रुदाने अर्थात् रुपचन्द्र विष्ट ! जसलाई पुरानो पुस्ताले चटक्कै बिर्सिसक्यो, नयाँ पुस्ताले चिनेकै छैन। इतिहासको अँध्यारो गर्तमा धकेलिएर बिर्सिएका एक होइन, अनेकौं रुदानेहरु छन् यो मुलुकमा। तिनलाई स्कुलका पाठ्यपुस्तकमा अनि पत्रिकाका पानाहरुमा कुनै ठाउँ छैन। हाम्रो इतिहासै यस्तो छ- कति रुदानेहरु गुमनाम पारिएका छन्, कति ऐरेगैरेहरु चाँहि ख्यातिको चुलीमा छन्। यो इतिहासको अब वृहत उत्खनन गर्दै तिनीहरुलाई फेरि सम्झने र नयाँ पुस्तालाई अवगत गराउने कामको थालनी गर्नुपर्छ। यसै सन्दर्भमा अमितकिशोर सुवेदी र विकास ढकालले ‘रुदाने: द मिस्टेरियस रिबेल’ नामको डकुमेन्ट्री निर्माण गर्दै गरेको समाचार प्रकाशमा आएको छ।
छिमेकी भारतमा भगत सिंहमाथि सन् २००२ मा एकैचोटि तीनवटा फिल्महरु बने। ती फिल्मले धेरै भारतीयहरुमा विस्मृतिको पर्दा उघारिदियो र भगत सिंहको स्मृतिलाई पुन: ताजा बनाएर ल्यायो। सन् २००६ मा बनेको ‘रङ्ग दे वसन्ती’ ले त युवापुस्तामाझ भगत सिंहलाई उनीहरुको ‘आइकन’ नै बनाइदिएको थियो। त्यस्तै, गत सालको ‘भाग मिल्खा भाग’ ले मिल्खा सिंह को हुन् भन्ने जानकारी संसारलाई दियो।
भर्खरै रिलिज भएको ‘मेरी कोम’ ले पनि मेरी कोमका बारे ठूलो चर्चा फैल्याएको छ। उक्त फिल्मका निर्देशक उमंग कुमार स्वयंले स्वीकारेका छन् कि फिल्मको निर्माण थाल्नुअघिसम्म उनलाई थाहा थिएन- को हुन् मेरी कोम भनेर। फिल्म र डकुमेन्ट्रीहरुमा त्यो शक्ति हुन्छ। इतिहासले बिर्सेका, बाटैमा छोडेका वा चिन्दै नचिनेका नायकहरुलाई दर्शकसामु पस्किदिन्छ।
अनि तिनका जीवनकहानीले मान्छेलाई प्रेरित गर्छन्। तर हाम्रोमा एक त यस्ता ‘बायोपिक’ हरु बन्दै बन्दैनन्, केही गरी बनिहालेछन् भनेपनि गुणस्तरका हुनेमा ठूलो प्रश्नाचिह्न रहन्छ। गुणस्तरकै रहेछन् भने पनि प्रचारप्रसारको अभावमा ती हलमा कहिले लागे, कहिले उत्रे, हलवालाबाहेक अरु कसैलाई थाहा हुँदैन। त्यसैले, पुस्तकहरुको प्रचारप्रसारमा अहिले जुन आक्रामकता देखिएको छ, गतिला फिल्म निर्माण गर्नेहरुले पनि अब त्यसको अनुशरण गर्ने हो कि ? नत्र, त्यत्रो मेहनत गरेर बनाएको फिल्म कसैले थाहै नपाई दर्शकका आँखाबाट ओझेलमा पर्छ भने त्यो बनाएको के सार ? केही वर्षअघि भजनशिरोमणि भक्तराज आचार्यमाथि ‘आचार्य’ फिल्म बन्यो, समीक्षकहरुले ताली पिटे, केही पत्रपत्रिकामा राम्रा ‘रिभ्यु’ हरु पनि छापिए। तर दर्शकका रुपमा हामीले, अझ हामीजस्तो मोफसलमा बस्ने दर्शकहरुले, त्यो फिल्म लागेको-नलागेको केही पत्तो पाएनौं। यसप्रकार भक्तराजबारेको हाम्रो कौतुहलता उनीमाथि फिल्मै बनिसक्दा पनि मेटिन सकेन। सहिद भीमदत्त पन्तको जीवन पनि चाँडै पर्दामा आउँदैछ। आखिर उनी पनि हाम्रो समाजले उतिसारो नचिनेका नायक हुन्। आशा गरौँ, यसले चाँहि ती ‘बायोपिक’ हरुको हविगत नबेहोरोस्।
रुपचन्द्र विष्टका बारे केटाकेटी छँदैदेखि फाट्टफुट्ट सुनिआएको र पढिआएको त हो। तर उनीबारे आधिकारिक सामग्रीहरु भने केही पाइँदैनन्। हरेक वर्ष जबजब उनको स्मृति दिवस आउँछ, तबतब अखबारका भित्री कुनामा केही संस्मरणहरु चाँहि पढ्न पाइन्छन्। तिनै छोटा संस्मरणमा पनि अनेक लोमहर्षक कथा र रोमाञ्चक गाथा हुन्छन् रुप्चनको व्यक्तित्वका। किम्वदन्तीजस्ता लाग्ने ती किस्साहरु पढ्दा उनी कुनै दन्त्यकथाका नायकझैं प्रतीत हुन्छन्। तर यत्तिकैमा रुप्चनको जीवनदर्शन सर्वसाधारणसम्म पुग्न सक्दैनथ्यो, पुगेन। आज पनि तन्नेरी पुस्ता बिल्कुलै अनभिज्ञ छ उनका बारे। यसलाई चिर्न उनका बारे ‘फिचर फिल्म’ वा ‘वृतचित्र’ बनाउनैपर्थ्यो, जुन प्रयास ढिलै भएपनि भएको छ। झारा टार्ने किसिमले होइन, बरु पर्याप्त अध्ययन-अनुसन्धान गरेर साँच्चिकै सार्थक वृतचित्र बन्न सकोस् यो- आमदर्शकको यही कामना छ। अनि धारिलो मार्केटिङ अपनाएर भएपनि ऐतिहासिक व्यक्तित्व वा विषयवस्तुमाथि बन्ने यस्ता फिल्महरु हरेक सर्वसाधारणको पहुँचसम्म पुर्याउनैपर्छ।
एक समय सहरका भित्ता र पर्खालहरु ‘थाहा’ ले पोतिएका हुन्थे। मलाई नमान्नुस्, मेरा कुरा पनि नमान्नुस्, मेरा विरोधीका कुरा पनि नमान्नुस्, थाहा पाउनुस्, सप्रेका देश थाहा पाएर सप्रे, बिग्रेका देश भ्रम परेर बिग्रे, भ्रमैभ्रममा बाँचेर बिग्रेको यो देशको एउटा नागरिक तपाईं बस् थाहा पाउनुस्, देश सप्रिन थालिहाल्छ- यस्तो भन्थे रे ‘थाहा’ आन्दोलनका यी प्रणेता। जनताको यही ‘थाहा’ पाउने अधिकार कुण्ठित हुनेगरी अदालत अवहेलनासम्बन्धी कालो विधेयक ल्याउन लागिएको यो समयमा रुप्चन झनै सान्दर्भिक बनेका छन्। आफ्नो जीवनका अन्तिम दिनमा बिमारीले थलिंदा उनले भनेछन्- ‘छाप्रेहरु उपचार गर्न जाने वीर अस्पताल हो, मलाई त्यहीं लैजा। त्यहाँ भर्ना नै गर्नु परेमा जनरल वार्डमा गर्, क्याबिनमा नगर्।
क्याबिनमा सर्वसाधारण नेपाली बस्न सक्दैनन्।’ सिंगापुर र न्यूयोर्कलाई पानीपँधेरो बनाएका हाम्रा बिरामी नेताहरुका निम्ति योभन्दा कठोर व्यंग्य के होला ? हुनेखाने घरानाको भएर पनि जनता जगाउने राजनीतिमा होमिएका रुप्चनले जीवनपर्यन्त छाप्रेहरुकै राजनीति गरेको थिए, झुत्रेझाम्रेकै लागि लडेका थिए।
२०३७ र २०४३ सालको पंचायती चुनाव जितेका रुप्चनले राष्ट्रिय पंचायतका बैठकहरुमा गर्ने खरा भाषणले पंचायतका ताबेदारहरुलाई हायलकायल पारेको सम्झनेहरु अझैं पनि जीवितै छन्। हामी कसैका होइनौं, कोही हाम्रा होइनन्, हामी सत्य र ठीकका, सत्य र ठीक हाम्रो- यही भन्दै डुलीरहन्थे मैलो मान्छेका झुप्राहरुमा उनी। सरल भाषामा जनतामा कुरा राख्ने उनको एउटै ध्येय थियो- जनजागरण ल्याउने। तर ५० को दशकमा आइपुग्दा उनले हरेस खाइसकेका थिए। भन्थे रे- ‘मान्छेहरु जाग्दै जागेनन्, जे जति जागे, ती पनि जालीफटाहालाई नै काम लागे। मान्छेभित्रको मान्छे जगाउने काममा म असफलै भएँ।’ २०६२/०६३ को वसन्त-विद्रोहपछि अभूतपूर्व रुपले जागेका मान्छेहरु उनले देख्न पाएनन्। देख्न पाएको भए रुप्चन पक्कै खुशी हुन्थे होलान्। तर रुप्चनले चाहेजस्तो चेतनाभन्दा उत्तेजना पो बढेको हो कि यो कालखण्डमा भन्ने प्रश्न चाँहि विचारणीय छ।
हुन त उनलाई बौलाहा भन्नेहरु पनि धेरै निस्के। उनको अद्भुत व्यक्तित्वका धेरै पाटाहरु अझ पनि रहस्यमै लुकेकाले मानिसहरुलाई उनका बारे जे भन्न पनि छुटजस्तो छ। तर पनि, उनी ढोंगी र पाखण्डी थिएनन्। उनको वचन र चरित्रमा कुनै विरोधाभाष थिएन। भित्र जे छ, बाहिर पनि त्यही देखाउँथे उनी। जनताप्रति उनको निष्ठा र समर्पण साँच्चिकै अद्वितीय थियो। सामाजिक सुधारमा उनले ठूलो योगदान दिएका छन्, विशेषगरी उनको कर्मथलो मकवानपुरमा। कृतज्ञ हुनुपर्ने यस्ता नायकप्रति इतिहास कृतघ्न हुन सुहाउँदैन। ‘रुदाने: द मिस्टेरियस रिबेल’ ले इतिहासमा कतै विलुप्त यी रुप्चनलाई उत्खनन गरेर जस्ताको तस्तै दर्शकसामू पस्कन सकोस्- शुभकामना !
We have to learn (in action) with good deeds of Rudane and others. There are many other people in Nepal who inspire us with wisdom. Let us explore them. Devotion to the project/task (whatever you are involved in) with 100% honesty is most important as it gives you happiness and peace of mind. Don’t waste your time with unwanted ideas/thoughts, imitating others if you do not feel it is right and it is very temporary for cheap popularity, strive for eternal and important projects in life. Many people think earning money, achieving highest political/social status, gaining highest academic degree is the substantial contribution to the society. That’s not true. Small things accomplished with selflessly and without any greed give us most satisfaction and happiness in our life. People who are ambitious without honesty (with selfish motive) are the most unhappy people in today’s world. So let us serve others like Rudane and have 100% happiness serving others. For this, it is important that we ignore our desires and expectations.
रु –रुप्चंद
दा –दामन
ने -नेपाल
सर्ब साधारण सग बोल्दा तँ , भाते सब्द प्रयोग गर्ने , सुकिला ,मुकिला सग कुन सब्द प्रयोग गर्थ्यो थाह भएँन | घर , पसल , रिक्सा जता ततै थाह लेखेर र तत्कालिन बिमर्श पत्रिका मा पाक्क पुक्क्क कबिता लेखेरै हिट भयो |
४६ साल को बहुदल धोका हो भनेपछि राजनीतिक चर्चा मा तेती देखिएन | सालिकै बनाउनु पर्ने , र तेत्रो उल्लेखनीय सामाजिक योगदान केहि पनि छैन |नानि मैया जस्तै बहुलट्ठी पारा ले १-२ चोटी चुनाब चै जित्यो | चुनाब जिते एता केहि आसेपासे , समर्थक हुने नै भए |
त्यसैले त बुझ्नु छ –
” लिएर पाइन्न : दिएर सकिन्न “
कुरो अलिक निक्कै नै पहिलेको नै हो,
रुदानेको समुहमा एकजना अलिक हुनेखाने युवती(महिला) पनि सामेल भईछिन, समयक्रम बित्दै जादा त्यी महिलाको रुदाने संगै खाजा खाने परिस्थिति आएछ, अनि खाजा चै परेछ “भुटेको मकै-भटमास” / खाजा खादै जादा त्यी युवतीले मकैको फूल फूल चाही छानी छानी खाइछे अनि रुदानेले त्यो कुरो हेरिरहेको रहेछ तुरुन्त बम्केछन, …” यो केटि ठिक छैन, यो स्वार्थी अनि अबसरबादी छे, जाबो मकै भटमास खादा त यस्तो ब्यबहार गर्छे भने कुर्सि नै पायो भने के गर्ली ?”
————————————————————————-
त्यी महिला हेटौडा तिर कै ठुलो ब्यापारी भनाउदो सधै चर्चा-कुचार्चामा आइरहने को आम़ा हुन् क्यारे, अस्ति भर्खरै खै कुन पत्रिकामा रुदानेको चर्चा पनि गर्दै थियिन / अब को भनेर धेरै detail मा नजाउ होला नत्र फेरी विदेश-परदेस तिर पनि कुर्सि मा उभिने अनि डोरी देख्यो कि फुत्रुक्क उफ्रिने हरुले खोर मा हाली देलान ……………जदौ !!!
हाहा, नाम नालिकनै ठ्याक्कै को हो भनेर भनिदिने तपाइंको कला मलाइ चित्त बुझ्यो.
चार मन माटोसंग
तेरो नाता पर्यो भनेर
माटोको भाडोले तँसंग
दोस्ती सोस्ती गर्यो भनेर
बसिस कैद गमलामा
सिङ्गै पृथ्वीलाइ छोडेर //
–रुदाने
म पनि रुदाने लाई चिन्दछु . उनि एक अलग प्रकारका विचारक थिए . पंचायत बेबस्था लाई जबर्जस्त प्रहार गरेका थिए. अहिके का जस्ता पैसामा बिकेका भातुआ नेता जस्ता थिएनन्.
राष्ट्रिय पंचायतको बहस पछि उन्हांलाई नीउरोद गेटमा एक चोटी भेट भै कुरा गर्दा भन्नु भयो कि नेपाल को इतिहासनै धोका ले परिपूर्ण छ .पृथ्बी नारायण शाह ले पनि धोका गरेर काठमाडौँ उपत्यका कब्जा गरेका हुन्. भरुवा बन्दुक पड्काएर नेवार लाई तर्साई जितेका हुन्.
आफ्नो सारा जीवन जना चेतना बढाउनमा समर्पित गरे . पंचायत बेबस्थाले अगाडी बढ्न दिएन. उनको सम्मान गर्नु नेपाली समाज को दाइत्व हो.
अग्लो ख्याउटे शरीर, क्रिम रंगको अधर्नो कोट, थोत्रो चप्पल, अग्लो ज्यानलाई कसरी थाम्ला जस्तो सानो स्कुटर, खरो बोलि अनि कहिलेकाही टेकुको junkyard तिर खाली शिसीले भरिएको झोला बेचिरहेको स्मृति नै मेरो रुपचन्दसंग सम्बन्धित सम्झना हो| उनको “थाहा” doctrine र “नौ जना आलु ब्यापारी एक्ला एक्लै, एक्लो रुपचन्द हुल का हुल” जस्ता उखानहरुले भरिएका सामाजिक जीवनले सार्बजनिक स्थान पाउनु पर्ने कुरा बिबादरहित हुनु पर्दछ|
यो एउटा सान्दर्विक बिषय हो जस्तो लाग्छ/ मलाइ पनि केहि पुराना कुरा याद आयो/ कुरो करिब ०४३/४४ साल तिरको हो / उहा कालिमाटी को सोल्टी मोड निरको आफ्नै रातो घरमा बस्नुहुन्थ्यो / उहाको साएद मित्शुबिशी रातो रंगको suv जसमा ” थाहा ” लेखिएको थियो / उहा हरेक दिन कालिमाटी चोक स्थित रेसु रेस्तुरेंतमा दाल भात खान आउनु भएको मलाई अझै ताजा सम्झना छ / उहा प्राय कसै संघ बाटामा गफ गरेको देखिन / कसैले Namaste गरे येदि नचिनेको छ भने उहा किन मा नचिनेको मानिस लाइ नमस्ते गरेको भनेर प्रस्न चाही गर्नु हुन्थ्यो / त्यो सन्जोग मलाई पनि परेको छ / पछि केहि बलाकुसरी हुदा मलाई पनि थाहा बारे केहि थाहा दिनुभएको थियो / म प्रभावित भएको थिय / यहाँ यो प्रसङ्ग गर्नु को कारण उहा बारे येदि चलचित्र वा वृतचित्र जे बन्ने भए पनि केहि बिस्तृत अध्यन गर्नु आबस्येक देख्छु / जसका लागि कालिमाटी सोल्टी मोड देखि कालिमाटी चोक सम्मका केहि व्यक्ति हरुबाट धेरै कुरा थाहा पाउन सकिन्छ /उहा संग केहि कुरो नमिलेका कारण कालिमाटीचोक कै अर्का एक बानियाले ‘ याद ‘ लेख्न थालेका थिए / उहाको बिसयमा चलचित्र बनेमा आवस्य हेर्नेछु /सुभकामना //
धेरै खुसिको खबर ! मलाई थाहा छ रुपचन्द्र बिष्ट जनता र राष्टको लागि साच्चै असल र काम लाग्ने मान्छे थिए !
ड्राइभर खलासी ले खाने छाप्रे भट्टीमा भेटिन्थे रुदाने | उनको गफ सुन्न कहिले कहिँ हामी पनि छाप्रो तिर पस्थेउ ०४२ सालतिर हेटौडा पढ्दा…..तत्कालिन पंचेले दिनु दुख दिए बिचारालाई त्ज़सैले त राजा पन्चे भन्ने बितिकै घृणा पैदा हुन्छ | रुदाने जस्ता २-४ जना हुन्थे भने देश सप्रिन टाएम लाग्दैनथ्यो…
A friend of mine has this thing to comment about Mr Roop Chandra Bista: He used to run a restaurant at Daman Tower. Once, my friend happened to stay in that tower restaurant. Early, morning he was seen serving breakfast to the customers. Sounds like he was running one man restaurant, of course, he had a big dog to accompany.
मृत आत्मा हरु ले भरिएको देश मा जनता हरु भए पो जाग्थ्ये रुदाने !!!
हरेक व्यक्ति, कर्मचारी, मजदुर, किसान, इन्जिनियर, डाक्टर, वकिल, सिक्षक, बिद्यार्थी, ब्यापारी, प्रहरी, सेना (कटुवाल किताब बाट पाइएको थाहा) अधिकार बादी हरु, पत्रकार, सुकुम्बासी, हुकुम्बासी सब का सब पार्टी का सदस्य भएको देश मा जनता भएपो “थाहा” पाउथ्ये ! रुदाने !!!
२०४५ सालमा हेटौडामा १ मैना बस्ने मौका मिलेको थियो. मेरा काका पर्नेहरुको चिनजान भएकोले र म उनीहरुसंगै बसेकोले मैलेलाइ भेट्ने मौका परेको थियो. तर तेसबेला मलाइ तेतिखेर उनको बारेमा खासै तेस्तो प्रभाब परेन किनकि म तेतिखेर १५ बर्षको मात्रै थिए. तर भेटेको ३-४ दिनपछि काकाले रुदानेका कबिताहरु पढेर सुनाउदा भने अच्चम लागेको थियो किनकि उनका कबिता हामीले पत्र पत्रिका र स्कूलका किताबहरुमा पढे भन्दा एकदमै फरक थिए. पछि २०५७ सालमा हेटौडामा २ वर्ष कामको सिलसिलामा बस्नु पर्ने भयो. हाम्रो अफिस पनि जनतासंग निकट हुने खाले र गाउ तिर पनि गै राख्नु पर्ने भएकोले दामन, पालुंग तिर पनि धेरै पटक गए. अनि उनका बारेमा झन् धेरै किस्सा र कथाहरु सुन्ने मौका पाए. मकवानपुरमा उनलाई सबैले राम्रो मान्दा रहेछन. हामीले चलाउने अनलाइन इ-साहित्यिक पत्रिका (प्रयास) को लागि नन्दलाल आचार्य (सप्तरी) ले उनको बारेमा लामो लेख दुइ बर्ष अगाडी पठाउनु भएको थियो. तेस्ले मलाई फेरी उनको बारेमा स्मरण फर्काएको थियो. आज यो लेख पढेर म फेरी उही पुरानो हेटौडाको सम्झनामा पुगे. उनि राजनैतिक भन्दा पनि एक विचारक थिए, समाजसुधारक थिए. समय भन्दा अगाडी जन्मेका एक सामाजिक बिद्रोही थिए. उनले जनताबाट कहिल्लै पनि केहि पनि लिएनन् बरु सकेको दिए. उनि साच्चिकै रहस्यमय मानव थिए.