-डा. लेखनाथ काफ्ले/शिन्चु, ताइवान-
चिसो हावा, शान्त तलाउ र हरिया पहाडसंगै हामी बेगनास तालको छेउमा थियौं।
उ: संसारका सबै कुरा परिवर्तनशील छन।
म: सत्य पनि?
उ: हो सत्य पनि।
म: कसरी ?
उ: उहिले सुर्यले पृथ्वीलाई घुम्छ भन्थे त्यहि सत्य थियो। अहिले पृथ्वीले सुर्यलाई घुम्ने प्रमाणित भयो। सत्य बदलिएन त ?
म: उसो भए कुन सत्यलाई मानौं, उहिलेको कि अहिलेको ?
उ: हिजो हिजोकै, आज आजकै तर जे प्रमाणित छ त्यहि ठिक हो।
म: तिमीसंग कुरा गर्दा जहिले पनि नयाँ ज्ञान पाउछु।
उ: यो ज्ञान होइन तथ्य हो। तथ्यले मष्तिस्कलाई झट्का दिन्छ, ज्ञानले मनलाई।
उसले अलि जोड दिएर त्यसो भन्यो, अनि हामी छुट्टियौ।
केहि दिनपछि मैले सवाल गरे “म धर्मसंकटमा परे, मन रोजु कि धन?”
उसले जवाफ फर्कायो, “जेबाट तिमी शान्ति र आनन्द प्राप्त गर्छौ त्यहि रोज।”
धेरै दिनपछी मैले खबर गरे, “मैले धन रोजे, अहिलेको संसारमा मनमा शान्ति र आनन्द प्राप्त गर्न पनि त्यहि चाहिने रैछ”।
समय बित्यो। धेरै जीवनका गती र मती बदलिए। उसको भने चिसो हावा, शान्त तलाउ र हरिया पहाडसंगैको बेगनास तालको छेउमा जाने गती र मती बदलिएन।
“मलाई पनि बेगनास तालको छेउमा तिमीसंगै बस्न दिउ, म फर्कन चाहन्छु। धनले मलाई झन् अशान्त र असन्तुष्ट बनायो”, एक मध्यरात मैले उसलाई भने ।
“तिमी मन लागेको बखत आउ”, उसले सहजै फर्कायो।
हामी फेरी उही चिसो हावा, शान्त तलाउ र हरिया पहाडसंगै बेगनास तालको छेउमा थियौं।
उ: तिम्रो कुन सत्य ठिक हो, आजको कि हिजोको ?
म: अवस्यनै आजको।
उ: हिजोको ?
म: यो मनको परिवर्तन हो।
उ: जुन सत्यले मनलाई शान्ति र आनन्द दिदैन त्यसले असल ज्ञान दिदैन। बदलिने बुझाई र तथ्यले नबदलिने परम सत्यलाई बुझ।
म: त्यो के हो ?
उ: हिजो पनि सुर्य र पृथ्वी आ-आफ्नै गती, स्थान र गुणमा थिए, आज पनि छन्। समय अनुसार बुझ्नेले जे बुझे त्यसैलाई सत्य माने।
म: अनि पहिले मलाई किन यो भनेनौं?
उ: जसरी समुन्द्रबाट आखाँले सगरमाथा देखिदैन त्यसरी नै मनले परम सत्य देख्न जीवनको आधार शिबिर पुग्नै पर्छ। तिमी जगतको सत्य देखेर आइपुग्यौ। अब जीवनको परम सत्य बुझ्ने छौं।
यति भनेर उसका दुवै आखाँ बन्द भए। मैले पनि आखाँ बन्द गरे। मेरो पर्दामा टाढा चम्किलो सप्तरंगी प्रकाश आयो र एउटा धमिलो मानव आकृती बिस्तारै त्यहि सप्तरंगी प्रकाशमा बिलायो।
मैले आखाँ खोले। उ त्यहाँ थिएन। ठ्याक्कै म जस्तै एउटा नयाँ अनुहार मेरो अगाडी म जस्तैगरी बसेको थियो। त्यो अनुहारले मलाई सोध्यो, “सत्य के हो?”
अब बुझाउने पालो मेरो आयो ।
***
सत्य त जहिले पनि उही छ र सत्यनै रहन्छ, केबल मानिसले ‘सत्य’ पत्ता लगाउन ढिलो वा छिटो भएको हुन सक्छ / पृथ्वीको गुरुत्वाकर्षण शक्ति पहिला पनि थियो, केबल न्युटनले पत्ता लगाउन ढिलो भएको हो / यदी उनले पत्ता नलगाएको भएपनि गुरुत्वाकर्षण कायमनै रहेको हुन्थ्यो / मानिसले नबुझेर असत्यलाइ सत्यको रुपमा बिश्वास गरिरहेको हुन्छ /
कथा राम्रो लाग्यो /