Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनलाइनमा भोट हाल्दैमा ‘झोला’ले अस्कर जित्दैन साथी हो, कुरा बुझौँ !

Posted on October 29, 2014October 29, 2014 by Salokya

fb-jhola1 नेपालीहरु अनलाइन भोटिङमा निकै अगाडि छन्। अरु कुरामा पछाडि भए पनि अनलाइन भोटमा कसैलाई जिताउनु पर्‍यो भने त हुरुरु नै ओइरिन्छन्। ठीकै पनि हो। अनलाइन भोट गरेरै दुई वटा सिएनएन हिरो नेपालीले जितिसके। अरु थुप्रै पुरस्कार पनि जितिसके। कुनै नेपालीले क्लिक गरेको भरमा अर्को नेपालीले केही जित्छ भने जिताइदिउँ न त। अरुलाई पो फूर्सद हुन्न। हामीसित त टन्नै फूर्सद छ।

अहिले फेसबुकतिर भाइरल भइरहेको छ अस्कर र ‘झोला’ फिल्मलाई अनलाइन भोट। झोला कथाका लेखक कृष्ण धरावासीदेखि पत्रकार, चिनेजानेका मानिस, सर्वसाधारणहरु यो लिङ्क सेयर गरिरहेका छन्।

fb-jhola1
झोलाका लेखक कृष्ण धराबासीले फेसबुकमा सेयर गरेको लिङ्क।

यो हल्लामा यस्ता मान्छेहरु समेत लागे

ओस्कारका लागि 9 Best Foreign Language Film को अनलाईन भोटिंग सुरु भयो ! अहिले सम्म को भोटिंगमा झोलाअग्र पंक्तिमा छ… http://t.co/nwJqWnSrFJ

— Jiba Lamichhane (@Jibalamichhane) October 29, 2014

पत्रकार

कृपया सबै मिली नेपाली चलचित्र झोलालाई भोटिङ गरौं,ओस्कार नेपाल भित्र्याउँ http://t.co/dG45HnZgTL

— Gajendra BUDHATHOKI (@gbudhathoki) October 29, 2014

क्यान सिइओ

being Nepali we must vote Nepali Movie "Jhola" for Oscar. http://t.co/lpjSR30aNj

— Bhawana Ghimire (@Bhawana999) October 29, 2014

नेपालीहरुले यति भोट गरेका छन् झोलालाई कि अघि हेर्दा ९० प्रतिशत भोट झोलालाई मात्रै !

त्यो लिङ्कमा क्लिक गरेर भोट पाएको आधारमा अस्कर जित्ने विदेशी भाषाको फिल्मको अन्तिम मनोनयनमा पर्ने भने होइन है। त्यसमा प्रष्ट होऔँ। रमाइलोको लागि भने जति भोट दिए पनि हुन्छ।

अनि अस्करमा मनोनयन हुने आधार के त ?

Academy of Motion Picture Arts and Sciences (AMPAS) का करिब ६ हजार जना सदस्यहरु हुन्छन्। ती मध्ये स्पेसल स्क्रिनिङ कमिटी बनाइएको हुन्छ। त्यही कमिटीले विदेशी भाषाका फिल्महरुका लागि इन्ट्री भएका फिल्महरु मध्येबाट ९ वटा फिल्मलाई सर्टलिस्ट गर्छ।

त्यही ६ बजार जना सदस्यहरुबाट दोस्रो राउन्डमा भोटिङ हुन्छ र विदेशी भाषाको उत्कृष्ट फिल्मले अवार्ड पाउँछ।

यसमा सर्वसाधारणले गर्ने अनलाइन भोटिङको कति पनि हात हुँदैन। त्यही AMPAS का सदस्यहरुको भोटिङले मात्रै महत्व राख्छ। नपत्याए अस्करको यो आधिकारिक साइटमा गएर हेर्नुस्।

अहिले भाइरल भइरहेको लिङ्क पनि अवार्डस् वाच नामको एउटा सामान्य तीन जनाले चलाएको साइट हो। अस्कर बाहेक एम्मी र ग्रायमी अवार्ड पनि क-कसले जित्ला भनेर अनुमान लगाउने काम यो साइटले गर्छ। यसै क्रममा यस पटक विदेशी भाषाको फिल्ममध्ये कसले जित्ला भनेर यो साइटले अनुमान लगाउन सर्वसाधारणलाई आग्रह गरेको मात्र हो। अस्कर अवार्ड आयोजकसँग यसको गोरु बेचेको साइनो पनि छैन।

राम्रोसँग पढ्ने हो भने त्यही लिङ्कमा नै मज्जाले लेखेका छन् कसरी छानिन्छन् फिल्महरु भनेर।

तर यहाँ त ओस्कर नै भित्रिने जस्तो कुरा गर्दै समाचार पो लेखिन थाले बाब्बै।

बिचरा साइट सञ्चालक पनि दङ्ग परिराहोला अहिले भोट ओइरिएको देखेर।

पोहोर अस्करले अनलाइन भोट खुला गरेकोले यसपालि मान्छेहरु झुक्किएका हुन सक्छन्। तर त्यो भोटिङले पनि अवार्ड चैँ जित्ने होइन। अनि भोट गर्ने ठाउँ पनि अस्करको आधिकारिक साइट अर्थात् यो हो।

अहिलेलाई त्यो तीन जनाले चलाएको साइटमा भोट गर्दै रमाइलो गरेमा कुनै हानी हुँदैन। अनलाइन भोट भएमा अस्कर पनि हाम्रै देशमा आउँछ भनेर मिठो कल्पना गर्नमा पनि कुनै हानी छैन। तर भोट गर्नेले यही भोटले अस्कर नेपालमा आउँदैन भन्ने चाहिँ बुझ्न जरुरी छ।

10 thoughts on “अनलाइनमा भोट हाल्दैमा ‘झोला’ले अस्कर जित्दैन साथी हो, कुरा बुझौँ !”

  1. abhinav says:
    October 30, 2014 at 5:38 pm

    ठीक भन्नु भयो सालोक्य जी खुलस्त गरिदिएकोमा धन्यबाद
    समस्याग्रस्त देश भये पछि जनताले ड्रीम लैंड मा जानू स्वाभाविक नै हो
    फेरी अनुराधा कोइराला जी को बेला माँ भोटिंग गरेको सबै ले समझी राख्या छन नै

    Reply
  2. गजेन्द्र बुढाथोकी says:
    October 30, 2014 at 4:31 pm

    नेपाली चलचित्र विश्वमाझ चिनाउनका लागि चलाइएका क्याक्पेनमा एक क्लिक गर्दैमा केही बिग्रनेजस्तो त लाग्दैन । एक जना उमेश श्रेष्ठले चलाएको ब्लग यति लोकप्रिय हुन्छ भने तीन जनाले चलाएको बेवसाइटका प्रचारले पनि केही अर्थ राख्ला नि !! नेटमा कम्तिमा झोला भनेर सर्च गर्दा भेटियो भने त्यसले सानो अंश भए नि सहयोग गर्ला कि !!
    राम्रा नेपाली सिनेमाका लागि प्रबर्धन खाँचो छ । ओस्कार आओस नआओस, नेपालमा पनि राम्रा चलचित्र बन्छन भन्ने सूचना दिन सकियो भने पनि धेरै हुन्छ ।

    Reply
    1. Biren says:
      October 30, 2014 at 10:30 pm

      वाह वाह गजेन्द्र जी कुरा क्या घुमाउनु भयो
      भोटिङ गरौं,ओस्कार नेपाल भित्र्याउँ भनेर ट्विट गर्ने अनि अहिले आएर ‘ओस्कार आओस नआओस, नेपालमा पनि राम्रा चलचित्र बन्छन भन्ने सूचना दिन सकियो भने पनि धेरै हुन्छ’ भन्ने ?
      तीन जनाले चलाएको बेवसाइटका प्रचारले पनि केही अर्थ राख्ला रे । के त्यो वेबसाइटको नाम तपाईँले पहिले कहिल्यै सुन्नुभएको थियो ? तपाईँले त सुन्नुभएको थिएन भने इन्टरनेटमा भएका लाखौँ साइटहरुमा त्यो साइटको के मतलब राख्छन् मान्छेले ? अलि नाम चलेको वेबसाइटले गरेको पोल भए त लौ तैबिसेक चर्चा भयो भन्ने मान्न हुन्थ्यो । फेसबुकमा २९१ जना फ्यान भएको र ट्विटरमा तपाईँको भन्दा कम ८८६ जना फलोअर भएको साइटको अनलाइन पोलले केही अर्थ राख्छ भन्ने लाग्छ तपाईँलाई ? त्यो साइटमा गरेको भोटिङले नेटमा सर्च गर्दा झोला भेटिएला भन्नु त दिउँसै तारा खोज्नु जस्तो मात्र हो

      Reply
  3. Rajan Upriti says:
    October 30, 2014 at 5:44 am

    गरि हैन ठगि खाने बाटो |

    Reply
  4. Suresh Wagle says:
    October 30, 2014 at 1:28 am

    सालोक्यजी,
    हो, यो ‘लिंक’मा भोट हालेर ‘झोला’ले ‘अस्कर’ जित्दैन तर यो सिनेमाको प्रचारप्रसार अवश्य हुन्छ । र अहिले ‘झोला’लाई साँच्चिकै प्रचार चाहिएको छ । तपाईँले उल्लेख गरेजस्तै विश्वभरि रहेका ‘Academy of Motion Picture Arts and Sciences (AMPAS) का करिब ६ हजार जना सदस्यहरू’ मध्य केहीको कानमा ‘झोला’ पार्न मात्रै पाइयो भने पनि नेपालको लागि फाइदा हुन्छ ।
    अनि यस चलचित्रका लेखक कृष्ण धराबासीलाई यो ‘लिंक’ले ‘अस्कर’ आउँदैन भनेर राम्रोसँग थाहा छ । उहाँले ‘फेसबुक’मा प्रचारप्रसारका लागि मात्रै यो ‘लिंक’ ‘सेयर’ गर्नु भएको हुनुपर्छ । मैले पनि ‘सेयर’ गरेको थिएँ ।
    हामी सबै मिलेर यो मौलिक नेपाली चलचित्रको प्रचारप्रसार गरौँ ।

    Reply
    1. Salokya says:
      October 30, 2014 at 9:29 am

      यसअघि नामै नसुनेको तीन जना मान्छेले चलाएको साइटमा गरिने अनलाइन भोटले कहीँ प्रचार हुन्छ ? अस्करका लागि त त्यहाँ अमेरिकामा गएर, निर्णायकहरुले हेर्ने स्क्रिनिङमा लबिङ गर्न सक्नु पर्‍यो। यसका लागि फिल्महरुले लाखौँ खर्च गरेका हुन्छन् (http://www.washingtonpost.com/lifestyle/style/new-lobbying-rules-in-effect–in-hollywood/2012/01/23/gIQAz535LQ_story.html) अनि त्यो यति झण्झटिलो हुन्छ कि ‘पिपली लाइभ’का बेला आमिर खानले सक्दो कोशिश गरे तर निर्देशक अनुशा रिज्भीलाई embarrassing लाग्यो (http://www.digitalspy.co.uk/bollywood/news/a289577/rizvi-oscar-lobbying-is-embarrassing.html#~oU8VoSzcxytYCJ) आमिर खानले त्यत्रो लबिङ गर्दा त टप नौमा छनौट हुन सकेन त्यो फिल्म, हाम्रा साथीहरु चाहिँ फेसबुकमा लिङ्क सेयर गरेर अस्करसित गोरु बेचेको साइनो नभएको साइटमा अनलाइनमा भोट गर्दैमा अस्कर भित्रिन्छ भन्ने भ्रम पालेर बस्याछन्। रमाइलोको लागि भोट गरौँ, तर यही भोट गरेर अस्कर जितिन्छ वा जित्न सकिन्छ भन्ने खालका प्रचारबाजी गरेर जनता नझुक्याउँ। WALT HICKEY भन्छन् The voting process is secretive and fundamentally un-pollable.If we don’t even know who the voters are, it’s not possible to poll them. (http://fivethirtyeight.com/features/why-its-hard-to-predict-oscar-winners/) फेसबुकमा भिडले भोट गरेर जित्ने भए किन यत्रो झण्झट गरिरहन्थे र अरु फिल्महरुले पनि।

      Reply
      1. kusan sharma says:
        October 30, 2014 at 4:19 pm

        सालोक्यजीको कुरा सहि हो,

        सिनेमामा सुधार गर्नु छैन,

        यस्ता फाल्तु हल्लाले कुनै कलाकारको हीत गर्दैन l

        Reply
  5. hemanta says:
    October 29, 2014 at 10:18 pm

    “यो हलै हल्लाको देश हो. ” भूपी शेरचन

    Reply
  6. Hemanta Bhattarai says:
    October 29, 2014 at 10:10 pm

    भनेपछि मैले गरेको भोट को पनि केहि काम लागेन !

    Reply
  7. Shankar says:
    October 29, 2014 at 8:45 pm

    यो पनि ” झोला ” फिल्म चलाउने बखेडा होला | ओस्कार को नाउ जोड दिएपछि मान्छे ले हेर्नेनै भए , प्रोड्युसर माला माल हुने नै भयो !!

    कोइ कोइ लाइ आइन्स्टाइन लाइ चुनौती दिएर , कोइ कोइ लाइ मनागल ग्रह मा पानि छ भनेर जे जसरि हुन्छ लाइट मा आउनु पर्यो भनेजस्तो | आफ्नो क्वालिटी को पनि बिचार गरम न हो |
    नम्बरी सुन लाइ कसै लाइरहनु पर्दैन भन्ने सुनेको छैन ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme