– निष्प्रभ सजी –
अभी र म दुबैलाई ट्रयाक्टर चढ्न मन पर्थ्यो । ट्रयाक्टर चढ्न भनेपछि हामी हुरुक्कै हुन्थ्यौँ । अभी आफ्नो घरमा कुरा मिलाएर हाम्रो घरमा दौडेर आउँथ्यो । घरमा दुइवटा सिमेन्टको ब्लक ओसार्ने साना ट्रली ट्रयाक्टररू थिए । कान बटारे पुग्थ्यो, धुवाँको मुश्लो फाल्दै कुद्थ्यो । दशैँको हाराहारीमा मलाई दिदी र मेरो बिरालो को याद आउँछ । आफ्नै फेक्ट्रीमा बनेका ब्लकले घेरेको, टिनले छाएको एक पाखे घर भए पनि दिदीलाई दशैँ आउन लाग्यो कि रंग पोत्नु पर्थ्यो । सिमेन्टका गमलामा लगाउने चुन दिदीले घरको गार्हो पोत्न पनि प्रयोग गर्थी । हाम्रो घर ब्लकको मात्र होइन बिरालाको पनि फेक्ट्री झैँ लाग्थ्यो । तर पनि अरुलाई बाँड्दा बाँड्दै घरमा माउ बिरालो मात्र बाँकि थियो । हाम्रा बिरालाहरू कास्कीकोट देखी ल्वाङ घलेल सम्म फैलिएका थिए । बिरालो कहिले खाटका तन्ना माथि कहिलो सिरक माथि पेट हलका गर्थ्यो । अति भएपछि त्यसपालीको दशैँमा दिदीलाई बिरालाबाट मुक्ति चाहियो । मलाई ट्रयाक्टरमा चढ्न अनुमति थिएन । दिदीले अभी र मलाई बोलाएर तिब्बतियन क्याम्पको उकालोमा लगेर बिरालो छोडेर आइज भनेर आग्रह गरी । दिदीले साइकल चलाउन पनि दिन्छु भनी । दिदीका लागि मेरो ट्रयाक्टरमा चढ्न र साइकल चलाउन मन पराउने रहर हुकुमको एक्का भयो । हामी बिरालो बोकेर तल झर्यौँ ।
बिरालोलाई घरबाट मात्र दुइकिलोमिटर तलको सापकोटाको ओरोलामा छोडेर हामी फर्कियौँ । बिरालो फर्कि फर्कि आयो । तर ट्रेक्टरको गती बढेपछि बिरालो बाटोमै छुट्यो । हामी घर फर्किएको २० मिनेट भित्रै बिरालो आगनमा आएर पल्टियो । माया लाग्दो देखियो बिरालो । दिदीले आखाँ तरेर हेरी । योजना बदलियो । यसपाली बिरालोलाई जुटको बोरामा हालेर करिब पाँचकिलोमिटर तल पर्ने याउँदी खोलाको छेउमा छोडेर आउने कुरो भयो । त्यसपछि पक्का फर्किन सक्ने छैन बिरालो । बाटो पनि देख्ने छैन । मनै अमिलो भयो । छ कक्षामा पढ्थेँ । कलिलो बुद्धीले पनि यो राम्रो काम होइन भनिरहेको थियो । तर अभी उचालियो ।
“हुन्छ दिदी !
बोरा म समाउँछु”
हामीले योजना अनुरुप बिरालोलाई छोडेर आयौँ । नवमी को साँझ दिदीलाई हामीले बिरालोबाट मुक्ती गराएर खुशी बनायौँ । तर मलाई खाना रुचेन ।
मैले मध्यरात सम्म सोचिरहेँ । हामीले त बोरोको माथि बाँधेको डोरी खोल्न पनि पनि बिर्सिएछौँ ।
सेन्ट्रल स्टेशनबाट एयरपोर्ट सम्म आइपुग्दा मैले अभीलाई ब्युँझाइन । काममा निकै पेलिएको थियो उ आज । दशैँका पुर्वाद्धमा बिरालोको याद आयो र दिदीको । अभीलाई लात्ताले धकलेँ ।
“के भयो ?”
अभीले सोध्यो ।
“बिरालो फालेको याद आयो यार”!
“साला तेरो दिमागपनि कति घुम्छ हो”
अभीले सहजै यस्तो प्रतिक्रिया दिए पनि उसलाई पनि एउटा धक्का लागेको थियो ।
किनकि बिरालोको कथा यहीँ सकिदैन ।
दशैँको बिहान दश बजेको टिका लाउने साइत छ भनेर मैले शालिग्राम हजुरबा सँग सोधेर आएँ । शालीग्राम हजुरबालाई बाले सबैकुरा सोध्न पठाउनु हुन्थ्यो ।
आमालाई पनि बिरालोले खुब सताएको हुनाले केही भन्नु भएन । तर मलाई फकाउन, तँलाई एउटा कुकुर ल्याइदिन्छु भन्नु भयो । मलाई कुकुर पनि मन पर्थ्यो ।
मैले कुकुर ल्याउने सर्तमा टीका थापेँ । टीका थाप्ने बित्तिकै खान खानकालागि आगनमा हात धुन गएँ । फर्किदा खुट्टामा केही लुट्पुटीए झैँ लाग्यो । मेरै बिरालो खुट्टामा टासिँदै मलाई घुर्की लगाउँदै थियो । म खुशीले चिच्याएँ । म खुशीँ हुँदै डाँको छोडेर रोएँ । मेरा लागि त्यो एउटा नविन अनुभूति थियो । आमाले मेरो मनोबिज्ञान बुझ्नु भयो । दशैँको दिनमा टुप्लुक्क हाम्रो घरको एउटा छुटेको सदस्य आइपुग्यो । मेरो दशैँ पूर्ण भयो । मर्न त बिरालो त्यसको दुइबर्ष पछि मर्यो । हामीले बारीको कुनामा गाड्यौँ । बिरामी भएर मरेका कारणले मलाई चित्त बुझाउन सजिलो भयो । अहिले सिड्नीमा सुदूर जीवनको कल्पनामै पनि मेरो बाल्यकालको त्यो अभिन्न पात्र बुढी बिरालोले मन कुँडाइरहेको छ । मौनता तोड्न खोज्दै थिएँ, प्लेटफार्म आइपुगेछ । अभीले इशारा गरेपछि थाहा भयो ।
ट्रेनबाट झर्दा झर्दै अभीलाई सोधेँ ।
”अर्को दशैँमा त जान्छस् होला नी घर ?”
“जान्न यार, पोहोर जाँदा दशहजार डलर ले पुगेन । पैसै छैन”
मन मनै लाग्यो, हुन पनि हो घरमा जिन्सको प्यान्ट, टिसर्ट र घडीे भए मात्र पुग्ने भाईबहिनी भइदिए, आइप्याड र आइफोन माग्ने दिदी नभइदिए, अभी दशैँमा घर जाने कुरा गर्दैमा यसरी बिच्किदैन थियो होला । अभी अगाडि अगाडि फोनमा कुरा गर्दै हिँड्न थाल्यो । मलाई आमासँग बोल्न मन लाग्यो । घरमा फोन घण्टी जाने बित्तिकै उठ्यो ।
“ममी !”
मैले आमालाई ममी भनेर बोलाउँछु ।
“बाबु” !
“ममी आज बुढी बिरालोको याद आयो, मन कस्तो कस्तो भयो, अनि यत्तिकै फोन गरेँ, के गर्दै हुनुन्छ त ?”
मैले सोझै कुरा निकालेँ ।
ममी नराम्रो सँग मौन हुनु भयो । मैले बारम्बार हेलो भनेपछि बल्ल बोल्नु भयो ।
“हो त ! कमसेकम बिरालो त घर फर्किन्थ्यो ?”
आमाले यसोभनेपछि म नतमष्तक भएँ । पछि फोन गर्छु भनेर फोन राखेँ । मेरो बोली सेती गण्डकीझै दवियो । मन मौन भयो फेवाताल झैँ ।
नेपाली पत्र अष्ट्रेलियाको ‘ट्रेनभित्र आधा घण्टा’ स्तम्भ बाट साभार (अंक—१३६)
राम्रो लग्यो कथा | सुरुदेखि नै राम्रो भूमिका बाधेर राम्ररी टुंग्याउनु भो | ढिलै
भएनी दशैं को शुभकमाना |
“हो त ! कमसेकम बिरालो त घर फर्किन्थ्यो ?” वाक्यले भित्रै देखि हल्लायो. २००८ को मार्च देखि सिड्नी हुत्तिएको यो प्राणिले अहिले सम्म पनि घर फर्कने बाटो पहिल्याउन सक्या हैन!!
५ किमि मात्रै होइन बिरालो र कुकुर त ३० ओउ किमि टाढा बाट पनि फर्केर आउछन !! यिनी हरु मा गजब को सुघ्ने सक्ति हुन्छ !
बोराको मुख बन्द थियो ? कसरी खोल्छ बिरालोले र कसरी घर फर्किन्छ बिरालो ? यो किम्बदन्तिको रुपमा भनाएको कथा हो जस्तो लाग्यो शिर्षक बिरालो, दशैँ र छोरो धेरै राम्रो एउटा शब्दले गर्दा कतिको फरकहुदोरहेछ …….(हामीले त बोरोको माथि बाँधेको डोरी खोल्न पनि पनि बिर्सिएछौँ ।)
जुटको बोराबाट निक्लिन बिरालोलाई गार्हो नपर्ला ! च्यातेर पनि भाग्ला नि !
निष्प्रभ जी तपाईलाई “माइ संसार ” मा यसरी भेट्दा उहिलेका हाम्रा (our sansar) ka din हरुको याद आयो . तपाई को गज़ल ;-
जानी जानी रात पार्यौ र नजाउ यति राति भन्यौ …..
कोहि छैन घरमा आज हिड जाउ माथि भन्यौ …
बोरामा हालेर ५ किमि पर खोलाको छेउमा फालेर आको बिरालो फर्केर आयो रे ? अनी बोराको मुख पनि बन्द थियो रे ?