-तारा खतिवडा/एडमन्टन, क्यानडा
“अलिक मिलाउनोसन”, शोधपत्र (थेसिस) को पानाहरु पल्टाउँदै प्राध्यापक डा.सिंहले यसोभन्दा उ अलिक दुविधामा पर्यो। कहाँ, के नमिलेको हो भन्ने उसको जिज्ञाशामा सिहंले अगाडि थपे, “पहिलो चोटि भेट्दै हुनुहुन्छ, थेसिस जस्तो कुरा, हतारिएर हुन्छ र? अलिक मिहेनत गर्नुपर्यो। तपाईहरु मिहेनत नै गर्दैन। खालि पुरानो थेसिसमा नयाँ डाटा हालेर ल्याउँछ, सधै पुरानो बोत्तलमा नयाँ रक्सि भर्नु त भएन नि। ब्रान्डेड चाहियो के ब्रान्डेड। जमाना ब्रान्डेडको छ, कस्तो कुरा नबुझेको। अलिकति नयाँ दिनुपर्यो। अरुको भन्दा फरक देखिनु पर्यो। अलिक पढ्नुहोस न। ल आजलाइ जानुस, अर्को चोटि मिलाएर ल्याउनुस है त।”
एक महिनाको प्रयाश पछि बल्ल आज प्राध्यापक कोठामै भेटिएका थेसिस सुपरिवेक्षक सिंहले यसो भनिरहदा उसको घाँटिमा खै के ख्याप्प अड्केजस्तो भयो। करिब चार महिनाको निरन्तर लगाव पछि उसले थेसिसलाइ पुर्णता दिएको पनि आज एक महिना बितिसकेको थियो।
बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रोजेक्टहरुको कार्य ब्यस्तताले सिंह विभागमा कमै उपस्थित हुन्थे जसको कारण उनलाइ सजिलै भेट्न मुश्किल थियो। सिंहले थेसिसको तारिफ गर्दै आजै भाइभाको प्रक्रिया अगाडि बढाइदिनेछन भन्ने कुरामा ढुक्क उ, अहिले खङरगं पर्योे। वास्तवमा थेसिस राम्रो बनाउन गरेको मेहेनतले नै उसमा यस्तो विश्वाश जन्मिएको थियो। नयाँ र श्रृजनात्मक बिषयबस्तु, सहि डेटाको प्रयोग, डेटा बिश्लेषणको उचित तथ्यांकिय विधि र उत्कृष्ट ढाँचा आदि त छदै थिए साथै अंग्रेजीमा दक्ष सिनियर बाट भाषा सम्पादन पनि गराएको थियो। अझ सम्बन्धित विषयका एक परिचित प्राध्यापकले थेसिस हेरेर उत्कृष्ट भएको प्रतिकृया दिएका थिए। त्यसैले पनि उसको मेहेनत अनुसारको आश अस्वभाविक थिएन। तर सिंहले दश मिनेट खर्रर थेसिसका पाना पल्टाएको भरमा दिएको प्रतिक्रिया सांच्चै अमिल्दो लाग्यो उसलाइ।
हुन त प्राध्यापन पेशामै केश फुलाएका उनलाइ सय पेजको थेसिस नापजोख गर्न दश मिनेट को समय काफी नहोला भन्न त सकेन, तर उसको मुख्य गुनासो भने उनले तोकेर के के अनि कहाँ कहाँ मिलाउनु पर्ने हो त्यो नभनिदिएकोमा थियो।
मन भारी बनाउँदै विश्वविधालयको परिशर काटेर उ नयाँ बजार उक्लियो। सिंहले कम्तिमा सच्याउने ठाउँ मात्र देखाइदिएको भए उ खुशी नै हुन्थ्यो। अब कहा कहा सच्याउने, सम्झने प्रयास गर्दै उक्लिरहृो। बाटोमा भेटिएका साथीहरुसंग धेरै गफ नगरी अगाडि बढ्दै थियो, च्याप्प पछाडिबाट कसैले समात्यो। देख्यो, एउटै ब्याजको तर फरक बिषय पढेको गाउँले साथी दिनेश रहेछ। “के छ यार, तिमीलाइ निकै अगाडि देखि खोज्दै थिएँ, भेटै हुदैन, के कसो गर्देछौ।” भन्यो साथीले। “के गर्नु यार, थेसिसको टेन्सन छ, त्यसैमा अल्झेको छु।
तिमी त रामेछाप पढाउन गएका थियौ हैन र? कैले आयौ? ” पालो उसको थियो, भन्यो।
“तिमी सगँ विषेश कुरा गर्नु छ, हिंड यार आज अलिकति जाडो पनि छ, जिउ तताउँदैै गफ गरौ।” दुबै डिम लाइट छिरे। “म पढाउने स्कुलमा अकाउन्टको एउटा दरबन्दी छ, जान्छौ भने हिड। मैले तिम्रो बारेमा स्कुलमा कुरा पनि गरेको छु। यो वर्ष देखि एघार शुरु हुदैछ। खान बस्न लाग्दैन, ग्ााउँमा सुको खर्च हुदैन, पैसा चोखो बच्छ।” साथीले रेस्टुरन्टको क्याबिनमा छिर्दार्छिदै गाँठी कुरा खोलिहाल्यो। “राम्रो कुरा गर्यौ यार, तर हेरन यो थेसिसले..” थेसिसको नामै लिन गाहृो भैरहेजस्तो गरी बोल्यो उ। “हे थेसिसको के चिन्ता गर्छाै, भैहाल्छ नि, फेरि अहिल्यै डिग्रीको सर्टिफिकेट पनि त चाहिदैन नि।”
साथीको स्वार्थ हावि देखियो। “साँची तिमीले थेसिस चै के गर्यौ हँ?” फेरि उ ठाउँमै आयो। “आज भाइभा दिएर आएको”, आवाज निकै दमदार थियो, गिलासमा बियर खन्याएर चियर्स गर्दै साथी बोल्यो, “पन्चानब्बे हाल्दियो”। “अरे तिमी त परीक्षा सकेको भोलिपल्टै रामेछाप हिडेका होइनौ र! के जादु गर्यौ हँ?” उसले बियरको घुड्की कम बढ्ता चक्मा खायो। “जादु सादु केही होइन यार, सबै सेटिङ हो।” साथी गर्विलो देखियो। उसले सेटिङको कुरा धेरैजसो भन्सार, तस्करी तथा अन्य अवैध कारोबारमा मात्र सुनेको थियो। तर अहिले थेसिसमा पनि सेटिङको कुरा सुनेर उ तिन छक पर्यो। “हैन कस्तो सेटिङ यार, यो थेसिस गर्नु पनि कुनै अवैध काम हो र!” उसको आवाज कमजोर सुनियो। “यदि साच्चिकै वैध भैदिएको भए तिमी छ महिना देखि फुल टाइम यसैमा झुल्लिनु पर्ने अनि म भने दुर्गममा बसेर मुश्किलले तिन पटक विश्वविधालय छिरेकै भरमा यति छिट्टै पन्चानब्बेको हकदार हुने परिस्थिती नै आउँदैनथ्यो नि। हेर, यो देशमा सजिलो सँग मर्न पनि सेटिङ मिलाउनु पर्छ।”
उ भनिरहेकै थियो, “सुन, अलिकति खर्चियो भने तिमीले थेसिस लेख्नै पर्दैन, अर्कैले लेखिदिन्छ। तिम्रो काम भनेको त रेडिमेड प्रपोजल बुझाउने, रेडिमेड थेसिस बुझाउने अनि भाइभामा अलिअलि थेसिस घोकेर बसिदिने मात्र हो। मैले त्यहि गरे। यहा आफै गरेर पो के हुन्छ र! । देखिहाल्यौ नि, तिमी जस्तै एक दुइ जनाले आफै गर्न खोजे पनि यहा कसैले पत्याउँदैन। यहाको चलनै यस्तो। हामी आफै बनेका कम अनि बनाइएका धेरै हौ। बरु तिमी पनि रेडिमेड हुन सिक। चाउचाउ हुदाहुदै को ढिडो हँुडलेर समय खेर फालिरहोस।” साथीले तितो ओकल्दै गयोे। “यि सबै कुराको सेटिङ बिधार्थी नेता मार्फत बन्छ। आखिरी बिधार्थीको हित त गर्नै पर्यो नि। अधिकांश प्राध्यापकहरु यिनै नेताहरुका प्रभावमा छन। नत्र आफ्ना प्राइभेट कम्पनी चलाएर विश्वविधालयमा हाजिर गर्न प्रध्यापकलाइ पनि गाहृो छ नि।” साथीका कुरा मुनासिब नै लागे उसलाइ।
कुरा फेर्दै साथीले पहाडे ठिटिहरुका कुरा निकाल्योे। अरुले सुन्दा लाज लाग्ने गफहरु पनि भए। बियरको नशाले दुबैको जवानीमा थप मात भरिरहेको हो कि झै पनि देखियो यतिखेर। बियरको फिँजसंगै गफहरु उठ्तै फुट्तै गरिरहे साँझको करिब सात बजेसम्म। अहिले उ थेसिसको टेन्सनबाट मुक्त झै देखियो। साथीको मोबाइलमा बजेको लगातार रिङले दुबैलाइ टेबलबाट उठ्न बाध्य बनायो। उठ्नु अघि साथीले स्कुलको कुरा पुन सम्झाउँदै पर्सिसम्ममा सम्पर्क गर्न मोबाइल नं दियो। रेस्टुरेन्टबाट छुट्टिदा किर्तिपुर नयाँबजारको चहलपहल घट्ने क्रममा थियो।
लर्रबराउँदै उ सिंडि नै सिंडि बाघ भैरवको डाँडो उक्लियो। हत्तेरिका कस्तो धेरै पिइएछ, झण्डै लडिएन। लडिसकेपछि उठ्तै यसो पनि भन्यो। पिसाबले च्यापेको अघिदेखि हो, तल माथि हेर्यो, कोही देखेन। लोडसेडिङको साथ पाएर छोडिदियो विश्वविधालयतर्फ फर्केर, लुज्जा। विश्वविधालयलाइ सराप्दै खै के के छाडा कुरा पनि बोल्यो। कोठामा गएर डङरङ्ग पल्टिएको उ मोबाइलको लगातारको घण्टिले बिहान करिब आठ बजेतिर ब्यँुझियो। दाइ फोनमा भन्दै हुनुहुन्थ्यो, कहिले घर आउँछस माइला, जाँच सिद्देको पनि छ महिना बितिसक्यो, जागिर कहिलेदेखि खान्छस, अब त पैसा पठाउन सक्दिन है, अरु भाइ बैनि पनि पढाउनु पर्ने, कति ऋण गर्नु, अब त मान्छेले पनि पत्याउन छाडे, आमाको औषधि उपचारमा निकै पैसा सिद्दिसक्यो………। दाइ फोनमा खुइय गर्दै हुनुहुन्थ्यो। फोन विचैमा काटियो, शायद ब्यालेन्स सिद्दिएछ क्यार। उसकोमा पनि इनकमिङ मात्र हुन थालेको महिना कटिसक्यो। अस्तिको महिनादेखि कोठाभाडा तिरेको छैन। कुन मुखले दाईसंग पैसा माग्ने होला। टाउको कटक्क दुखेजस्तो भयो।
उ सम्झन्छ, तिन बर्ष अघि झापाबाट एक पोको चामल, अलिकति गुन्द्रुक, दाल, आलु, बेडिङ बिस्तारा अनि निधारमा रातो अक्षतामा आफ्नो अनि सिंगो परिवारकोे सपना मिसाएर राजधानिको लागि नाइट बस चढेको थियो। सपना खासै ठुलो पनि थिएन। राम्रोसंग डिग्रि पास गर्ने, सानो तिनो जागिर खाने, घरको आर्थिक बोझ हलुका पार्ने, बाँकि भाई बैनिहरुलाइ राम्रोसंग पढाउने बस। उसले राम्रोसंग पढ्यो पनि। तर विभिन्न आन्दोलन, बन्द हड्ताल, चुनाव आदिको कारणले दुइ बर्षे कोर्ष तिन बर्ष नाघिसक्दा पनि अझै थेसिस त बाँकि नै थियो। सामान्य खेतिपातिको भरमा उ सहित चार भाइ बैनिलाइ दाइले आफु नपढेर भएनि पढाएका छन। त्यसैले उ चाँडो भन्दा चाँडो दाइको काँध हलुका पार्न चाहान्थ्यो।
टाउकोको दुखाइ बढिरहेको अनुभव गर्यो। कालो चियाले ठिक गर्ला कि। सेतो खान त हुनु पर्यो नि कौडि, आफैलाइ लोपार्यो। थोत्रिसकेको स्टोभमा दम दिदै गयो। मट्टितेलको सट्टा हावा मात्र निस्कियो टुटिबाट। हिजै सिद्दिएको थियो मट्टितेल, बल्ल सम्झियो। भुल्टुङ बोकेर नयाँबजार झर्यो। दुइ चार पसल चाहार्यो। तिन हप्ता भैसकेछ बजारमा मट्टितेल नआएको। उसले तिन हप्ता अगाडि नै तिन घण्टा लाइन बसेर पाँच लिटर थापेको थियो।
आज बेलुका आउने सम्भावना छ, एउटा पसलेले आश देखायो। सोच्यो, आज कुनै साथिकोमा पाहुना लाग्न पाए। तर उसका ग्याँस सिलिण्डरवाल साथिहरु होटेलमै खाना खान थालेका छन। ग्याँस नपाएको त दुइ महिना कटिसकेछ। स्टोभ राखेकोमा अहिले आफुलाइ बुद्धिमान ठान्यो। ठानिस बुद्धिमान, ग्याँस चलाउन त चाहियो नि कौडि, अर्को मनले भन्यो। वास्तवमा साथिहरुमाझ उ स्टोभ चलाउने एक्लो थियो। आज कति दम हानिस हँ? साथीहरु कहिलेकाहि जिस्काउँथे। दम हान्नलाइ त हुनु पर्यो नि दम, उ पनि उडाइदिन्थ्यो। ग्याँसको हाहाकार हुनथालेपछि उसले धेरै साथीहरुलाइ खाना खुवाएको छ।
अहिले उनिहरु पनि दममा साच्चै दम रहेको स्विकार्छन। बजारमा यता उति डुल्दै थियो, एउटा खाना पर्मा लगाएको साथी भेट्टियो। खाना खान होटेल छिर्न लागेको रहेछ, उसलाइ देखेर गजल शैलिमा भनिहल्यो, “बममा बारुद नभएछि बम के को बम, दममा दम नभएछि दम के को दम।” “ठिकै भन्यौ, आज देखि अलिअलि बचेको दम पनि सिद्धयो यार”, उसले लाचारी पोख्यो। “हामि मरेका छौ?हिड आज दुइ दिनलाइ ब्याकअप पुग्नेगरी ठटाउनु पर्छ।” खाना खादै गर्दा अरु साथीहरुको चर्चा भयो। केहि लोकसेवाको तयारीमा थिए, पैसा हुनेहरु अमेरिका, अस्ट्रेलिया तथा युरोपेली देशमा स्टडी भिषाको तयारीमा थिए, पैसा नहुनेहरु ऋण गरेर भएनि सुटुक्क अरबतिर हान्निने दाउमा थिए, तर गाँउ फर्कन कोहि तयार थिएनन्। भन्थे गाँउमा अवसर नै छैन, बरु बोडिङमा नर्सरीलाइ पढाएर भएपनि यतै बस्नु पर्छ, ढिलो चाँडो केहि न केहि त भैहाल्छ नि। राजनितिक खिच्चातानिले झर्ला र खाँउला भन्दै मुख आँ बाएर बस्नेहरु पनि धमाधम गायब हुदैथिए।
फेरि थेसिसको चर्चा भयो। “त्यो सिंह त थेसिसको मामलामा अलिक गार्हो मान्छे छ रे। यसो गर न, सिंहले नै गाइड गरेको त्यो रमेशको दुइ महिना अगाडिनै भाइभा भएको थियो। म सग नं छ फोन गरेर सोध न, केहि आइडिया भैहाल्छ नि।” साथीले सुझायो। उ फोन नं लिएर साथीबाट छुट्टियो। पिसिओमा गएर फोन गर्यो, उठेन। निकै चोटि डायल गर्यो, नउठेपछि कोठातिर लम्कियो।
थेसिस पुन पढ्यो। मिलाउने ठाउँ कतै भेटेन। दिनभर कोठैमा बसिरहृो। बेलुका फेरि भुल्टुङ च्यापेर बजार झर्यो। ट्याङकरवालको हड्तालले मट्टितेल आएनछ आजपनि। रमेशलाइ फोन गर्यो, अहँ उठेन। बजारमा पहिलो बर्षका विधार्थीहरुको चुरीफुरी हेर्न लायक थियो। कोही किताब राख्ने बाँसका र्याकहरु छान्दै थिए भने धेरै पुस्तक पसलबाट किताबका ठेलिहरु ओसार्दै थिए। धेरैका अनुहार जोशले धपक्क बलेका थिए, भन्दै पनि थिए हिजो राति दुइ बजे सम्म पढियो। झण्डै तिन बर्ष अगाडि यस्तै जोश थियो उसमा पनि। तर आजसम्म आइपुग्दा ति जोशहरु केवल कागजी सर्टिफिकेटमा मात्र साट्टिन बाध्य भएका छन। दिक्क मान्दै पत्रिका पसलमा गएर पत्रिका पल्टाउन थाल्यो। एउटा समचार शिर्षकले उसलाइ आकर्षण गर्यो। बौद्धिक चोरी शिर्षकको उक्त्त समचारमा विश्वविधालय अनुदान आयोगको रिसर्च गा्रन्ट पाएका केहि प्राध्यापकहरुले आफैले अनुसन्धान नगरी यस्तै प्रकृतिका अरुले गरेको अनुसन्धानको तथ्यांक प्रतिवेदन चोरी गरी आफ्नो अनुसन्धानमा प्रयोग गरेकोले उनिहरुलाइ आयोगले अबदेखि कुनै पनि अनुदान लिन अयोग्य ठहर गर्दै कालो सुचिमा राखेको रहेछ। समचार पढिसकेर उसलाइ हिजो मात्र प्राध्यापक सिंहले भनेका कुराहरु सही लाग्यो। प्राध्यापक स्वंम चोर्ने भएपछि विधार्थीले आफै थेसिस गरेको हो भनेर विश्वाश नगर्नु स्वभाविक रहेछ। अलिकति पाउरोटी किनेर रित्तो भुल्टुङ हल्लाउँदै उ विस्तारै उकालियो कोठातिर। पानी नआएको पनि एक हप्ता भैसकेको थियो। आज आउनु पर्ने थियो, तर धाराको टुटिबाट हावा मात्र फुस्फुसाएर दिउँसै सबैलाइ जिल्याइसकेको थियो।
एक हप्ता अगाडि गिलास बटुका लगायत भएभरका भाँडाहरुमा भरेको पानी बिहानै सिद्दिसकेको थियो। पल्लो ढोकाबाट अलिकति पैंचो पानी ल्याएर मुख भिजायो अनि बिहान साथीले भने झै ब्याकअप प्रयोग गरी गुँडुल्कियो।
राति एक्कासि कोही चिच्चाएको सुनेर उ झल्याँस बिउँझियो। दुइ बजेको रहेछ। आयो आयो अनि गयो गयो पनि भन्दै मान्छेहरु कराउँदै थिए। त्यति बेला दुले चोरको निकै बिगबिगी बढेको थियो। लोडसेडिङको मौका छोपेर छतमा राति सुकाएका लुगाहरु तलैबाट आंकुसे लगाएर चोर्ने प्रवृति बढेको थियो। हतार हतार स्विच थिच्यो। बत्ति रहेछ, बल्यो। लुगा लगाएर प्यासेजमा निस्कदा अन्य कोठाका साथीहरु यताउता गर्दै थिए। “चोर आएको हो”? आँखा मिच्दै साथीलाइ सोध्यो। “अँ चोरै हो, हिजो दिउँसै आउनु पर्ने चोर अहिले आएर मर्यो”। उसले बुझिहाल्यो, पानी पो आउला झै गरिरहेको रहेछ। अलिकति त आएको पनि रहेछ। साथीले भनेझै अचेल चोर जस्तै थाहै नदिइ राति राति आउन थालेछ यो पानी पनि। तिन चार जना साथीहरु धारोमा धर्ना दिइरहेका थिए। उ पनि बकेट बोकेर सामेल भयो। पखाला चलेझै टुटि गुडुरुङ गुडुरुङ गर्दै थियो, कहिले अलिकति उकेलिपनि हाल्थ्यो। सबैलाइ हसाउँदै उज्यालो बनायो पानीले। तर जे होस, सबैको हप्ते भाग पुर्याएरै गयो।
दिनेशको फोनले उ झसगं भयो, निंद्रैमा रहेछ। बिहानको दश बज्नै आँटेको थियो। रामेछाप जाने भए सर्टिफिकेट लिएर एघार बजे पाङ्गा दोबाटोमा भेट्न भन्दै थियो। उसले त त्यातातिर सोचेकैपो रैनछ। कारण अहिलेलाइ थेसिस नैे उसको प्राथमिकतामा थियो। दिनेशको प्रस्ताव राम्रो लागेको हो उसलाइ। राम्रा भनिने देश जान पैसा थिएन उ संग। खाडितिर जान मनले मान्दैनथ्यो। डिगी्र गरेर पनि लेबर काममा जाने। गाउँका अन्डर एसएलसिहरुले जिस्काउने डर थियो। काठमाण्डौमै करियरको आशमा बोडिङ या प्लस टु पढाएर बसौ, तत्कालमा पैसा कमाउन सकिदैनथ्यो। उसलाइ त आफ्नो करियर भन्दा पनि घरको आर्थिक बोझ घटाउनु थियो। रामेछाप जानु वा गाँउमै गएर बोडिङ तथा प्लस टु पढाउनु यिनै दुइ विकल्प देखेको थियो उसले। दाइसँग सल्लाह गरुँला, अहिले सर्टिफिकेट दिइराँखु, उ दिनेश भेट्न हिड्यो। भोकै थियो, दिनेशकै सौजन्यमा पेटपुजा गर्यो अनि सर्टिफिकेट थमाएर ढुक्कले विश्वविधालयतिर ओरालीयो। विभाग अगाडि नाराबाजी हुदैथियो। विभागको गेटमा सुरक्षार्थ तिन चारवटा भोटेताल्चा तैनाथ थिए। उसले मागबारे बुझ्न चाहेन। तर यति बुझ्यो, अबको दुइचार दिन प्रा.सिंह विभागमा आउने छैनन, सोच्दै लुरुलुरु लाइब्रेरी छिर्यो। पत्रिका पढ्दै सेटिङ मिलाउनेबारे सोच्यो। विधार्थी नेतालाइ एकचोटि कुरा गरुँ कि। सेटिङ मिलाउन त चाहियो नि कौडी, फेरि अर्को मनले भन्यो। आ होस, अझै एक दुइ चोटी सिंहलाइ भेट्छु। रमेशलाइ सम्झियो। स्ववियु अफिस छिरेर दुइ चार कल ट्राइ गर्यो। लागेन। यो पनि पक्कै बिदेशतिर या कुनै दुर्गम पहाडतिर लागिसकेको होला, सोच्दै उ नयाँबजार उक्लियो। परैबाट लामो लाइन देख्यो। ला मट्टितेल आएछ। दौडिएर कोठाबाट भुल्टुङ लिएर लाइन बस्यो। दुइ घण्टा बसेर जम्मा तिन लिटर मात्र भागमा पर्यो। ठिकै छ, एक हप्तालाइ टेन्सन भएन, सन्तोष मान्यो उसले।
दुइ दिन पछि विभाग खुलेको संकेत पायो। सिंह भेटिए भने विन्तिभाव गर्नु सिवाय उसले अरु विकल्प देखेन। थेसिस जस्ताको तस्तै थियो। विभाग पुग्नै के लागेको थियो, परैबाट सिहं कार चढ्नै लागेको देख्यो। दगुर्दै गएर नमस्कार ठोक्दै थेसिसको कुरा गर्यो। सिहंले थेसिस हेर्न माग्दै गर्दा केही नमिलाइ ल्याएको भनेर रिसाउलान कि जस्तो लागेको थियो। “अस्तिको भन्दा निकै मिलाउनु भएछ, अझै पुगेन,” सिंहले अहिले यसो भनिरहदा उसलाइ भने हाँसो थाम्न गाहृो भैरहेको थियो। भन्दै थिए, “सेटिङ अलिक मिलाउन सक्नु भएनछ” सेटिङ शब्द सुनेपछि भने उ नराम्ररी झस्क्यो। सबैकुरा मिलाएर फेरि ल्याउनुस है त भन्दै सिंह हुइकिएपछि उ झन सकसमा पर्यो। केहि नमिलाए पनि सिंहलाइ चै भेटिरहनु पर्ने रहेछ भन्ने कुरा अहिले प्रस्ट बुझ्यो। प्राध्यापक आफैले सेटिङको कुरा गरेपछि भने उसलाइ थेसिसमा यो हुनैपर्ने जस्तो लाग्यो। आखिर सम्पुर्ण देश सेटिङमा चलेको छ भने यो नाथे थेसिसको कुरा नै के भो र। बिधार्थी नेतालाइ भेट्न स्ववियू अफिस जादै थियो, थेसिस सिध्याइसकेको साथीलाइ भेट्यो। सेटिङको कुरा यसलाइ पनि थाह होला भनेर सोधिहाल्यो। प्राध्यापकले शायद पेज सेटिङको कुरा गरेको होला भनेर साथीले फन्ट, मार्जिन आदि कुराहरुको बारेमा भन्यो। अहिले उसलाइ पनि यस्तै लाग्यो किनकी थेसिस ओके भएपछि मात्र उसले यि सबै कुराहरु मिलाउने भनेर बसेको थियो।
उ स्ववियूतिर नलागी कोठै फर्कियो। दुइदिन पछि फेरि विश्वविधालय झर्यो। सिंहलाइ भेटेन। बरु सट्टामा रमेश भेट्टियो। एउटा प्रोजेक्टको लागि दुर्गमतिर गएकोले फोन नलागेको पनि बतायो। थेसिसको बारेमा उ भन्दै थियो, “नचिन्दा सिंह अलिक अप्ठ्यारै मान्छे हुन, तर चिनेपछि त घ्यू रहेछन। पख तिमिलाइ म एउटा मन्त्र सिकाउँछु। काम दुइ दिनमै हुन्छ।” यति भनेर रमेशले उसको कानमा मन्त्र फुकिदियो। रमेशलाइ धन्यवाद दिएर मख्ख पर्दै उ फेरि उकालियो।
उसको धाउनेक्रम जारी थियो। एक दिन प्राध्यापक कोठामै फेला पार्यो सिहंलाइ। “आज त सरले भनेझै सबैकुरा मिलाएर ल्याएको छु।” थेसिस टेबलमा राख्दै उसले भनिहाल्यो। सिंहले थेसिसका पानाहरु पल्टाउँदै गर्दा उ भने उनकै अनुहारको रङ्ग नियाल्दै थियो। सिंहको अनुहारमा अँध्यारो पोतिदै गर्दा उ भने झोलाबाट खै के निकाल्दै थियो। सिंहले मुख खुम्चाउन नपाउँदै उसले निकालेको वस्तु टेबलमा राख्दै डराउँदै भन्यो, “गाउँबाट सरलाइ भनेर एउटा सानो कोसेली ल्याएको छु, गलत नसम्झिनु होला।” उ भन्दै गयो, “हिजो मात्र आइपुगेको आफ्नै घरको गाईको शुद्ध घ्यू हो सर। हजुरलाइ कतिको मन पर्छ कोनी।” डराउँदै डराउँदै सिंहको अनुहारमा चिहायो उसले। “तपाइले मलाइ घुस खुवाउन खोजेको?” सिंहले उसको उद्देश्य जान्न चाहे। “ए सर पनि, मैले के को लागि सरलाइ घुस खुवाउनु छ र! दुइ बर्ष सरको विधार्थी भएर पढियो, किताबी ज्ञान बाहेक पनि धेरै अमुल्य ज्ञान ब्ााड्नु भो। डिपार्टमेन्ट छोडेर जाने बेलामा गुरुलाइ यो चेलाको तर्फबाट सानो कोसेली ल्याएको हुँ।” उसले बचाउको सक्दो प्रयास गर्यो।
रमेशको कुरामा लागेर अहिले उसलाइ पछुतो लागिरहेको थियो। यसैबिच सिंहले मुख खोले,“शुद्ध मनले दिएको शुद्ध घिउ हो भने ठिकै छ।” उ फूलको थुङ्गा भयो। “अचेल शहरमा शुद्ध भन्ने कुरा नै कहाँ पाइन्छ र! सबैकुरा नक्कली। मान्छे नै मेकानिकल भैसक्यो। अर्ग्यानिक त भेट्टाउनै मुश्किल।” सिंहले थपे। सिंहको कुराले उ निकै हौसियो र झोलाबाट एक फुल ब्ल्याक लेवल टेबलमा राख्दै भन्यो, “यो भर्खरै अंकलले विदेशबाट ल्याइदिएको। आफुले भने आजसम्म मदिरा छोएको छैन। साथीभाइलाइ दिउँ भने यो निकै महंगो रक्सि रे। फेरि यसको इज्जतको पनि कुरा छ। सबैको ओठमा यो कहा सुहाउँछ र भन्ने पनि लाग्यो। अझ हजुरकोमा विदेशी पाहुनाहरु पनि आइरहन्छन।
यसको उचित सम्मान त हजुरकैमा हुन्छ भन्ने सोचेर ल्याए।” भनिसकेर अलिक धेरैनै भनियो कि जस्तो पनि लाग्यो उसलाइ। “कम्बिनेसन चै राम्ररी मिलाएर ल्याउनु भएछ। एउटा गाउँको ब्रान्डेड, अर्को शहरको ब्रान्डेड। मलाइ हरेक कुरा ब्रान्डेड चाहिन्छ, चाहे रक्सि होस या थेसिस। मौलिकता क्या, तपाइको थेसिसमा जो छ।” भनिसकेर सिंहले मिठो हाँसो हाँसे। सिंहले बोलेको अन्तिम वाक्य मनमनै दोर्यायो, मौलिकता क्या तपाइको थेसिसमा जो छ। उसलाइ विश्वाशै भएन। पहिलो चोटि थेसिस हेर्दै गर्दा सिंहले भनेका कुराहरु सम्झेर उ मनमनै हाँस्यो। आजसम्म आइपुग्दा एक शब्द पनि तलमाथि नगरिएको उसको थेसिस कसरी सिंहको आँखामा परिवर्तन भइरहृो, उसको खोजीको विषय बन्यो। “ल फलानो दिन तपाइको भाइभा।” सम्झिरहेको उ सिंहको बोलीले झस्क्यो। “सरले भने अनुसार नै मिहेनत गरेको छु, यसो नम्बरमा पनि विचार गरिदिनु पर्छ, डिभिजनको पनि सवाल छ।” उसले मौका चुकाएन। “मिहेनत अनुसारकै फल पाउनुहुन्छ, ढुक्क हुनुहोस।” आफुलाइ प्राप्त फल झोलामा कोच्दै उनले भने।
सिंहसग बिदा मागेर बाहिर निस्कदै गर्दा भने उसले अलिक फरक ढंगले सोच्यो। उसलाइ लाग्यो, उपहार सिंहलाइ थेसिस प्रतिको दृष्टिकोण परिवर्तन गराउने माध्याम मात्र हो अर्थात बाहिर देखिने रुप मात्र। तर सारमा आम मान्छेले आफ्नो अनुकुलता अनुसार उही वस्तुलाइ पनि फरक फरक देख्दोरहेछ। शायद मान्छेको मौलिकता अर्थात ब्रान्ड भनेकै यही होला। नयाँबजारको उकालो उक्लदै गर्दा उ भित्रको ब्रान्डेड मान्छे भने मख्ख परेको थियो।
A realistic story to a great extent that takes a particular incident at our University and reveals an overarching universal human trend to change their perspectives in accordance with their interest.
Great…You have amazing brandedness in your branded story “ब्रान्डेड”.
So simple but so true story of non-academic gurus in academia. Most (probably I should say many) of our academic gurus are as good as nonsense-politicians in doing SETTING-jobs.
Probably that’s how they (let me just refer to academics here) keep continue to be Branded for…
Vicky Dev,
USA
ए रात्तै ! तारा बाबु (नानि?) को कथा पढ्दा मैले त दिउसै तारा देखे!
plagiarism लाई निस्तेज पार्ने कानुन कहिले आउने होला?
जिबन्त कथा . दशक अगाडी को आँफु क्रितिपुर कलेज टहलिदा को दृश्य झल्झली याद आयो . कथा हुनु एस्तो पो कथा . hats off तारा जी .
धेरै पछि चसक्क मन छोयो !!
किर्तिपुरको बसाई सजिब भएर आयो. बास्तबिकता संग धरै मेल खाने. धरै मन पर्यो. धन्यवाद लेखक ज्यु.
यो कथा को पात्र सिंह …..चै आफुलाई नै परेको…… डा महेन्द्र सिंह को फोटो मात्रै याद आयो …..!
धेरै मार्मिक र नेपला अनि नेपाली शिक्षामा अहिले पाइने शुलभता|शैक्षिक माफ़ियाको चिरफार|मलाइ पनि मेरो बिगतको सम्झना दिलायो|जापान बाट शल्य क्रिया त्यो पनि Gastrointestinal and Organ transplant surgery मा बिशेस तालिम र विद्याबिराधि (PhD) गरेर टिचिङ्ग अस्पतालमा छोडी गएको पदमा बहालीको लागि जाँदा मेरो जागिरको त कुरै के भो र तत्कालिन दीन डा. P C कर्माचार्य ले देसै निकाला गरेझै “तपाइँ संसार को कुनै भागमा गए पनि hunch तर यहाँ स्थान छैन र तपाइँ आफ्नो पद बाट खुसुक्क राजिनामा दिने भए दिनोस नत्र you will be fired. भनेको आज सम्म पनि मेरो लागि हिजो जस्तै कान मा गुन्जी रहन्छ| At the end of the day, Nepal is Nepal, it will never change.
थप:- मैले पनि शायद उहाँको भाषा पो नाबुज्या हो कि त? किनकि मैले Brand product from Japan लिएर गएको थियिना|
उत्कृस्ट कथा l कथा पढी रहदा परिवेश यति सजिब भएर आयो कि जमानामा मट्टीतेल किन्न भुल्टुंग बोकेर आफै लाइन बसे जस्तै अनुभव भयो l कीर्तिपुरमा बस्ने ९०% बिद्यार्थी को यथार्थ भोगाई l
ब्रान्डेड कथा रैछ!!! ताराजीलाई बधाई यस्तो ब्रान्डेड माल पब्लिश गराउनु भएकोमा !!!
Good and hard working students are lack behind while student who do “settings” can easily pass and go forward. Its bitter reality! So, the country is with the hands of a leader who encourage “Settings”, main cause of Nepal’s under-development.