Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्काइपको टीका

Posted on October 4, 2014October 4, 2014 by mysansar

– युवराज नयाँघरे –

nayaghare हाङपाङ छोड्दा नन्दलालसँग आठ छोरा थिए।

मधेश झरे उनी। पहाडमा खानलाउनकै दुःख थियो। झोडा फाँडेर उनी छाप्रो हाली बसे। त्यै छाप्रोमा अरु तीन भाइ जन्मे।

एक रात बूढा पिसाब फेर्न पिढीँमा बसेका मात्र थिए – गोमनले ठुङेछ। ठाउँका ठाउँ ठहरै भए नन्दलाल बूढा।

उनकी जहान भगवतीलाई एघार छोरा हुर्काउन गार्‍हो भो। औधी गार्‍हो भो। पहाडै उठाउनु पर्‍यो उनले।

आज धेरै वर्षपछि मधेशको त्यो घर फेरि रित्तो भो। दशैंमा घर सुनसान भयो। सबै छोरा कोही खाडी, कोही कोरिया, कोही अष्ट्रेलिया। यस्तै चकमन्नमा तानिएर भगवती दशैंको टीकाको तयारीमा छिन्।

सबैभन्दा बाठो भनिएको कान्छो छोराले गाई पालेर बसे गाउँमै। तिनकै लालाबाला हेर्दै उनी दशैं मनाउँदै छिन्।

‘आमा ठूला बाहरुसँग भरे भ्याई नभ्याई हुन्छ। हाम्लाई चाँडै टीको लगाइदिनु।’नाति केटोले भन्यो।

‘तिमेरले जतिखेर भन्यो, त्यतिखेर लाउन काँ हुन्छ र?’

बूढीले गनगने केटालाई हपारिन्।

‘भइहाल्छ नि हजुरआमा!’

‘चुपो लाग!’

उनले हप्काइन्।

नाति र नातिनीहरु आँगनतिर लागे। अनि बूढी आफ्नै सुरले टीकाको जोहो गर्न थालिन्।

‘भरे साइतमा टुँडिखेलमा तोप पड्किन्छ। अनि टीको लाउन पाउँछौ केटा हो!’
उनले आफ्नै सुरमा भनिन्।

‘दस बजेको साइत छोप्नु पर्ला आमा!’

कान्छा छोराले जमरा, टीको, रातो–सेतो देवीको धजे कपडा ल्याए। दियो, कलश, गणेश थापना गरे। जोर बत्ती पनि मज्जैले बले। छेउमा फलफूल पनि सजाए।

‘आमाले सबैलाई टीको लाइदिनु। म दक्षिणाको खाम दिन्छु। आमा नआत्तिकन टीको लाउनु। म सबै परिबन्द मिलाउँछु नि!’

कान्छा छोरा बोले।

‘तेरा बा छँदा अर्कै हुन्थ्यो आजको रौनक।’

आमा बोलिरहेकी थिइन्।

बिस्तारै साइत छोप्न भनेर आमाको हातको टीका लगाए। खानापिना पनि भयो। जमरा र टीकामा समेटिएका केटाकेटीले मासुका चोक्टा बोकेर भित्र बाहिर गर्न थाले।

‘आमा!’

‘है!’

‘दाइहरु पनि दिउँसोदेखि त क्यामेरामा देखिन्छन्। आलोपालो टीका लाइदिनु पर्छ।’

‘ए, ए!’

‘मैले नाति केटोलाई भनेको छु। उसले क्यामेरा मिलाउँदै छ। यो ल्यापटप पनि म मिलाउँदै छु। अब बिस्तारै त्यतातिर पो ध्यान दिने कि आमा।’

कान्छो छोराले ल्यापटपतिर कुर्सी, टेवल, चकटी मिलाउन थाल्यो। उसले वरपरका पर्दाहरु पनि मिलायो।

‘यी सबै देखिनु पर्‍यो नि!’

नभन्दै छेउमा रातो टीको, फलफूल, चिउरा र दहीले भरिएको टपरी पनि मिलाइयो। शुभ दशैं लेखिएको झिलझिले कागज पनि भित्तामा नातिनीले टाँसेकी थिइन्।

‘आमा, आमा!’

क्यामेरा चलाइरहेको छोरो करायो।

‘माइला दाइ देखिनुभयो। लु, आमा धोती फेरेरै आउनु पर्‍यो। चाँडो – चाँडो।’

आमा एकछिन पछि चकटीमा बसिन्। बिस्तारै स्काइप चल्न थाल्यो।

‘ए, यी माइलाका परिवार पो रहेछन् त!’

आमाले केही अनुहार ठम्याइन्।

‘बाबु, अलिक अघि सर त!’

‘आमा ढोग गरेँ!’

‘बाबु, भगवान् दाहिना रहुन्। लु, म टीको लाइदिन्छु है त।’

पालैसान्ती छोरा, बुहारी, नातिनी, नातिहरु देखा परे। बूढीले कम्प्यूटरको स्क्रीनमा छुँदै टीको लगाइदिइन्। कम्प्यूटरमा आइरहे – छोरा, बुहारी, नातिका अनुहार।

बूढी अक्षेता लाँदै निधारसम्म पुर्‍याउँदै, जमरासम्म कानमा टाँस्न खोज्थिन्।

बूढीका आँखा उज्याला हुँदै आँखाभरि आँसु भरिन्थे। उनी जति रमाएकी थिइन्, दुःखी पनि भइरहेकी हुन्थिन् पटक–पटक।

टीकोपछि अरु कुराकानी भए।

‘यो पालि गरी आठ वर्ष भए – तिमीहरु नआएका!’

आमाको बोलीसँगै माइलाको परिवार स्काइपबाट हराइसकेको थियो।

एकछिन पछि साइँली बुहारी स्काइपमा आइन्। आमालाई नातिले भने – ‘आमा, साइँली आमा आउनुभयो। बुबाको काम छ रे। राति स्काइपमा आउने रे। साइँली आमालाई चैं टीको लाइदिनु रे। कोरियाकी आमा क्या!’

नातिले बेलिबिस्तार लाएपछि बूढीले चस्मा पुछ्दै स्काइपमा आइन्।

‘तिमेरु पनि आएनौं।’

आमाको गुनासो थियो सुरुमै।

त्यतिन्जेलमा साइँली बुहारीले ठूलो निधार पारेर कम्प्यूटर तिर तेर्साइसकेकी थिइन् – टीका थाप्न।

‘के गर्नु आमा, परदेशमा भनेजस्तो नहुने रै’छ।’

‘कमाउनु, बचाउनु, सन्तान हेर्नु। सबैको भलो गर्नु।’

आमाले कम्प्यूटरमा टीको टाँस्दै, जमरा पनि लगाइदिइन्।

अनि यसो पनि भनिन् – ‘तिम्रो त एउटा मात्र सन्तान। अर्को पाउनु आउँदो हिउँदमा। बरु स्याहार्न म आउँला है।’

बुहारी मुस्काइन्। रातो टीकामा उनी मुस्काउँदा निकै राम्री देखिइन्।

उनी गए लगत्तै जन्तरेको परिवार देखियो स्क्रीनमा – कुबेतबाट। उनका त भनेजति छन्। चार छोराछोरी र बाबुआमा गरी छ जनाको परिवार छन्। कमाइ पनि राम्रै छ रे।

‘आमा, मलाई भुटेको मासु र चिउरा देखाउनु न पहिला। अनि बल्ल टीका थाप्ने हजुरबाट।’
छोराले त्यसो भन्दा बूढीका आँखा रसाए।

‘लौ, लौ, बाबु। के भन्छ यो जन्तरे। गर्दे बाबु, गर्दे।’

कान्छा छोराले भुटेको मासु र चिउरा एक ठाउँमा राखी क्यामेरानिर राखिदिए। उताबाट हाँसेको, रमाएको कुरा सुनियो।

‘आमा आउँदो साल चैं पक्का!’

तीन वर्ष अघि यो परिवार गएदेखि आएको थिएन। बूढीले टीको लगाइदिइन् – छोराबुहारीलाई, अरु चारै नातिहरुलाई।

‘मेरा राम, लछुमन जस्ता चार नातिलाई क्यै नहोस्। कसैका आँखा नलागुन्।’
आमाले आशिर्वाद पनि दिइन्।

घरको नातिले क्यामेरा घुमाएर बारी, आँगन, बाटाको पिङतिर तेर्स्यायो।

उताबाट रमाई–रमाई बोलेको सुनियो।

‘ए क्यामेरा ठीक ठाउँमा राख त। ठाँहिला बा आउने रे स्काइपमा अब। यी मलाई फोन आइसक्यो।’

कान्छा छोराले आफ्ना छोरालाई भने।

नभन्दै ठाँहिला एक्लै बसे – टीका लाउन। आमाले राम्रैसँग ठम्याइन् – ‘तेरो निधार चैं पहिलादेखि अहिलेसम्म उस्तै छ।’

बुहारीको काम भएकीले राति अनलाइन आउँदा लाउने उनले बताए – ‘आमा, म आउँदो वर्ष आउँछु। पक्का आउँछु।’

उनी गएको पनि ठीक एघार वर्ष भयो – सिंगापुर।

बूढी ढल्केकी थिइन्। खबर आयो जेठाको परिवार आएको छ रे स्काइपमा। उनी बिउँझेर गइन् क्यामेरा अगिल्तिर।

जेठा छोरा त आफ्ना दुई छोरी, दुई ज्वाइँ र आफ्नी पत्नीका साथ देखिए स्क्रीनमा।

‘तिमेरु नचिनिने भएछौ। लु, अलिक अघि सर।’

उनले सबैका निधारमा टीको लाउँदै आशीर्वाद दिइरहेकी थिइन्। अनौठा–अनौठा रुपका देखिए ज्वाइँहरु।

‘के–के जातका परे – यी ज्वाइँ चैं?’

‘अर्कै धर्मका भए पनि हाम्रो दशैंको टीको मन पराउँछन् आमा ज्वाइँहरुले।’

‘लौ–लौ।’

बूढीले सबैलाई टीको लगाइदिइन्। उनीहरु पनि दंग परे। जमरा थाप्न हातै तेर्स्याए। यता बूढीले दिइन् – उता तिनले पाए झैं गरे।

टीकाको राति एघार बजेसम्म पनि बूढी मन्त्र पढिरहेकी थिइन् – आयुद्रोण सुते, सिरम् दशरथे …. शत्रुस्यम् राघवे ….।

‘भगवान् दाहिना होऊन्….!’

सानो नाति क्यामेरा यता सार्छ, उता सार्छ। तलमाथि पारेर कोठाको गतिविधि देखाइरहेको छ बारम्बार।

यता आमाको हातमा टीको, उता रित्तो निधार।

यस्ता यान्त्रिक दशैंका पछिल्तिर के नेपाल कुदिरहेको त छैन? छेउमा रहेकी अलिक ठूली नातिनीले मनमा कुरा खेलाइरहेकी छ–छ।

6 thoughts on “स्काइपको टीका”

  1. लौटन अवधि says:
    October 6, 2014 at 1:17 pm

    दशैं भावनात्मक चाड हो !
    बाध्यता मा स्क्रिन मा आउनु बाध्यता को मुख को माड़ हो !

    जसरि मनाए नि – कर्तब्य ठुलो हो ! स्क्रिन मै मनाउनु लाइ पनि नराम्रो भन्दिन म
    देश मै बसेर – ३६४ दिन भुलेर एक दिन हात को टिका थाप्नु उत्कृस्ट हो भन्दिन म !!!

    Reply
  2. sheela says:
    October 5, 2014 at 12:11 pm

    फोश्रो सन्तुस्टी

    Reply
  3. Sunil says:
    October 5, 2014 at 2:20 am

    If there is a wish, there is the way…..
    Anyway, we have to celebrate our festival..

    Reply
  4. तुयू भाजु उदास says:
    October 4, 2014 at 10:12 pm

    ~ चाडले नेपाललाइ उजाड बनाउंदै छ.~
    यान्त्रिक दशैंका पछिल्तिर अभागी नेपाल कुदिरहेको सदियौं देखि नै हो.
    यसमा नै फोस्रो गर्व मान्ने मुर्ख धार्मिक गुरु र चेलाको हाल कस्तो होला ?
    लालची पुरेत गुरु ;अन्धविश्वासी चेला :
    नेपाल लाई नर्क बनाउन सबै ठेलम ठेला !!
    कामचोर कर्मचारी , अराष्ट्रिय भ्रष्टाचारी ;
    कहिले जन्मिने होला एक साँचो सदाचारी ?

    Reply
  5. Uttam Bhattarai says:
    October 4, 2014 at 8:31 pm

    यता आमाको हातमा टीको, उता रित्तो निधार।

    Reply
  6. Dinesh says:
    October 4, 2014 at 6:00 pm

    “यता आमाको हातमा टीको, उता रित्तो निधार।”

    आँखा नै रसाएर आयो यो बाक्य पढ्दा |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme