Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जाजरकोटको पीडादायी यात्रा, प्रहरीलाई फोन गरेर के भो ?

Posted on November 21, 2014November 23, 2014 by mysansar

??????????जाजरकोटबाट सुर्खेत हिँडेको खचाखच यात्रु बोकेको एउटा बस बिहीबार बिहानै भेरी नदीमा खस्यो। राति अबेरसम्म न बस भेटियो, न त्यसमा रहेका कयौँ यात्रुहरु नै। केही लाश भेटिए, केहीको उद्दार भयो।

स‍ंयोगले केही दिनअघि यतै यात्रा गर्नुपर्‍यो। सञ्चार माध्यमहरुमा सवारी साधनले स्पिडमा गाडी कुदाए वा क्षमताभन्दा बढी यात्रु राखे कम्प्लेन गर्न प्रहरीले हटलाइन नम्बर दिएको सुनिएको थियो। तर यसमा फोन गर्दा कस्तो रेस्पन्स हुँदो रहेछ, आफैले भोगी हेरेँ।

कात्तिक १५ गते बिहान ७ बजे नेपालगञ्जबाट जाजरकोट सदरमुकामको लागि त्यसतर्फ प्रस्थान गरियो। गाडी सल्ली बजार पुग्यो। सल्ली बजार त्यो बजार हो जसको छेवैमा भेरी नदि बगेको छ । गाडी भेरी नदि तर्नको लागी एकमात्र विकल्प फेरी हो । फेरी मेसिनबाट चल्ने एउटा ठूलो डुङ्गा हो जसमाथि राखेर सवारीसाधनहरु नदी तार्ने गर्दछन् । तर त्यो चलेको छैन । वर्षायाममा भेरी नदिमा बढ्ने पानिको बहावसँगै यो बन्द हुन्छ र नदिमा पानीको वहाव घट्न थाले पछि चल्नु पर्नेमा यो चल्दैन । एक मात्र विकल्पनै बन्द भएपछि पारी बजार राकम गएर सार्वजनिक यातायातको प्रयोग गर्नुको अर्को विकल्प पनि छैन।
??????????

१० वर्ष भन्दा बढि भयो होला यो ठाउँमा पक्की पुल बन्ने प्रक्रीया शुरु भएको तर काम जस्ताको त्यस्तै छ । नदिको विचमा दुईवटा पिलर ठड्याएर छोडेको नै ४–५ वर्ष पुग्यो होला, पुरा बन्ने छाँट अझै २–४ वर्ष देखिदैन । झोलुङ्गे पुलको प्रयोग गरेर पारी जानु पर्छ । अनि वास्तवीक पीडादायी यात्राको सुरुवात हुन्छ ।

पारी पुगीयो । ११ बजे जाने भनिएको बस भित्र पाइला टेक्ने ठाउँ देखीएन । यस्तो पीडादायी यात्रा गर्ने हिम्मत आएन । सँगै गएको विमल भाइले भन्यो दाइ यो रुटमा यस्तै हो । त्यो त मैले पनि केहि महिना अघि केहि किमी यात्रा गर्दा महसुस गरीसकेको थिए । अझ अरुहरुबाट सुनिएको कहानीको कहालीलाग्दो कथा त थियो नै ।

अर्को बसमा जाने भए पछि ३–४ घण्टाको समय बाँकी भयो । म प्रायः खाली समय हुने बित्तीकै मोवाइलबाट फेसबुकसँग जोडीन पुगीहाल्छु ।जाजरकोटकोलागी बस कुर्दा प्रहरीले बसले धेरै यात्रु चढाएमा सोझै खवर गर्नको लागी सार्वजनिक गरेको फोन नम्बर सामाजिक सँजाल भरी छरीएका थिए ।

म पनि पछि परिनँ प्रहरीले सार्वजनिक गरेको सबै फोन नम्वर मोवाइलमा सेभ गरे कुनै बेला काम लाग्न सक्छ । २ बजे जाने भनीएको बस ३ बजे राकमबाट हिँड्यो । ११ बजे देखिको झोला सिटमा राखेर रिजर्भ गरीएकोले सिट सुरक्षीत नै थियो । जो पहिले बस्यो त्यसैको सिट हुदो रहेछ । बस भित्र कोच्न र कोचीन मिल्ने जति भित्र कोचिए । कोचिन नमिल्नेहरुलाई बसको स्टाफले ५०० मीटर अगाडि गएर बस्न उर्दी जारी गर्यो ।

क्षमता भन्दा बढी यात्रु नहालेको देखाउन वीचमा रहेको प्रहरी चौकीको आँखा छलेको जस्तो गर्यो । प्रहरी पनि नदेखेको जस्तो गर्यो । प्रहरीको लागी क्षमता भन्दा धेरै भनेको बसको छत मात्र रहेछ । बस भित्र चाहिँ जति र जसरी कोचे पनि त्यो क्षमता भन्दा धेरैमा पर्ने रहेनछ । ५०० मीटर अगाडी पुगेपछि बसलाई मौरीको झूण्ड जस्तो बनाएर बस अगाडी बढ्यो ।

राकम बाट जाजरकोट सदरमुकाम पुग्दा सम्म ६२ किमीको बाटोमा ५ वटा प्रहरी चेक पोष्ट छन् । प्रत्येक चौकीको २–३ सय मिटर अगाडी छतका यात्रु झर्दै २–३ सय मिटर पछाडी गएर फेरी चढ्ने गर्दा द्धन्दकालमा सेनाको सुरक्षा चेकीङको झझल्को आउथ्यो । प्रत्येक प्रहरी पोष्टको अगाडीबाट यात्रुहरुका हुल लुखुर लुखुर हिडेर अगाडी बढ्दा प्रहरीहरु उनीहरुलाई बाटो हिड्ने बटुवा मात्र सोचीरहेका हुन्थे वा आफ्नो पोष्ट अगाडी खाली गाडी कुदाएकोले आफूलाई सम्मान गरेको सोच्दथे तर ती सबै हुल २–४ सय मिटर अगाडी गएर फेरी बसलाई छोप्ने गरी छत र ढोकामा झुण्डीन पुगी हाल्थे । यो प्रकृया प्रत्येक प्रहरी चौकीको अगाडी र पछाडी एउटै हुन्थ्यो । यस्तै लुकामारी गर्दै गर्दै ६२ किमीको बाटोलाई ५ घण्टाको समय खर्चेर बस सदरमुकाम खलङ्गा पुगेको थियो ।

१६ गतेको खलङ्गा बसाई पछि १७ गते फर्कने निश्चित भयो । होटलमा एक विहानैको हल्लाले विहान अवेर सम्म सुत्ने बानी पुरा भएन । हल्ला पनि यात्रुहरुकै रहेछ । विहान ६ बजे खलङ्गाबाट सल्ली बजारको लागी छुट्ने बसको सीट भेट्न ५ बजे देखिनै बसपार्क पुगेर बसको सिटमा झोला राख्नु पर्ने रहेछ । तीनै यात्रुहरु ४ बजे देखी होटलमा हल्ला गर्दै थिए । फेरी त्यो बसको यात्राको पीडा हरु एक पछि अर्को हुदै मनमा आउन थाल्यो । सहज यात्रा गर्न सक्ने कुनै सम्भावना नै सोच्न सकिन । १ घण्टा होइन २ घण्टा अगाडीनै गएर सिट त रोकुँला तर सिटमा मात्र मान्छे हाल्ने भएपो त्यसो गर्नु । सिटहरुको वीचको भागमा खलासीले यस्तरी मिलाएर मान्छे हाल्छ की मानौ त्यो बस चढ्ने यात्रुहरु कुनै बट्टा भित्र प्याकहुने वस्तु हुन् ।

एक दिन अगाडी त्यो दृष्य देखेको मैले जतिनै सोचे पनि सहज यात्रा गर्ने विकल्प सोच्न सकिन । विचैमा विमल भाइले भन्यो दाई आज यताबाट जाँदा त अस्तीको भन्दा दोब्वर हुन्छ, दशै तिहार मानेर फर्कनेहरु अझै धेरै बाँकी छन् । अब चै मन साच्चै डराउन थाल्यो । अनेक तर्क र कुतर्कहरु मनमा आउन थाले । यात्रामा हुनसक्ने सबै सम्भावनाहरु मनमा आउन थाल्यो । केहि भइहाल्यो भने त्यस पछिका दृष्यहरु पनि मनमा नाच्न थाले । मनमा एक्कासी २०७१ सालको नवबर्षमा कुनै पत्रीकामा छापीएको वर्षभरीको राशीफल सम्झना आयो ।

बाटोमा मिल्काइएको त्यो पत्रिकामा लेखीएको थियो धनु राशीको लागी कार्तिक महिना बाट साढे सातको दशा शुरु हुन्छ। यसो सम्झे आजको मिति त कार्तिकको १७ गते पो रहेछ । अब मन झनै खङ्ङग्र भयो । मन यति तल्लो स्तरमा पुगेर डराउन र सोच्न थाल्यो कि आजको यात्रानै जिन्दगीको अन्तिम यात्रा हुनेसम्म सोच्न थाल्यो ।

११ बजेको बसको लागि ९ बजे नै बसपार्क पुगे । त्यहाँ पुगे पछि झनै मन अमिलो भयो । ११ बजेको बस खलङ्गा बसपार्कबाट जाने नभई अझ अगाडी रीम्ना भन्ने ठाउँ बाट आउने रहेछ । अब २ घण्टा पहिले झोला राखेर सिटमा बसेर जाउँला भन्ने सम्भावना पनि सकियो । रीम्नाबाट नै २३ हजारको चलानी भइसक्यो रे सर सिट त के पाइएला र भन्दै एकजना ब्यक्ति विहानै ठूस्स गनाउदै छेवैमा आएर भने पछि त्यसै त डराएको मन झनै निराश हुन थाल्यो । छेउमा बसेर टोलाउदै थिए अलि पर एउटा विरालोले बाटो काटेर फुत्त दौडीएको देखेँ, आँफू नहिड्ने बाटो भए पनि डराएको मनले त्यो अशुभ आफ्नै लागी हो भन्ने सोच्न थाल्यो । मन झनै निराश र कमजोर हुन थाल्यो । डराएको मनले समाजमा अशुभ भनेर मानिने सबै घटनाहरु एक पछि अर्को त्यही देख्न थाल्यो । सानो बच्चा दोडीदै थियो खुट्टाबाट चप्पल फूत्केर उल्टो हुन पुग्यो त्यो पनि मैले केहि समय पछि गर्ने यात्रको लागी अशुभ हो की जस्तै लाग्यो । पानी भर्न हिडेका हरुको रित्तो गाग्रीमा पनि कता कता बाट आँखा पुग्यो । धुलोले अलि चिलाएको आँखा पनि फर्फराएको जस्तो लाग्न थाल्यो । रातको समयमा मन डराएपछि आँफू अगाडीको ढुङ्गा पनि नाच्न थाल्छ भने जस्तै हुन थाल्यो । समाजमा मानिआएका अशुभका सँकेतहरु त्यहाँको एकछिनको बसाइमा सबै देखीन थाल्यो ।

११ बज्न १५ मिनेट बाँकी हुदैमा बस आइपुग्यो । खाना खाने समय भएकोले यात्रुहरु बसबाट झरेको देख्दैमा बस भित्र बसेर यात्रा गरुँला भन्ने सोच्न समेत छाडिदिए । अझ त्यहाँबाट चढ्न तयार भएर बसेकाहरुको सँख्या त्यस्तै डर लाग्दो थियो । बस हिड्ने तरखरमा थियो, कता बाट चढ्ने सोच्दै थिए । एकजना आएर टिकट लिन उर्दि जारी गर्यो । ६२ किमी को लागी रु ३५० को टिकट हातमा थमाईदिएर पैसा लियो । त्यो टिकटले सिटमा त के बस भित्र पनि छिर्न मिल्दैन थियो । केहि मिटर अगाडी रहेको प्रहरी चौकी अगाडी बस गएर रोकीयो । त्यहाँ सम्म मान्छेका हुल पछि पछि लागे । प्रहरी आएर बसको ढोका नजिकबाट भित्र चियायो तर कोचिएर रहेका यात्रुलाई क्षमता भन्दा धेरैमा गणना गरेन किनकी त्यहाँ सम्म छतमा यात्रु थिएनन् । बसको ड्राइभर र खलासीले चौकीका प्रहरी सँग केही खासखुस गर्दै थिए । बस भित्र खुट्टा राख्ने ठाउँ थिएन, ढोकामा त्यस्तै भिड थियो, कतै ठाउँ पाएर घुसौ कि भनेर दाउ हेर्नेको भिड उस्तै थियो, अझ एउटा हुल त प्रहरीको आँखा छलेर सोझै छतमा चढ्ने दाउमा केहि अगाडी गएर थुप्रीएका थिए । हातमा रहेको टिकटलाई बसको कुन भागमा अडीएर उपयोग गर्छु आँफैलाई थाहा थिएन । बस हिड्ने तरखरमा थियो ।
cam0244
दिमागमा एक्कासी प्रहरीले सार्वजनिक गरेको नम्बरको याद आयो । अहिले नगरे कहिले गर्ने ? मैले नगरे कस्ले गर्ने भन्ने सोचाइ आयो । सार्वजनिक गरीएको ५ वटा नम्बर मध्ये मोवाइल नम्बर ९८४९०९११३९ डायल गरे ।

प्रहरीः हेलो प्रहरी ………………………..
मः हेलो हजुर एउटा कम्प्लेन टिपाउँ की भनेर
प्रहरीः भन्नुस्
मः जाजरकोट खलङ्गाबाट सल्ली बजार जाने बसले क्षमता भन्दा ज्यादै धेरै मान्छे हालेको छ ।
प्रहरीः बस नम्बर ?
मः ना ४ ख ७३१४
प्रहरीः कहाँ वाट कहाँ जादै छ
मः जाजरकोटको सदरमुकाम खलङ्गा देखि सल्ली बजार ।
प्रहरीः बस अहिले कहाँ छ ?
मः बस खलङ्गाबाट हिड्नलागेको छ, प्रहरी चेकिङ्ग पोष्ट अगाडी छ । तर प्रहरीले देखेनदेखेको जस्तो गर्दै छ ।
प्रहरीः ल म सम्पर्क गर्छु है त ।

फोन काटीयो । बस अगाडी बढ्न थाल्यो । सवै बाहिरका यात्रु भित्र कोचिन थाले । बलिया हरु ढोकामा झुण्डीए । कतिपय यात्रु चढ्न सकेनन् छुटे । म पनि अगाडी बढेको बसको ढोकामा एउटा पाइला टेकेर एउटा हातले समाउने डण्डी भेटेर ढोकामा झुण्डीन सफल भए । बसभित्रको भागमा ज्यानको कुनै भाग थिएन । त्यही एउटा खुट्टा र हात टेकाउने ठाउँको लागी पो टिकट काटिएको रहेछ । खलासी कराउन थाल्यो । गुरु अब बसलाई पुतली कुदाउनुस् । कच्ची बाटोमा घिस्रीदै आएको बसले पीच बाटो भेटेको थियो रफ्तार पनि त्यही थियो । ओरालो बाटोको मोडमा बस मोडीदा बसमा टेकाइएको त्यही एउटा हात र खुट्टा पनि छुट्टीएला जस्तो हुन्थ्यो । खलासी भन्थ्यो अगाडीको चौकी कटेपछि माथी जाने हो ।

बस मटेलाको प्रहरी चौकीमा रोकीयो । माथीको आदेश भन्दै प्रहरीले बस अगाडी बढ्न दिएन । बस चालक र खलासी फत्फताउदै यताउता गर्न थाले । के भयो भन्दै सोध्न गएको एकजना यात्रुलाई खलासी घुर्न थाल्यो । कुन यात्रुले हो माथी कम्प्लेन गर्देको छ । बसलाई रोक्नु भनेर जील्लाबाट आदेश आएको छ रे । मन केही खुसी भयो । अब त त्यस्तो पीडादायी र असुरक्षीत यात्रा गर्नु नपर्ला भनेर अलि आशा पलायो । बसका कर्मचारी सबै कराउन थाले कुन रैछ त्यो कम्प्लेन गर्ने ? अब फेरी मन डराउन थाल्यो । कतै मलाई त चिन्दैनन् । हत्त न पत्त मोवाइलको स्वीच अफ गरे । र अलि पर गएर बसे । खलासी र ड्राइभरले कता कता फोन लगाएका थिए बस त फेरी पहिलेकै स्थीतिमा अगाडी बढ्न थाल्यो । अब झन् प्रहरी चौकीको अलि अगाडी गएर भित्र कोचिएका र भुण्डीएकाहरु सबै छतमा बस्न थाले ।

मैले छतमा नजाने निर्णय गरे । त्यसो भए ढोकामा नउभिएर भित्र उभिन खलासीले उर्दी जारी गर्यो । मैले भने भमिट हुन्छ म भित्र जान्न । जब बस भित्र उकुस मुकुसको स्थीति हुन्छ मैले भमिट थेग्न सक्दीन । बच्चा देखीको बानी हो । २–४ किमीको यात्रामा नै शुरु भएको पनि थुप्प्रै रेकर्ड छन् । यो यात्रामा भने ढोकामा बस्न खोज्नुको मुख्य कारण विहान देखि डराएको मन नै थियो । भोमिट मात्रबाट बच्न त म मज्जाले छतमा बसेर यात्रा गर्ने थिए । बसले कुनै बेला सँतुलन गुमाएको महसुस भयो भने ढोकाबाट फुत्त हामफालेर ज्यान जोगाउने भित्री सोच मेरो थियो । आखीर प्रायः सबै दुर्घटनामा ड्राइभर र खलासीले आफ्नो ज्यान जोगाएको समाचार पढ्दै आएको थिए । समग्रमा भन्नु पर्दा म त्यो यात्रामा दुर्घटना ब्यहोर्नको लागी लगभग तयार थिए । र त्यो दुर्घटना पछि आँफू बच्नको लागी पनि मानसीक रुपमा तयार थिए । बस आफ्नै पुतली रफ्तारमा थियो । तल तिर भेरी नदी बगीहेको थियो । नदिको कुन भागमा बस खस्यो भने आफू बच्न सक्छु कुन भागमा खस्दा बच्दीन भन्ने कल्पना गर्थे । फेरि बस कुदुको प्रहरी चौकीको ३–४ सय मिटर पछाडी रोकीयो । सबै चौकीमा सधै गरे जस्तै यात्रुहरुलाई ओरालेर हिडाएर बस प्रहरी चौकी कट्यो । तर बस यसपाली भने फन्दामा पर्यो । चौकीको ३–४ कि मी अगाडी प्रहरी छड्के चेकको लागी घुम्दै रहेछन् । बस रोकीयो । यात्रुहरुलाई झर्न नदिइ प्रहरीबाट फोटो खिच्नेकाम भयो । यात्रुहरु आफूलाई ढिला हुने भन्दै उल्टो प्रहरी माथी कराउन थाले । सँगैको विमल भाइले पनि ती दृष्यहरुको फोटो खिच्न थाल्यो । प्रहरीले क्यामरा नै फुटाउँला झै गरेर फोटो नखिच्न उर्दि जारी गर्यो । पत्रकार हुन् समाचार बङ्गयाएर लेख्दे भने आफ्नो जागीर नै धरापमा पर्ने हो की भन्ने डर रहेछ । मैले आफ्नो असली परीचय र फोटो खिच्नुको कारण बताए पछि केहि चिसो भए।

आफै माथि कम्प्लेन गर्ने आफै प्रहरीलाई गाली गर्ने भन्दै प्रहरी जँगीदै थियो । सबै चौकीमा बस केहि बेर अल्मलीएर बसका कर्मचरीहरु र प्रहरी वीच वादविवाद गर्दै छुट्दै बस गन्तब्य राकम सम्म पुग्यो ।

मन मनै सोचे ब्यर्थ कम्प्लेन गरीएछ । समस्या समाधान होला भनेर गरीएको गुनासोले कुनै चौकीका प्रहरीले पनि समाधान निकालेनन् बरु सबै प्रहरी चोकीले १–२ घण्टा ढिला मात्र गराए । कि बसलाई नरोक्नु कि रोके पछि झुण्डीर कोचिएर यात्रा गरेका यात्रुलाई अर्को ब्यवस्था गरीदिनु । कुनै समाधान नै नदिने र केहि घण्टा केरकार गरेर मात्र छोडीदिने हो भने सर्वसाधरणका गुनासाहरु त झनै ब्यर्थ हुने भयो ।

12 thoughts on “जाजरकोटको पीडादायी यात्रा, प्रहरीलाई फोन गरेर के भो ?”

  1. rosu says:
    November 27, 2014 at 4:35 am

    डिल्ली जी को कमेन्ट सारै रमाइलो पारा तर दुखद भोगाइ/ येस्तै छ नेपाल को यातायात को समस्या / नेपाल का नेता ले केहि गरेनन अब बरु मोदी जी लै पो गुहार्ने हो कि :?? बिरोद जी को समस्या सस्री रोचक छ/ तर एसको हाल भने कहिले होला सदै समस्या र दुख को बारे मा मात्र पद्न प़ाइन्छ तर समस्या को समाधान एसरी भयो भन्ने समाचार भने कैले नि पद्न पाइन/ कैले होला हाम्रो देसको उन्नति??

    Reply
  2. sugandha says:
    November 24, 2014 at 12:06 pm

    लेख राम्रो लाग्यो तर सधै अरु कै भर पर्ने भन्दा पनि त्यसमा हाम्रो पनि दोष छैन र? प्रहरीले त फाईन गरेर छोड्यो होला वा केही वेर रोकेर सोधपुछ गर्यो । के त्यो समाधान हो र ?बास्तब मा हामी नै खराब छोै,हामीले डाईँभर र सहायकलाई साथ नदिए हुन्न थियो र?

    Reply
  3. Limbu HarataraH says:
    November 22, 2014 at 7:29 pm

    यथार्थ, भोग्नेलाई छन् , चारैतिर त्यस्तै हो ‘ विरोध’ जी! पश्चिम के, पूर्ब के, पहाड या तराई उस्तै देख्छुं !!! प्रहरी के, नेता जे, बटुवा-यात्री सबैको अनुहार अनि बानि तपाई-हाम्रै ! झन् झन् दू:ख पो लाग्यो लेख पढेर..

    Reply
  4. sam says:
    November 21, 2014 at 12:56 pm

    देश घुम्ने मान्न छ तर येस्तई यात्रा ले मन काप छ.. पोखरा बाट फर्किदा बस को स्तेअरिङ्ग फेल भएर जन्दई खोला मा, धन्न साइड बाट आएको pick up मा ठोकिएर अडेर बचियो. देश भ्रमण अब TV बाट जिन्दाबाद

    .

    Reply
  5. biplov says:
    November 21, 2014 at 12:06 pm

    सबार यात्रुले चढ्ने ठाँउबाट टिकट लिने र झर्ने ठाँउमा पुगेपछी यात्राबाट सन्तुष्ट भए मात्र भाडा तिर्ने ब्यवस्था गर्नुपर्छ । यस्तो भयो भने सवारीका स्टाफहरूले कसरी यात्रुलार्इ स्थानमा झराल्ने र भाडा आर्जन गर्न सकिन्छ भन्नेमा सजग रहन्छन्, मेट्रोको भाडा प्रणाली जस्तै ।

    Reply
  6. Durga Adhikari says:
    November 21, 2014 at 9:12 am

    हामी आफै सचेत हुनु पर्यो नि हैनर? ब्यापारीहरुले हामी जनताहरुलाई बाध्यतामा पारेर फाईदा लिने गर्दछन/ हामीले पनि उनीहरुलाई यातायातका साधनहरु थपन बाध्य पर्न सक्छौ/ हामीहरुले पनि यातायातका साधनहरुमा सिट भरिय पछि नचढ्ने गरियो भने उनीहरुले हामीलाई जबर्जस्ति गर्न त् सक्दैनन्/ राज त् जनताकै हो तर राज्य गर्न जान्नु पर्यो/ सरकारको भर परेर कहिल्यी केहि हुने वाला छैन/

    Reply
    1. Shekhar says:
      November 21, 2014 at 3:36 pm

      तपाई सचेत भएर के गर्नुहुन्छ? दिनभरी मा २ भन्दा बढी गाडी नचलेपछि यात्रु ५०० गाडी २ अनि राजनीतिक सिन्डिकेट पैसो पार्टी कार्यालयमा जनता भेरीमा. खप्परमा हुनुपरोनि भा भए त भेरीमा बस चढ्न किन पुग्थे

      Reply
  7. डिल्ली says:
    November 21, 2014 at 8:41 am

    पहाडी यात्राको यो रोग यत्रतत्र छ । विहामा बसको छतमा बसेर जन्ति हिड्दा जस्तो । मध्य र सूदुर पश्चिमको यात्रा त अझ कडा । बस हो कि भीर माहुरीको चाको छुट्याउनै कठिन । मान्छेलाई भेडा बाख्रा र बोका सरह खाँद्छन् सानो ३-५ किलोको पोका समेत पैसा लाग्ने यात्री । मेरो अनुभब पनि उस्तै उस्तै हात्तिछाप चप्पल जस्तै छ । सल्यानको शितलपाटीसम्म आफूले कामठण्डुबाट लागेकै गाडीले पुर्यायो । सरकारी एकोहोरो पर्मिट बोकेर गएको गाडी अगाडी कुदाउन मिल्दैन रे । बस समितिले शितलपाटीबाट अगाडी बढ्ने अनुमति नै दिएनन् हामी चढेको फुच्चे गाडी । सिण्डिकेट सरकार भन्दा तगडा । त्यो रात शितलपाटीको बास । बिहान कुखुरी काँसँगसँगै उठेर बस चढ्ने हतारो । बसका सिट तुलसीपुरबाटै भरि भराउ । छतमा जाने आँट भएन । उभिन ३ तह चामलको बोरा प्यासेजमा । त्यही बोरामाथी टाउको र गर्धन खुम्च्याएर बसियो । खुट्टो हो कि काठ । ओल्टो कोल्टो फेर्न मनाही । टाउकाले छत प्वाल पार्ला भन्ने डर । टाउको नरिवरल भए पनि गिलो बन्ला भन्ने पीर । जसो तसो थारामारेबाट २ तह बोरा निस्के । एक हुल पनि घटे । अलिक सहज मुसीकोटसम्म । मुसीकोटबाट भोलिपल्ट जाजरकोट जानु पर्ने हिडेर गए १ दिन बसमा गए ३ दिन । भाडा पनि ३ हजार नाघ्ने हिडे निःशुल्क । हिडियो झोला बोकेर । कसो कसो ढाड सड्के छ । दिउँसो असिना पानी र चट्याङ् परेको थियो । फोन मरेछ । जाजरकोटबाट फोन गरौला घरमा हुलिया दिन पाइएला भन्ने आश । सदरमुकाममा १ महिना अगाडी नै फोन मरेको रहेछ । जाजरकोट-सल्लीबजार बस १२ बजे हिड्ने समय । आज जान्न रे यात्री थोरै भए रे । छिटो गन्तब्य जाने आस सोधि खोजी गर्दा चौरजहारीबाट नेपाल वायुसेवाको थोत्रो चीलगाडी पाउने आश मौलाएर आयो । ४ घण्टा ओह्रालो लागियो । जहाज नआएको १ महिना नै बितेछ । त्यहाँ पनि फोन मरेको ३ महिना बितेछ । बत्ति निकाल्न लागेको कुलो भत्कियो रे । बिजुली छैन । बिजुली पानी भए छ्यास्छ्यास्ती छ । अर्को दिन नेपालगञ्ज – जुम्ला जानु पर्ने । सम्पर्क गर्ने कतै उपाय छैन । औडाहा भरिएको मन । रातभरीको पानीले बस नाइ । हिडे १.५ दिन । बेलुका इटा बोक्ने ट्र्याक्टर देखियो । औंसीको दिन पूर्णिमाको चन्द्रमा जस्तो। आहा ढुङ्गा खोज्दा देउता भेटे जस्तो । गुरुजीसित भलाकुसारी गरेर जाने मेसो मिल्यो । इटा अनलोड गर्नु पर्ने । अनलोड दस्तुर २०० । इँटा मालिकले २०० तिर्नु पर्ने । किन तिर्नु ? रित्तो नलग्ला झारिहाल्ला । त्यही भएर मालिक बेपत्ता जसरी भएनी झार्नै पर्ने गुरुजीको गुनासो । मिलेर झारियो सल्लिबजार पुग्ने आसमा । ट्र्याक्टर चढेर बिहान हुइकियो । १२ बजे बस भेटेर चढाइदिए गुरुजीले । उनको सहृदयी मन । भाग्य बलियो सिट बस्नै भेटियो । ४ बजे सल्लिबजार पुगियो । सल्लिबजार-काठमाण्डौको बस मात्र बाँकी छ । काठमाण्डौ गए सिट र मुडामा, बुटवल नारायणघाट गए चमेरे सिट खाली । हामी कोहलपुर जाने छतको वायुपङ्खी सिट । छतमा १ पत्र मुलाका बीउको बोरा सिंहाशन । मेहेलकुनासम्म पुग्दा थपिएर ३ पत्र । पुलिस चौकी कति आए गए । अघि पछि छत चढ्ने ओर्लिने क्रम जारी । सड्केको ढाड । छन्चुको गाडी भेट्ने सम्भावना कम । कोहलपुरसम्म छतमा । बाटामा लत्रेको तार र रुखका हाँगाहरूका अनगिन्ति गेट । उज्यालोमा त देखियो तर्कियो । कोहलपुर पुग्न लाग्दा अध्यारोमा तारले गालो बजार्यो । इन्सुलेटेड परेछ । तोरीको फूलमात्र फू्ल्यो । यमराजको मुखबाट रेस्क्यु । यस्तै रह्यो मेरो पनि जाजरकोटे यात्रा ।

    Reply
  8. shankare says:
    November 21, 2014 at 6:06 am

    भरिएको बसमा क्षमताभन्दा बढी बस्ने अर्थात् लामो दुरीको यात्रा उभिएर गर्ने हरेक यात्रुबाट जनही ५०० रु दण्ड वापत लिए बेस हुन्थ्यो कि? अनि मात्र भरिएको बसमा जान्न भन्ने मानसिकता बस्थ्यो कि ?

    Reply
  9. Mk says:
    November 21, 2014 at 5:18 am

    पढ्दैमा एस्तो कहालीलाग्दो छ , झन् चड्दा कस्तो होला, गाँठे ?

    Reply
  10. Anuradha Poudel says:
    November 21, 2014 at 1:58 am

    सहि कुराको बिश्लेषण गर्नुभयो । धन्न बाँच्नुभएछ । यसरी यस्ता यात्राहरु कति गरियो गरियो ।

    Reply
  11. हृदय says:
    November 21, 2014 at 1:48 am

    धन्न उनै प्रहरीले लगेर “बेला कुबेला ठाउँ कुठाउँ कम्प्लेन गरेर हाम्लाई दुख दिने ?” भन्दै भकुरेनछन लेखक महोदयलाई 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme