Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन खुइलिन्छ पुरुषको मात्र तालु !

Posted on October 20, 2014October 22, 2014 by mysansar

talu तालुखुइले मान्छे भाग्यमानी, बुद्धिमानी अथवा दुवै, हुन्छ अथवा हुँदैन त्यो त विज्ञानले पत्ता लगाएको छैन, ज्योतिषलाई सोध्नु पर्छ। तर मान्छेको शरीरमा रौँ कसरी उम्रिन्छ, किन पातलो हुन्छ, र किन झर्छ भन्नेचाहिं करिब-करिब पत्ता लगाएको छ।

हाम्रो शरीरको हत्केला, पैताला र अरु केही अंगबाहेक अन्य भागको छालाको भित्री सतहको धेरै ठाउँमा कतै अत्यधिक बाक्ला र कतै पातला फोलिकल (Follicle) भन्ने एक प्रकारका नलीहरु हुन्छ। तिनीहरुको जरामा पछि रौँ को रुपमा बिकसित हुने थुप्रै कोषहरू हुन्छन। फोलिकलहरुको वोरिपरी मसिना रक्तनलीहरु (Blood Vessels) पनि हुन्छन्। रगतबाट आवश्यक पौष्टिकतत्व पाएपछि फोलिकल कोषहरू बृधि हुन्छन्। जब फोलिकलको भित्रि भाग नयाँ कोषहरूले भरिन्छ, पुराना कोषहरु बाहिर धकेलिन्छन्। त्यसरी धकेलिएर बाहिर निस्कनु भनेको नै रौँ उम्रिनु हो।

शरीरको बिभिन्न भागको छालाको बनोट अनुसार रौँ उम्रिने संयन्त्र, रौँ को प्रकार, बक्लोपन र बढ्ने तरिका पनि बिबिध कारणले गर्दा फरक-फरक हुन्छ। हुन त छालाभित्रको भागसंग छुट्टिएको हुँदैन, तर छाला बाहिर हामीले देख्ने रौँ को भागचाहिं बास्तबमा केराटिन (Keratin) नामक एक प्रकारको प्रोटिनको मरेको कोषको धर्सा हो। यो प्रक्रियालाई पाप्रा उप्किने रुख्संग तुलना गर्दा हुन्छ। पाप्रा उप्किने रुखको भित्र नयाँ बोक्राको बिकास हुन्छ, त्यो भन्दा बाहिरको बोक्रा मर्छ, पाप्रा बन्छ र अन्तमा रुखबाट खस्छ। लसुन प्याजको पात सुकेपनि डल्लोबाट छुट्टिएको हुँदैन नि ! रौं लाई त्यस्तै भन्दा पनि हुन्छ।

शरीरको अन्य भागको रौँ अलि कम दरमा बढ्दछ, तर कपालको रौँ काटे पनि नकाटे पनि औसतमा बर्षमा १५ सेन्टिमिटर जति बढ्दछ। नकाट्दा भन्दा काट्दा बढी बढेजस्तो भान भएनि नकाट्दा पनि उत्तिकै दरमा बढेको हुन्छ, तर नजानिदो गरी खिइएर स-साना कणमा झर्ने भएकोले कम बढेजस्तो लाग्ने हो। केही अपबाद बाहेक एउटा औसत बयस्क मान्छेको शरीरमा १ लाखदेखि १ लाख ५० हजार जति रौँ हुन्छन, र हरेक दिन करिब १०० वोटा जति रौँ झर्दछन्।

हरेक फोलिकल कोषको जीवनचक्र हुन्छ, तर फरक-फरक समयको हुन्छ, अर्थात् कसैको छोटो हुन्छ भने कसैको लामो। हरेकको जीवनचक्रलाई वंशाणुगत गुण, भिटामिन तथा प्रोटिन लगायतका अन्य पौष्टिकतत्वहरु, व्यक्तिमा हुने रोग, मानसिक तनाब आदिले फरक-फरक किसिमले प्रभाब पारिरहेका हुन्छन्।

कपाल बढ्ने Anlagen, Catagen, Telogen नामक ३ अवस्थाहरु हुन्छन्। प्रत्येक रौं यी ३ अवस्थाबाट गुज्रिन्छ तर गति फरक-फरक हुन्छ। भन्नुको मतलब यदि कुनै एउटा रौँ Anlagen अवस्थामा छ भने अर्को रौँ Catagen अथवा Telogen अवस्थामा पनि हुन सक्छ। यी ३ अवस्था पुरा भएपछि कुनै पनि रौँ का कोषहरु मर्छन, र त्यो ठाउँमा नयाँ कोषहरू जन्मिन्छन्। कुनै कारणबस अबरोध भएन भने यो चक्र चलिरहन्छ। तर बुढौली लागेपछि भने यो चक्र धेरै नै सुस्त हुन्छ।

Anlagen अवस्था करिब २-६ बर्षसम्मको हुन्छ। यो अवस्थामा रौँ बन्ने कोषहरू एकदम बिकसित हुन्छन्। हुन त यो वंशाणुगत कुरामा पनि भर पर्दछ, तथापि यो अवस्था लामो हुनेको कपाल एकदम बढ्छ र लामो हुन्छ भने छोटो हुनेको त्यति नबढ्ने भएकोले छोटो हुन्छ। Anlagen पछिको Catagen अवस्था करिब २ हप्ताको हुन्छ, र यस अवस्थामा पुराना कोषहरू मार्दैगरेका हुन्छन, बाहिर धकेलिने प्रक्रिया बिस्तारै सुरुहुँदै गैरहेको हुन्छ, र रौँ त्यति बढ्दैन। त्यसपछिको Telogen अवस्थामा रौँ जराबाट छुटिन्छ र झर्छ।

महिला तथा पुरुष दुबैको क्षणिक रुपमा कपाल झर्ने कारणहरु धेरैजसो उस्तै हुन्छन भने दीर्घकालीन कारणहरु प्राय फरक किसिमका हुन्छन्। मानसिक तनाब, ठुलो आधात, ठुलो अप्रेशन, कुनै रोग, क्यान्सर उपचारको मुख्यतया किमोथेरापी, औसधिको प्रभाब आदि साझा कारणहरु हुन। यस्ता अवस्थाहरुले रौँ बढ्ने चक्रमा आघात पुर्याउँछन, र रौँ चक्र पुरा नहुँदै छुटिन्छ, मर्छ र झर्छ।

अहिले बजारमा उपलब्ध अक्साइड तथा ब्लिच जस्ता छालालाई अत्यधिक हानि गर्ने कपाल रंगाउने रंगीबिरंगी बस्तु प्रयोग गर्नेहरुको पनि भविष्यमा रौँ झर्छझर्छ। मेहदी र मेहदी जस्तै प्राकृतिक बस्तुहरुले रौँ झर्न रोक्दैनन् र रौँ उमार्दैनन् पनि। तर छाला बाहिरको रौँ लाई चम्किलो र चिल्लो भने बनाउँछन्। खस्रो भन्दा चिल्लो बस्तु कम टुक्रिने भएकोले रौँ पनि टुक्रिन कमहुने सम्भावना भएको कुरा हालैको परिक्षणले देखाएको छ। जाडो याममा मेहदी टाउकोमा धेरैबेर राख्दा त्यसको असरले चिसो लाग्ने धेरै सम्भाना हुन्छ।

शरीरमा भिटामिन “ए” धेरै भए पनि, र फलाम, भिटामिन “बि” तथा आवश्यक प्रोटिनको अभाब भए पनि रौँ झर्छ। बच्चा जन्माउँदाको सकसले गर्दा सुत्केरी अवस्थामा महिलाहरुको कपाल बढी झर्छ। तर यस्ता कारणहरुमा सुधार आएपछि रौँ पुन पलाउन थाल्दछ। बुढौलीमा महिला तथा पुरुष दुबैको कपाल झरेर पातलो हुनु स्वाभाविक प्रक्रिया हो।

टाउकाको छालामा ५ सतहहरु हुन्छन्। माथिल्लो सतह जसलाई स्काल्प (Scalp ) भनिन्छ, त्यसमा अन्य भागको छालामा भन्दा एकदम धेरै Hair Follicles र सबेइसस नामक ग्रन्थी (Sebaeceous Glands) हरु हुन्छन्। त्यही कारणले कपालको रौँ अन्यत्रको भन्दा एकदम बाक्लोगरी उम्रिन्छ।
हुन त वाताबरणी प्रभावले पनि कपाल झर्छ, तर पुरुषको उमेर घर्किंदैजाँदा, अझ कसैकसैको त लक्का जवानीमै, दुवै कन्चटबाट कपाल खुइलिंदै माथि गएर अंग्रेजी अक्षरको “M” जस्तै बन्दैजानु, तथा तालु चिप्लिएर “U” जस्तै बन्दैजानु, वा घोडाको टाप जस्तै बन्दैजानु, अथवा सेट्ठी नै बन्ने मुख्य २ वोटा कारणहरु छन्। बाउको खुइले टाउको अथवा वंशानुगत (Hereditary) कारण, र पुरुषत्व अथवा पुरुषमा हुने टेस्टोस्टरोन हर्मोन (Testosterone Hormone) को शक्तिशाली तर विकृतरुप Dihydrotestosterone, DHT को प्रभाबको कारण।

Dihydrotestosterone भनेको पुरुष जनेंद्रियलाई सक्रिय बनाउन, शुक्रकिट उत्पादन गर्न, तथा दारीजुँगा निकाल्न सकारात्मक र सक्रिय भूमिका खेल्ने हार्मोन हो। तर दुर्भ्याग्यको कुरा यो पुरुषको कपालको रौँ झार्ने कारकतत्व बन्दो रहेछ। यसले टाउकाको Scalp भनिने छालामा हुने Follicles लाई खुम्च्याई दिन्छ, र बिस्तारै कापलका कोषहरु बन्नै छाड्दछन्। हाम्रो शरीर एक प्रकारले बिभिन्न हार्मोनको संयोगले चल्छ, तर कतिपय यस्ता अवस्थाहरु हुन्छन, जहाँ एउटा हर्मोनले अर्कोलाई नकारात्मक असर पनि पुर्याउँछ।

महिलाहरुको शरीरमा पनि करिब १८-३० बर्षको अवस्थामा केही मात्रामा Testosterone Hormone हुन्छ, तर त्यसपछि बिस्तारै घटेर एकदम कमहुँदै जान्छ। त्यसैले पुरुषको जस्तोगरी कपाल खुइलींदैन। खुइले टाउको हुने ७ जना पुरुषमध्ये ४ जना वंशानुगत कारणले तालुखुइले हुन्छन, अनि ६० बर्ष पुग्दानपुग्दै ७०% पुरुष तालुखुइले बन्दछन्।

टाउकाको खुइलिएको ठाउँमा आफ्नै नखुइलिएको ठाउँको स्काल्प सहितको छाला ल्याएर अपरेशन गरी टाँसेर केही समयको लागी रौँ पलाउने बनाउन त सकिन्छ तर त्यो प्रक्रिया एकदम पीडादायी र धेरै खर्चिलो हुन्छ। कति पीडादायी हुन्छ भन्ने बुझ्न चाहनेले बेलायतका फुटबल स्टार Wayne Rooney को जीवन कथा पढेमा प्रस्ट बुझिन्छ। यसो गरेपनि कपाल दिगो रहन्न केही समयपछि बिस्तारै झरेरै छाड्छ।
यदि उमेरमै टाउको खुइलिनुका वंशानुगत तथा पुरुषत्व बाहेकका कारणहरु छन भने, Minoxidil तथा Re-up जस्ता दल्ने झोल औसधिले नयाँ रौँ नउमारे पनि लगाउन्जेल झर्नेक्रममा व्यक्ति अनुसार सुधार आउन सक्छ, नत्र मनोज गजुरेलले उनको हँस्यौली कार्यक्रममा आफ्नो तालु खुइलिनुको कारण भनेझैं झनझन तालु चिप्लिंदै जान्छ।

अल्पकालीन कारणहरु बाहेकको अवस्थामा एक पटक टाउको खुइलिएपछि, जे खाए पनि, जे घोंचे पनि, जे दले पनी कहिलै कदापि तालु भरिंदैन। मरेको प्राणी बिउझिन्छ र ? कथंकदाचित भविष्यमा खुइलिएको टाउकोमा झाप्झ्याप्ति रौँ आउने औषधि पत्ता लाग्योभने वा प्रबिधि बन्यो भने त्यसको व्यापारले माइक्रोसफ्ट (Microsoft) ले भन्दा पनि ठुलो बजार पिट्ने छ। तालु छोप्नको लागि २० देखि ३० लाखसम्म राजीखुसी तथा हाँसीखुसी लगानी गर्न त यो गौतम “उदय” समेत तम्तयार भएर खुट्टा उचालेर बसेको छ।

9 thoughts on “किन खुइलिन्छ पुरुषको मात्र तालु !”

  1. Shankar says:
    October 21, 2014 at 2:24 pm

    सिर्सक देखेरै जबाफ फर्काउन मुन लाग्यो | किन खुइलिञ्छ तालु ?
    आलु फलाउन खुइलिञ्छ तालु | राम्रो मल जल गर्ने , जगेर्ना गर्ने क्रिसक को जिम्मा |
    उदाहरन हरु
    १) गिर्जा बौ को तालु – उनले आलु मात्र फलायेनन पिडालु को पनि खेति गरेर राम्रै देखाइदिए |
    २) पंचायत मा मोहनमान सैजु को तालु – उन्नत तालु तेस्लाई भानिथ्यो
    ३) प्रचण्ड को जनबादी तालु — जनमारा झार उम्रेर हैरान , यु येन नै आएर बल्ल साफ भयो
    ४) निलाम्बर को तालु — सम्बिधाने झार मात्र उम्रने
    ५ ) पद्मरत्न ,दमन को तालु — सहज कर्ता को सिजने खेति मात्र
    ६) हृदयेस त्रिपाठीको तालु — घर बुढीले लौका रोपेको फलेछ मौका –मौका मात्र खोज्ने
    ७ ) ओलीको तालु — काजुखेती को लागि विश्व प्रसिद्द
    ८) सुसिल को तालु –उ गरेर उ भएको ले तस्तो भयो त्यो तालु
    ९) बाबुराम को तालु – बोड फस सर्टिफिकेट को खेति मात्र हुने
    ८) झलनाथ को तालु — भनिन्छ सपनामा अर्जुन को बाण लगेको थ्यो रे , कपाल त् गयो
    उनलाई अर्जुन दृस्टी चै प्राप्त भयो
    ९ ) अमरेश सिङ्ग को तालु — नेपाल मारा झार उम्रने तालु
    १०) महन्त ठाकुर को तालु — कपाल काट्दा मेसिन चिप्लेर , पर्मानेन्ट असर परेको तालु
    ११) सुपर स्टार भूबन के सी को तालु – हरेक गर्ल फ्रेन्ड हरु ले एउटा , एउटा रौ उखलेर लागेकोले सिर्जित तालु

    Reply
  2. Limbu Haratarah says:
    October 21, 2014 at 2:36 am

    जति प्रभाव हुनु पर्ने लेख त्यति भएन, जोकिंग धेरै भयो ! तिनै चिन्ता गर्नेहरुलाई मेरो बलियो प्रश्न छ: “तालु नखुल्कियेकाले के चै नापियो अनि ३०-४० उमेर पुगे पछि न हो खुइलिने.., त्यति बेला के लोभ छ हौँ साथी हो? कि विश्व सुन्दर हुने कम्पिटिसन आयोजना गरिदैछ ?”

    Reply
    1. Bibek Dhakal says:
      October 21, 2014 at 3:05 pm

      मेरो त २२ देखि खुइलिन थालेको अब त मरुभूमि बन्न लाइसक्यो. खैर केइ छैन, मारी मेशिन लाउने चिल्लो पार्ने नि होइन?

      Reply
  3. avaya says:
    October 20, 2014 at 10:22 pm

    मैले सुनेको त ” टाउको भित्र गिदी हुनेको तालु खुइलिन्छ, लिदी हुनेको मौलायर आउँछ रे”! मल पाउँछ नि त कपालले \ होकी जस्तो लाग्छ, मेरो त कैले तालु खुइलेन!

    Reply
  4. Deep Sharma says:
    October 20, 2014 at 3:26 pm

    भनिन्छ नि भाग्यमानीको तालु खुईलिन्छ । एक किसिमले सोच्दा हो पनि किनभने भाग्यमानीले त कमाउने नै भयो । कमाएपछि राम्रो बाथरुम बनाउने नै भयो । बाथरुममा शाबर जोड्ने नै भयो । अझ पानी तातो बनाउने गिजर जोड्ने नै भयो । अनि शाबरबाट तातोपानीले नुहाउँदा तालु नखुईलिएर के छातीको भुत्ला झर्छ त ?
    पत्यार लागेन ? नपत्याए एयरपोर्टमा बसेर खाडी मुलुकबाट आउनेको टाउको होर्नुस त ? अनि पत्याउनुहुन्छ ।

    यसरी तातोपानीले शाबरबाट नुहाँउने भाग्यमानीको नझरे हामीजस्ता खोला, पैनी कुवा, धारा जहाँ पानी भेट्यो त्यही नुहाईदिने अभागीको खुईलिन्छ त ?

    म पनि भाग्यमानी नभएपनि अरबमा बसेर तक्ला चै भएको छु है । भाग्यमानी भएत यो तातोमा पिल्सिनु पथ्र्यो र ?

    मेनपा ४ झापा हाल दोहा कतार

    Reply
    1. सिर्जने says:
      October 21, 2014 at 11:40 pm

      दीप जी,
      खाडीको गर्मीमा पनि तातो पानीले नुहाउने? पंचाग्नी पनि ताप्नुहुन्छ तपाई?
      मेरो पनि चिण्डै भैसक्यो, तातोपनिले हो कि स्याम्पु को कमाल हो त्यो चै थाहा भएन / तर अलि नराम्रो देखिनु बाहेक खासै अरु बेफाइदा छैन / सिरिमति को गुनासो चै दिनेपिच्छे आउछ /

      Reply
      1. deep sharma says:
        October 22, 2014 at 12:12 pm

        पानी आफै तातेको हुन्छ नी सिर्जने जी । जति चिस्याएपनि तातिहाल्छ के गर्नु ?

        अझ भनौ यहाँको पानी त गर्भ मै तातेको हुन्छ ।

        Reply
  5. Ram says:
    October 20, 2014 at 3:06 pm

    कपाल खुइलिने कुरा त भयो तर कपाल फुल्नु के कारण ले गर्दा हो त्यो पनि जान्न पाए राम्रो हुन्थ्यो ,गौतम जी अर्को लेख मा यो बिसय को बारेमा पनि लेख्नु न …

    Reply
    1. suman p says:
      October 21, 2014 at 8:02 am

      राम जी ! मलजल नपुगे कपाल सुक्थियो, मलजल मज्जा ले पायो अनि कपाल फुल्यो . 🙂

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme