Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दशैँ सम्झना : आहा, त्यो उत्साह!

Posted on September 25, 2014September 25, 2014 by mysansar

आज घटस्थापना। आजदेखि दशैँ सुरु भएको छ। दशैँको सम्झनामा लेखिएको एउटा ब्लग-

dashain ‘दशैं’ शब्दले नै मेरो मनमा एक मिठो संगीत बज्न थाल्थ्यो! ‘बल्ल घर जान पाइने भइयो, मुवां, बुवालाई भेट्न पाइने भइयो, उहाँहरुको हातबाट टिका र आशिर्वाद थाप्न पाइने भइयो,’ भन्ने सोचेर म पुलकीत हुन्थें। त्यसैले अरु बेला घर गैयोस् कि नगैयोस् दशैंमा त जसरी जानुपर्छ भन्ने मान्यता मेरो थियो।

यस्तै एक दशैं म सम्झन्छु। त्यतिबेला हामी कीर्तिपुरमा बस्ने गर्थ्यौं। छोरो विशु ५-६ वर्षको थियो। श्रीमान् को अफिस फूलपातीदेखि मात्र छुट्टी हुने हुनाले हामीले घर, दमक जानका लागी त्यही दिनको टिकट काटेका थियौं। हाम्रा साथमा भतिजी लूना पनि जाने भई। पूर्व जाने बस बिहानको ४ बजे नै छुट्ने र कीर्तिपुरबाट त्यति बिहानै बसपार्क जान ट्याक्सी नपाइएला, बच्चा पनि सानु भएकाले गारो होला भन्ने विचार गरि हामीले अघिल्लो दिन बेलुकै गएर बसपार्क छेउको लजमा बास बस्ने निधो गर्यौं र लज पनि बेलैमा बुक गर्यौं।

हाम्रो योजना मुताविक हामीले बेलुका बेलैमा खाना पकायौं, खायौं। लूना बिजुली बजारबाट दिउँसै कीर्तिपुर आएकी थिई I घरको सब काम टाक्टुक् सकी घाम नअस्ताउँदै चार जनाको हाम्रो टोली हाँस्दै, गफ गर्दै कीर्तिपुरबाट बाटा लाग्यो। लजमा रात बिताउन पाउँदा विशु पनि मख्ख पर्यो।

बसपार्कमा भएको घारघार र घुरघुर अनि हल्ली र खल्लीले भोलि पल्ट बिहान २ बजे देखिनै हाम्रो निंद्रा खुल्यो। के सुतिरहनु भनि बेलैदेखि उठेर हामी नित्य कर्ममा लाग्यौं। सबभन्दा पहिले लूना बाथरुम गई। एकछिनपछि ऊ भित्रैबाट चिच्याई, “काका, साबुन छैन त! केले हात धुनू ?” हामीले घरबाट हिंड्दा मन्जन-बुरुस चाहिं सम्झेर बोकेछौँ तर साबुन भने बोक्न बिर्सिएछ। त्यति राती नै अब कता साबुन किन्न जानू ? त्यतिन्जेलमा लूना बाहिर आइसकेकी थिई। त्यसैले काका चाहिंले केहीबेर सोचेर जुक्ति लगाउनु भयो, “लूना, मन्जनले पनि एन्टीसेफ्टिकको काम गर्छ। त्यसैले मंजनले नै धोइदे हात !” एकछिन त लूना अक्मकाई तर ‘मरता क्या नकरता’ भने झैं गरी बाथरुममा छिरी र मंजनले दली दली हात धोई। पछि हामीले नि उसैलाई पछयायौं।

तीन, सवा तीन बजेसम्म हामी सबै ठीकठाक पर्यौं। बस छुट्ने पीरले अगिल्लै दिनदेखि बसपार्क छेउ बास बस्न आएका हामी ठीक परेपछि के लजमै अडिएर बस्न सक्थ्यौं र? आफ्ना झोला झाम्टा बोकेर लाग्यौं टुंगैतिर। त्यति रात्तिनैदेखि बसपार्कमा चहल पहल शुरु भैसकेको थियो। तर हाम्रो बसको भने त्यहाँ अत्तो पत्तो थिएन। हुन् त चार बज्न अझै निकै बेर पनि त बाँकी थियो। हामी यता उति घुम्यौं, चिया सिया खायौं। यति गर्दा बल्ल चार बज्यो। बस नदेखेर विशु अधीर हुन थाल्यो। उसलाई फकाउँदै हामी बस आउने बाटातिर हेर्न थाल्यौं। नभन्दै ४.३० बजेतिर घ्यार घ्यार गर्दै हाम्रो बस आयो। ‘बेलैमा बस आयो, अब बेलुकाको भात खान त टुप्लुक्कै घरमा!’ भन्ने सम्झी हामी निकै उत्तेजित पनि भयौं।

ओहो! दशैंको बेलाको भीड! बसमा चड़न सबैलाई हतार! ठेलाम ठेल! तिनै मान्छेको भीडमा हामी पनि हेलियौं र आफ्ना सीटमा गएर बस्यौं। अब बस हिंड्ला छैन, तब बस हिंड्ला छैन। सबै यात्रु अधैर्य भैसके! बस चलमलाउने अत्तो पत्तै पो छैन। “के भाको? किन बस नहिंडेको? ए गुरुजी, चार बजे नै बस छुट्छ भनेर हामीलाई रात्तिनै बोलाउने अनि अहिले चैं बसपार्कमा खर्काउने?… ” अनेक थरीका तातेका स्वरहरु सुनिन थाले! तैपनि अहँ बस हिंडेन। बस्ता बस्ता हामी पनि अलि तात्न थाल्यौं! “हिजोदेखि आएर लजमा बसेको नि बेकारै भयो! यतिबेलासम्म त कीर्तिपुरबाटै मजाले आइपुगीन्थ्यो नि!” म जंगीन थालें। लूना र विशु “त्यही त! त्यही त!” भन्दै सही थाप्न थाले। बल्ल बल्ल नौ बजेतिर कछुवाको तालमा हाम्रो बस अगाडी बढ्यो।

अर्को चुनौती कलंकीको भीड छिचोलेर अगाडी बढ्नु थियो। बाटाभरी गाडी पूरा सलाईका बट्टामा सलाईका काँटी मिलाएर राखेजस्ता थिए। अलेली अलेली सरेको बस कलंकी चोकमा आइपुगे पछि त ठप्पै भयो! हामीलाई भने कीर्तिपुरका आफन्तले झलमल्ल घाम लाग्दा समेत हामीहरु यहीं हल्लिरहेको देखेर खिल्ली उडाउलान कि भन्ने त्रासले छोपेको थियो! जे होस्, एघार बजेतिर बल्ल हाम्रो बसले कलंकी छोड्यो।

एउटा अर्को आपतले हामीलाई भारदहमा पर्खिरहेको रहेछ। कुरो के रहेछ भने, हामीभन्दा अगाडी गएको एउटा बसले एक स्थानीय व्यक्तिलाई किचेर मारेको रहेछ। यो घटनाले क्रोधित बनेका स्थानीयबासीहरुले अरु बसलाई घटनास्थलबाट अगाडी बढ्न दिएका रहेनछन। हाम्रो बसको ड्राइवरचाहिं कत्तिन ‘हीरो’ पल्टेर सुँइंयँ बस लाने भएको! अनि त के थियो र? त्यो बसलाई त चारैतिरबाट लोकलहरुले घेरी हाले नि! एकैचोटी त्यत्रो भीड एउटा जाबो बसमाथि खनिएको मैले पहिले कहिले पनि देखेकी रहिनछु। लोग्नेमान्छे त लोग्नेमान्छे भैहाले! आईमाईहरु पनि यति माथिमाथि सारी सुर्किंदै दुई हातमै ढुंगा बोकेर गडडड…कुदेर आए। के भएको राम्रोसंग कुरो बुझ्न नपाउंदै हाम्रो बसमा डाङडाङ र डुंगडुंग ढुंगा बर्सिन थाले! झ्यालका शीशा चड्याम र चुडुम गर्दै फुटेर कोई बाहिर कोई भित्र झर्न थाले! भयभीत यात्रुहरु ज्यान जोगाउन बसको सीट्मुनी पस्न थाले! मेरा श्रीमानले पनि लूना र विशुलाई सीट्मुनी खांद्नुभयो! मँचाहिं परें मोटी! बसको सीट मुनि पस्न नसक्ने! त्यसैले टाउको निहुर्याएर भुँईमा थ्याच्च बसें। श्रीमान पनि सीटमुनि पस्नुभयो। एकछिनपछि डाङडुंग सुनिन छोड्यो र मान्छेहरु बिस्तारै बिस्तारै सीटमुनिबाट निस्किन थाले। दशा यतिले टर्यो भनेको त किन टर्थ्यो ? बाहिरबाट “बसमा आगो लगाउनुपर्छ,बसमा आगो लगाउनुपर्छ,” भन्ने उत्तेजित सामूहिक स्वर सुनिन थाल्यो। “आज चाहिं पक्कै मर्ने भईयो!” हामी सबैका मनमा यही कुरो गुञ्जियो। त्यतिबेलै कसको मनमा देवता पसेछन् कोनि! “प्यासेन्जरलाई बाहिर निकालेर मात्र आगो झोस्नुपर्छ,” भनेको सुनियो। एकै छिनमा “ल ल,प्यासेन्जरजति फटाफट बाहिर आउने,” कसैले निर्देशन दियो। लामु सास तान्दै बसबाट वर्लेर हामी अरु मान्छेलाई पच्छयाउँदै नजिकैको मन्दिरतिर कुद्यौं।

त्यतिबेला रातीको यस्तै दश बजेको हुँदो हो। हामीलाई आफ्नु पुनर्जन्म भएजस्तो लागिरहेको थियो।त्यसैले सबैको अनुहारमा विजय मुस्कान छरिएको थियो। केटाकेटी मान्छे निन्द्रा लाग्यो होला भनेर मैंले विशुलाई भनें, “विशु, अब कतिबेर यहाँ पर्खिनु पर्ने हो! तँ एकछिन आइज मेरो काखमा सुत्। ” विशुले चारैतिर हेर्यो र सोध्यो, “अनि सिरक खोइ त? सिरक नभई म त सुत्न सक्तिन। ” ज्यान जोगाउनै त्यस्तो मुस्किल परिरहेको बेलामा विशुको सिरक-मोहले हामीलाई हाँस उठायो। निकै बेर लगाएर स्थानीयबासी, पुलिस र बस स्टाफले कुराकानी मिलाए। त्यसैले हाम्रो बस फेरी बाटा लाग्ने भयो। “धन्न लामखुट्टेको टोकाई सहेर यो मन्दिरमा रात बिताउनु परेन,” भन्दै हामी बसतिर तेर्सियौं।

अबको हाम्रो यात्रा अझ स्मरणीय थियो। बसका झ्याल एउटई थिएनन् ! बाहिरको सबै चिसो हररर… भित्रै पस्थ्यो। घन्द्रंग घन्द्रंग गर्दै तूफान बस कुध्थ्यो। त्यत्रा ढुङ्गाको वर्षा हुँदा पनि धन्न एकजनालाई बाहेक बसका अरु यात्रुलाई चोट लागेको रहेनछ। तर बिचारी एउटी केटीलाईचाहिं दशा नै लागेको रहेछ, त्यो दिन! खासमा उसको सीट पछाडी रहेछ। तर अगाडी बस्ने लोभमा कुनै भला मानुससंग उसले आफ्नु सीट साटेकी रहिछ। यसरी अगाडीबाट हानेको ढुङ्गाले उसको अनुहारमा सिधै लागेछ ! ड्राइवरहरुले औषधी पसलमा लगेर मलमपट्टि त गरिदिएछन! तर बिचरीका आँखाबाहेक अनुहारमा सबैतिर पट्टि बाँधेर हेरिनसक्नु बनाइदिएछन! खासमा उ को हो चिन्न असम्भव थियो! हाम्री लूनालाई अब घरमा त्यो केटीका आफन्तले उसलाई कसरी चिन्ने होलान् भन्ने ठूलो चिन्ता थियो।

अन्तमा रातको भन्नु कि बिहानको २ बजेतिर हामी फ़ुङ्ग उडेको अनुहार,सुकेका ओठ र धूलो र माटोले च्याप् च्याप् भएको कपाल लिएर दमक चोकमा वर्लियौं। ट्याक्सीमा चढेर सरर… घरतिर लाग्दा त्यो यात्रामा के के वाधा आए भन्ने कुरा हामीले सब बिर्सिसकेका थियौं। ‘बल्ल सहिसलामत घर आइपुगियो’ भनेर हामी फुरुक्क फ़ुर्किएका थियौं। दशैंको रमाइलो, बाबु – आमासंगको भेट, टिका, जमरा, आशिर्वाद जस्ता कुराको नशाले हामी पूरा लठ्ठीएका थियौं।

सधैं सम्भव नहुन सक्छ। तर सम्भव भएसम्म, घरमा बाबु-आमा रहेसम्म जस्तासुकै समस्या आइलागे पनि दशैंमा घर जानु जस्तो रमाइलो केही हुँदैन। फेरि सबैलाई सधैं यस्तो सौभाग्य कहाँ प्राप्त हुन्छा र?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme