-समाधि हृषिकेश-
अहिंसाको अर्थ व्यापक छ । हेर्दा ज्यादै छोटो शब्द, सानो देखिए पनि यो बडा विराट, विशाल कुरा हो । यसलाई बुझ्न सानो अभ्यास, साधना, एउटा सानो प्रयास विल्कुल नगण्य जस्तै नै हुन्छ । यसको अर्थ अहिंसामा हिँड्न नै छोड्ने भन्ने होइन । लाखौं माइलको यात्रा एउटा सानो पाइला बाटै हुने हो ।
अन्त कतै जानैपर्दैन, ‘संसारलाई साढे पाँच फन्को’ ल्याएर आउने मानिस हाम्रै माझ छन्, केवल साइकलमा ! केवल एक साइकलमा ! यो कलियुगमा एक मानव कदम कत्रो नै हुन्छ र ? धरतीबाट केही फिटमात्र अग्लो यो मानवले यत्रो विशाल संसारको फन्को साइकलमा परै जाओस्, पैदलै गरेका ज्वलन्त उदाहरण ब्रह्मज्ञानी श्री शिवपुरी बाबाजीको भौतिक अस्तित्व हामी माझ केही पहिले भएकै हो । एक पटक हैन ! दुई–दुई पटक !
धरतीमा मात्र सीमित रहेन अब यो मानव कदम चन्द्रमामा पुगेको पनि निकै भएछ । अब त्यो भन्दा अगाडि पनि बढ्दै !! यो त्यसै सम्भव भएन । यसको पछाडि, यो बाहिरी यात्राको क्रमबद्ध सफलता पछाडि, गरिछाड्ने विराट आत्मविश्वासको हो, कुरो । हामी निरन्तर बाहिरी यात्रामा जुटिरहेका छौँ, भित्री यात्रा अन्तरमनको यात्रा, आफैँ भित्रको यात्रा पनि नभएका छैनन् तर बाहिरी भन्दा तुलनात्मक रूपमा थोरै हुन पुगे । यस्तै भित्री यात्राको कहानी हो, अहिंसा !
बाहिरको यात्रा गरेर साध्य छैन, साध्य होला तर सजिलो छैन ! मानवको स्रोत-साधनले भ्याउन सजिलो छैन । यो ब्रह्माण्ड त लगभग अनन्त सम्मै प्रसारित हुँदै होला । भ्याउला, नभ्याउला भन्ने छैन । तर सजिलो छैन । यता भने आफूभित्रको यात्रा केही तुलनात्मक रुपमा सजिलो हो कि ? केवल आफू भित्र फर्कने काम हो बाहिर देखिएका रहस्यमयी अवयव ब्रह्माण्डका भेट्नलाई । जे बाहिर छ त्यो आफूभित्र छ । अतः एक मानव आफैँमा एक पूर्ण ब्रह्माण्ड हो । आफू भित्र यात्रारत् हुँदा भेटिने आयाम हो अहिंसाको कहानी । जति जति आयामहरू आफूभित्र यात्रारत हुदैँ जादा भेटिंदै जान्छन् ती सबै आफूभित्रैको अनन्त परमात्मन् सम्म पुर्याउने सहयोगी एवम् अत्यावश्यक आयामहरू हुन् । यस्तै एक आयाम हो अहिंसा । यो कुरा विचार्न केही सूक्ष्म विश्लेषण आवश्यक छ । जीवनमा, जगतमा, संसारमा, विश्वमा सूक्ष्मातिसूक्ष्म प्रतीत हुने कुरा नै बलवान भन्दा बलवान हुन्छन् । मन ज्यादै सूक्ष्म हुन्छ, बडा बलवान पनि । अति सूक्ष्मतम् कुराहरूमा जीवनका रहस्यतम् भन्दा रहस्यतम् रहस्यहरू उद्घटित हुन प्रतीक्षारत हुन्छन् । केवल चिन्तनको खाँचो हो ।
नेपाली बृहत् शब्दकोशका अनुसारः
अहिंसा ना.(सं.)
१. हिंसाको अभाव, काटमार नगर्ने काम ।
२.प्राणीमात्रलाई दुःख पीडा आदि नहुने चित्त दुख्ने आचरण नगर्ने काम ।
बृहत् शब्दकोशले यी दुई संख्यामा यति विराट कुरालाई कति सरस, सहज तरिकाले उभ्याउन खोजेको छ । हिंसा दुई किसिमका हुन्छन् । मूलतः एउटा कर्मले गरिने अर्को वचनले । कर्मले गर्ने हिंसाभन्दा वचनको हिंसा अझ खतरनाक । तर यी दुवैलाई चलाउने मनको अवस्थाबाट होस या बेहोसीमा हुने हिंसा सबैभन्दा खतरनाक । यो संसार सबै मनकै प्रक्षेपण हो, सबै विचारकै प्रक्षेपण !! एउटा व्यक्ति यदि मनबाटै दैविक विचार राख्दछ भने उसको भौतिक प्रक्षेपण त्यसै अनुरुप हुन जान्छ । सुन्दर !! अब ढोंग गर्ने हो भने कुरो अर्कै भो ।
कसैको पनि क्रियाकलाप पहिले मनले नै निर्देशित गर्छ अनि मात्र भौतिक प्रभाव देखिने हो । त्यो चेतन मनबाट पनि हुन सक्छ, अचेतनबाट पनि, जे भए पनि मनबाट निर्देशित छन् । त्यै भएर सबैभन्दा घातक मानिएको हो मनबाट हुने हिंसा, हिंसाभाव । अतः यत्र, तत्र, सर्वत्र वर्णित छ सबैभन्दा पहिले मनको शुद्धीकरण । मनको शुद्धीकरण नै सच्चा मानेमा अध्यात्म हो, धार्मिकता हो, योग हो । मनबाट नै शुद्ध व्यक्ति साँचो मानेमा आध्यात्मिक हो, धार्मिक हो । र, यसमा लागि पर्नाले ऊ योगी पनि हो । आध्यात्मिक हुन, धार्मिक हुन कुनै विशेष आवरण, कुनै विशेष सम्प्रदाय वा कुनै विशेष देवालय, मन्दिर, कुनै गुम्बज्, मस्जिद, चर्च आदिमा बाँधिनु मात्र हैन । हो एक आध्यात्मिक वा धार्मिक व्यक्ति कुनै आध्यात्मिक वा धार्मिक केन्द्रका छेउ–छाउ भेटिएला तर त्यसको अर्थ उसलाई कुनै कुनै विशेष ‘चस्मा’ ले नहेर्दै राम्रो होला । प्रकृतिको नियमलाई बुझेर आफू त्यसबाट अविचलित हुन खोज्नु आध्यात्किमता होला, धार्मिकता होला । त्यसो हुनलाई कुनै ग्रन्थ विशेष आद्योपान्त पारेर गोल्ड मेडलिस्ट हुन आवश्यक नपर्ला ।
स्वामी रामकृष्ण परमहंस ब्रह्मज्ञानी थिए । उनी अनपढ थिए तर पनि ब्रह्मज्ञानी थिए । यसको अर्थ अध्ययनलाई त्यागौँ भन्ने होइन, अध्ययन आवश्यक छ, मार्ग निर्देशनका लागि, सही प्रयोगका लागि, सदुपयोगका लागि । मैले अध्ययन गरेको छु भनेर अहंता विकसित गर्नका लागि हैन । अहम् घातक हुन्छ । यसको अर्थ यो मात्र हो अनपढ हुँदा पनि आध्यात्मिकता, धार्मिकता तर्फको ढोका बन्द रहँदैन भन्ने कुरा मात्र । हामीले प्रयास गर्ने हो, प्रयास गर्ने हो, प्रयासलाई जारी राख्ने हो सत्यको नजिक पुग्न, बाँकी त उनै सत्यको सिंगो प्रतिमूर्ति स्वयम् परब्रह्म परमारमा त्यसको न्यायाधीश, जज् । श्रीमद्भगवद्गीता अध्याय २, श्लोक ४७ मा उनै परब्रह्म परमात्मा भगवान् श्रीकृष्णले भन्नुभएकै हो ; “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोsस्त्वकर्मणि ।”
अर्थ: कर्म गर्नलाई मात्र तिम्रो अधिकार छ, फल पाउनु वा नपाउनु कहिल्यै पनि तिम्रो अधिकारमा छैन ; यस निमित्त मेरो कर्मको फलानो फल मिलोस् यो हेतु मनमा राखेर काम गर्ने नबन ; अनी कर्म नगर्नाको (छोड्नाको) पनि तिमी आग्रह नगर ।।
केवल निष्कामसेवी हुने हाम्रो हकमा ! अहिंसाका सिंगो प्रतिमूर्ति अर्को उदाहरण हाम्रै बुद्ध हुन् । उनको अवस्था, उनको बुद्धत्व, उनी मित्रका बुद्धतत्त्व पूर्ण हो । तथागत् बुद्धको आत्मोत्सर्ग एक जन्मको सानो साधना, त्याग तपस्या, बलिदान भने पक्कै होइन । हो एक जन्मको लगातार साधना बुद्धत्वको गन्तव्यमा प्राप्त हुनको लागि ज्यादै मायना राख्ने कुरो हो, महत्त्व राख्ने कुरा हो । माथि भनिए जस्तै, यसबाट अहिंसाको विराटता पुष्टि हुन्छ ।
एउटा भनाई छ, ‘संसार इको हो, प्रतिध्वनी हो, जे फ्याँक्यो त्यो अझ बढी बढी गुणन भएर फर्कन्छ, आफैँतिर’ यो अहिंसाको दैवी सन्देशमा हिंड्न चाहने जो कोहीलाई अझ अर्थपूर्ण हुनसक्छ । हामीले प्रेम फ्याँक्यौँ प्रेम नै फर्कन्छ, घृणा फ्याक्दा घृणा नै, अहिंसाभाव प्रसारित गर्दा अहिंसा भाव नै फर्किने आफूतिर स्वतः देखियो । यसर्थ एक साधक, एक मुमुक्षुका लागि अझ महत्वपूर्ण भयो यो तथ्य किनभने आफ्ना साधनामा यी कुराहरू आएर जोडिँदै जाँदा साधनाले अझ सहयोग पाउने हो ।
बुद्ध, हाम्रा धर्मशास्त्रहरू हिंसाको पक्षमा वकालत गर्दैनन्, गरेका होइनन् । अहिंसाको स्तुति गाएर यी थाकेका देखिदैँनन् । महाभारत अनुशासन पर्व(११५–२३/११६–२८–२९) अनुसार ;
अहिंसा परमो धर्मः अहिंसा परमो तपः
अहिंसा परमो सत्य यतो धर्मः प्रवर्तते ।
अहिंसा परमो धर्मः अहिंसा परमो दम: ।
अहिंसा परमं दानं अहिंसा परमं तप: ।।
अहिंसा परमो यज्ञः अहिंसा परमो फलम् ।
अहिंसा परमो मित्रः अहिंसा परमं सुखम् ।।
अर्थ: अहिंसा नै सबैभन्दा ठुलो धर्म हो । अहिंसा नै सबैभन्दा ठुलो तप हो । अहिंसा परम् सत्य हो जुन सत्यबाट धर्म हुन्छ ।
अहिंसा सबैभन्दा ठूलो दान हो ।
अहिंसा सबैभन्दा ठूलो यज्ञ हो ।
अहिंसा सबैभन्दा ठूलो फल हो ।
अहिंसा सबैभन्दा ठूलो मित्र हो ।
अहिंसा नै सबैभन्दा ठूलो सुख पनि हो ।
अतः अर्काको हत्या गरेर धर्म होला त ? सोचनीय छ ।
भगवान् मनुको सन्तान हामी मनुष्य ! हामी मनुष्य जाति बुद्धिजीवी प्राणी । ज्ञानवान अर्थक बुधधातुबाट बुद्धि शब्द बन्दछ । बोध अर्थक ज्ञा धातुबाट ज्ञान शब्द बन्दछ भने यी दुई शब्द ज्यादै सम्बन्धित छन् । बुद्धि सैद्धान्तिक हो । ज्ञान चैँ अनुभवात्मक हो भन्दा फरक नपर्ला । भगवान् मनुको सन्देश मनुस्मृतिलाई मानव कर्तव्य अकर्तव्य ज्ञानको कल्पवृक्ष वा राजमार्ग भन्न सकिएला ।
एउटै ब्रह्म ब्रह्मा– विष्णु–शिव नामबाट सगुण रूपमा प्रकट हुनु भएको आद्या शक्तिरूपा भगवतीदेवी तिनै भगवान् का ब्रह्माणी, वैष्णवी, देवीलाई जगतमाता, चराचर प्राणीहरूको आमा मानिन्छ, भनिन्छ ।
“देवि: प्रपन्नार्ति हरे प्रसीद,
प्रसीद मातर्जगतोsखिलस्य ।
प्रसीद विश्वेश्वरि ! पाहि विश्वं,
त्वमीश्वरी देवि चराचरस्य ”
‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ’
पुत्रको स्वभाव खराब हुन जाला तर माता कहिल्यै पनि कुमाता हुन सक्दिनन् ।
हामीले सद्भावना, श्रद्धा, भक्तिसँग क्षमता अनुसारको साधनाले देवी भगवतीको सेवा पुजन गरे राम्रै होला । “पितरो वाक्य मिच्छन्ति, भाव मिच्छन्ति देवता” ; पितृलाई मिठो वचन, देवतालाई मिठो भाव । परब्रह्म परमात्मातर्फको यात्राका लागि एक मानवमा चाहिने यहि हो स्वभाव । यथाशक्य आफ्नो स्रोत साधनले जे सकिन्छ त्यही पवित्र रुपमा अर्पण गर्नु, गराउनुले नै स्वयम् परब्रह्म परमात्माले आफू खुस हुने कुरा श्रीभद्गवद्गीता, अध्याय ९, श्लोक २६ मा यसरी बताउनु भएको छ ;
‘पत्रं पुष्प फल तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मन: । ’
अर्थः ‘जो भक्त मलाई भक्तिले केही पात, फूल, फल अथवा यथाशक्ति अलिकति पानी मात्र समर्पण गर्दछ भने पनि त्यस नियतचित्त पुरुषका भक्तिको भेटलाई म खुशीसाथ ग्रहण गर्दछु ।’
जसरी एकै आमाबाबुका सन्तानहरू बीच कलह हुँदा वा एक दाजुले भाइलाई वा भाइले दाजुलाई दुर्व्यवहार गर्दा पीडित जुनै सन्तान प्रति पनि आमाबाबुको मन उत्तिकै दुख्दछ, त्यसरी नै परमात्माको सत्ताका बराबर सन्तान हामी जीवजन्तु । जब एक प्राणीले अर्को प्राणीलाई आफ्नो स्वार्थ परिपूर्तिका लागि हत्या गर्दछ भने परम् ममतामयी जगन्माता देवी भगवतीको हृदयमा ठेश पुग्न जानु छर्लङ्ग देखिन्छ । सबैलाई बराबर स्थान दिइएको उनैको यो विराट, अनुपम सत्तामा ती अबोध पशु र ‘बुद्धिजीवी’ हामी मनुष्य बराबर हौँ । अझ परमात्माले हामीलाई चेतनाको मात्रा बढी नै दिएका हुन् । ती अबोधको रक्षा गर्न, भरण पोषण गर्न न कि आफ्नै स्वार्थका लागि उनीहरूकै हत्या गर्न । अतः कुनै वैधानिक शास्त्रीय प्रमाण अनि कुनै आधार विनाको ‘बलि प्रथा’, हिंसावाद कदापि जायज होइन, हुन सक्दैन । केवल ममतामयी देवी भगवती मात्र नभएर श्रीपशुपतिनाथकै उदाहारण हामी लिन सक्छौं । पशुपतिनाथ शब्दको अर्थ यति सुन्दर छ कि त्यसको अर्थको सुन्दरता एकछिन चिन्तनले पनि मन आनन्दित हुन्छ ।
पशुपति अर्थात् पशुका पति, पाशाविक प्रवृत्ति उपर विजय प्राप्त अवस्था । पाशाविक प्रवृत्ति भन्नाले जनावरमा हुने अज्ञानता, चेतनाको अभाव, कुनै हिंस्रक जनावरमा हिंसाभाव आदि यी सबै उपर विजयप्राप्त श्रीपशुपतिनाथ !!
कसैको साधना गर्नु, पूजा गर्नु र स्तुति गर्नु भनेको त्यो प्रतिमूर्तिको व्यवहार, आचरण र उसमा भएको दैवीय गुणहरु आफूमा हृदयंगम गरेर जीवनलाई धन्य–धन्य पार्ने प्रयासमा लाग्नु हो । हाम्रा शास्त्रहरुमा भएका युद्ध हिंसाका कथाहरू सांकेतिक मात्र हुन् । युद्ध आफैं भित्र छ । देवी भगवतीले वध गरेको राक्षस हामी भित्रकै नकरात्मकता हो । भगवान् राम, परम् ममतामयी देवी भगवती हामी भित्रकै सकरात्मकता हो । यो शरीर एक मन्दिर । हाम्रो सिंगो जीवन उत्सव हो, पर्व हो । यो धरती एक गोलोक, बैकुण्ठ, एक पाराडाइस !! यसलाई हामीले बुझ्न सकिरहेका छैनौ ।
अतः यो सुषुप्त अवस्थाबाट हामीलाई जगाउन पर्वहरू आउने गर्दछन् । तर विडम्बना हामीले नकरात्मक रूपमा अर्थ्याउन पुग्यौं । सतहमै रह्यौं, भित्रको अहिंसा रूपी देदीप्यामान मोती पहिल्याउन सकेनौं । मानव कदापि हिंस्रक प्राणी हुन सक्दैन । मानवमा हिंस्रक प्राणीको जस्तो नङग्रा, दाह्रा, आक्रामकता छैन । दाह्रा, नङग्रा, आदि शिकार गर्नका लागि हिंस्रक प्राणीमा हुने फीचर्स हुन्, विशेषता हुन् । तिनै मांसाहारी र शाकाहारी जीव बीच केवल सतही मात्र अध्ययन, चिन्तन हुन सके फरक स्पष्ट देखिन्छ । शाकाहारी प्राणीको बस्ने शैली नै आक्रामक हुँदैन, मांसाहारी प्राणीको बस्ने शैली नै आक्रामक हुन्छ, शिकार अगाडि पर्न मात्रै पर्यो झम्टन तयार, एक उदाहरण ।
व्यासजीले अठार पुराणको रचना गर्नुभो तर ती सबको सार केवल दुई वाक्यमा दिनुभो, ‘अष्टादशः पुराणेषु व्यासस्य वचनम् द्वयम् । परोपकार: पुण्याय पापाय परपीडनम् ।।’
‘परोपकार नै पुण्य हो, परपीडन पाप हो ।’
अब यत्रो अहिंसाको वकालत गर्ने ग्रन्थहरूले हिंसाको कुरालाई कसरी स्वीकार्लान् ?
महर्षि पतञ्जलिले आफ्नो पातञ्जल योगदर्शन दोस्रो पाद, पैतीसौं सूत्रमा यसरी भन्नु भएको छ:
‘अहिंसा प्रतिष्ठायां तत्सन्निधौ बैरत्याग: ।। ’ अहिंसामा प्रतिष्ठित व्यक्तिका लागि सिंगो अस्तित्व मित्रवत् हुनेछन् ।’ परमात्मा त हुने भैगए । यहाँ ‘अहिंसामा प्रतिष्ठित हुनु’ को अर्थ यसमा “अ पर्फेक्ट डीटरमीनेसन” भन्ने सेन्समा, फेमस हुनु भन्ने सेन्समा होइन । अब रह्यो कुरो हाम्रो अलमलको, हाम्रो आलस्यताको, हाम्रो इग्नोरेन्समा, हाम्रो अज्ञानतामा, हाम्रो विवृत्तिकरणमा । दियो मुनि अँध्यारोमा भयौँ हामी ।
वास्तवमा हाम्रा मनवचन, कर्मले अर्कालाई दुःख नदिने हो भने कसैसँग डर, विरोधभाष रहँदैन । बलिदान भनेको पूजामा साधनहरू अर्पण गर्नु, चन्दन अक्षता, फूल अर्घ पञ्चामृत, पक्वान्न, पायस, विभिन्न मिष्ठान्न अपुंगो आदि नैवेद्य, चरु, घृत आदिको हवन ; यी सबै बलि सामग्री हुन् ।
ज्यानकै बलि मान्ने हो भने छागबलि, अश्वमेध, गोमेध, नरमेध आदि नाम छन् । इन्द्रिय, मन, विचार आदिलाई नियन्त्रण गरी नराम्रोबाट राम्रोतिर लैजाने प्रेरणा नै बलिदान हो ।
‘असतोमा सद्गमय’
बलि भनेर ज्यानै मार्ने हो भने नरमेध भन्ने ठाउँमा पुत्रको बलि कसले गर्न सक्छ ? यज्ञमा सुरापान, पशुबधको प्रसंगमा अर्थ बुझ्न सक्नुपर्छ ।
सुरापान–फूलहरूको रस जमाएर अर्पण गरी वासना लिने, छागबलि भनेको गर्ने हो भने बोको ल्याएर फूलचन्दनले पूजा गरी जलमा हात चोबेर बोकाको ढाडमा चिसो पारी हातले सुमसम्याउने र छाड्दिने हो । श्रीमद्भागवत् महापुराणको एकादशस्कन्धमा भनिए अनुसारः ‘यद्घाणभक्ष्यो विहित: सुरायास्तथापशोरालभने नहिंसा’
दशैंको अन्य पक्षसँग हामी लगभग परिचित नै हौँ, छौ । यो हिन्दुहरूको सबैभन्दा महान् चाड हो । हिन्दुहरूको मात्र हैन यस प्रति आस्था राख्ने सबैका लागि यो एक विशाल पर्व हो । तर यससँग जोडिएर अर्थका अनर्थ भए । ती अर्थका अनर्थलाई पन्छाएर भित्र लुकिरहेको, भित्र छुपिरहेको अहिंसा रूपी रत्न तत्त्व पहिल्याउन आउनुस् न हामी सबै अहिलेबाटै एउटा थालनी गरौं, एउटा ब्रेकथ्रू गरौँ । यो व्यक्ति, त्यो व्यक्ति, यो परिवार, त्यो परिवार, यो घर, त्यो घर, यो टोल, त्यो टोल, यो समाज, त्यो समाज, यो गाउँ, त्यो गाउँ, यो शहर, त्यो शहर हुँदै सिंगो देश, हिंसा मुक्त पार्ने अभियानको थालनी यै बडादशैँको पावन अवसरबाट गरौँ । देवी भगवतीमाताले हामी सबैको कल्याण गरुन् । हामी सबैको मंगल नै मंगल होस् । सारा विश्वमा शान्ति नै शान्ति छाओस् । हामी सबैमा हामी भित्रको पाशविकताको बलिमय, अबोध पशुप्रति हिंसाभाव मुक्त, प्रेममय, सद्भावमय, करुणामय, मैत्रीमय, शान्तिमय बडादशैँको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना !! शुभकामना !!!
हार्दिक ! हार्दिक !! शुभकामना !!! बाचौं र बचाऔं !!
….शान्ति, प्रेम र अहिंसा….
म एक पटक गाउमा मेरो साथीको घरमा सपताह ज्ञान महा यज्ञ लगाको ठाउमा गएको थिय/ त्यहा हरेक अध्याय सके पछी सबै जना ले जय जय भन्नु पर्थ्यो/ पुराण भन्ने पण्डितले भगवान बिस्नु को जय समस्त संसार को जय प्राणी मात्रको जय भन्ने गरेको पाईयो/
तेसै गरे म विदेशमा हुदा चर्चमा गएको थिय त्यहा पनि प्रार्थना हुन्थ्यो/ तर त्यहाको प्रार्थनाको अन्तमा मात्र ख्रीस्तीयन को लागि मात्र प्रार्थना गरीयो/ अन्य गैर ख्रीस्तीयनको लागि कोहीले पनि प्रार्थना गरेनन/ तेस्तै रेडीयोमा खाडीमा हुदा इस्लाम धर्मको प्रचारात्मक कार्यक्रम सुने/ त्यो कार्यक्रममा बारम्बार मात्र इस्लाम अनि इस्लामीहरुको लागि मात्र प्रार्थना अनि दुवा गर्न भनियो तर गैर इस्लामिक हरुको लागि कुनै प्रार्थन दुवा भयन/ मेरो मनमा कुरा खेल्यो अरु धर्म मात्र आफ्नो सम्पदाय को भलो हुने कुरा गर्छ तर हिन्दु धर्म समस्त प्राणी हरुको जय होस् भन्छ/ यदि हिन्दु पनि सम्प्रदायिक हुने हो भने समस्त हिन्दु मात्रको जय होस् भन्नु पर्ने होईन?? तर हिन्दु धर्म उदारबादी धर्म हो/ अप व्यख्या गर्नेले नकारात्मक कुरा मात्र हेर्छ/ उदारवादी धर्म नास्तिकता बादी धर्म हिन्दु धर्म हो जसले हरेक प्रार्थनाना समस्त प्राणी मात्रको जय होस् भन्दै प्रार्थना गर्छ/ बलि दिनु नदिनु व्यतिको कुरा हो/ साकाहारीता कुरा अरु धर्मले भन्दा हिन्दु धर्मले नै बादी मह्त्यो साथ अनेक ब्याक्ख्य गरेको कुरा हिन्दु धर्म ग्रन्थमा छ/
धेरै राम्रो लेख रहेछ के गर्नु बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भनेको येही हो
यो शुभ कार्यमा मा म हातेमालो गर्न चाहन्छु मन र बुध्हिमा खिया लागिसक्यो भने एस्तो अम्रीत बचन सुन्ने र बुझ्ने चाहना हराउदै जान्छा मान्छेको आस्तु
पशुको घांटी आधा रेटेर घांटीलाइ दोबारेर देवीको प्रतिमामा रगतको पिच्कारी नहान्नु भनेर एकै वाक्यमा भन्न मिल्नेमा यति लामो धार्मीक गन्थन किन पो गर्नु ?!
शशाङ्कजी,
तेती एक बाक्यले त एस्तो अर्ध ज्ञानी भयौ त हामी! “काटमार गरे पाप लाग्छ, नर्क पुगिन्छ” भन्थे बुढापाकाले, अब नर्क र पाप हिजो आज कल्ले पत्याउने? बरू “आध्यात्मिक शान्तिका” कुरा गरे कोहि-कोहिले पत्याउलान / त्यसैले लेखकज्युले मिहिनेत गरेर बुझ्न खोज्ने र पढ्न खोज्नेका लागि धेरै सामग्री जम्मा गरिदिनु भएको छ /
काटमार नगरौ, हिंशा नगरौ अनि “देबीको भोग” को नाममा पशुहत्या गरेर पेट भर्ने काम नगरौ, खानु छ भने देबीको नाम जोड्नु पर्दैन, बेसरी खाएर डकारे हुन्छ, मन्दिरमा काटमार गरेर मन्दिर दुर्गन्धित गर्नु पनि ठिक होइन, कसो?
यदि श्रीमद भाग्वद गीता सबैले पढ्ने अनि अर्थ मनन गर्ने हो भने मात्र पनि विश्व त्यसै नै रमणीय हुनेछ ! त्यो केवल हिन्दुजनको मात्र ग्रन्थ होइन, बरु सबै मानवजाति को लागि पथप्रदर्शक हो !
विजया दशमीदेखि शुरु गर्नु पर्ने ‘पंच-वलि’ ~
वास्तविक अर्थ के हो ,यो कुरो अलि मनन गरौं –
समाजमा विकृति ल्याउने स्वार्थी र अज्ञानी तत्व हुन्.
यसलाई चुप लागेर बढावा दिने पुरोहित वर्ग पनि हुन्.
शास्त्रको ज्ञान बढी हुने गुरुवर्गले नै पहल गरेमा सफल हुन्छ
अनर्थ बाट सार्थमा परिणत गर्नको निम्ति गुरु र पुरोहितहरुले
लेखेर र बोलेर मात्र होइन , आ-आफ्नो घर बाट नै इमान्दारिताले
‘वलि’ को सही तरिकाले कार्य रुप दिने क्रम आजैबाट श्रीगणेश गरौँ.
लेखमा त्रुटी दर्साउने स्थान देख्दिन ।।
लेखकलाई धन्यवाद, वधाई तथा सुभकामना ।
एउटा neutral प्रस्न छ लेखकलाई ”
हामी जिवजन्तुमात्रलाई
प्राणीको रूपमा हेरि तिनिहरुप्रती गरिने दुर्व्यवहार लाई
हिंसा को सङ्या दिन्छौ । प्राणधारी त वोट बिरुवा पनि त
हुन् ! हैनर ? तिनिहरुप्रतिको हिन्सा लाई के भन्नुहुन्छ ? “
Things
* Non Living things (Solid, Liquid, Gas)
* Living (Animal-Zoology and Plant-Botany)
Plant and animal both are Living Things but one of them is under zoology which required oxygen to survive and depends on other for food but other is under Botany which use CO2 and Sunlight to make their own food. Plant don’t die if you cut the leaf or branches but grow back up but animals don’t.
यो विजय दशमी (बडा दशैं) मा हामीले हामी भित्रको चंद, मुन्द, सुम्भ, निशुम्भ , महिसाशुर हरुलाई मारेर हामी भित्रै रहेको राम, कृष्ण, बुद्ध, देवी भावना हरुलाई विजयी बनाउन सफलता मिलोस !
ग्यान का लागि नेपाली समाज तयार भैसकेको छैन ,,ग्यांग का लागि तम्तयार छ !! सब श्री ३ हुने दाउ मा छन् ! घर घर मा जन्मेर हुर्काइञ्छ जंग बहादुर !! एउटा तन्त्र हटायो अर्को खान तयार !! राजनैतिक पार्टी को भोटर जस्तै भए धर्म का अनुयायी,मेनिफेस्टो नपढी पुस्तैनी आधार मा उफ्रेको छम !! अरु लाई के दोष दिनु ..आफै ले जान्नु पर्ने हो ! गुरु को लेख ले kehi को netra khulcha ki ?
यो विचार लाई सबै ले मनन गरुन !
wow dai… enjoyed reading it thoroughly. couldn’t understand all of course. still (y) .
यो प्रवचन पुरा पढ्ने धैर्य नै भएन। हिँडे म मासु खान।