Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नागरिकता र राष्ट्रियता

Posted on October 21, 2014October 22, 2014 by mysansar

-निष्प्रभ सजी-

 

  •  देशलाई मैले सोधिन, तर घरलाई सोधेको थिएँ ! “घरले भन्यो, कमाएर आइज, बरु मलाईनै बन्दगी राखेर जा, पसिनालाई पैसा बनाएर10726703_10152083859094364_2035121078_n पठा”। टीका लगाएर घरबाट बिदा हुँदा, आगन दुख्यो । पोखरा छोडेरे राजधानी उड्दा माछापुच्छ«े बल्झियो । देश छोडेर उडेको जहाज , मलेशिया जाने नेपालीको हुलले भरिएको थियो। लाग्यो म मात्र रहेनछु । झ्यालबाट तलहेरेँ । इट्टाका थुप्रा जस्ता देखिने भक्तपुरका घरहरू किन पहिलो चोटि यसरी प्रिय लागे।अहिले मलाई राष्ट्रियता र नागरिकता फरक हुन् भन्ने यथार्थबोध भएको छ । मलाई मेरो नागरिकतासँग तेति लगाव छैन । अझ भनौँ मलाई कुनै देशको नागरिकतासँग लगाव छैन । एउटा प्रक्रिया वा प्रणालीसँग जोडिएर आफ्नो समाजिक जिवनयापन गर्दा चाहिने एउटा परिचय पत्र हो नागरिकता । तर राष्ट्रियता त्यो होइन । कुनै पनि ब्यक्ति कुन देशको नागरिक हो भन्ने तथ्यले भन्दा मलाई त्यो ब्यक्ति कहाँ जन्मियो र उसले आफ्नो बाल्यकाल कहाँ गुजार्यो, र उ आफ्नो बाल्यकालसँग कति सचेत छ भन्ने कुराले बढी महत्व राख्दछ ।
  • तिन बर्षदेखि निर्णय लिन सकेको छैन, किनकि म मेरै देशमा भिसालगाएर पर्यटकको रुपमा जान चाहन्न । मलाई नेपाली पासपोर्ट र नागरिकता सँग भन्दा मलाई मेरो मनभित्रको राष्ट्रियता सँग बढी लगाव छ । म नेपाल जाँदा यदी प्रवेशाज्ञा चाहिने वातावरण हुन्छ भने, म कदापि अरु देशको नागरिक हुन स्वाकार्ने छैन । यसमा मेरो आफ्नै स्वार्थ छ, राष्ट्रियताको स्वार्थ।
  • राष्ट्रियता बोकेर मान्छे जब राष्ट्रभन्दा पर हुन्छ र उसको निधारमा प्रवासी नेपालीको ट्याग लाग्छ, उसकालागि राष्ट्रियता ऐठन भइदिन्छ । यो नेपालभित्रका नेपालीले पनि बुझ्नु जरुरी छ । कास्कीको मान्छे, अबसरका लागि नेपालगञ्ज पुगेको छ, दार्जलिङ पुगेको छ, तेस्तै नेपाली मलेशिया, बेलायत, जापान, अष्ट्रेलिया र अमेरिका जस्ता देशहरूमा पुगेको छ, तर उ आफ्नो राष्ट्र र राष्ट्रियताबाट पलायन भएको छैन।

नागरिकता र राष्ट्रियता

-निष्प्रभ सजी-

हरेक नेपाली नेपालमा जन्मँदैमा देशभक्तीको डिएनए खाएर जन्मँदैनन् । देशप्रति त के, कति त आफ्नै परिवार र समाज प्रति पनि कर्तव्यनिष्ठ हुँदैनन् । तर बाउ आमा नेपाली नागरिक छन् भने उमेरको सिमा नाघेपछि नेपालीले नेपाली हुनुको बैधानिकता प्राप्त गर्दछ, अथवा उ नेपाली नागरिक हुन्छ । जहाँ जान्छ, नेपालीहुनुको प्रमाण स्वरुप नेपाली नागरिकताको प्रमाण पत्र देखाउँदछ । अब राष्ट्रियता के हो त यसको कुनै पाठ्यपुस्तकमा पाइने जस्तो परिभाषाको अपेक्षा कसैले पनि गर्दैन होला शायद ।  मलाई लाग्छ, राष्ट्रियता, राष्ट्र र जनताबीचको एउटा यस्तो आधारशिला हो जहाँ उभिएर कुनैपनि नागरिकले आफ्नो राष्ट्रको कहिले कुभलो चिताउँदैन र सँधै  समुन्नत राष्ट्रको परिकल्पना गर्दछ । हरेक मान्छे, देशको नागरिक हुनु अगाडि अथवा स्वाबलम्बी राष्टप्रेमी हुनु अगाडि एउटा आकृति हो जो कतै बाउ, कतै आमा, कतै दाई, कतै दिदी भएर उभिन्छ । एउटा जिम्मेवार पारिवारिक परिचय बोकेर उभिएपछि उ त्यहाँ पनि कर्तब्यनिष्ठ हुन चाहन्छ । नागरिकता, देशको सुरक्षाका लागि बनाईएको एउटा नियम अथवा प्रक्रियाको साँघुरो घेरामा बाँधिएको हुन्छ, तर राष्ट्रियता त्यो भन्दा धेरै माथि ।

मलाई पनि बाले सोर्ह बर्ष पुग्ने बित्तिकै जि.प्र.का. कास्कीमा पासपोर्ट साइजको ढाका टोपी लगाएर खिचेको फोटो लिएर लाइनमा बसाल्नु भयो । पुरानो ढड्डामा बल्ल तल्ल मेरो जन्मदर्ताको विवरण फेला परेपछि, दिउँ कि नदिउँ गरेर मलाई प्रशासनले घरफर्किनु अगाडि नागरिकता दिएर पठायो । नागरिकता पत्रको निकै महत्व थियो । मैले आफ्ना अन्य प्रमाणपत्रहरूसँगै निकै जतन गरेर बचाएर राखेँ नागरिकता । बरु अहिले कहाँ छ ठ्याक्कै थाहा छैन । दराज भित्रको कुनै फाइलभित्र छ होला । तेतीखेर मलाई राष्ट्रियता र नागरिकता उस्तै हुन् जस्तो लाग्थ्यो र मैले नागरिकतालाई बढी जतनका साथ राख्थेँ । अहिले मलाई राष्ट्रियता र नागरिकता फरक हुन् भन्ने यथार्थबोध भएको छ । मलाई मेरो नागरिकतासँग तेति लगाव छैन । अझ भनौँ मलाई कुनै देशको नागरिकतासँग लगाव छैन । एउटा प्रक्रिया वा प्रणालीसँग जोडिएर आफ्नो समाजिक जिवनयापन गर्दा चाहिने एउटा परिचय पत्र हो नागरिकता । तर राष्ट्रियता त्यो होइन । कुनै पनि ब्यक्ति कुन देशको नागरिक हो भन्ने तथ्यले भन्दा मलाई त्यो ब्यक्ति कहाँ जन्मियो र उसले आफ्नो बाल्यकाल कहाँ गुजार्यो, र उ आफ्नो बाल्यकालसँग कति सचेत छ भन्ने कुराले बढी महत्व राख्दछ ।

म पन्ध्र बर्षको हुँदा मेरो बुवाले हाम्रो घर बेच्नु पर्यो जसमा मैले मेरो सम्पूर्ण बाल्यकाल बिताएको थिएँ र स्कुल जिवन पार गरेको थिएँ । मेरो घर हेमजा गा.बि.स.को वडा नं ९ मा पर्दथ्यो । हामीसँग एउटा पुर्खौली बारी बाँकी थियो जुन वडा नं ८ मा पर्दथ्यो । बुवाले घर त्यतै सार्नु भयो । मेरो अपरिपक्क मनोबिज्ञानमा यो बसाईं सराई एउटा दुर्घटना जस्तै बोध हुन्थ्यो । मैले सधैँ ठेगाना बताउँन खोज्दा वडा नं ९ भन्ने पुग्थेँ र रुचाउँथे पनि । किनकि पुरानो वडा सँग मेरा संवेदना जोडिएको थियो, तर भौतिकता जोडिएको थिएन । त्यसपछि मेरा परिवारका लागि केही बर्षहरू अत्यन्तै कठीनताका साथ बिते ।  मलाई त्यो गाउँमा मात्र त्यत्ती कारणले बस्न मन लागेन । अथवा मेरो सोच अपरिपक्क थियो । अथवा मेरो मनोबिज्ञान बुझ्ने प्रयास कसैले गरेन । म त्यसपछि बाँके तिर लागेँ । केही बर्ष चितवनमा बिताएँ । फेरी आफ्नै घर फर्किएँ । जिन्दगी अलि बुझ्न थालेँ । घर फर्किनु बाहेक शायद कुनै अर्को बिकल्प पनि थिएन । मलाई एउटै कुराको डर थियो कि म गलत बाटोमा नलागुँ । साथीहरू थिए । म निकै स्वतन्त्र थिएँ । र मेरा पुरा हुन नसकेका आधारभूत आवश्यकताहरू पनि मैले छुनै नसक्ने उडान उडिरहेका थिए । म जसो तसो उभिइरहेको थिएँ । मलाई मेरो स्नातक पार गरेर एउटा जागिर खानु थियो । तर स्नातक सकिन्जेलसम्म आबश्यकताहरूले कुर्न मानेनन्, मैले बीचमै पढाउन थाले । कहिले ट्राभल एजेन्ट भए, कहिले एम.आर. भएँ, त कहिले शिक्षक । मैले मलाई पाल्न सक्छु भन्ने आँट आयो तर बा को ब्यापारमा यति धेरै असर परेको थियो कि मैले मात्र मलाई सोचेर हिँड्ने वातावरण थिएन । मैले बिदशिने निर्णय गरेँ । मलाई राम्रो सँग थाहा थियो, मेरालागि यो एउटा सम्झौता थियो । आज छ बर्ष भयो । घरले बल्ल शास फेरेको छ । म बल्ल मैले जिम्मेवारीको नाउँमा बिचमै छोडेको मेरो रोजाइको अध्ययन गर्दैछु । मैले पढाई सकुन्जेल मेरी छोरी यहीँको स्कुल जान्छे । म यहाँका नेपालीहरूझैँ छोरीकालागि स्वार्थी हुँला । छोरी सिड्नीमै जन्मिएकी हो । मैले मेरो लक्ष पुरा गरुन्जेल उ यहाको स्कुल जान थालि सक्ने छे । मैले पहिले पनि भनेको छु । यो बिदेशुनु भनेको वन वे ट्राफीक भएको अनन्त लामो मोटर वे रहेछ । यु टर्न कहाँ निर आउँछ, र यो यात्राले कहिले निकास पाउँछ ? सजिलै भन्न सकिँदैन । तर म जहाँ भएपनि मेरो बाल्यकालको पुरानो वडा नं जस्तै प्रिय छ मेरो राष्ट्रियता । जाबो एउटा वडा बाट अर्को वडामा सर्दाको क्षण त एउटा दुुर्घटना लाग्छ भने, कुनै पनि मान्छे, आफ्नो घर र समाज छोडेर अर्को जिल्ला, शहर वा अर्को देश कतैजाँदा पनि खुशी पक्का हुँदैन । मान्छे मात्र खुशी हुन पनि त जन्मिएको होइन । हामीलाई इश्वरले जिम्मेवार बनाएको छ । हामी हाम्रो जिम्मेवारीमा खुशी हुन्छौँ ।

एउटा राजपरिवारको युवराज एक्कासी नागरिक भयो । दरबार बाहिर आयो । पूर्व युवराज पारसको बर्तमान अवस्थाको जिम्मेवार हामी पनि छौँ, अझ बढी  उनका बा आमा छन्, र सबैभन्दा बढी स्वयं उनै छन् । उनले जिवनलाई शिक्षाको रुपमा लिन सकेनन् र कुलत मा फँसिए । मलाई पारसलाई देख्दा थुप्रै युवाहरूका अनुहार अगाडि आउँछ । जिवनमा बिभिन्न कारणबश कहालिलाग्दो समय गुजारिरहेका छन् । यो यथार्थको उपचारकालागि सोच्नु पर्छ । यो बल्ल खाइस् भन्ने बेला होइन । नराम्रो घटनालाई भविष्यका लागि हामीले पाठशालाको रुपमा लिन सक्नुपर्छ ताकि यस्ता घटनाक्रम नदोहोरिउन् । पारस शाहको यो सार्वजनिक रुप यदि सत्य हो भने, यो हाम्रो सिंगो समाज र राष्ट्रलाई नै समयले गरेको चुनौति हो । यसलाई हामीले संवेदनशिल भएर स्विकार्नु पर्छ र समाधानको खोजी गर्नु पर्छ । भुतपूर्व राजपरिवारको पारस शाहको त यस्तो दुर्दशा छ भने, हाम्रा घरपरिवारका पारसहरू कुन दशामा होलान् वा हुनेछन् ?

एउटा कुरा बारम्बार आइरहन्छ, म अष्ट्रेलियाको नागरिक बनौँ कि नबनौँ । तिन बर्षदेखि निर्णय लिन सकेको छैन, किनकि म मेरै देशमा भिसालगाएर पर्यटकको रुपमा जान चाहन्न । मलाई नेपाली पासपोर्ट र नागरिकता सँग भन्दा मलाई मेरो मनभित्रको राष्ट्रियता सँग बढी लगाव छ । म नेपाल जाँदा यदी प्रवेशाज्ञा चाहिने वातावरण हुन्छ भने, म कदापि अरु देशको नागरिक हुन स्वाकार्ने छैन । यसमा मेरो आफ्नै स्वार्थ छ, राष्ट्रियताको स्वार्थ । मेरा थुप्रै नेपालीहरूले यताको नागरिकता लिएपनि उनीहरू अष्ट्रेलियन हुन सकेका छैनन्, र हुने पनि छैनन् । उनीहरू अझैपनि समारोहहरूमा कण्ठस्थ नेपाली राष्ट्रिय गान गाउँछन् र अष्ट्रेलियन राष्ट्रिय गान आउने पालोमा मुखाग्र गर्न पनि सक्दैनन् । उनीहरू जिवनको मोडमा जिवन यापन गर्नकै लागि यता आएका हुन् । एउटा अवसरको खोजीमा जसरी गोर्खाहरू मलेशिया, ब्रिटेन, सिंगापुर र भारत तिर लागे, यो सबैको एउटा जीवन युद्ध हो । यसलाई राष्ट्रियता सँग जोडिनु हुँदैन । उनिहरूले जहाँको नागरिकता बोकेपनि उनीहरूको राष्ट्रियता मात्र नेपालसँग जोडिएको छ । उनीहरूका सन्तानहरूका लागि भने यो लागु हुने छैन । नयाँ जेनेरेशन सँग नेपालीका जस्तो अनुहार हुनेछ, तर संवेदना हुने छैन ।

राष्ट्रियता बोकेर मान्छे जब राष्ट्रभन्दा पर हुन्छ र उसको निधारमा प्रवासी नेपालीको ट्याग लाग्छ, उसकालागि राष्ट्रियता ऐठन भइदिन्छ । यो नेपालभित्रका नेपालीले पनि बुझ्नु जरुरी छ । कास्कीको मान्छे, अबसरका लागि नेपालगञ्ज पुगेको छ, दार्जलिङ पुगेको छ, तेस्तै नेपाली मलेशिया, बेलायत, जापान, अष्ट्रेलिया र अमेरिका जस्ता देशहरूमा पुगेको छ, तर उ आफ्नो राष्ट्र र राष्ट्रियताबाट पलायन भएको छैन । किनकि यो असंभव छ । राष्ट्रियता पलायन हुनै सक्दैन । नेपालीहरू आ—आफ्नो ठाउँबाट जहाँबाटपनि राष्ट्रकोलागि योगदान पुर्याउन सक्छन् । कोही चाहन्छन्, कोही चाँहदैनन् । यो ब्यक्तिमा निर्भर पर्छ । जसरी नेपाल भित्रपनि नेपाली नागरिकता बोकेका थुप्रै नेपालीहरू छन्, जो राष्ट्रप्रेमी छैनन् । औसतमा मजदूरी गरेर परदेशमा खट्ने नेपाली, जो सकी नसकी पैसा बचाएर आफ्नो परिवारको जिम्मेवारी पुरा गरिरहेको छ, त्यो नेपालमा राष्ट्रिय पोशाक लागेर सरकारी तलब खाएर जनतालाई झुक्याइरहने नेता वा भ्रष्ट कर्मचारी भन्दा कैंयौ गुना राष्ट्रियताले ओत प्रोत छ । को बाहीर छ वा को भित्र छ भन्ने होइन, को राष्ट्रप्रेमी छ वा को राष्ट्रघाती छ भन्ने छुट्याउन आवश्यक छ ।

देशलाई मैले सोधिन, तर घरलाई सोधेको थिएँ ! “घरले भन्यो, कमाएर आइज, बरु मलाईनै बन्दगी राखेर जा, पसिनालाई पैसा बनाएर पठा”। टीका लगाएर घरबाट बिदा हुँदा, आगन दुख्यो । पोखरा छोडेरे राजधानी उड्दा माछापुच्छ«े बल्झियो । देश छोडेर उडेको जहाज, मलेशिया जाने नेपालीको हुलले भरिएको थियो । लाग्यो म मात्र रहेनछु । झ्यालबाट तलहेरेँ । इट्टाका थुप्रा जस्ता देखिने भक्तपुरका घरहरू किन पहिलो चोटि यसरी प्रिय लागे । आत्मिय लागे । अष्ट्रेलिया आएपछि, मलाई घर, आगन, हिमाल, ताल भन्दा नेपाल प्रिय लाग्यो । नेपाल जसलाई हामीले भूगोल पढदा नक्सामा पटक पटक कोर्थ्यौँ, त्यो भन्दा फरक रहेछ । नेपाल, सिमाना भन्दा फराकिलो रहेछ । नेपाल भनेको देशमात्र होइन रहेछ । एउटा अस्तित्व रहेछ । एउटा परिचय रहेछ । मलाई कसैले नाम सोध्यो भने उसले मेरो नाम होइन, नेपाललाई सोधेझैँ लाग्थो । कसैले चिन्दैनथे, मलाई झोक चल्थ्यो । नेपाल देशको होइन मेरै नाम भएको छ । अब कसैले भन्छ, म पलायन भएँ । म कहाँ म मात्र हुँ र पलायन हुने ? म फराकिलो नेपालको एउटा यात्री हुँ । मनभरी नेपाल बोकेर, जिन्दगीको यात्रामा अबिश्रान्त हिँडिरहेछु । नेपालछोडेपछि थाहा पाएको छु, देशको सिमाना हुँदोरहेनछ । म पनि नेपाल हुँ । म पनि नेपालको एक टुक्रा भूगोल हुँ । यतिखेर छुट्टिएको छु ।

27 thoughts on “नागरिकता र राष्ट्रियता”

  1. aakash says:
    October 25, 2014 at 6:49 pm

    दिन रात विदेश गा’का दाजु भाई, साथी लाई visa पठाईदे, पैसा पठाईदे, iPhone/iPad पठाईदे भनेर गनगन गर्ने, अनि उनैको पैसामा मोजमस्ती गरेर उनैलाई गाली गर्ने, Visa कुरुवाहरुको खोक्रो रास्ट्रीयता देखेर दिक्क लाग्छ ! होइन हो २०-२५ लाख जना विदेश तिर छन्, देशमै भएका भुस तिग्रे हरुले पनि त केहि गर्नु नि ! सबै मिलेर मात्र केहि गर्न सकिन्छ ! कम्तिमा बिदेसबाट आएको पैसाको सदुपयोग मात्र गरिदिए पनि धेरै हुन्छ !

    Reply
  2. Dinesh says:
    October 25, 2014 at 12:19 am

    होइन विसा लिएर केहि पैसा दिएर नेपालकै भलो हुन्छ. यो सबै सानो जाबो २० वा २५ $ को लागि किन नाटक गर्छन विदेश मा बस्ने जतिle. मा त भन्छु नेपाली लै अझ नेपाल फर्किदा केहि रकम थप गरेर केहि बिकाश गर्न को लागि कोष बेवास्था गर्दा ramro.

    Reply
  3. लक्ष्मी प्रसाद अर्याल says:
    October 24, 2014 at 6:50 pm

    गणेश प्रशाद पौडेल हो क्यारे यिनको नाम। हात्तीको देखाउने र खाने दाँत बेग्लाबेग्लै हुन्छ। यो लेख, त्यो गीत देखाउने हो। फर्केर आएर यो लेख लेखेको भए कुरै अर्को हुनेथ्यो। महाविर पुनले कहिल्यै खोकेको सुनिएको छ? खोक्नेहरु टाढैबाट चिनिन्छ।

    Reply
  4. Dipesh Hamal says:
    October 23, 2014 at 4:21 pm

    निस्प्रभजी तपाइको बारिको कान्लो भन्ने गीत निकै मन पर्छ । थाहा थिएन तपाइ बिदेशमा हुनुन्छ । अरु कुरा के भनौँ, तपाइजस्तो राम्रो बिचार भएको मान्छे, देशमै आउनुस् । देशलाइ खाँचो छ । देश बनाउँ यार । यसरी हामी सबै बिदेशीन लाग्यौँ भने, यो देश सिंहदरबारभित्र मञ्चनहुने नाटक भएर समाप्त हुनेछ । लेख मन पर्यो ।

    Reply
  5. Arjun Kumar Sharma says:
    October 23, 2014 at 3:18 pm

    आँफुलाई मातृभूमिको सुपुत्र सम्झिनेहरु खुरुक्क नेपाल फर्किनु राम्रो, राम्रो शिक्षा लिएकाहरुले अबसरहरु आँफै सिर्जना गर्नु राम्रो र कमसेकम २-४ जनालाई रोजगारी प्रदान गरेको राम्रो तर बिदेशमा रक्सि खाएर ” खत्तम नेपाल ” भनेको अति नराम्रो l
    मुटुमा भएको राष्ट्रप्रेम सरिर जहाँ भएपनि रहिरहन्छ, बेदेश बस्दैमा हराउदैन चिन्ता बेकार हो l

    Reply
  6. Kamal says:
    October 23, 2014 at 2:05 pm

    निष्प्रभजी तपाइको को लेख्ने शैली मलाइ पनि अति मन पर्छ / त्येसमा पनि हाम्रो आफ्नै जिन्दगीको आत्माकथा संग पूर्णरुपले गासिएको यो स्पस्ट अति सान्दर्भिक लेखको लागि हार्दिक धन्याबाद, यो लेख पढ्दै गए साथ् मा मैले पुर्ण रुपले नै पछाडी फर्केर हेर्दै पनि गए, जे निर्णये गरियो त्यो बास्तबमै भौतिक जिबन ले मागेको यथार्थ स्वार्थ बाहेक अरु केहि पनि भेटिन |

    आफ्नै जिबन लाइ पनि समिक्ष्या गर्दै पनि गरे अनि सोधे के उपलब्धि गरेछु भनेर, मैले साचिनै भन्नु पर्दा सबै कुरा गुमाउनु नै मेरो उपलब्धि रहेछ | के गुमाइयो त् भनेर सोध्नुहोला, या त ब्यग्तिगत मामिला हो के को खस खस भनेर अर्को कथा लेख्न बस्नु होला, म उत्तर खोज्न आफै तम्सिए, साचिनै गुमाएका कुरा के के रहेछन भनि लेख्न थाले: डाडा काडा गुमाएछु, खोला नाला गुमाएछु, बेसी र भन्ज्यांग गुमाएछु, सएपत्री,मखमली र गुरदली फुलबारी गुमाएछु, बसन्त, सिसिर ति हाम्रा छ ऋतु पनि त् गुमाएछु, मेरो पल्लाघरे काका काकी भेट्दिन, न त् उपल्लो घरको मामा माइजु, वाहाहरु सबै पनि त गुमाई सकेछु, बिहान उठने बितिकै जेरी पुरी को स्वाद लिने त्यो साहिला दाइको रेस्टुराण्ट को झिनो सम्झना बाहेक के पो छ र, इत्यादि जुन दैनिक भोग्ने र देख्ने कुरा गुमाएछ अझ बढि त् मैले आमा गुमाएछु बुबा पनि त गुमाइसकेछु दाजु भाइ दिदीबहिनी साथि हरु संग हुने सामिप्य पुर्णतया गुमाएछु …… तर के पाए भन्ने कुरानै केहि भेटिन जुन याहा तपाइहरु संग बाडन सकु मैले त् सबै कुरा गुमाइसकेको पो रगेछु अनि आफैलाई ग्लानि अनुभब गर्दै | मजा मान्दै पढ्दै गर्दा आफुले गरेका ति लोभी निष्कर्ष लाइ दोष दिदै पनि गरे| क्रमश ………..

    Reply
  7. Nigam, NH, USA says:
    October 23, 2014 at 7:47 am

    सजि बाबु मुग्लानमै भाको बेश! नेपालमा बसेर घुस खानु भन्दा!
    नेपाल लाई माया गर्न नेपाल मै बस्नु पर्छ भन्ने छैन नी!
    गरिब-बाल-बालिका हरु लाई सहयोग गरे भै गो नी!
    खुरुक्क बिदेसको पासपोर्ट लिने अनि जता गए पनि भिसाको आबश्यक पर्दैन, यो मन त नेपाली हुँदै हो!

    Reply
  8. बिनोद says:
    October 23, 2014 at 4:41 am

    नखोक कान्छा ! नागरिकता त के अस्ट्रेलियाको भिजा लिनेकी सारा परिवार, नालनाता सहित नेपाल त्याग्ने भन्नेमा एउटा छान्नु परे तिमी पहिलो छान्छौ |

    Reply
  9. Dipak says:
    October 23, 2014 at 4:26 am

    म नेपाल हु, म भूगोल हु…. जहाँ गएपनि म नेपाली हु! सारै मन पर्यो! ति सबै विदेशमा पसिना बगाई देश सिंचित गर्ने दाजु भाइ हरुमा हार्दिक नमन!

    Reply
  10. Narayan says:
    October 23, 2014 at 3:11 am

    जसले जे सुकै भनुन, आफु त बेदेशी नागरिकता लिईनछ | मिल्यो भने नेपाली नागरिता पनि लिईनछ|

    बालै भएन

    Reply
  11. साङ्ग्लो बोरो says:
    October 22, 2014 at 8:33 pm

    धेरै नाटक नगरम मित्र.. आफ्नो छोरा छोरी australian नागरिक भए भनेर नाक फुलाउने, नागरिकता कहा फालेको छु, पत्तो नहुने…. जिन्दगि को उर्जाशील उमेर विदेशमा खेर फाल्ने…अनि रास्त्रियताको फुस्रो भासण गर्ने? सक्छौ भने अहिले नै फर्केर आऊ, होइन भने यस्ता कुरा गर्न सुहाएन…अझ उसैलाई चाहिएको छ दोहोरो नागरिकता…

    Reply
  12. सपना मानन्धर says:
    October 22, 2014 at 4:28 pm

    विदेशको नागरिकता लिन मिल्ने जति प्राय सबैले लिएका छन् | तिमी पनि केही कुराले अड्किएका छौ | नागरिकता लिन तम्सेकाको पक्कै पि.आर. त छ | किन पि.आर लियौ त ? बढी बहाना नगर | तिमीले कुनै हालतमा त्यहाँको नागरिकता लिन्छौ | तिमीले खोजेको एन.आर.एन. को सुम्पूर्ण अधिकारको नागरिकता हो | यदि तिम्रो त्यो नियत नभए पढेर नेपाल फर्किसकेका हुन्थ्यौ देशलाई लात्तले हनिसकेर गोहीको आँसु नबगाउ |

    Reply
  13. bibek dhakal says:
    October 22, 2014 at 4:00 pm

    जे जस्तो भएपनि बिदेशमा गएर इल्लिगल काम गरेर ;फोकटमा बस ट्रेन चढेर जरिवाना तिरेर ; बाटोमा फोहर गरेर; रक्शि खादै हल्ला गरेर, झगडा गरेर वा तोडफोड गरेर; देशको बारेमा विदेशीलाई भाको नभाको मनपरी कुरा सुनाएर अरवी, नेग्रो, इन्डियन वा पाकिस्तानी जस्तो इमेज नबनाएर नेपालिको अहिलेसम्म को इज्जतलाइ नागिराएर अझ माथि पुर्याउन टेवा दिए अरु केहि गर्नु पर्दैन. भलै हाम्लाई विद्वान र स्मार्ट भनेर नाचिनोस तर नेपालिको साथ् साथ् सोझो र सहयोगी भन्ने बिसेशन सधै झुन्डेको देख्न पाइयोस. यसमा एउटा सभ्य भन्ने विशेषण थपिए झन् काइदा हुन्थ्यो.

    Reply
  14. bhakta says:
    October 22, 2014 at 3:43 pm

    बाटो हिड्दा कमिला मर्छ भनेर नहिड्ने हो भने ठामको ठाम रहिन्छ , सानो चित्त पारेर गाउ घरको खोला पखेरा चौतारी ठुलो ढुंगा सम्झदै बस्नेहरु ले प्रगति त् के अलिकति गति लिन पनि सक्दैन … देश लाइ अफंतिलाई माया गर्ने चहाना भए संसारको जुन कुनामा बसेर नि सकिन्छ / भावनामा डुबेर घुट्को लगाउदै ढुंगा माटोलाई चुप्प चुप्प गरि राख्न पर्दैन / अरब मलेसिया मा पसिना बगौनाले हामी जनता एक मानाको हुन् हुन् आटेका छौ .. सुन्छु ! बिद्धुतमा १७ सय कर्मचारी चाहिएकोमा एक लाख को निबेदन पर्यो रे – अब बाकि युबा सुतेर बस्नेत होलान ? युबा सुते देश मर्छ ! जिन्दगीमा काम गरेर जोगाड गर्ने उमेर अबधि नेपालीको बढीमा २० बर्ष हो त्यसपछि आटिमा खोग्दै काल कुर्ने हो , अनि नाकमायेर, अवसर नलिई बस्न हुञ्छ? स्वोदेश्मा अवसर नपाका जति सबै बिदेसीए हुञ्छ .. गर ,कमाउ , जोगाउ बेलैमा !

    Reply
  15. Resham bohora says:
    October 22, 2014 at 2:16 pm

    राष्ट्रियता पलायन हुनै सक्दैन । नेपालीहरू आ—आफ्नो ठाउँबाट जहाँबाटपनि राष्ट्रकोलागि योगदान पुर्याउन सक्छन् । कोही चाहन्छन्, कोही चाँहदैनन् । यो ब्यक्तिमा निर्भर पर्छ । जसरी नेपाल भित्रपनि नेपाली नागरिकता बोकेका थुप्रै नेपालीहरू छन्, जो राष्ट्रप्रेमी छैनन् । औसतमा मजदूरी गरेर परदेशमा खट्ने नेपाली, जो सकी नसकी पैसा बचाएर आफ्नो परिवारको जिम्मेवारी पुरा गरिरहेको छ, त्यो नेपालमा राष्ट्रिय पोशाक लागेर सरकारी तलब खाएर जनतालाई झुक्याइरहने नेता वा भ्रष्ट कर्मचारी भन्दा कैंयौ गुना राष्ट्रियताले ओत प्रोत छ । को बाहीर छ वा को भित्र छ भन्ने होइन, को राष्ट्रप्रेमी छ वा को राष्ट्रघाती छ भन्ने छुट्याउन आवश्यक छ ।

    Reply
  16. unishaa says:
    October 22, 2014 at 12:40 pm

    देशको राजनीतिक अवस्था, बढदो बेरोजगारी, गरिबी, भ्रस्टाचार, युवा बर्गको बिदेश मोह, कोहि आफनो मान्छे बिदेश नभए चुलो नबल्ने र समाजले हेप्ने हालको बढ्दो परम्परा इत्यादी कुराले गर्दा आज हाम्रा नेपाली दाजु-भाई, दिदि बहिनि रहर, बध्येता,लहलहैमा बिदेशिएका छन् । एस्तो अवस्थामा नागरिकता र राष्ट्रियता सम्बन्धि राम्रो कुरा पढ्न पाइयो।

    धन्यबात……….

    Reply
  17. लौटन अवधि says:
    October 22, 2014 at 8:46 am

    दोहोरो नागरिकता दिने भन्ने कुरा चलिराको छ !मैले सुने अनुसार अहिले पनि बिदेशी नागरिकता लिएका हरु लाइ नेपाल सरकार ले जारि गरेको एन आर एन कार्ड छ जुन लिन नेपाली ४००००.०० लाग्छ र यो नेपाली दुताबास बाट लिन सकिन्छ ! र यो लिएको १० वर्ष सम्म तपाइले नेपाल जादा भिसा लिनु पर्दैन ! ढुक्कैले लिनुस बरु उता कमाको सम्पत्ति भन्दा पनि जानेको सिप नेपाल का गाउ ठाउ हरु मा पुर्याउनुस !!!

    रास्ट्रियता भावनात्मक प्रेम हो आमा को माया हो भने नागरिकता प्राबिधिक कुरो हो ! बिदेसिदैमा रास्ट्रघाति र स्वदेसीदै मा रास्ट्र प्रेमी हुने होइन ! रास्ट्रघति त हुने नहुने अड्को थापेर, चन्दा मागेर, नेपाल बंध गरेर, आन्दोलन होइन आफु खाने मेलो खान्दोलन गर्ने हुन् तिनै रास्ट्रघाति हरु बिदेसिएका लाइ रास्त्रघाती र आफु लाइ रास्ट्रबादि देख्छन !!!

    Reply
  18. Mk says:
    October 22, 2014 at 8:33 am

    ‘जुन सुकै वादलमा, चाँदीको घेरा हुन्छ’ /अनि , कुरो र कुलो जता पनि जान्छ भन्छन /मुख्येत: आफ्नो जिन्दगि को लकछये के हो र कसरि पुरा गर्ने भन्ने नै हो , जस्तो लाग्छ/

    Reply
  19. Suraj Maskey says:
    October 22, 2014 at 6:04 am

    यो बिदेशमा बसेका र काम गर्ने सबै नेपालीहरुलाई थाह भएको कुरा वहसकालागी ठीक छ । तर भोक, रोग, दरिद्त्रता र बेरोज़गारीले गर्दा लाहुरे, चौकिदार मज़दूर र अध्यनकालागी नेपालीहरु विदेसिएको सदियों भै सक्यो । अहिले खुला विश्वमा रोज़गारी र अध्यनकालागी बढ़ी अवसर पाउने आशामा लिएर नेपालीहरु विदेश गएका हुन । राष्ट्रीयता, नागरिकता, जिविकोपार्जन र प्रगति गर्ने एक आर्का संग आवद्ध रहने कुरा हुन् ।

    के भूतपूर्व वेलायती सेनाका नेपाली मूलका वेलायती नागरिक हुदैमा नेपाल प्रतिको मायानै समाप्त भएको छ र ? यदि छैन भने अरु विदेशिएका नेपालीहरु पनि त्यही भावना रहेको मलाई लाग्द छ । सीप, रोजगारी, प्रगति र उज्जवल भविष्यकालागी अमेरिका विश्ववाट प्रवासी भएको राष्ट्र भएको कारणले यो स्थानमा भएको कुरा सर्व विदित छ ।

    दुइ अरब भन्दा बढ़ीं जनसंख्या भएको राष्ट्रहरुको वीचको सधै सार्वभौम नेपाल मात्र विश्वको उदाहरण छ। तसर्थ मेरे विचारमा हामीले नेपालको प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरबाट आर्थिक, सामाजिक एवम् वतावणरीय अवसर सिर्जना गरी अन्य मुलुकहरुलाई आकर्षण गर्न सक्नु पर्द छ । यसैमा नेपालको चौतर्फी र दिगो प्रगति हुने सम्भावना रहेको देख्द छु ।

    सुरज मास्के

    Reply
  20. Sushil says:
    October 22, 2014 at 5:39 am

    समुद्रको गहिराइ पोखरी मात्र देखेकाले अनुमान सम्म लगाउन सक्दैनन | प्रबासमा रहर वा बाध्यता जे ले गर्दा बसे पनि यीनले नेपालको बृधी र समृधिमा अहम टेवा पुर्याएका छन् | इलम अनुसारको परिश्रम गर्न छाडेर टोले राजनेता भएर देश अनि समाजमा भार भएका देश भडुवाहरु भन्दा त जहा सूकैको नागरिकता बोके पनि नेपालको बिकास र भरण पोषणमा सक्रिय भूमिका खेल्ने अवसरवादीहरु नै सहि मानेमा देश प्रेमी हुन् कि ?

    Reply
  21. sagar says:
    October 22, 2014 at 5:11 am

    निक्कै स्तरिय लेख लेख्नु भयो साथी ले
    बिदेशी नागरिकता लिने रहर भएका हरु ले बुझ्नु पर्ने कुरा धेरै छन्
    मातृत्व र राष्ट्रियता, बसाई सर्ने र साटेर किनेर पाइने चिज होइन
    शिप र दक्ष्यता भएका लाई संसारनै एक मुलुक हो नहुने लाई खोया !!!

    Reply
  22. nawa says:
    October 22, 2014 at 4:27 am

    घर फर्केर आऊ/ नाटक नगर/

    Reply
  23. Nabin says:
    October 22, 2014 at 3:59 am

    यो बिदेशुनु भनेको वन वे ट्राफीक भएको अनन्त लामो मोटर वे रहेछ । यु टर्न कहाँ निर आउँछ, र यो यात्राले कहिले निकास पाउँछ ? सजिलै भन्न सकिँदैन ।

    — अति राम्रो लेख |

    Reply
  24. Kishor says:
    October 22, 2014 at 3:52 am

    यो लेखकले अब म ऑस्ट्रालियन नागरिक बनेँ भनेर धाक लगाएको मात्र हो . टं तँ फुस .

    Reply
  25. Harke says:
    October 22, 2014 at 3:30 am

    चित्त छोटो नगर्नु बोरो, लिनुस जहाको पास पोर्ट लिनु छ !
    VISA लगाएर जाँदा झनै इज्जत गर्छन बोरो, एर्पोर्टा…! “कसरी पाउनु भो सर, हाम्लाई पनि तान्न परो…!” येस्तै सोध्छन, फर्स्ट क्लास सेवा दिन्छन !

    कुरो रह्यो देश प्रेमको, देशमै बसेर देश कै हेला गर्नु वा बेच्नु भन्दा त विदेशमा बसेर भएपनि देश को सेवा र माया गर्नु राम्रो हो, कसो…!

    Reply
  26. hari har sharma says:
    October 22, 2014 at 2:40 am

    लामो कुरा किन गर्ने / आफनो देश नेपाल जाँदा visa लागेको देख्न नचाहनेले नेपाली नागरिकता अनि हरियो passport किन छोड्ने / बिदेशी passport नलिय नेपालले के भित्रयाउन्न भने को छ र /
    तर दोहोर चरित्र देखाउनु भयन / कि हरियो passport राख्नु कि visa लगायर देश आउनु / कुरा साफ /

    Reply
  27. premji says:
    October 21, 2014 at 11:34 pm

    निकै घत लाग्दो लेख |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme