Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हजारौँ गाडी गुड्ने ठाउँमा चरा रमाएको काठमाडौँको अति दुर्लभ दृश्य

Posted on November 27, 2014November 27, 2014 by Salokya

unnamed (6)
काठमाडौँमा चरा देखिनुलाई दुर्लभ दृश्य भनेको होइन है मैले। यो जुन ठाउँमा खिचिएको हो, त्यो ठाउँ अर्थात् पुरानो बसपार्कबाट भद्रकालीसम्मको बाटोमा बिहान १०/११ बजेको पिक आवरमा हजारौँ गाडी गुडिरहेका हुन्छन्, मान्छेको भिड त्यतिकै हुन्छ। त्यस्तो बेला सुनसान सडकमा चरा रमाएको देख्न पाउनु दुर्लभ दृश्य नै हो। कि यस्तो कर्फ्यु लागेको बेला देखिन्छ। कि चाहिँ यस्तो विशेष अवसरमा। यो अवसर जुराइदियो १३ वर्षपछि आएको सार्केश्वर मेलाले। जसरी विभिन्न ईश्वरको मेला केही फल पाइन्छ भन्ने आशाले मन परे नि नपरे नि गरिन्छ, त्यसरी नै जसलाई जति कष्ट भए पनि यो सार्केश्वर मेला घुमिफिरी १२/१३ वर्षमा एक पटक मनाउनै पर्ने रहेछ। तर पहिले पहिले आयोजना भएको सार्कलाई अहिलेको सँग तुलनै गर्न मिल्दैन। केही तथ्याङ्क हेरौँ न।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्क अनुसार पछिल्लो पटक अर्थात् १३ वर्षअघि २०५८ सालको पुसमा सार्क सम्मेलन आयोजना हुँदा उपत्यकाको जनसंख्या साढे १६ लाख पनि पुग्दैन थियो। अहिले अनुमान गर्नुस् त कति भयो ? दोब्बरभन्दा बढी अर्थात् ४० लाख।

बागमती अञ्चलमा दर्ता भएका अधिकांश सवारी साधन गुड्ने उपत्यकाकै बाटो हो। सवारी साधनको वृद्धि प्रतिशत झन् मान्छेको भन्दा बढी छ। उतिबेला २ लाख पनि सवारी साधन दर्ता भएका थिएनन्। अहिले त साढे सात लाख नाघेको छ।

त्यही भएर अहिले पहिलेभन्दा धेरै मान्छे यो सार्कका कारण पीडित भएका छन्।

unnamed (5)
सार्कमा सवारी हुनु घण्टौँ अघिदेखि बाटो यसरी खाली गरिन्छ। सवारी मार्गमा पसल खोल्न, झ्याल खोल्न अझ यहाँसम्म कि उभिएर हेर्नेलाई गोजीमा हात राख्न समेत दिइएको थिएन। सवारी नहुँदै कालिमाटीको खाली बाटोको मोबाइलले फोटो खिच्दा फुली लगाएका पुलिसले मलाई हकारे। मलाई नरोकेकोमा बिचरा पुलिसलाई पनि मोबाइलले फोटो खिच्न नदे भनेको होइन भन्दै हकारे। म चैँ पत्रकारको पास भिरेर हैन सर्वसाधारणको रुपमा थिएँ। सर्वसाधारणको पीडा अनुभूति गर्न खोजिरहेको थिएँ। कति ठाउँमा बाटो काट्न समेत दिएनन्। टुलुटुलु हेर्न बाहेक अरु उपाय थिएन। भन्नलाई सवारी साधनमात्र चल्न नदिने भने पनि पसलै बन्द गराउँदै हिँडेको देखियो। पैदलै हिँड्न रोकेको देखियो।

unnamed (7)
ट्राफिकले के गरेर हिसाब गरेको हो कुन्नि, तर तथ्याङ्क हेर्दा पनि एक घण्टाको सवारी मार्ग बन्दले २ लाख ६३ हजार जनसंख्या प्रभावित हुने देखाइएको छ। यी लाखौँ प्रभावितले प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गर्दा जस्तै जय सार्क भन्लान् त ?

Kathmandu Valley Traffic Police Press Meet for SAARC

4 thoughts on “हजारौँ गाडी गुड्ने ठाउँमा चरा रमाएको काठमाडौँको अति दुर्लभ दृश्य”

  1. रबिन्द्र धिताल says:
    November 28, 2014 at 8:55 am

    तेसै कारणले हो, मलाई काठमान्डौ फोहोरी भन्ने, काठमाण्डौको फोहोर मैला, धुलो धुवाँ भन्दै नाक खुम्च्याउने हरु देखि रिस उठ्छ,…कसका कारणले फोहोर भाको रहेछ त काठमान्डौ? काठमान्डौलाई गालि पनि गर्ने अनि तेही नै बस्न पनि आउनै पर्ने….यहाँ बसेर काठमान्डौलाई बद्नाम नगरौँ, सके सफा राख्ने कोशिश गरौँ नसके फोहोर नपारौं | मलाई त जस्तै भएपनि आफु जन्मे, हुर्केको ठाउँ काठमान्डौ नै रमाइलो र राम्रो लाग्छ |

    Reply
  2. डिल्ली says:
    November 28, 2014 at 6:25 am

    यो सार्केश्वर मेलाको “बन्द”ले दिएको नकारात्मक कुरा धेरै गरियो सकारात्मक कुरा पनि गरि हेरौँ न । काम परेरै हिड्ने हामी नेपालीहरू आखिर कम नै छौँ । अर्काकै काम गरिदिन सरकारी जागिर पड्काएकाले त काम गर्दैनन् भने नहुने रोकिएको कुरै छोडौँ । हिड्नेहरूको हुलमा केही रमिते छौँ होला, कोही कसैलाई कर्के आँखा लगाउने धुनमा छौँ होला । कोही कसैको खल्ति छाम्न त कोही घाँटीको सिक्रि उखेल्न । बाउले ठगेर, घुस खाएर, पैतृक सम्पत्ति बेचेर, लुटेर वा तुलो मारेर कमाएको उडाउन तम्तयारी लक्का जवान छोराछोरीको डेटिङ्मा कानको जाली फुट्ने गरी हु……इ….. गर्दै हुइकिने भट्भटेले डढाउने तेल जोगिएर विदेशी मुद्रा बचत भएको पनि हेरौँ । हु…..इ… गर्दै हुइकिदा चिप्लिएर सुइकिनेको ज्यान जोगिएको पनि विचार गरौँ । अर्बको छेउ खर्चेर बनाएको सडक भत्किन दिन एक दिन पछि सरेको पनि हिसाब गरेर हेरौँ । लोडसेडिङ मुक्त भएर दिनभर टिभी रमाएर हेरेको पनि नभुलौँ । जड्याहा बाउले भट्टी छिर्न नपाएर आमाको कपाल जोगिएको पनि गमेर हेरौँ । कति भेटिन्छन् भेटिन्छन् सार्केश्वर “बन्द”का बकाइदाका फाइदा ।

    Reply
  3. उपासक उदास says:
    November 28, 2014 at 12:35 am

    सामान्य नेपाली सबैले सार्केस्वर की जयकlर कसरी उद्घोष गराउने ?
    अर्को ८-१० वर्ष भित्र आउने सरकारहरुले मुख्य गरी यी ३ काम सफल गर्नु पर्छ –
    १. उपत्यका भित्र का आधा मन्त्रालय,क्यम्पस, अस्पताल अन्य शहरमा स्थान सारेर ;
    २. यहाँको वस्ती र आवादीलाइ न्यून गरी सडकको लम्बाई र स्तर उन्नति गरेर ;
    ३. सार्वजनिक यातायातको साधन वृद्धि र निजि मोटर बाइक संख्या नियोजन गरेर.

    Reply
  4. Karma Ten says:
    November 27, 2014 at 6:12 pm

    धन्यबाद सालोक्य जी,
    मा त हप्ता मा २ पल्ट काठमान्डौ सार्बजनिक यातायात बाहेक अरु गाडी चलाउने बन्द गर्ने पक्छ्य को परे/
    अझ बढी त ,खोजिरहेको तथ्यांक दिनु भयो / मुरी मुरी धन्यबाद/
    फाइदै फाइदा:
    यदि दर्ता भएको मधे १/२ मात्रै गाडी एकदिन चल्दा =७,५५७५६/२=३७७,८७८ गाडी.
    -सोझो हिसाब गर्दा पनि – १ गाडीले कम्तिमा पनि १ दिनमा खाने तेल = १ लिटर .
    -१ लिटर तेल को मूल्य =रू. ११५
    – ३७७,८७८ * ११५ =रू. ४३,४५५,९७०-
    – ४ दिन को तेल = ४*(४३,४५५,९७०) = रू. १७३,८२३,७७० बचत
    -नेपाल राष्ट्र बैंक अनुसार आजको विनिमय दर १ अम्रिकन डलर =रू.९८
    – रू. १७३,८२३,७७०/रू ९८. = अमेरिकन डलर १,७७३,७१३ बचत भएछ /

    अझ, मान्छे र चराहरु को मनको शान्ति र बिरामी न भएर मान्छे हरुको औसधो उपचार गर्न बाट बचेको रकम जोड्दा त ३- ४ मिलियन डलर बराबर को बचत भएको जस्तो छ/ प्रसासनिक खर्च १ मिलियन डलर लागे पनि अझै ३ मिलियन त बचेछ / अर्को कुरा, नेपाल को प्रचार पनि भयो /
    जय सार्क , जय काठमाडौँ बिदा…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme