ्यो। दैनिक चार–पाँचजनासँग कुराकानी हुन थाल्यो, हुँदाहुँदै फेसबुकमै चिनजान भएका एकजना केटासाथीले ‘आई लभ यू’ भनेर ‘म्यासेज’ पठाए। त्यसपछि अझ गहिरो कुराकानी हुन थाल्यो। एक महिना नबित्दै प्रत्यक्ष भेट गर्‍यौँ, पछि तिनै साथीले यौन सम्बन्धका लागि प्रस्ताव गरे,’ उनी भन्छिन्, ‘अहिले उनले मलाई शारीरिक सम्पर्कका लागि दबाब दिँदै अनेक धम्कीसहितका म्यासेज पठाइरहेका छन्। यो फेसबुक मलाई निल्नु न ओकल्नु भएको छ।’

पाँचथरमा पछिल्लोपटक मोबाइल र इण्टरनेटबाट अश्लील भिडियो हेरेर बलात्कार, दोस्रो विवाह र शारीरिक सम्पर्कको प्रयास भइरहेका थुप्रै घटना छन्। साउनदेखि असोजसम्मको तीन महिनामा मोबाइलफोन, फेबसुक, इमेल आदिब्ााट पीडित भएको भनेर जिल्ला प्रहरी कार्यालय पाँचथरमा ३६ आपराधिक घटना दर्ता भएकोमा महिला हिंसासँग सम्बन्धित २० वटा घटना छन्।

म्ाानवअधिकार संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २५ असोजमा सार्वजनिक गरेको तथ्याङ्कमा साउनदेखि असोजसम्म अभिलेखीकरण भएका १४ मानवअधिकार उल्लङ्घनका घटनामध्ये १० वटा महिला हिंसासँग सम्बन्धित छन्। तीमध्ये धेरैजसो प्रविधि प्रयोग गरेर भएका हिंसा छन्।
पछिल्लो समय सञ्चार सुविधासँग्ौ गाउँगाउँमा मोबाइलफोन र इण्टरनेट सुविधा विस्तार भएसँगै तिनको दुरुपयोगले महिला हिंसाका घटनामा वृद्वि भएको महिला मानवअधिकार रक्षक सञ्जाल पाँचथरकी सचिव गङ्गामाया आङदेम्बेको बुझाइ छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) दीपक पोखरेलका भनाइमा खासगरी युवती र श्रीमान् वैदेशिक रोजगारीमा गएका महिला प्रविधिको कारण पीडित देखिन्छन्। डीएसपी पोखरेल भन्छन्, ‘उनीहरूका मोबाइल नम्बर, फेसबुक आईडी पत्ता लगाउने र पछिलाग्ने केटाहरूको समूह नै सक्रिय भएको सूचना पाएका छौँ। त्यस्तो समूह हाम्रो निगरानीमा छ।’

हिंसाबाट बच्नका लागि फेसबुकमा नचिनेकालाई साथी नबनाउन, चिनेजानेकै भए पनि आवश्यकताभन्दा धेरै गफगाफ नगर्न, अश्लील भिडियो र तस्बिरहरू नहेर्न र ‘अपलोड’ नगर्न डीएसपी पोखरेलको सुझाव छ।

खासगरी डेरा लिएर सहरमा बस्ने महिलालाई साथी बनाएर दिउँसो एक्लै भएको मौकामा आपराधिक मनोवृत्तिका पुरुषले टेलिभिजन र फिल्म हुँदै अश्लील भिडियो देखाएर यौन शोषण गर्ने गरेका घटना आउने गरेको महिला अधिकारकै क्षेत्रमा क्रियाशील संस्था नारी विकास सङ्घ पाँचथरकी अध्यक्ष सविता राउत बताउँछिन्। यस्ता घटना हुन नदिन महिला स्वयम् सचेत हुनुपर्ने उनको सुझाव छ। खाली समय मोबाइल, फेसबुक र फिल्म हेरेर समय बिताउनुको साटो सानातिना उद्यम गर्ने वा सकारात्मक सन्देश दिने पुस्तक पढ्ने बानी बसाल्न महिलालाई उनको सुझाव छ।

पढ्ने उमेरमा अभिभावक बिदेसिनु, पढ्न छोडेकालाई पुनः विद्यालय पठाउने दायित्व समुदायले ग्रहण गर्न नसक्नु, पढाइ छोडेकाहरूले आवश्यकता र क्षमताअनुसारका रोजगारी नपाउनु आदि कारण यो उमेर समँहका व्यक्ति अपराधउन्मुख भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल बताउँछन्। महिला हिंसा र अपराधसम्बन्धी धेरैजसो घटनामा १३ देखि २० वर्ष उमेर समँहका युवाको संलग्नता पाइएको छ।

आफूलाई कसैले मोबाइल, च्याट आदिब्ााट तनाव दिएको वा सताएको छ भने तुरुन्त प्रहरीमा खबर गर्न प्रजिअ कँडेलले सुझाव दिएका छन्। ‘पीडितले प्रारम्भिक अवस्थामा नै हामीलाई सूचना दिए भने पीडक उम्कन पाउँदैन र पीडितले पनि लामो समय पीडा सहेर बस्नुपर्दैन,’ कँडेल भन्छन्, ‘तर, विभिन्न कारणले उजुरी गर्न ढिलाइ गरेमा त्यो तनाव हिंसा र हत्यासम्म पनि पुग्न सक्छ।’ (सञ्चारिका फिचर सेवा)

(लक्ष्मी द हिमालय टाइम्स पत्रिकाका पाँचथर संवाददाता हुन्।)

8 thoughts on “गाउँगाउँमा पुगेको मोबाइल र इन्टरनेटले यस्ता विकृति पनि सँगै ल्यायो”

  1. प्रविण कुमार के.सी. says:
    December 5, 2014 at 9:00 pm

    अब मोबाईल र ईन्टरनेटले बिकृति ल्यायो भनेर यो ब्याण्ड गर्न कदापी सकिंदैन । सूचना प्रविधिको जमानामा मोबाईल र ईन्टरनेट नचलाउन भन्नु पनि आफैमा हास्यास्पद कुरा हो । त्यस भित्र बिकृति र संस्कृति दुवै कुरा हुन्छ । लिनेको कुरा हो जस्लाई जे मन लाग्छ त्यही लिन्छ । मैले त यसबाट ज्ञानगुनका कुरा र सुविधा दुवै लिने गरेको छु । मनै त हो कहिले काँही यसो एकान्तमा छ्यास्स ……… पनि नहेरी बस्न सकिंदैन । कि त यस्ता कुरा ईन्टरनेट र मोबाईलमा राख्ने ब्यक्ति वा संस्थालाई कारवाही गर्न सक्नु पर्‍यो ।

    Reply
  2. kumar shrestha says:
    December 5, 2014 at 4:17 pm

    बुझने लाई face book सबै चिज न बुझने लाई कालो अक्षर भैसी बराबर जस्तै हो face book

    Reply
  3. Mk says:
    December 5, 2014 at 12:21 am

    विकृति न भित्र्याउन सरकार सजग हुनुपर्ने हो , तर सरकार आफै विकृति मा चर्लुम्म डुवेको छ , अनि किन येस्ता विकृति न होस् त् /

    Reply
  4. सुगतशरण तुलाधर says:
    December 4, 2014 at 3:48 pm

    के गर्नु सबै सिक्का को दुइ पाटो नै हुने रहेछ.
    दुरुपयोग नहुने कुनै कुरो मानिसले बनाउन सकेको छ र कुनै ?

    Reply
  5. Mohan Limbu says:
    December 4, 2014 at 8:58 am

    घटना चाही काल्पनिक जस्तो लाग्यो है मलाई किनभने मेमेङ मेरो छेमेकी गाँउ हो त्यहा साँवा थरको मान्छेहरु नै छैन अनि कसरी साँवाको कुरा आयो??

    Reply
    1. Rajesh Begha says:
      December 4, 2014 at 12:03 pm

      हौ ळुङ्घा, साँवा चाही माइती को थर हो हौ. अब हाम्रै आँखा अघि भाको कुरो अन्त गफ नदिउ ल.

      Reply
  6. Shruti says:
    December 4, 2014 at 3:21 am

    लेखक ज्यूले मोबाइल फोन र इन्टरनेटले बिकृति भित्र्याएको भन्नु भन्दा बरु यसको सुविधालाई गलत कार्यमा प्रयोग गरिएको र यसको सहि प्रयोग गर्ने तरिका सहितको सुझाबहरु दिनुभएको भए राम्रो हुन्थियोहोला. यो सबै मान्छेको विकृत मस्तिस्क र बिचारले हुने घटना हो. यस्ता व्यक्तिहरुले सेल फोन र इन्टरनेट नभए पनि घटना घटाई नै रहेका हुन्छन. हाम्रो नेपालमा आफुले गरेको गल्तिहरु सबै अरुलाई थुपारेर आफु चोखो बन्ने प्रबित्ति छ. फोन र इन्टरनेटको सहि उपयोगले के के गर्न सकिन्छा त येह भनिराख्नु पर्दैन सबैलाई थाहा छ तर हाम्रो नेपालमा चाई मानसिक बिकृति भएका मान्छेहरुले कसरि साधनको दुरुपयोग गर्न सक्छन र आफु कसरि सतर्क हुनुपर्छ भन्ने कुरा सिकाउनु जरुरि छ.

    Reply
    1. Shruti says:
      December 4, 2014 at 4:12 am

      प्रहरीले साधनको दुरुपयोगको र त्यसबाट सतर्क गराउन दिएको सल्लाह र सुझाबहरु लेखिदिनु भएको रहेछ तेस्को लागि धन्यबाद है.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme