मेक्सिकोको बाटो हुँदै अमेरिका जाने लामो, घुमाउरो र खर्चिलो बाटो प्रयोग गर्ने क्रममा हुने जोखिम बारे माइसंसारले यसअघि पनि पटक पटक ब्लग लेखिसकेको छ। दलाललाई लाखौँ खुवाएर अमेरिकामा डलर टिप्ने धूनमा रहेकाहरुलाई यस्ता जोखिमको डरले के छुन्थ्यो। फेरि मानव तस्करहरुको संगठित जालो! अझै सयौँ बाटोमा होलान्, हजारौँ त्यसरी नै जाने क्रममा होलान्। र त, आज फेरि समाचार पढ्न पाइएको छ – ३४ जना नेपाली कोस्टारिकामा समातिएछन्। एकै लटमा २७ जना र ७ जना अघिल्लो पटक छापा मार्दा। माथिको फोटो २७ जना नेपालीको हो। कहाँका होलान् ती बिचरा नेपालीहरु। कति लाख दलाललाई खुवाइसके होलान्, कति ऋण होला। उफ्, सोच्दा पनि कहाली लाग्छ।
यी नौ जना भने अघिल्लो पटक समातिएका हुन्। त्यसमध्ये सात जना नेपाली रहेछन् बाँकी दुई जना बंगाली।
दुई वटै फोटो त्यहीँको सुरक्षा निकायले सार्वजनिक गरेको हो। उनीहरुले नै फोटो धमिलो बनाएका कारण अनुहार नचिनिएको हो। कठै, परिवारलाई थाहा होला कि नहोला। बिचराहरुको पैसा त्यत्तिकै डुब्ने भयो।
यो मानव तस्करको जालो बारे मैले पहिला पनि ब्लग लेखेको थिएँ। कसैले छुटाउनु भएको फेरि एक पटक राख्दैछु।
कोस्टा रिकाको नाम अधिकांश नेपालीहरुले विश्वकप फुटबल हुँदामात्रै सुन्छन्। त्यसबाहेक कोस्टा रिका न कुनै समाचारमा आउँछ, न नेपालीले नै चासो दिन्छन्। तर होइन, एउटा अर्को समूह छ, जसलाई कोस्टा रिका एकदमै महत्त्वपूर्ण छ। उही एनी हाउ पैसा कमाउ, पैसा कमाउन एनि हाउ अमेरिका जाउवालाहरुको समूह। सक्ने र पहुँच भएकाहरु त सेमिनार, पढाइ अनेक बहानामा भिसा लगाएर कानुनी रुपमै अमेरिका छिर्छन्, नसक्नेहरुलाई लाखौँलाख रुपियाँ लिएर मानव तस्करहरुको समूहले विभिन्न देशको जोखिमपूर्ण यात्रा गर्दै अमेरिका छिराउने वाचा गर्छन्। त्यही अवैध बाटोबाट अमेरिका छिर्ने सञ्जालको बाटोमा पर्छ कोस्टा रिका।
उनीहरु ऋण गरी वा घरखेत धितोमा राखी २५/३० लाख रुपियाँसम्म दलाललाई बुझाई डलर कमाउने मिठो सपना देखेर अमेरिकातिर लागेकाहरु हुन्। बीचमा कयौँ हन्डर खाएर उनीहरु कोस्टा रिकासम्म पुगेका हुन्। तर अचेल कोस्टा रिकामा भएको कडाइका कारण उनीहरुको प्रयास सफल हुन सकेन।
मानव तस्करहरुको सञ्जाल तपाईँले सोचेभन्दा बृहत् छ। हरेक देशमा सेटिङ मिलेको हुन्छ र हरेक देशमा लोकल दलालहरु हुन्छ। पनामातिरबाट लोकल दलाललेे ती नेपालीलाई कोस्टा रिकाको दलालाई जिम्मा लगाएको हुनुपर्छ। अनि यी कोस्टा रिकाको दलालको काम निकारागुवाको सीमासम्म पुर्याइदिनु हुन्छ।
तर कोस्टा रिकामै पक्राउ परेपछि खेल खत्तम।
कोस्टा रिका नाघ्दैमा अमेरिका पुग्ने हैन
कोस्टा रिका त अमेरिका अवैध रुपमा प्रवेश गर्ने लामो तर जोखिमपूर्ण यात्राको एउटा बिसौनी मात्र हो। सान्दर्भिक भएकोले पुरानै ब्लगका केही अंश फेरि पनि यहाँ राख्दैछु।
सभासम्मेलनमा भाग लिन, कुनै सांस्कृतिक कार्यक्रममा सहभागी हुन अमेरिका वैधानिक बाटोबाट पुग्ने र त्यहाँ पुगेपछि अवैधानिक रुपमा लुक्ने सजिलो बाटो हो। अमेरिकी दूतावासबाट निश्चित अवधिको अनुमति (भिसा) त्यसका लागि जरुरी हुन्छ। तर भिसा लगाउन गाह्रो छ। त्यसो भए अमेरिका पुग्ने अर्को बाटो के छ त ? चोर बाटो ! अमेरिकाको सीमा जोडिएको मेक्सिकोबाट चोरबाटोबाट त्यहाँ छिर्न पाइयो भने भिसा पनि लगाउनु परेन। अमेरिका छिर्नुमात्र पर्छ, काम फालाफाल। डलरै डलर। अनि टन्न कमाउनुस् न, अहिले अलि अलि पैसा खर्च गर्नुपरेकोमा लोभ नगर्नुस्- यस्तै भन्दै दलालहरु फकाउने गर्छन्।
तर दलालहरुले फकाए जस्तो चोरबाटोबाट अमेरिका पुग्न सजिलो भने छैन। महिनौँ समय लाग्छ। अनेक देशहरुमा लोकल दलालहरु एजेन्ट हुन्छन्। कुनै एक ठाउँमा सेटिङ बिग्रियो भने कुरो बिग्रियो। अनि बाटैमा अलपत्र पर्ने संभावना पनि हुन्छ। खल्तीमा पैसा भए त ठीकै छ, भएन भने र दलालहरुले छाडेर भागे भने गुमनाम देशमा गुमनाम मृत्यु कुर्नुबाहेक अरु विकल्प हुन्न।
कस्तो छ बाटो ?
चोर बाटोबाट यसरी लाखौँ खर्च गरेर यात्रा गर्नेहरुलाई थाहा नहुन सक्छ- उनीहरु अन्तर्राष्ट्रिय संगठित अपराधका सदस्य बन्दैछन्। ह्युमन स्मगलिङलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय संगठित अपराधका रुपमा पहिचान गरेको छ। हुन पनि एउटा नेपाली चोर बाटोबाट अमेरिका प्रवेश गर्न एउटा देशका मात्र दलाल सहभागी हुँदैनन्, कयौँ देशका दलाल त्यसमा सहभागी हुनुपर्छ।
चोर बाटोबाट अमेरिका पुग्न विमान, सडक र जल तीनैथरिका यात्रा गर्नुपर्छ। अमेरिका गएर डलर कमाउने भयो भनेर काठमाडौँ विमानस्थलमा फूलमाला पहिर्याएर विदा गरेकै दिनदेखि दुःखको एउटा लामो यात्रा सुरु हुन्छ। कम्तिमा १२ देश हुँदै यात्रा गर्नुपर्छ उसले।
सुरुमा काठमाडौँबाट दलालले उसलाई कतारको दोहा पुर्याउँछ। यो पहिलो गन्तव्य भयो। दोस्रो महत्त्वपूर्ण गन्तव्य हो ब्राजिल। दोहाबाट विमानमा १४ घण्टा उडेपछि आइपुग्छ नेपालीले विश्वकप फुटबलमा मात्र धेरै सुन्ने गरेको देश ब्राजिल। दक्षिण अमेरिकाको यो उदाउँदो अर्थतन्त्र भएको देशलाई ट्रान्जिटको रुपमा दलालहरुले उपयोग गर्ने हुन्। तर कतिपयको अमेरिकी सपना सेटिङ नमिलेर यहीँ टुङ्गिन्छ।
दलालहरुले यस्तरी सेटिङ मिलाएका हुन्छन् कि ब्राजिल वा अर्को गन्तव्य बोलिभियाको भिसा नहुँदासमेत उनीहरु त्रिभुवन विमानस्थल र कतारको विमानस्थलको अध्यागमनबाट समेत सहजै पार हुन्छन्। ब्राजिलमा त्यहीँको दलालले सेटिङ मिलाउँछ र त्यहाँबाट अर्को गन्तव्य बोलिभियाका लागि प्लेन चढाउँछ। बोलिभियामा अन अराइभल भिसा पाइन्छ।
बोलिभिया अर्को एउटा महत्त्वपूर्ण गन्तव्य हो। त्यहाँबाट अर्को कदम के हुने निश्चित गरिन्छ। बोलिभियाको लापाजमा मेक्सिको र ब्राजिलको भिसा लाग्यो भने फेरि बोलिभियाबाट ब्राजिलै पुग्नुपर्छ सडक बाटो। अनि साओ पाउलोबाट कोलम्बियासम्म फेरि प्लेन यात्रा। कोलम्बिया पुगेपछि पासपोर्ट लगायतका सबै कागजात च्यातेर फालेर मोटरबाटो, जंगल, समुद्र हुँदै लुकीछिपी मेक्सिको र त्यहाँबाट फेरि लुकेर अमेरिका प्रवेश गराइन्छ।
मेक्सिकोले भिसा दिएन भने अर्को रुट पनि छ- बोलिभियाबाट सडकै सडकको बाटोबाट मेक्सिकोसम्म पुग्ने। यो लामो यात्राका क्रममा ९ वटा जति देश पार गर्नुपर्छ काठमाडौँमा मःम बनाउन राँगा कोच्चाएर ल्याए जस्तै कोच्चिएर। बोलिभियाका लोकल दलालले पेरुको सीमासम्म पुर्याएर छाडिदिन्छ। अनि पेरुको लोकल दलालले इक्वेडरसम्म। फेरि इक्वेडरको लोकल दलालले कोलम्बियासम्म पुर्याइदिन्छ। त्यहाँबाट पनामा, त्यसपछि कोस्टारिका अनि निकारागुवा, होन्डुरस, ग्वाटेमाला। ग्वाटेमालाको दलालले मेक्सिकोसम्म पुर्याइदिन्छ।
यी २७ जना पक्राउ पर्दा कोस्टा रिकाका मन्त्री Celso Gamboa ले भनेका छन् “We have reports that these migrants usually arrive by sea to Ecuador and then continue their trips by land, mainly to the U.S. We are tenaciously working to determine who is responsible for these local [smuggling] operations,”
सबै देशको यात्रा बिना भिसा लुकिछिपी सेटिङ मिलाएर गर्नुपर्ने भएकोले जोखिम उत्तिकै हुन्छ। कुनै पनि देशमा समातिन सक्छन् उनीहरु। मेक्सिको पुगेपछि भने अमेरिकाको संघार मै आइपुगियो। मेक्सिको र अमेरिकाको सीमामा ठूल्ठूला पर्खाल लगाइएका छन्। तर तस्करहरुले सुरुङ खनेर बनाएको बाटोबाट होस् कि कसैगरी प्रहरीको आँखा छलेर होस्, अमेरिकी भूमिमा छिराइदिन्छ।
मेक्सिकोबाट पर्खाल चढेर अमेरिका जाँदै। फोटोः विकिपेडिया
यो चोर बाटोको रुटमा पर्ने विभिन्न देशमा हजारभन्दा बढी नेपाली अलपत्र परेर बसिरहेका छन्। सबैले लाखौँ खर्च गरेका छन्। कतिले चर्को ब्याजमा ऋण लिएका होलान्। उनीहरुको स्थिति के होला ? कल्पना गर्दा पनि डरलाग्दो!
कोही कोही फर्कन पाउँछन्। तर त्यतिञ्जेल दलालहरुलाई दिने र आफ्नो बाटो खर्च गरी लाखौँ खर्च भइसकेको हुन्छ। कोही भने बीच कै रुटमा शरणार्थी बन्दै सानोतिनो जीविका चलाइरहेका हुन्छन्। कोही भने आफै दलालका रुपमा परिणत भएर नेपालीलाई ठग्ने काममा लागेका हुन्छन्।
सम्बन्धित समाचार
अवैध रुपमा अमेरिका जान खोज्ने ३४ नेपाली कोस्टा रिकामा पक्राउ
यो पनि हेर्नुस् पुरानो ब्लग
कोस्टा रिका हल्लाइदिने चार नेपाली
[साथीहरु, के तपाईँ वा तपाईँका कुनै परिचित पनि यस्तै चोर बाटोबाट अमेरिका पुग्नुभएको छ? तपाईँ पुग्नुभएको भए तपाईँ कसरी पुग्नुभयो, बाटोमा कस्तो दुःख भयो, त्यसको अनुभव वा तपाईँका कोही साथी, परिचित पुगेको भए उनीहरुले सुनाएको अनुभव तल कमेन्टमा बाँड्न सक्नुहुन्छ। आफ्नो नाम, इमेल सार्वजनिक नगरी सब कुरा सुनाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी वा [email protected] मा इमेल गरी आफ्नो कुरा राख्न सक्नुहुन्छ। तपाईँको अनुभवले एक जना मात्र मान्छेको लाखौँ रुपियाँ र जीवनको अमूल्य समय बच्यो भने पनि त्यसको ठूलो पुण्य तपाईँले पाउनु हुनेछ।]
तपाइंले जुन आर्टिकल (श्रोत) बाट टिपेर यो आर्टिकल लेख्नु भो, त्यो श्रोत बारे मैले यस अघि पोस्ट गरेको थिए यहा तर तपाइंले किन त्यसलाई हटाउनु भयो वा राख्नु भएन ? निजि ब्लग भनेको शायद यहि हो , सत्य कुरा त कहाँ पच्दो रैछ र तपाइन्हरुलाइ ?
माइसंसारले स्रोत लिङ्कमा खुलाउने गर्छ । तपाईँले राख्नुअघि नै माइसंसारले स्रोत खुलाइसकेको थियो । माथि ब्लगमा हेर्नुस् ‘यी २७ जना पक्राउ पर्दा कोस्टा रिकाका मन्त्री Celso Gamboa ले भनेका छन्’ लेखिएको ठाउँमा क्लिक गर्दा स्रोतको लिङ्क खुल्छ । फेरि यो फोटो र समाचारको स्रोत टिकोटाइम्स मात्र भन्दा पनि कोस्टा रिकाको सुरक्षा मन्त्रालय र त्यहाँका नेपाली अवैतनिक राजदूत पनि हुन् । माइसंसारमा कमेन्ट छाप्ने नछाप्ने निर्णय मोडरेटर समूहले गर्छ । यसले सबै कमेन्टलाई छाप्दैन । छाप्न लायक र उपयुक्त ठहरिएका कमेन्टमात्र छाप्ने गर्छ ।
धन्यवाद मित्र, चित्त बुझ्यो, गल्ती भएछ , क्षमा गर्नु होला / माइ संसारमा यति धेरै addicted भइएको छ कि कमेन्ट गर्न मन लागी हाल्दो रैछ, हेर्न पनि मन लागी हाल्दो रैछ, र आफ्नो कमेन्ट नदेख्दा कन्सिरी पनि तात्ति हाल्दो रैछ, तर तपाइंको जवाफ बडो शान्त र सौम्य लाग्यो, फेरी धन्यवाद /
मंगलबार येस्तै गरि केहि नेपालीहरु नर्वेमा पक्राउ परेको छ, समाचार अनुसार मानव तस्करद्वारा सस्तो मूल्यमा काम गर्न ल्याएको र राजोस्वो छल्न प्रयोक गरेको भनिएको छ
खैर के भन्नु म पनि पिता पुर्खा ले जोरेका तराई का सुन फल्ने समतल फाट म़ा शिरु र गन्धे झार फुलाएर बिदेशी भुमि म़ा ५.७ बर्ष भो भाडा धस्काएको नै छु . उपलब्दी सुन्य जीबन छ साथी हो . न कमाउन सकिएओ न पेपर बन्यो न खाली हात मुलुक फर्किन सकिन्छ . सोचे जस्तो छैन युरोप अमेरिका पनि नपुगे सम्म स्वर्ग भोग्नु भो भने प्रसव पिडा ६ सथिहो . हाम नाफल्नुस येसरी डुबे पछि तैरिन गारो हुन्छ फेरि .
एक नेपाली येस्तै गरि अमेरिका छिर्न सफल भएछ. ३० लाख खर्च भो रे. अनि अमेरिका मा काम नि पाएछ illigal भए पनि. कमाई र खर्च को जोड घटाउ गर्दा महिना मा $१००० जति जोगिने देखेछ. लागत उठाउन नै बर्सौ लाग्ने र अति निम्न स्तर को काम र बसाई सम्झेर साथी रुनु न हास्नु, बस्नु र फर्किनु भै राखेको छ.
सुझाव : dv परि हाले छ बहने आउनु, नत्र ज्यान जोखिम मा पारेर लाखौ खर्च गरेर आउनु चाही बेर्थ नै हो. इल्लिगल हरु लै पहिले जस्तो सजिलो चाही छैन अहिले.
मेक्सिको बाट चोर बाटो लिएर आएका केहि Mexican हरु को कथा सुन्दा त कहाली लाग्छ .. अब Nepal बाट America सम्म चोरि बाटो बाट आउनि कल्पना पनि गर्न गारो छ .. बरु एक छाक खाएर भएनी आफ्नो परिवार मा सुख दुख गरेर बस्नी बुद्धि सबै मा आयोस !!!
जय पशुपतिनाथ !!!
त्येस्तो चोर बाटो कसैले नि नसमात्नु बरु कुटो कोदालो समात्नु !!!