— निष्प्रभ सजी —
अष्ट्रेलिया एड्भेन्चर एक्पोको दुइदिने प्रदर्शनी सकेर म अहिले सुमनसँगै घर फर्कँदै छु । सुमन घिमिरे, सिड्नीमा एक पर्यटन ब्यवसायीका नाताले आफ्नो व्यवसाय र सिंगो नेपाल चिनाउनलाई आएका हुन् । सुमन मेरा लागि ब्यापारी कम कवि र भाइ बढी हुन् । चितवनको सौराहमा हामीले जिन्दगीका मुल्यवान दुइबर्ष सँगै बिताएका थियौँ । एउटै घरमा । एउटै कोठामा । पर्यटनले मलाई तेहाँबाट आकर्षित गरेको हो । त्यसपछि हामी आ—आफ्ना बाटातिर लाग्यौँ । तलकोको कवितामा भनेजस्तै जिन्दगीको सियो पछ्याउँदा पछ्याउँदै । एक्स्पोमा हजारौँ अष्ट्रेलियन नागरिकहरूले भाग लिए । शनिवार र आइतबार दुवैदिन हामीले मिलेर नेपालको बारेमा बखान गर्यौँ । नेपालको बारेमा एउटै कुरा छ गर्व गर्न सकिने । नेपालको प्राकृतिक सौन्दर्य । बढाइ चढाइ गर्नै परेन । पर्यटकहरुलाई नेपालका तस्विरहरू देखाउँदै भक्तपुर— ललितपुर, माउन्टेन फ्लाइट, चितवन नेशनल पार्क, पोखरा, घोरेपानीको ट्रेकिङ हुँदै फेरि काठमाडौँ फर्कायौँ । कहिले रुट चेन्ज गर्यौँ । कतिपय त नेपाल गइसकेका भेटिए । गएकाहरूले नेपालको सुन्दरता र नेपाली आतिथ्यको खुलेर प्रशंशा गरे । एक्स्पो सकिएपछि लाग्यो हामीले आफ्नै देशलाई अन्डरएस्टिमेट गरेका छौँ शायद । हामीले जंगल सफारीलाई पनि फोकस गर्योँ । भन्यौँ, नेपाल हिमालको मात्र देश होइन । वाइल्डलाइफलाई झल्काउने हाम्रा फ्लेक्सहरु देख्दा एकजनाले त हामीलाई साउथ अफ्रिकाको एजेन्ट भन्ठाने । हामी हाँस्यो । एउटा रमाइलो अनुभूती लिएर अहिले फर्किंदै छौँ ।
“टपलेस मिस भयो है”
मैले सुमनलाई जिस्क्याउन थालेँ । सुमन हाँस्यो । लौ, तपाइँहरूलाई म हाम्रो ट्रेनभित्र छिर्नु भन्दा अलिकति अगाडिको प्रसंग रिवाइन्ड गराउँछु । सुमनका चारजात छत्तिस वर्णका साथीहरु मध्ये, एउटा साथीले हामीलाई केटाहरू थाक्यौ होला हिँड बार तिर जाउँ भने । मलाई ठिकै जस्तो लाग्यो । सिड्नीमा गर्मी छ, थकाई पनि छ, एक दुइ गिलास चिसो बियर खाँने प्रस्तावलाई सहजै स्विकायौँ । टाउनहलबाट साथीले हामीलाई विनियार्डसम्म हिँडाएर लगे । विनियार्ड ट्रेन स्टेशनसँगै जोडिएको एउटा बारको ढोकामा पुगेपछि थाहा भयो, बार बन्द रहेछ । अर्को कुरा पनि थाहा भयो । बार त बिना बार को बार रहेछ । “टपलेस बार”। साथीले पनि हँसाए । ठिकै भयो, बार कस्सो बन्द रहेछ । नत्र शरिर वाइघात सल्बलाउँथ्यो । त्यसपछि हामी बारभित्र होइन, ट्रेनभित्र छिर्यौँ । सुमनको साथीलाई मैले साथी, जानै मन भए गुगलमा सर्च गरेर जानुस् । ओपनीङ आवर हेर्न नबिर्सनु होला भनेर बिदा भएँ ।
सिड्नी ट्रेनको हामी बसेको डिब्बाको माथिल्लो तलामा वलाइक्रिक कटेपछि, मात्र सुमर र म थिग्रियौँ । मैले प्रसंग बदल्न चाहेँ । नेपालहुँदा सुमन र म एक अर्कालाई कविता सुनाउँथ्यौँ । संयोगबस मेरो नयाँ कविताको खेस्रा गोजीमा रहेछ । ट्रेनमा कविता सुनाउनु भन्दा मैले उसलाई कविता पढ्न आग्रह गरेँ । सुमनले कविता मन पराए।
अल्झिएको छु
जिन्दगीको सियो पच्छ्याउँदा पच्छ्याउँदै
सिलाउँछु भन्दै उध्रिएको समय
यतै कतै
धागोको गाँठो भएर
अल्झिएको छु !
जिन्दगीले दौडी भन्यो
म लगाम लगाएको घोडा भएर दौडिएँ
जिन्दगीले उड भन्यो
बाल्यकालको सपनामा उडेझैँ
नविसाउँदै ब्युँझिन पाएको भए हुन्थ्यो
उडे पछि मेटिएछ फर्किने बाटोको नक्शा
किन दौडिरहेका छन् ?
किन उडिरहेका छन् ?
ई सपनाझैँ लाग्ने मिराज सपनाहरू
मानौँ समयले
सपनाको पनि नक्कली प्रतिलिपी बनाइरहन्छ
झुक्याइरहन्छ मलाईनै
मेरै बाटो भएर
मेरै बाटो मेट्दै !
आज जिन्दगीको अनुहार भिन्न देखेँ
आज सपनाको अनुहार भिन्न देखेँ
आज मनको अनुहार भिन्न देखेँ
मनले भनिरहेको छ
यो सिलाई मन्जुर छैन मलाई
मन चाहन्छ
जिन्दगीले नरोजेको सपना देख्न
मन चाहन्छ
जिन्दगीले नरोजेको बाटो हिँड्न
आफ्नै मन भन्छ
म तँ भन्दा फरक हुँ
आफ्नै मन भन्छ
इ मृत सपनाहरूको पहाड नाघेर
जिन्दगीका मिराज इन्द्रेणीहरू भन्दा निकै पर
कालो नै सही
खुला आकाशमा बादल भएर उड्न मन् छ
हिँड्दा हिँड्दै छोडिएका पदचापहरू नमेटिँदै
ए जिन्दगी
परेको बेहोरुँला
एक चोटि मनको बाटो हिँड्न मन छ !
ए जिन्दगी
फुस्काइदेन एकचोटि
तैँले सुर्की पारेको
यो धागोको गाँठो
म, फेरि उध्रिन चाहन्छु ।
सुमनले सोधे, “दाइ कहिले उध्रिने त ?”
म हासेँ ।
“दाइ एकचोटि सुनाउनुस्”, सुमनले मेरै आवाजमा कविता सुन्न खोजेपछि मैले ट्रेनमा हामी मात्र भएको फाइदा उठाएँ । जिन्दगीमै पहिलो चोटि, मैले ट्रेनभित्रै कविता वाचन गरेँ । यो कविता लेखेपछि लाग्यो, यसमा बिम्बको नाउँमा कुण्ठाहरू उनिएका छन् । कुण्ठाहरु बिम्ब बन्न सक्दैनन् < मैले सुमन लाई सोधेँ । सुमनलाई मैले के प्रसंगमा यो कविता लेखेँ भन्ने उत्सुकता जाग्यो ।
बिजयकुमारको खुशी पढ्दा पढ्दै र आलोक नेम्वाङको आलोक निभ्नुको दोसाँधमा म यो कविता लेख्न प्रेरित भएको कुराले सुमनको उत्सुकतालाई केही हदसम्म सम्हाल्यो । बिजयकुमार खुशीमा सलल बगेका छन् । आशा छ, उनले प्राप्त गरेको यो स्वच्छन्दतामाथिनै उनले घमण्ड नगरुन् । आलोक सँग गएको बर्षनै एउटा म्युजिक भिडियोका लागि सँगै काम गरेकाले पनि यसले मलाई मनमा गाढा छाप छोडेर गएको छ । उनि शायद हलका भए होलान्, तर सबैलाई गर्हुङ्गो बनाएर गए । स्तब्धताको अस्विकार्य भारी बोकाएर गए । जसलाई स्विकार्नु बाहेक हामी सँग कुनै बिकल्प छैन । सोचेँ, यो कविता आलोकलाई श्रद्धाञ्जली भयो ।
गफिँदा गफिँदै हामी रिभस्वीमा आइपुग्यौँ । गाडी वलवर्थको पार्किङ्मा थियो । बारमा बियर पिउन नपाएको प्यासिभ प्रतिसोध स्वरुप, बोटलसप बाट एक कार्टुन बियर गाडीमा हाल्यौँ ।
कविता राम्रो छ.
मिराज: मृगतृष्णा