Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : बेग्लै जगतका रमाइला कुराहरु

Posted on November 9, 2014 by mysansar

Giraffe कुनै पनि आफूलाई पूर्ण थाहा नभएको बिषयमा आफ्नो चित्त नबुझ्दासम्म लागिरहने र सदैब कहीं न कहीं, कतै न कतै, कुनै न कुनै रुपमा फरक कुराहरुको महसुस गर्न चाहने इच्छा, अनि तत्परता पनि मान्छे यतिबिघ्न बिकसित हुनु पछाडिका २ वोटा थप कारणहरु हुन् |

सदैब एकै प्रकारका (Stereotype) कुराबाट मान्छे खुसी हुन पनि सक्दैन र उसले ताजगीपन प्राप्त गर्न पनि सक्दैन | तसर्थ यस पटक कोष, अणु, ब्रह्माण्ड, इलेक्ट्रोन, प्रोटोन, न्युटर्न आदिसंग प्रत्यक्षरुपले सम्बन्ध नजोडी मान्छे भन्दा बेग्लै कित्ताका केही सानाठुला जीवका घतलाग्दा स्वभाबहरु प्रस्तुत गर्ने जमर्को गरेको छु |

१) कुकुर:- संसारमा करिब ४० करोड कुकुरहरु छन् | झन्डै १५ हजार बर्ष पहिलेदेखि कुकुरलाई घरपालुवा जनावर बनाउन सुरु गरिएको हो | कुकुरका Labrador, Greyhound, Bloodhound, German Shepherd, Bulldog, Pit Bull, Golden Retriever, Collie, St Bernard, Great Dane, Boxer, Cocker Spaniel, Collie लगायतका प्रख्यात किसिम सहित सयौँ प्रकारका प्रजातिहरू हुन्छन् | अपराधी पत्ता लगाउन पुलिसले प्रयोग गर्ने, आँखा नदेख्ने व्यक्तिलाई बाटो देखाउने, छिनकोछिनमा पत्तै नपाई मूर्छा पर्ने व्यक्तिलाई धरालो (Care Taker) को रुपमा तथा सहयोगी (Guide) को रुपमा प्रयोग गरिने मुख्य कुकुर लाब्राडोर हो | हिमाली भेगमा हुने भोटे कुकुरहरुले गोठालाको काम पनि गर्दछन् | भोटे कुकुरहरु चितुवालाई समेत जित्ने साहासी हुन्छन् | कुकुरले फलफूल र सागसब्जी मन पराउँदैन | घीउ खायो भने कुकुरको स्वर सुक्छ र भुक्न सक्दैन |

कुकुरको सुँघेर गन्ध छुट्याउन सक्ने क्षमता मान्छेको भन्दा करोडौं गुणा बढी हुन्छ | अपराधीले कुनै पानीको सतह जस्तै:- नदी, ताल, पोखरी आदि पार गरेर गएको छ भने कुकुरले पत्ता लगाउन सक्दैनन् | कुनै अपराध पत्ता लगाउन कुकुरलाई गन्धको जोडिएको सम्बन्धको जरुरी पर्दछ | सामान्यतया कुकुरको आयु करिब १३-१४ बर्षजति हुन्छ | अफ्रिकाको जंगलमा पाइने हाइना (Hyena) कुकुर जस्तो देखिए पनि यो कुकुर बर्गमा पर्दैन, बरु बिरालो बर्गमा पर्दछ | संसारमा कुकुर पाल्न र उपचार गर्न बर्सेनि लाग्ने खर्चले ५ करोड मान्छेका आधारभूत आवश्यकता पुरा हुन सक्छन् |

तालिम दिएर कुकुरलाई भुक्ने बनाउन पनि सकिन्छ नभुक्ने बनाउन पनि सकिन्छ, अरु कुकुरलाई देख्ने बित्तिकै झम्टिने बनाउन पनि सकिन्छ, अनि कसैसंग झगडा नगर्ने बनाउन पनि सकिन्छ |

कुकुर सयौँ किलोमिटर टाढाबाट पनि आफ्नो घर आउन सक्छ | आफ्नो घरमुली घर नआउन्जेल कुकुरले अति नै चिन्ता मानेर बसेको हुन्छ | मान्छे असजिलोमा परेको कुरा कुकुरले अलक्कै थाहा पाउँछ | कुकुरलाई अँगालो हालेको मन पर्दैन | ड्युटीमा भएको बेला कुकुरले कहिलै खेल्न मन पराउंदैन तर ड्युटी सकिएपछि भने नखेली छोड्दैन | गन्धको दिशा पत्ता लगाउन कुकुरको नाक सधै चिसो हुनु पर्दछ | कुकुरलाई जिउमा पसिना आउंदैन, पसिनाको काम रयालले गर्दछ | मानिसमा स्वाद थाहा पाउने ९ हजारवटा स्वाद-ग्रन्थीहरु (Taste Buds) हुन्छन भने कुकुरमा जम्मा १७ सयवोटा, तर हाम्रा जम्मा ५० लाखजति मात्र गन्ध थापाउने Scent Receptors हुन्छन भने कुकुरका २ करोड जति |

२) बिरालो:- बिराला पनि संसारमा करिब ५० करोड जति छन् | बिगत करिब १० हजार बर्षदेखि मान्छेले बिरालो पाल्दै आएको अनुमान छ | बिरालो हिंड्दा अघिल्लो खुट्टाको डोबमै पछिल्लो खुट्टाको डोब पार्दछ | यसो गर्नुले हल्ला कम हुन्छ, जसको कारणले बिरालो आएको मुसा आदिले त्यति पत्तो पाउदैनन् | बिरालाको ढाडेलाई टम, पोथीलाई मोली र छाउरालाई किटन भनिन्छ | बिरालाले आफ्नो मालिकलाई खासै चिन्दैन | आफू खतरामा परेको महसुस गर्यो भने घाँटीमै झम्टिन्छ | रातीमा बिरालाले मान्छेले भन्दा ८ गुणा बढी देख्न सक्छ | संसारका बिराला पाल्न लाग्ने खर्चले १ करोड जति मान्छे पालिन सक्छन् |

बिरालो दिनमा १३-१४ घण्टासम्म सुत्छ | धेरै सुत्नुको कारण शक्ति संचय गर्नु हो | तालिम दियो भने बिरालाले ट्वाइलेटमा मात्र गएर दिसा पिसाब गर्ने गर्छ | प्राय भाले बिरालोको दायाँ हात चल्छ भने पोथीको बायाँ | बिरालो रुखबाट टाउको तल फर्काएर झर्न सक्दैन, मान्छे जस्तै गरी झर्नु पर्दछ | भाले बिरालाले बच्चा हुर्काउने काममा पोथीलाई कहिलै सहयोग गर्दैन | ढाडेले हरेक भाले बच्चा बिरालो, चाहे आफ्नै छोरो किन नहोस्, शत्रु सम्झन्छ र टोकेर मारिदिन्छ | बिरालाको उमेर करिब १२- १५ बर्षको हुन्छ | बिरालोले १०० भन्दा बढी प्रकारका आवाज निकाल्न सक्दछ | कालान्तरमा बिरालो पनि केही हदमा मान्छे जस्तै बोल्न सक्ने गरी बिकास (Evolve) हुनसक्ने कुरा बैज्ञानिकहरुले अनुमान गरेका छन् |

३) सिंह:- सिंह बिरालो बर्गको जनावर हो | औसतमा एउटा बयस्क भालेको सिंहको तौल करिब १८० किलो र पोथीको १३० किलो हुन्छ | सिंहको प्राय केही भाले, केही पोथी साथै बच्चा सहितको परिवार हुन्छ | सिंहको परिवारलाई प्राइड (Pride) भनिन्छ | सिंहले आफू बस्ने क्षेत्रलाई अग्ला रुखमा ठाउँठाउँमा पिसाब छर्केर अथवा आफ्नो अंग दलेर साँधसीमा लगाएको हुन्छ | आफ्नो परिवार बाहेको कुनै सिंह त्यो क्षेत्रभित्र प्रवेश गरेमा भिषण लडाईं हुन्छ | जुन भालेको जगर अथवा घाँटीको भुत्ला गाढा कालो हुन्छ, त्यससंग पोथीहरु बढी आकर्षित हुन्छन् | सिंहको गर्जन ८ किलोमिटर टाढासम्म सुनिन्छ |

सबैजसो सिकार गर्ने काम पोथीले गर्दछन | यदि पोथीलाई हम्मेहम्मे पर्न थाल्यो भनेमात्र भालेले सहयोग गर्दछन् | तर आफ्नो क्षेत्र रक्षा गर्ने जिम्मा भालेको हुन्छ | मारेको जनावरलाई कुनै एक छेउबाट खानु पर्ने सिंहको नियम हुन्छ | कुनै बच्चा झुक्किएर मारेको आहारको माथि चढ्यो भने दह्रो झापड खान्छ | बधेनीले आफूलाई देखेर नभाग्ने, अझ आफैतर्फ आउने कुनै प्राणीको बच्चालाई पनि मर्दैनन् बरु सुरक्षा दिने ठुलो प्रयास गर्दछन् | सिंहको उमेर पनि करिब बिरालाको जति नै हुन्छ | सिंह दिनमा २० घण्टासम्म आराम गर्दछ | सिंह अफ्रिकामा मात्र पाइन्छ, तर यो बुल्गेरिया, बेल्जियम, अल्बानिया, लग्जेम्बर्ग, निदरल्याण्ड, इथियोपिया, सिंगापुर, इंग्ल्याण्ड आदि देशको राष्ट्रिय जनावर हो |

४) जिराफ:- जिराफ प्राकृतिक रुपमा अफ्रिकाको जंगलमा मात्र पाइन्छ | यसको रंगले यसलाई शत्रुबाट बचाउँछ | जब जिराफ रुखको नजिक हुन्छ यसको टाटेपाटे रातो खैरो रंग ठ्याक्कै छायाँ जस्तो देखिन्छ | सिङ्ग हेरेर नै जिराफको भाले-पोथी टाढैबाट छुट्याउन सकिन्छ | दुबैको सिङ्ग हुन्छ तर पोथीको सिङ्ग रौंले घेरिएको हुन्छ भने भालेको खुलै हुन्छ | भालेका ५ वोटासम्म सिङ्ग हुन सक्छन् | जिराफको पुच्छरको रौँ मान्छेको कपालको रौँ भन्दा १० गुणा बढी बाक्लो हुन्छ | जिराफको जिब्रो बैजनी रंगको र मसिना रौँ ले ढाकिएको हुन्छ जसको कारणले रुखका काँडा पनि सजिलै खान सक्छ |

जिराफको छालामा देखिने थोप्ला मान्छेको हातको चक्र जस्तै हुन, कुनै एक जिराफको थोप्लो चक्र अर्कोसँग किमार्थ मिल्दैन | भाले जिराफ लड्दा सँगसंगै नारिएर उभिन्छन, र घाँटी फन्काएर् अर्कोलाई टाउकोले हान्छन् | जिराफको घाँटी १.५ देखि १.८ मिटरसम्म लामो हुन्छ | जिराफको पोथीले सधै उभिएर नै बच्चा पाउँछ, तर करिब २ मिटर माथिबाट खस्दा पनि बच्चालाई कुनै असर हुँदैन | नदी, ताल, पोखरी आदिमा पानी खाँदा जिराफले एकदमै खुट्टाहरु फट्टाउनु पर्छ नत्र पानी भेट्न सक्दैन | पानी खाने बेलामा नै यिनीहरु शत्रुको तारो बन्दछन् |

५) हात्ती:- हात्ती जमिनमा हुने जनावरमध्ये सबभन्दा ठुलो जनावर हो | हात्तीहरु मुख्यतया एशियन र अफ्रिकन गरी २ प्रकारका हुन्छन् | एशियन हात्ती अलि सानो र कालो हुन्छ भने अफ्रिकन एकदम ठुलो र फुस्रो हुन्छ | अफ्रिकन हात्तीका कान पनि ठूला हुन्छन् | एशियन हात्तीका भालेका मात्र दाह्रा (Tusk) हुन्छन भने अफ्रिकन हात्ती दुबैका दाह्रा हुन्छन् | कुनै खन्ने, ढाल्ने र चिर्ने काम गर्नु पर्दा हात्तीले दाह्राको प्रयोग गर्दछ | हात्तीको भालेलाई मत्ता (Bull), पोथीलाई ढोई (Cow) र बच्चालाई छावा (Calf) भानिन्छ |

ढोई करिब १२ बर्षको भएपछि मात्र सन्तान उत्पादनको लागी योग्य हुन्छ | हात्तीको बच्चा २२ महिनामा मात्र जन्मिन्छ | एशियन हात्तीको जन्मिने बित्तिकैको बच्चा करिब २०० किलोको हुन्छ भने अफ्रिकन हात्तीको बच्चा करिब २६५ किलो जतिको हुन्छ | बयस्क हुँदा औसत एशियन हात्ती ३ टनको हुन्छ भने अफ्रिकन ३.५ टनको हुन्छ | दुवै प्रकारका कुनै-कुनै भाले ५ टनसम्मका हुन्छन् | हात्तीले दिनमा २२० लिटरसम्म पानी खानु पर्छ | पोथीहरु प्राय समूहमा बस्छन भने भाले करिब १३ बर्ष जतिको भएपछि छुट्टै र स्वतन्त्र जीवन जिउन चाहन्छ |

हात्तीको कानमा रक्तनलीहरुको एक प्रकारको जटिल नेटवर्क हुन्छ | बाहिरी बातावरणको तापक्रम अनुसार कानको रक्तसंचार प्रक्रियामा परिवर्तन आउँछ, त्यसैले हात्तीको शरीरको तापक्रमलाई नियन्त्रण गर्दछ | हात्तीको सुंड झन्डै १ लाखवोटा मांशपेशी तन्तु र हजारौं सेन्सर तन्तुको समिश्रण हो, जसको कारणले हात्तीले सुंडले छामेर कुनै बस्तुको आकार, साइज, तापक्रम, खतरायुक्त छ छैन, धान्छ धान्दैन भन्ने कुरा पत्ता लगाउन सक्छ |

हात्ती कुनै पनि जनावर, आकार, अवाजसंग डराउँदैन तर प्राकृतिक बिपत्तिसंग एकदम डराउँछ | हात्ती ६०-७० बर्षसम्म पनि बाँच्न सक्छन् | हात्ती कहिलै उफ्रिन सक्दैनन् | हात्तीको छाला १ इन्च बाक्लो हुन्छ | कुनै हराएको साथी भेटियो भने हात्तीहरुले स्वागत समारोह गर्दछन् | हात्तीले मरेको हात्तीको सत्कारमा हड्डी छुने अथवा केही समय त्यो ठाउँमा मौन धारण गर्ने गर्दछ |

६) शार्क:- शार्क धेरै प्रकारका हुन्छन् | कतिपयले बच्चा पाउँछन् भने कतिपयले समुद्रको पींदमा फुल पर्दछन, जुन फुल पछि आफै बच्चा बनेर आफ्नो जीवन आफै सुरु गर्दछ | बच्चा पाउने शार्कको पनि जन्मिने बित्तिकै बच्चा आमाबाट भाग्न सक्नु पर्छ नत्र आमाले नै बच्चालाई खाइदिन्छ | प्राय शार्कहरु १ मिटरको हाराहारीका हुन्छन तर ह्वेल शार्क नामक शार्क १४ मिटरसम्म लामो हुन सक्छ |

शार्कको शरीरमा एउटा पनि हड्डी हुँदैन, संपूर्ण शरीर नै हाम्रो कान तथा नाकमा हुने जस्तै कुरकुरे हाडले बनेको हुन्छ | शार्कले ५०० मिटर टाढैबाट माछा हिंडेको चाल र गन्ध थाहा पाउँछ र प्रति घण्टा ३० किलोमिटरको गतिमा पौडेर उक्त माछालाई खाएरै छाड्छ | शार्कको सुँघ्ने शक्ति यति शक्तिशाली हुन्छ कि एउटा ठुलो पोखरीमा १ थोपा रगत खसाले पनि थाहा पाउँछ | शार्क समूहमा बस्दैन | शार्कहरु जतिखेर पनि दौडिरहेका हुन्छ | त्यसो गर्नुको मूल कारण पानीको छालले यिनीहरुको फुल्का (Gills) मा हानिरहनु पर्छ नत्र यिनीहरु अक्सिजन नपुगेर मर्छन् |

७) थपथाप:- ब्लु व्हेलले संसारका सबै प्राणीमध्ये सबभन्दा ठुलो आवाज निकाल्छ, जसको आवाज ८०० किलोमिटर टाढासम्म यन्त्रले थाहा पाउन सकिन्छ | घोडा र गाईहरू उभिएरै निदाउन सक्छन् | सलहको खुट्टाको मसल मान्छेको भन्दा १ हजार गुणा बलियो हुन्छ | झिंगा, लामखुट्टे, माउरी आदिले निकाल्ने आवाज मुखबाट होइन, पखेटाको फर्फराईबाट हो, र झिंगा औसतमा ३ हप्तासम्म मात्र बाँच्छ | भाले लामखुट्टेले टोक्दैन | सर्पले आँखा बन्द गरेको बेलामा पनि देख्न सक्छ | सेतो भालुको भुत्ला सेतो हुन्छ तर छाला भने कालोनकालो हुन्छ | गैंडाको खाग हड्डीले बनेको नभई खाँदिएको रौं को मुठोले बनेको हुन्छ, र यसको खाग सेवन गरेमा यौनशक्ति बढाउँछ भन्नु सबैभन्दा मूर्ख मान्छेले भन्ने कुरा हो |

1 thought on “विज्ञान ब्लग : बेग्लै जगतका रमाइला कुराहरु”

  1. Ashish says:
    November 10, 2014 at 7:20 am

    सिह भारतमा पनि पाइन्छ, (Asiatic lion), अफ्रिकाका भन्दा साना हुन्छन् । भारतको गिर निकुन्जमा मात्र सिह पाइन्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme