यो ब्लगमा केही अनुच्छेद तल अपडेट गरिएको छ।
-विज्ञान बा-
शीर्षक देखेर नडराउनु होला, यसको प्रसङ्ग पछि जोड्नेछु। भनिन्छ – डर र त्रास फैलिने गति भाइरसको भन्दा निकै बढी हुन्छ। सत्य त यो हो कि नेपालमा अहिले नै सर्व-साधारणलाइ इबोलाको संक्रमण हुने सम्भावना शून्य छ। जबसम्म बाहिर बाट कसैले इबोला बोकेर भित्रिदैन, इबोला फैलिने सम्भवना भएन। तर भित्रियो भने कुरा अर्कै हुन्छ। बिकसित मुलुकमा इबोला भित्रिदा पनि सर्ब-साधारणमा संक्रमण भइ महामारी फैलिने सम्भावना शून्यप्राय हुन्छ भने अविकसित मुलुकमा यसलाई रोक्न अति गाह्रो हुन्छ। पश्चिम अफ्रिकाका ३ मुलुकमा यसले आठ हजार भन्दा बढीलाइ संक्रमित गरिसकेको छ र यो सङ्ख्या दिनानु दिन आकासिदो छ। पुष-माघ सम्म त हप्ताकै १० हजार बिरामी हुन सक्ने बिश्व स्वास्थ्य संगठनले बताएको छ।
अरु रुघा, फ्लु जस्ता भाइरल रोगको औषधि नभए जस्तै यसको पनि औषधि हुँदैन। यो रोग रुघा जस्तै आफै निको हुनुपर्ने हो। तर आफ्नो शरीरको इम्युन सिस्टमले काम गर्न नपाउंदै धेरै बिरामी मरिसक्छन। अस्पतालमा राखेर उचित केयर दिंदा निको हुन सहयोग हुन्छ। रोगको लक्षण नदेखिंदा सम्म इबोला-संक्रमित व्यक्तिले रोग सार्ने खतरा हुन्न। लक्षण देखिएर सिकिस्त परेको व्यक्तिको जुठो या शरीर बाट निस्कने रगत, दिशा, बान्ता आदि बाट सर्दो रहेछ यो। सबभन्दा खतरा चाही संक्रमित व्यक्ति मरिसकेपछि हुने रहेछ।
हालै अमेरिकामा लाइबेरियाबाट आएको बिरामी मरिसकेको तर उनलाई सेवा पुर्याएकी नर्सलाइ संक्रमण देखापरेको छ। महामारी फैलिने सम्भावना शुन्य रहेको आश्वाशन दिंदै आएको अमेरिकी रोग नियन्त्रण केन्द्र पनि नराम्रो सँग झस्केको छ यो घटनाले।
अमेरिकामा उपलब्ध सम्पूर्ण सुबिधा, सम्पन्नता, तालिम र सावधानीका बाबजुद बिरामीको हेर-चाह गर्ने स्वास्थ्यकर्मीमा रोग सरेपछि रोग-ब्यबस्थापनको तयारीमा पुनरावलोकन गर्नु पर्ने भएको छ। स्वास्थ्यकर्मी र अस्पताल सफा गर्ने देखि लिएर जहाज भित्र सफा गर्नेहरु भैपरी आउने अवस्थाको उचित तालिमको लागि आवाज उठाएका छन्। त्यसै पनि इबोलाको संक्रमण र उपचार या ब्यबस्थापनका बारेमा बिस्तारै धेरै कुरा बुझिदै छ, कति अझै बुझ्न बाकि नै छ | त्यसैले पनि डर यति सम्म छ कि २१०० डिग्रीको तापमा डढाईएको ड्यालसको मृत बिरामीले अस्पतालमा प्रयोग गरेका लुगाको खरानीलाइ फाल्ने ठाउँ नपाएर समस्या परिरहेको छ — त्यो पनि बिशेषज्ञहरुले संक्रमणको कुनै पनि सम्भावना नरहेको स्पष्टीकारण दिंदा दिंदै।
नेपालको सन्दर्भमा एअरपोर्टमा ज्वरोको स्क्रिनिंग शुरु गरेको समाचार सुनिएको थियो। त्यो अति राम्रो कुरा हो। तर इबोला जहाज चढेर मात्र आउँदैन, मोटर चढेर पनि आउन सक्छ। यसमा पनि भारतमा रोग नलागुन्जेल डराउनु पर्ने स्थिति छैन। तर संक्रमण भित्रीइसकेको स्थिति भयावह बन्न सक्ने हुनाले सरकारी स्तरमा तयारी अवस्थामा बस्नु पर्दछ। साधारणतया जनस्वास्थ्यका योजनाहरुमा नेपाल सबल नै देखिन्छ। सर्वसाधारण पनि उत्तिकै सतर्क हुने पर्यो। त्यस्तो अवस्थामा जति सहि जानकारी राख्न सक्यो उति राम्रो हुन सक्छ। मह जोडीका जस्तै टेलिभिजनका कार्यक्रमहरु पनि प्रभावकारी हुन्छन। यहि सेप्टेम्बर १९ को “भद्रगोल” टेलि-सिरियलको अंकमा इबोला बारे जन-चेतना दिन खोजिएको रहेछ। अपुरो या गलत बुझ्नाले कुनै पनि बिमार ठिक गर्न या महामारी बाट बच्न सकिन्न भन्ने पनि यसमा बुझ्न सकिन्छ। जस्तो कि इबोला लागेको गलत शंकाले छुट्टै ठाउँमा त लगेर राखे, उसको दिशा पिसाब या बान्ताको ब्यबस्थापन गरेनन। इबोलाले मरे होला भनेर लिन जानेले कुनै प्रक्रिया नपुर्याई असावधानी पुर्बक तयारी गरेको देखाइयो -किनकि सबभन्दा सावधानी मरेकोलाइ चलाउँदा गर्नु पर्ने हो। यो हास्य-नाटक हो, स्वास्थ्य जानकारी दिने कार्यक्रम होइन, त्यसैले त्यो ठिकै छ। भै परि आएको खण्डमा यस्तै हास्य-नाटकले पनि राम्रो जानकारी गाउँ गाउँ सम्म पुर्याउने नै छन्। अन्तमा, सरकारी स्तरबाट रोग भित्रिनै नदिनु प्रमुख कुरा हो, र भित्रीइसकेको अवस्थाको पनि तयारी महत्वपूर्ण कुरा हो। त्यसो भएमा भद्रगोलको पाँडेको “खतम भो, बर्बाद भो” थेगो सापट लिनु नपर्ला।
अपडेट :
बाक्यलाई out of context मा अर्थ्याउँदा फरक पर्न जान्छ | तर context हेरेर बुझ्दा भन्न खोजेको कुरा प्रष्ट छ |
“सत्य त यो हो कि नेपालमा अहिले नै सर्व-साधारणलाइ इबोलाको संक्रमण हुने सम्भावना शून्य छ। जबसम्म बाहिर बाट कसैले इबोला बोकेर भित्रिदैन, इबोला फैलिने सम्भवना भएन। तर भित्रियो भने कुरा अर्कै हुन्छ।”
सरल भाषामा भन्दा भोलि बिहान रत्नपार्क मा बस चढ्नु भयो या इलाम बजार घुम्न जानु भयो, इबोला सर्छ कि भनेर सजग हुनु पर्छ ? पर्दैन | मानौं बेलायतमा हुनुहुन्छ र एक हप्तामा नेपाल जाने तयारी छ, इबोला लाग्छ कि भनेर यात्रा रोक्नु हुन्छ ? हुँदैन | किनकि नेपालमा अहिलेसम्म इबोलाको बिरामी फेला परेको समाचार सुनिएको छैन | अहिले नै संक्रमण हुने सम्भावना कति छ त ? त्यसैले “नेपालमा अहिले नै संक्रमणको सम्भावना” लाइ “नेपालमा संक्रमण भित्रिने सम्भावना” भनेर नअर्थ्याउने हो कुनै समस्या देख्दिन।
Epidemiology (महामारी बिज्ञान) को हिसाबले संक्रमणको जोखिम भनेको “संक्रमणको शक्ति” (Force of infection, lambda) मा भर पर्छ, जुन निश्चित ठाउँमा, निश्चित समयमा, कतिजना संक्रामक रोगि छन् भन्ने कुरामा भर पर्छ (साधारण हिसाबले lambda = beta x संक्रमित रोगिको संख्या) । त्यो हिसाबले रोग नभित्रीदा सम्म नयाँ संक्रमणको जोखिम शून्य हुन्छ । संक्रमण भित्रीइसकेपछिको अवस्थामा “संक्रमणको शक्ति” ले निश्चित जनसंख्यामा त्यो रोगको महामारी फैलिने नफैलिने जोखिम निर्धारण गर्न सहयोग गर्दछ । समयाभावले बिस्तृत विवरण लेख्न सकिएन, तर हजारौं बैज्ञानिक आर्टिकलहरु इन्टरनेटमा छन् जसबाट थप जानकारी पाउन सक्नु हुन्छ | (उदाहरणको लागि http://www.nature.com/bjc/journal/v110/n1/full/bjc2013740a.html or http://www.nature.com/nm/journal/v5/n3/full/nm0399_340.html मा Force of Infection को जानकारी पाउनुहुने छ ।)
अमेरिका लगायतका बिकसित मुलुकमा रोग फैलिएर महामारी हुने सम्भावना अझै पनि शून्यप्राय छ । यहाँ मैले शून्य नलेखेर शून्यप्राय भनेको छु, जसलाई अत्यन्त न्यून भन्न सकिन्छ । अहिले सम्म अमेरिकामा दुइ वटा स्वास्थ्यकर्मीमा रोग सरे पनि अरु सर्बसाधारणमा सरेको देखिएको छैन। यो रोगको प्रकृति हेर्दा केहीलाई सरिहलेपानी बिकसित मुलुकले स्वास्थ्य ब्यबस्थापनमा पुनरावलोकन गर्दै भए पनि रोग फैलिन बाट रोक्न सक्ने सामर्थ्य राख्छन । यहि कुरा बर्ड्स फ्लुमा लागु हुन्न । फ्लु भाइरस परिवर्तित भएर मान्छे-बाट-मान्छेमा सर्ने बनेको खण्डमा रोक्न बिकसित मुलुकमा पनि गार्हो हुन सक्छ । यो हिसाबले इबोला त्यस्तो फ्लु भन्दा सजिलो छ रोक्न । नेपाल जस्तो देशमा रोग फैलिन शुरु गर्यो भने भयावह स्थिति आउन सक्छ भन्नेमा त दुइ मत छैन । लेखको आशय रोग भित्रिन नदिनु र फैलिन नदिनु नै सबभन्दा प्रमुख कुरा हो भन्ने थियो । इबोला संक्रमित बिरामी हाम्रो जस्तो अविकसित मुलुकको एअरपोर्टमा भित्रीइ हाले पनि यस्तो सजगता अपनाउँदा फैलिन बाट रोक्न सकिन्छ भन्ने कुरा नाइजेरियाले प्रमाणित गरेर देखाइदिएको छ । त्यसैले “सरकारी स्तर” बाट तयारिको लागि जोड दिइएको हो । त्यसैले आशय हेर्ने हो भने एउटा बाक्य भुँईमा झर्न नपाउंदै कसैले कसैलाई “मुर्ख बनाउन खोजेको” निष्कर्ष निकाल्नु पर्छ जस्तो लाग्दैन ।
“…साधारणतया जनस्वास्थ्यका योजनाहरुमा नेपाल सबल नै देखिन्छ।”
यस्तो भ्रमपूर्ण वाक्य लेखेर अझ भ्रमित पार्नु भएन| बिदेशीहरुले ढाड र हाड
खियाएर योजना बनाईदिंदा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका
योजना शाखाका हाकिमहरुले विदेश भ्रमण गर्न, देशभित्र होटलमा र मन्त्रालय मै
बिदेशी प्रोजेक्टद्वारा संचालित तालिम, वर्कशप, सेमिनार र मीटिंग आदिमा उपस्थित भएर टीएडीए हसुर्न बाहेक अरुमा थोरै ध्यान दिन्छन| होइन भने मुलुकको सेवा गर्छु भनेर रोट लाउनेहरुले यो मिष्टान्मा पल्केको छ कि छैन भन्नुपर्यो|
स्वास्थ्य क्षेत्रम्म मात्र नेपालमा काम गर्ने भनेर भिसा लिनेहरु दुई हजार भन्दा बढी बिदेशी भएको तथ्यांकले देखाउंछ|
यो धेरैले थाहा नपाएका होलान, भोलि मन्त्रालयको समानान्तर रुपमा चल्दै आएका बिदेशी सहयोग द्वारा संचालित परियोजनाहरु स्वाथ्यमा बन्द भयो भने खालि कर्मचारी सरुवा-बढुवा-भर्ना र खरिदमा सीमित र अल्मलिएको स्वास्थ्य मन्त्रालयको उपलब्धि जनस्वास्थ्यमा अझ ह्रास भएर जान्छ|
यसरि विदेशीले तयार पाएर्को योजनालाई नेपालीमा लेखेर मात्र सबल भएर पुगेन|
हाम्रो नेपाल मन्त्रालयको सबैभन्दा दुर्बल पक्ष योजनाको सही कार्यान्वयन हो|
बिज्ञान बा हजुरले यो तीतो सत्यलाई ग्रहण गरिदिनुहोला|
जीवन जी, नेपाल जस्तो देशमा गिलास आधा रित्तो जहिले पनि हुन्छ | व्यापक सुधार गर्नु पर्नेमा स्वास्थ्य क्षेत्र पनि अवश्य हो | राष्ट्रिय बजेटनै बिदेशी अनुदानको अपेक्षा गरेर तयार गरिन्छ भने यो बिना नै स्वास्थ्य क्षेत्रमा आफै सक्षम छौं भन्न खोजेको चाही हैन | तर पनि विदेशको सहयोग लिएरै पनि खोप लगाउने र संक्रामक रोग निवारण आदिमा नेपालको प्रयास नराम्रो छैन | पोलियो, कुष्ठरोग, टीबी लगायतका बिमारहरु देखि लिएर प्रजनन स्वास्थ्य जस्ता जनस्वास्थ्यका बिषयहरुमा मात्र नभई बर्ड्स फ्लु जस्ता सम्भावित संक्रमणका निवारणमा पनि प्रयास राम्रै छ | संक्रामक रोगहरु एक देशको मात्र समस्या नभएकोले बिदेशी स्वास्थ्यकर्मीले सहयोग गर्न खोज्नु र बिदेशी सहयोग उपलब्ध हुनु पनि स्वाभाविक हो | देशका स्वास्थ्यकर्मीहरुको सेमिनार, बैठक र तालिममा जुन खर्च हुन्छ, त्यो पनि गर्ने पर्ने हुन्छ | यी अत्यन्तै महत्त्वपूर्ण कुराहरु हुन् | होला स्वास्थ्यकर्मीहरुले भत्तामा बढीनै पचाएका हुन् भने त्यसलाई ब्यबस्थित गर्न पाए त बेश हुन्थ्यो | तर सेमिनार र तालिम ओझेलमा पर्नु हुन्न |
तपाइले भने जस्तै सुधार गर्नुपर्ने लिस्ट त लामै होला, यसमा म असहमत छैन | जस्तै “हात धुने बानि बसालौं” भनेर त रेडियोले फुक्नु पर्ने देशमा अहिले चलिरहेको anti-biotic को चरम दुरुपयोग कसरि रोक्ने? त्यसमा कति सरकारी स्तरमा, कति जनस्तरमा पहल गर्नु पर्ने हुन्छ |
इबोला भाइरस तलाई मेरो च्यालेन्ज :-
हिम्मत भए काँग्रेस,एमाले,माओबादी,मदेसी, जनजाति र बाकी बिखन्डनबादी नेपालका नेताहरुमा सरेर देखा?
सक्दैनस त इबोला ! तेरो हार हुन्छ किन कि त जति डरलाग्दो भाइरस होस् त्यो भन्दा १०० गुना डरलाग्दो भाइरस हुन् यी हाम्रा नेपालका नेता जसको निर्मुलको लागि औषधी पत्ता लगाउन कुनै बैज्ञानिकले नि सकेको छैन जसको हामीले बर्षौ देखि सामना गरि राखेका छौ।
मेरी आमोई नि, भनेपछि अहिले नै यो रोग बारे आत्तिनुपर्ने अवस्था भने छैन, होइन ?
यो रोग रोक्न को लागि हदै सम्म को गम्भीर सावधानी अख्तियार गरोस – सरकार र जनताले पनि !
सत्य त यो हो कि नेपालमा अहिले नै सर्व-साधारणलाइ इबोलाको संक्रमण हुने सम्भावना शून्य छ।
What a lie is this? Pls Dont fool people with your stupid analysis!
Nepali government has no idea how many Nepali people are there in those Ebola affected countries and those people can come back to Nepal with one or another ways. It can take up to 3 weeks for Ebola to show the first symptoms.
So Nepal does have a big chance to get affected. And Nepali health authorities should be aware of it.
“जबसम्म बाहिर बाट कसैले इबोला बोकेर भित्रिदैन, इबोला फैलिने सम्भवना भएन। ”
Nepal army is going to Liberia in a peace keeping mission. Hope they are well trained and not get infected.
“सत्य त यो हो कि नेपालमा अहिले नै सर्व-साधारणलाइ इबोलाको संक्रमण हुने सम्भावना शून्य छ।”
बिज्ञान बा, के आधारमा यो लेख्नु भयो? यसको “background research” जसका आधारमा यो माथिको सत्य लेख्नु भयो त्यो तपैले प्रकाशित गर्नु जरुरि छ.
पत्रिकाहरुको, र जानकारहरुको लेख हेर्दा, आधार मानेर भन्नु पर्दा नेपाल जस्तो देशले (स्वास्थ्य क्षेत्र डामाडोल, र अशिक्छितहरु धेरै भएको देश) हाल अरु बिकशित देशको भन्दा १०० गुणा बडी संक्रमण हुने सम्भावना बोकेको छ. तपाइँले त क्या ढुक्क हुने कुरा पो भन्दिनु भयो लेख को सुरु मै?
प्रस्ट पारिदिनु पर्यो बा!
(माइ संसारका केहि लेखहरु पड्दा आजकल कहिले काही यहाका लेखकहरुले पाठकहरुलाई “तोरिलाउरे” मात्र सम्झेर लेखेको अनुभूति हुन्छ. यो मेरो मात्रै मन मा पलाएको कुरा हैन, मेरो जमात र निकट रहेका धेरै साथिहरुको गुनासो हो. लेखकले लेख लेख्दा अलिकति सैदान्तिक रुपले र विभिन्न स्तरका पाठकहरुलाई समेत द्रिस्टिगत गरि लेख्न जरुरि हुन थालेको भान हुन्छ. खालि इन्टरनेटमा खोज गरेर प्रस्तुत गरेको जस्तो मात्रै देखिने खालका लेखहरुले आजकल जो कोइ वाक्कै भै सकेका छन्…. यो मेरो १ रुपियाको सानो सल्लाह मात्रै हो.)
एक पटक “out of context” quote नगरी पुरै पढ्नु होला :
“सत्य त यो हो कि नेपालमा अहिले नै सर्व-साधारणलाइ इबोलाको संक्रमण हुने सम्भावना शून्य छ। जबसम्म बाहिर बाट कसैले इबोला बोकेर भित्रिदैन, इबोला फैलिने सम्भवना भएन। तर भित्रियो भने कुरा अर्कै हुन्छ।”
बिज्ञान बा, तपाईले “बिकसित मुलुकमा इबोला भित्रिदा पनि सर्ब-साधारणमा संक्रमण भइ महामारी फैलिने सम्भावना शून्यप्राय हुन्छ” भन्नु भयो फेरी अलिक तल “अमेरिकामा उपलब्ध सम्पूर्ण सुबिधा, सम्पन्नता, तालिम र सावधानीका बाबजुद बिरामीको हेर-चाह गर्ने स्वास्थ्यकर्मीमा रोग सरेपछि रोग-ब्यबस्थापनको तयारीमा पुनरावलोकन गर्नु पर्ने भएको छ” भन्नु भयो | अमेरिका त बिकसित मुलुकमै गनिन्छ क्यारे | गाठी कुरो बुझ्न गारो भो बा |