Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बोङवाजोर घाटमा नुन बेसाएका ती दिनहरू

Posted on October 14, 2014 by mysansar

Bongwajor Ghaat in 2068, photo by nirajan rajalimदशैँपछि यो साल म अलिक छिट्टै काठमाडौँ लागेँ, दशमीको पर्सिपल्ट । काठमाडौँ हुँदा घर जाने बेला घर गएर के—के न गर्छु भनेर चाँडै जाने तर घर पुगेपछि काठमाडौँमा आफ्नो के के न बिते जस्तो हतार गरेर हिँड्ने मेरो पुरानो प्रवृत्ति हो । यो प्रवृत्तिले आजसम्म मैले उत्रो ठूलो क्यै लछारपाटो लाएको भने आफैलाई सम्झना छैन । मान्छेको हतार गर्ने बानी एक बहाना मात्र हो भन्ने मैले धेरैपल्ट बुझेर बुझ पचाएको छु ।

कसैले भनेको छ, ‘हतार गर्नुको कुनै जरुरी छैन, पुग्नुपर्ने ठाउँमा ठीक समयमा पुगे मात्र हुन्छ ।’

यो दर्शन मेरा लागि प्रिय तर व्यहोरामा उतार्न नसकेको लाइन बनेको छ । घरमा आपा र बाह्र तेह्र वर्षमा एकपल्ट आएका चेलीबेटीले समेत ‘दुईचार दिन बस् मकै भाँच्नुपर्छ, टुप्पा राख्नुपर्छ, मजाले रोज्जा खाँदै बस्’ भने पनि हिँडिहालेँ ।

bongwajor-ghat-on-google earth (marked)

शहरमा बसेको छोरो—भाइ घर आउँदा मज्जाले मासु खावोस्, मीठो खोजेर र आफूसँग मागेर खावोस् भन्ने अभिभावकलाई पर्ने नै गर्छ । अझ मलाई त दिदीहरूले मीठो काँक्रा कुन झालमा छ, हरियो गुलियो मकै कुन कान्लामा छ भनेर नभन्नुभएको पनि होइन । बिचरा मासु खान नपाएको कत्ति भो होला ? कत्ति खान मन गर्दो होला ? भनेर पाको छोराको लागि पनि चिन्ता गर्ने सबै अभिभावक सबैका लागि उस्तै अपार हृदयका हुन्छन् । शहरमा हुने कार्यक्रम, साथीभाइको भेटघाट र अन्य तवरले धेरै मासु खाएर नाक लाग्न थालेको मैले यो पल्ट घरमा बस्दा धेरै मासु खाने मन गरिनँ । त्यसमा पनि घरको चिन्ता थियो । कठै ! कत्ति धेरै माया !

शहरमा दिनकादिन राँगा र कुखुराको मःम खाएर अस्वाभाविक मोटाएको मलाई गाउँ गएका बेला गाउँभर आएका आफन्तहरूले यसपल्ट ‘खाइलाग्दो’ र ‘फस्टाएको’ भने, जतिखेर मेरो पुटुक्क निस्किएको विशाल भुँडी कसरी पातलो गर्ने होला भनेर म उपायको रचनामा थिएँ ।

०७० सालबाट साङकाफोपसम्म हिउँदे जीप आउने गरे पनि यो साल त्यसको याम आइसकेको थिएन । कोशी पारि रानीटार झरेर जीपको कुममा झुण्डिएर जाउँ भन्ने एक्लो मनले मानेन । बरु हिँडेरै भए पनि बुङ्वाजोर घाट मेरो मनपर्दो बाटो थियो; यसकारण कि यहीँ बाटो म सयौँ चोटि हिँडेको हुँ । यहीँ बाटोमा मेरा पसिना झरी बिलाएका छन्, चाक थचारिएका छन् । त्यसो त आपा र दिदीहरूको तुलनामा मेरो त्यस्तो अनुभव नगन्य मात्र हो । लेखीपठाउँदा आफूलाई बढी ठानिदिन्छु कि भन्ने डर लाग्छ ।

बोङवाजोर घाट पश्चिम—दक्षिण भोजपुर र पूर्वी सुदुर दक्षिण खोटाङको बोङवा खोला दोभान सीमानाको दूधकोशी संगममा शताब्दीअघिदेखि सञ्चालनमा आएको घाट हो । भोजपुर, खोटाङ र सोलुखुम्बुका केही गाउँका गाउँलेहरूको नजिकको मधेस बजार बेल्टार पुग्ने नाकाको छोटो बाटोको घाट पनि यै हो । यहाँ आइपुग्न घर देखि मलाई जहिल्यै छ घण्टा लाग्छ । यसै दशैँदेखि घाटको खेवा ऐतिहासिक रुपमा वृद्धि गरिएको रहेछ, एक जना एक चोटि तरेको चालीस रुपियाँ । अघिल्लो वर्षसम्म त त्यहाँ खेवा बीस रुपियाँ मात्र थियो । सयौँ वर्ष अघिदेखि चलेको घाटमा दोब्बर खेवा बढेको यसै साल मात्र थियो ।

यही घाटमा नाउ खियाउँदा खियाउँदै कत्ति माझीहरूको जवानी र जीवन गयो ? दूधकोशी बाहेक कसलाई थाहा होला र ? खियाउने माझीहरू भए पनि अलि पर्तिरका बाठा राई ठेकेदारहरूले दिने पारिश्रमिक र कुनै मनकारी यात्रुको आभारीले जाँड खान दिने पाँच दश रुपियाँको भरमा यी माझीहरू नाउ खियाउँदा खियाउँदै तन्नेरीबाट बुढो भएको मैले नै देखिरहेको छु । हाम्रा गुरु प्राध्यापक माधव पोखरेलले भन्नुभए अनुसार माझीहरू काँसीतिरबाट सप्तकोशी पछ्याउँदै नेपाल आएका थिए भन्ने भाषाको तरङ्गले देखाउँछ । कोशी पछ्याउने क्रममा नै उनीहरू पनि बोङ्वाजोर घाट आसपास बसेका थिए भन्ने कुरामा द्विविधा नहोला । कोशी पछ्याउँदा पछ्याउँदै कोशीको उपल्लो भेक तामाकोशी, सुनकोशीको आसपास धेरै माझीहरू बस्न पुगेका भनेर गुरु भन्नुहुन्थ्यो । मैले आफैले देखे अनुसार रामेछाप सदरमुकामको मन्थली बजारपश्चिम तामाकोशी किनारैकिनार माझीहरूको ठूलो बस्ती छ । खिम्तिनेर त माझी गाउँ भनेरै सडक विभागले सूचक बोर्ड ठड्याएको छ । ढोलीखोलामा तिनै माझीले तामाकोशीमा समाएका माछा ल्याएर काठमाडौँमा मैले भान्सा मिठ्याएको पनि छु । तिनै माझीहरूका दाजुभाइले तार्ने नाउको छेउमा आज अघिल्ला कैयौँपल्ट जसरी नै बुङवाजोर घाटमा म उभिएको थिएँ ।

घाट सञ्चालनको इतिहासमा यसै दशैँमा त्यहाँ नाउयात्रीहरूका लागि लागि लाइफज्याकेट ल्याइएको रहेछ । त्यही ज्याकेटले खेवा बढाएको थियो । खेवा बढे पनि पानी उर्लिन नछोडेको असोजको कोशीमा सो ज्याकेट बाँधेपछि ढुक्कले नाउमा पस्न सकिन्थ्यो । ठेकेदार पौवासेरातिरका पुमा भाषा बोल्ने राई थिए । तिनले प्रतिथान दुई हजारमा दश वटा लाइफज्याकेट ल्याएको मलाई बताए । यात्रुहरू पहिलोचोटि अप्ठ्यारो मान्दै ज्याकेट बाँधिरहेका थिए । ‘कोशीले यो ज्याकेटलाई के पत्याउला र ?’ भन्ने उनीहरूका मनमा थियो । यद्यपि त्यो ज्याकेट सुरक्षाको महत्वपूर्ण जलसाधन हुँदै हो । ज्याकेटको सीमिततका कारण एउटै मात्र नाउ चलिरहेकोले बगरमा बटुवाहरूको उरुङ लागेको थियो ।

खेवापाथीलाई प्रत्येक चोटि एउटा सिट सुरक्षण गरिने नियम नाउ सञ्चालकहरूको वर्षौँदेखि लगाइआएका थिए । उहिले नगद सुलभ रुपमा प्रचलनमा नआइसकेको समयमा घाट तर्नेहरूले तार्नेहरूलाई वार्षिक रुपमा अन्नपात र चाडवाड भाग दिने चलन थियो । यसैलाई खेवापाथी भनिन्छ । अहिले खेवापाथी चल्ने सबै घाटहरूमा आसपास बस्ने स्थानीयहरूलाई मात्र लागु गरिएको हुन्छ । मैले सोध्दा उनीहरू प्रतिघरधुरी हरेक वर्ष तीन पाथी कोदो घाट सञ्चालकलाई खेवापाथी बुझाउने गरेको बताउँथे । खेवा बढेजस्तै खेवापाथी पनि मुठी माना हुँदै तीन पाथीमा आइसकेको थियो । खेवापाथी सुरु भएको बेलाको अञ्जुली र अहिलेको पाथीमा तात्विक फरक छैन । अन्न प्रशस्त नहुने भोकमरीको उहिलेको समयमा मुठीमा पाथी पानी मिसाएर खोले खाएर बाँच्ने जमाना पनि नभोगेका होइनौँ हामीले ।

म आफै पनि दशैँको छुट्टी सकेर काठमाडौँ फर्कँदा यही घाटमा पहिलो चोटि लाइफ ज्याकेट लगाएर र चालीस रुपैयाँ तिरेर दूधकोसी तरी आएँ । घाटमा भीडभाडका कारण करिब चार घण्टा आफ्नो पालो कुर्नुप¥यो । सबै यात्रु उस्तै हतारका कारण मैले आफ्नो पालो बाहेक अघि जान कुनै प्रयत्न गरिनँ । बरु दूधकोशीमा छेपारी मुनि खुट्टा डुबाएर किनारमा दुईघण्टा मस्त निदाएँ । पारी तरेपछि धेरै चिनजानका भेटिए, जो पालो मिचेर छिट्टै तरेको मलाई सगर्व सुनाउँथे । मैले भने मेरो कारणले कोही पनि आफ्नो पालो भन्दा पछि पर्नु नपरेको र कुरेरै पालोमा आएकोमा अहिले पनि आनन्द लागिरहेको छ ।

यो घाटको मेरा आफ्नै स्मरण छन् । आजभन्दा लगभग डेढ दशक अघिदेखि म यो घाटमा हिडेँहुँला । मलाई थाहा भएसम्म यो घाटमा खेवा बाह्रआना (पचहत्तर पैसा) थियो । हुन त मैले जान्दासम्म नै बेल्टारमा ढिके नुनको भाउ पनि प्रति किलो पचहत्तर पैसा नै थियो । यो त्यो बेला थियो, जतिबेला अहिलेको धुलो पाकेटको नुन प्रचलनमा आइसकेको थिएन ।

उतिबेला घाटमा बेल्टार नुन लिन आउनेहरूको ठूलो भीड हुन्थ्यो । सबैले ढाकर बोक्थे । यसरी आउनेहरूमा सोलुखुम्बुतिरका स्थानीयहरू पनि थिए । मैले उतिबेला सोध्दा उनीहरू नौ दिनको नुन यात्रा सम्पन्न गरेर मात्र घर पुगिन्छ भन्थे । मेरो पनि खुट्टामा मासी जवान हुँदै गएपछि बेल्टार नुन लिन ढाकर बोकेर धेरै चोटि झरेँ । कहिले दिदीहरूसँग त कहिले घर पारिको बोजेनी दाइसँग । बोजेनी दाइसँग अधिक चोटि नुन लिन झरेँ । किनकि उनी गाउँका धेरै जनाको नुन बोकिदिन्थे अधियामा । म उनैको पछि लाग्थेँ घरमा मधेसबाट नुन ल्याइपु¥याउनका लागि ।
Bongwajor Ghaat in 2068, photo by nirajan rajalim
घाटमा एकादुई झोला बोकेर आउने बटुवाहरूले ढाकरेहरूलाई उपेक्षा गर्थे । आफ्नो झोला भएकोले छिटो जान पाउनुपर्ने भन्दै धकेल्दै नाउ चढ्थे । यस्तो अन्यायमा बालुवामा तोक्मा लगाएर उभिइरहेका ढाकरेहरू घरिघरि ठेकेदारतिर तोक्मा उज्याएर जाइलाग्थे । मलाई पनि झोलेहरूसित रिस उठ्थ्यो, तर म मुड्की उज्याएर तर्साउन जान चाहिँ नाडी छिप्पिइसकेको थिएन । झोले प्रवृत्तिले मलाई भित्रभित्रै भने रिस उठ्थ्यो, किनकि म आफू पनि ढाकर बोकेर पालो पर्खँदै दूधकोशीको छालमा पालो कुर्दै उभिइरहेको हुन्थेँ । यो घटना—कथाको बारे मैले एक कथा लेखेको थिएँ आठ वर्ष अगाडि ‘बोङवाजोरघाटमा किस्ने’ भन्ने शीर्षकमा । त्यो कथा खोटाङबाट निस्कने सनराइज साहित्यिक द्वैमासिकमा छापिएको छ ।

दशक अगाडि होला, घाटमा खेवा पाँच रुपैयाँ पुग्दा ढाकरेहरूमा खैलाबैला मच्चियो । धेरैले बाटोभरि खेवा बढी भयो भनेर चर्चा र विरोध गर्दै हिँडको सुन्थेँ । परन्तु त्यो पाँच रुपैयाँको मार म आफूलाई पनि परेको थियो । पाँच रुपैयाँको चिउरामा उति नै रुपियाँको दही वा आधा प्लेट थुक्पा किनेर खाँदा भरपेट पुग्थ्यो । बेल्टारदेखि नुन बोकेर फर्कँदा बोजेनी दाइले पाँच रुपैयाँ महङ्गो भएका कारण पुलबाट घुमेर जाने मलाई प्रस्ताव राखे । मैले उनको मनको कुरा बुझ्थेँ, उनी मेरो मनको कुरा बुझ्थे, त्यसैले त हामी सधैँ सँगै नुन लिन झथ्र्यौँ, अथवा म उनको साथ लागेर नुन लिन झर्थेँ । घाटबाट खाली ज्यान पुल पुग्न एक घण्टा लाग्छ । भारीसँग त तीन घण्टा घुम्नु पर्ने हुन्थ्यो, हामीले घुम्यौँ । तर, पुलमा पनि उतिबेला एक रुपैयाँ खेवा लिइन्थ्यो ।

घाटमा पहिलेदेखि नै पालोमा नाम लेखाएर क्रमशः तर्ने नियम अहिलेको होइन, उहिलेकै हो । पालो नआएकाहरू किनारमा ढाकर बिसाएर बालुवा खोस्रेर सम्म बनाइ सुत्नुपथ्र्यो । एक दिन आपा र अन्तरी दिदीको पनि हालत त्यस्तै हुन पुगेछ । धन्न जुनेलीमा माझीले नुन बोक्ने ढाकरे बाउछोरीको अवस्था मनन गरेछ, र जूनको छायाँको लहरमा कोशी तारिदिएछ । दिनभर कोशीमा पसिना बगाउने माझी न थियो ऊ, ढाकर बोकेर निधारबाट पसिनाको धारो बगाउने प्रति उसको समभाव हुनु नजाति थिएन ।

केही सालअघिसम्म हिउँदभर गड्तीर वारिपारि मेला लागेजस्तै हुन्थ्यो अस्थायी टहराहरूले । नजिकै गाउँका भित्ताहरूबाट बटुवाहरूको गाँसबाँस मिलाउने व्यापारको लागि टहरा बनाई धेरै स्थानीयहरू झरेका हुन्थे । त्यस्तो क्रम अहिले अलिक कम भए पनि बाटो हिँड्ने बटुवाको अनुपातमा टहराहरूको कुनै खाँचो अहिले पनि देखिँदैन । यही टहराहरूमा बस्ने निश्छल र सुन्दर आफ्नै बहिनी जस्ता लाग्ने किशोरीहरू कोही थुक्पा पकाइरहेका त कोही भाँडा माझिरहेका भेटिन्थे । कति त धेरै मायालु पनि लाग्थे । उनीहरू अलि गोजी तातो भएका आक्लझुक्कल ढाकरेहरूले माग गर्ने बोडी, आठपोल, बिसौली सुँगुरको मासु पनि पकाइदिन्थे । त्यसो त कैलेकाहीँ गाउँलेहरू गड्तीरमा सुँगुर पनि ढाल्थे, ढाकरेहरूले एकदुई फिर्का मोल्दै खाइ पनि सक्थे ।

मैले यस्तै टहरो बनाएर ढाकरेको सेवा व्यापार गर्ने युवतीको बयानमा ‘तायाहाङमा’ शीर्षकको कथा लेखेको थिएँ, जुन जनविश्वास साप्ताहिकधनकुटामा छापिएको थियो, रेडियो नेपालको गीतिकथा कार्यक्रममा बान्तावा र नेपाली भाषामा प्रसारित पनि भयो । पछि मैले मेरो दिलाक्लामकथा सङ्ग्रहको पहिलो कथाको रुपमा किताबमा त्यसलाई छापेँ ।

अहिले बोङवाजोर घाट एक किंवदन्ती बन्ने समयको संघारमा अभिषप्त छ । त्यो घाटको विकल्पमा अहिले मोटरबाटोहरू दूधकोशी तरेर उँभो लागिसके कति ठाउँमा । भोजपुरमा नारदमनि थुलुङ राजमार्ग, पाख्रीबास—हतुवा—आमचोक सडक र रानीटार—चखेवा सडकले गाउँ छिचोल्न थालेपछि यो घाटलाई बिर्साउने आधुनिक कहानीको अध्याय सुरु भइसकेको छ ।

खोटाङको चिसापानी, चखेवाभञ्ज्याङ, मूलडाँडा, सीमानाको पान्धारेमा छ पाङ्ग्रे मोटर कुध्न थालेपछि बाटोको ढुङ्गालाई चिप्लिने गरी टेकेर हिँडेका बोङ्वाजोर घाटबाट एक युग हिँडेका बटुवाहरू वेपत्ता भइ गएका छन् । नुन बेल्टारमा होइन, अहिले ट्याक्टरको थाप्लामा आँगनमै हाजिर छ बोरामा, पहाडी गाउँहरूमा । तरकारीमा नुन चर्को भएको दिन ‘बेल्टार नजिक भएछ’ भन्ने उखान अब कल्ले गर्ला र खै ? मोटरबाटोले कसरी खकन—तोक्माहरू गाउँलेहरूले बिसाएर एक जुगको स्मरण गरिरहेका छन् भन्ने बारे मैले ‘हर्कुमानेले भारी बिसायो’ भन्ने कथा बान्तावा भाषामा लेखेको छु, जुन दिलाक्लाम कथासंग्रहमा छापिएको छ । म जस्ता गाउँको भुक्तभोगीले लेख्ने कथा त्यस्तै हुन् जस्तो लाग्छ, र लेख्न बस्दा आफ्नै कथा लेखेजस्तो नअड्किकन मेलो सर्छ । वास्तवमा मैले लेख्ने हरेक कथा मेरो जीवनको परोक्ष नै पनि कसरी रहन सक्ला र ?

झन्डै बाह्र वर्ष अगाडि हाम्रै गाउँका अमृतपाल दाइ दीपक बान्तावासित नुन लिन बेल्टार झरेका थिएछन् । उनी अप्राहा मुनिको
फाँटिलो बगर रहेको चौतारीमा बिसाएर भेटिएका तासेहरूको हुलमा मिसिएर तास खेल्न थालेछन् । उनले तासमा यति हारेछन् कि गोजीमा कुनै पैसा बाँकी नरहेपछि उतिबेलामा दमवाला सिको फाइभ घडी दुई सयमा मोलेर खेलेछन्, तथापि उनले घडी पनि फिर्ता गर्न सकेनछन्, हारेछन् । उनी उठ्दा उनको साथमा भित्री गोजीमा बडा कष्टले जतन गरिराखेको दुई रुपियाँ मात्र थियो भनी दीपक मलाई बताउँथे । त्यो दुई रुपियाँ अरु नभएर घाट तर्नलाई थियो अरे । यस्ता किंवदन्तीका अनेक पाना बन्ने शृङ्खला अब बुङ्वाजोरघाटमा विस्मृतिमा विलिन हुने तरखर गर्दैछ, र अब त कसले गाउँमा मोटरसाइकल ढिकीमा पार्किङ ग¥यो भन्ने शानसौकतको आधुनिक गाथा निर्माण हुन थालेको छ ।

मैले माथि भोजपुर मुनि पिखुवाको उकालो पैयापानीको बाटो पोहोर हतुवाका शिक्षक दिलकुमार राईसँग सबेरै टस बाल्दै ओरालो झर्दा उहिलेको त्यो फराकिलो बाटोमा दिनैपिच्छे कसरी मेला लाग्दो थियो भन्ने गफ गर्दै झरेका थियौँ । पिखुवा किनारमा उहिले बटुवाहरूको दोहोरी खेल्ने गोठ र कटेराहरू जम्मै ढलेका देखिन्थे । ती चौतारा, पाटी र फलैँचाहरू उहिले बसेर गएका बटुवाहरूको चीर स्मरण गर्दै वियोगमा तड्पिबसेको असहाय झैँ देखिन्थे । ती सबै बटुवाहरूलाई अहिले हिले—भोजपुरको सडकले कोखमा राखेर गुडाएर लगिसकेको छ । दुङमाको उकालो समी कटेजमा इन्द्र, भुवन, माधव र मैले खाना खाएको धेरै वर्ष भएको छैन, जतिबेला त्यहाँ मानिसहरू कुपन हातमा लिएर भात खान लाइन लाग्थे । अघिल्लो वर्ष दुङमा जाँदा त्यो कटेज नै ढलिसकेको थियो । समीको रुखचाहिँ बढेर पिपल हुन लागेको थियो । सग्लो एउटै थियो, समी कटेज लेखिएको साइनबोर्ड, जो उत्तानो थियो । समी कटेजका मालिक तारा राई पनि पोखरा भासिइन् भन्ने समाचार गाउँलेहरूले दिए ।

त्यसरी नै यो बोङवाजोर पनि कुनै दिन खण्डहर होला भन्ने मलाई क्षणभङ्गुर पिरलो हुन्छ । मैले पनि कुनै दिन यहाँ ढाकर बोकेर हिँडेको थिएँ भनेर भन्न पनि म आफै आइनपुगुँला भन्ने मनोभावको छालले हिर्काइदिन्छ । मलाई अहिले इन्द्रावती, सुनकोशी, तामाकोशी र यस्तै दूधकोशीहरूको शिरैशिर गाडीमा गुडुल्किइहिँड्दा पनि बोङ्वाजोर घाटको याद आइरहन्छ, नआएको क्षण हुँदैन ।
।।।।।

बोजेनी दाइको पनि अहिले कुम हलुङ्गो भइसकेको छ । तिनका दुवै छोराले मलेसियामा कमाउन थालेका छन् । जेठा कमलसँग पनि मैले ढाकर बोकेँ । उनी गाउँका प्रधानबाजेको बीस किलो चिनी बोक्थे डोकामा । एकदिन लडेर कोशीपारि ढ्याङग्रे खोलामा तिनको घुँडामा चोट लाग्यो । रगत बग्यो । उनी रुन थाले । उनको पीडा देखेर हाम्रा आँखा ओसिला भएका थिए । तिनी पछि पोखरामा निर्माण कार्यको ठेकेदार भए । गाउँमा सबैभन्दा पहिला आफ्नै मोटरसाइकल गुडाएर ल्याउने तिनै कमल भए । तिनले परार गाउँमा सबैभन्दा महङ्गो सत्तरी हजारमा लैनो भैँसी बाउलाई किनिदिएर मलेसिया उडे । तिनलाई म जैले भेट्दा पनि स्याब्बास् भतिज भनेर अँगालो मार्छु । तिनले बाउलाई फुर्सद दिएकामा उनका बाउ पछि म नै बढी खुशी हुन्छु, आखिर सोकोपेको उकालोमा भारी बिसाएर काँक्राजस्तै करेला ताछि खाएको हामीले नै त थियो ।

10 thoughts on “बोङवाजोर घाटमा नुन बेसाएका ती दिनहरू”

  1. Limbu Haratarah says:
    October 17, 2014 at 4:53 pm

    होइन हौ, कति मिठो भन्या..! प्रस्तुति सललल बग्या, कहिँ छैन भन्नै पर्ने छ्या, मानौ कि मा नि त्यहि छुं क्या.

    Reply
  2. Nirajan Rajalim says:
    October 16, 2014 at 5:43 pm

    तीन नदि मिलेर बनेको त्रिवेणी हुनुपर्नेमा दूधकोसी हुन पुगेछ. सच्याएर पढ्नु होला .

    Reply
  3. Nirajan Rajalim says:
    October 16, 2014 at 12:06 pm

    गौरव जी, खोटाङदेखि धनकुटा, भोजपुर र उदयपुरको सीमा त्रिवेणी घाटसम्मलाई दूधकोशी भनिन्छ । अरुण, तमोर र दूधकोशी मिसिएकोले नै त्यसलाई दूधकोशी भनिएको हो । त्यसपछि सप्तकोशी बन्छ । किराती मिथक अनुसार दूधकोशी एक रुपवान महिला थिइन् अरे । तमोरलाई उछिनेर अरुणले दूधकोशीसँग बिहे गरे रे । त्यसो हुँदा दूधकोशीसँग अरुण पहिला र तमोर पछि मात्र मिसिन्छ । गुगल अर्थको जो चित्र छ, त्यो खोला नै बोङ्वा खोला हो । त्यही दोभान नजिकैबाट बोङवाजोर घाट चल्छ ।

    सिर्जने जी, पहाडी गाउँहरुमा शहरको स्कुसलाई करेला र शहरको करेलालाई तितेकरेला भन्ने चलन छ । मैले गाउँ पाराको करेला लेखेको हुँ । करेलालाई काक्रो जस्तो ताछेर खाएको त मैले पनि देखे सुनेको छैन, तर उखरमाउलो गर्मीमा भोकाएकालाई यो करेला काक्रो भन्दा कम मीठा नहुँदो रहेछ भन्ने कुरा त मैले खाएरै चाल पाएको हुँ ।
    सबैलाई धन्यवाद ।

    Reply
  4. ramesh bantawa says:
    October 15, 2014 at 10:54 am

    मैले पनि बुन्गाजोर . बेसरे. र धाप्लंग घाट आदि ढाकर त हैन [ कारण मेरो घर गाइघाट हो तसर्थ नुन बोक्ने जर्मर्को गर्नु परेन ]झोला संग चै तरेको छु तर घाट तर्दा नाम दर्ता गर्ने प्रक्रिया चै कतै भेटिन , लेखक प्रति मेरो कुनै शंका होइन यो थिति राम्रो हो कुनै दुर्घटना भै हाले को को परे वा को को आए गए भन्ने जानकारी लिन मद्दत गर्छ Iनिराजनजी को लेखन शैली साह्रै सरल र सरस लाग्यो , निरन्तरता को कामना सहित धेरै धेरै धन्यवाद I

    Reply
  5. Gaurav says:
    October 15, 2014 at 6:01 am

    बेल्टार तिर दुध कोशी पर्छ र ? तपाई भोजपुर को मान्छे बेल्टार जान कसरि दुध कोशी तर्नु भयो? बोंगबा दोभान त गूगल अर्थ मा देखिन्दैन त

    Reply
  6. सिर्जने says:
    October 14, 2014 at 11:28 pm

    लेख राम्रो लाग्यो, म पनि केटाकेटी हुदा धरानबाट धनकुटा जाने साघुरिको उकालो, धेरैचोटी हिडेको छु, त्यसैको सम्झना आयो / गढ़तिरको बाटो हिड्दा फोटोमा देखाएको जस्तै नाउ पनि चढेको छु / लेखको अन्तमा “काँक्राजस्तै करेला ताछि खाएको” भन्नुभो, करेला पनि काचै खाइन्छ? कि भाषाको फरकले हो? “भोजपुर” लाइ “भत्तुर” भन्ने भोजपुरेहरुले हामीले “इस्कुस” भन्ने तरकारीलाइ “करेला” भनेको चै सुन्या छु धेरैचोटी / काक्रो जस्तो गरि इस्कुस ताछेर काचै खानुभा’को हो?

    Reply
  7. Aakar Bhushan Nepali says:
    October 14, 2014 at 9:39 pm

    यही घाटमा नाउ खियाउँदा खियाउँदै कत्ति माझीहरूको जवानी र जीवन गयो ?…………………. खियाउने माझीहरू भए पनि अलि पर्तिरका बाठा राई ठेकेदारहरूले दिने पारिश्रमिक र कुनै मनकारी यात्रुको आभारीले जाँड खान दिने पाँच दश रुपियाँको भरमा यी माझीहरू नाउ खियाउँदा खियाउँदै तन्नेरीबाट बुढो भएको मैले नै देखिरहेको छु ।”
    साह्रै घत लाग्यो हौ यो कुरा चाहिं | म पनि कैयौ पटक तरेको छु त्यो खोपेको बांगो मुढामाथि चढेर दुध कोशीको भेलमा | होइन अलि गतिलो संग wooden plank एकापसमा जोडेर एउटा flat bottom boat किन बनाउन नजानिएको होला अहिले सम्म ? हल्का उदेक लाग्छ कहिलेकाही |
    जे होस् पात माथि ज्यान राखेर डुंगा तरी सके पछि बुआ खोला र दुध कोशी को दोभानको तीरमा बनेको छाप्रोमा तिते र रगतसंग भुटेको भालेको मासु र कोदोको छनुवा “टुच” पार्नुको मज्जा नै बेग्लै हुन्थ्यो |

    Reply
  8. Sunny says:
    October 14, 2014 at 4:50 pm

    Great personal story. Love it. Keep writing.

    Reply
  9. Ram C says:
    October 14, 2014 at 1:08 pm

    निरन्जन जी कस्तो पढी रहु जस्तो लेख लेख्नु भो /

    Reply
  10. diwakar says:
    October 14, 2014 at 9:48 am

    राम्रो एक दम राम्रो !!! अरु पनि संस्मरण पड्न् पाइयोस!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme